उर्लियो बागमती, युएन पार्क करिडोर क्षेत्र डुबानमा (तस्बिरहरू)
काठमाडौं । गएरातिदेखिको लगातार वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेको छ । बागमती नदीमा पानीको बहाब बढ्दा ललितपुरको युएन पार्क क्षेत्रको बागमती नदी किनाराका संरचनाहरू डुबेका छन् । युनिएन पार्क करिडोरमा रहेको पाँचतले बिल्डिङभित्र पनि पानी पसेको छ । त्यहाँ पार्क गरेका राखिएका मोटरसाइकल पनि डुबेका छन् । यहाँका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ। काठमाडौं उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।
कालीगण्डकीमा बहाव बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा
पर्वत । केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठूलो शालिग्राम शिला र नजिकै रहेको सेतीवेणी बजार डुबानमा परेको छ । सेतीखोलामा आएको बाढीले सेतीवेणी बजारस्थित सिंहप्रसाद ह्याइजुको घर भत्किएको छ भने बजारमा बाढी पस्न थालेपछि जनजीवन प्रभावित भएको हो । पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणी र स्याङ्जाको गल्याङ नगरपालिका–५ मा रहेको विश्वको ठूलो शालिग्राम शिला पूर्णरूपमा डुबानमा परेको सेतीवेणी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सन्देश भण्डारीले जानकारी दिए । कालीगण्डकी र सेतीखोला दुवैको बहाब बढेपछि शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमस्थल डुबिसकेका छन् भने बजार उच्च जोखिममा रहेको उनले बताए । मुस्ताङ, म्याग्दी, पर्वतमा ठूलो वर्षा भएकाले कालीगण्डकीको सतह बढ्ने क्रम जारी रहेको प्रहरी सहायक निरीक्षक भण्डारीले बताए । उनका अनुसार कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्ला डुबानको जोखिममा परेका हुन्। वर्षा नरोकिए केही बेरमा बजारसम्म आइपुग्ने र पसलमा क्षति पुग्ने अवस्था देखिएको स्थानीय तिलक पराजुलीले बताए । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित विस्थापित बनेका छन् । सेतीवेणीमा मिसिने सेतीखोलाको बहाव अत्यधिक उर्लिएपछि पर्वत र स्याङ्जातर्फका बजार क्षेत्रमा कटानको जोखिम बढ्दै गएको परालुलीले बताए । यसैबीच, कालीगण्डकीमा पानीको बहाव बढेपछि कालीगण्डकी जलविद्युत आयोजनाको बाँधका सबै ढोका खोलिएका छन् । दुवै खोलाको बहाव बढेसँगै बजार क्षेत्रका दुई सयबढी व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन् । विगत १५ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन परिवार विस्थापित बनेका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र डुबानमा परेको घटनाले वर्षाको समयमा त्रास रहने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए । स्थानीय प्रहरी चौकीका इञ्चार्ज भण्डारीले अहिले वर्षा अत्यधिक भइरहेकाले पानीको बहाव अझै बढ्दो क्रममा रहेको भन्दै स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए ।
मधेशमा चार दलका ६ मन्त्री बर्खास्त
जनकपुरधाम। मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा रहेका ४ दलका ६ मन्त्रीहरूलाई पदबाट बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् । नेकपा एमाले–नेपाली कांग्रेससँग भएको सहमतिअनुसार मुख्यमन्त्री सिंहले चार दलका ६ मन्त्री बर्खास्त गरेका हुन् । अर्थमन्त्री भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपाने, उर्जा सिंचाई तथा खानेपानीमन्त्री बेची लुङ्गेली, गृह तथा सञ्चारमन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरीलाई मुख्यमन्त्री बखार्स्त भएका छन् । ६ दलको समर्थनमा जनमत पार्टीका सिंह गत जेठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । आजै कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीलाई मधेस सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी समेत रहेको छ । मुख्यमन्त्री सिंहले राष्ट्रिय समिकरणअनुसार सबै प्रदेशमा परिवर्तन हुने अवस्था रहेको र मधेस प्रदेशमा आजै विश्वासको मत लिने भएकाले नयाँ समीकरणका हिसाबले प्रदेश सरकार गठन भएको बताए । उनले प्राविधिक समस्या भएकाले राजीनामा नदिइकन बसेकाले बर्खास्त गर्नुपरेको बताए । उनले कुनै पनि मन्त्रीले असहयोग नगरेको पनि बताए । मुख्यमन्त्री सिंहले मन्त्रीहरूकै सहमतिमा बर्खास्ती गरिएको बताए ।
पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध, झरीले पहिरो पन्छाउन समस्या
म्याग्दी । अविरल वर्षाले पहिरो खस्दा म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन् । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा खसेको पहिरोले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । यो सडक अवरुद्ध हुँदा म्याग्दीदेखि प्रदेश राजधानी पोखरा जाने आउने सवारीसाधनले बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गरेका छन् । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङस्थित चिनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा पर्ने सिरुवारी र बैसरीमा पहिरो खसेपछि आज बिहानैदेखि सवारीसाधन आवतजावत बन्द भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सवइञ्जिनियर सोहनजङ्ग कार्कीले पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा रहे पनि वर्षात् र पहिरो खस्नेक्रम नरोकिएकाले समस्या भएको बताउनुभयो । आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा–बेनी सडक खुलाउन पनि उपकरण परिचालन भएको छ । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्या परेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादन भएको आलु बजार पठाउन समस्या भएको छ । स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको लेतेसम्म १४ ठाउँमा पहिरो छन् । पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकमा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनेको छ । पूर्वाधार विकास कार्यालयले फापरखेतको पहिरो पन्छाउने प्रयास गरे पनि निरन्तरको झरीले सफल भएको छैन ।
उपत्यकाका नदीमा बहाव बढेपछि उद्धार टोली तयारी अवस्थामा
काठमाडौं । अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा पानीको बहाव बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए । उनले भने, ‘बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।’ उनले बागमती, विष्णुमती, मनहरा, हमुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए । उनले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिए । तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए । उनले भने, ‘यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेवित्तिकै परिचालन हुन्छन् ।’ वर्षाका कारण आज देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । कतै डुबान, कतै बाढी त कतै पहिराले प्रभावित पारेर प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
घोषणा भएको ७ वर्ष बितिसक्दा पनि गण्डकीमा अझै पूरा भएन विद्युत सेवाको लक्ष्य
फाइल फोटो गण्डकी । विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रमा प्रदेशका सबै घरमा विद्युत् सेवा पुर्याउने निर्णय गरेको थियो । घोषणा भएको सात वर्ष बितिसक्दा पनि प्रदेश सरकारको उक्त लक्ष्य पूरा हुन सकेको छैन । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा बजेटमा पनि ‘उज्यालो गण्डकी’ घोषणा गरिएको छ । आधारभूत विद्युत सुविधामा सबै नागरिकको पहुँच सुनिश्चितताका लागि ‘उज्यालो गण्डकी’ अभियान सञ्चालन गरिने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । प्रदेशमा शून्य दशमलव पाँच प्रतिशत घरधुरी अझै बिजुलीको पहुँचबाहिर रहेको पाइएपछि उक्त लक्ष्यलाई आगामी आवको बजेटमा पनि निरन्तरता दिइएको मन्त्रालयको ऊर्जा शाखा प्रमुख इञ्जिनियर जीवन श्रेष्ठले बताए । नवलपुरको बौँदीकाली, बुलिङटार र तनहुँको देवघाट क्षेत्रमा विद्युत सेवा विस्तारको काम बाँकी रहेको उनले जानकारी दिए । ‘नवलपुरमा विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणले जिम्मा लिएको छ, प्रदेशले बजेट पनि उपलब्ध गराइसकेको छ,’ इञ्जिनियर श्रेष्ठले भने, ‘प्राधिकरणले काममा ढिलाइ गरेकाले चालु आवमा ‘उज्यालो गण्डकी’ घोषणा हुन सकेन, तनहुँमा पनि प्राधिकरणले आफ्नै आयोजनाबाट तीन सय ७० घरमा विद्युत् सेवा पुर्याउन बाँकी छ ।’ आगामी भदौभित्र दुवै जिल्लामा बाँकी रहेका घरधुरीमा विद्युत् सुविधाको पहुँच सुनिश्चितता भएपछि उज्यालो गण्डकी घोषणा गरिने उर्जा शाखा प्रमुख श्रेष्ठले बताए । मन्त्रालयको तथ्यांकअनुसार ९९ दशमलव ५० घरमा विद्युत सेवा पुगेको छ । छुटेका घरमा बिजुली पु¥याएर ‘उज्यालो गण्डकी’ घोषणा गर्ने तयारीमा प्रदेश सरकार रहेको उनले जानकारी दिए । बर्सेनि सरकारको नीति, कार्यक्रम र बजेटमा समेटिँदै आएको ‘उज्यालो गण्डकी’ को लक्ष्य आगामी आवभित्रमा हासिल हुने मन्त्रालयले जनाएको छ । पछिल्लो आर्थिक सर्वेक्षण अनुसार झण्डै २४ सय घरमा बिजुली नपुगेको देखिएको उर्जा शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । सरकारी संयन्त्रबाट पहिचान हुन नसकेका अवस्थामा बिजुली नपुगेका घरलाई स्वघोषणा गरेर जानकारी गराउनसमेत मन्त्रालयले सूचित गरेको छ । विद्युत प्राधिकरणको १३ वटा वितरण केन्द्रमार्फत प्रदेशका ११ वटै जिल्लामा विद्युत विस्तारको काम भइरहेको छ । मन्त्रालयको उर्जा शाखा प्रमुख श्रेष्ठका अनुसार राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेका ठाउँमा लघुजलविद्युत र घरेलु सौर्य उर्जामार्फत विद्युत् सेवा पुर्याइएको छ । घरेलु सौर्य उर्जा जडानका लागि प्रदेश सरकारले अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । उर्जा शाखा प्रमुख श्रेष्ठले बागलुङको ढोरपाटन नगरपालिका–६ का तीन सय बढी घरमा सौर्य ऊर्जा जडान गरिएको जानकारी दिए । प्रदेशका ९५ दसमलव ६८ प्रतिशत घरमा राष्ट्रिय प्रसारण लाइनमार्फत र बाँकीमा लघुजलविद्युत्, नवीकरणीय ऊर्जालगायतबाट विद्युत् सेवा पुगेको छ । राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका मुस्ताङ, मनाङ, म्याग्दी र गोरखाका सात स्थानीय तहका एक हजार दुई सय पाँच घरमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य उर्जा जडान गरिएको मन्त्रालयले जनाएको छ । संस्थागत सौर्य ऊर्जा जडान कार्यक्रमबाट विभिन्न जिल्लामा गरी कूल एक सय ६२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ । प्रदेशमा रहेका ९० वटा लघुजलविद्युत् आयोजनाबाट तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन भइरहेको बताउँदै उर्जा शाखा प्रमुख श्रेष्ठले यसबाट १५ हजार चार सय ४० घर लाभान्वित भएका जानकारी दिए । उनका अनुसार तत्काल राष्ट्रिय प्रसारण लाइन जोडिने सम्भावना नभएका ठाउँमा प्रदेश सरकारको अनुदान सहयोगमा सौर्य ऊर्जा जडानको काम भइरहेको हो । सौर्य ऊर्जा र लघुजलविद्युतबाट प्रदेशको तीन दशमलव ८२ प्रतिशत घरमा बिजुली पुगेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले आफ्नै लगानीमा मनाङको नासो गाउँपालिकामा ३० किलोवाट क्षमताको भिमताङ लघुजलविद्युत आयोजना निर्माण गरेको छ । गत वर्ष ९८ किलोवाटको स्याङ्जाको पुतपुते खोला लघुजलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । रासस
हनुमन्तेको बाढीले भक्तपुरमा डुबान, उच्च सतर्कता अपनाउन आग्रह
भक्तपुर । विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ । भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ । सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको छ । वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको बताइन् । जिल्लास्थित विपद् व्यबस्थापन समितिमार्फत सुरक्षा तहदेखि जनस्तरसम्म गाउँगाउँमा खोज तथा उद्धार टोली, आवश्यक राहत सामग्री तयारी अवस्थामा राखिएको उनले बताइन् । कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिम परेमा वा घटना भएमा तत्काल टोली पुगेर उद्धारमा खटिने उनले बताइन् । बाढी पहिरो आउन सक्ने जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । भक्तपुरमा बाढी र पहिरोको उच्च जोखिम क्षेत्रको पहिचान गरी तत्काल खोज तथा उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । भक्तपुरको सूर्यविनायकस्थित इन्द्र बक्स गण सूर्यविनायकका गणपति प्रमुख सेनानी मोहनकुमार थापाले कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिमको खबर आए लगत्तै घटनास्थलमा पुग्ने बताए । भक्तपुर नगरपालिकाको हनुमन्ते नदी किनारका बस्ती, मनोहरा नदी किनारका करिब ६ सय ५० घर बाढीको जोखिममा छन् । चाँगुनारायण, सूर्यविनायकका केही क्षेत्र पहिरोको जोखिममा रहेका बताइएको छ ।
चार दिनदेखि रारा विमानस्थलकाे हवाई सेवा अवरुद्ध
मुगु । हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ । विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मर्कामा परेका छन् । तीन दिनदेखि जहाजको प्रतीक्षामा रहेका हरिकृष्ण ऐडीले शुक्रबार बसमा काठमाडौं जानुपरेको बताए । ‘मौसममा सुधार आउने अवस्था नदेखेपछि बसको टिकट काट्न बाध्य भए,’ उनले भने । निरन्तरको वर्षाले चार दिनदेखि नेपालगञ्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले बताए । उनका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगञ्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु र नेपालगञ्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिएका छन । आज पनि मौसमका कारण उडान हुने सम्भावना न्यून छ । हवाईसेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन् । हुम्लामा पनि वर्षाले तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । खराब मौसमका कारण बुधबारदेखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन कार्यालय सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । हवाईसेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् । नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटक रारा विमानस्थलबाट हवाई यात्रा गर्ने गर्दछन । यो विमानस्थलमा निजी तथा सरकारी स्वामित्वको विमानले दैनिक तीन÷चार उडान भर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जनाएको छ ।