सरकारले राजदूत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ : सांसद साउद

<p>काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद साउदले नेपालले आफ्नो कूटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशाली ११ राष्ट्रमा रहेका राजदूतहरू फिर्ता बोलाएको बताए । उनले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद साउदले नेपालले आफ्नो कूटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशाली ११ राष्ट्रमा रहेका राजदूतहरू फिर्ता बोलाएको बताए ।

उनले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कूटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको बताए । उनले सत्ता गठबन्धनका बिचमा भागबन्डा गरेर राजदूत नियुक्त गर्दा केहीले पद अस्वीकार गरेको र केहीले राजदूत नियुक्तिका लागि विज्ञापन गर्नुले देशको प्रतिष्ठामाथि आँच पुगेको बताए । उनले नेपालको कूटनीतिक क्षमता र विश्वसनीयतासित नखेल्न सरकारसँग आग्रह पनि गरे ।

उनले भने, ‘सत्ता गठबन्धनका दलहरूले भागबन्डा गरेर राजदूत नियुक्ति गर्ने काम गरेका छन्, केही नियुक्त भएका मान्छेहरूको कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कुरा पनि सार्वजनिक डोमेनमा चर्चा चलिरहेको छ, केही राजनीतिक दलहरूले सरकारले नियुक्त गर्नुपर्ने यस्तो गम्भीर विषयलाई एनजिओमा मान्छे छनौटको विषयवस्तु जस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रूपमा राजदूत चयन गर्दै छन्, यसले नेपालको कूटनैतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ, त्यसकारण सरकारले आफ्नो निर्णयलाई सच्याउनुपर्छ ।’

उनले बीआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा सरकारले गरेको पहल स्पष्ट रूपमा भन्नुपर्ने समेत बताए ।

Share News