विकासन्युज

बाल विवाह गर्ने गराउनेलाई कडा कारबाही गरियोस् : सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. चन्दा कार्कीले बाल विवाह गर्ने/गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले समाजमा बालविवाह ठूलो रोगको रुपमा रहेको भन्दै यस्तो गर्ने गराउनेलाई कडाभन्दा कडा कानूनी कारबाही गरिनुपर्ने बताइन् । संविधान र कानुनमा बाल विवाहलाई वर्जित गरिएको भएपनि कानून कार्यान्वयन हुन नसकेको बताइन् । उनले अहिलेपनि बाल विवाहको दर ३५ प्रतिशत रहेको र मधेस प्रदेशमा त झनै ४२.४ प्रतिशत रहेको भन्दै यसलाई पूर्णरुपमा रोक्नुपर्ने बताइन् । कुनै कानूनी कमजोरी भए परिमार्जन गर्न पनि सरकारलाई आग्रह गरिन् । कानुन कार्यान्वयनमा फितलोपन देखाउने प्रशासनलाई पनि कारबाही गर्नुपर्ने जानकारी दिइन् । ‘हाम्रो मुलुकी अपराध संहिताले त बाल विवाह गर्ने, गराउनेलाई कैद र सजाय नै तोकेको छ । तर यसका बाबजुद बाल विवाह हाम्रो देशमा निर्वाध रुपमा खुल्लम्खुल्ला कुनै रोकतोक बिनै भइरहेको छ । कार्यान्वयमा फितलोपन देखाउने प्रशासनपंक्तिलाई पनि कारबाहीको दायरामा ल्याइयोस् । शिक्षा र रोजगारीमा पनि लगानी बढाइयोस् । विपन्न वर्गलाई सहायता कोषको व्यवस्था गर्नेकुरामा सरकारको ध्यान जाओस्’, उनले भनिन् । सांसद कार्कीले सरकारले शिक्षा र रोजगारीमा लगानी बढाउनुपर्ने बताइन् । विपन्न वर्गलाई सहायता कोषको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

युरोपेली देशको भिसा पाउन किन गाह्रो छ ?

काठमाडौं । युरोपको सौन्दर्यले सबैलाई आकर्षित गर्छ । र, धेरै मानिस युरोप भ्रमण गर्न चाहन्छन् । तर, युरोपेली देशका लागि भिसा पाउन निकै गाह्रो छ । युरोपेली देशमा यात्रा गर्न एक विशेष प्रकारको भिसा आवश्यक छ, त्यो हो ‘सेन्जेन भिसा’ । युरोपेली देशहरूले मिलेर सेन्जेन क्षेत्र सिर्जना गरेका छन्, जहाँ भ्रमण गर्न सेन्जेन भिसा आवश्यक पर्छ । सेन्जेन क्षेत्रमा ती युरोपेली देश समावेश छन् जसले सेन्जेन सम्झौतालाई अपनाएका छन्, जसअन्तर्गत कुनै पनि सेन्जेन देशमा पासपोर्ट, भिसा वा परिचयपत्र बिना यात्रा गर्न सकिन्छ । सेन्जेन क्षेत्र २७ देश मिलेर बनेको छ । जसलाई सेगेन पनि भनिन्छ । यहाँ जानका लागि तपाईंलाई एउटा देशको सेन्जेन भिसा चाहिन्छ र यदि तपाईंले भिसा पाउनुभयो भने त्यहाँ गएपछि तपाईं बिना कुनै बाधा सेन्जेन क्षेत्रको जुनसुकै देशमा जान सक्नुहुन्छ । धेरै सेन्जेन देशहरूको भिसा पाउन गाह्रो छ । यी देश जानका लागि धेरै मानिसले अप्लाई गरेका भिसा आवेदनहरू अस्वीकार गरिन्छ । माल्टा, इस्टोनिया र बेल्जियम जस्ता देशहरूमा भिसा पाउन गाह्रो छ । त्यसैगरी युरोपमा आइसल्यान्ड, स्विट्जरल्यान्ड, लाटभिया र इटाली जस्ता केही देश छन् जसको भिसा सजिलै पाउन सकिन्छ । युरोपेली देशहरू घुम्नका लागि सबैभन्दा राम्रो मौसम गर्मी हो किनभने गर्मीमा पनि तापक्रम कम रहन्छ । युरोपमा अगस्टसम्म र कहिलेकाहीँ अक्टोबरसम्म गर्मीको मौसम हुन्छ, त्यसैले तपाईं यी महिनाहरूमा युरोप भ्रमण गर्ने योजना बनाउन सक्नुहुन्छ । यसका लागि तपाईंले ती सेन्जेन देशहरूबाट भिसाको लागि आवेदन दिन आवश्यक छ जहाँ भिसा अस्वीकार दर सबैभन्दा कम छ । एकपटक तपाईंले त्यो देशको लागि भिसा प्राप्त गरेपछि तपाईं सबै सेन्जेन देशहरूमा यात्रा गर्न सक्नुहुन्छ । तपाईंले पहिले जुन देशका लागि भिसा लिनुभएको छ त्यो देशमा जानुपर्ने छ, त्यसपछि तपाईं त्यहाँबाट बाँकी देशहरू भ्रमण गर्न सक्नुहुने छ । सबैभन्दा कम भिसा अस्वीकृत दर भएका सेन्जेन देशहरू देश अस्वीकृत दर आइसल्यान्ड- २.२ प्रतिशत स्विट्जरल्यान्ड- १०.७ प्रतिशत लाटभिया-११.७ प्रतिशत इटाली– १२ प्रतिशत लक्जेम्बर्ग- १७.७ प्रतिशत लिथुआनिया- १२.८ प्रतिशत स्लोभाकिया- १२.९ प्रतिशत जर्मनी- १४.३ प्रतिशत अस्ट्रिया- १४.३ प्रतिशत ग्रीस- १४.७ प्रतिशत एजेन्सी

जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोबोटको निर्माण

जापान । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको विकास गरेका छन् । सेल रिपोर्ट्स फिजिकल साइन्स जर्नलमा प्रकाशित विवरणमा जापानी वैज्ञानिकले भनेका छन्, ‘उनीहरूले ‘जीवित छालाकोजस्तो आवरणसहितको रोबोट’ बनाउन ‘छाला बनाउने कोषले भरिएको जेल’ प्रयोग गरेका थिए ।’ बायोहाइब्रिड रोबोट विशेषज्ञले यो प्रविधिले एक दिन एन्ड्रोइडको आविष्कारमा मानव जस्तो उपस्थिति र क्षमताको साथ भूमिका खेल्ने आशा गरेका छन् । ‘हामीलाई आशा छ, जीवित प्रणाली र संयन्त्रहरूको वैज्ञानिक अध्ययन (फिजियोलोजी) ले मुजाको बनावट र अनुहारको हाउभाउबारे जानकारी दिन मद्दत गर्नेछ,’ प्राध्यापक शोजी टेकुचीको नेतृत्वको टोलीले भनेको छ । प्रायः सिलिकन रबरबाट बनेको वास्तविकजस्तो देखिने छालाले ढाकेको नयाँ सामग्रीले परम्परागत ‘ह्युमनोइड रोबोट’ भन्दा एक कदम अगाडिको विकासको संकेत दिन सक्छ तर यसले पसिना वा आफैलाई निको पार्न सक्दैन । वैज्ञानिकहरूको लक्ष्य ‘जैविक छालामा निहित आत्म–उपचार क्षमतासहितको रोबोटको निर्माण गर्नु हो’ तर उनीहरू अझै त्यहाँ पुगिसकेका छैनन् । यसअघिका अध्ययनहरूमा उनीहरूले प्रयोगशालामा हुर्केको छालाको कटमा कोलेजनलाई रोबोटिक औंलाले ढाकेर यसलाई कसरी मर्मत गर्न सकिन्छ भनेर अध्ययन गरी यसको नतिजा बाहिर ल्याएका थिए । तरल पदार्थको रूपमा सर्ने ‘प्राकृतिक मुस्कान’ को रूपमा वर्णन गर्न, उनीहरूले छाला जस्तो कोषलाई पानी र तातोको उपस्थितिमा स्टार्च अणुहरूको अन्तरआणविक बन्धनहरू तोड्ने प्रक्रिया अर्थात् वास्तविक मानव छालाको लिगामेन्टबाट प्रेरित एक विधि (जिलेटिनाइज्ड) गरी रोबोटको प्वालभित्र राखेका छन् । रासस

दुग्ध किसानले भिख होइन, पसिनाको मूल्य मागेका हुन् : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरूले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले सरकारले दुग्ध किसानहरूको करिब एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको बताए । उनले दुग्ध किसानको ५ अर्ब बढीको रकम भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले दुग्ध किसानहरूले न्याय पाउनको लागि अब सडक आन्दोलन नभएर फ्रान्सको जस्तो गरी ट्याक्टर, गाई भैँसी सडकमा छोड्नुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले वर्तमान सरकार दुग्ध लगायत अन्य किसानहरूलाई समेत रुवाएर आफू हाँसेर बस्न नसुहाउने बताए । बाँस्कोटाले जनताको सरकार भएपछि जनताप्रति जवाफदेही हुनुपर्ने बताए । उनले निजी क्षेत्र व्यापार र नाफामा मात्रै लिप्त हुँदा जवाफदेहिता नभएको बताए । लम्पी स्किनलाई लिएर अर्बौंको क्षति हुँदा समेत किसानहरूले बीमाको रकम लगायत गाईको मूल्य नपाएको समेत बाँस्कोटाले बताए । उनले सरकारले एउटै वडामा ६ करोड भन्दा बढी रकम तिर्न बाँकी रहेको भन्दै यसमा सरकारको दृष्टिकोण माग गरे ।

असारे विकास गर्ने प्रवृत्ति अन्त्य होस् : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले आर्थिक वर्ष सकिने बेलामा असार महिनामा मात्रै विकास निर्माणको काम सम्पन्न गर्ने प्रवृत्ति रहेको बताएका हुन् । उनले अघिपछि बिस्तारै काम गर्ने र आर्थिक वर्ष सकिने बेलामा बिल फस्र्यौटका लागि छिटोछिटो काम सम्पन्न गर्ने गरिएको भन्दै त्यस प्रकारको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । पौडेलले यस्तो प्रवृत्ति अन्त्यका लागि सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराए । सांसद पौडेलले विपद् पूर्वतयारीमा सरकारको काम अपूर्ण रहेको भन्दै स्रोत, साधन र जनशक्तिको पर्याप्त व्यवस्थासहितको तयारी गर्न आग्रह गरे । उनले राजनीतिक दलका कार्याकर्ताहरुलाई पनि विपद् व्यवस्थापनमा परिचालन गर्नुपर्ने बताए । उनले भने, ‘असारे विकासको चर्चा दिनहुँ चल्ने गर्छ, अहिले बजेट पास हुने र अर्को सालको असारमा काम गर्ने र निर्माणका कामहरु, निर्माण व्यवसायीले पैसा नपाएको गुनासो गर्दै हिँड्ने र सम्बन्धित शीर्षकमा विनियोजन भएको बजेटको राम्रो भएपनि नराम्रो भए पनि छिटोभन्दा छिटो काम सम्पादन गरेर बिल फछ्र्यौट गर्नुपर्ने यो प्रणालीको अन्त्य गर्नको निम्ति सम्बन्धित मन्त्रालयको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले दुध र उखु किसानहरुको पैसा तत्काल भुक्तानी गर्न पनि सरकारलाई आग्रह गरे ।

सरकारले राजदूत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ : सांसद साउद

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद साउदले नेपालले आफ्नो कूटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशाली ११ राष्ट्रमा रहेका राजदूतहरू फिर्ता बोलाएको बताए । उनले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कूटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको बताए । उनले सत्ता गठबन्धनका बिचमा भागबन्डा गरेर राजदूत नियुक्त गर्दा केहीले पद अस्वीकार गरेको र केहीले राजदूत नियुक्तिका लागि विज्ञापन गर्नुले देशको प्रतिष्ठामाथि आँच पुगेको बताए । उनले नेपालको कूटनीतिक क्षमता र विश्वसनीयतासित नखेल्न सरकारसँग आग्रह पनि गरे । उनले भने, ‘सत्ता गठबन्धनका दलहरूले भागबन्डा गरेर राजदूत नियुक्ति गर्ने काम गरेका छन्, केही नियुक्त भएका मान्छेहरूको कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कुरा पनि सार्वजनिक डोमेनमा चर्चा चलिरहेको छ, केही राजनीतिक दलहरूले सरकारले नियुक्त गर्नुपर्ने यस्तो गम्भीर विषयलाई एनजिओमा मान्छे छनौटको विषयवस्तु जस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रूपमा राजदूत चयन गर्दै छन्, यसले नेपालको कूटनैतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ, त्यसकारण सरकारले आफ्नो निर्णयलाई सच्याउनुपर्छ ।’ उनले बीआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा सरकारले गरेको पहल स्पष्ट रूपमा भन्नुपर्ने समेत बताए ।

राष्ट्रिय वाणिज्य बैंकको डीसीईओमा लोहनी चयन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) काे पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो । विसं २०५१ मा कम्युटर प्रोग्रामर (तह ७)को रूपमा बैंकिङ सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्षहरू पूरा गरेका छन् ।

१ लाख लगानीबाट सुरु भएको वेदिकाको एडुकेश, विदेशमा पनि पुर्‍याउने योजना

काठमाडौं । केही गर्न त मन थियो । तर, पैसा छैन, कसरी गर्नु ? हामी कुनै व्यापार व्यवसाय गर्ने सोच बनाउँदा पहिले पैसाको खोजी गर्छौं। तर, व्यवसाय गरिरहेकाहरू भने थौरै लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिने बताउँछन् । व्यवसायका लागि सबैभन्दा पहिले इच्छा र उपाय चाहिन्छ । इच्छा शक्ति र उपाय भएपछि सानै लगानीले पनि काम गर्न सकिने उनीहरूको अनुभवले बताउँछ । उनलाई सानैदेखि फरक व्यवसाय गर्न मन थियो । आमाबुवा पनि व्यावसायी नै । उनलाई परिवारमा बाआमाले गरेको भन्दा र अन्यको भन्दा फरक व्यवसाय गर्न मन थियो । उनलाई सबैभन्दा मन पर्ने क्षेत्र शिक्षा थियो । शिक्षा क्षेत्रमै केही गर्ने हुटहुटी थियो उनीमा । उनी अर्थात ‘इडुकेश’ की संस्थापक वेदिका मुरारका । उनले नेपालको ग्रामिण क्षेत्रमा रहेका विद्यार्थीलाई लक्षित गरी ‘इडुकेश झोला’ बनाउने काम सुरु गरेको करिब तीन वर्ष भयो । विदेशमा पढेर नेपालमा शिक्षा क्षेत्रमा फरक व्यवसाय गरिरहेकी उनी अहिले काठमाडौंमा बसेर विद्यार्थीलाई किताब बोक्न पनि मिल्ने र टेबल पनि बनाउन मिल्ने झोलाको व्यवसाय गरिरहेकी छन् । करिब ३ वर्षको अवधिमा डोल्पा र हुम्लासहित तराईका विभिन्न स्कुलका विद्यार्थी अहिले त्यही झोला प्रयोगमा ल्याइरहेका छन् । अहिलेसम्म करिब ४ हजार ८ सय झोला विद्यार्थीले प्रयोग गरिसकेका छन् । किताब बोक्न पनि मिल्ने, फोल्ड गरेर डेस्क÷टेबल पनि बनाउन मिल्ने ‘एडुकेश’ बनाइरहेकी वेदिकालाई भेट्दा हामीले झोला र व्यवासायबारे जिज्ञासा राख्यौँ ‘एडुकेश’ केहो ? उनले भनिन् ‘एउटा नर्मल झोला (ब्याग) हो । तर, यसमा केही नवीकरण (इनोभेसन) छ ।’ उनी सरकारी विद्यालयमा पढ्ने ग्रामिण क्षेत्रका विद्यार्थीलाई केद्रीत गरि यो व्यवसाय सुरु गरेको बताउँछिन् । घरमा पनि टेबुल जस्तै बनाएर पढ्न मिल्ने र स्कुलमा पनि डेस्क बेन्चको काम गर्न सकिने यो झोला विद्यार्थीका लागि सजिलो र टिकाउ हुने उनको भनाइ छ । ‘धेरै जसो गाउँको स्कुल र तराईका स्कुलमा अझै राम्रो डेस्क बेन्चको सुविधा छैन । भएका ठाउँमा पनि विद्यार्थीको साइज अनुसार हुँदैन,’ उनी भन्छिन्, ‘विद्यार्थीलाई कसरी बच्चामैत्री बनाउने भन्दा झोलाबाट गर्दा उत्तम हुन्छ भन्ने लागेर मैले यो व्यवसाय सुरु गरेँकी हुँ ।’ अहिले धेरै नेपाली युवाहरू देश छोडेर परदेश गइरहेका छन् । नेपालमै भएकाहरू पनि सरकारी जागिरको पछाडि लागेका छन् । नेपाली युवा विदेश गइरहेको बेला विदेशबाट नेपाल फर्केर व्यवसाय गरिरहेकी तपार्इंलाई व्यवसायमा लाग्न केले अभिपे्रत ग¥यो भन्ने प्रश्नमा उनी जवाफ दिन्छिन्, ‘म आफ्नो व्यक्तिगत अनुभवबाट यो क्षेत्रमा लागेकी हुँ । आफ्नै कम्पनी दर्ता गरेर काम गर्दा सेल्फ फ्रिडम हुन्छ । केही नयाँ काम गर्न मन लाग्यो भने गर्न मिल्छ । तर, कर्मचारी भएर जागिर गर्दा मन लागेको कुरा पनि मनमै राखेर बस्नुपर्छ त्यसैले पनि मैले व्यवसाय रोजेँ ।’ कसरी सुरु भयो ‘एडुकेश’ ? एडुकेश वेदिका र उनकी साथी नेहा अहमदले ल्याएको आइडिया हो । उनीहरू दुवै जना क्लासमेट हुन् । नेहा पाकिस्तानकी हुन् । उनीहरू दुवैजना लन्डन स्कुल अफ इकोनोमिक्स कलेजमा सोसिअल इनोभेसन एन्ड आन्ट्रपेनरसिपमा स्नातकोत्तर गर्दै थिए । कक्षामा प्रोजेक्टको काम गर्नुपर्यो जसमा बिजनेस आइडिया दिनुपथ्र्यो । त्यहीबेला उनीहरूले यो आइडिया प्रस्तुत गरे । उनीहरूको यो आइडिया शिक्षक र अन्य विद्यार्थीलाई पनि मन प¥यो । राम्रो आइडिया ल्याएको भन्दै उनीहरूले १ हजार पाउण्ड पुरष्कार पनि पाए । त्यसपछि उनलाई लाग्यो अब यही कामलाई व्यवसायमा परिणत गर्नुपर्छ । उनकी साथीले पनि यसमा सहमति जनाइन् । त्यसपछि वेदिका नेपाल आइन् । उनले नेपालको बजार र यहाँको व्यवसायका विषयमा बुझ्न थालिन् । करिब २÷३ वर्षको तयारी पछि २०२१ मा अन्ततः आयो ‘एडुकेश झोला’ । नेपालको बजार र व्यवसायका विषयमा बुझेपछि वेदिकाले शिक्षा क्षेत्रमा काम गर्न ईच्छा भएका र गरिरहेका एनजिओ, आइएनजिओलाई भेटिन् । आफ्नो आइडिया ‘सेयर’ गरिन् । यति गर्दैगर्दा बिचमा कोरोना महामारी फैलियो । कोरोनाका कारण भएको लकडानले उनलाई पनि असर ग¥यो । उनलाई व्यवसाय गर्न कम्पनी दर्ता गर्न, झोला बनाउने फ्याक्ट्री खोज्नु थियो । यतिमात्र होइन् उनकासामु बजार विश्वासको पनि चुनौती थियो । शिक्षा क्षेत्रमा फरक त्यो पनि दुर्गम क्षेत्रका विद्यार्थीका लागि झोला बनाउन डिजाइन त पहिले नै तय थियो । तर, त्यसमा थप नयाँ कसरी गर्न सकिन्छ भन्ने चिन्ता थियो । सुरुमा डिजाइन गरेको झोला फेरी उनीहरूलाई नै मन परेन ११ औँ पटक बनाएको डिजाइनन राम्रो भयो । त्यहीबेला धेरै झोला बजारमा गयो । अहिले फेरि १२ औँ पटक झोलाको डिजाइनमा नयाँ के थप्न सकिन्छ भन्नेमा उनको ध्यान छ । एक लाख लगानीबाट सुरुवात कुनै पनि व्यवसाय सुरु गर्न पैसा चाहिँन्छ । घरभित्रैबाट व्यावसायिक यात्रा गर्दा पनि पैसा चाहिन्छ । वेदिका र नेहासँग धेरै पैसा थिएन । उनीहरूले कलेजमा राम्रो आइडिया सेयर गरेवापत पाएको एक लाख ३० हजार रुपैयाँ थियो । त्यही पैसाले व्यवसाय सुरु गरे । ‘हातमा धेरै पैसा थिएन, हामी केही नयाँ गर्छौं भनेर कलेजमा भनेको थिएँ, घरमा पनि यही पैसाबाट काम थाल्छु भनेको थिएँ’ उनी भन्छिन्, ‘यही पैसाले गर्न सक्छु भनेर विश्वास दिलाउनु थियो, त्यसैले पनि हार मानिन ।’ उनलाई सुरुवातमै ५/६ हजार झोला बनाएर बजारमा लग्नु थियो । नाफा भन्दा पहिले कसरी आफुले गरेको कामको विश्वास दिलाउन सक्छु भन्ने चुनौती थियो । बजारमा नआएको, कसैले प्रयोगमा नल्याएको बिलकुल नयाँ झोला बनाउनु थियो । झोला बनाउने फ्याक्ट्री र बजारमा ग्राहकको मन जित्नु थियो । वेदिकाले सबैभन्दा पहिले काभ्रेका दुइटा स्कुल छनोट गरिन् । त्यहाँ परीक्षण गरिसकेपछि उनी शिक्षा क्षेत्रमा काम गरिरहेका संस्थासँग कुरा गरिन् । उनले आफ्नो कामको बारेमा बताइन् । केही सामान उत्पादन गर्नुछ भने सबैभन्दा पहिले फ्याक्ट्री खोज्नुपर्छ । यसका लागि मेसिन, र मेट्रियल सामान, मान्छे धेरै लगानी चाहिन्छ । तरल त्यति लगानी थिएन । वेदिकाले फ्याक्ट्रीलाई पार्टनरसिपमा काम गर्न अनुरोध गरिन् । उनले आफ्नो डिजाइन दिइन् । फ्याक्ट्री पनि तयार भयो । फ्याक्ट्री खोज्न नै धेरै समय लागेको अनुभव उनले सुनाइन् । कच्चा पदार्थ आयात यो झोला नेपालमा बन्छ । तर, ययका लागि चाहिने आवश्यक सामाग्री (कच्चा पदार्थ) नेपालमा छैन । झोला बनाउन प्रयोग हुने फ्याब्रिक बाहिरबाट ल्याउनुपर्छ । केही बकल नेपालमै पाइए पनि आफुलाई चाहिने बलियो खालको मेट्रियल फ्याब्रिक र बकल चीन र भारतबाट ल्याउनु परेको उनको भनाइ छ । झोला भित्र कागजको कुट राखिन्छ । भित्रको हार्ड मेट्रियल कार्डबोर्ड हो । यो नेपालमा नै म्यानुफ्याक्चर हुन्छ । यो झोला बनाउन चाहिने सबैभन्दा महत्वपूर्ण भनेको फ्याब्रिक हो । कार्डबोर्ड पनि चाहिन्छ । अरु सबै वस्तु नेपालमै पाइन्छ । यो झोलामा प्लाष्टिक प्रयोग गरिँदैन । कुट प्रयोग गरिन्छ । दुई हजार मुल्य प्रायः झोला किन्ने मान्छे झोला पसलमा जान्छन् । टेबल किन्ने मान्छे फर्निचर पसलमा जान्छन् । टेबल र झोला दुवैको काम गर्ने यो झोला खोज्दै बजारमा कोही पनि आउने नगरेको उनी सुनाउँछिन् । उनले बजारभन्दा विभिन्न एनजीओ आइएनजीओलाई केन्द्रिंत गरिन् । आफुले बनाएको झोला देखाइन् । धेरैजस्तो संघ संस्थाले स्कुलमा कापी कलमसँगै झोलाहरू वितरण पनि गर्छन् । वेदिकाले त्यस्ता संस्थालाई आफुले बनाएका झोलाहरू लिन आग्रह गरिन् । धेरैजस्तो संस्थाले सहकार्य पनि गरे । अहिले कतिपय संस्था आफै झोला खोज्दै आउँछन् । कतिपयले सामाजिक सञ्जालमै पनि अर्डर गर्छन् । वेदिका अहिले पनि बजार सहज रुपमा बनिनसकेको बताउँछिन् । उनी अहिले पनि दिनमा १० भन्दा बढी संस्थासँग आफुले बनाएको झोलाका बारेमा जानकारी गराउँछिन् भने कतिपयसँग भेट्छिन् । उनले बनाएको झोला विशेषगरी दुर्गम र तराइ क्षेत्रका बालबालिका जो विद्यालय गइरहेका छने उनिहरूलाई लक्षित हो । तर, आजभोलि प्रायः अफिसमा काम गर्ने घरमै बसेर काम गर्नेहरूले पनि यो झोला किनिरहेका छन् । डोल्पा र हुम्ला लगायतका विभिन्न ठाउँमा यो झोला पुगेको छ । यो झोलाको मुल्य दुई हजार रुपैयाँसम्म पर्छ । तर, धेरै झोला एकै पटक लिँदा केही सस्तो पर्ने उनको भनाइ छ । उनी यो झोला अरुभन्दा टिकाउ पनि रहेको बताउँछिन् । झोलाको बाहिरको फ्याब्रिक बजारमा पाइने झोला भन्दा बलियो छ । वाटरप्रुफ पनि भएकाले भित्रको कार्डबोर्डपनि बिग्रदैन । यदि बिग्रिहो पनि डिजाइन यति सजिलैछ त्यसलाई रिप्लेस बनाउन सजिलो छ । यो झोला सर्वसाधारणको भन्दा विद्यार्थीको लागि हो । उनले अहिले ४ हजार ७ सय झोला बिक्री भइसकेको बताइन् । परदेशमा पढाइ वेदिकाका तीन जना दिदी भाइ छन् । उनी माइली हुन् । उनको घर सिराहको लाहान हो । व्यापारको सिलसिलामा आमाबाुवा काठमाडौँ आए । उनी काठमाडौंमै जन्मिन् । पढ्दै गर्दा नेपालमा शान्तिपूर्ण वातावरण थिएन । जनयुद्ध चलिरहेको थियो । त्यो बेला उनी कक्षा ४ मा पढ्थिन् । कहिले बन्द, कहिले आन्दोलनले विद्यालय सातामा दुई दिन पनि खुल्न गाह्रो हुन्थ्यो । त्यहीबेला उनको परिवारले वेदिकालाई भारतमा लिएर पढाउने निधो गर्यो । उनलाई भारतको राजस्थानमा होस्टेलमै राखेर पढ्न राख्यो । नेपालमा कक्षा ४ सम्म पढिसकेपछि भारत गइन् । उनी पढ्ने स्कुलमा धेरै नेपाली विद्यार्थी थिए । ‘एक्लै बस्दा धेरै काम आफंै गर्न सक्ने आँट आउँदो रहेछ,’ उनी भन्छिन्, ‘सबै काम आफैं गर्नुपथ्र्यो, सानैदेखि आफ्नो काम आफैं गरियो अथवा यही कुराले पनि जे काम पनि आफैं गर्नुपर्छ भन्ने आँट आएको हो ।’ बच्चादेखि नै जोखिम लिरहेकोले पनि व्यवसायमा लाग्दा त्यति समस्या नभएको उनको भनाइ छ । भारतबाट १० कक्षाको पास गरिसकेपछि ११ र १२ मा व्यवस्थापन पढिन् । स्नातक भारतको बैंलोरमै पढिन् । त्यसपछि उनी स्नातकोत्तर पढ्न लण्डन गइन् । विदेशमा पढेर नेपालमा व्यवसाय नेपालमा केही गर्न सकिँदैन, बाहिर नै गएर काम गर्नुपर्छ भन्ने आम नेपाली युवाको मानसिकता छ । तर, वेदिका भने विदेशबाट आएर नेपालमै केही गर्नुपर्छ भनेर लागिरहेकी छन् । जहाँ समस्या त्यहाँ समाधानका उपाय पनि धेरै हुन्छन् भन्ने सोचले उनी नेपाल आइन् र व्यवसायमा लागिन् । ‘विद्यार्थी बाहिर पढ्न जानु नराम्रो होइन । तर, पढेर नेपालमै नफर्की उतै बस्नु नराम्रो हो,’ उनी भन्छिन्, ‘बाहिर पढेको फाइदा धेरै हुन्छ, विश्वमा हरेक क्षेत्रमा इनोभेसन धेरै अगाडि बढेको छ, बाहिरको हेरेर देखेर र सिकेर पनि नेपालमा केही नयाँ गर्न सकिन्छ ।’ वेदिका सानैदेखि नेपाल बाहिर हुँदा नेपाली बोल्न र पढ्न गाह्रो थियो । उनले सिक्दै गर्दै गइन् । उनी अर्काको देशमा देखेर महसुस गरे जस्तो सहज नहुने बताउँछिन् । पढ्न गएका विद्यार्थीलाई पनि एक्लो भएर बस्न गाह्रो हुने उनको अनुभव छ । अहिले अनलाइनमा धेरै काम हुन्छ । डिजिटल समयमा जो जहाँ बसे पनि काम गर्न सकिन्छ । नेपालमा बसेर मान्छे भेट्ने काम वेदिकाले गर्छिन् भने के गर्ने कसरी गर्ने भन्ने आइडिया साथीसँग पनि सोधखोज गर्छिन् । उनकी साथी नेहा पाकिस्तानबाटै यो व्यवसायमा सहयोग गरिरहेकी छन् । अहिले वेदिकाले इन्र्टनसीपमा काम गर्ने कर्मचारी पनि राखेकी छन् । उनीहरूले सामाजिक सञ्जालदेखि लिएर अन्य आवश्यक काममा सघाउने काम गरिरहेका छन् । भारत र पाकिस्तानमा पनि व्यवसाय गर्ने यो झोलाका लागि उनलाई विभिन्न देशबाट फोन आउने गर्छ । कसैले सँगै मिलेर काम गरौं भनिरहेका छन् भने कतिपयले फोन गरेर झोला पठाइदिन आग्रह गरिरहेका छन् । भारत र पाकस्तानमा पनि दुर्गम ठाउँ धेरै छ । नेपालको भन्दा धेरै समस्या ती देशको दुर्गम ठाउँमा पनि छ । अफ्रिकाबाट पनि हामीसँगै काम गर्नुस् भनेर फोन आउने गरेको उनले बताइन् । वेदिकाका योजना अब फेरि झोलामा नयाँ केही डिजाइन थप्ने तयारी छ । झोलालाई अब नेपाल बाहिर पनि लग्ने योजना छ । अहिले विद्यालय उमेरका बालबालिका लागि केन्द्रित यो झोला अब शिक्षकमैत्री कसरी बनाउने भन्ने पनि सोचिरहेको बताउँछिन् । वेदिका नेपाली युवालाई व्यवसायमा केन्द्रित गर्न शिक्षा क्षेत्रमा उद्यमशिलताको कुरा समावेश गरिनु पर्ने बताउँछिन् । ‘हाम्रो अभिभावकले तिमी डाक्टर इन्जिनियर बन्नुपर्छ भन्नुहुन्छ, कलेजमा पनि उद्यमशिलताको कुरालाई त्यति जोड दिएको पाइँदैन जसका कारण युवालाई व्यवसाय गर्न मन हुँदैन,’ उनी भन्छिन्, ‘जागिर भन्दा पनि व्यवसायमा जोड दिनुपर्छ ।’