विकासन्युज

यस्तो छ आजको मौसम, कुन ठाउँमा हुनेछ वर्षा ?

काठमाडौं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्र्तगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिए । उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए । महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिटिजन्स बैंकले बाढी पीडितलाई २५ लाख सहयोग गर्ने

काठमाडौं । सिटिजन्स बैंकले बाढी पहिलो पीडितका लागि सहयोग गर्न प्रधानमन्त्री राहात कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । विगत दुई दिनदेखि परेको अविरल वर्षाले नेपालको धेरैजसो स्थान नराम्ररी प्रभावित भएको छ । अधिक वर्षा, बाढी, ढुवान, पहिरोका कारण देशका विभिन्न स्थानहरुका ठूलो धनजनको क्षति भएको छ । अविरल वर्षाका कारण दैनिक जनजीवन र यातायात अवरुद्ध भएको छ । लगातारको वर्षा र बाढीको समस्याले झेलिरहेको राजधानी काठमाडौंलगायत विभिन्न नदीमा आएको बाढीले दर्जनौ नेपालीको ज्यान गएको समाचारहरु प्रकाशित भएका छन् । यस अवस्थामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंकले पीडित मानिसलाई सहयोग पुर्याउन २५ लाख रुपैयाँ तत्काल प्रधानमन्त्री राहात कोषमा जम्मा गर्ने  घोषणा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल गरेका हुन् । उनले भने, ‘सिटिजन्स बैंकले यस संकटको घडीमा हामीले हाम्रो सीमित स्रोत साधनबाट विभिन्न जिल्लालाई सहयोग गरिरहेका छौं । तत्काल २५ लाख रूपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिनेछ ।’ विभिन्न खालका विपत आईपर्दा नेपालको बैकहरूले सबैभन्दा अगाडि बढेर मानविय सहायाता योगदान गर्दै आएका छन् । २०७२ सालको भूकम्प, २०७६ पछिको कोरोना महामारीको बेलामा पनि बैंकहरुले महत्वपूर्ण सहयोग गरेका थिए ।

अविरल वर्षाका कारण विद्युत् आपूर्ति प्रभावित, राजधानीको आधा भागमा विद्युत् बन्द

काठमाडौं। निरन्तरको अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरुमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको हो । प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषकाअनुसार, काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । प्रवक्ता घोषले काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिवार करिब २०० मेगावाट मात्र रहेको बताए । बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरु प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तिवन, चापागाउँ,खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द छन् । लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रिधारा फिडर बन्द छ । टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल,सुन्धारा, कालिमाटी, चक्रपथ र चमती फिडर प्रभावित भएका छन् । नयाँ चाबहिल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्यूचाटार सबस्टेनबाट विद्युत् आपूर्ति भइरहेका कलंकी, बलम्बु रोपवे फिडर प्रभावित भएका छन् । प्राधिकरणका प्रवक्ता घोषले विद्युत् आपूर्ति जतिसक्दो छिटो सुचारु गर्न टोली खटिएको बताए । तर, धेरै ठाउँ जलमग्न भएको र नदीको सतह बढेकाले लाइन चलाउन  अप्ठ्यारो भइरहेको उनले उल्लेख गरे ।

बाढीले माथिल्लो तामाकोशीको बाँध क्षेत्रका संरचनामा क्षति, विद्युत उत्पादन पूर्णरूपमा बन्द

काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पुर्याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ । बाँधका सम्पूणर् ढोका (गेट)हरु खुल्ला गरिएको छ । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहन गौतमले विद्युतगृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलाहरुमा बाढी आएका कारण कोहीपनि त्यहाँसम्म पुग्न नसकेकोे बताए । गौतमले पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्टलगायतका संरचनामा क्षति पुर्याएको अनुमान नगरिएको उल्लेख गरे । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा, लेदो थुप्रिएको छ । नियन्त्रण कक्षमा रहेका दुई जना कर्मचारीलाई उद्धार गर्न लागिएको र हालसम्म कुनै मानवीय क्षति भने नभएको उनले बताए । जिल्ला प्रशासन कार्यालय, दोलखासँगको समन्वयमा उद्धारमा लामाबगरस्थित नेपाली सेना, नेपाल प्रहरी र सशष्त्र प्रहरी बल परिचालन गरिएको छ । तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युमेक हो । अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युमेक छ । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता बामोजिम नदीमा पानीको बहाव २५० क्युमेक हुनासाथ विद्युत्गृह बन्द गर्नु पर्ने छ । शुक्रबार दिउँसो ४ बजेपछिबाट पानीको बहाव २५० क्युमेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेबाट विद्युत् उत्पादन पूर्ण रुपमा बन्द गरिएको थियो ।

काभ्रेमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता

काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्क विहीन भएको हो । पहिलोले ३ घरमा पूर्ण क्षति पुर्याएको छ। २ घरका परिवार भागेर सुरक्षित ठाउँमा पुग्नसके पनि भण्डारीको परिवार पहिरोमा परेर सम्पर्क विहीन भएको पनौती नगरपालिका–११, वडासदस्य गीता थापाले जानकारी दिइन् । बिहान करिब साढे ३ बजे गएको पहिरोमा परी बेपत्ता भण्डारीको परिवारको उद्धारका लागि विपद उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ । यस्तै काभ्रेको तेमाल गाउँपालिका ७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान करिब ३ बजेतिर भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अधिकांश देशको मुद्राको भाउ बढ्यो, कुन देशको कति ?

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.६३ रुपैयाँ र बिक्रीदर १३४.२३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४९.१४ रुपैयाँ र बिक्रीदर १४९.८१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८.९४ रुपैयाँ र बिक्रीदर १७९.७४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५८.२८ रुपैयाँ र बिक्रीदर १५८.९९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९२.०५ रुपैयाँ र बिक्रीदर ९२.४६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९९.१६ रुपैयाँ र बिक्रीदर ९९.६० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०४.२२ रुपैयाँ र बिक्रीदर १०४.६९ रुपैयाँ, जापानी येन १० को खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६२ रुपैयाँ र बिक्रीदर ३५.७८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८३ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१३ रुपैयाँ र बिक्रीदर ४.१५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.४० रुपैयाँ र बिक्रीदर ३२.५४ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.१८ रुपैयाँ र बिक्रीदर १०.२२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.२२ रुपैयाँ र बिक्रीदर १३.२८ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर २०.०० रुपैयाँ र बिक्रीदर २०.०९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१९ रुपैयाँ र बिक्रीदर १७.२७ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.०२ रुपैयाँ र बिक्रीदर ४३९.९८ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.४८ रुपैयाँ र बिक्रीदर ३५६.०७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुलेखानीको जलाशयको ढोका खोलियो, ‘हाइ अलर्ट’मा बस्न आग्रह

काठमाडौं । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजरगरी आज बिहानै तालको ढोका खोलिएको जानकारी दिए । ‘जलाशय भरिन अझै एक/दुई दिन लाग्छ कि भन्ने अनुमान थियो, तर गएराति नै भरियो,’ प्रजिअ चिलुवालले भने । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको प्रजिअ चितुवालले बताए । कुलेखानीको ड्याम खोलिएकाले त्यहाँबाट बग्ने पानीले मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासँगै सिन्धुली, सर्लाही र रौतहटका नदी तटीय क्षेत्र प्रभावित हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । कुलेखानीको क्षमता कूल १ हजार ५३० मिटर छ । कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीमा एक्कासी बाढी आउनसक्ने अवस्था देखिएकाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत ‘हाइ अलर्ट’मा बस्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको थियो ।

आज यी प्रदेशमा अति धेरै वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ । आजराति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । विभागका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ । विभागले केही स्थानमा भारी तथा अति वर्षा तथा हावाहुरीकोसमेत सम्भावना रहेकाले ती क्षेत्रमा पहिरो जोखिम छ । साथै भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।