सबैको लघुवित्तले ग्राहक सदस्यलाई दियो तालिम
काठमाडौं । सप्तरीमा सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थाका ३६ जना ग्राहक सदस्यलाई सिपमुलक तालिम प्रदान गरेको छ । संस्थाले शनिबार सप्तरी जिल्लाको तिलाठी कोईलाडिमा श्री जनता माध्यमिकमा वाशिङ्ग पाउडर तथा लिक्विड डिटरजेन्ट ईजी बनाउने तालिम सम्पन्न गरेको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि सबैको लघुवित्तका अनुगमन अधिकृत सत्येन्द्र कुमार सिंह, सबैको लघुवित्तका शाखा प्रमुख सर्वजित कुशावाहा साथै प्राविधिक तर्फ ईन्द्र सरोबार गाउँपालीका २ मकवानपुरकी सुनिता लामा रहेका थिए । कार्यक्रमको सहजीकरण यस सबैको लघुवित्त वित्तिय संस्थाका शाखा प्रमुख सर्वजितप्रसाद कुशवाहाले गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि अनुगमन अधिकृत सिंहले हालको समसामयिक अर्थतन्त्र र वित्तीय जगतको अवस्थाबारे बृहत छलफल भएको थियो, हालको वित्तीय क्षेत्रमा देखिएको अराजक गतिविधिलाई खण्डन गर्दै सम्पूर्ण उपस्थितिलाई वित्तीय जागृत भएर कर्जाको सहि सदुपयोग गर्न पनि जानकारी गराएका थिए ।
नेपाल बैंकबाट कर्जा लिएकाहरूलाई ब्याज छुट सुविधा
काठमाडौं । नेपाल बैंक लिमिटेडले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि छुट सुविधा ल्याएको छ । बैंकले कर्जा उपभोग गरी विसं २०७५ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ ५० लाख रुपैयाँसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको हो । साथै २०७६ साल वैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरूले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने विशेष व्यवस्था गरिएको बैंकले जनाएको छ । यो ब्याज छुट योजना यही असार मसान्तसम्म मात्र लागु हुनेछ । यसमा शर्त तथा बन्देजहरू लागु हुने बैंकका प्रवक्ता होमबहादुर खड्काले जानकारी दिएका छन् ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आगलागीपीडितलाई वितरण गर्यो राहत सामग्री
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कम्पनीले विगत देखि नै विपदको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विनियोजित रकमबाट प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको छ । सोही अनुरुप २०८१ साल वैशाख १८ गते सप्तरी जिल्ला महादेव गाउँपालिका १ चिम्टिमा आगलागीका कारण प्रभावित ६६ घर परिवारलाई कम्पनीले आफ्नो लाहान स्थित शाखा कार्यालय मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख बरावरको खाद्यान्न लागायतका राहत सामग्रीहरु वितरण गरेको छ राहत वितरण असार १ गते कम्पनीको लाहान शाखाका शाखा प्रमुख तथा स्थानीयहरुको उपस्थितिमा गरेको कम्पनीको भनाई छ ।
सिद्धार्थ बैंकद्वारा बाल अस्पताललाई १ करोड सहयोग
काठमाडौं । सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग गरेको छ । निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई बैंकले आर्थिक सहयोग गरेको हो । बैंकले सो अस्पताललाई १ करोड रुपैयाँ प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइरालाले हस्ताक्षर गरेका छन् । यस सहयोगले बाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहम् भुमिका खेल्ने भन्ने विश्वास बैंकले लिएको छ ।
होटल एलिस द वन्डर इनले १३.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । होटल एलिस द वन्डर इन लिमिटेडले १३.५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले असार १९ गते विशेष साधारणसभा बोलाएको छ । कम्पनीको सभा आगामी असार १९ गते नयाँबानेश्वरमा रहेको कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ । सभाले हाल कायम चुक्ता पुँजी ९ करोड रुपैयाँको १३.५ प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर १३.५ कित्ताका दरले हकपद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद सेयर जारीपछि कम्पनीको पुँजी वृद्धि हुने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्त्वपूर्ण भूमिका रहँदै आएको बताएका छन्। इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद (उल–अजहा) को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका बताए । प्रधानमन्त्री दाहालले हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने उल्लेख गर्दै मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका बताए। उनले आपसी सद्भावको चाडको रूपमा मनाइने यस पर्वले सबै नेपालीबीच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले यसपर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने आशा गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
पहिरोले अवरुद्ध मुग्लिङ सडक सञ्चालनमा
काठमाडौं । पहिरो गएपछि अवरुद्ध भएको मुग्लिङ सडक सञ्चालनमा आएको छ । आइतबार राति वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको थियो । रातिदेखिको प्रयासमा सडकमा खसेको लेदो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रमुख निरला भण्डारीले जानकारी दिइन् । इच्छाकामना–३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खसेको थियो । पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु गरिएको थियो । सडक सञ्चालन भएपश्चात सवारी साधन गन्तव्यमा लागेका छन् । तर, राति तीन बजेदेखि नै सवारी आवागमन अवरुद्ध भएकोले सडकमा लामो जाम लागेको छ ।
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
पाटन । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत रहेको छ । आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले महानगरले जेठ मसान्तसम्ममा पुँजीगततर्फ २ अर्ब ४३ करोड ९२ लाख ३७ हजार रुपैयाँ खर्च गरेको बताए । ‘पुँजीगततर्फ यस आवमा ४ अर्ब २९ करोड ४६ लाख रुपैयाँ पारित भएको थियो, जसमध्ये जेठ मसान्तसम्ममा २ अर्ब ४३ करोड ९२ लाख ३७ हजार रुपैयाँ खर्च भइसकेको छ, जेठ मसान्तसम्म सम्झौता भइसकेको र सम्पन्न हुन बाँकी कामको मात्रै यो महिनामा भुक्तानी हुन्छ,’ उनले भने, ‘बजेटमा समावेश भएको तर सम्झौता हुन बाँकी काम तथा योजना नयाँ दायित्व सिर्जना हुने गरी यो महिनामा भुक्तानी नगर्ने हाम्रो नीति छ ।’ अघिल्लो आव २०७९/०८० को जेठमसान्तसम्म ४० प्रतिशतको हाराहारीमा खर्च भएको थियो, सोही आधारमा हेर्दा यो वर्ष उल्लेख्य प्रगति भएको उनले जानकारी दिए । यस्तै, चालु आवको वैशाख मसान्तसम्म आन्तरिक आयतर्फ १ अर्ब ७५ करोड २४ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको राजस्व महाशाखा प्रमुख प्रेमबहादुर थापाले जानकारी गराए । ‘गत वर्षको नगरसभाबाट पारित वार्षिक आयव्ययअनुसार चालु आवमा २ अर्ब ३० करोड राजस्व उठाउने लक्ष्य लिएको थियो, सोही नीतिअनुसार वैशाख मसान्तसम्म १ अर्ब ७५ करोड २४ लाख ९० हजार संकलन भएको छ । प्रस्तावित राजस्व संकलन लक्ष्यको आधारमा यो ७२ दशमलव ९६ प्रतिशत हो, जेठ मसान्तसम्मको अध्यावधिक गर्ने चरणमा छौँ,’ थापाले भने । यस्तै महालेखापरीक्षकको कार्यालयले यही जेठ १३ गते सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनले ललितपुरले गरेको खर्चमा बेरुजु रकम शून्य दशमलव ४६ प्रतिशत मात्रै रहेको देखाएको छ । यसले वित्तीय सुशासनमा ललितपुर अब्बल रहेको देखिएको छ । ‘पुरानो बेरुजु धेरै फछ्र्योट गर्नुका साथै नियमानुसार गरिएको खर्चमा बेरुजुलाई एक प्रतिशतभन्दा कममा सीमित राख्नु वा बेरुजु शून्य राख्न सफल हुनु वित्तीय सुशासनको आधार हो, हामीले यस आवमा पुरानो बेरुजु ५८ करोडभन्दा बढी रकम फर्छ्योट गर्न सफल भएका छौँ । सवारी इन्धनको बचत गर्न विद्युतीय सवारी खरिद गरी प्रयोगमा ल्याइएको छ, प्रशासनिक खर्च कम गरी पुँजीगत खर्च वृद्धि गरेका छौँ,’ धिमालले भने ।