विकासन्युज

पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी, ७ अर्बको कृषि बाली भारत निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजार रुपैयाँको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट ७९ करोड ६३ लाख १० हजार रुपैयाँको कृषि बाली आयात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार चार अर्ब ४८ लाखको चिया रुपैयाँ, एक अर्ब ५५ करोड रुपैयाँको अलैँची, एक अर्ब पाँच करोड रुपैयाँको प्लाई तथा भेनियर, ३३ करोड ९६ लाख रुपैयाँको अम्लिसो २० करोड ५५ लाख रुपैयाँको अदुवा, छ करोड ४८ लाख रुपैयाँको बन्दाकोभी, एक करोड ५५ लाख रुपैयाँको मसुरो दाल, ५१ लाख १९ हजार रुपैयाँको जडीबुटी र ११ करोड ५३ लाख रुपैयाँको अन्य कृषि बाली भारत निर्यात भएको छ । सोही अवधिमा आयात भएका वस्तुमा गेडागुडी (दलहन), ताजा फलफूल, आलु, लसुन, कोदोलगायत कृषि बाली रहेका छन् । चार महिनामा २२ करोड ३१ लाख रुपैयाँको गेडागुडी, १५ करोड ३० लाख रुपैयाँको आलु, १४ करोड १३ लाख रुपैयाँको ताजा फलफूल, ११ करोड सात लाख रुपैयाँको लसुन, छ करोड ४४ लाख रुपैयाँको कोदो, पाँच करोड ३४ लाख रुपैयाँको सागसाब्जी र पाँच करोड दुई लाख रुपैयाँको अन्य कृषि बाली आयात भएको छ । कृषि बालीहरूको निर्यात बढ्दै जानुले भारतसँगको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने उनी बताउँछन् । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित अलैँची, अदुवा, चिया, जडीबुटी र तरकारी बालीले पछिल्लो समय भारतीय बजारमा उच्च मागसँगै राम्रो मूल्य पाउने गरेको छ । पहाडी जिल्लाबाट कच्चा पदार्थ सङ्कलन गरेर झापामा सञ्चालित प्लाई तथा भेनियर उद्योगले समेत निर्यातमा उत्साहजनक योगदान दिइरहेका छन् । यद्यपि, लसुन, आलु, कोदो, ताजा तरकारी र फलफूलमा भारतीय निर्भरता अझै घट्न सकेको छैन ।

एनपिएलका लागि टिकट मूल्य सार्वजनिक, ३०० रुपैयाँदेखि सुरु

काठमाडौं । यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो । मङ्सिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ तीन सय रुपैयाँ र भिआइपीतर्फ सात सय रुपैयाँ टिकट मूल्य राखिएको क्यानले जनाएको छ । त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ तीन सय रुपैयाँ र भिआइपीतर्फ पाँच सय रुपैयाँ मूल्य तय गरिएको छ । एनपिएलको प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ पाँच सय रुपैयाँ र भिआइपीतर्फ सात सय रुपैयाँको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ पाँच सय रुपैयाँ र भिआइपीतर्फ एक हजार टिकट रुपैयाँको मूल्य तोकिएको क्यानले जनाएको छ । सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ चार हजार चार सय ८० रुपैयाँ र भिआइपीतर्फ आठ हजार दुई सय ४० रुपैयाँमूल्य निर्धारण गरिएको छ ।

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो

दमौली । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ । यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा त्यसपछि पहिलोपटक एक सय ५५ दिन म्याद थप भएको थियो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दोस्रोपटकका लागि उक्त खण्डको म्याद थप भएको छ । दोस्रोपटक थप भएको म्याद अवधिभित्र काम सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको पाण्डेले जानकारी दिए । यस अवधिसम्म सडकको काम ६८ प्रतिशत सकिएको छ । पूर्वी खण्डमा अन्तिम कालोपत्रसमेत थालिएको छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकबाट सत्र सय खण्डमा अहिले अन्तिम कालोपत्रको काम भइरहेको पाण्डेले बताए । यसअघि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम चरणको कालोपत्रको काम सुरु गरिएको जानकारी दिए । उनले भने, ‘यसअघि सडकको मोटाइ छ सेन्टिमिटर थियो, अब त्यहीँ ठाउँमा थप चार सेन्टिमिटरको काम हुनेछ ।’ अन्तिम चरणको कालोपत्रअन्तर्गत हालसम्म दुई दशमलव चार किलोमिटरभन्दा बढीमा कालोपत्र सकिएको छ । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर दूरीमा कालोपत्र भएको छ । त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेनको कालोपत्र भएको छ । पाण्डेले भने, ‘पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरु गरिनेछ । अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढ्नेछ ।’ पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि एक–दुई दिनभित्र कालोपत्रको काम सुरु गर्ने तयारी रहेको पाण्डेले बताए । दमौली बजारमा पनि सडक विस्तारका लागि अहिले नाला बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्रविन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम हुनेछ । यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ । पश्चिम खण्डतर्फ हालसम्म ३२ प्रतिशत प्रगति भएको छ । पश्चिमखण्ड (जामुने–पोखरा)को म्याद आगामी डिसेम्बर ६ सम्म बाँकी छ । तर उक्त अवधिसम्म काम नसकिने भएपछि ठेकेदार कम्पनीले म्याद थपको प्रस्ताव गरेको छ । रासस

गार्डियन माइक्रोले मंसिर १९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने, कसले आवेदन दिन पाउँछ ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गर्नेछ । यस्तै, ३ प्रतिशत अर्थात् ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा पुस ३ गतेसम्म आवेदन दिनुपर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार

चितवन । बिपी कोइराला मेमोरियल बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । उनले भने, ‘मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले हामीले औषधिसमेत सम्पूर्ण उपचार निःशुल्क सुरु गरेका छौँ ।’ अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्दछ । उनले भने, ‘धेरै बिरामी हुन्छन्, निःशुल्क गर्दा अस्पताललाई ठूलो भार हुन्छ भनेपछि स्वास्थ्य मन्त्रालयले स्रोतको सुनिश्चितताको प्रतिबद्धता दियो ।’ पछि सोधभर्ना हुने गरी अहिले अस्पतालले नै केमोलगायत औषधिको व्यवस्थापन गरेको उपनिर्देशक डा नेपालको भनाइ छ । अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्माले सुरुकै अवस्थामा बाल क्यान्सर पत्ता लाग्यो भने निको बनाउन सकिने बताउँछन् । नेपालमा बर्सेनि एक हजार पाँच सय हाराहारी नयाँ बाल क्यान्सरका बिरामी हुन्छन् भन्ने अनुमान रहेको उनको भनाइ छ । तीमध्ये आधा मात्र उपचारको पहुँचमा आउने गरेको उनले जानकारी दिए । उनले भने, ‘कतिपय बालबालिका क्यान्सर पत्ता नलागी ज्यान गुमाएका हुन्छन् । कतिपय विदेशमा गएर उपचार गराएका छन् । तर ५० प्रतिशत बालबालिका क्यान्सर अस्पतालको पहुँच बाहिर रहेको अनुमान गरिएको छ ।’ बाल क्यान्सरको उपचार पूर्ण निःशुल्क भएसँगै पहुँच बाहिर रहेका बालबालिका पनि उपचारको पहुँचमा आउने उनले विश्वास व्यक्त गरे ।

१ हजार करोडको विकास ऋणपत्र जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब अर्थात् १ हजार करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै ३ वर्ष अवधि रहेको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारको ३ वर्षे विकास ऋणपत्र-२०८४ मंसिर १२ गते बोलकबोल मार्फत बिक्री गर्नेछ । साथै मंसिर १३ गते निष्कासन गरिने कार्यालयले जनाएको छ । इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्नेछन् । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् । यस ऋणपत्रका विशेषता र बोलकबोल प्रक्रिया सम्बन्धी विस्तृत जानकारीका लागि यस कार्यालयको वेबसाइटको आन्तरिक ऋण सम्बन्धी सूचनामा हेर्न सकिनेछ ।

अवरुद्ध राहदानी सेवा सञ्चालन, इलाका प्रशासन र विदेशमा सेवा विस्तार गरिने

काठमाडौं । कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी विभागबाट प्रदान गरिँदै आइएको सेवा सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । विभागले सोमबार साँझ एक सूचना जारी गर्दै सेवा सञ्चालन भएको जनाएको हो । सेवा सञ्चालन भएसँगै सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा प्रारम्भ गरिएको, अत्यावश्यक परी विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको सूचनामा जनाइएको छ । यसैगरी जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरुमा क्रमशः सेवाविस्तार गरिने यसअघिको सूचनाअनुरूप काम भइरहेकाले मङ्गलबारदेखि परीक्षणको काम सुरु गरिने सूचनामा उल्लेख छ । यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्लारइलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको सूचनामा उल्लेख छ । ‘सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको छ,’ विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

बुटवलपछि काठमाडौं ल्याइँदै रास्वपा सभापति लामिछाने

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइने भएको छ । सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका सभापति लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयानका लागि लामिछानेलाई ल्याउन लागिएको हो । उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइने तयारी छ । काठमाडौंमा लामिछानेलाई २÷३ दिन राखेर बयान लिने सम्भावना छ । त्यसपछि उनलाई पुनः पोखरा लगिनेछ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा लामिछानेलाई यसअघि गत कात्तिक २७ गते पोखराबाट भैरहवा लगिएको थियो । बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा ३ दिन बयान लिएर पुनः पोखरा फर्काइएको थियो ।