विकासन्युज

भेटायोको दशैं अफर घोषणा, कम मूल्यमै सफा गर्नूहोस् घर

काठमाडौं । भेटायोले दशैंलक्षित अफर घोषणा गरेको छ । भेटायो एक–स्टप सेवा प्लेटफर्म हो जसले घर मर्मत गर्नेदेखि प्लम्बिङ, विद्युतीय काम, सिकर्मी, कीट नियन्त्रण, सरसफाइजस्ता काम गर्दै आएकाे छ । काठमाडौं उपत्यकाभित्र छिटो, भरपर्दो र झन्झटरहित सेवाहरू उपलब्ध गराउँदै आएकाे भेटायाेले दशैं लक्षित विभिन्न अफर सार्वजनिक गरेकाे छ । भेटायोले दशैंकाे अवसरमा घरको भान्सा एक हजार ३ सय रुपैयाँ र बाथरुम तीन हजार ३ सय ८० रुपैयाँमा मर्मत गर्ने जनाएकाे छ । यसैगरी, ८५ रुपैयाँ प्रति किलाेमा सामान्य लुगा धाेइने र डबल सिरक ४ सय रुपैयाँमा धाेइने छ । साथै ५ थान भन्दा बढी अर्डर भएमा निःशुल्क डेलिभरीको व्यवस्था रहेकाे छ । तीन हजार रुपैयाँमा घर सफा गरिने पनि भेटायाेले जनाएकाे छ । १ हजार ५०० रुपैयाँमा (३ फिट सम्म) वा २ हजार ५०० रुपैयाँमा (३–५ फिट) मा चिम्नी सफा गरिनेछ । यसैगरी, टायल्स र मार्बल सफाइ १२ रुपैयाँ वर्ग फुट (न्यूनतम ५०० वर्ग फुटको ६ हजार रुपैयाँमा) गरिनेछ । साथै एउटा निःशुल्क बाथरूम सफाइ गरिनेछ ।

हेटौँडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

मकवानपुर । हेटौँडाबाट काठमाडौं जोड्ने सबै सडक बाढीपहिरोका कारण अवरुद्ध भएको छ । बिहीबारदेखि अविरल वर्षाका कारण शनिबार विभिन्न स्थानमा बाढीपहिरो जाँदा हेटौँडा–काठमाडौं खण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–काठमाडौं, कुलेखानी–मातातीर्थ–काठमाडौं र त्रिभुवन राजपथ अवरुद्ध भएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी ९सिडियो० तीर्थराज चिलुवालले त्रिभुवन राजपथ आज साँझसम्म सञ्चालनको तयारीअनुरुप काम भइरहेको बताए । उनका अनुसार त्रिभुवन राजपथबाहेक अन्य सडक भने सञ्चालनमा आउन केही समय लाग्नेछ । प्रहरीले पहिरो पन्छ्याउन स्थानीय तह, सडक विभागसँग समन्वय भइरहेको उनले बताए ।

झ्याप्लेखोलाबाट निकालियो २५ जनाको शव

मलेखु (धादिङ) । धादिङ र काठमाडौंको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आइतबार बिहान ११ बजेसम्म २५ शव फेला परेका छन् । शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आज थप ११ शव निकालेको हो । शनिबार राति एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालेको उद्धार टोलीले आज बिहान नौ पुरुष र दुई महिलाको शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए । पुरिएका सवारीसाधन धुजाधुजा अवस्थामा रहेको र शव पनि छुट्टाछट्टै भेटिएकाले कुन सवारीसाधनको शव कुन हो भन्ने यकीन गर्न कठिन छ । पुरिएको अवस्थामा फेला परेका सवारीसाधन टुक्राटुक्रा बनेकाले नम्बर पहिचान गर्न कठिन भएको सूचना अधिकारी सिलवालले जानकारी दिए । गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसको भने यकीन भएको छ । एस्काभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको शव देखिएपछि बसको यकीन भएको यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिए । पहिरोले पुरिएको अवस्थामा फेला परेको सो बसमा मुग्लिनसम्म चालक दलका तीन र एक यात्रु रहेको भनिएपछि बीच बाटोबाट यात्रु चढाएको हुनसक्ने अनुमान छ । त्यस्तै, चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौंका लागि छुटेको माइक्रोबस (जम्बो हाइस)पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको र त्यसमा कति यात्रु थिए भन्ने यकीन नभएकाले पहिरोमा अझ थुप्रै शव भेटिनसक्ने आशङ्का गरेर उद्धार टोलीले खोजीकार्य तीव्र पारेको छ । शुक्रबार अपराह्न करिब २ बजे मनकामना माई यातायात प्रालिमार्फत सञ्चालित बा २ ख १३४५ नम्बरको बस सम्पर्कविहीन रहेको प्रालिका अध्यक्ष नरबहादुर रानाले जानकारी दिए ।

माउन्टेन इनर्जी नेपालका सीईओ श्रेष्ठले दिए राजीनामा

काठमाडौं । माउन्टेन इनर्जी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दामोदर श्रेष्ठले राजीनामा दिएका छन् । असोज ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनकाे राजीनामा स्वीकृत गरेको छ । मंसिर १ गतेबाट लागु हुने गरी श्रेष्ठको राजीनामा स्वीकृत गरिएको कम्पनीका सचिव समबहादुर भट्टले जानकारी दिए ।

सिटिजन्स डिजिटल महिना, प्रत्येक कारोबारमा ‘क्यासब्याक’

काठमाडौं । कोरोना महामारीपछि डिजिटलाइजेशनले ठूलो फड्को मार्‍यो । विगतमा कुनै बैठक तथा छलफल गर्नुपर्‍यो भने भौतिक उपस्थिति अनिवार्य थियो । तर, पछिल्लो समय जुम, टिमलगायत विभिन्न अनलाइन माध्यमबाट सामूहिक छलफल हुँदै गरेका छन् । डिजिटल माध्यमको विकासले लागतसँगै समयको पनि बचत भएको छ । डिजिटलको भ्यालू दिनप्रतिदिन बढ्दै गएपछि बैंकहरू पनि यसतर्फ मोडिएका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा कुनै पनि काम गर्नुपर्दा डिजिटल माध्यमलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् । बैंकको आन्तरिक प्रणालीमा भइरहने कागज प्रिन्टदेखि डकुमेन्टमा हस्ताक्षरका काम डिजिटलबाटै हुन थालेका छन् । जबकि विगतमा कुनै डकुमेन्टमा हस्ताक्षर गर्नुपर्‍याे भने शाखा कार्यालयबाट केन्द्रीय कार्यालयमा पुग्नपर्ने बाध्यता थियो । तर, त्यो झण्झटबाट मुक्त हुँदै शाखा कार्यालयबाटै आन्तरिक काम पनि भइरहेका छन् । जसको प्रभाव बैंकको लागत र समयमा परेको देखिन्छ । साथै कुनै ऋणीलाई कर्जा चाहिएमा बैंकको शाखा कार्यालयमा जानुपर्ने अवस्था पनि निरन्तर कम भइरहेको छ । बैंकले कर्जा प्रवाह प्रक्रियामा ठूलो लगानी गरेर सफ्टवेयर सञ्चालनमा ल्याएको छ । कर्जासम्बन्धि सबै काम पनि डिजिटल माध्यमबाट हुने गरेको छ । ग्राहकलाई पनि डिजिटलमा रूपान्तरण गर्न बैंकले धेरै काम गरिरहेको छ । ग्राहकले बैंकमा नआई घरबाटै सेवा लिन सकिने गरी बैंकका प्रणाली डिजिटलाइजेशन भएका छन् । ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहित गर्न सिटिजन बैंकले असोज महिनामा बृहत्तर योजना ल्याएको छ ‘सिटिजन्स डिजिटल महिना अर्थात सिटिजन्स डिजिटल मन्थ’ । बैंकका डिपोजिट मार्केटिङ हेड पारस विक्रम थापाका अनुसार डिजिटल प्रमोनसनका लागि बैंकले लाखौं रुपैयाँ बजेट छुट्याएको छ । ‘बैंकका ग्राहकलाई डिजिटल कारोबारमा बानी बसाल्ने मुख्य उद्देश्य हो, निक्षेप संकलनका लागि मात्रै नभई ग्राहकलाई डिजिटलमैत्री बनाउन पनि अफर ल्याएका हौं,’ उनले भने । खाता खोलेपछि डिजिटलबाट कारोबार गराउने उद्देश्य बैंकको रहेको थापाको भनाइ छ । उनका अनुसार १८ लाख खाता छन् । तर, सबै खातामा सक्रिय कारोबार भइरहेका छैन । त्यसैले डिजिटल कारोबारमा प्रोत्साहन गर्न डिजिटल मन्थ योजना ल्याएको उनले बताए । सिटिजन्स बैंकमा ७५ प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुने गरेको उनले जानकारी दिए । ‘यी योजना निरन्तर चलिरहन्छन् । तर, क्यासब्याकको सुविधा भने असोजमा मात्रै हो । यस्ता अफरहरू अन्य चाडपर्वको समयमा पनि ल्याउँछौं, लगत्तै तिहारमा पनि अन्य अफर आउन सक्छन्,’ थापाले भने । डिजिटल लन्ज बैंकले केन्द्रीय कार्यालयमा स्मार्ट हब सञ्चालनमा ल्याएको छ । जसमा एटीएम मेसिन, क्यास डिपोपजट मेसिन र चेक डिपोजिट मेसिन सञ्चालनमा छन् । चेक डिपोजिट र क्यास डिपोजिट गर्न अब काउन्टरमा लाइन लागिरहनु पर्दैन । यी मेसिन २४औं घण्टा खुला रहन्छन् । जतिबेला ग्राहकलाई सहज हुन्छ त्यही बेला गएर चेक र क्यास डिपोजिट गर्न सकिन्छ । क्यास डिपोजिट भने ५ सय र १ हजार रुपैयाँका नोट मात्रै जम्मा गर्न सकिन्छ । दशैं क्याम्पेन दशैंको समयमा अधिकांश मान्छे कर्मभूमि छाडेर जन्म घर जान्छन् ।  बैंकले दशैंमा मोबाइल बैंकिङ प्रयोग गरेर हवाईजहाजको टिकट काट्दा ४ सय रुपैयाँ फिर्ता दिने भएको छ । ‘दशैंको लहर, सिटिजन्ससँग घर जाने रहर’ नाराका साथ यो अफर ल्याएको हो । उक्त अफर असोज ६ गतेदेखि लागू भएर असोज १७ गतेसम्म कायम रहने थापाले बताए । सिटिजन्स डिजिटल दक्षिणा विगतमा नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण गर्थ्याे । तर, यसपटक भने राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ । त्यसैले बैंकले डिजिटल माध्यमबाटै दक्षिणा दिन प्रोत्साहित गर्न डिजिटल दक्षिणा योजना ल्याएको हो । मोबाइल बैंकबाट क्यूआर स्क्यान गरी दक्षिणा दिँदा १ सय रुपैयाँ फिर्ता पाउनेछन् । तर, दक्षिणा रकम भने न्यूनतम ५ सय रुपैयाँ हुनुपर्नेछ । जस्तो सिटिजन्स बैंकको मोबाइल बैंकिङबाट ५ सय रुपैयाँ दक्षिणा दियो भने १ सय रुपैयाँ फिर्ता पाइनेछ । यो अफर टीकाको दिनदेखि सुरु भएर दशैं नसकिँदासम्म सञ्चालन रहने  मार्केटिङ हेड थापाकाे भनाइ छ । मोबाइल बैंकिङ कारोबार दशैं नजिकै आइसकेको छ । अधिकांश मान्छे दशैंका लागि सपिङ पनि गरिरहेका छन् भने सपिङ गर्ने योजना पनि बनाइरहेका छन् । सपिङ गर्दा सिटिजन्स बैंकको मोबाइल बैंकिङबाट कारोबार गर्‍याे भने १० प्रतिशत अथवा १ सय रुपैयाँसम्म फिर्ता दिनेछ । ‘दशैंमा डिजिटल कारोबार, सिटिजन्स बैंकको क्यास ब्याकको बहार’ नारा रहेको यस योजनामा कसैलाई रकम पठाउनुपर्‍याे भने पनि क्यास ब्याक पाइनेछ । यो अफर असोज १ गतेदेखि असोज ३० गतेसम्म कायम लागू हुनेछ । मोबाइल बैंकिङ, फण्ड ट्रान्सफर र मोबाइल टपअप गर्दा यो लागू हुनेछ । डिजिटल कार्ड यसपालीको दशैंमा बैंकले डिजिटल कार्ड प्रयोगकर्ताका लागि पनि स्किम ल्याएको छ । ‘चलाऊँ सिटिजन्स काड, पाऊँ क्यासब्याकको उपहार’ नारा रहेको यस स्किममा दशैं अवधिभर कार्ड प्रयोग गरेर कारोबार गर्दा बैंकले २ सय रुपैयाँ फिर्ता दिने डिपोजिट मार्केटिङ हेड थापाले बताए । क्यूआर टेलर रकम झिक्न शाखा कार्यालयमा जाँदा चेक छुट्यो भने अब चिन्ता लिनुपर्दैन । किनभने बैंकको क्यूआर टेलरमा स्क्यान गरी नगद झिक्न सकिन्छ । जसरी मर्चेन्ट वा पसलमा गएर क्यूआर स्क्यान गरेर रकम माग्न सकिन्छ, त्यसैगरी बैंकको शाखा कार्यालयमा गएर नगद झिक्न सकिन्छ । क्यूआर टेलरबाट कारोबार पाऊँ उपहार नै उपहार नाराका नारा रहेको यस स्किम असोज ६ गतेदेखि असोज ११ गतेसम्म उपत्यकाभित्र लागू हुनेछ । साथै उपत्यका बाहिर भने असोज १३ गतेदेखि असोज १८ गतेसम्म लागू हुनेछ । मोबाइल बैंकिङ सक्रिय कतिपय ग्राहकले मोबाइल बैंकिङको सुविधा लिएका छन् । तर, उनीहरू सक्रिय रूपमा कारोबार गर्दैनन् । उनीहरूका लागि बैंकले ‘पहिलो कारोबार सिटिजन्ससँग, ग्राहक सबै दंग’ स्किम ल्याएको छ । डिजिटलमा कारोबारमा प्रोत्साहित गर्न र निष्क्रिय रहेका ग्राहकलाई सक्रिय गराउन यो येजना ल्याएको हो । निष्क्रिय रहेका ग्राहकले पहिलो कारोबार गर्दा १० प्रतिशत अर्थात् १ सय रुपैयाँ छुटको व्यवस्था गरेको छ । यो स्किम असोज महिनाभरि लागू हुनेछ । साथै मोबाइल बैंकिङ नवीकरण गर्ने ग्राहकले १५० रुपैयाँसम्म छुट पाउने छन् । डिजिटल रेमिट्यान्स मोबाइलबाटै रेमिट्यान्स प्राप्त गर्न सकिने गरी पनि बैंकले रेमिट्यान्स अफर ल्याएको छ । यदि विदेशबाट रेमिट्यान्स पठाएको छ भने मोबाइल बैंकिङबाटै बैंक खातामा ल्याएमा १ सय रुपैयाँ फिर्ता गर्ने बैंकले जनाएको छ । ‘पाऊँ विदेशबाट पठाएको पैसा घर बसीबसी, सिटिजन्सले अझै पैसा थप्दा झन् खुसी’ नाराका साथ यो स्किम असोजभरि लागू हुनेछ । स्मार्ट बचत बैंकको स्मार्ट बचत खाता खोल्दा कागज चाहिँदैन । चेकबुकलगायत अन्य कुनै पनि किसिमका प्रिन्टिङ पेपर पनि बैंकले दिँदैन । यो खाता खोल्दा मोबाइल, इन्टरनेट बैंकिङ र कार्डमा पहिलो वर्ष नि:शुल्क हुनेछ । दोस्रो वर्षदेखि ५० प्रतिशत कम हुनेछ । बैंकले यस योजनालाई ग्रनी प्रडक्टमा रूपमा अघि सारेको छ । यस खाताका ग्राहकहरूको नाममा बैंकले वृक्षारोपण पनि गरिसकेको छ । असोजमा स्मार्ट बचत खाता खोल्नेहरूलाई बैंकले १ सय रुपैयाँ फिर्ता दिनेछ भने लक्की ड्र विजेतालाई पुरस्कारको व्यवस्था रहेको छ । जसमा प्रत्येक प्रदेशबाट २/२ जनालाई अवसर रहेको छ । बैंकले यी अफरका साथै अन्य विभिन्न स्किम पनि ल्याएको छ । भर्चुअल क्रेडिट कार्डमा पनि क्यासब्याकको सुविधा रहेको छ । ग्राहकसँगै बैंकले कर्मचारीलाई पनि प्रोत्साहित गर्न अफरको व्यवस्था गरेको छ । डिजिटलमा राम्रो गर्ने शाखालाई बैंकले रिवार्डको व्यवस्था गरेको बैंकको भनाइ छ ।

नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४ सम्पन्न, २ सयभन्दा बढी सहभागी

काठमाडौं । नेपालको आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन टेवा दिने उद्देश्यका साथ काठमाडाैंमा आयोजित नेपाल हस्पिटालिटी कन्क्लेभ– २०२४ सम्पन्न भएको छ । दुई दिनसम्म चलेको यस कन्क्लेभमा आतिथ्यता क्षेत्रसँग सम्बद्ध २०० जनाभन्दा बढी सहभागी थिए । उनीहरूले हस्पिटालिटी क्षेत्रको वर्तमान चुनौती, अवसर र रणनीतिहरूमाथि घनिभूत छलफल गरेका थिए । यसै छलफलको आधारमा निकट भविष्यमै तयार गरी कार्यान्वयनको लागि पर्यटन मन्त्रालयसमक्ष पेश गरिने बृहत स्वेतपत्रले नेपालको आतिथ्यता क्षेत्रको वृत्तिविकासमा योगदान गर्ने आयोजकहरूले विश्वास लिएका छन् । बिनस्टक एसिया नेपालले वाटरकम र नेपाल ट्राभलरको साझेदारीमा आयोजना गरेको यस कार्यक्रममा होटल एसोसिएसन नेपालको सहकार्य रहेको थियो । नेपाल सरकारले सन् २०२५ लाई ‘विशेष पर्यटन वर्ष’ र विसं २०८० को दशकलाई ‘नेपाल पर्यटन दशक’ घोषणा गरेको परिप्रेक्षमा आयोजित यस कन्क्लेभले सरकारको घोषणालाई कार्यान्वयनमा ल्याइ हस्पिटालीटी क्षेत्रको सम्भावनालाई थप गर्ने उद्देश्यका साथ यस क्षेत्रको नवप्रवर्तन, सहकार्य, आईटी प्रविधि, डिजिटल मार्केटिङ, नयाँ गन्तव्यकाे विकास र प्रवर्द्धन, दिगो पर्यटन, लगानी, नीतिगत सुधार तथा अन्तरउद्योग साझेदारीलगायत विविध विषयमाथि रहेर करिब १० वटा सामूहिक छलछल एवं अन्तरक्रिया चलाएको थियो । कन्क्लेभलाई यूएसएडअन्तर्गतको ट्रेन्ड एण्ड कम्पिटेटिवनेस लगायत एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय निजी कम्पनीहरूको सहायता रहेको थियो । कन्क्लेभको समापन समारोहलाई सम्बोधन गर्दै यूएसएड नेपालकी सहायक मिसन निर्देशक करेन वेल्चले यूएसएड नेपाल सरकार, स्थानीय समुदाय तथा निजी क्षेत्रका व्यवसायीहरूलगायतसँग साझेदारी गरी नेपालको पर्यटन क्षेत्रको सुदृढिकरणमा प्रतिबद्ध रहेको जानकारी दिइन् । बिनस्टक एसिया नेपाल लगायतका संस्थाहरूसँग सहकार्य गरी यस्तो महत्त्वपूर्ण कार्यक्रमको आयोजनामा हातेमालो गरी नेपाली आतिथ्यता र समग्र पर्यटन क्षेत्रको विकासमा योगदान गर्न पाउँदा गौरव महसुस भएको होटल एसोसियन नेपालका अध्यक्ष विनायक शाहले बताए । कन्क्लेभका प्रमुख योजनाकार तथा बिनस्टक एसिया नेपालका सहसंस्थापक सुबोध थापाले कन्क्लेभले आउँदा दिनमा पनि यस क्षेत्रको विकास तथा वृद्धिको लागि आवश्यक विषय र मुद्दाहरूको उठान गर्दै सोको समाधानका लागि नेपाल सरकार सरोकारवाला निकायहरूसमक्ष पैरवी गरिरहने जानकारी दिए ।

साढे ६ सय मेगावाटका १६ आयोजनामा क्षति, खर्ब बढीको लगानी प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी-पहिरोले साढे ६ सय मेगावाटका १६ वटा हाइड्रोपावर कम्पनीमा क्षति पुर्‍याएको छ । १६ वटा जलविद्युत आयोजनामा बाढीका कारण क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जानकारी दिएको छ । इप्पानका अनुसार बाढीका कारण ६५७ मेगावाटका १६ वटा आयोजान आंशिक तथा पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन् । यद्यपि जलविद्युत आयोजनामा सञ्चार विच्छेद भएकाले अन्य आयोजनाको विवरण आउन नसकेको इप्पानले जनाएको छ । यी १६ आयोजनामा करिब १ खर्बभन्दा बढीको लगानी छ।  बाढीले क्षति पुर्‍याएपछि हाइड्रोपावर लगानीकर्ताहरू चिन्तित बनेका छन् । केही आयोजनामा यसअघिको बाढीले समेत क्षति पुर्‍याएको छ । मान्डू हाइड्रोपावरको लगानी रहेको मकवानपुरस्थित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजनाको पावर हाउस पूर्ण रूपमा क्षति पुर्‍याएको छ । यसैगरी, माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित पाँचथरमा रहेको २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनाको पावर हाउस डुबानमा परेको छ । उक्त आयोजना गत वर्षको बाढीबाट पनि प्रभावित भएको थियो । त्यस्तै, पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना पुनः क्षतिग्रस्त भएको छ । जुन आयोजना गत वर्षको बाढीले क्षतिग्रस्त भएर पुनर्निर्माण सकिएर सञ्चालनमा आउने तयारीमा थियो । साहस ऊर्जाद्वारा प्रवर्द्धित सोलुखुम्बुको ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवक्समा क्षति भई उत्पादन बन्द भएको इप्पानले बताएको छ । त्यस्तै, सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित इलामको ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति पुर्‍याइ उत्पादन बन्द भएको छ । साथै सगरमाथाको नै लगानी रहेको ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेकाे छ । त्यस्तै, पाँचथरको फेमे खोला जलविद्युत आयोजना १ मेगावाटको बाँध र विद्युतगृह पूर्णरूपमा क्षति पुर्‍याएको छ भने लमजुङको सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाटको टेलरेस, इन्टेक र टनेल, सुपरन्यादी जलविद्युत आयोजनाको ४० मेगावाटसम्मको मार्गमा क्षति र प्रोटेक्सन वालमा क्षति पुर्‍याएको छ । धादिङको २५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत आयोजनाको पहुँचमार्गमा ठूलो क्षति र नु्वाकोटमा रहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको छ । पाँचथरमा रहेको १० मेगावाट क्षमताको हेवाखोला जलविद्युत आयोजनाको क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको इप्पानले जनाएको छ । त्यस्तै, १५.१ मेगावाटको सभाखोला बी जलविद्युत आयोजनामा पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ । साथै पाँचथरकै ६.३ मेगावाटको सभाखोला सी जलविद्युत आयोजना र कास्कीको ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनाको पहुँचमार्गमा क्षति पुर्‍याएको छ । नुवाकोटमा रहेको १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनाको २ वटा स्काभेटर, २ वटा लोडर र ३ वटा टिप्पर, बेलीब्रिज बगाएको छ भने पावर हाउस स्काभेसन पुरिएको छ ।

बिग्रिँदो जीवनशैली र जंकफुडले युवा अवस्थामै मुटुरोगको सिकार

विश्वमै मुटुरोगको जोखिम केही दशकयता बढ्दै ह्वात्तै बढेको छ । खासगरी युवा पुस्तामा कम उमेरमै मुटुरोगको समस्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशत बढी मुटुरोगका कारणले हुने मृत्यु नेपालजस्ता निम्न र मध्यम आय भएका राष्ट्रहरूमा हुने गर्दछन् । नेपाललगायतका दक्षिण एशियाली राष्ट्रहरूमा युवामा मुटुरोगको प्रकोप वर्षेनी बढ्दै गएको देखिन्छ । केही वर्षअघिको तथ्यांकअनुसार विकसित राष्ट्रहरुमा हार्टअट्याक (ह्दयाघात) हुने औसत उमेर ६० वर्ष भनेता पनि अविकसित राष्ट्रहरूमा १० वर्ष अगाडि हुने देखाएको छ । भारतमा ह्दयाघात हुने औसत उमेर ५० वर्षको हाराहारीमा रहेको देखाएको छ भने दुई तिहाई मृत्यु कम उमेरका व्यक्तिहरूलाई हुने गरको अनुसन्धानबाट देखिन्छ । विश्वव्यापीरुपमै वातावरणीय प्रदूषणका कारण पनि मुटुरोग समस्या बढिरहेको पाइन्छ । अस्वस्थ खानपिन, शारीरिक निष्क्रियता, मानसिक तनाव, मोटोपना, प्रश्षण र नियमित स्वास्थ्य जाँच नगर्नु, चुरोट र अत्यधिक मदिरा सेवन युवाहरूमा हुने मुटुरोगको प्रमुख कारणको रुपमा लिन सकिन्छ । धेरै चिल्लो, धेरै पिरो, धेरै गुलियो तथा गुलिया पेय पदार्थहरूको सेवन गर्ने चलनले पनि उच्च रक्तचापको समस्या बढेको विभिन्न अनुसन्धानहरूले पुष्टि गरेको छ । अधिकांश युवाहरूमा मुटुरोगप्रतिको सचेतना अझै आउन सकेको देखिँदैन । आधुनिकीकरणले अस्वस्थ जीवनशैली बढिरहेको देखिन्छ । युवाहरूमा यो समस्या बढी देखिनुको मुख्य कारणहरुमा शारीरिक ब्यायाम नगर्ने, मदिरा चुरोटको सेवन बढ़ी गर्ने, स्वास्थ्य जाँच नगर्ने, औषधि खाना नचाहने आदि प्रमुख कारण हुन् । युवाहरु मानसिक तनावको शिकार पनि बढ़ी भएको र यसले पनि मुटुरोगको समस्यालाई बढाएको देखिन्छ । अध्ययन अनुसन्धानले ९० प्रतिशत हृदयघात रोकथाम गर्न मिल्ने बताउँछ । आजको परिस्थितिमा युवाहरुले मुटुरोग र हृदयघातबाट बच्न लिनुपर्ने निम्न पाँच व्यावहारिक सावधानीहरूमा ध्यान दिनु आवश्यक छ । स्वस्थ देखिएमा पनि जाँच गर्न जरुरी   अधिकांश युवाहरूमा कुनै न कुनै किसिमको मुटुरोगका कारणहरू अदृश्य रूपमा रहेको १० वर्ष अगाडि गरिएको अनुसन्धानमा देखिएको थियो । । अनुसन्धानको क्रममा अधिकांश युवाहरूले मलाई मुटुरोगको कुनै लक्षण नै छैन, किन जाँच गर्नुपर्यो भन्ने धारणा राखेका थिए । त्यही गलत धारणा र भ्रममा पर्दा समयमै आफस्भित्र उक्त रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रलजस्ता समस्याहरू भएको थाहा पाउन सकेनन् र पछि एक्कासी जटिल समस्या भोग्नुपरेको देखिन्छ । त्यसैले समय अनुकूल बाहिर केही रोगको लक्षण नदेखिए तापनि स्वास्थ्य जाँच गरेकामा मुटु रोगको जटिलताबाट बच्न सकिन्छ । समय समयमा आफ्नो रक्तचाप, चिनीरोग र कोलेस्ट्रोलको स्तर नाप्ने गर्नुपर्छ । यसको लागि धेरै खर्च पनि गर्नु पर्दै । सामान्यतया एक हजार रुपैयाँ खर्च गरे पुग्छ । यदि यी मुटुरोगका कारणहरू अलि बोर्डर मा छ भने जीवनशैलीमा व्यापक परिवर्तन गर्नुपर्छ र नियमित अनुगमन गरिराख्नु पर्छ । औषधि प्रयोगको महत्व  हाम्रो अनुभवमा सहरी भेगमा बसोबास गर्ने ४० वर्षमुनिका युवाहरूमा मुटुरोगका कारणका लागि औषधिको सेवन गर्नुपर्ने देखिन्छ तर यति कम उमेरमा औषधि सेवन गर्न हुन्न भन्ने भ्रममा परी चिकित्सकको सल्लाह विपरीत औषधि सेवन नगरेर स्वास्थ्य दुर्घटना हुने गरेको पाइन्छ । समयमै औषधिको प्रयोग महत्व बुझी यस्ता दुर्घटनाबाट जोगिन सकिन्छ । औषधिको साइडइफेक्टको बारेमा भ्रम पालेर चाहिने अवस्थामा पनि सेवन नगरी हताहत भएको रोगले युवा अवस्थामै जटिलतामा प्रवेश गरेको अनेकौँ उदाहरण छन् । चुरोट  हाम्रो समाजमा असङ्ख्य युवा चुरोटको सेवन गर्दछन् । चुरोटको कुल तुरुन्तै केही हानि गरेको नदेखेता पनि यसले अदृश्य रुपमा मुटुमा असर गरिरहेको हुन्छ । एक/दुई खिल्लीले पनि पछि गएर मुटु रोगको जोखिम निम्त्याउन सक्ने तथ्यबाट अभिज्ञ भएको देखिन्छ । युवाहरूमा हृदयघातको प्रमुख कारण चुरोट मानिन्छ । त्यसैले समयमै चुरोट त्याग्नु जरुरी छ । चुरोट त्यागेको केही समयभित्र यसको दुष्प्रभाव घट्ने अनुसन्धानहरुले देखाएको छ । प्रेरणाको कमीले थाहा भएर पनी चुरोट त्याग्न नसकेका धेरै छन् । तयारी (पत्रु) खाना बिग्रिँदो जीवनशैलीले गर्दा अधिकांश युवाहरूमा जंकफुट/फास्टफुड अर्थात तयारी (पत्रु) खाना र घर बाहिरको खाने गरेको देखिन्छ । इच्छा वा बाध्यताले जेले भएपनि यसको दुर्गामी असरबाट बच्न गाह्रो छ । दुर्भाग्यबस अधिकांश युवाले फास्टफुडको सेवनले स्वास्थ्य र मुटु रोगको प्रकोपलाई नजरअन्दाज गरेको देखिन्छ । समयमै यस्तो खालको खाद्य संस्कृतिमा सुधार गरी आफ्नै घरमा बनाएको स्वस्थकर खाना खाने संस्कार विकास गर्नु आवश्यक छ । प्राकृतिक रुपमा उत्पादन भएका र घरको खानालाई प्रवद्र्धन गर्न सकिएमा मुटुरोगको समस्या धेरै हदसम्म कम हुन जान्छ । प्रमुख प्रशोधित खानेकुरामा बिस्कुट, चाउचाउ, पाउरोटी, केक, पेस्ट्रिज, पिँजा, बर्गर, ससेज, आइसक्रिम, दुनोट, फ्राइड चिकन, हेम बर्गर, चिप्स, चकलेट, जुस, कोल्डड्रिङ्क्स आदि पर्छ । व्यायामको महत्व  बिरामी व्यक्ति, औषधि सेवन गर्ने व्यक्ति र वृद्ध व्यक्तिले मात्र बिहानको हिँडाइ वा नियमित व्यायाम गर्नुपर्ने जनधारणा भएको हामी पाउँछौँ । त्यसैले होला आधुनिक युगमा शारीरिक रूपमा निष्क्रिय र मोटोपनको शिकार भएका विचार किशोर र युवाहरूको संख्या बढ्दै गएको देखिन्छ । आधुनिकताले निकट भविष्यमा यसके संख्या घट्ने देखिदैन । युवाले २० वर्ष वा कम उमेरदेखि नै आफूलाई नियमित शारीरिक व्यायाममा संलग्न गरी जीवनशैलीको एउटा महत्वपूर्ण अंंगको रूपमा शारीरिक गतिविधिलाई अवलम्बन गरी विभिन्न किसिमका दीर्घ रोग र औषधि उपचारबाट बच्न सकिन्छ । एउटा स्वस्थ्य व्यक्तिले दैनिक ३० मिनेटभन्दा बढ़ी सक्रिय ब्यायाम गर्नपर्छ । बढ़ी गर्न सके अझ राम्रो मानिन्छ । कुनै प्रकारको नियमित शारीरिक गतिविधिमा आफूलाई संलग्न गर्नुपर्छ । खेलकूद, साइकल, पौड़ी, योगा, अभ्यास, जुम्बा आदि जे गरे पनि हन्छ । आफ्नो परिस्थिति अनुकूल ब्यायाम रोज्न सक्नुपर्छ । मुटु रोगको थालनी पहिले ४० वर्षमै भइसक्ने विभिन्न अध्ययन अनुसन्धानले देखाउँछ । पहिले ४० वर्षमै मुटु रोगको कारणलाई जीवनशैली र आवश्यकता परे चिकित्सकको परामर्श अनुसार औषधिको सेवन गरेर असामयिक मुटु रोग र त्यसबाट हुने आर्थिक, शारीरिक, मानसिक, पारिवारिक, सामाजिक क्षतिबाट आफूलाई जोगाउन सकिन्छ । अन्त्यमा, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुने भएकाले यसतर्फ सबै सचेत हुन आवश्यक छ । स्वस्थ आहार र व्यायामले नै शरीरका अङ्गहरूलाई स्वस्थ राख्न मद्दत गर्दछ । वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरूलाई स्वस्थ आहार भनिन्छ । फलफूल र सागसब्जीमा भएको भिटामिन, मिनरल्स, फाइबर र अन्य पदार्थहरूले रक्तनली, मुटु र मस्तिष्कलाई स्वस्थ राख्छ । फलफूल र सागसब्जीमा पाइने भिटामिनहरूले हाम्रो रोग निरोधक क्षमतालाई बढाउँछ र सङ्क्रमण हुनबाट बचाउँछ । त्यसैले बजारमा पाइने तयारी खानेकुरा, विलासी जीवनशैली र मानसिक तनाबबाट मुक्त हुनु नै निरोगी र दीर्घजीवी बन्ने उपाय हो । रासस (लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्)