विकासन्युज

मधेस प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । उनले ६७ मत पाएका हुन् । विपक्षमा ३४ मत खसेको थियो । प्रदेशसभामा उपस्थित एक सय एक जना सदस्यले मतदान गरेका थिए । मुख्यमन्त्री सिंहका पक्षमा जनमत, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभासदस्यले मतदान गरे भने जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टीका सांसदले विपक्षमा मतदान गरेका थिए ।

ठेउलेखोला जलविद्युत आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध

बलेवा । अविरल वर्षसँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजनाको बाँध पुरिएको छ । जैमिनी–१ र वडा नं ४ को बीच भएर बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो । कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आएको पहिरोले उक्त बाँधमा क्षति पु¥याएको बारही हाइड्रोपावरका प्रशासन प्रमुख लिलानाथ पौडेलले बताए। पहिरोका कारण बाँध पुरिँदा विद्युत उत्पादन पूर्णरुपमा बन्द भएको उनले जानकारी दिए । उनले १.५ मेगावट विद्युत उत्पादन हुने आयोजनालाई पुनःसञ्चालन गर्न समय लाग्ने बताए । पहिरोले जैमिनी नगरपालिकाको केन्द्रविन्दु कुश्मिसेराबाट सर्कुवा, जैदी, अर्जेवा, विनामारे, व्याडथाला जाने सडक पूर्णरुपमा अवरुद्ध भएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । जैमिनीको केन्द्रविन्दुबाट सबै वडा जाने ग्रामीण सडक बन्द भएका छन् । उपप्रमुख शर्माले भने, ‘यसै वर्ष स्तर वृद्धि गरेर कालेपत्र र ढलान गरिएको कुश्मिसेरा–सर्कुवा–व्याडथला खण्डमा गएको पहिरोले जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ । अविरल वर्षा भइरहेकाले तत्काल सडक स्तारोन्नति गरी सञ्चालन गर्ने अवस्था छैन ।’ जैमिनी नगरपालिको केन्द्रबाट जाने अधिकांश सडक पहिरोले अवरुद्ध बनेका उनले जानकारी दिए । उपप्रमुख शर्माका अनुसार कालिगण्डकी करिडोर खण्डको विनामारेमा सडक माथिबाट आएको लेदोसहितको पहिरोले करिडोर अवरुद्ध बनेको छ । वर्षाका कारण जिल्लाको गलकोटबाट हिल हुँदै ताराखाला जाने सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङ हुँदै म्याग्दीको बेनीबजार जाने खण्डअन्तर्गत बागलुङ नगरपालिका–४ बान्द्रेमा सडक माथिबाट आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

पाँचतले बिल्डिङमा बाइक डुबे, घरभित्र पस्यो बागमती (तस्बिरसहित)

काठमाडौं । काठमाडौंको यूनियन पार्क नजिकैको बस्ती ठूलो जोखिममा परेको छ । शुक्रबार रातिदेखिको अबिरल वर्षाका कारण बागमती नदिको बहाब बढ्दा काठमाडौंका अधिकांश बस्तीहरु जोखिममा परेका हुन् । यसले काठमाडौंको यूनिएन पार्क नजिकको बस्ती पनि ठूलो जोखिममा परेको छ । युनिएन पार्क करिडोरमा रहेको पाँचतले बिल्डिङभित्र पनि पानी पसेको छ । युनिएन पार्क नजिकै हालै बनेको पाँच तारे घरको पार्किङमा बागमती नदिको पानी पसेको छ । सो पार्किङमा पार्किङ गरिएका तीन वटा मोटरसाइकल पनि डुबेका छन् । बागमती नदिको पानी सडक हुँदै घरको पार्किङमा पस्दा पार्किङमा राखिएका सवारीहरू डुबेको सुरक्षाकर्मीले बताएका छन् । अहिले स्थानीय र सुरक्षाकर्मीहरुले सो स्थानमा कडा निगरानी गरिरहेका छन् भने घरभित्र रहेका मानिसलाई सुरक्षा सतर्कता अपनाउन पनि आग्रह गरिरहेका छन् । यहाँका कतिपय सडकमा पानी जमेर आवागमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह पनि गरेको छ । काठमाडौं उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उपत्यकाको टेकु, गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।

सानुबाबु सिलवालको पुस्तक ‘सपना र यथार्थमा अमेरिका’ विमोचन

काठमाडौं । अमेरिकामा रहेका गैरआवासीय नेपाली सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक एक समारोहका बिच विमोचन गरिएको छ । शुक्रबार काठमाडौं बत्तिसपुतलीमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतका व्यक्तित्वहरूको हातबाट पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन गर्दै अध्यक्ष रेग्मीले सत्कर्म, सत्प्रयास, सत् चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने, नेपालीको भलाइका लागि लागिपर्ने सिलवालको प्रशंसा गरे । उनले अमेरिका लगायत विश्वका जहाँ रहे पनि नेपालीहरूलाई आफ्नो मातृभूमिको माया रहेको कुरा सिलवालले नेपालमा आएर पुस्तक विमोचन गर्नुले पुष्टि गरेको बताए । रेग्मीले भने, ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी भनेझै जहाँ पुगे पनि सबैले आफ्नो पहिचान बिर्सेका हुँदैनन् भन्ने लाग्दछ, शिक्षा, समाज र संस्कृति नै पहिचान हो र जहाँ पुगे पनि यो राष्ट्रका लागि हामीले केही गर्नु पर्दछ भन्ने हो, रोजगारी छैन भनेर देश छोड्ने चलन छ, यहाँ रोजगारी, कृषि विकासको कुन मोडल अपनाउन सकिन्छ, एउटा साझा मोडल अपनाएर जुनसुकै सरकार, जुनसुकै पार्टी किन नहोस्, वैज्ञानिक, आधुनिक प्रक्रियाबाट सामुदायिक एकताबाट अघि बढ्दा देश समृद्ध हुन्छ, नागरिकहरू समृद्ध हुन्छन् । ’ सो अवसरमा पुस्तकका लेखक सिलवालले हाल अमेरिकामा ५ लाख नेपाली रहेको र ती नेपालीहरूको आर्थिक समृद्धिका लागि बाटो देखाउने काममा आफू लागिरहेको बताए । उनले अमेरिकामा अप्ठेरोमा रहेका नेपालीलाई सहयोग गर्न आफू निरन्तर लागिपरेको बताउँदै आफूलाई राति, बिहान दिउँसो हरेक क्षण समस्यामा परेका नेपालीको फोन आउने गरेको र आफू समाधानका लागि निरन्तर लागिरहेको उल्लेख गरे । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तित्व, वरिष्ठ पत्रकारहरू लगायतले सोचेको अमेरिका र भोगिने अमेरिका फरक रहेको विचार व्यक्त गरेका थिए । २८३ पृष्ठको पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय, अमेरिकामा नेपालीहरूको अवस्था, अमेरिकी जीवन प्रारम्भका लागि सुझावहरू, अमेरिकामा अवसर, अर्थ व्यवस्थापन, अमेरिकामा कर, कानुन सम्बन्धी कुराहरू, सडक सुरक्षा र नियम, नेपालसँग अन्तरसम्बन्ध लगायतका विभिन्न विषयहरू समावेश गरिएको छ । गीता सिलवालले प्रकाशन गरेको पुस्तकको मूल्य ५ सय रुपैयाँ रहेको छ ।

बाढीले जलविद्युत आयोजनामा क्षति, ४० हजार घरमा सेवा अवरुद्ध

वालिङ । अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण आँधीखोला जलविद्युत आयोजनामा क्षति हुँदा ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको गल्याङस्थित बुटवल पावर कम्पनी (बीपीसी) को आँधीखोला जलविद्युत आयोजनाको बाँधस्थलमा बाढीले क्षति पुर्‍याएपछि आज बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको हो । आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी संकलन पोखरीमा ढुंगा, गिटी, बालुवा भरिएको बीपीसीका प्रमुख डोल खरेलले बताए । ‘खोलामा जल सतह बढिरहेकाले अहिले पानी सङ्कलन गरिएको पोखरी सफा गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘खोलामा पानीको सतह घटेपछि पोखरी सफा गरेर मात्रै टनेलमा पानी पठाउँछौँ र विद्युत सेवा सञ्चालन हुनेछ ।’ गल्याङस्थित आँधीखोलाबाट उत्पादन भएको ९.४ मेगावाट विद्युत् स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेगका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मीको केही भेग र पर्वतको केही भेग गरी करिब ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको प्रमुख खरेलले जानकारी दिए । वालिङ–६ स्थित मिर्दी खोलामा आएको बाढीले मिर्दी बजार नजिकै रहेको वितरण लाइनको पोल बगाएको छ । खोला बढेकाले उपकरणसहित मर्मत गर्न जानसक्ने अवस्था नरहेको उनले बताए । ‘बाढी र पहिराका कारण कहाँ के कति क्षति भएको छ भनी खोजी गरिरहेका छौँ,’ खरेलले भने, ‘कार्यालयलाई जानकारी आएका र थाहा पाइएका केही ठाउँमा मर्मत भइसकेका छन् भने केही मर्मत भइरहेका छन् । कतिपय ठाउँमा जलसतह बढी भएकाले मर्मतमा समस्या भइरहेको छ ।’ मर्मतका लागि प्राविधिक र उपकरण तयारी अवस्थामा भएपनि ठाउँठाउँमा सडक अवरुद्ध भएकाले कठिनाइ भइरहेको प्रमुख खरेलले जानकारी दिए । विद्युत सेवा अवरुद्ध हुँदा दैनिक काममा समस्या भइरहेको स्थानीय बताउँछन् ।

पहिराको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीकाे निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । बैठकमा सुरक्षा निकायले हालसम्मको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । उपप्रधानमन्त्री लामिछानेले ‘कमाण्ड पोष्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडालगायत सामग्रीको अभाव हुन नदिन आग्रह गरे । “ ‘हामीले सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन । क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौँ भन्ने विषय महत्वपूर्ण हुन्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘हामीले बनाएका विपद् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ । हामीले हरेक व्यक्तिको ज्यान जाँदाको राज्यको एक सदस्य गुमाउनुपरेको अनुभूति लिएर काम गर्नुपर्ने हुन्छ ।’ उनले पूर्वतयारीको योजनालाई कार्यान्वयनमा सघाउन राजनीतिक दल, सम्बन्धित निकाय र पक्षलाई आग्रह गरिसकेको जानकारी दिए । बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारीलगायत उपस्थिति थियो ।

पृथ्वीराजमार्गको कल्भर्ड बाढीले बगायो, यातायात ठप्प

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्णरूपमा बन्द भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले कल्भर्ड बगाउँदा राजमार्ग भएर गुड्ने सयौँ सवारीसाधान ठप्प भएका छन् । सूचनाको जानकारी पाएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए । उनले भने, ‘कल्भर्ड बगाएपछि राजमार्गमा सवारीसाधान सञ्चालन गर्न समय लाग्ने देखिएको छ ।’ म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा आज पहिरो खस्दा सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो खसिरहेकाले पानी नरोकिएसम्म पहिरो पन्छाउन कठिनाइ देखिएको उपरीक्षक रायले जानकारी दिए । उनले भने, ‘सडक माथिबाट निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भइरहेको छ । पानी पर्न रोकिएपछि पहिरो पन्छाउने छौँ ।’ पृथ्वीराजमार्गको अन्य क्षेत्रमा पहिरो खस्दा अवरोध भएका सडक पहिरो पन्छाएर सञ्चालन गरिएको प्रहरीले जनाएको छ । शुक्रबार रातिदेखि अविरल वर्षा भइरहेकाले राजमार्ग हुँदै यात्रा गर्ने सवारीचालक र सर्वसाधारणलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

उर्लियो बागमती, युएन पार्क करिडोर क्षेत्र डुबानमा (तस्बिरहरू)

काठमाडौं । गएरातिदेखिको लगातार वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेको छ । बागमती नदीमा पानीको बहाब बढ्दा ललितपुरको युएन पार्क क्षेत्रको बागमती नदी किनाराका संरचनाहरू डुबेका छन् । युनिएन पार्क करिडोरमा रहेको पाँचतले बिल्डिङभित्र पनि पानी पसेको छ । त्यहाँ पार्क गरेका राखिएका मोटरसाइकल पनि डुबेका छन् । यहाँका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ। काठमाडौं उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला,  जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।