एमसीसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट समर्पण
काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागू भएको पहिलो वर्षको बजेट खर्च निकै कम देखिएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले चालु आर्थिक वर्षका लागि पाएको कूल बजेटको करिब ३० प्रतिशत मात्रै खर्च गरेपछि बाँकी ७० प्रतिशत बजेट समर्पण (सरेन्डर) गरेको हो । एमसीए नेपालअन्तर्गतका परियोजनामा खर्च गर्ने गरी चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले १० अर्ब ८४ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालु आवका लागि छुट्याइएको उक्त बजेटमध्ये खर्च हुन नसकेको सात अर्ब ६० करोड ७० लाख रुपैयाँ बजेट सरेन्डर गरिएको एमसिए नेपालका प्रवक्ता पुष्कर माथेमाले जानकारी दिए । विद्युत् प्रसारणलाइन निर्माणका लागि चाहिने जग्गाको मुआब्जा वितरण र अधिग्रहणको काम सुस्त देखिएपछि लक्ष्यअनुसार बजेट खर्च हुन नसकेको उनले बताए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्थाअनुसार कुनै योजना तथा कार्यक्रममा विनियोजित बजेट खर्च गर्न नसक्ने अवस्थामा समर्पण गर्नुपर्ने प्रावधान रहेको छ । एमसीसी कम्प्याक्ट विसं २०८० भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने (इन्ट्री इन टू फोर्स–इआइएफ) चरणमा गएको थियो । परियोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने पाँच वर्षको अवधि गणना सुरु भएको करिब एक वर्ष पुग्न लाग्दा आयोजनाको प्रारम्भिक चरणका कामसमेत टुङ्गिन सकेका छैनन् । यसअघि परियोजनाको पूर्वतयारीका काम नसकीकनै इआइएफ घोषणा भएको भन्दै आलोचना भएको थियो । एमसिए नेपालले जग्गा मुआब्जा वितरण तथा अधिग्रहणका काम र ठेक्का प्रक्रियासँगसँगै अघि बढाउन सकिने भन्दै इआइएफ घोषणा गरेको जनाएको थियो । परियोजना लागू गर्नका लागि पूरा हुनुपर्ने भनी एमसीसी कम्प्याक्टमा तोकिएका सर्तहरुमध्ये जग्गाको अधिग्रहण पनि एउटा मुख्य सर्त थियो । उक्त सर्त अझै पूरा हुन सकेको छैन । प्रसारणलाइन र सडक विस्तार आयोजनाका लागि आवश्यक जग्गाको मुआब्जा वितरण तथा प्राप्ति, वन क्षेत्रभित्रको जग्गा प्रयोग अधिकार सुनिश्चितता र परियोजना बन्ने क्षेत्रसम्मको पहुँचको पूर्वसर्त पूरा हुनसकेका छैनन् । उल्लेखित सर्तका विषय पूरा हुने आधार देखिएको भन्दै एमसिए–नेपालले इआइएफ तोकेको थियो । एमसिए–नेपालअन्तर्गत बनाउने भनिएका विद्युत् प्रसारणलाइन र सडक निर्माण दुवै तर्फको काम सुस्त छ । जग्गा अधिग्रहण र प्राप्तिको काम अझै टुङ्गिन सकेको छैन । प्रसारणलाइन निर्माणका तीन चरणमध्ये एउटामा जग्गा अधिग्रहणबिना नै बोलपत्र मूल्यांकन प्रक्रिया अगाडि बढाउन लागिएको छभने बाँकी दुई चरणमा बोलपत्र आह्वान नै हुन सकेको छैन । एमसीए नेपालले विद्युत् प्रसारणलाइन आयोजनाअन्तर्गत तीनवटा सबस्टेसन र काठमाडौंको लप्सीफेदीबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म तीन सय १५ किलोमिटर चार सय केभी प्रसारण लाइन निर्माण गर्ने तय भएको छ । उक्त प्रसारण लाइनअन्तर्गत न्यू बुटवल–नेपाल/भारत सीमा क्षेत्रसम्म १८ किमी प्रसारण लाइन खण्डको ठेक्का प्रक्रिया अघि बढेर मूल्यांकनको चरणमा पुगिसकेको छ तर त्यो क्षेत्रको जग्गा मुआब्जा बाँड्ने र अधिग्रहण गर्ने काम निकै सुस्त छ । सन् २०२४ मार्च १५ मा पहिलो सूचना प्रकाशित भएर अघि बढेको खरिद प्रक्रियाको प्रस्ताव पेस गर्ने मिति सन् २०२४ मे २७ मा सकिसकेको छ । उक्त प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्यांकन भइरहेको र आगामी साउनभित्रै निर्माण सम्झौता गर्ने तयारी भइरहेको एमसिए नेपालको भनाइ छ । आगामी साउनभित्र जग्गा मुआब्जाको काम सकिसक्ने अवस्था नदेखिएको नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी एवम् आयोजनाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारण समितिका संयोजक स्किम श्रेष्ठले बताए । ‘मुआब्जा निर्धारणका लागि प्राविधिक अध्ययन र मूल्यांकनको काम भइरहेको छ । यसमा धेरैवटा विषय जोडिएकाले कहिलेसम्ममा काम सकिन्छ भनेर यकिन भन्न सकिँदैन । त्यस्तो निश्चित समयसीमा पनि तोकिएको छैन । हामी यथाशीघ्र काम सक्ने गरी अगाडि बढेका छौँ’, उनले भने । आयोजनाअन्तर्गतको बाँकी दुई सय ९७ किलोमिटर प्रसारण लाइन निर्माणमा रद्द भएको ठेक्का प्रक्रिया अब कहिले सुरु हुन्छ भन्ने यकिन छैन । एमसिए–नेपालले २०८० असोज २६ गते एक सूचना जारी गर्दै विद्युत् प्रसारण लाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो । चरण–१ को लप्सीफेदी–रातामाटे–न्यू हेटौँडा, दोस्रो चरणको रातामाटे–न्यू दमौली, र तेस्रो चरणको न्यू बुटवल–नेपाल/भारत सीमा क्षेत्रसम्मको प्रसारण लाइन निर्माण गर्न आह्वान गरिएको ठेक्का रद्द भएको उल्लेख थियो । जसमध्ये चरण–३ को मात्रै पुनः बोलपत्र आह्वान भएको छ । सुरुआती लागत अनुमानभन्दा बढी रकमको ठेक्का प्रस्ताव भएपछि ती ठेक्का प्रक्रिया रद्द भएको एमसिए नेपालले तर्क गरेको थियो । पुनः खरिद प्रक्रिया अघि बढाउन आयोजनाको ‘डिजाइन प्यारामिटर’ र निर्माणसम्बन्धी प्रावधानमा संशोधन गर्न लागिएको एमसिए नेपालका प्रवक्ता माथेमाले बताए । उनका अनुसार बोलपत्रसम्बन्धी कागजातहरू पुनः तयार गर्नु तथा त्यसलाई पुनः प्रकाशन गर्नु प्राविधिक प्रक्रिया भएकाले समय लागेको हो । अघिल्लो पटक प्राप्त बोलपत्रहरूको मूल्य बढी हुनाका प्रमुख कारण पहिचान गर्न र त्यसलाई सम्बोधन गर्न ‘डिजाइन प्यारामिटर’ र निर्माणसम्बन्धी प्रावधानलाई समीक्षा गर्ने जिम्मेवारी एमसिए नेपालले आफ्नो सुपरीवेक्षण इञ्जिनियरिङ फर्मलाई दिएको थियो । सोही कारणले हालसम्म बोलपत्र पुनः आह्वान गर्ने र करार गर्ने प्रक्रिया सुरु हुन सकेको छैन । यसैबीचमा, एमसीए नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न यही असार १ गते भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । उक्त चार सय केभी ग्यास इन्सुलेटेड स्विचगियर (जिआइएस) सबस्टेसनको ३९ महिनाभित्र निर्माण गरिनेछ । पाँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ । एमसीए–नेपालअन्तर्गत निर्माण गर्ने भनिएको विद्युत् प्रसारण लाइन र सबस्टेसनका लागि एक हजार चार सय ७१ हेक्टर जमिन आवश्यक पर्ने जनाइएको छ । जसमध्ये रातमाटेमा २० दशमलव २७ हेक्टर क्षेत्रफल जग्गा अधिग्रहणका लागि एक अर्ब ४६ करोड ८४ लाख ६८ हजार चार सय ९७ रुपैयाँ बराबरको मुआब्जा वितरण गरिएको छ । न्यून दमौली सबस्टेसन र न्यू बुटवल सबस्टेसनका लागि नेपाल विद्युत् प्राधिकरणले जग्गा उपलब्ध गराउने एमसिए नेपालले जनाएको छ । प्रसारण लाइन टावरको जग निर्माण गर्न १० जिल्लामा एक सय चार हेक्टर जग्गा आवश्यक पर्नेछ । जग्गा प्राप्तिको काम अहिले प्रक्रियामा रहेको एमसिए नेपालले जनाएको छ । काठमाडौंबाहेक अन्य नौ जिल्लामा प्रसारण लाइन टावरको जग निर्माण गर्न आवश्यक जग्गा प्राप्ति गर्ने कार्यमा उल्लेख्य प्रगति हासिल भएको एमसिए नेपालका प्रवक्ता पुष्कर माथेमाले बताए । नौ जिल्लामा प्राप्ति गरिने जग्गा कित्ताको तीनपुस्ते विवरणसहितको सूचना प्रकाशन भइसकेको छ । अहिले मुल्यांकन सिफारिस उप–समितिले स्थलगत रूपमा जग्गाका कित्ताहरूको मूल्यांकनसम्बन्धी कार्य र मुआब्जा निर्धारणका लागि प्राविधिक प्रतिवेदन तयारीसम्बन्धी काम गरिरहेका छन् । त्यस्तै, भोगाधिकारका लागि आवश्यक जग्गासम्बन्धी विवरण संकलनको काम जारी रहेको जनाइएको छ । एमसीए नेपालले चालु आवका लागि पाएको कूल १० अर्ब ८४ करोड १७ लाख रुपैयाँ बजेटमध्ये विद्युत् प्रसारण आयोजनातर्फ आठ अर्ब ७७ करोड ६३ लाख ६६ हजार रुपैयाँ, सडक मर्मत आयोजनातर्फ एक अर्ब ५० करोड ७६ लाख ५३ हजार रुपैयाँ, अनुगमन तथा मूल्यांकनतर्फ २१ लाख ९३ हजार रुपैयाँ र कार्यक्रम प्रशासनतर्फ ५५ करोड ५४ लाख ८८ हजार रुपैयाँ विनियोजन भएको थियो । एमसीए नेपालले आगामी आर्थिक वर्षका लागि १३ अर्ब ३६ करोड रुपैयाँ बराबर बजेट पाएको छ । जसमध्ये चालुतर्फ एक अर्ब २३ करोड ८५ लाख रुपैयाँ र पुँजीगततर्फ १२ अर्ब १२ करोड १५ लाख रुपैयाँ बराबर विनियोजन भएको छ । आगामी आवका लागि एमसिसीको स्रोतबाट नौ अर्ब ९० करोड ८२ लाख रुपैयाँ र नेपाल सरकारको स्रोतबाट तीन अर्ब ४५ करोड १८ लाख रुपैयाँ बराबर बजेट विनियोजन भएको एमसिए नेपालले जनाएको छ । रासस
जागिर गर्नका लागि पढ्ने कि जागिर दिनका लागि पढ्ने ?
काठमाडौं । अहिले शिक्षा क्षेत्रमा मुख्यतः तीन विषयमा बहस छ । एक- व्यवहारिक शिक्षा भएन । दुई- विद्यार्थीले पढ्दै काम गर्ने वातावरणको सिर्जना भएन । र, तेस्रो- डर लाग्दो हिसाबले विदेश जाने विद्यार्थीको संख्या रोकिएन । जनमानसमा उठेका यिनै गुनासालाई सम्बोधन गर्न भन्दै विभिन्न संघ सस्ंथाले काम गरिरहेका छन् । कलेजले पनि व्यवहारिक शिक्षालाई जोड दिन थालेका छन् । हामीले पनि यही समस्यालाई समाधान गर्ने भन्दै इम्पेरियल बिजनेस कलेज सञ्चालनमा छ । सुरुमा इम्पेरियल कलेजले गरिरहेको गतिविधिको विषयमा प्रकाश पार्न चाहन्छु । यो कलेजमा व्यवस्थापन तर्फका दुइटा कार्यक्रम सञ्चालनमा छन् । जनरल म्यानेजमेन्ट अन्तर्गतको ब्याचलर इन बिजनेस एड्मिनिष्ट्रेसन (बीबीए) र ब्याचलर इन हेल्थ केयर(बिएचसीएम) कार्यक्रम सञ्चालनमा छन् । विद्यार्थीको आकर्षण दुवै कार्यक्रममा राम्रो छ । तर, ब्याचलर इन हेल्थ केयर (बिएचसीएम)प्रति विद्यार्थीको आर्कषण अझ बढी छ । सजिलै जागिर पाइन्छ भनेर कुनै पनि विद्यार्थीलाई पढ्न भन्दैनौँ । कलेजले अवसर सिर्जना गरिदिने हो । विद्यार्थीले स्नातक तहको शिक्षा पढ्दा लर्निङ र अर्निङ अथवा सिक्ने र कमाउने हुनुपर्छ भन्ने मान्यता यो कलेजको पनि हो । नेपालमा यस्तो नहुँदा उनीहरूको रोजाई नै विदेश बन्न थालेको छ । इम्पेरियल बिजनेस कलेजले विद्यार्थीलाई पढाइसँगै कामको अवसर पनि सिर्जना गर्ने गरेको छ । हामीले विद्यार्थीलाई पढाइसँगै सेमेस्टर अनुसार नन-एकेडेमिक क्यालेन्डर बनाएका छौं । जस्तै, पहिलो सेमेस्टरमा विद्यार्थीलाई पढाइ बाहेक आधारभूत ज्ञान के चाहिँन्छ भन्ने विषयमा छलफल गर्छौं । हाम्रो कलेजमा कुनै पनि विद्यार्थी स्नातक तहमा आइसकेपछि मुख्यतया दुइटा कुरामा ध्यान दिन्छौँ । एउटा एकेडेमिक पार्ट, अर्को सिकाइमुलक कार्यक्रमको आयोजना । किनकि पढेका कुरा व्यवहारमा लागु कसरी गर्ने भन्ने विषयमा जानकारी दिन यस्ता कार्यक्रम आवश्यक पर्छन् । सिक्नको लागि कक्षा कोठाभित्र मात्र होइन त्यो भन्दा बाहिर झन धेरै सिकिन्छ । हामी यात्रा गर्दागर्दै पनि धेरै कुरा सिक्न सक्छौं भने कलेजमा विभिन्न इभेन्ट गरेर पनि धेरै कुरा सिकिन्छ । बिजनेसको विद्यार्थीलाई पढाउँदै गर्दा पढाइ सकिएपछि मात्र बिजनेस गर्न सिक भनेर हामीले भन्दैनौं । हामी स्नातकमा पहिलो सेमेस्टरदेखि नै बिजनेसलाई धेरै तरिकाले सिकाउने गर्छौं । विद्यार्थीलाई सिकाउन र व्यवहारिक ज्ञान दिन हामीले गर्न सक्ने भनेकै इभेन्ट हो । त्यसैले पढाइ सँगसँगै यस्ता विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ । प्रिजन्टेशन, लिडरसिप, सेमिनार, वर्कसप लगायतका विषयमा प्रशिक्षण गर्ने गरेका छौं । हामीले सैद्धान्तिक र व्यवहारिक दुवै शिक्षालाई जोड दिइरहेका छौं । कलेजमा गर्ने यस्ता कार्यक्रमले दिने भनेको नेटवर्क पनि हो । पहिलो सेमेस्टरदेखि सुरु गरेको इभेन्टले विद्यार्थी आठौं सेमेस्टर पुग्दासम्म हरेक कुरामा पोख्त भइसकेका हुन्छन् । भोलि आफ्नो भविष्यको लागि अथवा स्नातक तहपछि कुनै पनि संघ संस्थासम्म काम गर्न धेरै सहज हुन्छ । यो हिसाबले पहिलो सेमेस्टरदेखि विद्यार्थीलाई यस्ता कार्यक्रममा केन्द्रित गराउँछौँ । हामीले पोखरा विश्वविद्यालयबाट मान्यता लिएर सञ्चालन गरेका छौं । पढ्दै, कमाउँदै इम्पेरियल कलेजमा अध्ययन गर्ने धेरैजसो विद्यार्थी पार्टटाइम काम गरिहेका छन् । कतिपय कुनै संघ संस्थामा इन्टर्नसिप गरिरहेका छन् भने कतिपय विद्यार्थीले आफ्नै व्यवसाय सुरु गरेका छन् । हेल्थ केयर म्यानेजमेन्टमा अध्ययनरत धेरैजसो विद्यार्थी काम गर्दै पढ्दै गरिरहेका छन् । स्वास्थ्य क्षेत्र यस्तो हो जुन २४ घण्टा चलिरहेको हुन्छ । यसमा १० बजेदेखि ५ बजेसम्म मात्र काम गर्नुपर्छ भन्ने हुँदैन । सिप्टवेसमा काम गर्न सकिन्छ । बिहान पढ्ने बेलुका अथवा राती काम गर्न पनि सकिन्छ । अहिले हामी कहाँ पढ्ने हेल्थ केयरका विद्यार्थी ५० प्रतिशत काम गरिरहेका छन् । यसमा जो काम नगरेर पढिरहेका छन् उनीहरू पनि ८ सेमेस्टरमा पुग्दा कुनै न कुनै संस्थामा आवद्ध भइसकेका हुन्छन् । विस्तारै उनीहरू पनि काममा सिफ्ट हुन्छन् । यसमा हाम्रो मुख्य काम भनेको प्लेटर्फम उपलब्ध गराइदिने मात्र हो । विद्यार्थी आफैं पढाइसँगै आफ्नो कामको खोजि गर्छन । हामीले विद्यार्थीलाई सतप्रतिशत जागिर नै दिन्छु भनेर भर्ना गर्दैनौँ । हामीले दिने प्लेटफर्म र बनाइदिने नेटवर्क जुन छ त्यो विद्यार्थीहरूका लागि फाइदाजनक हुन्छ । विद्यार्थीका लागि अनेक अवसर इम्पेरियल बिजनेस कलेजमा पढ्ने विद्यार्थीको सहजताका लागि कलेजले विभिन्न संघ सस्थासँग साझेदारी गरेको छ । बिसीएचएम कार्यक्रमका लागि स्वास्थ्य क्षेत्रका विभिन्न संघ संस्थासँग समझदारी गरेका छौं । ग्राण्डी अस्पताल, ह्याम्स अस्पताल, ब्लुक्रस अस्पताल, किष्ट अस्पतालसँग हामीले एमओयू गरेका छौँ । विद्यार्थीले चार वर्षसम्म पढ्दा पढ्दै यस्तो संस्थासँग नेटवर्क बनाएर काम गर्न सक्यौँ भने भोलि पढाइ सक्यो भने पनि विद्यार्थीहरूकै लागि सहज हुन्छ । बिजनेस अर्गनाइजेसनमा एचआर कम्पनी, स्टक ब्रोकरसँग हामीले साझेदारी गरेका छौं । विद्यार्थीलाई इन्टर्नसिप चाहियो, पार्टटाइम काम चाहियो, किताबमा पढेको कुरालाई भोलि एक्सपोज गर्ने ठाउँ होस् भनेर हामीले त्यो ठाउँ राखिदिएका छौँ । पहिलेको भन्दा अहिले ट्रेण्ड पनि फरक छ । पहिले पढिसकेपछि तपाईं के मा काम गर्नुहुन्छ भन्दा विद्यार्थीले कि बैंक कि सरकारी जागिर गर्ने भन्थे । तर, अहिले त्यसमा केही परिवर्तन आएको छ । विगतमा हामीले पनि बैंक र सरकारी जागरिभन्दा अर्को ठाउँ अवसर देखेका थिएनौं । त्यो भन्दा बाहिर पनि अवसर छन् भन्ने कुरा बुझेका थिएनौं । तर, अहिले ट्रेण्ड फेरिएको छ । अवसर र सम्भावना धेरै छन् । अहिले यहाँ पढ्ने धेरै विद्यार्थी आफैले पनि व्यवसाय सुरु गरेका छन् । पहिले विद्यार्थी जागिर खाने हिसाबमा अध्ययन गर्थे भने अहिलेका विद्यार्थी जागिर उत्पादन गर्नेतर्फ बढी सोच्छन् । अहिले पनि अभिभावकमा आफ्नो छोराछोरीले पढाइ सकेर जागिर नै खाओस् भन्ने छ । जबसम्म यो सोचलाई चिर्न सकिँदैन तबसम्म गाह्रो छ । हामीले पनि विद्यार्थीलाई जागिरको अवसरभन्दा बिजनेस कसरी गर्ने भन्ने बारेमा केन्द्रीत गर्छौं । जागिरका लागि पढ्ने भन्दा पनि जागिर दिनका लागि पढ्नुपर्छ । अहिले अर्को गलत मानसिकता भनेको व्यवसाय सुरु गर्नका लागि धेरै पैसा खर्च गर्नुपर्छ भन्ने छ । यो सोचाइलाई हाम्रो कलेजले चिर्न खोजेको छ । यसका लागि हामीले सीपमा आधारित शिक्षामा जोड दिएका छौँ । व्यक्तिसँग सीप भयो भने डाक्टर र इन्जिनियर र बैंकरले भन्दा बढी कमाउन सक्छ । अहिले विद्यार्थीको रोजाई ब्रोकर हाउस बनिरहेका छन् । किनकि त्यहाँ धेरै अवसर छ । विद्यार्थी इन्टर्नसिपको लागि पनि ब्रोकर हाउस नै रोज्ने गरेका छन् । त्यसैले विद्यार्थीलाई अवसर देखाउन नसक्नु नै कलेजको कमजोरी हो । कलेजले विद्यार्थीलाई अवसर देखाउन सक्नुपर्छ । विद्यार्थीलाई कुन बाटोतर्फ लगाउने भन्ने मुख्य हात कलेज र शिक्षकहरूको हुन्छ । विद्यार्थीलाई रिसर्च गर्न लगाएर हुन्छ कि अन्य कुनै असाइमेन्टमा लगाएर हुन्छ भन्ने विषय कलेजले हेर्छ । हाम्रो कलेजमा बिबीए दोस्रो सेमेस्टरको विद्यार्थीले इन्भेष्टमेन्ट फाइनान्सको पाठ पढ्छन । इन्भेष्टमेन्ट भन्ने बित्तिकै सेयर बजारसँग सम्बन्धित हुन्छ । हामीले किताबमा पढेको कुराले मात्र सेयर बजारमा गएर इन्भेष्ट गर्न गयो भने काम हुँदैन । यसमा हामीले १५ दिनको एक्स्ट्रा क्लास लिन्छौँ । यसका लागि पाठ्यक्रम आफैं डिजाइन गरेर विज्ञहरू आएर सो विषयमा बुझाउँछन् । सेयर बजारसँग सम्बन्धित आधारभूत र प्राविधिक विश्लेषणको कुरा विज्ञहरूले सिकाउनु हुन्छ । सेयर बजारको विश्लेषण गर्न जान्यो भन्दैमा सेयर बजारमा धेरै कमाउँछ भन्ने होइन । तर, पढेर गाई पाल्नु र नपढेर गाई पाल्नुमा धेरै फरक हुन्छ । विद्यार्थीले छैठौं सेमेस्टरमा कर्पोरेट फाइनान्स पढ्छन् । त्यसको पनि छुट्टै महत्व छ । हाम्रा धेरै जसो विद्यार्थीले अनलाइन बिजनेस सुरु गरेका छन् । सबैभन्दा ठूलो सीप हो । ई-सेवा, दराज, उपाय, ब्रोकर हाउस लगायत कम्पनीमा हाम्रा विद्यार्थीहरू काम गरिरहेका छन् । हाम्रो काम भनेको विद्यार्थीलाई शिक्षा दिनुका साथसाथै विद्यार्थीको प्रतिभालाई बाहिर ल्याउनु पनि हो । विद्यार्थी पलायनका दोषी अहिले नेपालमा सबै भन्दा ठूलो चुनौती भनेको विद्यार्थीको पलायन हो । अहिले अधिकांश युवाहरू पलायन भइरहेका छन् । नेपालमा काम नगरेर हरेक युवाले विदेशमा भविश्य देखिरहेका छन् । विद्यार्थी नेपाल नबस्नुको प्रमुख कारण भनेको सरकार र सरकारी नीति नियम हो । दोस्रो कारण भनेको कलेजलाई नियमन गर्ने नियामक हो । तेस्रो कारण भनेको कलेज र विद्यार्थी हुन् । कलेजमा पढिसकेपछि मात्रै जागिर खानुपर्छ भन्ने मानसिकता छ, जुन गलत हो । पढ्दै काम गर्ने अभ्यास कलेजले पनि सिकाउनुपर्छ र विद्यार्थीले पनि सिक्नुपर्छ । जस्तै, बिजनेस अध्ययन गरिरहेको एउटा विद्यार्थीले पहिले पढ्ने त्यसपछि मात्र काम गर्ने भन्ने सोच राख्नु हुँदैन । उसले पढ्दै गर्दा कसरी बिजनेस गर्ने ? यसका लागि के-के आवश्यक पर्छ ? भन्ने बारे सिक्दै काम गर्दै जानुपर्छ । अर्को, हाम्रो विश्वविद्यालयले बनाउने एजुकेसन फर्म्याटको पनि दोष छ । हामी अहिले पनि परम्परागत ढाँचामा छौं । हप्ताभरि कलेज लाग्नुपर्छ, बिहानैदेखि कलेज आउनुपर्छ भन्ने बुझाइ छ । यति गर्दा पनि कोर्स सकिँदैन । विदेशी फर्म्यार्ट हेर्नुहुन्छ भने हप्तामा तीन दिन कलेज गएपनि कोर्स सकिन्छ । यसमा कलेजहरूको पनि दोष छ । यहाँ कलेजलाई व्यवसायका रुपमा धेरै हेरिन्छ । अर्को महत्वपूर्ण विषय विदेश नै सोलुसन हो भन्ने बुझाइ अधिकांशको छ । नेपालमा बस्ने मान्छेलाई हेर्ने आम मानिसको नजर पनि फरक छ । कहीँ जान नसकेर नेपालमा बसेको अथवा आर्थिक अवस्था कम भएर विदेश नगएको भनेर हेर्ने दृष्टिकोण छ । अझ शिक्षण पेशामा लागेका व्यक्तिलाई केही नजान्ने भन्ने छ । यो गलत मूल्यांकन र बुझाइ हो । अब झन पछिको अवस्था के होला भन्ने लाग्छ । किनभने यो विषयलाई सम्बोधन गर्ने गरी सरकारको तवरबाट कुनै पनि पहल भएको छैन । हामीले यसका लागि गर्न सक्ने भनेको कलेजबाट शिक्षाको पाटो हो । हामीले शिक्षाको विषयमा विद्यार्थीलाई लर्निङ र अर्निङको रुपमा सिकाइरहेका छौ । इन्टर्नसिपदेखि पार्ट टाइम जागिरको लागि सक्दो सहयोग गरिरहेका छौं । पार्ट टाइम बिजनेस गर्न के–के गर्नुपर्छ भन्ने विषयमा सक्दो प्रोत्साहन गरिरहेका छौं । तर, यसका लागि विद्यार्थी पनि तयार हुनुपर्छ । समयको व्यवस्थापन कसरी गर्ने ? अहिले अधिकांश विद्यार्थीको समस्या भनेको समयको व्यवस्थापन पनि हो । समयको व्यवस्थापन गर्न नसकेर धेरै विद्यार्थी अलमलिएका हुन्छन् । विद्यार्थीले पढ्नु पनि पर्यो । शिक्षकले दिएको काम पनि गर्नु पर्यो । कहिले काहीँ प्रिजेन्टेशन पनि गर्नुपर्यो । ट्रेनिङ पनि लिनु पर्यो । त्यसमा पनि सहभागी हुनै पर्यो । परीक्षाको तयारी पनि गर्नै पर्यो । यी विभिन्न कुराहरूमा विद्यार्थीहरू अल्झिएका हुन्छन् । यी सबै कुरालाई थोरै समयमा गर्न सक्ने मान्छे नै क्षमतावान हुने हो । विद्यार्थीले जागिरका लागि पढ्नुभन्दा आफ्नो रुचि भएको विषय पढ्दा राम्रो हुन्छ । म हाम्रो कलेजमा भर्ना हुन आउने विद्यार्थीलाई सबैभन्दा पहिले यही भन्छु कि तपाईं यो विषय किन पढ्ने ? जुनसुकै विषय पढे पनि सीप भएपछि अवसर अथाहा छ । अहिले यो कलेजमा करिब ५ सय विद्यार्थी छन् । हरेक कार्यक्रममा विद्यार्थीको संख्या पुरा छ । अब लगत्तै स्नातकोत्तरका कार्यक्रम सञ्चालन गर्ने हाम्रो तयारी छ । त्यसैले विद्यार्थीले सबै काम गरेर समय व्यवस्थापन गर्न सक्नुपर्छ । जसले समयको व्यवस्थापन गर्न सक्छ उ नै अगाडि बढ्ने हो । सबैका लागि समय उति नै हुन्छ । जसले समयको महत्व बुझ्दै अगाडि बढ्छ, त्यसले नै उपलब्धि हाँसिल गर्न सक्ने हो । मनोबल बढाऔं, विकल्प नखोजौं कलेज सञ्चालन गर्नु पनि एउटा व्यवसाय हो । अहिले विद्यार्थी नपाएर धेरै कलेजहरू बन्द भएका छन् । बिजनेस गर्ने वित्तिकै सबै सफल हुँदैनन् । यो एउटा साइकल हो । कहिले बढ्ने र कहिले घट्ने हुन्छ नै । घटेको बेलामा पनि मेरो कलेजमा १ सय २० जना विद्यार्थी चाहिएको छ भने नेपालमा दुई सयमात्र विद्यार्थी छन् भने २ सय जनामा पनि १ सय २० जना विद्यार्थी मेरै कलेजमा ल्याउन सक्छु भन्ने आत्मबिश्वास हुनु प¥यो । क्यानडा, अस्ट्रेलिया सरकारले भिसामा कडाइ गरेको छ । अब चाहिँ मैले विद्यार्थी पाउँछु भनेर खुसी हुनु भएन । विद्यार्थी भएन भनेपनि म मेरो कलेज चालाउँछु भन्ने कन्फिडेन्स (मनोबल) जबसम्म हुँदैन तबसम्म कलेजलाई गाह्रो हुन्छ । हरेक कुरामा मनोबल उच्च हुनुपर्छ । आफ्नो काममा विश्वास हुनुपर्छ । नाफा हुँदा खुसी हुने र नोक्सान हुँदा विकल्प खोज्ने काम गर्नु हुँदैन । त्यो विकल्प हामीले सोचेका पनि छैनौं । लर्निङसँगै अर्निङ र हामीले दिएको एक्सपोजरले हामी अवस्थामा छौँ । विद्यार्थी काठमाडौंमा आएर पढ्न थालेपछि पढाइको शुल्क परिवारले दिएपनि बस्न खान अन्य खार्च विद्यार्थी आफंैले पढ्दै कमाउन सक्यो भनेपनि धेरै विद्यार्थी विदेश जानबाट रोकिन्छ । त्यो किसिमको वातावरण कलेजले पनि सिर्जना गर्न सक्नुपर्छ । म यो कलेजको प्रिन्सिपल भएको दुई वर्ष भयो । १८ वर्षदेखि यो क्षेत्रमा लागेको छु । मैले हालसम्म १७/१८ कलेजमा पढाएँ । १७ ठाउँ पढाउँदा १७ थरिका विद्यार्थी देखेँ । हरेक व्यक्तिमा धैर्यतार इच्छा चाहिन्छ । मेरो इच्छा र रुची भनेको पढाउनु हो । विगत दुई वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारीमा छु । पढाउनु र व्यवस्थापनको जिम्मा लिनु आकाश पातालको फरक हो । म धनकुटामा जन्मे हुर्कें । कक्षा १० सम्म गाउँकै सरकारी स्कुलमा पढेँ । त्यसपछि भोजपुर गएर आइकम गरेँ । २०५७ सालमा स्नातक पढ्न काठमाडौं आएँ । नेपाल कमर्श क्याम्पसबाट स्नातकोत्तर गरेँ । मैले टिउसन पढाउँदै आफ्नो खर्च चलाएँ । त्यसपछि फर्केर कहिल्यै कसैलाई माग्नु परेन । शिक्षण पेशामा लागेको १८ वर्षको अवधिमा कसैलाई माग्नु परेको छैन । एउटा शिक्षकबाट अहिले व्यवस्थापकको भूमिकामा छु । एउटा राम्रो ब्यवस्थापक हुन नेतृत्व क्षमता चाहिन्छ । उसको कुरा गर्ने तरिकासँगै व्यवस्थापन गर्न जान्ने खुबी हुनुपर्छ । त्योसँगै नेतृत्वमा धैर्यता पनि चाहिन्छ । हाम्रो जोड भनेको विद्यार्थीलाई किताबी कुरा पढाउनुभन्दा पढेको कुरालाई कसरी व्यवहारमा लागु गराउने नै हो । त्यो प्रतिवद्धता विद्यार्थी र शिक्षक दुवैमा आवश्यक हुन्छ । (शाक्य इम्पेरियल बिजनेस कलेजका प्राचार्य हुन् । उनीसँग विकासन्युजका लागि इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)
नेप्से परिसूचक ३.२१ अंकले बढ्यो, लगानीकर्ताको रोजाइमा निरन्तर फाइनान्स समूह
काठमाडौं । केही दिनबाट निरन्तर ओरालो यात्रामा रहेको नेप्से परिसूचक सोमबार ३.२१ अंकले बढेको छ । बढेसँगै नेप्से २०९९.६१ को बिन्दुमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ३२२ कम्पनीको ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ४ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार पनि लगानीकर्ता फाइनान्समा झुमिएका छन् । फाइनान्स समूह आजपनि सबैभन्दा धेरै २.११ प्रतिशतले बढेको छ । आइतबार यो समूह सबैभन्दा धेरै ५.४९ प्रतिशतले बढेको छ । पछिल्लो केही दिन यता फाइनान्स समूह निरन्तर लगानीकर्ताको रोजाइमा पर्दै आएको छ । कारोबारमा आएका १३ सूचकमध्ये ६ समूहको सेयर मूल्य बढेको छ भने ७ समूहको घटेको छ । सबैभन्दा धेरै ट्रेडिङ समूह घटेरको छ । यो समूह आइतबार ०.६६ प्रतिशतले बढेको थियो । नेपाल फाइनान्स र गणपति लघुवित्तको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा भने मेरो माइक्रोफाइनान्स शिर्ष स्थानमा रहेको छ । कम्पनीको २४ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
माथिल्लो त्रिशूली-१ निर्माण तीव्र गतिमा
रसुवा । यहाँको हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण तीव्ररूपमा अगाडि बढेको छ । आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो । यो दुई सय १६ मेगावाट क्षमताको छ । सो जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । सन् २०१९ देखि निर्माण सुरु भएको सो जल विद्युत् आयोजनाको सुरूङ खन्ने काम ६५ प्रतिशत सकिएको छ । आयोजनाको पावर हावस तथा ट्रान्सफर्मर राख्ने स्थलको भूमिगत संरचना, चार सय २० मिटर ‘हेडरेस’ सुरूङलगायतका काम ६५ प्रतिशत पूरा भएको छ । सुरूङको बाँकी काम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । धुञ्चेको त्रिशूली दोभान तथा भोटेकोशी सङ्गमस्थलमा बाँध बाँधी छ मिटर गोलाइको नौ हजार चार सय ९१ मिटर ‘हेडरेस’ सुरूङको सहायताबाट त्रिशूली नदीको ७६ क्युसेक पानी मैलुङ दोभानमा पु(याई तीन वटा टर्वाइनबाट दुई सय १६ मेगावाट विद्युत् उत्पादन गरिने छ । सन् २०२६ को डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जलविद्युत् आयोजनाका सहायक प्रबन्धक विप्लव खड्काले जानकारी दिए । सम्पूर्ण संरचना भूमिगत रहने भएका कारण बाढीपहिरो, भूक्षय, चट्याङ तथा भूकम्पले असर नगर्ने वातावरण विज्ञ मधु पाण्डेले बताए । आयोजना निर्माणको क्रममा वातावरणलाई कुनै असर नपारिएको प्राविधिकहरुले बताएका छन् । आयोजना निर्माण सम्पन्न गर्न करिब ७० देखि ८० अर्ब लागत लाग्ने र निर्माण सम्पन्न भएको ३० वर्ष पछि स्वतः नेपाल सरकारको हुने आयोजनाले जनाएको छ । राजधानी काठमाडौंबाट तीन घण्टाको दूरी उत्तरमा रहेको आयोजनास्थल बेत्रावती– स्याफ्रुबेँसी राजमार्गसँगै रहेका कारण निर्माण सामग्रीलगायत उपकरण ढुवानीमा सहज भएको आयोजनाले जनाएको छ । कोरिया एक्जिम, एसियाली विकास बैंकलगायत गरी विभिन्न नौ बैंक तथा दातृ संस्थाको सहुलियतपूर्ण कर्जा सहयोगमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)ले ओैँल्याएका र स्थानीयको आवश्यकतालाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ । सो आयोजनाले धुञ्चेस्थित रसुवा माविलाई विद्यार्थी छात्राबास, हाकुबेँसीमा पक्की पुल निर्माण गरेको छ । भूकम्प तथा कोभिड–१९को समयमा राहत एवं स्वास्थ्य क्षेत्रलाई सहयोग गरेको थियो । सुरक्षा निकाय अन्तर्गत नेपाल प्रहरीलाई हाकुमा सुरक्षा चौकी निमार्ण गर्न जग्गा प्रदान गरेको छ । आयोजनाका प्रबन्धक गिरीराज अधिकारीले कम्प्युटर, भाषा, कुक, सवारीसाधन चलाउने, सीपमुलक तालिमसमेत स्थानीयलाई प्रदान गरिएको जानकारी दिए ।
सरकारी अस्पतालमा लामो लाइन बस्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसक्यो : मन्त्री यादव
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट विनयोजन शिर्षकअन्तर्गत सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले लामो समय लाइन बस्नुपर्ने बाध्यता हटाउन मन्त्रालयमा उच्चस्तरीय टोली गठन भई काम सुरु गरिएको जानकारी दिए । हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि बिस्तारित सेवा केही संघीय अस्पतालमा लागु भइसकेको र बाँकी लागु गर्ने क्रममा रहेको मन्त्री यादवले बताए । उनले उपत्यकाका ठूला अस्पतालहरूमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, बिस्तारित सेवा लागू गर्ने लगायतका कार्यक्रम अघि बढाइएको बताए । ‘हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि बिस्तारित सेवा केही संघीय अस्पतालमा लागु भइसकेको छ, बाँकी लागु गर्ने क्रममा छौँ, केन्द्रिय अस्पतालमा स्वास्थ्य सेवाको लागि लामो समय कुर्नपर्ने अवस्था हटाउनको लागि मैले मन्त्रालय सम्हालेको सुरुदेखि नै प्राथमिकतामा राखेको छु,’ मन्त्री यादवले भने, ‘यसका लागि मन्त्रालयमा उच्चस्तरीय टोली गठन भइसकेको र अध्ययन प्रारम्भ गरिसकेको जानकारी गराउँछु, उपत्यकाका ठूला अस्पतालहरूमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, बिस्तारित सेवा लागु गर्ने लगायतका कार्यक्रम अघि बढाइएको छ ।’ मन्त्री यादवले मिर्गौला सम्बन्धी रोगमा ४ लाख ५० हजारसम्म सहुलियत प्रदान भइरहेको पनि जानकारी गराए ।
विराटनगर महानगरको बजेट ३ अर्ब ४९ करोड
काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । उपमेयर शिल्पा निराला कार्कीले सोमबार नगरसभामा आय व्ययको अनुमानित विवरण पेस गरेकी हुन् । महानगरपालिकाले प्रस्तुत गरेको विनियोजन विधेयकमा चालु र पुँजीगततर्फ ३ अर्ब ४४ करोड ९८ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ विनियोजन गरी ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको हो । महानगरले वार्षिक खर्च अनुमानका लागि संघीय र प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८३ करोड ६९ लाख २९ हजार रुपैयाँ, आन्तरिक राजस्वबाट १ अर्ब १० करोड ८६ लाख ८५ हजार रुपैयाँ, चालु वर्षको मौज्दातबाट २५ करोड रुपैयाँ, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विशेष, सशर्त, समपूरक अनुदानबाट ८९ करोड ३७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।
भरतपुरको नीति तथा कार्यक्रम : कालोपत्रे निर्माणसँगै ढल निर्माण गरिने
चितवन । भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ । पन्ध्रौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाकाले मुख्य सहरी क्षेत्रमा कालोपत्रे निर्माणसँगै ढल निर्माण गर्ने नीति महानगरले लिएको हो । महानगर प्रमुख रेनु दाहालले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भरतपुर महानगरपालिकालाई समृद्ध, स्वच्छ, सफा, हरियाली युक्त र सुरक्षित महानगरका रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरु योजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधारहरू निर्माणमा प्राथमिकता दिइने बताइएको छ । संघीय सरकारको लगानीमा भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा प्रशोधनसहितको ढल निकासका लागि खानेपानी तथा ढल व्यवस्थापन सम्बन्धी मेगा आयोजना यसै आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याईने प्रमुख दाहालले बताइन् । संघ र प्रदेश सरकारको सहयोग र सहाकार्यमा महानगरपालिका भित्र निर्माणाधीन रिङ रोड र लिङ्क कार्य निर्माण कार्य अगाडि बढाइनेछ र सहिद चोक, हाकिमचोक र मालपोत चोकजस्ता व्यस्त चोकहरूमा आकाशे पुल निर्माण गरिनेछ । खाल्टाखुल्टी मुक्त महानगरको अभियानलाई निरन्तरता दिई महानगरपालिकामा निर्मित पूर्वाधारहरूको साना मर्मत सम्भार कार्यहरू तत्काल कार्यान्वयन गर्न पूर्वाधार एम्बुलेन्स परिचालन गरिनेछ । महानगरभित्र आवश्यक स्थानमा स्मार्ट सार्वजनिक शौचालयहरू निर्माण कार्यलाई निरन्तरता दिइनेछ । संघीय सरकारको सहयोगमा नारायणगढ पुल्चोकस्थित नारायणी नदीमा सिग्नेचर पुल समयमा निर्माण सम्पन्न गर्न आवश्यक समन्वय गरिनेछ । साथै भरतपुरलाई कावासोतीसँग जोड्न वडा नं २६ को घोसरघाटस्थित नारायणी नदीमा र माडीसँग जोड्न वडा नं २४ को ध्रुवघाटस्थित राप्ती नदीमा सडक पुल निर्माणका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरिनेछ । मुख्य सहरी क्षेत्रको पार्किङ व्यवस्थित बनाउन निजीक्षेत्रसँगको सहकार्यमा सशुल्क स्मार्ट पार्किङ व्यवस्थापनलाई अगाडि बढाइने छ । संघ र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा भरतपुर महानगरपालिकाको वडा नं १५ मा संघीय शिक्षक अस्पताल र वडा नं १४ मा प्रादेशिक आयुर्वेद अस्पताल आव २०८१/८२ मा निर्माण कार्य प्रारम्भ गरिने भएको छ । सहरी संरचनालाई विश्वव्यापी मापदण्डअनुरूपको बनाउन अपाङ्गतामैत्री र वातावरणमैत्री भौतिक संरचना निर्माण गरिनेछ । केरूङ्गा घोल, पुङ्गी खोला लगायतका खोलाहरूलाई महानगरको सतहको आकाशे पानी स्र्टोम वाटर ड्रेनेज निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
संसदमा प्रदीप पौडेलको प्रश्न- देश सरकारले चलाएको छ कि अन्त कतैबाट ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले संसदलाई हेपेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पौडेलले संसदमा सरकारमा रहेकाहरूबाट अराजक र लज्जास्पद अभिव्यक्ति आएको बताउँदै सरकारले संसदलाई हेपेको बताएका हुन् । ‘गृहमन्त्रीज्यूले विदेशीलाई सूचना बेच्ने व्यक्ति यही संसदभित्र रहेको अभिव्यक्ति दिनुभयो, हिजो रक्षामन्त्रीले दिनुभएको अभिव्यक्ति पदीय मर्यादाविपरीत छ, प्रधानमन्त्री मेरो निर्देशन मन्त्रीहरूले माननेन् भन्नुहुन्छ, प्रधानमन्त्रीय पद्धतिमा योभन्दा लज्जाको कुरा के हुन्छ,’ उनले भने । सांसद पौडेलले सबैभन्दा बढी बजेट हुने भौतिक पूर्वाधार मन्त्रालयदेखि सबैभन्दा कम बजेट हुने ज्येष्ठ नागरिक मन्त्रालयसम्मका बजेट मन्त्रीकै क्षेत्रमा बढी लगिएको बताए । ‘सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने हो ? यो अराजकता कहिले अन्त्य हुने हो ? यो देश सरकारले नै चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ? पौडेलले प्रश्न गरे ।