सरकारले ११७ वटा विधेयकहरूलाई अगाडि बढाउन लागेको छ : मन्त्री गिरी
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारले ११७ वटा विधेयकलाई संघीय संसदबाट अगाडि बढाउने तयारी गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री गिरीले सरकारले संघीय संसदमा पेस गर्ने कानुनहरूको प्राथमिकिकरण गरेको बताएका हुन् । उनले सरकारले ६३ वटा विधेयकहरूलाई पहिलो प्राथमिकतामा, ३९ वटा विधेयकहरूलाई दोस्रो प्राथमिकतामा र १५ वटा विधेयकहरूलाई तेस्रो प्राथमिकतामा राखिएको जानकारी गराए । मन्त्री गिरीले मन्त्रालयले नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा संघीय संसदमा दर्ता गर्न लागेको पनि बताए । उनले संविधानको प्रावधानभित्र रहेर न्यायाधीशहरू नियुक्त गरिएको भन्दै न्यायाधीश नियुक्तिमा आशंका नगर्न आग्रह पनि गरे । मन्त्री गिरीले न्याय सम्पादनलाई छिटो, छरितो र पारदर्शी बनाउन अदालतमा केही सुधार गर्नुपर्ने बताए । उनले मिडिया ट्रायलले अदालतको मुद्दा निरूपणमा कुनै प्रभाव नपार्ने बताए । उनले ऐनहरू समयानुकूल बनाउन र नागरिकको हितमा कानुन बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
एमाले सांसदले बजेटको जोडघटाउ नमिलेको भनेपछि गण्डकी प्रदेश सभा बैठक स्थगित
पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको हिसाब नमिलेको भन्दै एमालेले जवाफ माग गरेपछि संसद् स्थगित भएको छ । बजेटको हिसाब नमिलेको भन्दै एमालेले जवाफ मागेपछि सत्तापक्षकै आग्रहमा सभामुख कृष्ण धितालले संसद स्थगित गरेका हुन् । एमाले संसदीय दलका उपनेता लिलबहादुर थापाले बजेटमा प्रस्तुत गरिएको अंकको हिसाबकिताब नै गल्ती भएको र त्यसको जवाफ नदिएसम्म संसद चल्न नसक्ने भन्दै जवाफ मागेका थिए । असार १ गते गण्डकीका अर्थमन्त्री डा. टकराज गुरुङले ल्याएको बजेटको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका क्रममा एमाले उपनेता थापाले सरकारको हिसाब नमिलेको भन्दै प्रश्न उठाएका थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अर्थमन्त्री गुरुङले छलफल गरेर संसद स्थागित गर्न भनेपछि सभामुख धितालले संसद स्थगित गरेका हुन् ।
एडिबीबाट भुटानलाई ४ करोड अमेरिकी डलर ऋण स्वीकृत
मनिला । एसियाली विकास बैंक (एडीबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई सुदृढ पार्न मद्दत गर्न नीतिमा आधारित चार करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ । रियायती ऋणको उद्देश्य घरेलु स्रोत परिचालन विस्तार गर्न, निजी क्षेत्रको विकासलाई बढावा दिन र जलवायु परिवर्तन अनुकूलनका उपायहरू लागू गर्न नीतिगत सुधारहरूलाई समर्थन गर्नु हो । कार्यक्रम अन्तर्गत भन्सार, सम्पत्ति कर प्रशासनमा सुधार, मध्यम अवधिको राजस्व रणनीति कार्यान्वयन ,राज्यको स्वामित्वका उद्यमको प्रशासन तथा व्यवस्थापन बढाई घरेलु स्रोत परिचालन सुदृढ पार्ने अपेक्षा गरिएको छ । यसले वर्तमान खर्च र कर राजस्व बिचको अन्तरलाई उल्लेखनीय रूपमा कम गर्ने अपेक्षा गरिएको छ । एकीकृत वित्तीय व्यवस्थापन सूचना प्रणालीको थालनीले सार्वजनिक वित्तीय प्रबन्धनमा सुधार गर्ने एडीबीले जनाएको छ । कार्यक्रमले निजी क्षेत्रको विकासलाई बढावाका साथ सुव्यवस्थित गर्न, लगानी, व्यापार प्रक्रिया र व्यापार सेवाहरूको आधुनिकीकरण तथा डिजिटाइजेसन गरी व्यापार प्रवर्दनमा मद्दत गर्नेछ । रासस
लगानीमैत्री वातावरण बनाउन मन्त्रालय क्रियाशील छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकासका लागि नीतिगत स्थायित्व तथा कार्यविधिगत सरलीकरण गरी लगानीमैत्री वातावरण निर्माण गर्न मन्त्रालय क्रियाशील रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारकाे बैठकमा विनियोजन विधेयक, २०८१ अन्तरगत उद्योग मन्त्रालयको विनियोजित शीर्षकसम्बन्धी छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले नेपालमा लगानीको वातावरणलाई सहज बनाउन विभिन्न ८ कानुन समावेश गरिएको केही नेपाल ऐन संशोधन, अध्यादेश २०८१ जारी गरी प्रतिस्थापन विधेयकसमेत संघीय संसदमा पेस गरिसकिएको बताए । नेपाल व्यापार एकीकृत रणनीति, २०८०, व्यापार लजिष्टिक नीति, २०७९ र व्यापार लजिष्टिक नीतिको कार्यान्वयन कार्ययोजना तथा व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमार्फत व्यापार प्रवद्र्धनमा टेवा पुग्ने गरी कार्यक्रम कार्यान्वयन भइरहेको उनले जानकारी दिए । लामो समयदेखि रोकिएको स्टार्टअप नीति, २०८० स्वीकृत भई कार्यान्वयनमा आएको उल्लेख गर्दै मन्त्री भण्डारीले स्टार्टअपलाई कर्जा प्रवाह गर्न विभिन्न एक सय ८३ प्रस्ताव छनोट गरी काम अघि बढिसकेको स्पष्ट पारे । ‘गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना लि, नेपाल ओरियण्ट म्याग्नेसाइट प्रालि, नेपाल मेटल कम्पनी लि, बुटवल धागो कारखाना, विराटनगर जुट मिल्स, हेटौँडा कपडा उद्योगसमेत बन्द भएका सार्वजनिक संस्थान तथा हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योग जस्ता दुई रुग्ण उद्योगसमेत गरी नौ वटा सार्वजनिक संस्थान सञ्चालनका विकल्प पहिचान गरिएको छ,’ उनले भने । औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत औद्योगिक क्षेत्र, औद्योगिक ग्राम तथा विशेष आर्थिक क्षेत्र निर्माण, विकास तथा सञ्चालन गर्ने गरी प्राथमिकताकासाथ कार्य अगाडि बढाइएको जानकारी गराउँदै मन्त्री भण्डारीले व्यापार लजिस्टिक्स पूर्वाधारको रणनीतिक तथा एकीकृत विकास गर्न लजिस्टिक्स गुरूयोजना तर्जुमा गरी सोही अनुरुप पूर्वाधार विकास गरिने तयारी गरिएको बताए । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थ, सीप तथा प्रविधिको उपयोग गरी लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक ग्रामको निर्माण र विकास गर्ने गरी कार्य अगाडि बढाइएको उल्लेख गर्दै उनले हालसम्म एक सय २० औद्योगिक ग्राम घोषणा भएका, ६ वटा घोषणा हुने क्रममा रहेका तथा सम्बन्धित स्थानीय तहबाट औद्योगिक ग्राम निर्माण र विकासको कार्य भइरहेको स्पष्ट पारे । लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, सीप विकास तथ प्रविधि हस्तान्तरणका लागि कार्यक्रम प्रस्ताव गरिएको जानकारी गराउँदै मन्त्री भण्डारीले विजनेस इन्कुवेसन सेन्टर स्थापना, सीपमूलक कार्यक्रम तथा स्टार्टअप कोष कार्यान्वयन गर्न आगामी आर्थिक वर्षका लागि कार्यक्रम र बजेट प्रस्ताव भएको बताए । उनले उपभोक्ता हित संरक्षण गर्न उपभोक्ता अदालत गठन प्रक्रियाका लागि बजेट विनियोजन गर्नुका साथै बजारमा माग उच्च हुने तथा मूल्य अस्वभाविक रूपमा वृद्धि हुनसक्ने अवस्थालाई दृष्टिगत गरी रणनीतिक रूपमा संयुक्त बजार अनुगमनलाई तीव्रता दिइने बताए । मन्त्री भण्डारीले सूचना र अनुसन्धानमा आधारित बजार अनुगमन प्रणाली कार्यान्वयनमा ल्याउने, संवेदनशील र जोखिमयुक्त बजार क्षेत्रको यकिन तथा विश्लेषण गरी नियमित एवं आकस्मिक अनुगमन गर्ने गरी आगामी आर्थिक वर्षमा बजार अनुगमन गर्ने तयारी गरिएको स्पष्ट पारे । बजेट तथा कार्यक्रम प्रस्ताव गर्दा कार्यान्वयन क्षमता, खर्चको मितव्ययिता, आर्थिक पारदर्शीता र वित्तीय अनुशासन समेतलाई जोड दिइएको उनले बताए ।
कुमारी बैंकका ग्राहकलाई एनडी थर्टी-नाइन बिजनेस ग्रुपमा छुट
काठमाडौं । कुमारी बैंक लिमिटेड र एनडी थर्टी-नाइन बिजनेस ग्रुप काठमाडौंबीच कुमारी बैंकका ग्राहकलाई फिलीबाट प्रदान गरिने सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले फिलीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धिस्थित शाखाबाट सेवा लिएबापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा ग्राहकलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्ने बैंककाे विश्वास छ ।
लालुपाते सहकारी घोटला प्रकरण : २६५ बचतकर्ताको रकम फिर्ता गर्दै
खोटाङ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ । बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ बचतकर्तालाई बचत रकम फिर्ता दिन थालेको हो । अदालतमा विचाराधीन मुद्दा मिलापत्र गर्ने उद्देश्यले ऋणीले चलाएको रकम उठाएर बचतकर्तालाई फिर्ता दिन थालिएको सहकारीका सहजकर्ता गोपाल सैँजूले बताए । ‘अदालतमा विचाराधीन मुद्दाको फैसला हुन केही समय लाग्छ, फैसला पर्खँदा बचतकर्ता पीडितमाथि झनै पीडित हुने अवस्था देखियो’, उनले भने, ‘सर्प पनि नमर्ने, लौरो पनि नभाँचिने’ भन्ने कथनअनुसार मध्यमार्गी भूमिका निर्वाह गरेका छौँ, यसले सबैको भलाइ हुन्छ ।’ बचतकर्ता पदमकुमारी सैँजूसमेत दुई सय ६५ जनाले दिएको जाहेरीमा सरकारी वकिलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम रु चार करोड ४० लाख ६१ हजार १८ बिगो मागदाबीसहित अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । सञ्चालक समितिले उनीहरु सबैजनालाई दिक्तेलमा बोलाएर भर्पाइ गराउँदै बचत रकम फिर्ता दिने काम गरिरहेको छ । डुबेको रकम फिर्ता पाएकामा आफूहरू खुसी रहेको बचतकर्ताहरूले बताएका छन् । ‘घरजग्गा बिक्री गरेर अन्यत्र लगानी गर्न ५२ लाख ४४ हजार छ सय ८७ रकम सहकारीमा बचत गरेको थिएँ, सञ्चालक समितिको लापरबाहीले सहकारीमा जम्मा गरेको बचत रकम डुब्ने अवस्थामा पुगेको थियो, ढिलै भए पनि फिर्ता पाएका छौँ’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बचतकर्ता लेखनाथ आचार्यले भने, ‘सञ्चालक समितिको यो भूमिकाप्रति हामी आभारी छौँ, हामीले पसिना बगाएर जम्मा गरेको रकम ढिलै भए पनि फिर्ता पाएका छौँ ।’ सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । जोशीको निधनपछि निक्षेपकर्ता निक्षेप रकम फिर्ता माग्न जाँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार एवं हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि बचत अपचलन भएको विषय बाहिरिएको थियो । तत्कालीन अध्यक्ष जोशीको निधनपछि विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको कारोबार ठप्प छ । सहकारीबाट ऋणीलाई २५ हजारदेखि ९९ लाख रुपैयाँसम्म ऋण दिइएको देखिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारीका ऋणीमध्ये २४ जनालाई सहकारीको नियम मिचेर ऋण प्रवाह गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिएका छन् । ‘सहकारीको नियम मिचेर मनोमानी गरेकै कारण सहकारी सङ्कटमा फसेको अनुसन्धानमा देखियो, सहकारीको निक्षेप चार करोड ४७ लाख ५७ हजार दुई सय २१ रुपैयाँ, शेयर पुँजी रु ५१ लाख १४ हजार सात सय ८१, जगेडा कोषमा १९ लाख ५८ हजार चार सय ९२ रुपैयाँ र संस्थागत कोषमा २४ लाख ८६ हजार पाँच सय ६४ रुपैयाँ देखिन्छ’, उनले भने, ‘सञ्चालक समितिले रु चार करोड ९० लाख ९७ हजार तीन सय ९३ तिर्नुपर्ने देखिएको छ, संस्थाको वित्तीय अवस्था हेर्दा सहकारी ‘डुबेको’ छैन ।’ बचत रकम ठगी प्रकरणमा सहकारीका तत्कालीन अध्यक्ष जोशीका भाइ सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । तत्कालीन अध्यक्ष जोशीका सहोदर भाइ क्याप्टेन सुनिल, सुनिलकी श्रीमती रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र ऋणी जसुदा पौडेल जिल्ला अदालतका तत्कालीन न्यायाधीश सुभाषबाबु गिरीको आदेशमा विसं २०८० मङ्सिर २१ गते कारागार चलान भएका हुन् । सुनिल र सुनिलकी श्रीमती रविना विसं २०८० असोज १३ गते काठमाडौंस्थित उनीहरूको घरैबाट पक्राउ परेका थिए । उनीहरूमध्ये सुनिलले सहकारीको रकममा खरिद गरिएको जग्गा आफ्नो नाममा पास गरेको तथा रविनाले दुई करोड ३५ लाख रुपैयाँ बचतकर्ताको रकम अपचलन गरेको अदालतको ठहर छ । तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको तर, फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदालाई प्रहरीले विसं २०८० कात्तिक १५ गते चितवनबाट पक्राउ गरेको थियो । उनीसहित तत्कालीन अध्यक्ष जोशीका परिवारविरुद्ध सहकारी सञ्चालक समितिले विसं २०८० फागुन २ गते प्रहरीमा उजुरी दिएको थियो । तत्कालीन प्रबन्धक जोशीले तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा बचतकर्ताको करौडौँ रकम अपलचन गरेको अदालतले दिएको थुनछेक आदेशमा उल्लेख छ । प्रबन्धक जोशीलाई सञ्चालक समितिको जाहेरीका आधारमा विसं २०८० असोज १७ गते काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारीका लेखा समिति संयोजक प्रितम श्रेष्ठ र कोषाध्यक्ष रमा शाक्य १०–१० लाख रुपैयाँ तथा उपाध्यक्ष अर्जुन चौलागाईँ र सचिव मनोज राई पाँच–पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । लेखापाल सुमना राई अदालतबाट १० लाख रुपैयाँ धरौटी तोकिए पनि बुझाउन नसक्दा कारागार चलान भएर चार महिनापछि अदालतले तोकेको धरौटी रकम बुझाएर छुटेका थिए । बचतकर्ताको लगानी डुबाएको भन्दै जाहेरी परेपछि सहकारीका सञ्चालक समितिका उपाध्यक्ष चौलागाईँ, सचिव राई, कोषाध्यक्ष शाक्य, लेखा समिति संयोजक श्रेष्ठ र लेखापाल राईलाई प्रहरीले विसं २०८० कात्तिक १२ गते पक्राउ गरेको थियो । सञ्चालक समितिका पदाधिकारी पक्राउ गर्नुभन्दा महिना दिनअघि ऋणीहरूलाई प्रहरीले पक्राउ गरे पनि अनुसन्धानमा असर गर्ने भन्दै उनीहरूको नाम सार्वजनिक गरेको थिएन । प्रहरीले पक्राउ परेका नौ जनालाई सङ्गठित अपराधमा मुद्दा चलाउने भन्दै ६० दिनसम्म हिरासतमा राखेर सरकारी वकिलको कार्यालयमा राय प्रतिवेदन बुझाएको थियो । प्रहरीले सङ्गठित अपराधअन्तर्गतको राय प्रतिवेदन बुझाए पनि सरकारी वकिलले ठगी मुद्दाको अभियोगपत्र तयार गरेर अदालतमा बुझाएको हो । सहकारीको नाममा हलेसीमा ४८ लाख रुपैयाँमा खरिद गरिएको छ रोपनी तीन आना एक पैसा एक दाम (दुई कित्ता) जग्गा तत्कालीन अध्यक्ष जोशीका भाइ क्याप्टेन सुनिलको नाममा पास गरेको पाइएको छ । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर तत्कालीन अध्यक्ष जोशीको मिलेमतोमा व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ । तत्कालीन व्यवस्थापक जोशीको नाममा राखिएको बाम्राङको १६ रोपनी (तीन कित्ता) जग्गा सहकारीको नाममा ल्याइसकिएको पाइएको छ । लालुपाते सहकारी सङ्कटमा फसेको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले ऋण तिर्नका लागि सूचना जारी गर्दा तोकिएको समयभित्र पाँच ऋणीले १५ लाख १६ हजार रुपैयाँ फिर्ता गरेका छन् । रासस
आइजीआई प्रुडेन्सियलले ल्यायो मोबाइल एप्स, यस्ता छन् सुविधा
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनलाइन पोर्टल तथा मोबाइल एप्सको शुभारम्भ गरेको छ । कम्पनीले आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य सहित उक्र सेवाको सुरुवात गरेको हो । कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष प्रविधि मैत्री बनाउन आवश्यक रहेको साथै आफ्ना ग्राहकहरूलाई सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले अनलाईन बीमालेख जारी गर्न सकिने गरी मोबाइल एप्सको उद्घाटन गरेको हो । उक्त एप्सेको शुभारम्भ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेटदै निर्जीबन बीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले कम्पनीको वेभसाईटमा अनलाइन पोर्टल तथा मोबाइल एप्स मार्फत उक्त सेवाको शुभारम्भ गरेको हो । उक्त सेवा मार्फत २४सैं घण्टा बीमा सेवा लिन सकिने छ । साथै, बीमितले बीमा गरेको कुनैपनि सम्पत्तिको क्षति भएमा सो वापतको दाबी समेत मोबाइल एप्स को माध्यमबाट कम्पनीमा जानकारी समेत गराउन सक्नेछ । साथै, ग्राहकहरुले आफनो दाबीको अवस्था के कस्तो रहेको छ भन्ने बारेमा पनि सोही एप्सबाट जानकारी लिन सक्नेछन् । उक्त समारोहमा प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले ग्राहक महानुभावहरुलाई प्रविधि मार्फत बीमा सेवा प्रदान गर्न र दुर दराजमा रहेका ग्राहकहरुलाई समेत समेटनको लागि कम्पनीले मोबाइल एप्सको माध्यमबाट सेवा सूचारु गरेकोमा धन्यवाद दिए । साथै, अध्यक्ष सिलवालले शुरुमा प्रविधिका लागि लागत बढेपनि विस्तारै प्रशासनिक तथा अन्य खर्च कम भई अन्तत्वगत्व समग्र बीमा क्षेत्रमा नै सकारात्मक सन्देश प्रवाह हुने र कम्पनीको व्यवसाय तथा नाफामा समेत बृद्धि हुने जानकारी गराए । कम्पनीले मोबाइल एप्सको माध्यमबाट सेवालाई गुणस्तरीय रुपमा अगाडी बढाउन र बढी भन्दा बढी ग्राहकहरुलाई जोडनको लागि अग्रिम शुभकामना दिए ।
भरतपुर विमानस्थललाई चौबिसै घण्टा चलाइने
चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहाल भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नतिको कामले सबै तिरबाट प्रशंसाको पात्र बनेकी छन् । बिहीबार श्री एयरको जहाज परिक्षण उडानका क्रममा अवतरणपछि उपस्थित दुई मन्त्रीसहितका अधिकारीहरुले दाहालको खुलेर प्रशंसा गरे । सो अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ईं प्रदिप अधिकारी लगायतले दाहालको निरन्तरको पहलकदमीले सार्थकता पाएको भन्दै प्रशंसा गरेका हुन् । मन्त्री तामाङले आगामी आर्थिक वर्षभित्रै भरतपुर विमानस्थलको विस्तार भइसक्ने बताए । मन्त्री तामाङले यसै वर्ष धावनमार्गको विस्तार, नयाँ टर्मिनल भवनको निर्माण सकेर भरतपुर विमानस्थललाई चौबिसै घण्टा चलाउने बताए । ‘मेयरको अनवतर प्रयास, प्रधानमन्त्रीको पहल र सहयोग, विभागीय प्रमुखको दिलचस्वीले छिट्टै सबै काम हुँदैछ । यति चाडै यो हदसम्मको प्रगति हुन्छ भन्ने चितवनवासीले सोचेका थिएनन् होला,’ मन्त्री तामाङले भने । उनले थपे ‘सकभर कुनै बाधा, अवरोध पैदा हुन नदिने, निर्माण व्यवसायीलाई छिटोभन्दा छिटो काम गर्ने वातावरण बनाइदिने काम हामी गर्छौं ।’ गृहमन्त्री लामिछानेले यसले यहाँको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले आँफु अन्त्यमा आएर जोडिएको भन्दै सुरुवातदेखि निरन्तर लागिरहेका भरतपुर महानगर प्रमुख रेनु दाहाललगायत सबैलाई धन्यवाद दिए । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले रन वे बढाएर भरतपुर विमानस्थलको स्तरोन्नतिको काम सुरु हुन लागेको, नयाँ टर्मिनल भवन बनिरहेको अवस्थामा ठुलो क्षमताको जहाज आउन लागेको बताए । स्थानीय सरकारको तर्फबाट प्रमुख दाहालले निरन्तर घचघच्याएका कारण काम छिटो भएको बताए । असार मसान्तसम्म प्राधिकरणको बजेट पास हुने साउनमा विमानस्थलको विस्तारका लागि टेण्डर आह्वान हुने उनले बताए । ‘ढिलोमा सन् २०२५ को जनवरीसम्ममा विस्तार भइसक्छ,’उनले भने, ‘त्यसपछि भरतपुरमा रात्रिकालीन सेवा सुरु हुन्छ । चौबिसै घण्टा जहाज अवतरण गर्न सकिन्छ । अहिले परीक्षण भइरहेको ८० सिटको जहाजमात्रै होइन जेट पनि अवतरण हुनसक्छ ।’ उनले विमानस्थलको स्तरोन्नतीपछि बुद्ध, यती लगायतका एयरलाईन्सका एटिआर–७२ जहाजहरु पनि अवतरण हुनसक्ने बताए । हाल १ हजार २ सय मिटर लामो धावनमार्ग रहेको भरतपुर विमानस्थललाई नजिकै रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रसम्म विस्तार गरेर धावनमार्ग १ हजार ८ सय मिटर बनाउने लक्ष्य छ । यसका लागि गत माघ १८ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले निरन्तरको प्रयासपछि विमानस्थलको विस्तार, टर्मिनल भवनको निर्माण र ठुलो क्षमताको जहाज अवतरण एकै साथ हुन लागेको बताए । ‘७ वर्षमा ७ बढी मन्त्री फेरिए । सबैसँग निरन्तर समन्वय, सकृय पहल गरियो । यस पटक संघीय सरकारको बजेटमा भरतपुर विमानस्थलको विस्तार, घोडा प्रजनन् केन्द्र स्थानान्तरणलगायतका काम गर्न बजेट विनियोजन भएको छ,’ उनले भने, ‘यो भन्दा खुसीको कुरा के हुन्छ र, सपना साकार भएको छ।’ उनले विमानस्थल विस्तार भएसँगै धेरै जहाज अवतरण हुने र प्रतिस्पर्धा बढेर भाडा कम लाग्ने बताए । ‘देशको केन्द्रमा रहेको, आर्थिक विकासको केन्द्र रहेको ठाउँमा विमानस्थलको क्षमता विस्तार हुने आवश्यक छ । यहाँ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल बनिरहेका छन् । मेडिकल हब, कृषिको उर्भर क्षेत्र भएकाले विमानस्थललाई स्तरोन्नति गर्नै पर्ने थियो,’ उनले थपे । प्रमुख दाहालले संघीय सरकारबाट नयाँ आधुनिक टर्मिनल भवन निर्माण गर्न करिब २ अर्ब, घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सार्न डेढ अर्ब र धावन मार्ग विस्तारका लागि करिब १ अर्ब रुपैयाँ विनियोजन भएको जानकारी दिए । ‘यसका लागि हामीले निकै मेहनत गरेका छौं । पहिलो नगरसभाबाट लगातार विमानस्थल विस्तारको विषयलाई प्राथमिकतामा पारेका छौं,’ प्रमुख दाहालले भने, ‘यो बीचमा महानगरको अग्रसरतामा प्रधानमन्त्री निवास, प्रधानमन्त्री कार्यालय, पर्यटन मन्त्रालय, रक्षा मन्त्रालयलगायत धेरैतिर बैठक गरियो । ठूलो प्रयासपछि सफल भएका छौं ।’ भरतपुर विमानस्थलका प्रबन्धक दिपक विकका अनुसार यो विमानस्थलको विस्तारका लागि सबैभन्दा पहिले २०७५ सालको माघ २० गते औपचारिक बैठक बसेको थियो । तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारी, प्रमुख दाहाललगायतको उपस्थितिमा विमानस्थलको कार्यालयमा बसेको बैठकले विस्तारका लागि प्रयास गर्ने निर्णय गरेको थियो । यस अघि महानगरपालिकाको कार्यपालिकाको बैठकले विमानस्थल विस्तार र स्तरोन्नतिका लागि पहल गर्ने निर्णय गरेको थियो । २०७६ भदौ २८ गते प्रमुख दाहालको अध्यक्षतामा भरतपुर महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (त्यतिखेर पूर्व प्रधानमन्त्री), तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत उपस्थित हुनुहुन्थ्यो । उक्त बैठकले विमानस्थलको स्तरोन्नतीका लागि नजिकै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गर्न वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको थियो । यस विषयमा प्रतिवेदन तयार पार्न पर्यटन मन्त्रालयले सह–सचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको थियो । लामो प्रयासपछि २०८० माघ १८ गतेको मन्त्रिपरिषदको वैठकले विमानस्थलको विस्तार गर्ने निर्णय गरेको हो । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि समावेश गरेपछि भरतपुर विमानस्थलको विस्तार हुने निश्चित भएको प्रमुख दाहाल बताइन् । श्री एयरको ८० सिटको जहाजले सुरु गर्यो परीक्षण उडान श्री एयरको जहाजले भरतपुर विमानस्थलमा परीक्षण उडान सुरु गरेको छ । बिहीबार विहान श्री एयरको ड्यास–८–क्यू–४०० जहाज भरतपुर विमानस्थलमा अवतरण गरेको थियो । अहिले बुद्ध एयरका जहाजलेमात्रै काठमाडौं–भरतपुर उडान भर्दै आएका छन् । बुद्ध एयरले उडान गरिरहेको एटिआर–४२ जहाज फेजआउटको चरणमा रहेको समयमा श्री एयरलाइन्सले परीक्षणको अनुमति पाएको हो । श्री एयरलाईन्सका अध्यक्ष सुधिर मित्तलले परीक्षण सकेर अनुमति पाएपछि नियमित उडान सुरु गर्ने बताए । त्रिभुवन विमानस्थलबाट उडेको श्री एयरको ८० सिटको जहाज १४ मिनेटमा भरतपुर विमानस्थलमा अवतरण भएको थियो । बुद्ध एयरको एटिआर–४२ लाई काठमाडौंबाट भरतपुर विमानस्थलमा ल्याण्ड हुन २० मिनेट लाग्छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले प्रकृया पुरा भएलगत्तै भरतपुर विमानस्थलमा श्री एयरको नियमित उडान सुरु हुने बताए । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले धेरै एयरलाइन्स र ठूलो क्षमताको जहाजहरु आउँदा भाडा घट्ने र जनताले राहत पाउने विश्वास व्यक्त गरे । पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले विमानस्थललाई विस्तार गरेर आन्तरिक उडान भर्ने सबै जहाज यहाँ आउने वातावरण बनाउने बताए । गृहमन्त्री रवि लामिछानेले ठूलो क्षमताका जहाजसँगै चितवनमा खुसी पनि आउने बताए । श्री एयरलाइन्सका अपरेसन डाइरेक्टर क्याप्टेन कुन्दन गिरीले अनुमति पाएपछि गर्मीको मौसममा काठमाडौंबाट आउँदा ७० भन्दा बढी र फर्किँदा कम्तीमा ५५ जना यात्रु बोक्न सक्ने बताए । उडान सुरु गरेसँगै भाडा पनि घट्ने उनले बताए । बुद्ध एयरको भरतपुर–काठमाडौं उडानको भाडा अहिले ४ हजार ७ सयभन्दा बढी छ । श्री एयरलाइन्ससँग अहिले ड्यास–८–क्यू–४०० जहाज ७ वटा छन् ।