विकासन्युज

संसदको काम, कारबाहीलाई पारदर्शी बनाउन सहयोग गर्छु : प्रतिनिधि सभा सचिव अधिकारी

काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भुमिका खेल्ने बताएका छन् । बुधबार सभामुख देवराज घिमिरेबाट प्रतिनिधि सभा सचिवको रुपमा शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसदको कामलाई व्यवस्थित गर्न भुमिका खेल्ने बताएका हुन् । उनले आफ्नो काम सभामुखको काममा सहयोग गर्ने भएको भन्दै सभामुखलाई सहयोग गरेर अगाडी बढ्ने बताए । उनले संसदको काम, कारबाहीलाई पारदर्शी बनाउनका लागि पनि आफ्नो सहयोग र भुमिका रहने बताए । उनले भने – ‘मेरो मुख्य भुमिका भनेको प्रतिनिधि सभाको कामलाई व्यवस्थित गर्नको लागि सघाउ पुर्याउनु हो, र सम्माननीय सभामुखज्युको काममा सहयोग गर्ने, संसदमा प्रस्तुत हुने एजेण्डाहरुको बारेमा अध्ययन गर्ने र पेश गर्ने लगायतका कामहरु पर्छन्, सभामुखलाई सहयोग गर्ने, संसदका काम, कारबाहीलाई व्यवस्थित गर्नु, पारदर्शी बनाउनको लागि मेरो सहयोग र भुमिका रहनेछ ।’   सचिव अधिकारीले बुधबार सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । उनलाई सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रतिनिधि सभा सचिवमा नियुक्त गरेका हुन् । सचिव अधिकारी कोशी प्रदेश, संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. २ स्थायी निवासी हुन् ।  

राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरुबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन् । हालैको एक अन्तर्वार्तामा अध्यक्ष ओलीले भने, ‘हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पार्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।’ मुलुकका खासखास समस्याका समयमा तिनको समाधानका लागि नेपाली कांग्रेस, एमालेसहितका ठूला दल मिलेर मुलुकको नेतृत्व गर्ने कुरामा के सोच्नुभएको छ ? भन्ने जिज्ञासामा अध्यक्ष ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि एमालेले नै प्रस्ताव गरेको स्मरण गर्दै कांग्रेस संवादमा आउँदा आफूहरू कहिल्यै पनि पछि नहटेको स्पष्ट पारे । राष्ट्रिय मुद्दामा संवाद र सहमतिको यात्राबाट एमाले पछि नहट्ने र त्यसको अगुवाइ गर्ने उल्लेख गर्दै उनले भने, ‘यस्तो अवस्थामा एमालेले विगतमा पनि अगुवाइ गरेर लोकतान्त्रिक तवरबाट मार्गप्रशस्त गरेको हो र अहिले पनि आवश्यक पर्दा त्यसबाट पछि हट्दैन ।’ ‘विनासकारी भूकम्पपछि त्यसबेला प्रतिपक्षमा रहेर पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग मिलेर पुनःनिर्माण र संविधान निर्माणमा लाग्ने प्रतिबद्धताका साथ रचनात्मक भूमिका निर्वाह गरेको कुरा पनि बिर्सन हुँदैन । हामीले विगतमा पनि मिलेरै देश र जनताका लागि काम गरेको इतिहास छ । आवश्यक परेमा सबैसँगै आउनुपर्छ । विगतमा एमाले, कांग्रेस र माओवादी केन्द्रले नै राष्ट्रका लागि सँगै काम गरेको हो’, उनले स्मरण गरे । अहिले नागरिकले मुलुकमा स्थायित्व खोजिरहेका छन् । यसका लागि नेपालको परिवर्तनका संवाहक रहेका तीन ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर सरकार निर्माण गरेर देशलाई राजनीतिक स्थायित्व दिने प्रयोजनका लागि आवश्यक संवाहकको पहल किन नगर्ने भन्ने प्रश्नमा अध्यक्ष ओलीले सो जवाफ दिए । उनले भने, ‘एमाले जनताको चाहना र राष्ट्रको आवश्यकता बुझेर काम गर्ने पार्टी हो, मुलुकको स्थायित्वका लागि परिवर्तनका संवाहकहरूको सहकार्य आवश्यक छ । यसका लागि अग्रसरता लिने पक्षमा एमाले छ ।’ संविधान साध्य होइन, साधन हो । देश र जनताको सुख र समृद्धि साधन हो भन्दै अध्यक्ष ओलीले भने, ‘हामीले तरकारी नकाटी हुँदैन, तर तरकारी काट्दा चुलेसीसँग खेलबाड गरियो भने हात काट्न सक्छ । साधनहरू चलाउँदा सावधानी अपनाउनुपर्छ । हामीबीच जति पनि असमझदारी छन्, ती हटाउने संवादबाट नै हो । संवादबाट सहमतिमा जान सकिन्छ । साझा अनुभूतिलाई अनुभवका रूपमा सहमति विकास गर्नुपर्छ । फेरि पनि संवाद आवश्यक छ । सबै कुरामा सहमति हुन्छ भन्ने होइन, आधारभूत रूपमा सहमति हुनुपर्छ । पक्ष–प्रतिपक्षको स्वच्छ प्रतिस्पर्धाको बहुदलीय प्रणाली हामीले रोजेर ल्याएको हो, यस प्रणालीलाई अस्वीकार नगरी सहमतिलाई स्वीकार गर्न सकिन्छ । त्यसकारण सहमति हुन्छ । कस्तो बेलामा प्रतिस्पर्धा र कतिबेला सहमति भन्ने हुन्छ ।’ एकप्रश्नमा उनले आफूहरूलाई सरकारमा बसेर जनतालाई कुनै पनि उपलब्धि दिन नसक्ने छुट नभएको जवाफ दिए । सरकारमा देशको विकास गर्न तथा जनतालाई सुविधा दिनका लागि जाने हो । जनतालाई सेवा सुविधा दिन हो । तर कसैकसैका लागि मात्र हुनेगरी काम गर्ने छुट हामीलाई सरकारमा बसेर हुँदैन, उनको भनाइ थियो । अध्यक्ष ओलीले भने, ‘जनताका समस्या सम्बोधन गर्न नसकेमा हामी सरकारमा बस्नुको औचित्य के हुन्छ र रु देश र जनताका समस्या सम्बोधन गर्न नसकिए कुनै पनि सरकारको अर्थ छैन ।’ अध्यक्ष ओलीले संविधानले परिकल्पना गरेको प्रणालीको विकास र कानुनी निर्माण गर्नुपर्ने अवस्थामा आफूहरूले मिलेर जाउँ भनेर कांग्रेससँग प्रस्ताव गरेको टिप्पणी गरे । यसमा कांग्रेस पनि गम्भीर हुनुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले भने– ‘लोकतन्त्रका आधारभूत प्रश्नमा हामी एक ठाउँमा छौँ र हुनुपर्छ । यो प्रणाली हामीले लडेर र रोजेर ल्याएको हो । यसलाई बलियो बनाउनुपर्छ । कार्यान्वयनका क्रममा स्थितिमा संविधान संशोधन पनि गर्नुपर्ने हुन्छ । किनभने चरम दबाबका बीच हामीले संविधान ल्याएको हो । संविधान नल्याउँदा नेपाल अराजकतामा फस्न सक्ने थियो, त्यसकारण कतिपय कमीकमजोरीका बीच हामीले संविधान ल्यायौँ । जनतालाई केन्द्रमा राखेर यसको सफल कार्यान्वयनका लागि हामीहरु संवाद र सहमतिमा लाग्नुपर्ने हुन्छ ।’ रासस

माझिदै पत्रकारिता, बढ्दै आकर्षण

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग वृद्धिसँगै पत्रकारिताको भविष्यप्रति प्रश्नहरु उठ्न थालेका छन् । पत्रकारिताप्रति युवा आकर्षण घट्दो छ भन्ने टिप्पणीहरु सुनिन्छ । तर, तथ्यहरुले पत्रकारिताको प्रभाव बढ्दै गएको देखाउँछ । स्थापित पत्रकारहरुको बुझाइमा पत्रकारिता खारिदै गएको छ, पत्रकारिताको प्रभाव बढ्दै गएको छ । पत्रकारिता पेसाले उचाई प्राप्त गर्दै गएको छ । युवा पुस्तामा पत्रकारिताको आकर्षण पनि बढ्दो छ । डिजिटल मिडियामा युवा पुस्ताको उपस्थिति राम्रो देखिन्छ । सञ्चार तथ्यांक सूचना तथा प्रसारण विभागका अनुसार नेपालमा ७ हजार ९ सय ६४ वटा पत्रपत्रिका दर्ता भएका छन् । विभागबाट ११३० रेडियो र २३० टेलिभिजनले इजाजत प्राप्त गरेका छन् । सूचना विभागका अुनसार चालु आर्थिक वर्षको असार ११ गतेसम्ममा ४ हजार ६ सय १ अनलाइन दर्ता भएका छन् । तर, विभागमा वार्षिक नवीकरण भई सञ्चालनमा रहेका अनलाइनको संंख्या १ हजार ५०० मात्र रहेको विभागका सूचना अधिकृत मिनकुमार शर्मा बताउँछन् । सञ्चार अर्थतन्त्रभित्र अर्को नियामक निकाय पनि छ, नेपाल विज्ञापन बोर्ड । बोर्डका अनुसार ८६६ वटा अर्थात् दर्ता भएका मध्ये १०.८७ प्रतिशत पत्रिका मात्र नियमित प्रकाशनमा छन् । नियमित प्रकाशित हुनेमा १८५ वटा दैनिक, ५०५ वटा साप्ताहिक र १७६ अन्य पत्रिका छन् । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंका अनुसार रेडियो ४५८ वटा नियमित सञ्चालनमा रहेका भने टेलिभिजन ८९ वटा मात्र सञ्चालनमा छन् । २ करोड ९२ लाख जनसंख्या भएको देशमा १३ हजारभन्दा बढी संख्यामा सञ्चार माध्यम दर्ता छन् भनेर धेरैले आश्चर्य व्यक्त गरेका छन् । तर, दर्ता संख्याको आधारमा विश्लेषण गर्नु गलत हुन्छ । दर्ता भएका मध्ये पत्रिका १०.८७ प्रतिशत, रेडियो ४०.५३ प्रतिशत, टेलिभिजन ३८.६९ र अनलाइन ३२.६ प्रतिशत मात्र सञ्चालनमा रहेका छन् । विभागका सूचना अधिकृत शर्माका अनुसार सूचना विभागबाट अहिलेसम्म करिब ३३ हजार ९०५ जनाले पत्रकार परिचय पत्र (प्रेस पास) लिएका छन् । यो संख्यालाई देखाएर पत्रकार धेरै भए भन्नेहरु पनि छन् । तर, विभागबाट प्रेस पास नवीकरण गर्ने पत्रकारको संख्या ८ हजार ६७१ जना छन् । यो संख्या नेपाल विद्युत प्राधिकरणमा काम गर्ने स्थायी कर्मचारीको १५ प्रतिशत कम हो । सञ्चार क्षेत्रको मुख्य आम्दानी विज्ञापन हो । नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थापाका अनुसार नेपालको विज्ञापन बजार करिब १८ अर्ब रुपैयाँको हाराहारीमा छ । डिजिटल मिडियाहरुका लागि युट्युव र फेसबुक जस्ता सोसल मिडिया प्लेटफर्महरु नयाँ आम्दानीको स्रोत पनि बन्न थालेका छन् । बढ्दो मिडिया प्रभाव समाजमा सामाजिक प्लेटफर्महरुको प्रयोग बढ्दै गर्दा सञ्चार माध्यम र पत्रकारिताको प्रभाव न्यून भएको टिप्पणी सुनिन्छ । तर, सामाजिक सञ्जालमा पढ्न पाइने र बहस चल्ने कन्टेन्टहरु मुलतः अनुभवी पत्रकारले सिर्जना गरेको कन्टेन्ट नै हुने गरेको पाइन्छ । व्यावसायिक लाभका लागि प्रचार गरिने सामाग्रीहरु सामाजिक सञ्जालमा स्वतः प्रकाशित हुने गरेको छ । गलत उद्देश्यका साथ गरिएका गतिविधिको खोजी गर्ने र सार्वजनिक रुपमा पर्दाफास गर्ने काम पत्रकारहरुले नै गर्दै आएका छन् । ललिता निवास जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी स्टेट प्रकरण, सुनकाण्ड, मिटर ब्याज, सहकारीमा आर्थिक अनियमितता लगायत ठूला आर्थिक घोटालाका विषय पत्रकारले नै खोजी गरेको र आमसञ्चार माध्यमबाट नै प्रकाशित भएको बताउँछन् कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौवान । उल्लेखित घटनालाई पहिला पत्रकारले पर्दाफास गरेको र त्यसपछि मात्र प्रहरी अनुसन्धान भएको उनको भनाइ छ । लोभलाग्दो जीवनशैली शिव गाउँले । कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान आफ्नो प्रोफेशन र करिअरबाट निकै खुशी छन् । ‘प्रोफेशन लाइफ’मा आफूले कुनै कमीको अनुभव गर्न नपरेको उनी बताउँछन् । उनको विचारलाई यस स्टोरीमा अलग्गै समेटिएको छ । विगत तीन दशक निरन्तर पत्रकारिता गर्दै आएका अनलाइन खबरका प्रधानसम्पादक तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले पनि पत्रकारिता पेसा अँगालेकोमा गर्व गर्छन् र खुशी व्यक्त गर्दछन् । ‘म पत्रकारितामा लागेर एकदमै खुशी छु । विभिन्न समस्याको सामना पनि गरेँ । तर, पछाडि फर्केर हेर्दा मलाई यो पेसाप्रति गुनासो छैन । पत्रकारको सार्वजनिक जीवन लोभलाग्दो छ,’ उनले नयाँ पुस्तालाई सुझाउँदै भने, ‘पत्रकारितामा आउने हो भने पहिलो महिनाकै काम र तलबलाई तुलना गर्नु हुँदैन । यो कहीँ न अभिव्यक्ति स्वतन्त्रताको पाटो हो । यसलाई मैले कति घण्टा काम गरेँ भने कति पैसा पाउँछु भन्ने आँखाबाट हेर्नु हुँदैन ।’ ठूला मिडियाका सम्पादकहरुको तलब सुविधाबारे समाजमा धेरैको चासो छ । तर, उनीहरुले तलब सुविधालाई निजी र गोप्य विषयको रूपमा चित्रण गरे । सञ्चार गृहहरुले पनि यसलाई गोप्य नै राखेका छन् । तर, अनौपचारिक भन्नेहरुले ठूला सञ्चार गृहका सम्पादकले मासिक ७ लाख रुपैयाँसम्म लिएको बताए । खोजपूर्ण समाचारमा दख्खल भएका सम्वादाताले समेत मासिक १ लाखभन्दा बढी तलब पाउन थालेका छन्, जुन नेपाल सरकारको मुख्य सचिव, सचिव वा विशिष्ट श्रेणीका कर्मचारीले पाउने तलब भन्दा बढी हो । पत्रकारहरुले राम्रो तलब पाउन थालेको वि.सं २०४६ सालपछि हो । कान्तिपुर टिभीका पूर्व सम्पादक प्रशान्त अर्याल भन्छन, ‘त्यतिबेला सरकारले शाखा अधिकृतलाई मासिक २,९०० रूपैयाँ पारिश्रमिक दिँदा कान्तिपुरका पत्रकारको तलब मासिक ४,६८० रूपैयाँ थियो ।’ त्यो बेलाको तुलनामा अहिले पत्रकारको तलब वृद्धि हुन नसकेको उनी बताउँछन् । गुणराज लुइँटेल नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल पत्रकारितमा पैसा भन्दा खुशी धेरै हुने बताउँछन् । ‘पत्रकारिता मोनिटरी वेज (मौद्रिक ज्याला) भन्दा रियल वेज बढी भएको पेसा हो । रियल वेजले व्यक्तिलाई खुशी दिन्छ, त्यसैले पत्रकारहरू वर्षौंसम्म आफ्नो पेसामा लागेका हुन्छन्’ उनी थप्छन्, ‘हरेक परिवर्तन र घटनालाई नजिकबाट हेर्न, साक्षी हुन पाउने पेशा पत्रकारिता, अरुमा यस्तो अवसर छैन ।’ हरेक दिन नयाँ विषय खोज्नु, नयाँ व्यक्तिसँग भेट्नु, नयाँ कुरा सिक्नु र समाचार लेख्नु पत्रकारिताको सुन्दर पाटो हो । मात्र ज्यालाको लागि काम नगरी दैनिक नयाँ सिर्जना गर्ने र समाजलाई पस्कने पेसा हो पत्रिकारिता । सिर्जनशील, जिज्ञासु, रुची र जाँगर हुनेलाई पत्रकारितमा अवसर पनि धेरै भएको र सन्तुष्टि हुने ठाउँ पनि प्रशस्त भएको प्रधान सम्पादक लुइँटेल बताउँछन् । २०४६ पछि सबैभन्दा बढी फस्टाएको क्षेत्र वि.सं २०४६ सालअघि पत्रकारिताको संस्थागत विकास भएको थिएन । गोरखापत्रलाई छोडेर हेर्ने हो भने व्यक्ति प्रकाशक पनि सम्पादक पनि हुन्थे । २०४७ पछि सरकारले पनि मिडिया फस्टाउने नीति लियो । ‘२०४७ को संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको थियो । त्यतिबेला पत्रकारितामा आकर्षण थियो । नयाँ माहोलमा पत्रकारिताभित्र अभ्यास हुन थाल्यो । हामी उत्साहित भएर लागेका थियौं,’ शिव गाउँले सम्झन्छन् । द हिमालयन टाइम्सका पूर्वसम्पादक प्रकाश रिमाल २०४६ सालपछि सबैभन्दा राम्रो विकास गरेको क्षेत्र भनेकै पत्रकारिता भएको बताउँछन् । त्यसलगत्तै आएको पुस्ताले निकै राम्रो काम गरेको, राजनीतिक प्रतिबद्धताभन्दा पनि व्यावसायिकता वृद्धिमा योगदान गरेको उनको विश्लेषण छ । ‘त्यतिबेला म राइजिङ नेपालमा थिएँ, राज्यले मिडिया चलाउनु हुँदैन भन्ने चर्चा हुन थाल्यो, अब सरकारी मिडियामा किन काम गर्ने भन्ने प्रश्न उठ्यो । पत्रकार अरुभन्दा अलि फरक र स्वतन्त्र हुनुपर्छ भन्ने बुझाइ रह्यो । मैलै राइजिङ नेपालबाट राजीनामा दिएँ,’ उनी भन्दछन्, ‘प्रगतिको आँखाबाट हेर्ने हो भने पनि तिनै पत्रकारले प्रगति गरेका छन्, जो अरु नागरिकभन्दा फरक हुन खोजे । संसारभरि नै पत्रकारिताको प्रकृति त्यस्तै हुन्छ । न्यायपूर्ण समाज हुनुपर्छ भन्ने सोच राख्ने चरित्र भएको व्यक्ति पत्रकार भएको हुन्छ । यस्ता चरित्र भएका व्यक्ति अन्य पेसामा जान सक्दैन । म आफैंले पनि पत्रकारिता त्यसरी नै सुरु गरेको हुँ ।’ प्रशान्त अर्याल २०४६ सालपछिको दुई दशकसम्म दैनिक अखबार, टेलिभिजन, रेडियो खुल्ने क्रम जारी रह्यो । बिट पत्रकारिताको पनि विकास भयो । पत्रकारहरूले बिटमा लेख्न थाले । एउटा सञ्चार गृहभित्र विभिन्न स्वरुपमा काम गर्न थालेपछि सञ्चारगृह संगठन जस्तो देखिन थाले । २०४६ पछिको करिब तीन दशक उचाई हासिल गर्दै गएको सञ्चार क्षेत्र अहिले धर्मराएको पत्रकार प्रशान्त अर्याल सुनाउँछन् । कोरोना महामारी र आर्थिक मन्दीपछि सञ्चार गृह संकटमा फसेको र पत्रकारहरुले तलब पाउन नै आन्दोलन गर्नुपर्ने अवस्था आएको उनी बताउँछन् । ‘हरेक चिजको उच्चतम वृद्धिपछि ओरालो क्रम सुरु हुन्छ । पत्रकारितामा पनि त्यही भएको हो कि भन्ने लाग्छ,’ अर्यालको अनुभूति छ । पत्रकारिताबाटै फड्को पत्रकारिता अभ्यास गर्दै अघि बढेका रामचन्द्र पौडेल देशको राष्ट्रपति भए, कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । रवी लामिछाने, रमेशनाथ पाण्डे, जेपी गुप्ता, गोकुलप्रसाद बास्कोटा लगायत धेरै जना पत्रकारितबाट उदाएर मन्त्रीसम्म भए । पत्रकारिताबाट अगाडि बढेका लक्ष्मण अर्याल सर्वोच्च अदालतमा न्यायाधीश भए । सांसद वा राज्यका कार्यकारी पदमा पुग्ने पूर्वपत्रकारहरूको सूचि बनाउने हो भने धेरै लामो हुनेछ । लामो समय पत्रकारितामा लागेका सूर्य थापा अहिले प्रतिनिधि सभाको सदस्य छन् । पत्रकारितामै करिअर बनाएकी बन्दना राणा संयुक्त राष्ट्र संघको महत्वपूर्ण जिम्मेवारीमा पुगेकी छन् । विभिन्न गैरसरकारी तथा सामाजिक संस्थाको नेतृत्व गर्ने पत्रकार थुप्रै छन् । धेरैले आकर्षकको रूपमा लिने विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक, विभिन्न मुलुकका राजदूतावास जस्ता निकायमा पत्रकारहरू पुगेका छन् । कमलप्रसाद कोइरालालगायतका कैयन पत्रकार राजदूत भए । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीजस्ता उच्च अधिकारीहरुको प्रेस सल्लाकार वा सञ्चार विज्ञ भनेर शक्तिको केन्द्रमा पुग्ने अवसर धेरै पत्रकारहरुले पाएका छन् । पूर्वपत्रकार डा. अच्युत वाग्ले हाल काठमाडौं विश्वविद्यालयका रजिस्टारको रुपमा कार्यरत छन् । पत्रकारितामा लाग्नेहरूले तत्कालका लागि मौद्रिक लाभ मात्र लिएका हुँदैनन् । पत्रकारिता कर्मसँगै पत्रकारमा सिर्जनात्मक क्षमता र बौद्धिक क्षमताको विकास भएको हुन्छ । उनीहरूले अमूल्य सामाजिक प्रतिष्ठा र प्रख्याति कमाउँदै जान्छन् । विश्वका चर्चित लेखकहरूमध्ये कयौं पत्रकारिता पृष्ठभूमिका हुन्छन् । नेपालमा पनि नारायण वाग्लेको ‘पल्पसा क्याफे’, सुधीर शर्माको ‘प्रयोगशाला’, विजय कुमार पाण्डेको ‘खुशी’ निकै चर्चित किताब हुन् । धेरै नेपाली पत्रकारले किताब लेखेर समाजमा आफ्नो उपस्थितिलाई ओजिलो बनाएका छन् । मात्र पत्रकारिता गरेर स्थापित पात्र हुन् युवराज घिमिरे, राजेन्द्र दाहाल, नारायण वाग्ले, शिव गाउँले, सुधीर शर्मा, प्रतिक प्रधान, अमित ढकाल, उमेश चौहान, विद्या चापागाईं, टीकाराम यात्री, राजेन्द्र बानियाँहरू । उनीहरुले गरेको काम, समाजमा पुर्‍याएको योगदान र उनीहरुले कमाएको ख्याति समाजका अन्य विधामा सफल र चर्चित पात्रको भन्दा कम छैन । बलियो प्रतिपक्ष युवराज घिमिरे पत्रकारिता हरेक चरण, हरेक ठाउँमा आकर्षण पेसा भएको अनुभवी पत्रकार एवं देश सञ्चार डटकमका प्रधान सम्पादक युवराज घिमिरे बताउँछन् । उनले नेपाली र विदेशी मिडियामा गरी चार दशकभन्दा बढी सयम पत्रकारितामा बिताइसके । ‘जहाँ पनि सत्ता र पदमा हुनेले पत्रकारलाई खलनायको रूपमा हेर्छन्, पत्रकारको वास्तविक काम सत्यलाई बाहिर ल्याउने हो’ उनी भन्छन्, ‘पत्रकारले जहिले पनि प्रतिपक्षको भूमिका खेल्नुपर्छ । पत्रकार भनेका कर्पोरेट अफिस र मालिकका नोकर पनि होइनन् । सरकारका मान्छेले मात्र होइन, कर्पोरेट हाउसका मान्छेले गलत गरेका छन् भने त्यसको पनि पर्दाफास गर्न सक्नुपर्छ पत्रकारले ।’ नेपालको मिडिया केही अपवादलाई छाडेर सधैंको प्रतिपक्ष रहने गरेको अनुभव सुनाउँछन् पत्रकार प्रशान्त अर्याल पनि । तर, नेपाली पत्रकारले रोल मोडेलको भूमिका खेल्न अझै नसकेको युवराज घिमिरे बताउँछन् । २०६२/६३ सालपछि पत्रकारितालाई व्यवसायको रुपमा लिन थालेको र पैसाको लागि मर्यादा विपरितको क्रियाकलाप हुन थालेकाले पत्रकारिताप्रति समाजको सम्मान खस्किएको उनको अनुभव छ । करिब २ दशक पत्रिकारिता गरेपछि बागमती प्रदेशको पेस रजिष्ट्रारको भूमिकामा छन् रेवती सापकोटा । उनको बुझाइमा पनि सत्ता र पत्रकारबीच सधैं द्वन्द्व हुन्छ । भन्छन्, ‘आफूलाई अप्ठेरो पर्दा पत्रकार चाहिन्छ भन्ने तर अरु बेला पत्रकार नजिक नआए पनि हुन्थ्यो भन्ने व्यवहार सत्तामा रहने देखाउँदै आएका छन् ।’ लिड गर्दै डिजिटल मिडिया छापा, टेलिभिजन वा रेडियोजस्ता परम्परागत सञ्चार माध्यममा हुने पत्रकारितालाई डिजिटल प्लेटफर्ममा आधारित पत्रकारिताले चुनौति दिँदै आएको छ । मानिसहरू सबै प्रकारका सूचनाहरु स्मार्ट फोनबाट लिन्छन् । बिहान पत्रिका पढ्ने, दिनभर रेडियो सुन्ने, साँझ टेलिभिजन हेर्ने सबै प्रकारका पाठक, स्रोता र दर्शकहरु स्मार्ट फोनको प्रयोगकर्ता भएका छन् । उनीहरू छिनछिनमा समाचार अपडेट लिन अभ्यस्त भएका छन् । उपभोक्ताको बदलिँदो जीवनशैली र रुचीबारे बेखवर वस्तु तथा सेवा उत्पादक अन्तिममा बन्द हुन्छन् । विद्या चापागाईं,सह-संस्थापक, हेर्ने कथा मानिसहरुको परिवर्तित जीवनशैली र रुचीप्रति युवा पुस्ता बढी जानकार देखिन्छन् । त्यसैले नयाँ पुस्ताका पत्रकारहरू डिजिटल मिडियामा अभ्यस्त छन् । विद्या चापागाईं, सञ्जय गुप्ता, टिकाराम यात्री, उमेश श्रेष्ठ लगायतका पत्रकारले समयमा नै परम्परागत मिडिया छोडेर डिजिटल मिडियामा नयाँ ट्रेनको सुरुवात गरेका छन् । त्यसो त युवराज घिमिरे, प्रतिक प्रधान, अमित ढकाल, शिव गाउँ, सुधीर शर्मा लगायत पुरानो पुस्ताका पत्रकारहरु पनि डिजिटल मिडियामा जम्दै गरेको देखिन्छ । ‘अहिलेको समय डिजिटलको हो । त्यसैले यो संक्रमणकालीन समय हो र जसले गर्दा अबको पत्रकारिता कता जाने भन्ने अनिश्चित छ’ पत्रकार प्रशान्त अर्याल भन्छन, ‘पुरानो शैलीको पत्रकारिता रहन्छ वा रहँदैन ? थाहा छैन ।’ नयाँ तरिकाबाट युवाको प्रवेश पत्रकारिताप्रति नयाँ पुस्ताको रुची कम भएको अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँले बताउँछन् । ‘५०/५५ जनाको समूहमा काम गरिरहेको छु । नेपाल पत्रकार महासंघको अध्यक्ष र खोज पत्रकार केन्द्रको सम्पादक भएर काम गर्दै गर्दाको अनुवभ पनि छ’ गाउँले भन्छन्, ‘मेरो अनुभवमा पत्रकारिताप्रति नयाँ पुस्ताको आकर्षण कम हुँदै गएको छ ।’ नेपाली सञ्चारगृह संस्थागत हुन नसक्नु र पारिश्रमिकका लागि पत्रकारहरूले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुनुले पत्रकारिताप्रति युवा पुस्ताको आकर्षण कम भएको कान्तिपुर टिभीका पूर्व सम्पादक प्रशान्त अर्याल बताउँछन् । सञ्जय गुप्ता, यूट्युवर तर, पत्रकारितामा युवाको आकर्षण कम छ भन्ने तर्कमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल सहमत छैनन् ।  ‘अहिले सबै पेसामा असन्तुष्टि छ । सरकारी जागिर खाने पनि खुशी छैनन्, बैंकमा जागिर खाने पनि सन्तुष्ट छैनन् । जुनसुकै क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव भएको सुनिन्छ । पत्रकारितमा पनि हामीले त्यही भोगिरहेका छौं,’ लुइँटेल भन्छन्, ‘पत्रकारितामा युवा पुस्ता आकर्षित भएर नै नयाँ-नयाँ अनलाइन खुलिरहेका छन् । धेरै युवाले युट्युव चलाइरहेका छन् । नयाँ पुस्ताले मिडियालाई नयाँ तरिकाले चलाइरहेका छन् । डिजिटल माध्यममा समाचार हेर्ने क्रम बढेकै छ ।’ पत्रकारिताका प्लेटफर्म विविधकरण भएका छन् । युट्युवबाटै अघि बढ्न सकिन्छ भनेर युवा पुस्ताले बाटो देखाइरहेका छन् । कान्तिपुर दैनिकका पूर्वसम्पादक सुधीर शर्मा जस्ता पत्रकार अहिले यूट्युव मार्फत पत्रकारिता अगाडि बढाउँदैछन् । ‘हिजो स्वतन्त्रताका लागि मिडियामा आउने धेरै थिए । आजको पुस्तालाई त्यो आवश्यक छैन’ लुइँटेल भन्छन्, ‘समाजले जहिले पनि नयाँ हिसाबले बाटो तय गर्छ । युवा पुस्ताले प्रविधिको प्रयोगसहित नयाँ तरिकाले पत्रकारिता गर्दैछन् । ५० को दशकमा पत्रपत्रिका मौलाएको, ६० को दशकमा रेडियो मौलाएको, ७० को दशकमा टिभी मौलाएको र ८० को दशकमा डिजिटल मिडिया मौलाएको बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा बताउँछन् । प्रविधिको विकाससँगै पाठकका रुची फेरिएका छन् । समाचारका उपभोक्ताले सुन्न, पढ्न र हेर्न चाहनेका सबै कन्टेन्ट मोबाइलमा नै चाहेका छन् । पत्रकारहरुले सोही अनुसार विषयवस्तु तयार पार्न र पस्कन सक्नुपर्छ । यसरी प्रविधिको प्रयोग गर्न र मानिसहरुको रुचिअनुसार समाचार सामाग्री बनाउन युवा पुस्ता अगाडि रहेको उनी बताउँछन् । पुरानालाई चुनौती केही वर्षअघिसम्म पत्रकारिता गर्नेले कुनै एक विधा जाने पुग्थ्यो । तर, अब समाचार लेख्ने मात्र नभई अडियो, भिडियो, फोटोग्राफी पनि जान्नुपर्ने हुन्छ । यसको अर्थ अब पत्रकार थप दक्ष र बौद्धिक हुनुपर्छ भन्ने हो । भिडियो तथा तस्बिर खिच्ने, फिचर लेख्ने, तथ्यांक प्रस्तुतिकरण तथा भाषागत रूपमा दक्ष र सक्षम हुन सकिएन भने नयाँ कुरा दिन नसकिने सम्भावना बढी हुन्छ । सुधीर शर्मा, यूट्युवर कतिपयलाई लाग्न सक्छ, पत्रकारको काम लेख्ने अथवा प्रसारण गर्ने मात्र हो । त्यति मात्रै बुझे अपुरो हुन्छ । पाठक/दर्शक/श्रोता जुन माध्यममा ‘इन्गेज’ हुन्छन्, उनीहरूलाई जसरी सहज हुन्छ त्यसरी प्रस्तुति दिनु पत्रकारको कर्तव्य हुन आउँछ । त्यस्तै विषयगत दक्षता भएका व्यक्तिसँगको सम्पर्क, प्राथमिक सूचनाको प्राप्ति नयाँ-नयाँ व्यक्तिहरूसँग कुराकानीले पनि नयाँ विचार र सोच आउँछन् । समयअनुसार क्षमता विकास गर्न नसक्ने पत्रकारहरु तलब वृद्धि भएन भनेर निराश हुँदै पेसाबाट पलायन हुने क्रम सुरु भएको छ । अर्कोतिर राम्रो क्षमता भएको पत्रकारहरु पनि उच्चस्तरको आम्दानी र सुविधा पाएर नयाँ पेसामा जाने गरेको पाइन्छ । उच्चस्तरको भाषा र सञ्चार ज्ञान भएका पत्रकारहरुले कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा ठूला कर्पोरेट हाउसमा अवसर पाउने गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीजस्ता उच्च तहका सरकारी अधिकारीहरुको प्रेस सल्लाकार वा सञ्चार विज्ञको रुपमा राजनीतिक नियुक्ति खाने, त्यसपछि पनि सरकारी नियुक्तीका लागि धाइरहने वा राजनीतिमा नै लाग्ने प्रवृति पनि पत्रकारमा देखिएको छ । पत्रकार शिव गाउँले भन्छन्, ‘पैसा र जागिरको सुरक्षालाई महत्व दिनेहरु पत्रकारितामा टिक्दैनन् । पत्रकारमा पत्रकारिताप्रतिको प्रतिबद्धता चाहिन्छ ।’ पत्रकार प्रकाश रिमाल भन्छन्, ‘हाम्रो पालामा पैसाको भन्दा पनि समाजका लागि पत्रकारिता गर्नुपर्छ भन्ने थियो । तर, दोस्रो पुस्ताले यो चाहेन । नयाँ पुस्ताले अरु पेसामा जस्तै पैसाको मात्र आकांक्षा राखेको छ । पैसा कमाउने मुल उद्देश्य भएकाहरुले पत्रकारिता गर्न सक्दैनन् ।’ नयाँ पुस्ताको चाहना र बजारको विकास अनुसार सञ्चार गृहहरुले पनि समयअनुसार सेवा सुविधा नबढाउने हो भने आदर्शको विचार बिलाएर नयाँ पुस्ताले पत्रकारिता नगर्ने निश्चित छ । विशिष्टीकृत पत्रकारिता पछिल्लो समय विशिष्टीकृत पत्रकारिता विकास भएको छ । बहुदल आउनुपूर्व विधागत पत्रकारितामा साहित्य पत्रकारिता मात्र थियो । २०४६ सालको परिवर्तनपछि सरकारले खुला आर्थिक नीति लियो । त्यसपछि क्रमशः आर्थिक पत्रकारिता सुरु भयो । २०६० को दशकपछि विधागत पत्रकारितामा आर्थिक पत्रकारिताले फड्को नै मार्यो । मदन लम्साल पछिल्लो समय विधागत पत्रकारिताको विकास हुँदै गएको आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल बताउँछन् । उनी भन्छन् ‘विधागत पत्रकारिताले पैसा पनि राम्रो कमाएका छन् । विधागत पत्रकारिताको महत्व बढ्दै गइरहेको छ ।’ बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा पनि विधागत पत्रकारितामा नै जोड दिन्छन् । भन्छन्, ‘कृषि मन्त्रालयले राजनीतिक समाचार दिने सञ्चार माध्यमलाई किन समाचार दिने ? यो कुरा बुझेर पत्रकार, सञ्चार माध्यम रुपान्तरण हुन आवश्यक छ ।’ ‘मेरा विचारमा अब ‘जनरल’ पत्रकारिता रहँदैन र आवश्यक पनि छैन । अझ सुपर विशिष्टीकरणमा जाने सम्भावना देख्छु म त । यो आवश्यकता पनि हो’ पत्रकार रिमाल भन्छन् । रिमालले भनेजस्तै आर्थिक पत्रकारिता भित्र पनि बैकिङ, बीमा, पुँजीबजार, पर्यटन पत्रकारिता र सहकारी क्षेत्रका सुपर विशिष्टीकरणमा आधारित अनलाइनहरुको उपस्थिति र प्रभावकारिता बढ्दै गएको देखिन्छ । ब्रेनमा लगानी सञ्चार क्षेत्रको गुणस्तर वृद्धिका लागि ब्रेनमा लगानी वृद्धि गर्नुपर्ने बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा बताउँछन् । ‘पत्रकारको क्षमता विकासको लागि सरकारले पनि लगानी गर्नुपर्छ । सञ्चार गृहले पनि लगानी गर्नुपर्छ’ उनी भन्छन्, ‘तर नेपालमा भने ब्रेनमा लगानी गर्न समस्या रहेछ । सरकारी निकायमा बसेर सडकमा लगानी गर्न समस्या छैन । ब्रेनमा गर्ने लगानीलाई अनेक प्रश्न सोध्ने गरिन्छ । प्रकाशक, राजनीतिकर्मीलाई ब्रेनमा लगानी गर्न लगाउन निकै गाह्रो छ ।’ कुनै बेला ट्याब्लाइड साप्ताहिकको बाढी आएजस्तै अहिले अनलाइन न्युज पोर्टलको बाढी आएको छ  । यसले नेपाली मिडिया क्षेत्रमा संख्या कि गुणस्तरीयताको आवश्यकता भन्ने प्रश्न महत्वपूर्ण रूपमा उठेको छ । समाचार लेख्न वा सम्पादन सीप भए/नभएका व्यक्ति नै पत्रकारिताबारे आफैं विश्वस्त नभई सञ्चार माध्यम चलाउने प्रवृत्ति बढेको छ । पञ्चायत कालमा जस्तै आफैं लगानीकर्ता, आफैं सम्पादक भएको अनलाइनहरुको उपस्थिति बढ्दो छ । राजनीतिकर्मी, कर्मचारीतन्त्रमा जस्तै पत्रकारितामा पनि थुप्रै समस्या भएको सञ्चार रजिष्ट्रार सापकोटा बताउँछन् । समस्या समाधानको लागि राज्यले काम गर्ने वातावरण बनाइ दिनुपर्ने र मिडिया सञ्चालक व्यावसायिक भएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ । त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्याल स्वतन्त्रताको प्रयोगसँगै आचारसंहिता भित्र बसेर, स्वनियममा बसेर पत्रकारित गर्ने हो, नैतिकतालाई नभुल्ने हो भने पत्रकारिता मर्यादित र विश्वसनीय हुने बताउँछन् । कुन्दन अर्याल कान्तिपुर सिटी कलेजको आमसञ्चार तथा पत्रकारिता विभागका संयोजक राजीव तिमल्सिना कलेजमा पत्रकारिता पढेका पत्रकारबाट जिम्मेवार पूर्ण पत्रकारिताको अपेक्षा गर्न सकिने बताउँछन् । उनको अनुभवमा पत्रकारिता पढ्ने विद्यार्थीमा उतार चढाव छ । उनले कान्तिपुर सिटी कलेजले पत्रकारिता पढाउन थालेको दुई दशक बढी भयो । आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, ‘सन् २००७ अघि पत्रकारिता पढ्नेको आकर्षण थियो । सन् २००७ देखि २०१५ सम्म त्यो आकर्षण खस्कियो । तर पुनः सन् २०१९ देखि २०२२ विद्यार्थीको आकर्षण बढ्यो । फेरी सन् २०२४ मा पत्रकारिता पढ्नेको संख्या खस्किएको छ ।’ ल्यापडग’ होइन, ‘वाचडग’ परम्परादेखि नै राज्यका तीन अंगलाई ‘वाचडग’ गर्ने काम पत्रकारिताको हो भनिन्छ । तर, के नेपाली प्रेसले अहिले पनि त्यसरी नै काम गरिरहेको छ/छैन ? प्रश्न महत्वपूर्ण हो । सन् १७८७ मा एडमण्ड बर्कले राज्यका तीन अंगपछिको चौथो महत्वपूर्ण अंग मानेको पत्रकारिताले सैद्धान्तिक आदर्श ठीक त्यसैगरी छाडेको हो भने अब त्यस्तो छुट हुनु हुँदैन । परम्परागत पत्रकारिताले कतै यस्तै त गरिरहेको छैन ? कतिपय विद्धान पत्रकारिताको आफ्नै कमजोरी पहिलो र प्रविधिलिाई सहायक चुनौती मान्छन् । म्यागसेसे पुरस्कार विजेता भारतीय पत्रकार रवीश कुमारले केही समय पहिला काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारिता ‘वाचडग’ नभएर ‘ल्यापडग’ भएको टिप्पणी गरेका थिए । पत्रकारहरु कहिले प्रधानमन्त्रीको काखमा बस्ने त कहिले प्रतिपक्षको काखमा सुत्ने र कहिले विज्ञापनदाताहरूको काखमा निदाउने अनि कहिले देशी/विदेशी दाताहरूको गोजीमा आराम गर्ने गरेको उनको टिप्पणी थियो । पत्रकारलाई ‘ल्यापडग’ हुनबाट जोगाउन ‘वाचडग’को भूमिकामा राखिरहन सिङ्गो सञ्जार जगत र राज्य चनाखो हुनुपर्छ । गज्जवको पेसा हो पत्रकारिता- उमेश चौहान, प्रधान सम्पादक-कान्तिपुर दैनिक यतिखेर युवापुस्ता व्यावसायिक, लगनशील छैन । र, उनीहरूले गरेको पत्रकारिताले प्रभाव पारेको छैन भनेर भाष्य सिर्जना भइरहेको छ । यो काम पत्रकारिताकै अग्रजले गरिरहेका छन् । पत्रकारिता वा कुनै पनि पेसा कुनै एउटा पुस्ताले सुरुवात र अन्त्य गर्न सक्दैन । एउटै पुस्ताले सुरुवात र अन्त्य गर्ने कुनै पनि पेसा हुन सक्दैन र पत्रकारिता पनि त्यस्तै हो । पत्रकारिता अत्यन्तै खराब अवस्थामा कहिल्यै पनि थिएन र आज पनि छैन । हिजो पत्रकारिताका आफ्नै चुनौती थिए, त्यसलाई अग्रज पुस्ताले सामना गर्नुपर्यो । आजका चुनौती आजका पुस्ताले सामना गर्नुपर्छ, गरिरहेको छ । हिजोको पत्रकारिता एकदमै राम्रो थियो । र, आज कमजोर भयो भन्ने हो भने हिजोको पत्रकारिताका बारेमा झनै प्रश्न उठ्न सक्छ । जसद्वारा सीप, लगनशीलता हस्तान्तरण गर्नुपर्ने हो, त्यो नभएको हो त ? म अग्रजहरूलाई दोष दिने पक्षमा छैन । किनकि आजको पत्रकारिता त्यति धेरै बिग्रेको छैन । हिजो पञ्चायत शासकका विरुद्ध पत्रकारहरू लडे । अहिले त त्यस्तो अवस्था छैन । जेल जानुपर्ने अवस्था पनि त छैन नि । हिजो पञ्चायती कालरात्रीको बेला जस्तो अहिले सुशासनको पक्षमा, लोकतन्त्र, सामाजिक न्यायको पक्षमा पत्रकार बोलिरहेका छन् । पत्रकारका अग्रज बहकिएर मूलधारको मिडिया कहाँ छ र ? भन्ने गरेको देख्छु । चुनौती पहिले पनि थिए अहिले पनि छन् । सामाजिक सञ्जालमा यिनै विषयमा बहस भइरहेको छ । फेरि समाचारको प्रभाव परेको छ्रैन भने पनि त्यसको कमजोरी पत्रकारको होइन । त्यसमा राज्यका निकायको आँखा पर्नुपर्छ । काम गर्नुपर्ने निकायले काम गरेन भने त्यो दोष त सम्बन्धित निकायको हो । गलत समाचार लेखेको हो भने कारवाही हुनुपर्छ । यसमा भुत्ते भएको हो भने पत्रकार होइन, सम्बन्धित निकाय हो । लेख्दाखेरि पहिला गज्जव हुन्थ्यो भन्ने कुरा कहिल्यै पनि होइन । त्यो हुन्थ्यो भने पञ्चायति व्यवस्था ढल्न किन ३० वर्ष लाग्नु पर्ने ? बरु पछिल्लो समयमा विधि र प्रक्रियाले पत्रकारिता सजिलो भएको छ । प्रविधिको अत्यधिक छिटो विकास भएकाले त्यस्ता प्रविधिलाई अपनाउन अहिलेका पत्रकारलाई ढिलो भइरहेको छ । बरु यी चुनौती हुन् । यतिखेर पत्रकारिताप्रति के, कसो भन्ने संशय चाहीँ बढेको छ । पत्रकारिताप्रति वितृष्णा बढेको होइन । यस्तो संशय बनाउने काम पनि अग्रज पुस्ताले नै गरिरहेको छ । एउटा समाचार लेखेकै कारण समाजमा प्रभाव पार्ने पेसा हिजो जस्तै आज पनि प्रभावकारी छ । एकपछि अर्को पुस्ताका लागि नयाँ चुनौती आउँछ नै । पुस्ता अनुसार संघर्ष हुन्छन् । समाचार कक्षको नेतृत्वमा आउने व्यक्तिले आफ्नो क्षमता छोडेर जानुपर्छ । अनि मात्र कम्युनिकेसन हुन्छ । पत्रकारितामा समस्या छन् भने त्यसलाई समाधान गर्नुपर्छ । पत्रकारिता सकियो भन्दै हिँड्ने कि त्यसलाई सुधार गर्ने, मिहिनेत गर्ने ? सीप, चेतना हस्तान्तरण गरेपछि पो समाधान हुने हो । अहिले कार्यान्वयन कम दोषारोपण बढी भयो कि जस्तो लाग्छ । कुनै पनि प्रविधि पत्रकारिताको दुष्मन हुँदैन । ती सबै सहयोगी माध्यम हुन् । त्यसैले पत्रकारिता कहिलै पनि समस्यामा पर्दैन । यो विवेकले गर्ने पेसा हो । पत्रकारिता आर्थिक समस्यामा पर्नु भनेको अर्थतन्त्र, उद्योग, व्यवसाय समस्यामा परेकाले पनि हो । पत्रकारितामा समस्या देखिएका हुन् भने अन्तर्वार्ता दिँदै हिँड्ने नभई समाधानको प्रक्रियामा सहयोग गर्नुपर्छ । अभ्यास गर्नुपर्छ, समाचार सम्पादनमा सहयोग पुर्याउनुपर्छ । आर्थिक क्षेत्रमा परेका समस्या, उद्योगमा परेका समस्याबारे चिन्ता नगर्ने, उत्पादनले बजार नपाएकोमा चिन्ता नगर्ने अनि पत्रकारिता मात्र समस्यामा पर्यो भनेर समाधान हुँदैन । अहिले साना, मझौला उद्योग समस्यामा छन् । ४५ प्रतिशत सटर बन्द छन् । त्यसैले अहिलेको समस्याको इपिसेन्टर पत्रकारिता होइन । अहिले संकट विभिन्न पेसा, व्यवसाय, उद्यमशीलतामा छन् । गाडी बिक्री नहुने, निर्माण व्यवसाय ठप्प हुने, वस्तुको माग नहुने बेला पत्रकारिता मात्र राम्रो हुन्छ भन्न सकिँदैन । यद्यपि डाक्टर, नर्सलगायत अन्य पेसाको तुलनामा पत्रकारले पाउने पारिश्रमिकलाई नराम्रो भन्न मिल्दैन । निष्ठाको कुरा गर्ने हो भने पनि अहिलेको पुस्ताको धेरै उच्च छ । इतिहासमा पत्रकारिता भन्ने पेसा कहिल्यै पनि स्वर्णयुगमा थिएन र अहिले नर्कयुगमा पुगेको पनि छैन । यो एउटा प्रगतिशील प्रक्रिया हो । पत्रकारले युट्युव वा अन्य आउटलेट चलाउनु ज्ञानलाई जीवन्त बनाउनु हो । यसलाई राम्रो अभ्यासको रूपमा लिनुपर्छ । पत्रकार निष्क्रिय हुनु हुँदैन । सक्रिय हुनु समाजप्रतिको न्याय हो । म पत्रकार भएकोले निकै खुशी छु । अरु पेशामा भएको भए सायदै हुँदैनथे । अन्य विकल्पको तुलनामा मेरा लागि पत्रकारिता राम्रो पेसा हो । आर्थिक रूपमा जीवनयापन गरेपछि पेसाप्रतिको इमान्दारिता र त्यसले पार्ने प्रभाव हो । दुःखसुख चलेपछि यो सापेक्ष कुरा हो र मूल कुरा यो पेसा, करिअर हो । र, यसले धेरै मान्छेको जीवनमा प्रभाव पारेको हुन्छ । तपाईंले लेख्ने कुराले समाजको ठूलो समुदायलाई हित गर्न सकिन्छ । पत्रकारिता बचाउने आधार नै समाचार लेखकै कारणले हो । पैसा कति आउँछ भनेर होइन । पेसा परिवर्तन गर्ने, संस्था छाड्ने भनेको मसँग अर्को काम गर्ने हुटहुटी हुन्छ र त संस्था फेरेको हुन्छु । त्यसैले नयाँ आउटलेट आउनु राम्रो हो र हरेकले आफ्नो विश्वासको परीक्षण गर्न पाउनुपर्छ । संसारभर नै पत्रकारहरू एक ठाउँ बस्दैनन् । संस्था फेरिरहन्छन् । कहिले किताब लेख्छन्, कहिले घुमफिर गर्छन् । कुनै फेन्सी स्टोरमा काम गरेको मान्छेले दुई वर्षपछि अर्को पसल खोल्यो भने प्रगति हुने तर पत्रकारले सिकेको कुरा अभ्यास गर्न खोज्यो भने त्यसलाई किन प्रगति नमान्ने ? फरक-फरक मान्छेका फरक क्षमता छन् । एउटै संस्थामा काम गरेर त्यसमै सम्पादक भएका विरलै हुन्छन् । त्यसकारण यो स्वतन्त्र पेसा हो । एउटा बैंकरले जागिर छाड्यो भने अर्को बैंक त खोल्न सक्दैन । तर, पत्रकारले स्वतन्त्र रुपमा काम गर्न सक्छन् ।

यस्तो छ केन्द्रीय समितिमा रविले पेस गर्ने नदिएको ढकालको प्रस्ताव (पूर्णपाठ )

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् । महामन्त्री ढकालले बुधबारको केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्ने सूची थियो । तर, महासचिव ढकालले आफ्नो प्रस्तावमा ‘रविको पार्टी होइन, रास्वपाको पार्टी बनाउँ’ भनेर लेखेपछि सभापति रवि लामिछानेले उक्त प्रस्ताव बैठकमा पेस गर्न रोकेका थिए । सभापति लामिछानेले प्रस्ताव पेस गर्न रोकेपछि महामन्त्री ढकाले मिडियामार्फत उक्त प्रस्ताव सार्वजनिक गरेका छन् । यस्तो छ ढकालको प्रस्ताव [pdf id=494828]

भ्रष्टाचारको फाइल खोल्न गृहमन्त्री लामिछानेलाई विश्वप्रकाशको चुनौती

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भ्रष्टाचार नियन्त्रण गर्न सबैभन्दा बलियो कानुन कांग्रेसले बनाएको भन्दै भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका छन्। बुधबार कांग्रेस बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले गृहमन्त्री लामिछानेलाई भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका हुन् । भ्रष्टाचारको फाइल खालेकै कारण सरकार परिवर्तन भएको गृहमन्त्रीको टिप्पणीको जवाफ दिँदै उनले अहिले पनि वर्तमान सरकार कायमै रहेकाले अन्य भ्रष्टाचारका फाइल खोल्न सुझाव दिए । शर्माले एमालेसँग भएको सात बुँदे सहमतिले मुलुकलाई स्थीरता र समृद्धिको बाटोतर्फ अघि बढाउने दाबी गरे । उनले संविधान संशोधनका लागि दुईतिहाई चाहिने भएकाले सबै दलहरूसँग छलफल र सहकार्य गर्ने बताए ।

मनसुनसँगै रोगहरूको उच्च जोखिम

मनसुन सुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ्, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहोरिने गरेका छन् । भूकम्पीय जोखिमका हिसाबले नेपाल ११औँ, जल उत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको असरले हुने बाढी, खडेरी र पहिरोमा चौथो र हरितगृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा पर्दछ । त्यसैमा पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरणीय प्रभाव विश्लेषणबिना खनिएका सडक संरचनाले थप मलजल गरेका छन् । विपद्बाट कुल गार्हस्थ्य उत्पादनमा वार्षिक तीनदेखि पाँच प्रतिशत ह्राससँगै आर्थिक नोक्सानी भइरहेको छ । गत वर्ष विपद्का घटना सात सय ६९ हुँदा ६३ जनाको मृत्यृ, ६९ घाइते तथा ३० बेपत्ता भएको तथ्यांक छ । यस वर्ष जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा ३५ देखि ४५ प्रतिशत बढी वर्षा हुने अनुमान गरेको छ । मनसुनजन्य विपद्बाट करिब १८ लाख जनसङ्ख्या र चार लाख १२ हजार घरधुरी प्रभावित तथा ८३ हजार घरमा क्षति पुग्ने आकलन छ । मनसुन गत जेठ २८ गते भित्रिएपछि विपद्का एक सय ४७ घटनाबाट ३३ जिल्ला प्रभावित भई २८ जनाको ज्यान गइसकेको छ । मनसुनको सुरु भएसँगै बाढी, पहिरो, डुबान र चट्याङले देशभर ठूलो क्षति पुर्याइरहेको छ । हरेक दिन मृत्यृ, घाइते र बिरामीहरूको तथ्यांक आइरहेका छन् । कोशी प्रदेशबाट सुरु भएको क्षति कर्णाली र सुदूरपश्चिम प्रदेश पुगिसकेको छ । ३३ बढी जिल्ला प्रभावित, तीसभन्दा बढीको मृत्यृ तथा हजारौँ परिवार प्रभावित र भएका छन् । सुरुमै भएको क्षतिले चुनौतीपूर्ण भविष्यको संकेत गरेको छ । विपद्ले ल्याउने स्वास्थ्य समस्या  वर्षात्को समयमा आउने बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिसँगै सबै अस्पतालका निर्देशकहरूले उपलब्ध गराएको जानकारीमा गर्मीपछि वर्षात्को समयमा सबैभन्दा बढी झाडापखाला, हैजा, डेंगु, टाइफाइड, भाइरल, जण्डिस, हेपाटाइटिस ए र ई, आउँ, निमोनिया, औलो, कालाजार, ज्वरो, स्क्रब टाइफस, रुघाखोकी, छालाको समस्या, पेटको सङ्क्रमण, जुका, आँखा पाक्ने, लेप्टोस्पाइरोसिसजस्ता बिरामी देखिने गर्दछन् । अर्थात् दूषित खाना र पानी, लामखुट्टे, झिङ्गा, किराफट्याङ्ग्रा, फोहर तथा हिलोका कारण हुने सङ्क्रमण विशेषतः बढी देखिन्छ । परेको वर्षा ट्याङ्की वरिपरि मानिस, जनावर, पक्षीको बिष्ठा, ढकन नभएको, फोहरसहितको भेल मुहानमा परी प्रदूषित पानी, सिनो मासु, खोलानालाको प्रदूषित पानी सेवनले रोग लाग्दा जण्डिसलगायतका रोगहरूबाट मानिसहरू बिरामी पर्दैछन् । गर्भवतीलाई अस्वस्थता हुँदा थप जटिलता र गर्भपतनसम्म भएको पाइन्छ । बढ्दो वर्षासँगै विभिन्न किटाणु, जीवाणु, विषाणुजन्य सरुवा र सङ्क्रमणहरू  टाइफाइड, झाडाबान्ता, भाइरल फ्लु, पेटको दुखाई, रुघाखोकी, श्वासप्रश्वास सङ्क्रमण, जण्डिस, हेपाटाइटिस ए, आँखा सुक्खा, चिलाउने तथा आँखाको सङ्क्रमण, जनावरले टोकेर हुने बिरामीहरू बढ्दै छन् । यसबाहेक तराईमा सर्पदंश, उच्च ज्वरो, छालाको रोग, बढी पसिना जाँदा शरीरमा हुने पानी अभावको कारण जल वियोजन, पिसाब र मिर्गौलामा समस्या र लु बढ्दैछ । जार तथा बोतलको पानी सेवन गर्नेमा पनि त्यत्तिकै समस्या छ । दूषित खाना, पानी, सरसफाइको अभाव, फोहर हात, भाडाकुँडा, झिङ्गा, लामखुट्टे, साङ्ला, किराफट्याङग्रा तथा  बासी, सडेगलेका फोहर खानेकुरा, फोहर बानी व्यहोरा र फोहर पानीको प्रयोग नै यस समयको रोग लाग्ने मुख्य कारण हो । यस मौसममा हुने सरुवा रोगहरू केही श्वासप्रश्वास र धेरैजसो पाचन प्रणालीसँग सम्बन्धित हुन्छन् । करिब सयभन्दा बढी भाइरस प्रमुखतया इन्फ्लुएन्जा विषाणुद्वारा हुने सङ्क्रामक रोग रुघाखोकी लागेकालाई सामान्य बिरामीको रूपमा लिइन्छ । यसमा घाँटी खस्खसाउने, श्वास फेर्न अप्ठेरो हुने, पातलो सिंगान बग्ने, ज्वरो आउनुको साथै शरीर दुख्छ । प्रत्यक्ष सम्पर्कबाट र हावाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले ज्यादा भीडभाड हुने स्थान बस, फिल्महल, विद्यालय र जात्रामा बिरामीले खोक्दा, बोल्दा, हाछ्यूँ गर्दा छिटै सर्दछ । पानीजन्य रोगहरू रोगका किटाणु पानीको मुहानमा परे सर्ने सरुवा रोगमा झाडापखाला, हैजा, रगतमासी, जुकाहरू, पोलियो, जियारडियासिस, अमिवियासिस, आउँ, टाइफाइड, जण्डिसलगायत २० वटा सरुवा रोगहरू पर्दछन् । वर्षायाममा विशेषगरी काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, पचाउन नसकिने चिल्लो खाद्य पदार्थले खाना विषाक्तता हुन्छ । बिरामीलाई बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ । त्यसैगरी झिङ्गा भन्किएको र फोहर खानेकुरा खादा भिब्रियो कोलेरा ब्याक्टेरियाले आन्द्रामा सङ्क्रमण गर्छ र तीव्र सङ्क्रमण हैजा लाग्छ । हैजा लागेपछि धेरैपटक चौलानी पानीजस्तो पातलो दिसा र बान्ता एकैपटक लागिरहन्छ । त्यसले तीव्रगतिमा जलहरण गरी बिरामी शिथिल अवस्थामा पुग्छ । पटकपटक पातलो दिसा (तीन पटकभन्दा बढी) हुनुलाई झाडा पखाला भनिन्छ । यसले शरीरमा भएको पानी र लवणको मात्रालाई तुरुन्तै कम गर्ने भएकाले शरीरमा विभिन्न किसिमका जलविनियोजनसम्बन्धी स्वास्थ्य समस्याहरू देखा पर्दछन् । बान्ता र पखालासँगै भयो भने स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ । सरसफाइको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिंगा र अन्य किराफट्याङ्ग्राको बढी प्रकोप भएको ठाउँमा बढी देखिने सङ्क्रामक रोग टाइफाइड हो । झिङ्गा, सङ्क्रमित माटो र फोहर हातले खानेकुरा बनाउँदा रोग सर्न सक्दछ । यसमा ज्वरो बेस्सरी आउँछ, पाचन प्रणालीसँग सम्बन्धित लक्षण देखिन्छ । नेपालीमा म्यादी ज्वरो भनिने रोग टाइफाइड तथा पाराटाइफाइड ब्याक्टेरिया जीवाणुबाट लाग्छ । बिरामीको दिसापिसाबबाट दूषित हुन गएको पिउने पानी तथा खानाबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । टाइफाइडमा सुरुमा रोग रुघाखोकी जिउ तथा टाउको दुख्ने लक्षणबाट सुरु हुन्छ । त्यसपछि विस्तारै टाउकोको अगाडिको भाग दुख्ने, ज्वरो आउने आदि हुन्छ । ज्वरो बेलुकीपख बढ्छ र हरेक दिन केही ज्वरो बढ्दै जान्छ । बिरामीको ज्वरो कुनै बेला घट्ने र कुनै बेला बढ्ने पनि हुन सक्छ तर साधारण अवस्थामा आउँदैन । बिरामीलाई भोक नलाग्ने र विस्तारै सिकिस्त हुँदै जान्छ । ज्वरो बढ्नुको अनुपातमा नाडीको गति कम हुनु, कहिलेकाहीँ बान्ता आउनु, काँचो केराउको झोल जस्तो पखाला लाग्नु वा दिसा कब्जियत हुनु आदि पनि हुन्छ । यस्ता लक्षणहरू एक हप्तासम्म देखा पर्दछन् । दोस्रो हप्तामा ज्वरो बढी आउने र नाडीको गति अझ कम पनि हुनसक्छ । शरीरको प्रायः सबै भागमा र मुख्यगरी पेटमा गुलाबी दाना आउने, शरीर कम्पन हुने र बिरामी बेहोस पनि हुनसक्छ । कलेजो र फियो सुन्निन सक्छ । वर्षायाममा पानीकै कारणले मात्र लाग्ने हेपाटाइटिस ‘ए’ भाइरसद्वारा सङ्क्रमित भई ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, थकान महसुस हुनेजस्ता लक्षण देखा पर्न सक्छ । एकपटक हेपाटाइटिस ‘ए’को उपचार गरेपछि पुनः देखा पर्दैन । हिजोआज पहिले गर्भवती महिलामा मात्र बढी देखिने हेपाटाइटिस ‘ई’ पुरुषमा पनि बढ्दो छ । यसमा बिरामीको कलेजो सुनिन्छ । उपरोक्त दुवै हेपाटाइटिस दूषित पानी र खानाबाट सर्दछ । काँचो फलफूल र मासुबाट सर्ने विभिन्न किसिमका जुका पनि यो समयमा देखिन्छ । लामखुट्टेजन्य रोगहरू  वर्षायाममा लामखुट्टे लाग्दा र टोक्दा उच्च र तीब्र ज्वरो हुने डेंगु, औलो, फिलेरिया, इन्सेफलाइटिस, मेनिन्जाइटिस हुने सम्भावना रहन्छ । त्यसैगरी सैण्डफलाइले बिरामीको छाला कालो हुने, कलेजो सुन्निने, कालाजर लगाउँछ । लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनु हुँदैन जसका लागि लामखुट्टेको टोकाइबाट मानिस जोगिनु पर्दछ । वर्षायाममा सर्पदंशको समस्या पनि निकै हुने गर्दछ । सर्पले टोकेको ठाउँमा दुई दाँतको गहिरो निसान देखिन्छ । केही क्षणमै उक्त ठाउँमा फोका उठ्न थाल्दछ, दुख्छ र सुनिन्छ । रगत अलिक लामो समयसम्म आइरहन्छ । पीडितलाई वाकवाकी लाग्छ, मुखबाट र्याल निक्लन्छ, डर त्रासले उत्तेजित हुन्छ, ओंठ र मुख सुख्छ, तिर्खा लाग्छ, मुटुको धड्कन बढछ भने आँखी भौं, परेला तल झर्छ । खान निल्न पनि समस्या हुन्छ । बोल्दा जिब्रो लर्बराउने, हिड्दा खुट्टा लडखडाउने र समय बित्दै जाँदा आँखाले एउटा वस्तुको दुई छाया देख्ने, आँखा खोल्न गाह्रो हुने गर्दछ । विरामीलाई श्वास लिन समस्या हुन्छ भने पक्षघात देखिने र तीनदेखि छ घण्टापछि पिसाव रातो भएर आउँछ । विषालु सर्पले टोकेपछि मानिसको श्वासप्रश्वासमा अवरोध भई, मांसपेशीमा पक्षघात भई, रक्तचाप ज्यादै न्यून भई अचेत हुन जान्छ र मृत्यु हुन्छ । तर व्यवहारमा ६० प्रतिशत जति सर्पदंशमा या त सर्प विषालु हुँदैन या विष टोकेको स्थानमा नपर्ने तथा परे पनि कम भएको पाइने गरेको छ । मानिस जति आतिन्छ, त्यति रक्तसञ्चार बढ्छ र विष छिटो शरीरमा फैलिन्छ । विषविहीन सर्पले टोक्दा पनि मानिस आत्तिने गर्दा ह्दयाघात, छिटोछिटो सास फेर्ने, टोकेको ठाउँमा घोचेजस्तो हुने, टोकेको ठाउँ वरपर सुन्निने, रक्तश्राव, निलो, फोका उठ्ने, सङ्क्रमण तथा नेक्रोसिस, कुहिने, हातखुट्टा बाउडिने वा नचल्ने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन् । टोकेको ठाउँदेखि शरीरमा विष फैलन नदिन सर्पले टोकेको खुट्टा वा हात चल्न नदिने गर्नुपर्छ  । टोकेको ठाउँदेखि दुई–तीन  इन्चमाथि मुटुतिर अलगअलग तीन ठाउँमा ब्याण्डेज, डोरी, रुमाल बाँध्ने र एउटा औला पट्टीभित्र मुस्किलले छिर्न सक्ने गरी बाँध्ने तर प्रत्येक १५ मिनेटमा आधा मिनेट डोरी खोली रक्तसञ्चार हुन दिनुपर्दछ । यदि अस्पताल वा स्वास्थ्य संस्था धेरै टाढा भएमा वा त्यहाँसम्म पुग्न तीन घण्टाभन्दा बढी समय लाग्ने अवस्था भएमा तत्कालका लागि प्राथमिक उपचार गरेर मात्र व्यक्तिलाई अस्पतालतिर लानुपर्दछ । मनसुनजन्य विपद तयारी र प्रतिकार्य  उच्च जोखिममा फलाइङ स्क्कार्ड तयारी, खोज, उद्धार र राहतका लागि स्रोतसाधनको ब्यवस्थापन गरिएको छ । देशका ३४ स्थानमा चेतावनीमूलक साइरन प्रणाली जडान भएको र थप १५ स्थानमा गरिँदैछ । नेपाली सेनाले १० हजार आठ सय ४७, नेपाल प्रहरीले १० हजार पाँच सय ५८ र सशस्त्र प्रहरी बलले नौ हजार नौ सय २४ सुरक्षाकर्मीहरू विपद् प्रतिकार्यका लागि तयारीमा छन् । सेनाले इटहरी, सुर्खेत र काठमाडौँमा हेलिकप्टर तैनाथ छन् । बेलीब्रिज, बोटजस्ता आपत्कालीन सामान रणनीतिक स्थानहरूमा राखिएका छन् । कमाण्डपोष्ट खडा गरिएको छ । त्यसैगरी प्रदेश, जिल्ला र स्थानीय तहमा तयारी अवस्थामा रहने गरी प्रतिकार्य भइरहेको छ । पूर्वतयारीसम्बन्धी क्रियाकलापहरूका बारेमा सूची बनाई तयारी मन्त्रालयले गरिसकेको छ भने प्रतिकार्यसम्बन्धी सूचीकृत मुख्य क्रियाकलापहरूमा विपद्को असरको आधारमा सङ्घीय तथा प्रादेशिक तहका स्वास्थ्य विषयगत क्षेत्र सक्रिय बनाउने, स्वास्थ्य क्षेत्रको दु्रत लेखाजोखा गर्ने, तथा सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सन्देशमूलक सूचना र सचेतना अभिवृद्धिमा जोड दिनु रहेका छन् । त्यस्तै प्रभावित स्थानमा द्रुत प्रतिकार्य टोली परिचालन, आकस्मिक चिकित्सकीय टोली परिचालन, हैजा, डेंगुका किट, खोप, औषधिजन्य सामग्रीको व्यवस्था, एम्बुलेन्सको परिचालन, बिरामी तथा घाइतेको व्यवस्थापन, नमूना परीक्षण, शव व्यवस्थापन, भेक्टर नियन्त्रण, महामारीको उपचार, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, मनोसामाजिक नसर्ने तथा सर्ने रोगहरूको नियमितता, घुम्ती स्वास्थ्य सेवा गर्नेगरी प्रतिकार्य काम भइरहेका छन् । त्यस्तै हटलाइनहरू पनि सञ्चालनमा छन् । अन्तमा रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । जुनसुकै उमेर, वर्ग र तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ । उमालेको पानीको प्रयोग गर्नुका साथै खाना खानुअघि र पछि साबुनपानीले हात धुनुपर्दछ । जथाभावी दिसापिसाब नगर्ने, बासी सडेगलेका र अपच हुनेगरी खुला ठाउँमा राखिएका खाना खानु हुँदैन । व्यक्तिगत सरसफाइ र घर वरपरको वातावरण सफा राख्नुपर्दछ । रासस (लेखक केन्द्रीय कारागार अस्पतालका प्रमुख तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता हुन् )

एसईई पूरक परीक्षाबाट कलेजहरू उत्साहित, बिजनेस बढ्ने अपेक्षा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थी कम पास हुँदा माध्यमिक तहमा पढाइ हुने विद्यालय तनावमा परे । सरकारी विद्यालयलाई तनाव नभए पनि निजीबाट चलाएका स्कुलका सञ्चालकलाई छटपटी नै भयो । ब्याचलर्स तहमा विद्यार्थी नपाउँदा छटपटाइरहेका निजी कलेजलाई एसईईको नतिजाले ठूलै झट्का लाग्यो । प्लसटु तहमा विद्यार्थी पाइरहेका निजी कलेजलाई विद्यार्थी कसरी पुर्‍याउने पीर परेको छ । नियमअनुसार कक्षा ११ मा भर्ना हुन कम्तीमा पनि ३६ जना विद्यार्थी अनिवार्य हुनुपर्छ । यसमा पनि विद्यार्थीको रुचि कुन कलेजमा पर्छ त्यसमा भर पर्छ । विद्यार्थीलाई आफ्नो कलेजमा तान्न अहिले निजी कलेजले व्यपक प्रचार/प्रसार समेत गरिरहेका छन् । अहिले सामाजिक सञ्जालदेखि लिएर विभिन्न मिडियामा सूचनाहरू छ्याप्छ्याप्ती देख्न सकिन्छ । राष्ट्रिय परिक्षा बोर्डले २०८० सालमा लिएको एसईई परीक्षा नतिजा प्रकाशन गर्दा आधाभन्दा कम विद्यार्थीमात्र कक्षा ११ पढ्न योग्य भएका छन् । ११ कक्षा पढ्ने विद्यार्थीको संख्या घटेसँगै निजी कलेज विद्यार्थी तान्न दौडधुपमा लागेका छन् । २०८० सालमा लिइएको एसईई परिक्षा दिने विद्यार्थीको संख्या ४ लाख ६४ हजार ७ सय ८५ थियो । तीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना अर्थात् ४७.८७ प्रतिशत विद्यार्थीमात्र पास भए । २ लाख ४२ हजार ३ सय १३ अर्थात (५२.१३) विद्यार्थी फेल भए । पास भएका २ लाख २२ हजार ४ सय ७२ विद्यार्थी नेपालमा रहेका ४ हजार ८ सय २० माध्यमिक विद्यालयलाई भाग लगाउने हो भने एक स्कुलको भागमा ४६ विद्यार्थी पर्छन् । पास भएका विद्यार्थी सबै कक्षा ११ मा भर्ना हुन्छन् भन्ने छैन । एसईईमा पास भएका धेरै विद्यार्थीको आकर्षण प्राविधिकतर्फ बढी छ । इन्जिनियरिङ, स्टार्फ नर्स, अनमी, एचए लगायतका कोर्सहरू अध्ययन गर्ने जमात ठूलो छ । विद्यार्थी प्राविधिक क्षेत्रमा जाँदा पनि कलेजलाई झन तनाव परेको हो । मन्त्रालयको नयाँ निर्णय आधाभन्दा बढी अथवा ५२ प्रतिशत विद्यार्थी एसईईमा फेल हुँदा अहिले नेपालको शिक्षा प्रणाली माथि नै प्रश्न उठ्न थालेको छ । सर्वत्र एसईईको नतिजाको तरंग फैलिरहेको बेला शिक्षामन्त्रालयले भने फेल भएका अथवा ननग्रेड ल्याएका विद्यार्थी सबैलाई फेरि परिक्षामा सहभागी गराउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले दुई विषय लागेका विद्यार्थीमात्र नभइ ७ वटै विषयमा फेल भएका र एसईईमा फारम भरेर पनि उपस्थित हुन नसकेका विद्यार्थीलाई पनि परीक्षामा सहभागी गराउने भनेकी छन् । यसका लागि लेटर ग्रडिङ निर्देशिका परिवर्तन गर्ने तयारी पनि मन्त्रालयले गरेको छ। सो निर्देशिकामा यसअघि दुई विषयमा एनजी अथवा फेल हुने विद्यार्थीलाई मात्र नतिजा सार्वजनिक भएलगत्तै परीक्षा दिन पाउने व्यवस्था थियो। सोही व्यवस्थाअनुसार राष्ट्रिय परीक्षा बोर्डले दुई विषयमा फेल भएका विद्यार्थीलाई मात्र परीक्षा दिन पाउने गरी साउन १८र १९ गते मौका परीक्षा लिने भनेको थियाे । फेरि त्यसकाे मिति परिवर्तन गरेर साउन २३ गतेदेखि ३१ गतेसम्म परीक्षा हुने भनेर परीक्षा पूरक तालिका सार्वजनिक गरेकाे छ । जसमा सबै विद्यार्थीलाई सहभागी गराउने शिक्षा मन्त्रालयकाे निर्णय छ । अब यसलाई हटाएर दुईभन्दा बढी विषय लागेका विद्यार्थीहरूले पनि परीक्षा दिन पाउनुपर्ने गरी ग्रेडिङ निर्देशिका संसोधन गर्न लागिएको हो । निजी कलेजलाई राहात महसुस शिक्षा मन्त्रालयको यो निर्णयलाई धेरैले स्वागत योग्य निर्णय पनि भनेका छन् । शिक्षाविद् डा. विष्णु कार्की शिक्षामन्त्रीले फेल भएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउने कदम सकरात्मक भएको बताउँछन् । उनी कुनै पनि विद्यार्थीलाई फेल गराएर विद्यार्थीको मूल्यांकन गर्ने अधिकार कसैलाई नभएको भन्दै अब पास फेल बनाउने प्रणाली नै हटाउनुपर्ने बताउँछन् । ‘अहिले जति विद्यार्थी फेल भएका छन् यसमा कसैको दोष छैन,’ उनी भन्छन्,‘यसमा दोष भनेको हाम्रो शैक्षिक प्रणालीकाे हो, अब यो पास फेल बनाउने नियम नै हामीले हटाउनुपर्छ ।’ उनी कुनै पनि विद्यार्थीको पढ्ने र बुझने शैली फरक हुने बताउँदै व्यवहारिक शिक्षालाई जोड दिनुपर्ने बताउँछन् । शिक्षा मन्त्रालयको यो निर्णयले फेल भएका विद्यार्थीलाई भने ठूलो राहात मिलेकाे छ । जति राहात विद्यार्थीलाई मिलेको छ त्योभन्दा ठूलो राहात निजी कलेज सञ्चालकलाई मिलेको छ । विद्यार्थी नपाएर तनावमा परेका कलेज फेरि परीक्षा हुँदा विद्यार्थी पाउने आशामा छन् । इम्पेरियल कलेजका प्रधानाध्यापक प्रताप शाक्य मन्त्रालयको निर्णयले निजी कलेजलाई राहत मिलेको बताउँछन् । उनी कलेजलाई सेवामुलकभन्दा व्यावसायिकरूपमा लिइरहेकाहरू एसईईको नतिजाले छटपटाइरहेका बेला मन्त्रालयको निर्णयले थोरै भए पनि राहात महसुस गरिरहेको उनले बताए । खुलस्तरूपमा भन्न नसके पनि यो नतिजाले निजी कलेजलाई झट्का लागेको थियो । अबको परीक्षामा विद्यार्थीले मिहिनेत गरे विद्यार्थी खोज्न नपर्ने बताउँछन् । अपरिपक्क निर्णय शिक्षा मन्त्रालयले गरेको निर्णयमा विज्ञहरूकै मत विभाजित भएको छ । कतिपयले स्वागत योग्य निर्णय भने पनि कतिपयले भने यो निर्णयले झन समस्या बल्झाउने बताएका छन् । शिक्षाविद् विद्यानाथ कोइराला दुई विषयभन्दा बढी लागेका विद्यार्थी र अनुपस्थित विद्यार्थीलाई पनि परीक्षामा सहभागी गराउने गरी गरिएकाे निर्णय तत्कालका लागि राम्रो भए पनि पछिका लागि राम्रो नहुने बताउँछन् । उनी यसले समस्या समाधान नगर्ने बताउँछन् । एसईई पास भएका विद्यार्थीहरू अहिले धमाधम कक्षा ११ मा भर्ना हुँदैछन् । अब साउनदेखि आर्थिक वर्षसँग उनीहरूको पढाइ सुरु हुन्छ । कोइराला सबै जिल्लामा फेरि परीक्षा सञ्चालन गर्दा नतिजा सार्वजनिक गर्न पनि समय लाग्ने भएकाले पढाइमा समेत बाधा पर्ने बताउँछन् । फेल भइसकेका विद्यार्थीहरूलाई पास गराउने गरी परिक्षा लिनु गलत हुने कतिपयको भनाइ छ ।

हेटौँडामा नमूना सडक बनाइँदै

बागमती । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । हेटौँडा –४ स्थित रजतजयन्ती र हेटौँडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको हो । सहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम मार्फत ती दुवै सडकलाई नमूना सडकको रुपमा निर्माण गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् । सहरी विकास मन्त्रालयअन्तर्गतको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रममार्फत हेटौँडा– ४ स्थित रजत जयन्ती मार्गको करिब एक किलोमिटर सडक तथा हेटौँडा ७ र ८ जोड्ने कर्नाबत्ती मार्गलाई स्मार्ट लाइट, फुटपाथ, नालासहित नमूना सडकको रुपमा निर्माण गरिने उनले बताइन् । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले ती दुवै सडकलाई फराकिलो बनाई नमूना सडकको रुपमा स्तरोन्नति गर्ने काम अघि बढाएको उनले बताइन् । रजत जयन्ती मार्गलाई चार लेनको सडकको रुपमा विकास गर्दै दुवैतर्फ फुटपाथ, बेरियर, सडक बत्तीसहित अक्सपाल्ट पिच गरिने र क्याक्पाडाँडा पुलदेखि हेटौँडा–१५ तिनकुने चौकसम्मको कर्णबत्ती मार्गको डेढ किलोमिटर सडकलाई दाँयाबाँया साढे सात मिटर चौडा गरिने योजना रहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापाले बताए । संघीय सरकारको विनियोजित रकमबाट यी दुई सडक तथा हेटौँडा–६ को वडा कार्यालय भवनसमेत निर्माण गरिने उनले जानकारी दिए । तीनवटै योजना आगामी १८ महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको आयोजना प्रमुख थापाको भनाइ छ । नमूना सडक निर्माणले हेटौँडाको पहिचान बढाउन मद्दत पुग्नुका साथै पर्यटन पर्यावरणमा सहयोग पुग्ने हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले बताए । यी दुई सडक स्तरोन्नति हुँदा जनताले अपेक्षा गरेको विकास काम प्रत्यक्षरुपमा अनुभूति गर्ने र आगामी दिनमा नगरक्षेत्रका अन्य सडकलाई पनि स्मार्ट बनाउन सकिने उनले बताए । रासस