विकासन्युज

मनसुनजन्य विपद् प्रतिकार्य : यस्तो छ सरकारको तयारी

काठमाडौं । जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ । नेपाल भूकम्पीय जोखिमका हिसाबले ११ औँ, जलउत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको अवसरबाट उत्पन्न हुने खडेरी, बाढी र पहिरोमा चौथो र हरित गृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा छ । नेपालमा बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहारिने गरेका छन् । उत्तरबाट–दक्षिणतर्फ बहने अधिकांश नदी, खोलानाला र खहरेले नेपालमा बर्षायाममा निम्त्याउने बाढी पहिरोबाट बर्सेनि ठूलो जनधनको क्षति पुर्याउँदै आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरणीय प्रभाव विश्लेषणबिना खनिएका सडक संरचनाले पनि बाढी र पहिरोको जोखिमलाई थप मलजल गरेको छ । विपद्बाट कूल गार्हस्थ्य उत्पादनमा वार्षिक तीनदेखि पाँच प्रतिशत ह्राससँगै आर्थिक नोक्सानी भइरहेको अवस्था छ । पछिल्ला १० वर्षमा मौमसजन्य विपद् ९बाढी पहिरो, भारी वर्षा र चट्याङ० बाट तीन हजार ५२ को मृत्यु, सात सय ९१ बेपत्ता तथा चार हजार एक सय ७६ जना घाइते भएका प्राधिरकणको तथ्याङ्क छ । यसअवधिमा आठ हजार चार सय ४१ विपद्का घटना भएकामा ८५ हजार छ सय ४६ परिवार प्रभावित भएका थिए । गतवर्ष सात सय ६९ विपद्का घटनाबाट ६३ जनाको मृत्यु, ६९ घाइते तथा ३० जना बेपत्ता भएका थिए । जल तथा मौसम विज्ञान विभागले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिम, बागमतीको दक्षिण पूर्वी, मधेसको मध्यभाग र कोशीको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा ३५ देखि ४५ प्रतिशतले बढी वर्षा हुने अनुमान छ । मनसुनजन्य विपद्बाट यस वर्ष करिब १८ लाख जनसङ्ख्या र चार लाख १२ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान छ । विपद्बाट करिब ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने आँकलन गरिएको छ । यस वर्ष कोशीमा चार लाख ९५ हजार तीन सय ५२, मधेसमा चार लाख २९ हजार चार सय चार, बागमतीमा एक लाख ४५ हजार आठ सय ८३, गण्डकीमा एक लाख १० हजार पाँच सय ५४, लुम्बिनीमा तीन लाख ३६ हजार पाँच सय ५८, कर्णालीमा ५० हजार चार सय ६४ र सुदूरपश्चिम प्रदेशमा दुई लाख ३३ हजार एक सय ९० नागरिक प्रभावित हुने प्राधिकरणको अनुमान छ । पहाडमा पहिरो तथा तराईमा बाढीबाट जनधनको क्षति हुनसक्ने प्राधिकरणले जनाएको छ । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका छन् । यस अवधिमा कूल एक सय ४७ विपद्का घटना भएका र ती घटनामा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको तथ्याङ्क गृह मन्त्रालयले सार्वजनिक गरेको छ । पहिरोबाट यसबीचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घरमा पूर्ण क्षति पुगेको छ । दश वटा घरमा आंशिक क्षति भएको छ । पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक नाक्सानी भएको छ । मनसुनका समयमा बाढीबाट एकजनाको मृत्यु र दुईजना घाइते भएका छन् । विपद्को पूर्वअनुमान गर्दै पूर्वतयारी तथा प्रतिकार्यका कामलाई प्रभावकारी रुपमा अघि बढाइएको प्राधिरकणले जनाएको छ । गृह मन्त्रालय, प्राधिकरण र सम्बन्धित सरोकार भएकाहरुको सहभागितामा उच्च जोखिममा रहेका स्थलका लागि ‘फ्लाइङ स्क्वार्ड’ तयारी अवस्थामा राखिएको, खोज, उद्धार र राहतका निम्ति अपुग स्रोतसाधनको व्यवस्थापनका लागि समन्वय गरिएको छ । सप्तरी, रौतहट, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका अति जोखिमयुक्त १३ स्थानीय तहका ३४ स्थानमा चेतावनीमूलक साइरन प्रणाली जडान गरिएका तथा चितवन, सिन्धुपाल्चोक, महोत्तरी, झापा, सुर्खेत, बर्दिया र सर्लाहीका १५ स्थानमा साइरन जडानको तयारी भइरहेको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए । सुरक्षा निकायले विपद्का समयमा खोज तथा उद्धारमा खटिने जनशक्तिलाई तयारी अवस्थामा राखेका छन् । यसवर्ष नेपाली सेनाले १० हजार आठ सय ४७, नेपाल प्रहरीले १० हजार पाँच सय ५८ र सशस्त्र प्रहरी बलले नौ हजार नौ सय २४ सुरक्षाकर्मीलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिका छन् । नेपाली सेनाले आफूसँग रहेका हवाई साधनलाई मनसुनजन्य विपद्को अवस्थामा यथाशीध्र परिचालन गर्न कोसी र मधेस प्रदेशका लागि पूर्वी पृतना इटहरी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको लागि पश्चिम एयर वेस सुर्खेतमा र बागमती, गण्डकी, मधेस र कोशी प्रदेशको लागि मध्य एयर बेस काठमाडौँमा एक/एकवटा हेलिकप्टर तयारी अवस्थामा राखेको छ । यसबाहेक आवश्यक परेको खण्डमा थप परिचालनका लागि सातै प्रदेशमा परिचालित हुनसक्ने गरी पाँचवटा हवाई साधन काठमाडौँमा तैनाथ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बाढी तथा पहिरोको कारण अवरुद्ध भएको राजमार्ग तत्काल खुलाउन आवश्यक बेलिब्रिज धादिङको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा एक/एक सेट राखिएका छन् । सैनिक इन्जिनियरिङ विभागबाट तुरुन्त परिचालन गर्न सक्नेगरी अपरेटरसहितको हेभी इक्युप्मेन्ट र सवारी साधन पनि तयारी हालतमा राखिएको सेनाले जनाएको छ । यसैगरी सशस्त्र प्रहरीले सबै कार्यालयमा मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपद्मा परेकाको तत्कालै उद्धारको लागि मनसुन प्रतिकार्य टोली तयारी अवस्थामा राखेको छ । विपद्मा परेका नागरिकको उद्धारका लागि ३९ जिल्लाका ५९ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा एक सय २० मोटरबोट तथा र्याफ्टबोटहरु तयारी अवस्थामा राखिएका सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए । ९१ गोताखोरलाई आवश्यक उपकरणसहित सातवटै प्रदेशमा रहेका बाहिनी मुख्यालय तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं २० विपद् उद्धार गण सिनामङ्गल, नं २४ कालिका गण कास्की र सिन्धुलीको खुर्कोट बेसमा तैनाथ गरिएका छन् । विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्तिसहित धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा गरी नौवटा विपद् व्यवस्थापन बेस स्थापना गरिएका छन् । तालिमप्राप्त जनशक्तिलाई सातैवटा प्रदेशस्थित बाहिनी मुख्यालय, उपत्यकास्थित नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणमा एक/एक प्लाटुन र गुल्म वा सोभन्दा साना युनिटमा एक सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ गरिएका उनले जानकारी दिए । विपद्पछिका खोजी तथा उद्धार र राहत वितरणका लागि नेतृत्व, समन्वय र राष्ट्रिय क्षमता वृद्धि, नागरिक— सुरक्षाकर्मीबीच समन्वय र सहकार्य, वित्तीय व्यवस्थापन, सूचना तथा सञ्चार व्यवस्थापन, विपद् व्यवस्थापनका लागि तीन तहमा समिति र संरचना गठन तथा परिचालित हुने व्यवस्था गरिएको छ । विपद्का समयमा खासगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी र स्थानी तहबाट असरदार विशेष भूमिका निर्वाह गर्दै आइरहेका छन् । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन गर्न विभिन्न संयन्त्र निर्माण गरिएका छन् । सङ्घीय सरकारका मन्त्रालय, विभाग, सुरक्षा निकायको सहभागितामा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्ट स्थापना गरिएको छ । विपद्मा प्रदेश सरकार र जिल्ला विपद् व्यवस्थापन समिति र जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह र स्थानीय विपद् व्यवस्थापन समिति क्रियाशील रहने छन् । व्यवस्थित विपद् पूर्वतयारीका लागि बहुप्रकोप पूर्वसूचना प्रणाली विकास, सञ्चार समन्वय, समुदायमा आधारित तालिम प्रशिक्षण, राम्रो र बलियो पुनःनिमाण आवश्यक हुने विपद् क्षेत्रका जानकारहरु बताउँछन् । रासस

फेसियल हाउसले पायो ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’

काठमाडौं । युनिसेक्स सैलुन फेसियल हाउसले ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४’ प्राप्त गरेको छ । उत्कृष्ट युनिसेक्स सैलुन सञ्चालन गरी यस क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै लि–डिभाइन इभेन्ट कम्पनीले फेसियल हाउसलाई सो अवार्ड प्रदान गरेको हो । लि–डिभाइनले बिहीबार काठमाडौंको लाजिम्पाटस्थित होटेल र्याडिसनमा आयोजना गरेको भव्य समारोहकाबीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, नेपाली चलचित्रका नायक भुवन केसी र भारतकी प्रख्यात अभिनेत्री एवम् राजनीतिज्ञ जया प्रदालगायतले सो अवार्ड फेसियल हाउसलाई हस्तान्तरण गरेका हुन् । जया प्रदा भारतको चलचित्र उद्योग र राजनीतिमा सफल व्यक्तिका रूपमा परिचित छिन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ व्युटिसियन सुष्मा महराको अनुपस्थितिमा सो अवार्ड फेसियल आउसका प्रबन्धक वीरेन तामाङले ग्रहण गरेका थिए । लि–डिभाइनले ‘इन्डो–नेपाल ह्वेयर कल्चर कम्स एलाइभ’ नाराका साथ ‘कल्चरल फेस्टा’ नाम दिएर छैठौँ संस्करणको इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४ आयोजना गरेको हो । कार्यक्रमलाई नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले प्रस्तुत गरेको थियो ।

८ अर्ब लागतको कर्णाली करिडोर प्रसारण लाइनको काम सुरु, तीन हजार मेगावाट विद्युत जोडिने

काठमाडौं । कर्णाली करिडोर चार सय केभी प्रसारण लाइन निर्माण सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार कैलालीको सुख्खडमा प्रसारण लाइनको शिलान्यास गरे । कर्णाली करिडोर (फुकोट-बेतन–दोदोधारा) चार सय केभी प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गरिएको हो । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीका अनुसार फुकोट-कर्णाली, बेतन-कर्णाली, तिला एक र दुईलगायतका आयोजनाबाट उत्पादित करिब तीन हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न सकिनेछ । मुलुकको विद्युत मागलाई सम्बोधन गर्ने र विद्युत् निर्यात गर्ने लक्ष्यसहित सरकारी स्वामित्वको उक्त कम्पनीबाट निर्माण हुन लागेको डबल सर्किट प्रसारण लाइन राष्ट्रिय रुपान्तरणकारी आयोजनाका रुपमा रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको ‘प्रसारण हाइवे’का रुपमा रहेको यस आयोजनाको निर्माणबाट सुदूरपश्चिमका अन्य पूरक पूर्वाधारको विकास भई समग्र देशको विद्युत् विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । कूल १२५ किलोमिटर लामो प्रसारण लाइन आयोजना कर्णाली प्रदेशको कालीकोट रेङ्गिलबाट सुरु भई अछाम, सुर्खेत हुँदै कैलालीको दोदोधारा सबस्टेशनमा जोडिनेछ । त्यहाँबाट पूर्वतर्फ बुटवल, पश्चिममा अत्तरिया एवं दैजी र दक्षिणतर्फ अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरेलीमा जोडिने छ । त्यसमा दुई सय ५६ वटा टावर रहने छन् । उक्त प्रसारण लाइन आयोजनामा दक्षिण एसियाकै लामोमध्येको करिब एक हजार तीन सय ५० मिटर लामो नदी पार गराउनुपर्ने छ । त्यसमा करिब एक सय २० मिटर अग्ला दुई वटा टावर निर्माण गर्नुपर्ने छ । आयोजना प्रबन्धक बिकेन बज्राचार्यका अनुसार प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी कलपत्रु प्रोजेक्ट इन्टरनेशनल लिमिटेडसँग गत वर्ष ठेक्का सम्झौता भएको हो । आयोजनाको कूल लागत आठ अर्ब रुपैयाँ बराबर छ । आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको प्रारम्भिक वातावरणीय अध्ययन, इञ्जिनियरिङलगायत टावर परीक्षणका काम सम्पन्न भइसकेका छन् । आयोजना निर्माण सुपरीवेक्षणका लागि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीलाई नियुक्त गरिएको छ । टावर निर्माणका लागि कालीकोट, सुर्खेत, अछाम र कैलालीमा जग्गा अधिग्रहणको काम भइरहेको आयोजना प्रबन्धक बज्राचार्यले जानकारी दिए । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली नदी बेसिनमा उत्पादन हुने विद्युत् जम्मा गरी स्वदेश तथा विदेशी बजारमा पुर्याउने लक्ष्यका साथ आयोजना सुरु गरिएको बताए । कर्णाली र सुदूरपश्चिम प्रदेशको पूर्वाधार विकासको मुख्य सम्वाहक रहेको उल्लेख गर्दै उनले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्न लागेको यो आयोजनाले ह्विलिङ चार्ज (प्रसारण शुल्क) मार्फत आफ्नो आयसमेत पहिचान गरेको उल्लेख गरे । कम्पनीको आयमा आत्मनिर्भर हुनेगरी तयार गरिएको मोडालिटीको ऊर्जामन्त्री बस्नेतले सराहना गरे । भेरी र सेती करिडोर चार सय केभी प्रसारण लाइन आयोजनासमेत निकट भविष्यमा निर्माण थालनी गर्न लागिएको जानकारी दिँदै मन्त्री बस्नेतले सकेसम्म कम वातावरणीय क्षति हुने सरकारको उद्देश्यअनुसार कार्य अगाडि बढाइने बताए । ‘सरकारले साझा प्रसारण लाइन निर्माण गर्न सहजीकरणका लागि नीतिगत सुधार गरिरहेको र प्रसारण लाइनको क्षेत्राधिकारभित्र पर्ने जग्गाहरुको क्षतिपूर्ति निर्धारण गर्दा स्थानीयलाई उत्प्रेरित गर्नेगरी निर्धारण गरिने छ’, उनले भने, ‘सामाजिक सुरक्षा र उत्तरदायित्वअन्तर्गतका कार्यक्रमसमेतले स्थानीयलाई आयोजनाको अपनत्व लिन टेवा पुर्याउने छ ।’ ऊर्जामन्त्री बस्नेतले सरकार सम्पूर्ण सहयोग गर्न सरकार तयार रहेकाले समयमा नै आयोजना निर्माण सम्पन्न गर्न राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड तथा निर्माण व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्य, मन्त्रालयका सहसचिव, कैलालीका जनप्रतिनिधिलगायत स्थानीय निकायका प्रमुख एवं प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

टेरामक्स प्रविधिले कल बाइपास गरेर वार्षिक रुपमा हुने २५ अर्ब घोटाला रोकेको छ : सांसद बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले आफूले कल बाइपास गरेर अर्बौं रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताएका हुन् । उनले टेरामक्स भिओआईपी प्रकरणलाई रोक्ने विधि भएको बताए । कल बाइपास गरेर वार्षिक रुपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको जानकारी दिए । आफूले आँट गरेर सो विधिको शुरुवात गरेको बताए । आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उचित समयमा आफूले बोल्ने जानकारी दिए । ‘नेपालमात्रै एउटा यस्तो देश हो जहाँ कल बाइपास गरेर वर्षको २५ अर्ब भन्दा बढी राजस्व घोटाला नेपालमा भएको छ, २५ अर्ब वार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायलाई ढाकछोप गर्ने, टेरामक्स नेपालमा अर्बौ रुपैयाँ राजस्व जोगाउने मन्त्र हो’, उनले भने । सांसद बस्नेतले एनसेल कालोबजारी गर्ने ठूलो संस्था भएको पनि बताए ।

गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सांसद चौधरीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले विद्यालयहरुमा गणित र विज्ञान शिक्षक पाउन छोडिसकेको बताए । उनले एसईईको नतिजामा पनि सबैभन्दा बढी गणित विषयमा विद्यार्थी अनुत्तिर्ण भएको भन्दै गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष रुपले व्यवस्था गर्नुपर्ने बताए । कक्षा १ मा भर्ना भएका ७ लाख विद्यार्थी एसईईसम्म नपुगेको अवस्था रहेको भन्दै विद्यार्थी बिचमै हराएको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने जानकारी दिए । ‘हिजोमात्रै एसईई परीक्षाको रिजेल्ट निस्कियो, ४८ प्रतिशत मात्रै विद्यार्थीहरु एसईई पास भएको छन्, ५२ प्रतिशत विद्यार्थी फेल भएका छन्, कक्षा १ मा विद्यार्थी भर्ना हुँदा ११/१२ लाख हुन्छन्, एसईईसम्म आउँदाखेरी ५ लाख हुन्छ, एक त सात लाख विद्यार्थीहरु बाटोमै हराएका हुन्छन्, अहिले आएर सबभन्दा बढी गणित विषयमा १ लाख ७७ हजार फेल भएको छ’, उनले भने । उनले प्राकृतिक विपत्तिबाट धेरै जनधनको क्षति हुन थालिसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

समय आउँछ, मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुन् । विचारमा स्पष्ट तथा प्रष्ट वक्ताका रुपमा लिइने ओली नेपालको वर्तमान समसामयिक राजनीतिका एक शीर्ष नेता पनि हुन् । शुक्रबार परेको जननेता स्वर्गीय मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीको अवसर पारेर भण्डारीको व्यक्तित्व, उनीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)को सामयिकतालगायतका विषयमा केन्द्रित रही अध्यक्ष ओलीसँग गरेको कुराकानीको सम्पादित अंश : जननेता स्व मदनकुमार भण्डारीको असाधारण व्यक्तित्वबारे यहाँले पनि विभिन्न सन्दर्भमा चर्चा गर्दै आउनुभएको छ । यहाँले मदन भण्डारीलाई आजका दिनमा कसरी सम्झनुहुन्छ ? म उहाँलाई एक असाधारण व्यक्तिकारुपमा स्मरण गर्ने गर्दछु । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमार्फत हाम्रो समाज र देशलाई अगाडि बढाउन असाधारण योगदान दिनुभएको छ । वैचारिकरुपमा सुस्पष्ट र देशको समृद्धिको बाटो देखाउने अगुवाका रुपमा मैले उहाँलाई लिन्छु । मलाई लाग्छ, मदन भण्डारी केबल पदको पगरीले नभई विचारले र कामले आफ्नो परिचयले बनाउनसक्ने क्षमता भएको एक नेता हुनुहुन्थ्यो । उहाँको प्रतिभा बहुआयामिक थियो । राजनीतिज्ञ, चिन्तक, साहित्यकार, कवि, लेखकलगायत क्षमता र प्रतिभाको सङ्गम हुनुहुन्थ्यो मदन भण्डारी । मुख्यरुपमा म उहाँलाई एक असल र साँच्चै महान् व्यक्तिका रुपमा सम्झन्छु । तर दुःखद् कुरा यो भयो कि उहाँको निधन ४१ वर्षको अल्पायुमै भयो । नेपालमा त्यति कम उमेरमा त्यस प्रकारको सफलता र लोकप्रियता पाउन अरु कसैले सकेको छ भन्ने मलाई लाग्दैन । खासगरी मदन भण्डारीसँग यहाँको पहिलो भेट तथा राजनीतिक सहकार्यका मुख्यमुख्य सन्दर्भहरु स्मरण गर्नुपर्दा कसरी गर्नुहुन्छ ? मेरो उहाँसँगको भेट र त्यसपछि विछोडको अवधिको कुरा गर्दा यो अवधि धेरै लामो रहन सकेन । विसं २०४४ मा म जेलबाट छुटेका बेला उहाँसँग पहिलो भेट भएको थियो । त्यसपछि संसदीय राजनीतिक मोर्चामा मैले मदन भण्डारीसँग भेटघाटको अवसर पाएँ । उहाँ पोखराको कार्यक्रममा निस्कनुअघि म सांसदहरुको टोली लिएर कैलालीको धनगढीमा अध्ययनका लागि जाने तयारीमा थिएँ । त्यस भ्रमणबारे जानकारी गराउन उहाँसँग भेट भएको थियो । कहिलेकाहीँ एउटा अवधिको छोटो भेटले पनि जिन्दगीभर ठूलो प्रभाव पार्दोरहेछ । कार्लमाक्र्स र फेडरिक एङ्गेल्स्ले करिब २६ वर्षको उमेरमा भोल्तेयर भन्ने दार्शनिकको नामको होटेलमा बसेर वैचारिक छलफल सुरु गर्दै जाँदा १० दिनसम्म छलफल गरेर समाज परिवर्तनका लागि आफूहरुका समान विचार छन् र ती महान् उद्देश्यका छन् भनेर निचोड निकाल्नुभएको थियो । र उहाँहरुले तीनै विचारमा रहेर सहकार्य गर्ने निष्कर्षसहित माक्र्सवादी दर्शन, सामाजिक र आर्थिक विकासका चिन्तनहरु अघि सार्नुभयो । त्यस्तै जननेता मदन भण्डारी र मेरो पहिलो भेटमा पनि हामी साझा विचारमा रहेर जोडिएका थियौँ । हामीबीच अलमलिएको विचार होइन, सङ्लिएको विचार थियो । उहाँ पनि विचारमा सुस्पष्ट हुनुहुन्थ्यो । त्यही विचारका साथ यात्रामा सँगै अगाडि बढ्ने कुरा भयो । उहाँको दुःखद् निधन भयो । म बाँचिरहेको छु र मैले हाम्रा साझा र महान उद्देश्यलाई अगाडि बढाइरहेको छु । उहाँका स्पष्ट विचारलाई हामीले अघि बढाइरहेका छौँ । जनताको बहुदलीय जनवाद त्यस समय मदन भण्डारीले अघि सार्नुभएको समयसापेक्ष र नेपाल सुहाउँदो सिद्धान्त थियो, त्यस समय त्यो सिद्धान्त उहाँले किन प्रतिपादन गर्नुभयो होला ? अहिले पनि नेपालका सबै कम्युनिष्टलाई यो जबजको छाताभित्र गोलबन्द गर्न सकिँदैन ? मदन भण्डारीले धेरै अध्ययन, शोध, खोज र चिन्तन मनन गरी जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नुभएको हो । जबजको आवश्यकता र सान्दर्भिकता थियो त्यतिबेला र उहाँले यसको विश्लेषण, संश्लेशण गरेर ल्याउनुभएको थियो । त्यसैले जबजको ध्येय नै जनताको मन जितेर कम्युनिष्ट शक्तिलाई राज्य सञ्चालनको शक्तिमा लाने र जनताका आकाङ्क्षा पूरा गर्ने भन्ने हो । यहाँले भन्नुभए जस्तै यो जबजभित्रै सबै अटाउँछन् । त्यसमा एमाले सुस्पष्ट छ नै । यही विचार मान्ने हो भने यहाँ साना र टुक्रे कम्युनिष्ट नामका कुनै पनि पार्टीको केही आवश्यकता पनि छैन । अहिलेको स्थितिमा एमालेसँग समाजको परिवर्तन र आर्थिक सामाजिक हिसाबले मुलुकलाई कसरी अगाडि बढाउने भन्ने स्पष्ट दृष्टिकोण, योजना र लक्ष्यहरु छन् । मैले यहाँका अरु कसैसँग त्यस्तो सोच पाएको, देखेको पनि छैन । आफ्नो कृत्रिम अस्तित्व राख्नका लागि विचार वा पार्टीगत विवादका नाममा फरकफरक झुण्ड बनाइएका छन्, जुन यहाँहरुले पनि देखिनै रहनुभएको छ । ती केबल आफ्ना स्वार्थहरुको तुष्टिका लागि अलगअलग भएका हुन् । स्वच्छ प्रतिस्पर्धा र क्षमता विकासबाट आफ्नो श्रेष्ठता हासिल गरेर देशलाई अगाडि बढाउने सोच बोक्ने सामथ्र्य तिनमा छैन भन्नेमा म स्पष्ट छु । दणिणपन्थी सेवामा खुसी हुने कतिपय कम्युनिष्ट नामका समूहले अधिवेशन, महाधिवेशन गर्दै गरेको र त्यहाँभित्र फलानो तिलानो नेताबीच नेतृत्वमा प्रतिस्पर्धा भएको आदि जस्ता भन्ने गरेको अहिले सुनिएको पनि छ । जबकी ती समूह राष्ट्रिय दल नै हुन सकेका छैनन्, त्यहाँ कोही नेतृत्वमा आएर वा नआएर देशलाई के हुन्छ रु केही फरक पर्दैन रु त्यो त हावामा कुस्ती खेलेको जस्तो मात्रै हो भन्ने मलाई लाग्छ । म फेरि पनि भन्छु, जबज देश बनाउने वैचारिक र व्यावहारिक बाटो हो । मदन भण्डारीले कसैप्रति आग्रह राखेर यो विचार ल्याउनुभएको थिएन । त्यसबेला पनि राजनीतिकरुपमा कम्युनिष्ट आन्दोलनका नाममा जे–जस्ता नक्कलवादी सोचहरु पैदा भएका थिए, ती सोचहरुलाई अस्वीकार गर्दै भण्डारीले सिद्धान्त रट्ने र जप्ने चिज होइन, जीवन र परिवर्तनका लागि सिद्धान्तको प्रयोग हुनुपर्छ भन्ने सोच राखेर नै यो सिद्धान्तलाई अघि सार्नुभएको हो । उहाँले जडसूत्रमा कहिल्यै विश्वास गर्नुभएन । सिद्धान्तले राम्रो व्यवहारका लागि काम गर्नुपर्छ भन्ने सोचका साथ तत्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिलाई ध्यानमा राखेर बहुदलीय प्रणालीलाई स्थापित गर्न जबज ल्याइएको हो । खासगरी २०४६ सालको जनआन्दोलनको सफतालपछि नेपाली जनताका आकाङ्क्षाहरु समाज र लोकतान्त्रिक अभ्यासमा दत्तचित्त भएर अगाडि बढ्न सकोस्, शान्ति र न्यायको पालना होस् भन्नका लागि जबज ल्याइएको थियो । अहिले पनि नेपाली समाजमा असमानता र विभेदहरु छन् । अराजकता छँदैछ । जनआन्दोलन जनअधिकारका लागि भएको थियो । मानवअधिकार, शान्ति, सुरक्षा र सम्मानका साथ सुविधायुक्त जीवन बाँच्न पाउने अधिकारका लागि हामीले काम गरिरहेका छौँ । यी कुरा संविधानमा लेखिएकाले मौलिक हक भएका होइनन् कि मौलिक हक भएकाले हामीले मानवअधिकार, शान्ति र सुरक्षाका कुरा संविधनमा मौलिक हकका रुपमा व्यवस्था गरेका हौँ । मुलुकमा सुशासन होस्, पारदर्शीता होस्, मर्यादाको पालना होस् भन्ने हाम्रो चाहना हो । अहिले त्यस्तो हुन सकिरहेको छैन । समाजमा अहिले मर्यादा र यसको पालनाको अवस्था दिनप्रतिदित खस्कँदै गएको छ । अहिलेको जस्तो मर्यादाहीन स्थिति मलाई लाग्छ यसअघि नेपालको इतिहासमै थिएन । राज्यको एक अङ्गका रुपमा रहेर, राज्यको मानो खाएर समाजलाई पथभ्रष्ट बनाउने काम अहिले देशमा भइरहेको छ् । संसद्मा कस्ता छलफल हुने गरेका छन् रु यो यहाँहरुले, सबै देशवासीले देख्नुभएकै छ । पञ्चायतकालमा त मानवअधिकार नै थिएन र हामीले निष्कर्ष निकालेका थियौँ कि त्यो अन्धकारको समय थियो । त्यही अवस्थाको अन्त्य र नेपाली नागरिकको भविष्य सुनिश्चित गर्नकै लागि तथा त्यस्तो नराम्रा कुराहरु इतिहासमा नरहुन् भनेर नै जबज ल्याइएको हो । र, यो जबजको विचार कुनै ऋषिमुनिले ध्यानागत भएर प्राप्त गरेको विचार होइन । मदन भण्डारीको नेतृत्वमा समाज परिवर्तनका क्रममा सामूहिक प्रयत्नका माध्यमबाट व्यवहारसँग जोडिएको चिन्तनको विश्लेषण र संश्लेषण गरेर मात्र यो ल्याइएको हो । त्यसैले कम्युनिष्ट पार्टीहरुको एकताको कुरा यहाँले जुन गर्नुभयो, त्यसोभन्दा पनि जबजको मान्यताभित्र सबै एकत्रीत हुँदा मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा हुन सक्छ । अहिले त कम्युनिष्ट पार्टीका नाममा दक्षिणपन्थी र प्रतिक्रियावादीका मतियारहरु, राष्ट्रियहित विरोधीहरु पनि देखिएका छन् । उनीहरु सकेसम्म एमालेलाई बिगार्न, भत्काउन चाहन्छन् । तर सक्दैनन् । केही नसकेपछि तिनले धारेहात लगाएर एमालेलाई सत्तोसराप मात्र पनि गर्ने गरेका छन् । तिनको उद्देश्य एमाले सिध्याउने मात्रै छ । तिनका चिन्ताको विषय, एमालेको देशभक्तिको आन्दोलन र समृद्धिको चिन्तनलाई हुर्कन दिनु हुँदैन भन्ने नै छ । त्यसकारण त्यस्ता समूहहरु एमालेमा नआएर बाहिरै बसेको राम्रो हो । साँच्चिकै कम्युनिष्ट शक्ति भए एमालेजस्तै जबजभित्र रहिहाल्छ । अरु कुनै पनि नक्कलवादीहरुको चिन्ता लिने कुरा छैन । यहाँले इङ्गीत गर्न खोज्नुभएका त्यस्ता समूहरुहरुले पनि त जबजको विचार बोकेका छौँ भन्छन् नी ? त्यो नक्कली कुरा हो । पहिले त उनीहरुले एमालेमै बसेर पार्टी, यसको नीति, उद्देश्य र नेतृत्वका विरुद्ध लड्नुपर्छ भन्ने सोच राखे । एमाले एकताबद्ध हुँदा उनीहरुलाई चिन्ता हुन्छ रे । उनीहरुले पार्टीमा आलोचना नभएका, विरोधको चेत नभएकाहरु दास र झोले हुन् भनेर हौवा पिटाउन पनि छोडेनन् । कार्यकर्ता स्वतन्त्र हुनुपर्छ र पार्टीको निर्णय नभई आफ्नाआफ्ना निर्णयमा चल्नुपर्छ भन्ने सोच बोक्नेहरु पार्टीका पक्षधरहरु हुन सक्दैनन् । उनीहरुको विरोधको चेत भनेको एमालेलाई सिध्याउनुपर्छ भन्ने मात्र देखिन्छ । त्यसकारण तिनीहरुले जबजको सक्कली विचार बोकिरहेका छैनन् र बोक्न पनि सक्दैनन् । आफ्नो नीहित स्वार्थका लागि बोके झैँ गरेका मात्रै हुन् । उनीहरु सही अर्थमा जबजका पक्षपाती हुन् भने एमालेको नीति र नेतृत्वका पक्षमा रहन सक्थे । पञ्चायत ढलेको र राजतन्त्र ढलेको यतिका वर्षपछि पनि अहिले पनि २० दशमलव २६ प्रतिशत नेपाली जनता गरिबीको रेखामुनि छन् । एमालेले गरिबी हटाउनुपर्छ र देश बनाउनुपर्छ भन्दा उनीहरु एमालेको नीति र नेतृत्वको अलोचना गर्नुपर्छ भनेर आए । उनीहरुसँग परिवर्तनको सोच र देश विकासको गति पनि छैन भन्छु म । जबजको मार्गदर्शनमा रहेर नयाँ नेपाल बनाउने मदन–आश्रितका सपना पूरा गर्ने सङ्कल्प यहाँहरुको देखिन्छ । यहाँले ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा’लाई जबजको लोकानुवाद हो पनि भन्ने गर्नुभएको छ । समयको विकाससँगै जबजको संशोधन वा परिवर्तन आवश्यक छ भन्ने पनि यदाकदा उठ्ने गर्छ । तर यहाँले भने यसमा केही परिवर्तन आवश्यक छैन भन्नुहुन्छ, किन ? संसारमा परिवर्तन हुने कुराहरुमा मात्र परिवर्तन हुने हो । भूगर्भविद्हरुले भन्छन्, प्रसान्त महासागरमा रहेको प्लेट सर्दैसर्दै आएर तिब्बती प्लेटसम्म जोडिएर आयो । हजारौँ वर्षमा कुनै समुद्र पहाडमा र कुनै पहाड समुद्रमा परिणत पनि भएका कुरा विज्ञहरुले गर्ने गर्छन् ।  अर्बौं वर्षमा हजारौँ सूर्यहरु आउने र विलय हुनेक्रम पनि चलिरहेकै छ । तर विचारमा त्यस्तो हुँदैन । यसरी आउने मिसिने या विलय हुने आदिजस्ता कुरा कुनै पनि विचारका क्षेत्रमा लागू हुँदैन । जस्तो कि बुद्धले शान्तिको विचार दिए । त्यस समय संसारलाई त्यही आवश्यक थियो र त उनले त्यो विचार दिएका थिए । अहिले त्यसलाई संशोधन गरेर शान्तिको सन्देश आवश्यक छैन, अब यसमा हिंसाको सन्देश राख्नुपर्छ भन्नेर हुन्छ र रु अनि उनले त्यस समयका लागि अत्यावश्यक ठानेर ल्याएको त्यो विचार नै अहिले आवश्यक रहेन त्यसमा संशोधन गरौँ, अब हिंसाको या अर्को कुनै पनि विषयको कुरा राखौँ भनेर कसैले भन्छ भने त्यो सान्दर्भिक भयो र रु अनि त्यस्तो विचार राख्नु जडसूत्रवादी हुन जान्छ भन्ने रु बुद्धका समयमा उनले समयको आवाज र मागलाई सुनेर शान्तिका लागि काम गरौँ भन्ने सन्देश दिए । उनको मृत्युपछि शिष्यहरुले शान्तिका विचारलाई अध्ययन गरे र त्यो सन्देश लिएर समाजमा हिँडे । आज पनि शान्ति आवश्यक छ, त्यसकारण बुद्धवादको सान्दर्भिकता छ । भोलि शान्तिका पक्षमा हरेक व्यक्ति पुगेमा शान्ति शान्ति भनिरहन आवश्यक पर्दैन । विश्वमा ठूलाठूला हतियारहरु पनि निर्माण भइरहेका छन्, ती साधन मान्छे मार्न उत्पादन भएका हुन् । पृथ्वी वा वातावरणलाई ध्वस्त पार्न निर्माण गरिएका हुन् । त्यसकारण २६ सय वर्षपछि पनि बुद्धका विचार आवश्यक छ भन्ने देखियो नी त । यसरी हेर्दा नेपाली समाजको शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट समृद्धि हासिल गर्ने काम सकेपछि जबजको औचित्य आफैँ सकिन्छ । अहिले त्यो काम पूरा नभएकाले जबजको औचित्य अझ बढी आवश्यक रहेको छ । जुन सिद्धान्तले जे उद्देश्य राखेर आएको छ, त्यसको औचित्य नै पूरा भएको छैन, काम नै सकिएको छैन भने अहिले संशोधनको औचित्यहीन बहस किन चलाउने रु यस्तो कुरा किन गर्ने रु जस्तो कि रोपाइँ सकिएपछि खेतबाट रोपाहार र बाउसेहरु बाहिर निस्कन्छन् । हातगोडा धुन्छन्, हिलो झार्छन् र आफ्नो बाटो लाग्छन् । उनीहरुलाई दिनदिनै यो कुरा सिकाइरहनुपर्छ र रु पर्दैन नी । हरेक दिन आफ्नो काम सकिएपछि के गर्ने भन्ने उनीहरुले आफैँ बुझेका हुन्छन् । त्यस्तै कुनै पनि विचारले लिएको उद्देश्य र यसको सान्दर्भिकता सकिएपछि पनि त्यो विचार स्वतः सकिन्छ । यहाँ कोही विद्वान पल्टिएर जबजमा मैले यो थपेँ, त्यो संशोधन गरेँ या गर्न लगाएँ भन्ने गरेको पनि म सुन्छु । त्यो बेकारको कुरा हो । हामीले जबजलाई जनभाष्यमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ मा रुपान्तरण गरेका छौँ, त्यो पूरा नभएसम्म जबजको औचित्य रहिरहन्छ । आजका दिनमा यसको औचित्य अझ बढी छ भन्ने मेरो निष्कर्ष हो । मदन–आश्रितको दासढुङ्गा दुर्घटनामा भएको मृत्युलाई एमालेले सुरुदेखि नै हत्या हो भन्दै आएको छ । एमाले पनि पटकपटक सरकारको नेतृत्वमा पुग्यो तर त्यसको अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन सकेन भनेर मानिसहरु प्रश्न गर्ने गर्छन् नी ? जब सत्ता र शक्ति बाधक हुन्छ, कुनै कुनै सत्य प्रकट हुनबाट रोकिन्छ । नेपालमा दुई ठूला घटना मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता लागेका छैनन् । दरबार हत्याकाण्डमा पनि तत्कालीन युवराज दीपेन्द्रको देवयानी भन्ने युवतीसँग प्रेम थियो र त्यो प्रेम सफल हुन मातापिता अर्थात् तत्कालीन राजा र रानीले दिएका थिएनन्, त्यसकारणले उनले परिवारै सखाप पारे भन्ने खालको कथा घटना भएकै राति विश्वव्यापी बनाइयो । मानौँ कि त्यही प्रेम कहानीका कारण सारा दरबार दीपेन्द्रले नै सखाप पारे । हामीलाई अथवा कुनै नेपाली नागरिकलाई ती पात्रका बारेमा पहिला केही थाहा पनि थिएन । अकस्मात् ती पात्र खडा गरियो र यसैसँग त्यो हत्याकाण्डलाई जोडियो । यसरी जोडियो कि हामीलाई केही थाहा नभएको कुरा एकैपटक विश्वव्यापी बनाइयो । यो स्पष्टै बुझ्न सकिन्छ कि यथार्थलाई छोप्नका लागि शक्तिमा रहेकाहरुले त्यो कथा बाहिर ल्याएका थिए । यसको रहस्य पनि खुल्छ कुनै दिन । दासढुङ्गा दुर्घटना पनि त्यस्तै रहस्यकै गर्भमा छ भन्ने लाग्छ । तत्कालीन सरकारले दुर्घटना हो भन्यो, छानबिन आयोगसमेत गठन गर्न मानेन । छानबिनको माग राखी आन्दोलन गर्ने क्रममा कम्तीमा २२ जनाको ज्यान नै गयो । हामीले तत्कालै छानबिन आयोगको माग गर्यौँ । अहिले कस्ताकस्ता कुरामा पनि छानबिन आयोग या समिति गठन गर्ने गरिएको छ, यहाँहरुले पनि देख्नुभएकै छ । तर त्यस्तो घटनामा छानबिनका लागि समिति गठन भएन । दासढुङ्गा घटनामा गाडी नदीमा पुग्छ, नेताहरु डुब्छन् तर चालक सकुसल बाँचेको हुन्छ । पछि त्यही चालक चितवन पुगेर आत्मसमर्पण गरेको हुन्छ । यस प्रसङ्गमा विभिन्न विद्रोहका घटनामा जोडिएका नेपाली कांग्रेसका उमेश गिरीले पनि अहिले उक्त दासढुङ्गा घटनामा सम्बन्धमा अभिव्यक्ति दिएका छन्, त्यसलाई पनि हेर्नुपर्ने र मनन् गर्नुपर्ने अवस्था छ । हामीले अनेक बाधा र व्यवधानका बीच पार्टीका तर्फबाट मेरो नेतृत्वमा छानबिन समितिको प्रतिवेदन तयार गरेर पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाललाई दिएका पनि थियौँ । त्यो प्रतिवेदन उहाँले सार्वजनिक नै गर्नुभएन । पछि मैले नै त्यो प्रतिवेदनको सार सार्वजनिक गरेको थिएँ । पार्टीले त्यसबेला प्रतिवेदन सार्वजनिक गरेन र अहिले त्यो प्रतिवेदन उपलब्ध पनि छैन । कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ । सत्यहरुलाई शक्तिले लुकाउँछन् नै । तर त्यो प्रयत्न सधैँ सफल हुँदैन । समयक्रममा सत्य त बाहिर आइहाल्छ नै । समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ । मदन–आश्रितको हत्यारा पत्ता लाग्छ । रासस

सिटिजन्स बैंकले श्री सुप समावेशी आधारभूत विद्यालयलाई दियो २० वटा फ्यान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला अत्तरियामा अवस्थित श्री सुप समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग स्वरुप उपलब्ध गराएको छ । सो विद्यालय शारीरिक रुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासिय रुपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो । दिन प्रतिदिन बढ्दै गएको गर्मीको कारण अशक्त बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा असर परेको हुँदा गर्मीको असरलाई केही हदसम्म भएपनि न्यूनिकरण गर्ने मनासायले बैंकले विद्यालयलाई फ्यान सहयोग प्रदान गरेको हो । बैंकको यस कार्यबाट विद्यार्थीहरुको दैनिक क्रियाकलाप र पठनपाठनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

बाइकको पछाडि बस्नेले मापसे गर्दा बीमा रकम नपाएपछि…

काठमाडौं । २०८० मंसिर १९ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-९ का मुकेश ऐर (नाम परिवर्तित) घुम्नका लागि ललितपुरको लाकुरी भञ्ज्याङ्ग पुगे । काठमाडौंमा अध्ययन गरिरहेका उनलाई आफन्त पर्ने प्रवेश ठगुन्ना (नाम परिवर्तित) ले घुम्न जाने प्रस्ताव गरेपछि उनीहरू मोटरसाइकलमा लाकुरी भञ्ज्याङ्ग पुगेका थिए । उनीहरू दिनभर लाकुरी भञ्ज्याङ्गमा घुमे । साँझ कोठा फर्कँदै थिए । ललितपुरको महालक्ष्मी नगरपालिको लामाटारमा मोटरसाइकल दुर्घटना भयो । मोटरसाइकल दुर्घटनामा परेपछि दुवै जनालाई प्रहरीले उद्दार गरी अस्पताल लग्यो । गम्भीर घाइते दुवैजनाको उपचारमा लाखौं रकम खर्च भयो । जगदम्बा क्रेडिट एण्ड इन्भेष्टमेन्टमा फाइनान्सिङ्ग गरेर मोटरसाइकल किनेका मुकेशले यूनाइटेड अजोड इन्योरेन्समा मोटरसाइकलको फुल (पूर्ण)बीमा गराएका थिए । दुवै जनाको उपचारमा लाखौं खर्च भएपछि मुकेशका बुबाले बीमा कम्पनीमा गएर बीमा दाबी गरे । बीमाबाट आएको रकमले केही राहत हुने अपेक्षासहित २०८० मंसिर २४ गते मुकेशका बुबाले बीमा कम्पनीमा दाबी भुक्तानीका लागि निवेदन दिए । सुरूमा चालक मुकेशको दाबी भुक्तानीका लागि मात्रै बीमा कम्पनीमा कागजहरू पेस गरेका थिए । सबै प्रक्रिया पुर्याएका मुकेशका बुवाले मोटरसाइकलको पछाडि बसेका प्रवेशको दाबी भुक्तानीका लागि कागज पेस गरेका थिएनन् । बीमा कम्पनी र बीमा सम्बन्धी जानकार व्यक्तिले बाइकको पछाडि बस्नेले समेत दाबी भुक्तानी पाउँछन् भनेर जानकारी गराएपछि प्रवेश ठगुन्नाका कागजहरूसहित दाबी भुक्तानीका लागि बीमा कम्पनीमा आवेदन दिए । मुकेशको बीमा दाबी रकम भुक्तानी गर्न कम्पनी तयार थियो । तर, जब ठगुन्नाका कागजहरू बीमा कम्पनीले प्राप्त गर्याे तब बीमा दाबी भुक्तानी दिन अस्वीकार गर्याे । बीमा कम्पनीले प्रवेश ठगुन्नाको हस्पिटल रिपोर्ट अध्ययन गर्दा मादक पदार्थ सेवन (मापसे) गरेको भेटाएपछि दाबी भुक्तानी नदिने जानकारी मुकेशका बुबालाई गरायो । तर, उनले भने चालक (मुकेश) ले मापसे नगरेकोले बीमा दाबी भुक्तानी पाउनु पर्ने अडान राखे । मोटरसाइकल चलाउने चालक र पछाडि बस्ने व्यक्तिमध्ये कुनै एक व्यक्तिले मापसे गरेको छ भने बीमा कम्पनीको दायित्व नहुने मोटरसाइकल बीमा लेखमा सर्त राखिएको विषय कम्पनीले उनलाई देखायो । मेडिकल रिपोर्टमा मोटरसाइकल चालक मुकेशले मापसे नगरेको भएपनि पछाडि बस्ने ठगुन्नाले भने मापसे गरेको देखाएको थियो । ठगुन्नाले मापसे गरेका कारण दुवै जनाले बीमा दाबी भुक्तानी रकम पाउनबाट बञ्चित भएको कम्पनी स्रोतको भनाइ छ । बीमा कम्पनीका अनुसार ग्राहकको इच्छाअनुसार सवारीको थर्डपार्टी र फूल बीमा गर्न पाउँछन् । यदि थर्ड पार्टी बीमालेख खरिद गर्याे भने दुर्घटनापश्चात् (मापसे नगरेको अवस्थामा) चालक, पछाडि बस्ने व्यक्ति र तेस्रो पक्षलाई क्षति भएको अवस्थामा सबैले बीमा दाबी भुक्तानी पाउँछन् । तर, मोटरसाइकल क्षतिको भने दाबी पाउँदैनन् । साथै फुल इन्स्योरेन्स पोलिसी खरिद गरेको छ भने दुर्घटनापश्चात् (मापसे नगरेको अवस्थामा) मोटरसाइकलसहित सबै पक्षले बीमा दाबी भुक्तानी पाउने व्यवस्था छ । तर, चालक वा पछाडि बस्ने मध्ये एक जनाले मापसे गरेको अवस्थामा दुर्घटनाबाट हुने क्षतिको भुक्तानी बीमा कम्पनीले गर्न बाध्यकारी हुँदैन । तर, तेस्रो पक्षलाई क्षति भएको अवस्थामा भने कम्पनीले भुक्तानी गर्ने गरेको कम्पनीले जानकारी दिएको छ । यस घटनामा मुकेश ऐर मोटरसाइकल चालक थिए भने प्रवेश ठगुन्ना मोटरसाइकल पछाडि बसेका थिए । चालक मुकेशले मापसे नगरेको भएपनि ठगुन्नाले मापसे गरेको कारण उनीहरूले बीमा दाबी भुक्तानी पाएनन् । मोटरसाइकल दुर्घटनामा तेस्रो पक्षलाई क्षति नभएको कारण बीमा कम्पनीले पनि दाबी भुक्तानी गर्नु पर्ने दायित्व नथपिएको कम्पनीको भनाइ छ । तर, मुकेशका बुबा भने यो विषयको उजुरी गर्न बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरण पुगेका छन् । उनले प्रहरीको रिपोर्टमा मापसे गरेर नभई बाइकको ब्रेक फेल भई दुर्घटना भएको हुनाले आफूले दाबी भुक्तानी पाउनु पर्ने माग गर्दै प्राधिकरण पुगेका हुन् । यस विषयमा प्राधिकरणले अध्ययन गरेपछि मात्रै मुद्दाको किनारा लाग्ने प्रतिक्रिया दिएको छ । ‘के आधारमा मापसे भनिएको हो अस्पतालसँग त्यसको प्रमाण माग्छौं, मेडिकल चेकअप भयो कि भएन ? अध्ययन गरेर निर्णय गर्छौं, प्रमाणमा मापसे गरेको छ भने दाबी पाइँदैन । तर, ल्याब टेस्ट गर्दा मापसे गरेको देखिएको छैन भने दाबी भुक्तानी पाउनुहुन्छ,’ प्राधिकरण स्रोतले भन्यो ।