विकासन्युज

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको १०औं महाधिवेशनले माधव नेपालालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। यस्तै, धनश्याम भुसाल महासचिवमा सर्वसम्मत चयन भएका छन् भने झलनाथ खनालाई सम्मानित नेता बनाइएको छ । शीर्ष नेताहरूबीचको दिनभरिको छलफलपछि समाजवादीले सर्वसम्मत नेतृत्व चयन गरेको हो । यस्तै अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।

कटहरिया नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकाश, उपप्रमुख रीता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालत काठमाडौंमा उनीहरूविरूद्ध मुद्दा दायर भएकाे अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनीहरूले १२ लाख ५२ हजार ९४१ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारकाे ठहर छ । अख्तियारले मुद्दा दायर गरेका अन्यमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख राम नरेशप्रसाद यादव, कार्यपालिका सदस्य समिशविक्रम साह, कार्यपालिका सदस्य मनोज प्रसाद जैसवाल, इन्जिनियर मकसुद आलम, बौद्धिमाई उपभोक्ता समितिका अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साह छन् । कटहरिया नगरपालिका वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष २०७८/०७९ मा टायल्सको कामका लागि विनियोजन भएको रकम स्वीकृतिका लागि लागत अनुमानबमोजिम कार्य नगरी कमसल काम गरेको भन्दै उजुरी परेको थियो । सोही उजुरीपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

नेपाल वायुसेवा निगमको सुधार प्रयास जारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यवस्थापकीय, संस्थागत र कानुनी सुधारका लागि पहल भइरहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ माथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले निगमको सञ्चालन र व्यस्थापनमा सुधार गर्न गठित समितिको प्रतिवेदनअनुसार उपयुक्त ढाँचामा सञ्चालनका लागि विभिन्न विकल्पबारे छलफल भइरहेको जानकारी दिए । मन्त्री तमाङले निगमको व्यवस्थापन सुधारका लागि मन्त्रालयले पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठन गरेको समितिको प्रतिवेदन अनुरुप काम गर्न लागिरहेको बताए । पर्यटनमन्त्री तामाङले क्षेत्रीय सन्तुलनलाई ध्यानमा दिएर मन्त्रालयले कार्यक्रमको माग, औचित्य र आवश्यकताका आधारमा बजेट तर्जुमा गरिएको बताए । उनले संवैधानिक व्यवस्था अनुरुप समावेशी रुपमा सबै भाषा र संस्कृतिको विकास गर्नु आवश्यक रहेको बताए । संस्कृत भाषाको संरक्षण र प्रवद्र्धन गर्ने विषयमा मन्त्रालयले आवश्यक नीतिगत व्यवस्था गरेको भन्दै मन्त्री तामाङले नेपालका सबै भाषा, संस्कृति र कलाको संरक्षण र प्रवर्चनतर्फ मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे । उनले पशुपतिनाथ मन्दिरको भेटी व्यवस्थापनका लागि निर्देशिका जारी गरिएको तथा पशुतिनाथको मूर्ति सार्वजनिक गर्न मिल्ने नमिल्ने विषयमा मन्दिरको परम्परालाई समेत आधार मानेर आवश्यक निर्णय गरिने बताए । धार्मिक पर्यटनको हिसाबले अत्यन्त महत्वपूर्ण लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ र रामजानकी मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि मन्त्रालयले बजेट व्यवस्थापन गरेको तथा रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्ने लगायतका कार्यक्रम यस वर्षको बजेटबाट अघि सारिएको उल्लेख गरे ।

मेघा हस्पिटल समृद्धि फाइनान्सका ग्राहकहरुलाइ छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र मेघा हस्पिटलबीच समझदारी भएको छ । बिहीबार समृद्धि फाइनान्स कम्पनीले बिहीबार मेघा हस्पिटल सानेपा, काठमाडौंसँग समझदारी गरेको हो । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण खातावालाहरुले २०८१ असार २१ देखि २०८३ असार २० गते सम्म समृद्धि मोबाइल बैकिङ र डेविड कार्ड प्रयोग गरि मेघा हस्पिटल सानेपा, काठमाडौंमा स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा ३० प्रतिशत र फार्मेसीमा १५ प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र मेघा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक किशोर जंग रानाले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

गगनको दाबी : प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सहकार्य गरेको केही समयमै पुनः अर्को समीकरणको प्रयास गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको सम्पूर्ण परिस्थिति बन्नुको पहिलो कारण प्रधानमन्त्री दाहाल स्वयं नै भएको बताए । प्रधानमन्त्री दाहालको अस्थिरताको कारण अहिलेको परिस्थिति आएको दाबी गरे । प्रधानमन्त्री दाहालको अस्थिर चरित्रमा कुनैपनि दलले विश्वास गर्न नसकेपछि नेकपा एमाले र नेपाली कांग्रेस मिलेको बताए । ‘अहिलेको यो परिस्थिति बनेको यसको सम्पूर्ण कारण भनेको अहिलेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारणले हो, प्रचण्डको यति धेरै अस्थिर चरित्र, व्यवहार नभएको भए, अहिलेको दुर्घटना निम्त्याएको उहाँकै कारणले हो, त्यो कारणले गर्दा अहिलेको परिस्थिति सिर्जना भयो’, उनले भने । महामन्त्री थापाले नेपालको राजनीतिमा दाहाललाई विश्वास गर्न नै कठिन भएको बताए ।

भारतमा पौने २ लाख युनिट घर बिक्री, ११ वर्षकै उच्च

काठमाडौं । पछिल्ले समय भारतमा घरजग्गाको माग बढ्दै गएको छ । देशको घरजग्गा बजारले नयाँ उचाइ छुँदै गइरहेको छ । पछिल्लो ६ महिनामा भारतको घरजग्गाको रौनक यथास्थितिमै रह्यो । निरन्तर मागका कारण घर बिक्री ११ वर्षकै उच्चमा १ लाख ७३ हजार युनिट पुगेको छ । रियल इस्टेट कन्सल्टेन्ट नाइट फ्रयांकले आफ्नो पछिल्लो प्रतिवेदनमा देशका ठूला सहरमा घरजग्गाको विषयमा महत्त्वपूर्ण छलफल भएको बताएको छ । भारतको आवासीय बिक्री जनवरीदेखि जुनमा ११ प्रतिशतले बढेको छ । सन् २०२४ पहिलो ६ महिनामा भारतीय घरजग्गा बजार बुलिश रह्यो जसमा घर बिक्री ११ वर्षकै उच्चस्तर १ लाख ७३ हजार युनिटमा पुग्यो । नाइट फ्रयांकका अनुसार यस अवधिमा देशका आठ ठूला सहरमा अफिस स्पेसको माग रेकर्ड ३ करोड ४७ लाख वर्गफिट पुगेको छ । वार्षिक आधारमा यस वर्ष जनवरी र जुन बीचमा आठ प्रमुख सहरहरूमा घर बिक्री ११ प्रतिशतले बढेर १ लाख ७३ हजार २ सय ४१ युनिट पुगेको छ, जबकि कार्यालय स्थानको माग ३३ प्रतिशतले बढेर ३ करोड ४० लाख वर्गफिटमा पुगेको छ । नाइट फ्रयांक इन्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक शिशिर बैजलले बलियो आर्थिक आधार र स्थिर सामाजिक/राजनीतिक अवस्थाका कारण पछिल्ला केही त्रैमासिकमा भारतको घरजग्गा बजार द्रुत गतिमा बढेको बताए । उनले घर र अफिस स्पेसको माग एक दशकयताकै उच्च भएको जानकारी दिए । भारतका शीर्ष सहरहरूको अवस्था सन् २०२४ को पहिलो त्रैमास (जनवरी-जुन) मा कुल बिक्रीमा प्रिमियम आवासको हिस्सा ३४ प्रतिशत रहेको छ । मुम्बईमा घर बिक्री जनवरी-जुन २०२४ मा वार्षिक आधारमा १६ प्रतिशत बढेर ४७ हजार २ सय ५९ युनिट पुगेको छ, जबकि सहरमा अफिस स्पेसको माग ७८ प्रतिशतले बढेर ५८ लाख वर्गफिट पुगेको छ । दिल्ली-एनसीआरमा घर बिक्री ४ प्रतिशतले घटेर २८ हजार ९ सय ९८ युनिट भएको छ । यद्यपि, कार्यालय स्थानको माग ११.५ प्रतिशतले बढेर ५७ लाख वर्गफिट पुगेको छ । बेंगलुरुमा घर बिक्री ४ प्रतिशतले बढेर २७ हजार ४ सय ४ युनिट पुग्यो, जबकि कार्यालयको माग २१ प्रतिशतले बढेर ८४ लाख वर्गफिट भएको छ । पुणेमा आवासीय बिक्री १३ प्रतिशतले बढेर २४ हजार ५ सय २५ युनिट पुगेको छ, जबकि कार्यालय स्थानको माग ८८ प्रतिशतले बढेर ४४ लाख वर्गफिट पुगेको छ । त्यसैगरी चेन्नईमा आवासीय माग बढेको र कार्यालय स्थानको मागमा गिरावट आएको छ । यस अवधिमा हैदरावाद, कोलकाता र अहमदाबादमा घर र कार्यालय दुवै ठाउँको मागमा वृद्धि भएको थियो । एजेन्सी

सरकार र क्रसर व्यवसायीबीच तीन बुँदे सहमति

काठमाडौं । नेपाल सरकार र क्रसर तथा खानी उद्योग व्यवसायीबीच तीन बुँदे सहमति भएको छ । बिहीबर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा छलफलमा आन्दोलनरत क्रसर व्यवसायी र सरकारबीच सहमति भएको हो । सरकारले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० चाँडो पारित गरी निर्माणमुखी सामग्री उत्खनन्, व्यवस्थापन, उपयोग र नियमनमा समेत सहजता प्रदान गर्ने सहमति भएको छ । सहमतिसँगै क्रसर तथा खानी उद्योगको नवीकरणको विषय लिई गरेको विरोध प्रदर्शन स्थगित भएको छ ।

समृद्धि फाइनान्सका ग्राहकलाई क्यापिटल हस्पिटलमा छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र क्यापिटल हस्पिटलबीच समझदारी भएको छ । फाइनान्सले गत असार ११ गते क्यापिटल हस्पिटल बागबजार, काठमाडौंसँग समझदारी गरेको हो । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पूर्ण सेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले २०८१ असार १२ देखि २०८३ असार ११ गते सम्म समृद्धि मोबाइल बैकिङ र डेविड कार्ड प्रयोग गरि क्यापिटल हस्पिटल बागबजार, काठमाडौंमा स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण सेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र क्यापिटल हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक प्रोडा अशोक रत्न बज्राचार्यले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ । फाइनान्सका सम्पुर्ण सेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले क्यापिटल हस्पिटलबाट अर्थोपेडिक (अपरेशन रप्रक्रिया शुल्क) मा १० प्रतिशत स्त्री रोग (अपरेशन र प्रक्रिया शुल्क)मा १० प्रतिशत, सामान्य शल्यक्रिया (अपरेशनरप्रक्रिया शुल्क)मा १० प्रतिशत, अल्ट्रा साउन्डमा १५ प्रतिशत, प्रयोगशाला सेवामा (सबै उपलब्ध परीक्षणहरूको लागि) १५ प्रतिशत, एक्स–रे मा २० प्रतिशत, फिजियोथेरापीमा १० प्रतिशत, फार्मेसीमा १० प्रतिशत, बेड चार्जमा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।