विकासन्युज

लालुपाते सहकारी घोटला प्रकरण : २६५ बचतकर्ताको रकम फिर्ता गर्दै

खोटाङ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ । बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ बचतकर्तालाई बचत रकम फिर्ता दिन थालेको हो । अदालतमा विचाराधीन मुद्दा मिलापत्र गर्ने उद्देश्यले ऋणीले चलाएको रकम उठाएर बचतकर्तालाई फिर्ता दिन थालिएको सहकारीका सहजकर्ता गोपाल सैँजूले बताए । ‘अदालतमा विचाराधीन मुद्दाको फैसला हुन केही समय लाग्छ, फैसला पर्खँदा बचतकर्ता पीडितमाथि झनै पीडित हुने अवस्था देखियो’, उनले भने, ‘सर्प पनि नमर्ने, लौरो पनि नभाँचिने’ भन्ने कथनअनुसार मध्यमार्गी भूमिका निर्वाह गरेका छौँ, यसले सबैको भलाइ हुन्छ ।’ बचतकर्ता पदमकुमारी सैँजूसमेत दुई सय ६५ जनाले दिएको जाहेरीमा सरकारी वकिलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम रु चार करोड ४० लाख ६१ हजार १८ बिगो मागदाबीसहित अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । सञ्चालक समितिले उनीहरु सबैजनालाई दिक्तेलमा बोलाएर भर्पाइ गराउँदै बचत रकम फिर्ता दिने काम गरिरहेको छ । डुबेको रकम फिर्ता पाएकामा आफूहरू खुसी रहेको बचतकर्ताहरूले बताएका छन् । ‘घरजग्गा बिक्री गरेर अन्यत्र लगानी गर्न ५२ लाख ४४ हजार छ सय ८७ रकम सहकारीमा बचत गरेको थिएँ, सञ्चालक समितिको लापरबाहीले सहकारीमा जम्मा गरेको बचत रकम डुब्ने अवस्थामा पुगेको थियो, ढिलै भए पनि फिर्ता पाएका छौँ’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बचतकर्ता लेखनाथ आचार्यले भने, ‘सञ्चालक समितिको यो भूमिकाप्रति हामी आभारी छौँ, हामीले पसिना बगाएर जम्मा गरेको रकम ढिलै भए पनि फिर्ता पाएका छौँ ।’ सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । जोशीको निधनपछि निक्षेपकर्ता निक्षेप रकम फिर्ता माग्न जाँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार एवं हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि बचत अपचलन भएको विषय बाहिरिएको थियो । तत्कालीन अध्यक्ष जोशीको निधनपछि विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको कारोबार ठप्प छ । सहकारीबाट ऋणीलाई २५ हजारदेखि ९९ लाख रुपैयाँसम्म ऋण दिइएको देखिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारीका ऋणीमध्ये २४ जनालाई सहकारीको नियम मिचेर ऋण प्रवाह गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिएका छन् । ‘सहकारीको नियम मिचेर मनोमानी गरेकै कारण सहकारी सङ्कटमा फसेको अनुसन्धानमा देखियो, सहकारीको निक्षेप चार करोड ४७ लाख ५७ हजार दुई सय २१ रुपैयाँ, शेयर पुँजी रु ५१ लाख १४ हजार सात सय ८१, जगेडा कोषमा १९ लाख ५८ हजार चार सय ९२ रुपैयाँ र संस्थागत कोषमा २४ लाख ८६ हजार पाँच सय ६४ रुपैयाँ देखिन्छ’, उनले भने, ‘सञ्चालक समितिले रु चार करोड ९० लाख ९७ हजार तीन सय ९३ तिर्नुपर्ने देखिएको छ, संस्थाको वित्तीय अवस्था हेर्दा सहकारी ‘डुबेको’ छैन ।’ बचत रकम ठगी प्रकरणमा सहकारीका तत्कालीन अध्यक्ष जोशीका भाइ सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । तत्कालीन अध्यक्ष जोशीका सहोदर भाइ क्याप्टेन सुनिल, सुनिलकी श्रीमती रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र ऋणी जसुदा पौडेल जिल्ला अदालतका तत्कालीन न्यायाधीश सुभाषबाबु गिरीको आदेशमा विसं २०८० मङ्सिर २१ गते कारागार चलान भएका हुन् । सुनिल र सुनिलकी श्रीमती रविना विसं २०८० असोज १३ गते काठमाडौंस्थित उनीहरूको घरैबाट पक्राउ परेका थिए । उनीहरूमध्ये सुनिलले सहकारीको रकममा खरिद गरिएको जग्गा आफ्नो नाममा पास गरेको तथा रविनाले दुई करोड ३५ लाख रुपैयाँ बचतकर्ताको रकम अपचलन गरेको अदालतको ठहर छ । तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको तर, फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदालाई प्रहरीले विसं २०८० कात्तिक १५ गते चितवनबाट पक्राउ गरेको थियो । उनीसहित तत्कालीन अध्यक्ष जोशीका परिवारविरुद्ध सहकारी सञ्चालक समितिले विसं २०८० फागुन २ गते प्रहरीमा उजुरी दिएको थियो । तत्कालीन प्रबन्धक जोशीले तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा बचतकर्ताको करौडौँ रकम अपलचन गरेको अदालतले दिएको थुनछेक आदेशमा उल्लेख छ । प्रबन्धक जोशीलाई सञ्चालक समितिको जाहेरीका आधारमा विसं २०८० असोज १७ गते काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारीका लेखा समिति संयोजक प्रितम श्रेष्ठ र कोषाध्यक्ष रमा शाक्य १०–१० लाख रुपैयाँ तथा उपाध्यक्ष अर्जुन चौलागाईँ र सचिव मनोज राई पाँच–पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । लेखापाल सुमना राई अदालतबाट १० लाख रुपैयाँ धरौटी तोकिए पनि बुझाउन नसक्दा कारागार चलान भएर चार महिनापछि अदालतले तोकेको धरौटी रकम बुझाएर छुटेका थिए । बचतकर्ताको लगानी डुबाएको भन्दै जाहेरी परेपछि सहकारीका सञ्चालक समितिका उपाध्यक्ष चौलागाईँ, सचिव राई, कोषाध्यक्ष शाक्य, लेखा समिति संयोजक श्रेष्ठ र लेखापाल राईलाई प्रहरीले विसं २०८० कात्तिक १२ गते पक्राउ गरेको थियो । सञ्चालक समितिका पदाधिकारी पक्राउ गर्नुभन्दा महिना दिनअघि ऋणीहरूलाई प्रहरीले पक्राउ गरे पनि अनुसन्धानमा असर गर्ने भन्दै उनीहरूको नाम सार्वजनिक गरेको थिएन । प्रहरीले पक्राउ परेका नौ जनालाई सङ्गठित अपराधमा मुद्दा चलाउने भन्दै ६० दिनसम्म हिरासतमा राखेर सरकारी वकिलको कार्यालयमा राय प्रतिवेदन बुझाएको थियो । प्रहरीले सङ्गठित अपराधअन्तर्गतको राय प्रतिवेदन बुझाए पनि सरकारी वकिलले ठगी मुद्दाको अभियोगपत्र तयार गरेर अदालतमा बुझाएको हो । सहकारीको नाममा हलेसीमा ४८ लाख रुपैयाँमा खरिद गरिएको छ रोपनी तीन आना एक पैसा एक दाम (दुई कित्ता) जग्गा तत्कालीन अध्यक्ष जोशीका भाइ क्याप्टेन सुनिलको नाममा पास गरेको पाइएको छ । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर तत्कालीन अध्यक्ष जोशीको मिलेमतोमा व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ । तत्कालीन व्यवस्थापक जोशीको नाममा राखिएको बाम्राङको १६ रोपनी (तीन कित्ता) जग्गा सहकारीको नाममा ल्याइसकिएको पाइएको छ । लालुपाते सहकारी सङ्कटमा फसेको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले ऋण तिर्नका लागि सूचना जारी गर्दा तोकिएको समयभित्र पाँच ऋणीले १५ लाख १६ हजार रुपैयाँ फिर्ता गरेका छन् । रासस

आइजीआई प्रुडेन्सियलले ल्यायो मोबाइल एप्स, यस्ता छन् सुविधा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनलाइन पोर्टल तथा मोबाइल एप्सको शुभारम्भ गरेको छ । कम्पनीले आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य सहित उक्र सेवाको सुरुवात गरेको हो । कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष प्रविधि मैत्री बनाउन आवश्यक रहेको साथै आफ्ना ग्राहकहरूलाई सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले अनलाईन बीमालेख जारी गर्न सकिने गरी मोबाइल एप्सको उद्घाटन गरेको हो । उक्त एप्सेको शुभारम्भ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेटदै निर्जीबन बीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले कम्पनीको वेभसाईटमा अनलाइन पोर्टल तथा मोबाइल एप्स मार्फत उक्त सेवाको शुभारम्भ गरेको हो । उक्त सेवा मार्फत २४सैं घण्टा बीमा सेवा लिन सकिने छ । साथै, बीमितले बीमा गरेको कुनैपनि सम्पत्तिको क्षति भएमा सो वापतको दाबी समेत मोबाइल एप्स को माध्यमबाट कम्पनीमा जानकारी समेत गराउन सक्नेछ । साथै, ग्राहकहरुले आफनो दाबीको अवस्था के कस्तो रहेको छ भन्ने बारेमा पनि सोही एप्सबाट जानकारी लिन सक्नेछन् । उक्त समारोहमा प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले ग्राहक महानुभावहरुलाई प्रविधि मार्फत बीमा सेवा प्रदान गर्न र दुर दराजमा रहेका ग्राहकहरुलाई समेत समेटनको लागि कम्पनीले मोबाइल एप्सको माध्यमबाट सेवा सूचारु गरेकोमा धन्यवाद दिए । साथै, अध्यक्ष सिलवालले शुरुमा प्रविधिका लागि लागत बढेपनि विस्तारै प्रशासनिक तथा अन्य खर्च कम भई अन्तत्वगत्व समग्र बीमा क्षेत्रमा नै सकारात्मक सन्देश प्रवाह हुने र कम्पनीको व्यवसाय तथा नाफामा समेत बृद्धि हुने जानकारी गराए । कम्पनीले मोबाइल एप्सको माध्यमबाट सेवालाई गुणस्तरीय रुपमा अगाडी बढाउन र बढी भन्दा बढी ग्राहकहरुलाई जोडनको लागि अग्रिम शुभकामना दिए ।

भरतपुर विमानस्थललाई चौबिसै घण्टा चलाइने

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहाल भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नतिको कामले सबै तिरबाट प्रशंसाको पात्र बनेकी छन् । बिहीबार श्री एयरको जहाज परिक्षण उडानका क्रममा अवतरणपछि उपस्थित दुई मन्त्रीसहितका अधिकारीहरुले दाहालको खुलेर प्रशंसा गरे । सो अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ईं प्रदिप अधिकारी लगायतले दाहालको निरन्तरको पहलकदमीले सार्थकता पाएको भन्दै प्रशंसा गरेका हुन् । मन्त्री तामाङले आगामी आर्थिक वर्षभित्रै भरतपुर विमानस्थलको विस्तार भइसक्ने बताए । मन्त्री तामाङले यसै वर्ष धावनमार्गको विस्तार, नयाँ टर्मिनल भवनको निर्माण सकेर भरतपुर विमानस्थललाई चौबिसै घण्टा चलाउने बताए । ‘मेयरको अनवतर प्रयास, प्रधानमन्त्रीको पहल र सहयोग, विभागीय प्रमुखको दिलचस्वीले छिट्टै सबै काम हुँदैछ । यति चाडै यो हदसम्मको प्रगति हुन्छ भन्ने चितवनवासीले सोचेका थिएनन् होला,’ मन्त्री तामाङले भने । उनले थपे ‘सकभर कुनै बाधा, अवरोध पैदा हुन नदिने, निर्माण व्यवसायीलाई छिटोभन्दा छिटो काम गर्ने वातावरण बनाइदिने काम हामी गर्छौं ।’ गृहमन्त्री लामिछानेले यसले यहाँको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले आँफु अन्त्यमा आएर जोडिएको भन्दै सुरुवातदेखि निरन्तर लागिरहेका भरतपुर महानगर प्रमुख रेनु दाहाललगायत सबैलाई धन्यवाद दिए । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले रन वे बढाएर भरतपुर विमानस्थलको स्तरोन्नतिको काम सुरु हुन लागेको, नयाँ टर्मिनल भवन बनिरहेको अवस्थामा ठुलो क्षमताको जहाज आउन लागेको बताए । स्थानीय सरकारको तर्फबाट प्रमुख दाहालले निरन्तर घचघच्याएका कारण काम छिटो भएको बताए । असार मसान्तसम्म प्राधिकरणको बजेट पास हुने साउनमा विमानस्थलको विस्तारका लागि टेण्डर आह्वान हुने उनले बताए । ‘ढिलोमा सन् २०२५ को जनवरीसम्ममा विस्तार भइसक्छ,’उनले भने, ‘त्यसपछि भरतपुरमा रात्रिकालीन सेवा सुरु हुन्छ । चौबिसै घण्टा जहाज अवतरण गर्न सकिन्छ । अहिले परीक्षण भइरहेको ८० सिटको जहाजमात्रै होइन जेट पनि अवतरण हुनसक्छ ।’ उनले विमानस्थलको स्तरोन्नतीपछि बुद्ध, यती लगायतका एयरलाईन्सका एटिआर–७२ जहाजहरु पनि अवतरण हुनसक्ने बताए । हाल १ हजार २ सय मिटर लामो धावनमार्ग रहेको भरतपुर विमानस्थललाई नजिकै रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रसम्म विस्तार गरेर धावनमार्ग १ हजार ८ सय मिटर बनाउने लक्ष्य छ । यसका लागि गत माघ १८ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले निरन्तरको प्रयासपछि विमानस्थलको विस्तार, टर्मिनल भवनको निर्माण र ठुलो क्षमताको जहाज अवतरण एकै साथ हुन लागेको बताए । ‘७ वर्षमा ७ बढी मन्त्री फेरिए । सबैसँग निरन्तर समन्वय, सकृय पहल गरियो । यस पटक संघीय सरकारको बजेटमा भरतपुर विमानस्थलको विस्तार, घोडा प्रजनन् केन्द्र स्थानान्तरणलगायतका काम गर्न बजेट विनियोजन भएको छ,’ उनले भने, ‘यो भन्दा खुसीको कुरा के हुन्छ र, सपना साकार भएको छ।’ उनले विमानस्थल विस्तार भएसँगै धेरै जहाज अवतरण हुने र प्रतिस्पर्धा बढेर भाडा कम लाग्ने बताए । ‘देशको केन्द्रमा रहेको, आर्थिक विकासको केन्द्र रहेको ठाउँमा विमानस्थलको क्षमता विस्तार हुने आवश्यक छ । यहाँ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल बनिरहेका छन् । मेडिकल हब, कृषिको उर्भर क्षेत्र भएकाले विमानस्थललाई स्तरोन्नति गर्नै पर्ने थियो,’ उनले थपे । प्रमुख दाहालले संघीय सरकारबाट नयाँ आधुनिक टर्मिनल भवन निर्माण गर्न करिब २ अर्ब, घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सार्न डेढ अर्ब र धावन मार्ग विस्तारका लागि करिब १ अर्ब रुपैयाँ विनियोजन भएको जानकारी दिए । ‘यसका लागि हामीले निकै मेहनत गरेका छौं । पहिलो नगरसभाबाट लगातार विमानस्थल विस्तारको विषयलाई प्राथमिकतामा पारेका छौं,’ प्रमुख दाहालले भने, ‘यो बीचमा महानगरको अग्रसरतामा प्रधानमन्त्री निवास, प्रधानमन्त्री कार्यालय, पर्यटन मन्त्रालय, रक्षा मन्त्रालयलगायत धेरैतिर बैठक गरियो । ठूलो प्रयासपछि सफल भएका छौं ।’ भरतपुर विमानस्थलका प्रबन्धक दिपक विकका अनुसार यो विमानस्थलको विस्तारका लागि सबैभन्दा पहिले २०७५ सालको माघ २० गते औपचारिक बैठक बसेको थियो । तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारी, प्रमुख दाहाललगायतको उपस्थितिमा विमानस्थलको कार्यालयमा बसेको बैठकले विस्तारका लागि प्रयास गर्ने निर्णय गरेको थियो । यस अघि महानगरपालिकाको कार्यपालिकाको बैठकले विमानस्थल विस्तार र स्तरोन्नतिका लागि पहल गर्ने निर्णय गरेको थियो । २०७६ भदौ २८ गते प्रमुख दाहालको अध्यक्षतामा भरतपुर महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (त्यतिखेर पूर्व प्रधानमन्त्री), तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत उपस्थित हुनुहुन्थ्यो । उक्त बैठकले विमानस्थलको स्तरोन्नतीका लागि नजिकै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गर्न वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको थियो । यस विषयमा प्रतिवेदन तयार पार्न पर्यटन मन्त्रालयले सह–सचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको थियो । लामो प्रयासपछि २०८० माघ १८ गतेको मन्त्रिपरिषदको वैठकले विमानस्थलको विस्तार गर्ने निर्णय गरेको हो । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि समावेश गरेपछि भरतपुर विमानस्थलको विस्तार हुने निश्चित भएको प्रमुख दाहाल बताइन् । श्री एयरको ८० सिटको जहाजले सुरु गर्यो परीक्षण उडान श्री एयरको जहाजले भरतपुर विमानस्थलमा परीक्षण उडान सुरु गरेको छ । बिहीबार विहान श्री एयरको ड्यास–८–क्यू–४०० जहाज भरतपुर विमानस्थलमा अवतरण गरेको थियो । अहिले बुद्ध एयरका जहाजलेमात्रै काठमाडौं–भरतपुर उडान भर्दै आएका छन् । बुद्ध एयरले उडान गरिरहेको एटिआर–४२ जहाज फेजआउटको चरणमा रहेको समयमा श्री एयरलाइन्सले परीक्षणको अनुमति पाएको हो । श्री एयरलाईन्सका अध्यक्ष सुधिर मित्तलले परीक्षण सकेर अनुमति पाएपछि नियमित उडान सुरु गर्ने बताए । त्रिभुवन विमानस्थलबाट उडेको श्री एयरको ८० सिटको जहाज १४ मिनेटमा भरतपुर विमानस्थलमा अवतरण भएको थियो । बुद्ध एयरको एटिआर–४२ लाई काठमाडौंबाट भरतपुर विमानस्थलमा ल्याण्ड हुन २० मिनेट लाग्छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले प्रकृया पुरा भएलगत्तै भरतपुर विमानस्थलमा श्री एयरको नियमित उडान सुरु हुने बताए । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले धेरै एयरलाइन्स र ठूलो क्षमताको जहाजहरु आउँदा भाडा घट्ने र जनताले राहत पाउने विश्वास व्यक्त गरे । पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले विमानस्थललाई विस्तार गरेर आन्तरिक उडान भर्ने सबै जहाज यहाँ आउने वातावरण बनाउने बताए । गृहमन्त्री रवि लामिछानेले ठूलो क्षमताका जहाजसँगै चितवनमा खुसी पनि आउने बताए । श्री एयरलाइन्सका अपरेसन डाइरेक्टर क्याप्टेन कुन्दन गिरीले अनुमति पाएपछि गर्मीको मौसममा काठमाडौंबाट आउँदा ७० भन्दा बढी र फर्किँदा कम्तीमा ५५ जना यात्रु बोक्न सक्ने बताए । उडान सुरु गरेसँगै भाडा पनि घट्ने उनले बताए । बुद्ध एयरको भरतपुर–काठमाडौं उडानको भाडा अहिले ४ हजार ७ सयभन्दा बढी छ । श्री एयरलाइन्ससँग अहिले ड्यास–८–क्यू–४०० जहाज ७ वटा छन् ।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ४० करोडकाे काराेबार

काठमाडौं । बिहिबार नेप्से परिसूचक १०.४४ अंकले घटेको छ । नेप्से घटेसँगै २०६८.३१ बिन्दुमा कायम भएको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । बिहीबार ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । बुधबार ३ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबारमा आएका १३ सूचकमध्ये आज पनि वित्त सूचक सबैभन्दा धेरै १.८२ प्रतिशतले बढेको छ । बुधबार यो समूह २.६२ प्रतिशतले बढेको थियो । सबैभन्दा धेरै हाेटल तथा पर्यटक समूह ०.९२ प्रतिशतले घटेको छ । कालिका लघुवित्तको सेयर मूल्य ७.७१ प्रतिशतले बढेको छ भने आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोपावरको सेयर ९.२८ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा भने माउन्टेन इनर्जी शीर्ष स्थानमा रहेको छ । कम्पनीको १७ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ५२ कम्पनीको सेयर मूल्य बढेको छ । १८६ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।

यसपालि पनि नबन्ने भयो कमला नदीमा पुल

धनुषा । धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन । गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । उपप्रधानमन्त्रीसमेत रहेका महासेठले दिएको म्याद सकिन एक हप्ता बाँकी रहँदासम्म पुल निर्माणको प्रगति भने शून्य छ । ‘करिब १३ वर्षदेखि निर्माणाधीन यो पुलको पुनःनिर्माण समयमै हुनुपर्यो । नभए निर्माण कम्पनीलाई कारबाही गरी नयाँ प्रक्रिया अगाडि बढाउनुस्,’ पुलको निरीक्षण गर्दै उपप्रधानमन्त्री महासेठले भनेका थिए । वर्षा सुरु भएसँगै बाढीको जोखिम बढेकाले पुल निर्माण यस वर्ष सम्पन्न हुन नसक्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका निर्देशक कृष्णकुमार महतोले बताए । ‍मधेस प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल ४७० मिटर लामो छ । विं।स। २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी पप्पु–लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडेर निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो । बिल्डर्सको कमाण्डमा निर्माण अन्तिम चरणमा पुगिसकेकाले विसं २०७८ साउनमा उद्घाटनको तयारी गरिसकेको अवस्थामा पुल भासिएको निर्देशक महतोले बताए । उनका अनुसार १३ पाया (पिलर) र १२ स्पान (स्ल्याब) रहेको पुलको सिरहातर्फको दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो । पुल भासिएपछि निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले हालसम्म काम रोकिएको निर्देशक महतोको भनाइ छ । ‘सरकारी निकायको कुनै पनि ठेक्का गर्दा रु १० लाखभन्दा बढीको आयोजनामा बीमा गराउनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार पुल निर्माण कम्पनीले बीमा गराएको थियो । पुल भासिएपछि बीमा कम्पनीले क्षतिपूर्ति नदिएपछि सोही विवादका कारण काम रोकिएको छ,’ उनले भने । निर्माण कम्पनीका प्रबन्ध निर्देशक विष्णु शर्माले यो वर्ष पुल निर्माण सम्पन्न गर्न सम्भव नरहेको बताए। पुल पुनःनिर्माण गर्न हालसम्म डिजाइन पास नभएकाले निर्माण सम्भव नरहेको उल्लेख गरे । ‘पेस गरिएको डिजाइनमध्ये एउटा धनुषातर्फको पास भएको छ । केही दिनअघि मात्रै कम्पनीका तर्फबाट तयार गरिएको डिजाइन मन्त्रालयमा बुझाएका छौँ । सिरहातर्फको डिजाइन पास भएको छैन । अनि कसरी यो वर्ष काम हुन्छ ?,’ प्रबन्ध निर्देशक शर्माले प्रश्न गरे । वर्षामा नदीमा बाढी आउन सक्ने भएकाले आगामी असोजरकात्तिकबाट निर्माण अगाडि बढाइने उनको भनाइ छ । यही असार मसान्तसम्म निर्माणको म्याद रहेको भन्दै प्रबन्ध निर्देशक शर्माले म्याद थप गरी सहजीकरण गर्नुपर्नेमा जोड दिए । उनले बीमा कम्पनीसँग उच्च अदालत काठमाडौँमा मुद्दा चलिरहेकाले निर्माणमा ढिलाइ भएको तर्क गरे । प्रबन्ध निर्देशक शर्माका अनुसार पुल भासिएपछि बीमा कम्पनीसँग १२ करोड क्षतिपूर्तिको माग गरिएको थियो । ‘बीमा कम्पनीले दुई करोडमात्रै दिने भनेपछि, कम्पनीविरुद्ध उजुरी दिएका छौँ,’ उनले भने, ‘उजुरीका आधारमा समस्या समाधान नभएपछि उच्च अदालत गएका हौँ । उच्च अदालतमा गत जेठ तेस्रो साता मुद्दा दर्ता गराएका छौं,’ अहिले पुलमा सामान्य निर्माण भने भइरहेको उनले बताए । कमला नदीमा पुल नबन्दा धनुषा र सिरहाका नागरिकको जनजीवन प्रभावित हुँदै आएको सिरहा नगरपालिका–१७ का प्रविन यादवले बताए । ‘पुलका कारण बर्खाको समयमा आफ्नै खेतबारीमा पुग्न पनि गाह्रो हुन्छ । आवागमनमा सास्ती हुनुका साथै यस क्षेत्रको आर्थिकस्तर, व्यापार–व्यावसायमा कमी हुँदै आएको छ,’ उनले भने । यहाँका सर्वसाधारणलाई प्रदेशको राजधानी जनकपुरधाम आवतजावत गर्न निकै सास्ती भोग्नु परिरहेको छ । बाढीले आवतजावत प्रभावित भएपछि सिरहाका नागरिक गम्भीर प्रकृतिको उपचार गराउन जनकपुरधाम वा कोशी प्रदेशको राजधानी विराटनगर पुग्न समस्या हुने गरेको यादवको भनाइ छ । सिरहाबाट जनकपुरधाम पुग्न हुलाकी राजमार्गबाट ३० किलोमिटर पर्दछ भने महेन्द्र राजमार्ग भएर जाँदा ९० किलोमिटर पर्दछ ।

बागमतीका ६ जिल्लामा ८० प्रतिशत विषादी खपत

बागमती । कृषि उत्पादन बढाउन मकवानपुरसहित बागमती प्रदेशका ६ जिल्लामा करिब ८० प्रतिशत रासायनिक विषादीको खपत हुने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले हेटौँडामा आयोजना गरेको बढ्दो विषादी न्यूनीकरण तथा पोषण सुधारका लागि सरोकार भएकासँगको अन्तर्क्रियामा कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत तीर्थराज पौडेलले नेपालमा आयात हुने विषादीमध्ये करिब ७० देखि ८० प्रतिशत मकवानपुर, धादिङ, काभ्रेपलाञ्चोक र उपत्यकाका तीन जिल्लामा खपत हुने गरेको जानकारी दिए । नेपालमा बर्सेनि १० देखि १२ प्रतिशतसम्म रासायनिक विषादीको प्रयोग बढेको जनाउँदै उहाँले सबैभन्दा बढी ८५ प्रतिशत विषादी तरकारी तथा फलफूलमा प्रयोग हुने गरेको पाइएको बताए । किसानले कीरा नियन्त्रण गर्न मालाथियन, साइपरमेथ्रिन, फनभालरेट, डाइक्लोरोभस, ढुसी नियन्त्रण गर्न म्यानकोजेव, कार्वान्डाइजिम, कपरओक्सी, क्लोराइड, वेनोमिल, डाइनेक्याप तथा झारपात नियन्त्रण गर्न न्यूटाक्लोरा, २–४ डी, पाराक्वाइट, ग्लाइकोसेटलगायतका विषादीहरूको प्रयोग गर्ने गरेका बाली संरक्षण अधिकृत पौडेलको भनाइ छ । उत्पादन बढाउने नाममा देखासिकी, लहैलहै वा प्रतिस्पर्धामा जथाभावी विषादीको प्रयोग गर्दा कृषि उत्पादनको उत्पादन लागत बढ्नुका साथै वायु, माटो र जल प्रदूषणका साथै जलवायु परिवर्तनको समस्या बढ्दै जाने उनले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले बढ्दो रासायनिक मल र विषादीको प्रयोगका कारण मानवमा क्यान्सर, ट्युमर, प्रजनन स्वास्थ्यमा समस्या, सुस्त मनस्थिति, अपांगता भएका शिशु जन्मिने, वङ्शानुगत परिवर्तन, उच्च रक्तचाप, श्वासप्रश्वास, कलेजोमा खराबीलगायत गम्भीर स्वास्थ्य समस्या बढ्दै गएको बताए । विषादीका कारण मानव स्वास्थ्य जोखिम परेकाले यसलाई नियन्त्रण गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै उनले किसान तथा आमजनतामा जीवनाशक विषादीको प्रयोगलाई निरत्साहित गर्न सचेतना जगाउनुपर्ने आवश्यकता औँल्याए । जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले बढ्दो विषादी नियन्त्रणका लागि स्थानीय तहले आवश्यक बजेट तर्जुमा गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । किसानलाई अग्र्यानिक कृषि उत्पादनमा जोड दिन सीप र ज्ञानसम्बन्धी तालिम र अनुदान उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।

अमेरिकी ‘फेबरेट सेफ’को उत्कृष्ट ५ को प्रतिस्पर्धामा नेपालका थापा

काठमाडौं । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ)मा उत्कृष्ट १० भित्र परेका छन् । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट १० मा परेका थापा अहिले उत्कृष्ट पाँच सेफका लागि प्रतिस्पर्धामा छन् । नेपालको पाँचतारे सोल्टी हुँदै स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा काम गर्दै आएका तनहुँका थापा हाल बेलायतमा बस्दै आएका छन् । ‘फेबरेट सेफ’ विश्वभरका पाककला सिर्जना गर्ने सेफ तथा भान्सेहरूको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो । प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफहरूबीच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ । झण्डै सय जनामध्येबाट १० उत्कृष्टमा छनोट भएका थापा खानाका पारखीहरूको भोटले नै आफ्नो भविष्य निर्धारण गर्ने बताउँछन् । ‘नेपालीको माया, साथ र भरोसाले अहिलेको अवस्थामा आइपुगेको छु, प्रतिस्पर्धामा उत्कृष्ट पाँचमा पुग्नका लागि मलाई अझै धेरै भोट र हौसला जरुरी छ’, काठमाडौंमा भएका थापाले भने । विश्वभरका ८९ मा सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आइरहेका थापा नेपाली खाना पस्कँदै प्रतिस्पर्धामा उत्रिएका छन् । यो प्रतियोगितामा विजेतालाई २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिने छ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर दिइन्छ । बेलायत तथा स्वीट्जरल्याण्डमा गरी १७ वर्ष विदेशमा एसियाली खान्कीहरूमा समय बिताइसकेका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि जितेका थिए। चार दशकदेखि सेफ पेसामा कार्यरत सेफ थापाले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी यसको विकासमा योगदान पुर्याएका छन् । नेपाल सेफ एशोसिएसनका संस्थापक सदस्य थापा हाल इन्टरनेशनल नेप्लीज सेफ सोसाइटी युकेका अध्यक्षसमेत छन् ।

७७ करोड २४ रुपैयाँ सहकारी पीडितलाई फिर्ता भइसक्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई सरकारले फिर्ता भुक्तानी गरिसकिएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद जीवन परियारले गरेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले सहकारी संस्थाका बचतकर्ताहरूबाट ५९ हजार ५ सय ८७ माग दाबी निवेदनका आधारमा ३६ अर्ब २८ करोड ९२ लाख ८१ हजार ७८० को दायित्व एकीन गरी यसमध्ये हालसम्म ७७ करोड २४ लाख ४६ हजार ४५८ बचत रकम पीडितलाई फिर्ता भुक्तानी गरिसकिएको बताएका हुन् । सरकारले २० सहकारीलाई समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत वचत फिर्ताको प्रक्रिया अगाडि बढाएको बताए । उनले तीन समस्याग्रस्त सहकारीको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानी गरी बचत भुक्तानी गर्ने कार्य सम्पन्न भएको बताए । उनले नेपाल राष्ट्र बैंक समेतको संलग्नतामा सहकारी बैंक लगायत ठूला कारोबार गर्ने ९ संस्थाको अनुगमन कार्यसम्पन्न भई वित्तीय अवस्था मजबुत पारी सुशासन र प्रभावकारी सञ्चालनको लागि निर्देशन दिएको बताए । उनले छुट्टै नियामक निकाय स्थापना गर्ने,सहकारी कर्जा सुरक्षण कोष स्थापना गर्ने छुट्टै कानुनी प्रक्रिया अगाडि बढाइएको उल्लेख गरेका थिए । ‘सहकारी समस्या बारे सरकार जानकार छ, सम्बोधनको लागि गम्भीर पनि छ । सहकारी समस्या समाधानको लागि गत वर्ष राष्ट्रिय योजना आयोजका सदस्यको संयोजकत्वमा बनेको उच्चस्तरीय सुझाव कार्यदल गठन गरी प्राप्त सुझाव एवम सहकारी पीडितहरूसँग भएका सम्झौता कार्यान्वयन गर्न विभिन्न प्रयास अगाडि बढेको छ, हालसम्म २० सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समिति मार्फत बचत फिर्ताको प्रक्रिया अगाडि बढाइएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘सबै सहकारी संस्थाका बचतकर्ताहरूबाट ५९ हजार ५ सय ८७ माग दाबी निवेदनका आधारमा ३६ अर्ब २८ करोड ९२ लाख ८१ हजार ७८०को दायित्व एकीन भएको छ, यसमध्ये हालसम्म ७७ करोड २४ लाख ४६ हजार ४५८ बचत रकम पीडितलाई फिर्ता भुक्तानी गरिसकिएको छ ।’ प्रधानमन्त्री दाहालले प्रदेश तथा स्थानीय सरकारहरूसँग सहकारी समस्या समाधानको लागि विषयगत समिति गठन गरिएको बताए । उनले ठूलो कारोबार गर्ने सहकारीहरूलाई नियमन र सुपरीवेक्षण गर्न प्राधिकरण गठनका लागि कानुनको मस्यौदा भइरहेको उल्लेख गरेका थिए । उनले सहकारी नीतिको परिमार्जित मस्यौदा तयार भएको छ भने सहकारी ऐनमा समेत संशोधनको तयारी गरेको बताए । प्रधानमन्त्री दाहालले सहकारी क्षेत्रमा अल्पकालीन र दीर्घकालीन सुधार हुने विश्वास व्यक्त गरे ।