१८ लाख किसान सूचीकृत
काठमाडौं । किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन् । अनुदानलगायत सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहितको एकीकृत तथ्यांक संकलन भइरहेको छ । राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारी भएको छ । यो विद्युतीय सूचना प्रणालीमा किसान जोडिएपछि रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधा उपलब्ध गराउन सहज हुने छ । कृषि सूचना तथा प्रशिक्षण केन्द्रले समन्वय गरेको उक्त कार्यक्रममा देशभर स्थानीय तहमार्फत किसानका सूचना संकलन गरिएको हो । विसं २०७७ फागुनमा मन्त्रिस्तरीय बैठकबाट सुरु भएको यस कार्यक्रममा आगामी वर्ष १२ लाख सूचीकृत गर्ने योजना रहेको मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए । यसैबीच, उक्त मन्त्रालयले कृषि पशुपक्षी विकाससम्बन्धी सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा किसान पहिचानको प्रमाणका रूपमा किसान परिचयपत्रलाई मान्यता दिने जनाएको छ । किसानलाई प्राविधिक सेवा प्रवाह गर्न निकट भविष्यमा ‘मोबाइल एप्लिकेसन’को विकास गरिने जनाइएको छ ।
सेबोन अध्यक्षकाे अन्तर्वार्तामा आज पनि तीन जना उम्मेदवार अनुपस्थित, सरकारी दबाब इग्नोर
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि संक्षिप्त सूचि (सर्ट लिस्ट) मा समावेश भएका उमेदवारहरूमध्ये आइतबार उपस्थित नभएका तीन जना उमेद्वार बुधबार (आज) पनि अनुपस्थित भएका छन् । अर्थमन्त्रालयले छुटेका तीन जनाको आज कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता हुने सूचना जारी गरेकाे थियो । अन्तर्वार्ताका लागि बिहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा सञ्चालन हुने भनिएकोमा तीन जना नै अनुपस्थित भएको बुझिएको हो । बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारमध्ये आइतबार तीन जना अन्तर्वार्तामा अनुपस्थित भएका थिए । सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका हुन् । उनीहरूले सल्लाह गरेर नै अनुपस्थित भएको बुझिएको छ । स्रोतका अनुसार अर्कै उम्मेदवारलाई अध्यक्ष बनाउने राजनीतिक सहमति भएपछि तीन जनाले अन्तर्वार्ता बहिस्कार गरेको बुझिएको हो । उनीहरू तीनै जना माओवादी निकट उम्मेदवारका रूपमा धेरैले चिन्छन् । सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै आइतबार कार्यायोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए । अनुपस्थित भएका उम्मेदवार अधिकारी नेपाल धितोपत्र बोर्डका अध्यक्ष र काकी नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत हुन् । उनीहरु अहिले नै सरकारी निकायमा कार्यरत छन् । स्रोतका अनुसार उनीहरूलाई जसरी पनि अन्तर्वार्तामा सहभागी हुन दबाब थियो । सरकारी निकायबाट प्रतिनिधित्व गर्ने उम्मेदवार भएकोले पनि उनीहरूलाई अन्तर्वार्तामा सहभागी हुनका लागि सरकारबाटै दबाब थियो । तर, उनीहरू उपस्थित नभएका हुन् । कार्की पूर्व अर्थमन्त्री जनार्दन शर्मा निकट मानिन्छन् । शर्माले नै उनलाई नेप्सेको सीईओमा नियुक्त गरेका हुन् । त्यस्तै, चापागाईं पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् भने अधिकारी पनि माओवादी निकट नै छन् ।
नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १७ जनाको उम्मेदवारी, एनटीसी भित्रकै तीन जना भिड्दै
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । यसअघि जेठ २२ मा खुलाएको दरखास्तमा मंगलबार अन्तिम दिनसम्म १७ जनाले आवेदन दिएकाे सञ्चार तथा सूना प्रविधि मन्त्रालयले जनाएकाे छ । सूचनाअनुसार आवेदन दिनेहरूमा टेलिकमका तीन जना निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी, अनिल कुमार झा र शालिग्राम पराजुली छन् । यसैगरी बिमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, वुद्धिप्रसाद आचार्य, शालिकराम सुवेदी, रमेशप्रसाद जोशी, कमल लामिछाने, केदारनाथ कोइराला, नगेन्द्रकुमार दास, सुभाष शाह, लक्ष्मण महर्जन, कृष्णप्रसाद भण्डारी, चिन्तामणि बराल र प्रेमप्रसाद सिलवालको पनि आवेदन परेको छ । आवेदनका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको, मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने न्यूनतम मापदण्ड राखिएको थियो ।
संसद भवनको सुरक्षामा खटिएको सुरक्षाकर्मीले गरे आत्महत्या
काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयको सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । बुधबार बिहान संसद भवनको शौचालयमा गोली लागेको अवस्थामा उनलाई मृत भेटिएको हो । २२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानेको बताइएको छ । नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत उनी २०७८ मा भर्ना भएका थिए । उनी बिहान ड्युटी गरिरहेका थिए । सोही क्रममा उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेको बताइएको छ ।
सवा ४ करोडमा इलाममा ६ वटा सिँचाइ आयोजना निर्माण
फिक्कल । इलामको फाकफोकथुम गाउँपालिकामा चार करोड १९ लाख ८२ हजार चार सय ३२ रुपैयाँको लागतमा छवटा सिँचाइ आयोजना निर्माण भएका छन् । चालु आर्षिक वर्षमा सञ्चालित आयोजनाको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका साना सिँचाइ कार्यक्रमले जनाएको छ । आयोजनाअन्तर्गत ‘ड्याम’ र पक्की कुलोलगायत पूर्वाधार निर्माण भएका छन् । फाकफोकथुम गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं ६ बाहेक सबै वडामा एक–एकवटा सिँचाइ कुलो निर्माण भएको छ । वडा नं १ स्थित धलपुजे टारीटोलमा ६६ लाख ७० हजार दुई सय ७२ रुपैयाँको लागतमा ७० घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी धुलपुजे टारी सिँचाइ कुलो र वडा नं २ स्थित राईगाउँमा रु ९९ लाख ४४ हजार छ सय ८६ लागतमा ६५ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी राईकुलो सिँचाइ निर्माण भएको छ । वडा नं ३ स्थित पिपलडाँडा सल्लेरी गाउँमा ६० लाख ८१ हजार चार १६ रुपैयाँको लागतमा एक सय ६३ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी धनसार पिपलडाँडा सल्लेरी सिँचाइ कुलो र वडा नं ४ स्थित गुरुङगाउँमा ५४ लाख २८ हजार नौ सय २० रुपैयाँको लागतमा ३९ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी गुरुङखोला सिँचाइ कुलो निर्माण भएको छ । यसैगरी, वडा नं ५ स्थित फुङगाउँमा ३९ लाख १४ हजार ३७ रुपैयाँको लागतमा ३१ परिवार लाभान्वित हुनेगरी फुङखोला कुलो र वडा नं ७ स्थित तिवागाउँमा ९९ लाख ४३ हजार ९८ रुपैयाँको लागतमा एक सय २७ परिवारको खेत सिँचाइ गर्नेगरी तिवाखोला ठाडे सिँचाइ कुलो निर्माणको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले बताए । आयोजना सम्पन्न भएपछि फाकफोकथुमका छवटा वडाका खेतबारीमा बाह्रैमास पानी पुग्नेछ । आयोजनाबाट दुई सय १७ हेक्टर क्षेत्र सिँचाइ सुविधा भएपछि उत्पादन बढ्ने विश्वास उनले व्यक्त गरे । सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने स्थानीय पञ्च योङहाङको अपेक्षा छ । फाकफोकथुममा धान, मकै, गुहँलगायत अन्नबाली, अलैँची, अदुवा, आलु, अम्रिसोजस्ता नगदेबाली तथा अकबरे, मुला, काउली, बन्दकोबी, सिमीको व्यावसायिक खेती हुँदै आएको छ । आयोजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय र प्रदेश सरकार तथा फाकफोकथुम गाउँपालिकाको २०–२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी छ । युवालाई कृषि क्षेत्रमा आकर्षित गरी उत्पादकत्व वृद्धि गर्ने र कृषिको व्यावसायिकीकरणबाट आयआर्जन गर्ने लक्ष्यका साथ साना सिँचाइ कार्यक्रम सञ्चालन गरिएको हो । रासस
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, टेलर पुरियो
कमलामाई । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड बुधबार बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेका छन् । त्यस्तै गोलञ्जोर–१ कुडुलेमा प्र२–०३–००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ । सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।
दुधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन, ३४ जना पक्राउ
काठमाडौं । दुधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरुले विरोध प्रदर्शन गरेका छन् । दुधको भुक्तानी तत्काल दिन माग गर्दै बुधबार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय घेराउ गरेका हुन् । उनीहरुले दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरुबाट लामो समयदेखि दुधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरुलाई प्रहरीले पक्राउ गरेको छ । भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता/सहमती समेत कार्यान्वन नभएको उनीहरुको आरोप छ ।
जुत्ता उत्पादनबाट वार्षिक आठ लाख कमाउँदै काभ्रेका पौडेल
धुलिखेल । जिल्लाको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–५ तालढुङ्गाका पृथ्वी पौडेलले घरमा नै उद्योग सञ्चालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । उनले ‘शर्मिला घरेलु उद्योग’ सञ्चालन गरेर जुत्ता, चप्पल र विद्युतीय सामग्रीको उत्पादन गरी थोक तथा खुद्रा बिक्री गर्दै आएका हुन् । उद्योगबाट वार्षिक आठ लाख रुपैयाँसम्म नाफा हुने गरेको उद्यमी पौडेलले बताए । उनको उद्योगमा चप्पल उत्पादनदेखि ‘एलइडी बल्बल एसेम्बल’सम्म हुने गरेको छ । दैनिक तीन सय जोरसम्म चप्पल उत्पादन हुने गरेको छ । आफूले बनाएका चप्पलको माग बढेको जानकारी दिँदै उनले भने, ‘बल्बको शर्मिला एलइडी भनेर ब्राण्डिङ एवं बिक्री गर्दै आएको छु, चप्पलको पनि अब छिट्टै ब्राण्डिङ गर्नेछु ।’ तेह्र लाख लगानी गरेर दुई वर्षदेखि सञ्चालन भएको उद्योगमा चप्पल बनाउने ठूला दुई र सानो एउटा मेसिन तथा बल्ब एसम्बल गर्न चारवटा मेसिन राखेर उनले काम गरिरहेका छन् । मलेसिया र इराकमा काम गरेर फर्केका उनले बस्ती विस्तारसँगै आफ्नो उद्योग फस्टाएको बताए । तीनदेखि ५० वाटसम्मका बल्ब उत्पादन गरेर बजारीकरण गर्दै उनले अहिले मागअनुसार आपूर्ति गर्न नसकेको बताए । सहज रूपमा उद्योग सञ्चालन गर्न तथा उत्पादित सामग्री बजार पुर्याउन मौजुदा सडकको दुरावस्थाबाट आफू चिन्तित रहेको उनले सुनाए । रासस