विकासन्युज

जुत्ता उत्पादनबाट वार्षिक आठ लाख कमाउँदै काभ्रेका पौडेल

धुलिखेल । जिल्लाको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–५ तालढुङ्गाका पृथ्वी पौडेलले घरमा नै उद्योग सञ्चालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । उनले ‘शर्मिला घरेलु उद्योग’ सञ्चालन गरेर जुत्ता, चप्पल र विद्युतीय सामग्रीको उत्पादन गरी थोक तथा खुद्रा बिक्री गर्दै आएका हुन् । उद्योगबाट वार्षिक आठ लाख रुपैयाँसम्म नाफा हुने गरेको उद्यमी पौडेलले बताए । उनको उद्योगमा चप्पल उत्पादनदेखि ‘एलइडी बल्बल एसेम्बल’सम्म हुने गरेको छ । दैनिक तीन सय जोरसम्म चप्पल उत्पादन हुने गरेको छ । आफूले बनाएका चप्पलको माग बढेको जानकारी दिँदै उनले भने, ‘बल्बको शर्मिला एलइडी भनेर ब्राण्डिङ एवं बिक्री गर्दै आएको छु, चप्पलको पनि अब छिट्टै ब्राण्डिङ गर्नेछु ।’ तेह्र लाख लगानी गरेर दुई वर्षदेखि सञ्चालन भएको उद्योगमा चप्पल बनाउने ठूला दुई र सानो एउटा मेसिन तथा बल्ब एसम्बल गर्न चारवटा मेसिन राखेर उनले काम गरिरहेका छन् । मलेसिया र इराकमा काम गरेर फर्केका उनले बस्ती विस्तारसँगै आफ्नो उद्योग फस्टाएको बताए । तीनदेखि ५० वाटसम्मका बल्ब उत्पादन गरेर बजारीकरण गर्दै उनले अहिले मागअनुसार आपूर्ति गर्न नसकेको बताए । सहज रूपमा उद्योग सञ्चालन गर्न तथा उत्पादित सामग्री बजार पुर्याउन मौजुदा सडकको दुरावस्थाबाट आफू चिन्तित रहेको उनले सुनाए । रासस

समृद्धि फाइनान्स गैर शाखाले मनायो पहिलो वार्षिकोत्सव

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड शाखा कार्यालय गैर सर्लाहीले मंगलबार पहिलो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरेको छ । शाखाले स्थापनाकालदेखि हालसम्म १ हजार ६०० ग्राहकलाई आवद्ध गर्दै ७ करोड ६६ लाख बचत संकलन र १ करोड ५० लाख लगानी गर्न सफल भएको शाखा प्रमुख रामहरी निरौलाले जानकारी दिए । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले कविलासी नगरपालिकाका स्थानीय व्यापारी, वचतकर्ता,बुद्विजिवि, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ–आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् । समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर टि जि एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । फाइनान्सले मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ ।

भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुंगा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुंगा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुंगा ब्राण्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताए । बेलढुंगा म्याग्दीको भकिम्ली र बागलुङको धम्जाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल हो । ७५ रोपनीमा बर्खे र २५ रोपनीमा उन्नत जातको जनकदेव र रोजिटा जातका आलुखेती गरिएकामा जनकदेव र रोजिटाको उत्पादन प्रशस्त भएको पुनले जानकारी दिए । स्वदेश तथा विदेशमा रहेका १९ जनाको लगानी रहेको फार्ममा खेतबारीदेखि उपभोक्ताको भान्सासम्म भकिम्लीको आलुको ब्राण्ड स्थापित गर्नेगरी संस्थाको नाम, ठेगाना र परिमाण उल्लेख गरी बजारमा लैजाने तयारी गरेको उनले बताए । फार्ममा आबद्ध आलु उत्पादक समूहले आफ्नोबाहेक स्थानीय किसानद्वारा उत्पादित आलु बजारीकरणमा सघाउने जनाएको छ । समूहले जनकदेव र रोजिटा जातका आलुको आकारअनुसार मूल्य तोकेको छ । सानालाई प्रतिकेजी ३५, मध्यमको ४० र ठूलो आलु प्रतिकेजी ५० रुपैयाँमा खुद्रा बिक्री गर्ने समूहले जनाएको छ । समुद्र सतहबाट एक हजार ६ सयदेखि तीन हजार पाँच सय मिटरको उचाइसम्म रोजिटा आलु प्रतिहेक्टर १० देखि १४ मेट्रिक टन फल्ने भएकाले आलुको बीउ कृषि ज्ञान केन्द्रले सिफारिस गरेको कृषि प्राविधिक सहायक श्यामशरण कर्मीले बताए । उन्नत जातका आलुमा रोग, कीराको प्रकोप नहुने र उत्पादन राम्रो हुने भएकाले किसान त्यसप्रति आकर्षित भएका उनले बताए । जिल्लाको मुसुङ, भुकभुके, भकिम्ली क्षेत्र आलु उत्पादनका लागि उपयुक्त भएकाले केन्द्रले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत किसानलाई आलुखेतीमा लाग्न प्रोत्साहन गरेको उनले जानकारी दिए । गण्डकी प्रदेश कृषि तथा सहकारी मन्त्रालयले म्याग्दीमा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आवमा तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । केन्द्रका अनुसार म्याग्दीमा वार्षिक २५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।

अमेरिकमा तीव्ररूपमा फैलियो बर्ड फ्लू , महामारीबाट बच्न विश्व समुदाय तयार नभएको प्रतिवेदन सार्वजनिक

पेरिस । अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा हुने महामारीबाट बच्नका लागि संसार तयार नभएको कडा चेतावनी दिएको मंगलबार एक प्रतिवेदनमा बताइएको छ । प्रतिवेदनमा नेताहरूलाई शीघ्र कदम चाल्न आग्रह गरिएको छ । कोभिड–१९ महामारीको प्रारम्भको चार वर्षभन्दा धेरै समयपछि राजनीतिज्ञहरूले प्रकोपको पुनरावृत्तिबाट बच्नका लागि पर्याप्त पैसा वा प्रयास नगरेर ‘उपेक्षाको माध्यमबाट जुवा’ खेलिरहेको प्रतिवदेनमा उल्लेख छ । अमेरिकाभरि फार्महरूमा गाईवस्तु र केही मानवलगायत स्तनधारी जनावरमा बर्ड फ्लू एच५एन१ तीव्ररूपमा फैलिरहेको छ । यसबाट यो भाइरसले भविष्यमा महामारी फैलाउन सक्छ भन्ने डर उत्पन्न भएको छ । ‘यदि एच५एन१ एउटा व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सुरु गर्यो भने विश्व पुनः अभिभूत हुनेछ,’ प्रतिवेदनका सह–लेखक तथा न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले एक पत्रकार सम्मेलनमा भने, ‘यो सम्भावितरूपमा कोभिडभन्दा पनि धेरै विनाशकारी हुनसक्छ ।’ ‘हामी प्रकोप फैलिनुअघि रोक्न पर्याप्तमात्रामा सुसज्जित छैनौँ,’ प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विशेषरूपमा बालबालिकालाई प्रभावित गर्ने एमपक्सको घातक तनावलाई संकेत गर्दै उनले भने । धनी मुलुकहरूसँग एमपक्सको प्रकोपसँग लड्न खोप भए पनि ती खोप मध्य अफ्रिकी मुलुकलाई उपलब्ध नगराइएको उनले बताए । अहिले दक्षिण अफ्रिकामा एमपक्स स्ट्रेनबाट दुई जनाको मृत्यु भएको भन्दै क्लार्कले यसबाट बेवास्ता गर्दा कसरी रोगजनकहरू फैलिन्छन् भन्ने देखिएको उनले बताए। प्रतिवेदनको नेतृत्व क्लार्क र लाइबेरियाका पूर्वराष्ट्रपति एलेन जोनसन सिरलिफले गरेका थिए । सिरलिफले यसअघि महामारीको तयारीमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई सल्लाह दिने स्वतन्त्र प्यानलको सह–अध्यक्षका रूपमा काम गरेका थिए । ‘सन् २०२१ मा प्यानलको सल्लाहका बावजुद आवश्यकताको तुलनामा अहिले उपलब्ध धनराशि कम छ र उच्च आम्दानी भएका मुलुकहरूले इक्विटीका लागि परम्परागत परोपकारमा आधारित दृष्टिकोणलाई बलियोसँग पक्रिरहेका छन्,’ क्लार्कले भने । विशेषगरी सम्पन्न मुलुकहरू र कोभिड संकटको समयमा कटौती गरिएका महसुस गर्नेहरूबीचको भिन्नताका कारण डब्लुएचओका सदस्यहरू अझै पनि बहुचर्चित महामारी सम्झौतामा सहमत हुन सकेका छैनन् । प्रतिवेदनमा सरकार तथा अन्तर्राष्ट्रिय संगठनहरूलाई डिसेम्बरसम्ममा नयाँ महामारी सम्झौतामा सहमत हुनका साथै खोप उत्पादनलाई बढावा दिन, डब्लुएचओको शक्तिलाई बढाउन र भाइरससँग लड्ने राष्ट्रिय प्रयासहरूलाई बढावा दिनका लागि थप प्रयासहरूलाई वित्तपोषित गर्न आह्वान गरिएको छ । सम्भावित खतरामाथि जोड दिनका लागि प्रतिवेदनले आगामी २५ वर्षमा कोभिडजस्तै आकारको महामारीको सामना गर्ने एकरदुई सम्भावनाका मोडेलिङ अनुसन्धानलाई औंल्याएको छ । एजेन्सी

बिलबिजक नभएका २ करोड २९ लाख बराबरका समान बरामद

वीरगञ्ज । पर्सा प्रहरीले २ करोड २९ लाख ३९ हजार ६ सय ५७ मूल्य बराबारका बिलबिजक नभएका सामान बरामद गरेको छ । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ स्थित एकीकृत जाँच चौकीको गेटसँगै रहेको सडकमा पार्किङ गरेर राखेका ट्रकको छानबिन गर्दा बिलबिजक नभएका हार्डवेयर, कपडा तथा खुद्रा सामान लोड भएका तीन ट्रक पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बिलबिजकभन्दा धेरै सामान ल्याएका भन्दै तीनवटा ट्रकलाई आइतबार नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाएको बताए । प्रहरीले ना३ख ६९०५, ना३ख ५१६७ र ना३ख २६२० नम्बरका ट्रकबाट दुई करोड २९ लाख रुपैयाँ बराबरको सामान पनि नियन्त्रणमा लिएको जनाएको छ ।

जुम्लाका स्थानीय तहको आम्दानी न्यून

जुम्ला । जुम्लाको एक नगरपालिकासहित ७ गाउँपालिका गरी ८ वटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत घटेको महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा औंल्याइएको छ । प्रतिवेदनअनुसार जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले आर्थिक वर्ष २०७९/८० मा वार्षिक आय २ करोड ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेकामा १ करोड २० लाख ६० हजार रुपैयाामात्र आम्दानी भएको छ । नगरपालिकाले उठाएको उक्त रकम विभिन्न शीर्षकअन्तर्गत कर, सेवा शुल्क, व्यवसाय, सवारी, एकीकृत सम्पत्ति, घरजग्गा बहाल र नक्सापासबाट प्राप्त भएको हो । तिला गाउँपालिकाले १८ लाख ९० हजार आन्तरिक आम्दानी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ मा पालिकाले आफ्नो कार्यक्षेत्रभित्रका विभिन्न व्यवसाय गर्ने व्यक्तिबाट व्यवसाय कर उठाउनुपर्ने व्यवस्था रहे पनि तिलाले कुनै पनि कर संकलन गर्न नसकेको महालेखा परीक्षकको प्रतिदेनमा सार्वजनिक गरिएको छ । यसैगरी, सिञ्जा गाउँपालिकाले गत आवमा १३ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको थियो । तातोपानी गाउँपालिकाले पेस गरेको आयव्यायको अनुमानमा आन्तरिक आयतर्फ मालपोत कर सेवा, शुल्क दस्तुरवापत अनुमानित २० लाख रुपैयाँ प्राप्त हुुने प्रक्षेपण गरेकामा सोही आवमा ३० लाख ९९ हजार अर्थात् अनुमानभन्दा ५४.९९ प्रतिशत बढी आन्तरिक आय उठेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए । गुठीचौर गाउँपालिकाले १८ लाख ६६ हजार, हिमा गाउँपालिकाको १६ लाख ५४ हजार र कनकासुन्दरी गाउँपालिकाले १८ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको महालेखा परीक्षकको प्रतिदेनमा जनाइएको छ । स्थानीय तहले विभिन्न नौ प्रकारका कर उठाउन पाउने कानुनी व्यवस्था भए पनि जिल्लाका स्थानीय तहले आय संकलनमा कुनै चासो नदिएका तिला गाउँपालिका स्थानीयवासी नर रोकायाले बताए । आम्दानी कम हुँदा स्थानीय सरकार, संघ र प्रदेश सरकारको अनुदानमा निर्भर छन् ।

सूर्यज्योति लाइफको ५ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ५ लाख ६८ हजार २ सय ८७ कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर इच्छुकले ३५ दिनभित्र थापाथलीस्थित कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई शिलबन्दी बोलपत्र पेस गर्नु सक्नेछन् । तोकिएको अवधिमा खरिद आवेदन नपरे उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेशलगायत बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । त्यसैगरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, मधस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले बिहान ६ः०० बजे जारी गरेको बुलेटिनमा कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । विभागले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न तथा भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।