काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनको बिद्युत बक्यौतामा गलत हिसाब निकालेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै कुलमानले गलत गरेको धारणा राखेका हुन् ।
‘उद्योगीहरुले हामीले बिजुली प्रयोग गरेको पैसा मात्रै तिर्छौं भनेका छन्, पैसा दिँदैनौं नै भनेका छैनन्, तिमी धनी छौ, मलाई यति चाहिन्छ तिमिले दिनै पर्छ भनेर हुँदैन, बिजुली नदिएर पैसा उठाएर हुँदैन, प्राधिकरणका एमडीले गलत हिसाब देखाए,’ ओलीले भने ।
उनले उद्योगसँग २४ घण्टाको सम्झौता गरेर लोडसेडिङ गर्न नहुने पनि बताएका छन् । उद्योग बन्द गरेर समस्याको समाधान नहुने उनको भनाइ छ ।
‘प्राधिकरणका एमडीलाई बोलाएर उद्योगी, मुख्य सचिव र सचिव लगायत सबैलाई राखेर छलफल गरेँ, कुरा बुझ्दा गलत हिसाब निकालेको देखियो, अब छानबिन गर्नु पर्ने देखियो, उद्योग बन्द गरेर पैसा आउँदैन, यो विवाद ९ वर्ष अगाडिदेखिको हो, पहिलो पटक बिजुली काटिएको पनि होइन, बिचमा कुनमा के मिलाएर फेरि जोडियो के काटियो,’ उनले प्रश्न गर्दै भने, ‘६ वटा उद्योगको लाइन काटेर अरुको किन नकाटेको ?’