काठमाडौं । सिधा कुरा नामक न्युज पोर्टल तथा युट्युब च्यानलविरुद्ध दायर भएको अवहेलना मुद्दा सुनुवाइका लागि प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा ९ न्यायाधीश संलग्न इजलास गठन भएको छ ।
सर्वोच्च अदालतले अन्तिम सुनुवाइ गरी फैसलाका लागि प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल संलग्न न्यायाधीशको बृहत् इजलास गठन गरेको हो ।
सिधा कुरा अवहेलना प्रकरणमा सर्वोच्च अदालत प्रशासनले नै प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो । यसअघि गत जेठ ३० गते न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले नौ न्यायाधीश संलग्न बृहद इजलास गठनका लागि आदेश दिएको थियो ।
उक्त इजलासमा सुनुवाइ चलिरहेको छ । सिधा कुराले ‘स्टीङ अप्रेसन’ को नाममा अदालत, न्यायाधीश र कानुनव्यवसायीका बिषयमा प्रसारण गरेको अडियो ‘फेक’ पुष्टी भएपछि मिडियाप्रति सर्वोच्च कठोर बन्ने संकेत देखिएको छ ।