विकासन्युज

लक्ष्मी सनराइज बैंकले घटायो ब्याजदर, आधार दर ७.९३ प्रतिशतमा झर्याे

काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मंसिरमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५० प्रतिशत, संस्थागततर्फ ४.५० प्रतिशत र रेमिट्यान्स खातामा भने ६.७५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ५ प्रतिशत र रेमिट्यान्स खातामा भने ७ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मंसिरमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार ८.१७ प्रतिशतबाट घटेर मंसिरमा ७.९३ प्रतिशतमा झरेको छ । बैंकको स्प्रेडदर भने ४ प्रतिशत छ ।

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ । राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीको हकमा पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ । यसैगरी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिताको पालना गर्नुपर्नेछ । आचारसंहिता लागू भएको जिल्लाका निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु÷गराउनु परेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता सम्पूर्ण व्यक्ति, संस्था तथा अधिकारीको कानुनी दायित्व एवं नैतिक बन्धन भएकाले यसको सम्पूर्ण रूपले पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्ने कार्यमा सबैको सहयोग हुने विश्वास व्यक्त गरेको छ । आचारसंहिताविपरीतका कार्य भए÷गरेको पाइएमा वा हुनसक्ने पर्याप्त आधार र कारण देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन पनि आयोगले आग्रह गरेको छ । आचारसंहिता उल्लङ्घन भएको पाइए कारबाही हुनेछ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने कार्यक्रम छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनी अध्यक्ष गुरूङलाई सरकारको सम्मान

काठमाडौं । वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ । मूल्य अभिवृद्धि कर लागू भएको दिन १ मंसिर स्मरण गर्दै २०६९ सालदेखि नेपाल सरकारले राष्ट्रिय कर दिवस मनाउँदै आएको । कर दिवसको अवसरमा सरकारले भाटभटेनी सुपरमार्केटलाई सम्मान गरेको हो ।आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सुपरमार्केटलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको भाटभटेनी सुपरमार्केटका सीओओ पानु पौडेलले जानकारी दिए । आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कर दिवसको अवसरमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरूङलाई अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका हुन् । अघिल्लो वर्ष पनि वस्तु तथा व्यापारमा बढी कर तिर्नेमा गुरूङ अग्रपंक्तिमा थिए ।

रेकर्ड मूल्यमा अमेरिकी डलर स्थिर, यूरोसहित अधिकांश देशको मुद्राको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । आज युरोपियन यूरोको एकको खरिदर १४२.५१ रुपैयाँ र बिक्रीदर १४३.१५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.८७ रुपैयाँ र बिक्रीदर १७१.६३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.८४ रुपैयाँ र बिक्रीदर १५२.५१ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.२५ रुपैयाँ र बिक्रीदर ८७.६४ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.९९ रुपैयाँ र बिक्रीदर ९६.४२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.५१ रुपैयाँ र बिक्रीदर १००.९५ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६७ रुपैयाँ र बिक्रीदर ८.७१ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७२ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८८ रुपैयाँ र बिक्रीदर ३६.०४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९६ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.८७ रुपैयाँ र बिक्रीदर ३.८८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१४ रुपैयाँ र बिक्रीदर ३०.२७ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३० रुपैयाँ र बिक्रीदर १२.३५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.११ रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३१ रुपैयाँ र बिक्रीदर १७.३९ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.२४ रुपैयाँ र बिक्रीदर ४४०.१९ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.४७ रुपैयाँ र बिक्रीदर ३५९.०६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

कोशी र गण्डकीमा वर्षाको सम्भावना, यस्तो रहनेछ आगामी २४ घण्टामा मौसम

काठमाडौं । देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसमसफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा बिहानीपख हल्का हुस्सु लाग्ने सम्भावना भएको जनाउँदै विभागले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन, आजै उम्मेदवारको सूची प्रकाशन हुने

काठमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता पोखरेलले जानकारी दिइन् । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ । आयोगले २०७९ सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेका स्थानीय तहको रिक्त पदमा महिला उम्मेदवार रहनेगरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिएको छ ।

चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी

काठमाडौं । नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विद्युत् विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विभागले जलविद्युत् आयोजना, प्रसारण लाइनको अनुमति प्रदान गर्दै आएको छ । विभागले जलविद्युत्तर्फ सातवटा आयोजनाको अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कुल क्षमता ६९.०२ मेगावाट रहेको छ । सौर्य ऊर्जातर्फ दुईवटा आयोजनाको कुल ४० मेगावाट बराबरको जडित क्षमता छ । विभागले वायु ऊर्जातर्फ एक आयोजनाको कुल १० मेगावाट बराबरको क्षमता रहेको जनाएको छ । यसरी कुल १० वटा आयोजनाको ११९.०२ मेगावाट जडित क्षमताको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी गरिएको हो । जलविद्युत्तर्फ चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र जारी गरिको छ । सो आयोजनाको कुल क्षमता २१० रहेको छ । यस्तै, अन्य १२ वटा आयोजनालाई पनि उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ । ती आयोजनाको क्षमता ३५३.०२ मेगावाट छ । सौर्य ऊर्जातर्फ दुई आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको र तिनको कुल क्षमता १७.०३ मेगावाट रहेको जनाइएको छ । यसबीचमा विभागले ३७०.०५ मेगावाट क्षमता बराबरका कुल १४ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको छ । प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको ५६.४५ सर्किट किलोमिटर, १३२ केभी क्षमताको २१०.९५ सर्किट किलोमिटर, २२० केभी क्षमताको १२५.०१ सर्किट किलोमिटर, ४ सय केभी क्षमताको २९.३७ सर्किट किलोमिटर गरी कुल २२ वटा विद्युत् प्रसारणको सर्वेक्षण अनुमतिपत्रसमेत जारी गरिएको महानिर्देशक सिंहले जानकारी दिए । त्यस्तै, प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको २३.०५ सर्किट किलोमिटर, १३२ केभी क्षमताको १९.०८ सर्किट किलोमिटर, २२० केभी क्षमताको १२.०१ सर्किट किलोमिटर र ४ सय केभी क्षमताको ५ सर्किट किलोमिटर गरी कुल सातवटा विद्युत् प्रसारण लाइनको अनुमतिपत्र जारी गरिएको उनले बताए । विभागका अनुसार वितरण लाइनतर्फ ३३ केभी क्षमताको कुल ८३ सर्किट किलोमिटर हुने सातवटा विद्युत् वितरणतर्फको अनुमतिपत्र जारी गरेको छ ।

कार्वन व्यापारलाई थप प्रभावकारी बनाउनु पर्ने

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्वन व्यापारलाई अझै थप प्रभावकारी बनाउनका लागि विश्व बैंकको सहयोग आवश्यक रहेको बताएका छन् । अरजरबैजानको बाकुमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रको २९ औँ सम्मेलन (कोप-२९) सम्मेलनमा भाग लिन अजरबैजन रहेका मन्त्री ठकुरीले विश्व बैंकसँगको द्विपक्षीय कार्वन व्यापारको बजार सुनिश्चिता हुनुपर्ने समेत बताए । विश्व बैंकको सहयोगले लामो समयदेखि पूर्वाधार विकास, वनको विकास तथा संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण तथा क्षमता अभिवृद्धिलगायत क्षेत्रमा सहयोग तथा सामुदायिक वनको क्षेत्रमा ३० वर्षदेखि सहयोग पुर्याउँदै आएको उनले बताए । मन्त्री ठकुरीले भने, ‘जलवायू परिवर्तनका कारण हुने क्षति न्यूनीकरण गर्न सेफगार्डको महत्त्वपूर्ण भूमिका छ । बैंकले सामाजिक र वातावरणीय सुरक्षाका क्षेत्रमा गरेको योगदान सराहनीय छ र थप सहयोगको अपेक्षा गरेको हो ।’ मन्त्री ठकुरीका अनुसार नेपालको हरित गृह ग्यास उत्सर्जनमा अत्यन्तै न्यून योगदान रहेता पनि जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोग्ने राष्ट्रमध्ये पर्दछ । सन् २०४५ सम्ममा नेपालले हरित गृह ग्यासको पर्दछ । उनले उत्सर्जन शून्य पार्ने महत्वाकांक्षी लक्ष्य लिएको र यसका लागि उत्सर्जन न्यूनीकरण तथा अनुकूलनका कार्यक्रम नेपालका प्राथमिकताका क्षेत्र हुने बताए । विश्व बैंकसँग राष्ट्रिय निर्धारित योगदान, राष्ट्रिय अनुकूलन योजना कार्यान्वयनका लागि सहयोगको अपेक्षा गर्दै मन्त्री ठकुरीले नेपालमा कार्वन व्यापारलाई थप प्रभावकारी बनाउनसमेत सहयोगको अपेक्षा गरेको बताए । ‘नेपालमा जलवायु परिवर्तनका करिव ५० वटा अधिकार स्थानीय तहको क्षेत्राधिकारभित्र पर्दछन्, त्यसको कार्यान्वयनको लागि स्थानीय तहको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेकाले डेडिटेटेड सहयोग र परियोजना पनि आवश्यक परेको छ,’ मन्त्री ठकुरीले भने, ‘पर्यटन नेपालमा फस्टाउँदै गइरहेको र निजी क्षेत्रलाई आवद्ध गरी प्रकृतिमा आधारित पर्यटनका लागि हामीलाई सहयोग आवश्यकता रहेको छ ।’ उनले वनमा आधारित उद्यमशीलता र कार्बन व्यापारका लागि नवीन दृष्टिकोणरूमा सहकार्यको अपेक्षा राख्दै दिगो विकास र जलवायुकार्यमा विश्व बैंकसँगको साझेदारीलाई थप मजबुत बनाउने नेपालको प्रतिबद्धता रहेको बताए ।