काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ ।
कम्पनीले देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेको र अधिकांश साना ठूला कम्पनीहरू केही न केही समस्यामा रहेकाले प्रतिकुल परिस्थितिमा सहयोग हुने गरी आर्थिक वर्ष २०८१/८२ का लागि नौलो किसिमको सेवा लिएर आएको बताएको छ ।
कम्पनीले विज्ञप्तिमार्फत मुलुकमा ठूलो संख्यामा कम्पनीहरू सञ्चालनमा रहेता पनि कम्पनी ऐनको व्यवस्थाहरूको बारेमा अधिकांश सञ्चालकलाई जानकारी नै नहुने गरेको बताएको छ ।
आवश्यक लेखा प्रणाली, व्यवस्थापन, बजारीकरण, अटोमेसन, वित्तीय संस्थाबाट लिने सेवा तथा सञ्चालक समिति र साधारणसभाबाट गर्नुपर्ने काम कर्तव्यको जानकारी नहुँदा यी सबै काम गर्न पनि समय र खर्च अत्यधिक लागिरहेको कम्पनीले उल्लेख गरेको छ ।
मानिसलाई कुन सेवा कहाँ र कति खर्चमा पाइन्छ थाहा छैन र स्टार्ट अप र नयाँ व्यवसाय गर्नेहरू त झनै पिडित छन् भन्दै यस प्रकारका समस्याहरू समाधानका लागि एकद्वार प्रणालीबाट न्यूनतम शुल्कमा आवश्यक सबै सेवाहरू दिने गरी एकद्वार प्रणाली सेवा ल्याएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै अब कम्पनी व्यवस्थापन गर्न, लेखा प्रणाली र परीक्षण गर्न, सफ्टवेयरबाट अटोमेशन गर्न, बैंक तथा फाइनान्सबाट कर्जा लिन र चुक्ता गर्न, कानुनी सल्लाह लिन पनि भौंतारिरहनु नपर्ने कम्पनीको भनाइ छ ।
कम्पनीले अन्य कम्पनीहरूलाई चाहिने आवश्यक सबै विशेषज्ञ सेवाहरू एउटै कार्यालयमा एउटै शुल्कबाट उपलब्ध गराउने पनि बताएको छ । यो सेवाबाट विशेषगरी साना र मझौला कम्पनीरू लाभान्वित हुने भन्दै समय र खर्चको बचत हुने तथा मानसिक तनावबाट मुक्त हुँदा व्यवसाय वृद्धिमा केन्द्रित हुन मद्दत पुग्ने विश्वास कम्पनीले राखेको छ ।
नेपालमा अहिले ३ लाख २४ हजार १८६ प्राइभेट लिमिटेड र २ हजार ५३ वटा लिमिटेड कम्पनीहरू दर्ता छन् ।