विकासन्युज

केईको इलेक्ट्रीक मोडल एक्स-३ प्रोको बुकिङ खुला, सुरुवाति मूल्य ४६ लाख ९६ हजार

काठमाडौं । केई मोटर्सको आधिकारीक वितरक लक्ष्मी ई-मोविलिटी प्राइभेट लिमिटेडले केईको इलेक्ट्रीक एसयूभी एक्स-३ प्रोको बुकिङ खुला गरेको छ । कम्पनीले काठमाडौंको भाट भटेनीमा सुविधा सम्पन्न शोरुम निर्माण गरेर शोरुम सञ्चालनमा ल्याएसँगै बुकिङ खुला गरेको हो । कम्पनीले बिहीबार एक विज्ञप्तिमार्फत सुरुमा एक्स–थ्री प्रो मोडल दुई भेरियन्टमा बुकिङ खुला गरिएको जानकारी दिएको छ । अहिले केई एक्स-३ प्रोको डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध हुनेछ । इन्टोडक्टरी प्राइसको हिसावले डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहने कम्पनीको भनाई छ । कटिङ एज टेक्नोलोजी, स्लीक डिजाइन र उत्कृष्ट पर्फमेन्स दिनसक्ने एक्स-३ प्रो मोडल कम्प्याक्ट एसयूभी सेग्मेन्टमा शान्दार मोडल बन्ने कम्पनीले विश्वास लिएको छ । यसमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ । कम्पनीका अनुसार यसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिनेछ । यसलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ८ घन्टामा फुल चार्ज गर्न सकिन्छ । साथै, १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एक्स-३ प्रो मोडलको लम्बाई ४४०० मिलिमिटर, चौडाई १८३१ मिलिमिटर र उचाई १६५३ मिलिमिटर रहेको छ । ५ सिट क्षमताको एसयूभीमा २६३२ एमएम लामो ह्वीलवेस रहनेछ । यसको अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स प्रयोग भएको छ । पछाडि भने मल्टी लिंक इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ । यसमा १८३ एमएमको ग्राउन्ड क्लियरेन्स छ । ग्राहकले यसमा विभिन्न ५ कलर अप्सन पाउने कम्पनीले जानकारी दिएको छ । ‘वातावरण मैत्री इलेक्ट्रीक एसयूभीको पर्फमेन्ससँगै स्लीक डिजाइन र मोर्डन फिचरहरु रहेका छन् । केई एक्स–३ प्रोमा प्रयोग भएका सम्पूर्ण लाइटहरु एलइडी छन् । १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेशन क्लष्टर, इन्टेलिजेन्ट स्काईरुफ, ड्यूल जोन एसी, वायर लेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको छ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चालकलाई पृथक ड्राइभिङ अनुभव प्रदान गर्न सक्ने किसिमले डिजाइन गरिएको एक्स–३ प्रो सुरक्षाको हिसावले पनि उत्कृष्ट रहेको कम्पनीको भनाई छ । एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडास फिचर यसमा छन् । एडास भित्र विशेष गरी हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, इबीडी सहितको एबीएस ट्रयाक्सन कन्ट्रोल सिस्टम छन् । यसको ब्याट्रीमा पनि कटिङ एज टेक्नोलोजीको प्रयोग गरिएको छ । सुरक्षाको हिसावले राम्रो रहेको ब्याट्रीसहित सबै किसिमका मोटर लगायत इलेक्ट्रीकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बाढी, पहिरो र चट्याङबाट प्रभावित परिवारलाई राहत र क्षतिपूर्ति दिन माग

फाइल फाेटाे काठमाडौं । सांसदहरूले बाढी पहिरो र चट्याङबाट मृत्यु भएका परिवार र घाइते भएकाहरूलाई राहत, उद्धार र क्षतिपूर्ति दिन माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दै यस्तो माग गरेका हुन् । बैठकमा प्रतिनिधिसभा सदस्य इश्वरीदेवी न्यौपानेले चट्याङ लागेर कैलालीमा २ जनाको ज्यान जानुका साथै अन्य घाइते भएको बताइन् । त्यस्तै, अर्का सांसद मानवीर राईले असार ११ र १२ गते परेको अविरल बर्षाबाट सोलुखुम्बु जिल्ला पनि प्रभावित भएको भन्दै बाटो, पुल, व्यक्तिका घर पहिरोले क्षति पुर्‍याएको भन्दै ध्यानाकर्षण गराए । उनले प्रभावित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । यसैगरी माओवादी केन्द्रका सांसद अमनलाल मोदीले मोरङको विराटनगर जलमग्न भएको र आवतजावत प्रभावित भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए । सांसद रामहरि खतिवडाले बाढी पहिरोबाट जनधनको क्षति भएको भन्दै ओखलढुंगामा गएको पहिरोबाट देवकुमारी खत्रीको मृत्यु र तीन जना घाइते भएको जानकारी दिए । सांसद मनबहादुर गुरुङले कास्कीको पोखरामा पहिरोले घर पुर्दा र चट्याङ लागेर २ जनाको निधन हुनुका साथै ठाउँ ठाउँमा सडक अवरुद्ध भएको भन्दै राहत र उद्धारको काम गर्न सरकारको ध्यानाकर्षण जनाए । त्यस्तै सांसद उर्मिला माझीले पनि देशभर भएको जनधनको क्षति भएको भन्दै लमजुङ पनि त्यसबाट अछुतो नरहेको बताइन् । उनले जिल्लामा बाढी पहिरो र चट्याङबाट ६ जनाले ज्यान गएको जानकारी समेत गराइन् ।

धवलागिरि आइसफल पदमार्ग निर्माणमा तीव्रता, ८ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । सोलुखुम्बुका खड्क बस्नेत दुई महिनादेखि धवलागिरि हिमालको फेदी नजीकको जङ्गलमा बास बस्छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको कछुवा ओढार क्षेत्रमा पदमार्ग बनाउन बस्नेतसहित करिब ३० जनाको टोली दुई महिनादेखि जङ्गलमै बास बस्दै आएका हुन् । म्याग्दी र मुस्ताङलाई पदमार्गले जोड्ने धवलागिरि आइसफल ट्रेकमा दुई वर्षदेखि पदमार्ग निर्माण भइरहेको छ । पर्यटन विभागसँग दुईवटा प्याकेजमा ठेक्का सम्झौता गरेको कल्पवृक्ष विल्डर्सले आइसफल पदमार्ग बनाउन थालेको हो । गत वर्षदेखि पदमार्ग बनाउने काम गरेको कम्पनीले प्रतिकूल मौसम र बाढी, पहिरोका कारण योजनालाई सम्पन्न गर्न दुई वर्ष लागेको जनाएको छ । बस्तीदेखि टाढा र हिमालको नजिकका भूभागमा पदमार्ग बनाउन मजदुर र व्यवस्थापकहरू वनजङ्गलमै त्रिपाल टाँगेर बास बस्ने गरेका छन् । हिमालको फेदी नजिकै बाटो बनाउनुपर्ने भएकाले जङ्गलमै बसेर काम गर्नुपरेको बस्नेतले बताए । आर्थिक वर्ष २०७९/८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट सुरु भएको आइसफल पदमार्ग निर्माण योजनाअन्तर्गत अहिले सिँढी चिनेर पदमार्ग बनाउने कामले गति पाएको छ । निर्माण कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले दुई वटा प्याकेजमा कुल एक करोड ५४ लाख रुपैयाँबजेटबाट ठेक्का सम्झौता गरेको र अहिलेसम्म आठ किलोमिटर बढी पदमार्ग निर्माण भइसकेको जानकारी दिए । ‘यो वर्षमात्रै तीन किलोमिटर बढी पदमार्ग बनाएका छौँ, असारभित्रमा योजनालाई सम्पन्न गर्ने गरी काम भैरहेको छ, अक्करे भिरबाहेक अन्य ठाउँको पदमार्ग बनाएर सक्ने हाम्रो लक्ष्य हो, विष्फोटक पदार्थको प्रयोग गर्नुपर्ने अवस्था बाहेकका अन्य सबै अप्ठेरो ठाउँमा सहज रूपमा आवतजावत गर्न सक्ने गरी काम गरिरहेका छौँ’, उनले भने । यसवर्ष छिस, कछुवा ओढार हुँदै धवलागिरि भ्यू प्वाइन्ट हिलसम्मको नदी किनार र घना जङ्गलमा व्यवस्थित पदमार्ग बनाउने काम भैरहेको छ । पदमार्ग बनाउन सोलुखुम्बु, उदयपुर, पाल्पा, नुवाकोट, रसुवालगायतका जिल्लाबाट मजदुरहरू यहाँ आएका छन् । दुई समूहमा बाँडिएर झाँडी फाँडेर पदमार्ग बनाउने गरेको फुर्वा तामाङले बताए । जङ्गल, भिर पहाड र खोला किनारमा दुई मिटर फराकिलो सिँढी चिनेको पदमार्ग निर्माण हुन थालेपछि पर्यटकहरूलाई धवलागिरि आइसफल आधार शिविर पुग्न सहज हुन थालेको छ । परम्परागत गोरटो बाटोमा सिँढी चिनेपछि पदमार्ग चिटिक्क भएको छ । उच्च हिमाली क्षेत्र भएकाले चिसो अत्यधिक हुने र हिमपात तथा वर्षाको प्रतिकुलताका बीच पदमार्ग बनाउने कामलाई तीव्रता दिएको कार्यक्षेत्रमा खटिएका निर्माण कम्पनीका प्रतिनिधि लाक्पा लामाले बताए । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको ससलधाराक्षेत्रबाट गत वर्षदेखि पदमार्ग निर्माण थालिएको थियो । यस पदमार्गअन्तर्गत कोखेभिर र धवलागिरि भ्यू पोइन्ट हिलको अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी छ । यसअघि चिमखोलाका स्थानीयले कोखे भिरमा पहाड काटेर पदमार्ग बनाउने प्रयास गरे पनि कडा चट्टानको कारण उक्त भिरमा अझै ५० मिटर बढी पहाड काट्न काट्न बाँकी रहेको छ । धवलागिरि भ्यू हिलको भिर र खोँचमा पदमार्ग बनाउन कठिनाई भएपछि पर्यटन विभागले पुल बनाउने गरी अध्ययन गरिरहेको जनाएको छ । गत वर्ष ससलधारादेखि पदमार्ग बनाउन सुरु गरेकोमा यस वर्ष कालीबराह दोभान अघिदेखि काम भैरहेको छ । चिमखोलादेखि घ्यासीखर्क हुँदै आधार शिविर जाने बाटोमा कोखेभिर र धवलागिरि भ्यू पोइन्ट हिलको भिरबाहेक अन्य सबै ठाउँमा सुविधाजनक पदमार्ग निर्माण हुन लागेको वडा नं ७ अध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिए । ‘आइसफल पदमार्ग सहज बन्दै गएको छ, हामीले पदमार्गसँगै खोलाहरू पुल र ठाउँ–ठाउँमा आश्रयस्थल पनि बनाउनपर्छ भनेर पहल गरिरहेका छौँ, दुई ठाउँको भिरमा पदमार्ग छिचोलियो भने एक दिनमै सहजै आधार शिविर पुग्ने पूर्वाधार तयार हुन्छ’, वडाध्यक्ष पाइजाले भने । उनले पदमार्ग निर्माणसँगै कालीबराह खोला र रघुगङ्गा नदी समेतमा झोलुङ्गे पुलहरू बनाउन आवश्यक रहेको बताए । म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने गरी २०६८ सालमा पहिलोपटक सम्भाव्यत्ता अध्ययन गरिएको धवलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रघुगङ्गा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको एक सय ८२ किलोमिटर लामो आइसफल पदमार्ग तयार गरी सङ्घीय र प्रदेश सरकारमार्फत पूर्वाधार बनाउन पहल थालिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । अहिले चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिए पनि आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ । नेपाल सरकारले धवलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको एक दशक पुगिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा समेत रुइसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई छनोट गरेको थियो । तर पूर्वाधार र आवश्यक व्यवस्थापकीय अभावले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तारसँगै विस्थापित भएपछि नयाँ वैकल्पिक पदमार्गको रुपमा धवलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । कुमारी पदमार्गको रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम भैरहे पनि सूचनामूलक संकैतबोर्ड राख्ने, खानेपानी, आश्रयस्थल र पर्यटकको सुविधाका लागि होटल तथा लजहरू निर्माण हुन सकेका छैनन् । धवलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायतका जङ्गली पशुपक्षी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) सँगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् । पाँच दिनदेखि दुई सातासम्मको लामो र छोटो दूरीमा पदयात्रा गर्न सकिने विकल्पसहित पहिचान भएको यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले, दोबा, भुरुङ, दानालगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ । रासस

मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

काठमाडौं । मनसुन भित्रिएपछि गत जेठ २८ देखि असार १२ गते०सम्ममा भएका विपदबाट बिहीबारसम्म ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका छन् । मनसुन भित्रिएको जेठ २८ देखि असार १२ गतेसम्म कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ । पहिरोबाट यो बीचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ । १० वटा घर आंशिक क्षति भएको छ । पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी गराएको छ । यस्तै, मनसुनका समयमा बाढीबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । चट्याङबाट क्षति सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पछिल्लो विपदजन्य घटना (असार ११ र १२ गते) को अवधिमामात्रै १८ जनाको मृत्यु भएको छ । जसमा ९ जना चट्याङबाट र ९ जना बाढीपहिरोमा परेर मृत्यु भएको उनले बताए ।­­­ ­­­

मुग्लिन-पोखरा साढे ५३ किलोमिटर सडक कालोपत्र

तनहुँ । मुग्लिन-पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । ८० किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो । मुग्लिन-पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिमीमा २८ प्रतिशत भौतिक प्रगति भएको छ । असारदेखि असोजसम्म ‘मनसुन’ सक्रिय हुने भएकाले हाललाई कालोपत्र गर्न छाडेर पानी निकासका निम्ति नाला, ‘रिटेनिङ वाल, कल्भर्ट’लगायत संरचना निर्माण द्रुत गतिमा भइरहेको आयोजना कार्यालय, पश्चिमका इन्जिनियर नारायण पौडेलले बताए । पूर्वी खण्डमा निर्माणधीन ठूला तीन पुलमध्ये डुम्रे बजार नजिकको पुल बनिसकेको छ भने आँबुखैरेनी र दमौली नजिकको अन्तिम चरणमा पुगेको छ । तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माणाधीन छ । हालसम्म उक्त पुलको ३० प्रतिशत काम पूरा भएको इन्जिनियर पाण्डेले बताए । एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउन मुग्लिन–पोखरा सडक योजनामार्फत काम जारी छ । सडक विस्तारको कार्य शीघ्र सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम थालिएको हो । चार लेनमा विस्तार गर्ने उक्त सडकको काम चिनियाँ कम्पनीले गरिरहेको छ । पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किलोमिटर क्षेत्र पश्चिम खण्डमा पर्छ । यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किलोमिटर सडक पूर्वी खण्डमा पर्छ । पश्चिम खण्डको निर्माणका लागि रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का सम्झौता भएको हो । पूर्वी खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ हो । सम्झौताअनुसार आयोजनाको काम आगामी भदौभित्रमा सम्पन्न गर्नुपर्नेछ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ पदमुक्त

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाह पदमुक्त भएका छन् । ४ वर्षे कार्यकाल छँदै सीईओ शाह पदमुक्त भएका हुन् । कम्पनी सञ्चालक समितिको बुधबार (असार १२ गते) बसेको बैठकले असार १३ गतेदेखि लागु हुने गरी सीईओ शाहलाई पदमुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव ध्रुब प्रसाद न्यौपानेले बताए । उनका अनुसार संचालक समितिका अध्यक्षको निर्देशन बमोजिम पुल्चोक ललितपुरमा बुधबार साढे ३ बजे बैठक आह्वान गरेको थियो । सोही बैठकले सीईओ शाहलाई पदमा वहाल नरहने गरी निर्णय गरेको उनले बताए । सीईओ शाह वि.सं २०७८ फागुन १ गते कम्पनीको सीईओमा नियुक्त भएका थिए । साथै नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको उनको भनाइ छ ।

नेपाल भित्रियो नयाँ सेरेस ३, मूल्य कति ?

काठमाडौं । नेपालका लागि सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्पले अत्याधुनिक फिचर र क्षमताको समीश्रण भएको इलेक्ट्रिक एसयुभी नयाँ सेरेस ३ सार्वजनिक गरेको छ । कम्पनीले एक विज्ञप्तिमार्फत नेपालमा नयाँ सेरेस ३ भित्र्याएको जानकारी दिएको हो । इलेक्ट्रिक एसयुभीको असीमित क्षमता दर्शाउन ‘लिमिटेडलेसनेस’ अर्थात ‘असीमितता’ ट्यागलाइन प्रयोग गरिएको यो एसयुभी सहरका चिल्ला सडकमा मात्र होइन असहज ग्रामिण भुगोलका लागि पनि उपयुक्त हुने कम्पनीले जनाएको छ । नयाँ सेरेस ३ लाई सेरेसका उपाध्यक्ष जो झोउ र एमएडब्लु वृद्धिका अध्यक्षा विष्णु कुमार अग्रवालको उपस्थितिमा काठमाडौंमा आयोजित भव्य कार्यक्रममा सार्वजनिक गरेका हुन् । कम्पनीका अनुसार एक्सटेरियरलाई व्यापक रिडिजाइन गरिएको सेरेस ३को अगाडिको बम्परमा परम्परागत लोगोलाई प्रतिस्थापन गरी आधुनिक लुक दिने उद्देश्यले पातलो तर स्पष्ट सेरेस लेखिएको छ । यसको भर्टिकल डेटाइम रनिंग लाइटले कारको सौन्दर्यलाई अझ बढाएको छ । ‘यसको स्टेरिंगमा नयाँ सेरेस लेखिएको जसले सेरेस ३ को इन्टेरियरलाई राम्रो बनाएको छ । क्याबिनमा प्रयोग भएको लक्जरियस डबल कुशन सिट, पर्याप्त लेग रुम र १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमले यात्रालाई अझ बढी शानदार र विलासिता दिनेछ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पर्फमेन्स र सुविधिमा पनि सेरेस ३ निकै अगाडि छ । यसमा कम्फर्ट, स्पोर्ट र इको ड्राइभ मोडहरु छन् जसको मद्दतले चालकले आफ्नो ड्राइभिंग मोडअनुसार गाडि चलाउन सक्ने कम्पनीको दाबी छ । एड्भान्स्ड एडास फिचर, अफलाइन जीपीएस नेभिगेसन र युरोपेली मापदण्डको सेग्मेन्ट फस्र्ट ड्यास क्यामले सजिएको सेरेस ३ मा प्रविधि र सुरक्षाको उत्तम सम्मीश्रण रहेको छ । यसमा ६ वे इलेक्ट्रिकल्ली एड्जस्टेबल सिट छ जसले यात्रालाई आरामदायी बनाउँछ । साथै यसमा फराकिलो सनरुफ र ६ वटा एअरब्याग रहेको छ । अटो होल्ड, इबीडी, टीपीएमएस र इएसपीसहितको व्यापक सुरक्षा व्यवस्था गरिएको सेरेस ३ मा तपाईं निश्चिन्त यात्रा गर्न सक्ने कम्पनीको भनाई छ । सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य क्रमसः ४९ लाख ९९ हजार रुपैयाँ र ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ । पर्फमेन्स, लक्जरी र प्रयाक्टिकेलिटीको अतुलनीय संयोजनले नेपाली ग्राहकलाई आकर्षित गर्ने विश्वास एमएडब्लु वृद्धिले लिएको छ ।

मिस युनिभर्स नेपालको आधिकारिक टु व्हीलर प्रायोजकमा ‘टिभिएस् एन्टर्क’

काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु व्हीलर प्रायोजकको रुपमा टिभिएस एन्टर्क भित्रिएको छ । यस वर्षको मिस युनिभर्स नेपालको आवेदन खुल्ला भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोश्रो हप्तातिर हुने भएको छ । मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो । नेपालमा २०२० देखि शुरु भएको हो । यो वर्ष मिस युनिभर्स नेपालको आयोजना ग्लोबल ग्लामर भेन्चरले गर्दैछ भने प्रर्तिस्पर्धीहरुलाई प्रशिक्षण प्रदान गर्न अन्तर्राष्ट्रिय इमेज कन्सल्टेन्ट एवम् पेजेण्ट कोच एलेक्जेन्डर गोन्जालेज लगायत अनुभवी व्यक्तिहरु नेपाल आउने कार्यक्रम रहेको छ । पछिल्ला दुई वर्षहरूमा जस्तै मिस युनिभर्स नेपाल २०२२ मा उचाइ र तौलको मापदण्ड हुने छैन, समलैङ्गिक महिलाहरूले समेत सहभागिता जनाउन पाउनेछन् र देश बाहिर रहेका अन्य नेपाली युवतीहरूको निम्ति पनि आवेदन खुल्ला राखिएको छ ।