विकासन्युज

कांग्रेस-एमालेबीचको सहमतिबारे प्रधानमन्त्रीले संसद्‌बाट स्पष्ट पार्नुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा प्रतिनिधि सभाबाट त्यस्ता संशयहरूलाई स्पष्ट पार्नुपर्ने बताए । शनिबार जय नेपाल फाउण्डेशनले गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको बताए । उनले भने, ‘आजको रियालिटी के हो भने नेपाली कांग्रेस पार्टीले नेकपा एमालेसँग एउटा समझदारी गरेको छ । त्यो समझदारीको आधारमा हामी सत्तामा छौं । अब यसको पुष्टि हाम्रो एक्सनबाट हुनुपर्छ । हाम्रो कामबाट हुनुपर्छ । हामीले किन गर्‍यौं ? भोलि प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । त्यसकारण अहिले धेरै कुरा भन्न उपयुक्त नहोला । किनकि उहाँले नै भन्नुहोला । भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले भोलि राष्ट्रको नाममा अथवा विश्वासको मत लिँदै गर्दा खेरी, संसद्‌मा आफ्नो विचार राख्दै गर्दा खेरी यति वटा बुँदामा नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा समझदारी भयो । सात बुँदाको बीचमा भनिरहेको छ । अब यो सात बुँदा के हो भन्ने बारे भोलि त्यहाँ पढेर सुनाउनुपर्छ भन्ने म ठान्दछु ।’ उनले त्यो सहमतिलाई कसरी अघि बढाउने भन्नेमा प्रधानमन्त्री ओली नै प्रमुख जिम्मेवार रहेको बताए । उनले कांग्रेसका कारण सत्ता गठबन्धनमा कुनै खटपट नआउने समेत दाबी गरे । ‘म पार्टीकै जिम्मा लिएर भन्न सक्छु कि अहिले नेकपा एमालेसँग भएको सहमतिको कार्यान्वयनमा कांग्रेसका तर्फबाट कुनै तलमाथि हुदैन ।अहिले २ वर्ष नेकपा एमालेका अध्यक्षज्युको नेतृत्वमा सरकार चलाउने भनेर जुन भनिएको छ । हाम्रो कारणले, हामीेले चकचक गरेर, हामीले लोभ गरेर, यता उता हात लम्काएर यो दुई वर्ष उहाँले सरकार चलाउने कुराको सन्दर्भमा कही पनि हाम्रो कारणले तलमाथि हुँदैन,’ उनले भने । महामन्त्री थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अन्य दललाई सधैँभरि झुक्क्याउन सक्छु भन्ने भ्रम र चकचकको कारणले नै कांग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको दाबी गरे ।

ड्रागन फ्रुट बिक्रीबाट वार्षिक १६ लाख आम्दानी

तनहुँ । जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष १६ लाख रुपैयाँ आम्दानी गरेकी छन् । ९ रोपनी क्षेत्रफलमा लगाइएका दुई हजार एक सय बिरुवाबाट उनले १६ लाख रुपैयाँ आम्दानी गरेकी हुन् । ड्रागन फ्रुटका दाना पाक्न थालेपछि टिप्न र बिक्री गर्न यो समयमा भ्याइनभ्याइ हुने गरेको किसान गौलीले बताइन् । ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी विसं २०७९ मा भारतको हैदराबादबाट ‘सी’ प्रजातिका बिरुवा ल्याएर खेती सुरु गरेको उनले जानकारी दिइन् । ‘मासिक २० हजार बुझाउने सम्झौता अनुसार २० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक रूपमा खेती गर्दै आएको छु, गौलीले भनिन्, ‘अघिल्लो वर्ष १६ लाख बराबरको ड्रागन फ्रुट बिक्री गरेको जनाउँदै यस वर्ष फल राम्रो लागेकाले २० लाख बराबरको बिक्री हुने अपेक्षा गरेको छु ।’ ‘वैशाखदेखि ड्रागन फुल्न सुरु गर्छ, फूल फुलेको ६० दिनको अवधिमा पाक्छ र टिप्नलायक हुन्छ’ उनले भनिन् ‘असारदेखि मङ्सिर ६ महिनासम्म फल टिप्न सकिन्छ ।’ यसवर्ष पहिलो छिमालमा ३५, दोस्रो छिमालमा एक हजार र तेस्रो छिमालमा एक हजार किलोग्राम ड्रागन फ्रुट टिपिसकेको उनले जानकारी दिइन् । उनका अनुसार ड्रागन फ्रुट तेह्र छिमालसम्म टिप्न सकिन्छ । अधिकांशले फार्ममै आएर खरिद गरी लैजाने गरेका गौलीले बताइन् । बाँकी रहेका फल दमौलीका फलफूल र तरकारी व्यवसायीलाई बिक्री गर्ने गरेको उनले जानकारी दिइन् । ‘ड्रागन बिक्रीका लागि अन्यत्र लैजानु परेको छैन् । उत्पादित फल दमौलीमा नै खपत हुने गरेको छ’ उनले भनिन् । गौलीका अनुसार फार्ममा दैनिक दुई जना कामदारले नियमित रोजगारी पाएका छन् । उत्पादित ड्रागन फ्रुट ग्रेडिङ गरेर प्रतिकिलोग्राम पाँच सयदेखि सात सय रुपैयाँसम्म बिक्री गर्ने गरिएको उनले बताइन् । अवलोकनका रूपमा विकास हुँदै पछिल्लो समय गौलीको फार्म अवलोकन केन्द्रका रूपमा विकास हुँदै गएको छ । विद्यालय र कलेजका विद्यार्थी, शिक्षक तथा स्थानीय अवलोकन गर्न यहाँ आउने गरेका छन् । ड्रागन फ्रुटका बारेमा जानकारी लिन सरकारी कार्यालयका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसमेत फार्ममा आउने गरेका किसान गौलीले बताइन् । ‘फार्ममा ड्रागन फ्रुट पाकेको समयमा मानिसलाई भित्र पस्न दिने गरे पनि अन्य समयमा रोक लगाउने गरिएको छ’ उनले भनिन् ।

पूर्वप्रधानमन्त्री चन्द भेट्न वीर अस्पताल पुगे उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शनिबार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेरै स्वास्थ्य लाभको कामना गरेका छन् । बिहीबारदेखि वीर अस्पतालमा उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए । उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ । पूर्वप्रधानमन्त्री चन्द भेट्न उद्योगमन्त्री भण्डारी एमालेका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दसहित वीर अस्पताल पुगेका थिए ।

मनसुनी विपदका मृतक परिवारलाई २ लाखका दरले राहत निकासा

काठमाडौं । मनसुनी विपदमा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरूप दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको र उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पुर्‍याएर पीडित परिवारलाई राहत वितरण पनि गरिसकेका छन् । मनसुनको अवधिमा सबै प्रकृतिका विपदमा परेर अहिलेसम्म एक सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ ।मनसुनका समयमा यही देशभर परेको भारी वर्षाका कारण विपद्का घटना बढेपछि उच्च जोखिममा रहेका १२५ जनालाई सुरक्षा निकायद्वारा जीवित्तै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ । प्राधिकरणका प्रवक्ता उपसचिव डा डिजन भट्टराईले ओखलढुङ्गा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिए । शुक्रबार मात्रै गएको एक महिनामा भएको मनसुनी विपद्को अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत सङ्घ संस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान वस्तु वितरण गरिएको जानकारी दिएको छ । प्रतिवेदन अनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरूप १५ हजारदेखि २० हजार रुपैयाँसम्म वितरण गरिएको जनाइएको छ । प्रवक्ता भट्टराईका अनुसार रेडक्रसबाट हालसम्म सात सय ४५ थान तारजाली, दुई सय ९५ थान ब्ल्याङ्केट, दुई सय पाँच थान म्याट्रेस, एक सय २५ थान भाँडाकुँडा, एक सय थान झुल, २२५ थान सरसफाइ किट, एक हजार १३८ मिटर कपडा उपलब्ध गराइएको र गृह मन्त्रालयमातहत निकायबाट ५२० थान त्रिपाल, ५० थान टेन्ट, तीन सय थान ब्ल्याङ्केट, एक सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ। उनले समन्वयात्मक रूपमा विपद् व्यवस्थापनको काम जारी रहेको पनि जानकारी दिए । यसपालि बढी वर्षा हुने आँकलन रहेको थियो । मनसुनको सुरुआत महिनामै भारी वर्षाले जनधनको क्षति गराएको छ । रासस

सरकारी ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो

काठमाडौं । नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ३ करोड रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्र १ खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ सरकारी ऋण थपिएको छ । कार्यालयले प्रकाशित गरेको ‘२०८१ असार मसान्तसम्मको सार्वजनिक ऋणको संक्षिप्त प्रतिवेदन’ अनुसार २०८० साउनमा २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ बराबर रहेको सरकारी ऋण २०८१ असार समान्तसम्म बढेर २४ खर्ब ३४ अर्ब ३ करोड ६५ रुपैयाँ लाख पुगेको हो । वैदेशिक मुद्राको समायोजनपछिको बाँकी ऋण दायित्व २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ बराबर छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आधारमा सार्वजनिक ऋणको प्रतिशत ४२.६५ प्रतिशत बराबर हो । कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख रुपैयाँ अर्थात् जिडिपीको २०.७० प्रतिशत र बाह्य ऋणको दायित्व १२ खर्ब ५२ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ अर्थात् जिडिपीको २१.९५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले जम्मा ४ खर्ब ५२ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा असार मसान्तसम्ममा ३ खर्ब ५८ अर्ब २ करोड ९५ लाख रुपैयाँ ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७९.०८ प्रतिशत छ । गत आर्थिक वर्षका लागि ऋण परिचालनको लक्ष्यमध्ये आन्तरिक ऋण प्राप्ति ९७.६८ र बाह्य ऋण ५८.१० प्रतिशत रहेको छ । आन्तरिकतर्फ २ खर्ब ४० अर्ब ऋण उठाउने लक्ष्य रहेकोमा २ खर्ब ३४ अर्ब ४२ करोड रुपैयाँ उठाइएइको छ भने बाह्यतर्फ २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य रहेकोमा १ खर्ब २३ अर्ब ६० करोड रुपैयाँ बराबर उठाइएको हो । गत आर्थिक वर्षमा ऋण सेवा खर्चका लागि ३ खर्ब ३० अर्ब वार्षिक बजेट विनियोजन भएकोमा गत असार मसान्तसम्म ३ खर्ब ५अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबर भुक्तानी भएको छ । यो वार्षिक विनियोजनको आधारमा ९२.५४ प्रतिशत बराबर हो । कुल गार्हस्थ्य उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ५.३५ प्रतिशत बराबर हो । गत आर्थिक वर्षमा सरकारले २ खर्ब २३ अर्ब ३४ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ भने ८२ अर्ब ३ करोड १७ लाख रुपैयाँ बराबर ब्याज भुक्तानी गरेको छ ।

उपल्लो डोल्पाको मोरिम्ला नाका खोल्ने तयारी

डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ । चीनको सिमानामा पर्ने उक्त नाका कोरोना महामारीपछि बन्द थियो । नाका यही साउन को १७ गतेदेखि खोल्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले हालसम्म एक हजार आठ सयभन्दा बढी प्रवेशाज्ञा जारी गरेको छ । दिनहुँ प्रवेशाज्ञा लिन उल्लेख्य सङ्ख्यामा नागरिक आइरहेको प्रजिअ दाहालले बताए । उपल्लो डोल्पावासीको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको उक्त नाका लामो समयपछि खुल्न लागेकाले यस अवधिमा कुनै पनि प्रकारका अप्रिय घटना नघटुन् भनेर सीमाक्षेत्र आसपासमा अस्थायी सुरक्षा पोष्ट खडा गरेर जाँचमा कडाइ गरिने उनले बताए । अवैध तथा प्रतिबन्धित वस्तु ओसारपसार गर्न नदिन डिभिजन वन कार्यालयले समेत सो क्षेत्रमा निगरानी गर्ने भएको छ । प्रन्ध दिनका लागि मात्र खुल्ने उक्त नाकाबाट उपल्लो डोल्पावासीले चामल, नुन, तेल, चिया, लत्ताकपडा, घिउ, चिया, पेयपदार्थलगायत खाद्यवस्तुको किनमेल गर्ने गर्दछन् । यसरी खरिद गरिएका सामग्री घोडा, खच्चड, याक, चौरी, भेडा र मोटरसाइकलमा ढुवानी गर्ने गरिन्छ । उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ गाउँपालिकाका नागरिकलाई सदरमुकाम झरेर सामान किन्न एक सातासम्म लाग्नुका साथै महँगो पनि पर्छ । डोल्पोबुद्ध गाउँपालिकाबाट एक दिननमै सो नाका पुग्न सकिन्छ । यस वर्ष तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउन्टी नाकामा व्यापारिक मेला लाग्ने भएकाले सामान सस्तो पाइने डोल्पोबुद्ध गाउँपालिकाका पेमाछेवाङ गुरुङले बताए । यो वर्ष उपल्लो डोल्पामै पर्ने क्याटो नाका भने नखुल्ने बताइएको छ ।

क्यान्सर रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौं विश्वविद्यालय

काभ्रेपलाञ्चोक । स्वदेशमा नै जटिल प्रकारको ‘क्यान्सर’ रोग पहिचान गर्न काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले अनुसन्धान केन्द्र सञ्चालन गर्ने भएको छ । यसका लागि विश्वविद्यालयले भवन व्यवस्थापन गरी केन्द्र प्रमुखसमेत चयन गरिसकेको छ । क्यान्सर रोगको समयमा नै पहिचान तथा उपचारार्थ प्रयोगशाला सञ्चालन गर्न केन्द्र स्थापना गर्ने योजना बनाएको जनाइएको हो । विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआईसी) को भवनमा केन्द्र सञ्चालन गर्न लागेको केन्द्रका निमित्त निर्देशक प्राडा राजेन्द्र ज्ञवालीले जानकारी दिए । उनका अनुसार कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) को आर्थिक सहयोगमा स्थापित केन्द्रमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी राष्ट्रिस्तरको क्यान्सर रोग अनुसन्धान केन्द्र बनाउन लागिएको हो । उनले कोइकाले विश्वविद्यालयका लागि उपलब्ध गराएका स्वास्थ्य सामग्रीमा थप आवश्यक रसायनलगायत सामग्री ब्यवस्थापन गरी केही महिनामै सञ्चालनमा ल्याइने बताए । हाल पनि क्यान्सर रोग सम्बन्धित कतिपय परीक्षण गर्न विदेश पठाउनुपर्ने बाध्यता रहँदै आएकाले केन्द्र सञ्चालनपश्चात उक्त बाध्यता हट्ने प्राडा ज्ञवालीको दाबी गरे । ‘परीक्षणका लागि विदेश पठाइएका नमूनाको रिपोर्ट आउन तीन÷चार हप्ता लाग्ने गर्छ, रिपोर्ट आउँदा क्यान्सर अर्को चरणमा प्रवेश गरिसक्ने खतरा भएकाले बिरामीको समय र पैसा जोगाउन केन्द्रले मद्दत गर्नेछ,’ उनले भने । विश्वविद्यालयले केन्द्र सञ्चालनका लागि हालैमात्र क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झालाई प्रमुखमा नियुक्त गरेको छ । केन्द्रको प्रयोगशालामा पहिलो चरणमा रक्त क्यान्सरको उपचारका लागि आवश्यक जनशक्ति, आधुनिक प्रविधि र सुविधा उपलब्ध गराउने जनाइएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपालमानै सबै किसिमको क्यान्सरको जाँच गर्ने प्रविधि र उपकरण विश्वविद्यालयमा भित्र्याइसकिएको जानकारी दिए ।

सिमलताल घटना : बेपत्ता यात्रु खोज्न भारतीय टोली नेपाल आइपुग्यो

काठमाडौं । नारागणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ । भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार गएराति सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर शनिबार बिहानै घटनास्थलतर्फ आइरहेको छ । टोलीले आजैदेखि काम थाल्ने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरू आएका हुन् । उनीहरूले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका बताइएको छ । उनीहरू सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थल पुग्दै छन् । कार्यकारी प्रमुख पोखरेलका अनुसार नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा भीष्मकुमार भुसालका अनुसार गएको असार ३१ गते भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको थियो । सोही आधारमा भारतीय खोज तथा उद्धार टोली नेपाल आएको हो । यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३-२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए । उक्त बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । अझै ३९ यात्रुको दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन । उक्त घटनाको अध्ययन गर्न गृहमन्त्रालयले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको छ ।