विकासन्युज

आर्थिक मन्दीले पर्वतका २३६ उद्योग बन्द

फाइल फोटो पर्वत । कोभिड–१९ संक्रमणपछि देखिएको आर्थिक मन्दीको प्रभाव पर्वतका उद्योग व्यवसामा पनि परेको छ । पर्वतमा गत आर्थिक वर्षमा दर्ता भएका उद्योग व्यवसकायको तुलनामा बन्द हुने उद्योग व्यवसायको संख्या बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा पर्वतमा १ सय ९५ उद्योग, व्यवसाय फार्म दर्ता भएकामा २ सय ३६ वटा बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार गत आवमा ९४ उद्योग दर्ता भएकामा १ सय सात खारेज भएका छन् । एक सय एक वाणिज्य फार्म दर्ता भएकामा एक सय २९ फार्म खारेज भएको कार्यालय प्रमुख अशोककुमार नेपालीले जानकारी दिए । पर्वतमा आर्थिक वर्ष २०७९/८० सम्म ३ हजार ४ सय २६ उद्योग र ३ हजार २ सय ७५ वाणिज्य फार्म रहेकामा आव २०८०र८१ को अन्त्यमा घटेर ३ हजार ४ सय १३ उद्योग र ३ हजार २ सय ४७ वाणिज्य फार्म कायम रहेको कार्यालय प्रमुख नेपालीले बताए । एकै वर्षमा ४७ उद्योग बन्द भएका छन् । आर्थिक मन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातीत वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग बन्द हुने क्रम बढेको छ । उद्योग व्यवसाय छाडेर विदेश जान थालेपछि बजार क्षेत्रका २० प्रतिशत सटर खाली भएको उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुरवि पौडेलले बताए । व्यापार व्यावसायमा परेको मन्दीले उद्योगी, व्यवसायी पलायन हुनेक्रम बढेको उनको भनाइ छ । लाखौँ रुपैयाँ लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गरे पनि पर्याप्त आम्दानी हुन नसकेपछि व्यवसायी विस्थापित हुनुपरेको छ । कोरोना संक्रमणपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुने क्रम उल्लेख्य मात्रामा रहेको कार्यालयले जनाएको छ । कोरोना संक्रमणपछि देखिएको चौतर्फी आर्थिक मन्दीको प्रभाव उद्योग व्यवसायमा परेको हो । पर्वतमा अघिल्लो आर्थिक वर्षमा ९२ उद्योग खारेज भएका थिए ।  २७४ वटा उद्योग तथा व्यवसाय दर्ता भएकामा ९२ खारेज भएका थिए । कार्यालय प्रमुख नेपालीका अनुसार कृषि, पशुपक्षी फार्म, फलफूलखेती, गाईपालन, भैँसीपालन, व्यावसायिक बाख्रापालनलगायत घरेलु उत्पादनका उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको पाइन्छ । वैदेशिक रोजगारीमा जाने विद्यार्थीका लागि स्वदेशमै उद्यम गरेको प्रमाण देखाउनुपर्ने भएकाले पनि उद्योग दर्ता बढेको उनले बताए । वाणिज्य फार्मतर्फ दर्ताको संख्यासँगै फार्म बन्द हुने संख्या पनि बढेको छ । पर्यटन तथा उद्योग कार्यालयले आव २०८०/८१ मा ९७.७७ प्रतिशत प्रगति हासिल गरेको छ । पर्वतमा गत आर्थिक वर्षमा ५५ पर्यटन पूर्वाधार निर्माण भएका छन् भने ६९ जनालाई सीप विकास तालिम प्रदान गरिएको छ ।त्यसैगरी कार्यालयले २२ उद्योगलाई प्रविधि हस्तान्तरण गरेको छ । आव २०८०/८१ मा कार्यालयले २२ लाख ५१ हजार राजस्व संकलन गरेको जनाएको छ ।

चितवनमा फैलिँदै डेंगु, ५१ जनामा देखियो संक्रमण

चितवन । चितवनमा ६४ जनामा डेंगको संक्रमण देखिएको छ । ३ सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेंग संक्रमण देखिएको हो । संक्रमितमध्ये ५१ जना चितवनका हुन् । साउन महिनाको ११ गते सम्ममा उनीहरूमा डेंगु संक्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगको संक्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगको संक्रमण देखिएको उनले बताए । भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेंग देखिएको छ । उनले भने, ‘डेंगको संक्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ ।’ संक्रमण बढेसँगै संक्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए । जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म १ हजार ८ सय ३१ जनामा डेंगको संक्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार ८ सय ४० जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो । विशेषगरी भदौ र असोजमा डेङ्गु रोग बढी देखिने गर्दछ । उनले भने, ‘अहिले साउनको सुरुआतदेखि नै डेंगको संक्रमण देखिन थालेको छ ।’ यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायःबिहान र बेलुकाको समयमा टोक्छ । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ । यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्यांकी, आदिमा फूल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ । डेंग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्ष्यण देखा पर्छन् । यस्तै, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण देखापर्ने उनले बताए । डेंगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु हो । डेंग ज्वरो नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा देखिएको थियो । चितवन घुम्न आएका एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो । उनलाई सामान्य ज्वरो आएका कारण उपचारपश्चात् जापान फर्किएर परीक्षणका क्रममा डेंग पुष्टि भएको कार्यालय प्रमुख रुपाखेतीले जानकारी दिए । त्यसपछि सन २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा डेंगका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा ९ जनामा डेंगको संक्रमण देखिएको उनले बताए । योसँगै आपसका जिल्लाबाट पनि ज्वरोका बिरामी उपचारका लागि चितवन आउने गरेका थिए । सन् २०१० मा ३ हजार २ सय ९८ जनाको परीक्षणका क्रममा ७ सय ३९ जनामा डेंग संक्रमण देखिएको थियो । यस्तै आर्थिक वर्ष २०७४/७५ मा १ हजार २ सय ९१ जनाको परीक्षणका क्रममा ५९ जनामा डेंग पुष्टि भएको थियो । सो समयमा एक जनाको मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यस्तै आव २०७५/७६ मा १ हजार ९ सय ५१ जनाको परीक्षणका क्रममा ३१ जनामा डेंग भेटिएको थियो । आव २०७६/७७ मा १९ हजार २ सय ३० जनाको परीक्षणका क्रममा ४ हजार ८ सय तीन जनामा संक्रमण देखिएको थियो भने तीन जनाको मृत्यु भएको थियो । आव २०७७/७८ मा एक हजार सात सय १७ जनाको परीक्षणका क्रममा २ सय ४३ जनामा डेंग रोग देखिएको कार्यालयले जनाएको छ । आव २०७८/७९ मा १४ हजार ९ सय ७८ जनाको परीक्षण गरिएकामा ३ हजार ३ सय ३६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस वर्ष डेंगका कारण चार जनाको मृत्यु भएको उनले जानकारी दिए । आव २०७९/८० मा ५ हजार ४ सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेंगको संक्रमण देखिएको थियो ।

रेखांकन गरिएको तीन दशकपछि कालोपत्रे भयो कुन्छा जोड्ने सडक

करिब तीन दशकअघि रेखांकन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो । तीन दशक अगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा पहिलो चरणमा ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। आर्थिक वर्ष २०८०/८१ मा विनियोजित उक्त बजेटबाट अहिले कालोपत्र गर्न थालिएको हो। यो सडकले तनहुँको भानुसँगै लमजुङको कुन्छालाई जोड्ने छ । नगरपालिकाले सो सडकखण्डलाई नगर गौरवको आयोजनाका रूपमा सूचीकृत गरेको छ । नगरपालिका, प्रदेश र संघीय सरकारसँगको साझेदारीमा उक्त सडकको बाँकी खण्डमा पनि कालोपत्र गर्दैलैजाने प्रमुख त्रिपाठीले बताए ।

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी, साढे १६ लाख राजस्व संकलन

मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा संकलन कार्य सम्पन्न भएको छ। उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा संकलन तथा निकासी भएको जानकारी दिए । उक्त परिमाणको यार्सागुम्बा निकासीबाट १६ लाख ५७ हजार पाँच सय राजस्व संकलन भएको उनले बताए। यार्सा निकासीका लागि प्रतिकिलो ५१ हजार दस्तुर लिने गरिएको छ । निकासी गरिएको दस्तुर ५१ हजारमध्येबाट रु १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा रु १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ। मनाङमा यार्सागुम्बा संकलन नाम्के खर्कबाट सुरु गरिएको थियो। यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट संकलन गरिन्छ। गत वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जनाले यार्सागुम्बा संकलनको अनुमति लिएका थिए । अनुमतिपत्रबिना औषधीय जडीबुटी संकलन गर्न पाइँदैन । जसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिन्छ । प्रमुख भुजेलका अनुसार मनाङमा नाम्के खर्क यार्सागुम्बा संकलन गर्ने पहिलो गन्तव्य हो । खर्कबाट यार्सागुम्बा संकलन गर्न अनुमति दिने निर्णयबमोजिम संकलकलाई अनुमति दिइएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका संयोजक एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिए । ‘अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा संकलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान छ। सोहीअनुरूप यार्सागुम्बा संकलनका निम्ति नाम्के खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई संकलन अनुमति दिइन्छ,’ उनले भने । मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा संकलन गरिन्छ। यार्सागुम्बा खोज्ने क्रममा २०६६ सालमा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङको साविकको ‘नार’ र ‘फु’ गाविमा यार्सागुम्बा संकलन कार्य रोकिएको थियो। नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले यार्सागुम्बा संकलन गर्न अन्य जिल्लाका संकलकलाई अनुमति नदिइएको बताए । ‘सुरक्षाको चुनौतीकै कारण बाह्य जिल्लाबाट आउने यार्सागुम्बा संकलकलाई रोक लगाएका छौँ । विगतका जस्ता घटना दोहोरिनु हुँदैन भनेर स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ,’ उनले भने। यार्सागुम्बा ससंकलनका लागि अनुमति लिन प्रतिव्यक्ति ३५ हजार शुल्क तोकिएको छ । उनले पहिले जस्तै नार र फुमा अन्य जिल्लाबाट आउने संकलनलाई यार्सागुम्बा संकलनमा रोक लगाइएको बताए। नार्पाभूमिको नार र फु संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाका हिसाबले पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी निर्णय गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले यार्सागुम्बा संकलनका लागि स्वीकृति दिएपछि मात्रै संकलन गर्न खर्क पस्न पाउँछन् । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा संकलन गर्न मनाङका लेक पुग्छन् । नार घटनापछि एक्याप मनाङले यार्सागुम्बा संकलनलाई व्यवस्थित बनाउँदै लगेको छ । जिल्ला समन्वय प्रमुख, पालिकाका अध्यक्ष, सुरक्षा निकायका प्रमुख र संरक्षण समितिका पदाधिकारीसहितको बैठकपछि मात्रै यार्सागुम्बा संकलनका लागि खुलाउने प्रावधान छ । संयुक्त बैठकले निर्णय गरेबमोजिम पुर्जी काटेर संकलन अनुमति दिइन्छ। पुर्जी काटिसकेपछि मात्रै स्थानीय तथा बाह्य जिल्लाबाट आउने संकलकलाई खर्क जान अनुमति दिइने संरक्षण व्यवस्थापन समितिले जनाएको छ । चार वटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकले १० यार्सागुम्बा टिपेपछि एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ। मनाङको नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, पिसाङ लेक, फु लेकलगायतका खर्कमा यार्सागुम्बा बढी पाइने स्थान हुन् । यार्सागुम्बा संकलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिन्छ।

मौद्रिक नीति तुलनात्मक रूपमा केही लचक छ : चेम्बर अफ कमर्स

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तुलनात्मक रुपमा केही लचक आएको टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको मौद्रिक नीतिका केही पक्ष सकारात्मक र केही विषय अझै सम्बोधन हुन नसकेको चेम्बरले जनाएको हो । आज एक विज्ञप्ति जारी गरी चेम्बरले मौद्रिक नीतिमार्फत बैङ्कदर र नीतिगत दर घटाइएको विषयलाई सकारात्मक रूपमा लिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘बैंक दरलाई ७ प्रतिशतबाट छ दशमलव पाँच प्रतिशत र नीतिगत दरलाई पाँच दशमलव पाँचबाट पाँच प्रतिशत कायम गरिएको छ । यसले ब्याजदर घटाउन सहजता प्रदान गर्नेछ ।’ निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनःस्थापनाका लागि मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरू पनि सकारात्मक रहेको उल्लेख गर्दै चेम्बरले चालु आवको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने जनाएको छ । असल कर्जामा गर्नुपर्ने विद्यमान एक दशमलव २० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई घटाएर एक दशमलव १० प्र्रतिशत कायम गरिनुपर्ने व्यवस्था सकारात्मक रहेको चेम्बरको ठहर छ । चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैङ्किङ कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्नेलगायत व्यवस्था परिमार्जन गर्नेगरी विद्यमान कर्जा सूचना तथा कालोसूचीसम्बन्धी निर्देशिकामा पुनरावलोकन गरिने व्यवस्था सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख छ । संस्थागत सेयर कारोबारलाई प्रोत्साहन गर्न हाल कायम रु २० करोडको कर्जा सीमा हटाउने पक्ष सकारात्मक भए पनि रु ५० लाखभन्दा माथिको कर्जा प्रवाहको जोखिमभार शत्प्रतिशत कायम गरिनुपर्ने माग सम्बोधन हुन नसकेको चेम्बरले गुनासो गरेको छ । यस्तै, घरजग्गा कारोबारलाई थप गति दिन रु ५० लाखभन्दा माथीको कर्जा जोखिमभार शत्प्रतिशत कायम गरिनुपर्ने एवं मूल्याङकनको सीमा ८०–२० को रेसियो कायम गरिनुपर्ने माग पूरा हुन नसकेको चेम्बरले उल्लेख गरेको छ ।

प्रधानमन्त्री भन्छन् : मौद्रिक नीतिले समर्थन र स्वागत पायो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताएक छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको सपथ समारोहमा उनले सो भनाइ राखेका हुन् । शुक्रबार सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा हो । हामीले अब तीव्र गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्छ’, आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरुलाई बधाई र शुभकामना दिँदै उनले भने । प्रधानमन्त्री ओलीले मुलुकको मनोबल कमजोर भएका बेला १६औँ आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्नेमा जोड दिए । उनले उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लैजान नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन् ।

‘बन्द भएका हातखुट्टा खुल्छन्, सेयर बजारलाई असर गर्न चाहँदैनौं’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बन्द भएका हातखुट्टा खोल्ने गरी मौद्रिक नीति ल्याएका बताएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले अब मौद्रिक नीतिले बन्द भएका हातखुट्टा चल्ने बताएका हुन् । लामो समयदेखि ठप्प रहेको अर्थतन्त्र चलायमान हुने र विकास निर्माणले गति लिने गरी मौद्रिक नीति ल्याएको गभर्नर अधिकारीको भनाइ छ । ‘ठूला घराना, सिमेन्ट व्यवसायीलाई मात्रै सुविधा दिन खोजेको होइन, निर्माण व्यवसायीलाई समावेश गर्न खोजिएको हो, निर्माण व्यवसायीहरूको चक्रमा समस्या छ, काम गरेर पनि भुक्तानी पाउन सकेका छैनन्,’ उनले भने, ‘रकम नपाएका कारण चेक बाउन्स भइरहेको छ, चेक बाउन्सका कारण कालोसूचीमा परेका छन्, कालोसूचीमा परेकाले बैंक खाता बन्द छन्, बैंक खाता बन्द हुँदा हातखुट्टा बन्द छन्, यो चक्रलाई समावेश गर्ने गरी सहजीकरण गरेको हो ।’ आर्थिक गतिविधि बढाउने स्पष्ट आधार मौद्रिक नीतिमा उल्लेख गरिएको उनको दाबी छ । सिथिलतापछि माग घटेको, निर्माण कार्य रोकिएको र निर्माणसँग सम्बन्धित अन्य उद्योग व्यवसायमा सिथिलता आएको उनले बताए । साथै सहकारी क्षेत्रमा पनि समस्या आउँदा अर्थतन्त्रमा असर परेको उनको भनाइ छ । यी सबै विषयलाई समावेश गर्ने गरी मौद्रिक नीति तय भएको उनकाे भनाइ छ । ‘मौद्रिक नीतिले सबै विषय समेट्न सक्दैन, यदि मौद्रिक नीतिले सबै विषयलाई समेट्न खोज्यो भने जोखिम निम्त्याउँछ, ब्याजदरलाई स्थिरता दिने, लगानीको वातावरण वा माहोल बनाउने काम गर्छ, अन्य निकायसँगको तादम्यता र क्रियाकलाप बढ्यो भने मात्रै मौद्रिक नीतिले दिएका सुविधाहरू उपयोग हुन्छन्,’ उनले भने । मौद्रिक नीति र म्याक्रो प्रुडेन्सियल नीतिबीच समन्वय गर्न खोजिरहेका उनले बताए । अहिले बैंकिङ क्षेत्रमा अधिक तरलता भएको भनि दाबी गरिएपनि कर्जा लगानीका लागि त्यो प्रयाप्त नभएको उनको भनाइ छ । ‘मौद्रिक नीति लचिलो र म्याक्रो प्रुडेन्सियल नीति कडा हुँदा राम्रो मानिदैँन, म्याक्रो प्रुडेन्सियल नीतिमा सहजीकरण गर्न खोजेका छौं, बैंकहरूलाई पुँजी कोषको दबाब छ, पुँजी कोषको दबाबलाई कम गर्ने गरी मुख्य ७ वटा बुँदा मौद्रिक नीतिमा समावेश छन्, त्यसले बैंकको पुँजी कोषलाई सहजीकरण गर्छ,’ उनले भने, ‘बैंकहरूलाइ कर्जा दिँदा सीमा तोकेको छ, बैंकिङ क्षेत्रमा ६/७ खर्ब तरलता छ भन्ने सुनिन्छ । तर, कोर क्यापिटलको हिसाबमा उक्त रकम प्रयाप्त होइन, बैंकसँग कर्जा दिने क्षमता छैन ।’ उनका अनुसार बैंकको कर्जा दिने क्षमता बढाउने गरी मौद्रिक नीतिमा नियामकीय व्यवस्था गरिएका छन् । असल कर्जामा राख्ने प्रोभिजनदेखि थुप्रै औजारलाई अनुमति दिइएको छ । टायर २ क्यापिटल गणना गर्दा रेगुलेटरी रिजर्भमा रहेको रकम गणना गर्न दिईएको छ । जसले कर्जा प्रवाहमा भएको सकसलाई समाधान गर्ने उनको दाबी छ । ‘बजारमा कर्जा बढोस् भनेर साढे १२ प्रतिशत लक्ष्य राखिएको छ, यसले बैंक र व्यवसायीलाई साहस बढाउन खोजिएको हो,’ गभर्नर अधिकारीले भने । निर्माणलाई सहयोग पुग्नेगरी निर्माण क्षेत्रमैत्री मौद्रिक नीति ल्याएको बताउँदै उनले भने, ‘सन्तुलन कायम गर्न खोजेका छौं, अब भोलिपर्सि सर्किट लाग्छ वा लाग्दैन थाहा छैन, हामी सकभर पुँजी बजारलाई असर गर्न चाहँदैनौं, बैंकबाट जाने ऋणलाई छुन खोजेको मात्रै हो, त्यो ऋणको आआफ्ना सीमा छन्, संस्थागत रूपमा कर्जा लिएर कारोबार गर्दा कर्पाेरेट ट्याक्स तिर्नुपर्ने हुन्छ, सेयरधितो कर्जाको सीमा संस्थागतलाई हटाइएको हो, व्यक्तिलाई होइन ।’ अहिले सबै नीति खुकुलो बनाउँदा भविष्यमा जोखिम निम्तिन सक्छ । नेपालको बजार परिपक्व नभएकाले त्यो जोखिमबाट जोगिन सबै शतर्क रहनुपर्ने उनको भनाइ छ । ‘हाम्रो बजार अपरिपक्व छ, हामी सबै शतर्क हुनुपर्छ, सचेतनाका लागि सेबोनसहित हामी सबै काम गर्नुपर्छ, कति फण्डामेन्टल र कति स्प्याकुलेसन गर्ने हो त्यो पार्टाेलाई सबैले सघाउनुपर्छ,’ उनले भने, ‘नियामकीय नीति एकैपटक खोल्दा अर्थतन्त्रमा नयाँ साइकल आउन नदिन हामी शतर्क छौं, समस्या आउन नदिने गरी सजगताका साथ लचकता मौद्रिक नीति ल्याएका हौं ।’

बीवाईडी सर्भिस नेटवर्क विस्तार गर्दै साइमेक्स इंक, दुई नयाँ सर्भिस सेन्टरको उद्घाटन

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौं उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राहक आधार वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका लागि यी सर्भिस नेटवर्कको विस्तारले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ । गौरीघाटमा थप सुविधाका साथ सर्भिस सेन्टर सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीको पछिल्लो गाइडलाइन अनुसार थप परिष्कृत गरेर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको हो ।  ४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सो अत्याधुनिक सर्भिस सेन्टरमा इलेक्ट्रिक भेइकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने ८ सर्भिस बे रहेको कम्पनीले जनाएको छ । त्यसैगरी बेजोड सर्भिस अनुभव प्रदान गर्नका लागि स्पेयर पार्ट्स वेयर हाउस रहेको छ । डेन्ट पेन्ट सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्ज समेत रहेको छ । गौरीघाट सर्भिस सेन्टरमा सुपेरियर सर्भिस प्रदान गर्न प्रतिबद्ध ५० कर्मचारी रहेका छन् । उक्त सर्भिस सेन्टरको उद्घाटन सविन तन्डुकारले गरेका थिए, जो फर्स्ट जेन बीवाईडी ई६ को पहिलो ग्राहक हुन् । कुपण्डोलमा नयाँ सर्भिस सेन्टर ललितपुरका लागि बीवाईडीको आधिकारिक वितरक रहेको इको ड्राइभ अटोमोबाइल्सले कुपण्डोलमा नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ८ हजार ५५६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो सर्भिस सेन्टरमा ६ सर्भिस बे रहेका छन् । यी मध्ये २ वटा अर्जेन्ट सर्भिसका लागि प्रयोग गर्न सकिन्छ भने ४ वटा स्पेसलाइज्ड ईभी टुल्सद्वारा सुसज्जित छन् । सो क्षेत्रका बीवाईडी ग्राहकलाई कुशल र व्यापक सेवा प्रदान गर्नका लागि सर्भिस सेन्टरमा वासिङ बे र स्पेयर पार्ट्सका लागि डेडिकेटेड वेयर हाउस रहेको छ । इको ड्राइभका पहिलो ग्राहक अनिल जलान र बीवाईडी डल्फिनका पहिलो ग्राहक कृष्ण उप्रेतीले सो सर्भिस सेन्टरको उद्घाटन गरेका थिए । सुपेरियर सर्भिसका लागि प्रतिबद्धता आफ्ना ग्राहकलाई ‘सुपेरियर र सिन्सियर सर्भिस’ प्रदान गर्ने कार्यमा साइमेक्स सदैव प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । बीवाईडी हेडक्वाटरका प्रतिनिधिहरूद्वारा समय समयमा प्रदान गरिने तालिमबाट सबै साइमेक्स सर्भिसका कर्मचारीहरू प्रशिक्षित छन् र ग्राहकलाई सुरक्षा प्रदान गर्ने कार्यमा प्रमाणपत्र प्राप्त गरेका छन् । परिष्कृत सर्भिस सेन्टर बाहेक साइमेक्सले आवश्यकता अनुसार इमर्जेन्सीको समयमा प्रयोग गर्न सकिने गरी रोड साइड असिस्टेन्स (आरएसए) भेइकल र सर्भिस हटलाइनको समेत व्यवस्था गरेको छ । हाल गौरीघाट र कुपण्डोलका साथै विराटनगर, बिर्तामोड, जनकपुर, वीरगन्ज, चितवन, बुटवल, नेपालगन्ज र दाङमा बीवाईडीका सर्भिस सेन्टर सञ्चालित छन् । आगामी तीन महिना भित्रै इटहरी, पोखरा, स्वयम्भू, भक्तपुर र बनेपामा समेत बीवाईडी सर्भिस नेटवर्क सञ्चालनमा आउने छन् । ‘नयाँ सुविधा सहित काठमाडौं उपत्यकामा सर्भिस नेटवर्क विस्तार गर्न पाउँदा हामी हर्षित छौँ,’ साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘हाम्रो लक्ष्य भनेको उच्च स्तरीय क्वालिटी र केयरका साथ ग्राहकको आवश्यकता पुरा गर्दै अतुलनीय सर्भिस अनुभव प्रदान गर्नु हो ।’