मेक्सिको, क्यानडा र चीनविरुद्ध कठोर हुँदै ट्रम्प, भारी शुल्क लगाउने वाचा
काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएदेखि नै डोनाल्ड ट्रम्प चीनलगायत धेरै देशका लागि टाउको दुखाइको विषय बनेका छन् । हालचालै उनले क्यानडा, मेक्सिको र चीनमा भारी शुल्क लगाउने वाचा गरेका छन् । ट्रम्पले सोमबार मेक्सिको र क्यानडाबाट आउने सबै उत्पादनहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने वाचा गरेका हुन् । इकोनोमिक टाइम्सका अनुसार राष्ट्रपति ट्रम्पले चीनबाट आउने सामानमा थप १० प्रतिशत ट्यारिफ लगाउने वाचा पनि गरेका छन् । उनले जनवरी २० मा राष्ट्रपतिको रूपमा पहिलो दिन क्यानाडा र मेक्सिकोमा ट्यारिफसहित धेरै आदेशहरूमा हस्ताक्षर गर्ने जानकारी दिए । ट्रम्पले के भने ? ‘सबैलाई थाहा छ, हजारौं मानिस मेक्सिको र क्यानडा हुँदै आउँदैछन् । यीमध्ये अधिकांश अपराधी हुन् र अवैध रूपमा लागूऔषध ल्याइरहेका छन्,’ उनले भने, ‘ जनवरी २० मा पदभार ग्रहण गरेको पहिलो दिनमै धेरै आदेश जारी गर्नेछु । यसमा मेक्सिको र क्यानडाबाट अमेरिकामा आउने सबै उत्पादनहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने आदेश समावेश हुनेछ । यसका लागि आवश्यक कागजातमा पहिलो दिनमै हस्ताक्षर गर्नेछु ।’ उनले सबै लागुऔषध र अवैध आप्रवासन नरोकेसम्म यो शुल्क लागू हुने पनि बताए। चीनविरुद्ध झन् कडा नीति ट्रम्पले चीनबाट ठूलो परिमाणमा लागूऔषध विशेषगरी फेन्टानिल अमेरिका पठाइँदै आएको बताए । ‘हामी चीनबाट संयुक्त राज्य अमेरिकामा आउने सबै उत्पादनहरूमा कुनै पनि अतिरिक्त करमाथि १० प्रतिशत थप ट्यारिफ लागू गर्नेछौं,’ उनले भने। विशेषज्ञको चेतावनी विज्ञहरूले अमेरिकी प्रशासनलाई ट्रम्पले यस प्रकारको कर लगाउने चेतावनी दिएका छन् । यस्तो आयात करले आर्थिक वृद्धिमा मात्रै नभई मुद्रास्फीति पनि बढाउने विज्ञहरूको भनाइ छ । विज्ञहरूका अनुसार भन्सार बढाएर अमेरिकामा यी वस्तुहरू महँगो मूल्यमा बिक्री हुने भएकाले त्यसको असर आम मानिसलाई पनि पर्नेछ । (एजेन्सीको सहयोगमा)
लघुवित्तमा साढे ६ लाख ऋणी घटे, बैंकर भन्छन्- अब लघुवित्तमा शुद्धिकरण भयो
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूबाट ऋणीहरूको संख्या स्वाट्टै घटेको छ । पछिल्लो तीन वर्षको अवधिमा लघुवित्त संस्थाबाट साढे ६ लाख ऋणी घटेका हुन् । ३ वर्षअघि अर्थात् २०७९ असारसम्म ३३ लाख ३ हजार ग्राहकले लघुवित्त संस्थाहरूबाट ऋण लिएका थिए । तर, पछिल्लो समय उक्त संख्या घट्दै २०८१ असारसम्म लघुवित्त संस्थाबाट कर्जा लिनेको संख्या २६ लाख ६३ हजारमा झरेको हो । यसअवधिमा लघुवित्त संस्थाबाट १९.३७ प्रतिशत अर्थात् ६ लाख ४० हजार ऋणी घटेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । विगतको तथ्याङ्क केलाउँदा हाल लघुवित्तमा रहेका ऋणीको संख्या ६ वर्षयताकै कम हो । विसं २०७६ असारमा लघुवित्त संस्थामा २६ लाख ७९ हजार ऋण खाता थिए । सो वर्षपछि ऋणीको संख्या निरन्तर बढेको देखिन्छ । तर, गत वर्ष भने ऋणीको संख्यामा व्यापक गिरावट आएको देखिन्छ । तथ्याङ्कअनुसार लघुवित्त संस्थाहरूमा २०८० असारमा २९ लाख ८४ हजार ऋणी, २०७८ असारमा २९ लाख ९२ हजार ऋणी, २०७७ असारमा २७ लाख ८३ हजार ऋण खाता, २०७५ असारमा लघुवित्त संस्थाहरूमा १८ लाख ५४ हजार ऋणी थिए । यस्तै, २०७४ असारमा १५ लाख ७६ हजार ऋणी, २०७३ असारमा १२ लाख ९६ हजार ऋणी, २०७२ असारमा १० लाख ८२ हजार, २०७१ असारमा ११ लाख ३ हजार र २०७० असारमा ८ लाख ४९ हजार ऋणीले लघुवित्त संस्थाबाट कर्जा लिएको तथ्याङ्कमा छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नुमानाथ पौडेल लघुवित्त संस्थाहरूको पहुँच बढेको तर व्यवसाय सीमित भएकाले ऋणीको संख्या घटेको बताउँछन् । साथै आर्थिक क्षेत्रमा देखिएको शिथिलताका कारण पनि त्यसको असर लघुवित्त क्षेत्रमा पनि परेको उनको भनाइ छ । ‘लघुवित्तको विस्तार बढेसँगै त्यसको पनि सीमितता हुन्छ, राष्ट्र बैंकले सबै स्थानीय तहमा पहुँच पुर्याउन भनेपछि लघुवित्त संस्थाहरूले सबै ठाउँमा आफ्नो पहुँच पुर्याए । तर, पछिल्लो समय शाखा विस्तार गर्न छाडेका छन्,’ सीईओ पौडेलले भने, ‘कोरोनापछि भाका नाघेको ऋणीको संख्या ३६ प्रतिशतसम्म पुग्यो, यस्तो दूरावस्था देखेपछि धेरै कर्जा दिनु हुँदैन, कुनै पनि समयमा क्रास हुन सक्छ, विषम परिस्थिति आयो भने ऋण तिर्न सक्दैन भन्ने अवधारण बनाएपछि ऋणीको संख्यामा कमी आएको हो ।’ विगतमा १५ लाख रुपैयाँसम्म कर्जा र जतिवटा लघुवित्त संस्थाबाट पनि ऋण लिन पाइने व्यवस्था थियो । तर, यस्तो हुँदा समस्या आएपछि राष्ट्र बैंकले नीति नै परिवर्तन गरेपछि ऋणीको संख्या घट्न पुगेको उनकाे भनाइ छ । ‘विगतमा एउटै व्यक्तिलाई ४/५ वटा लघुवित्तले ऋण दिन्थे । तर, राष्ट्र बैंकले एउटा ऋणीले एक संस्थाबाट मात्रै कर्जा लिन पाइने व्यवस्था गर्यो । कर्जाको सीमा १५ लाख रुपैयाँबाट ७ लाख रुपैयाँमा झार्यो । जसकारण ऋणीको संख्या घट्न पुगेको हो,’ सीईओ पौडेलले भने, ‘लघुवित्त मर्जरका कारण पनि ऋणीको संख्यामा कमी आएको हो, छुट्टाछट्टै संस्था हुँदा दोहोरो गणना भएको थियो । मर्जरपछि दोहारो गणना हट्यो ।’ १५ लाख रुपैयाँ कर्जा आवश्यक भएको व्यक्तिले लघुवित्तबाट ऋण लिन नपाउने भएपछि सो व्यक्ति बैंकिङ क्षेत्रतर्फ पलायन भए । साथै, कर्जा सूचना केन्द्रले पनि प्रभावकारी रूपमा कार्यान्वयन गरेका कारण कर्जाका ग्राहक घटेका हुन् । कर्जातर्फका ग्राहक घट्नुमा लघुवित्त विरुद्धको आन्दोलनले ५ प्रतिशतमात्रै असर गरेको उनको भनाइ छ । नेशनल लघुवित्तका सीईओ रामबहादुर यादव नियामकीय व्यवस्थाका कारण कर्जातर्फका ग्राहक घटेको बताउँछन् । एक संस्था एक ग्राहक नीति ल्याएपछि संख्यामा गिरावट आएको र लघुवित्तमा शद्धिकरण भइरहेको उनको भनाइ छ । ‘एउटा संस्थाले एउटा ग्राहकलाई मात्रै कर्जा दिने व्यवस्था गर्यो, यो वर्षदेखि २ वटा संस्थाबाट ऋण लिन सकिने व्यवस्था भयो, यसले लघुवित्त संस्थाहरू स्वस्थ प्रतिस्पर्धा, शद्धिकरणतर्फ जाँदैछ भन्ने बुझिन्छ,’ सीईओ यादवले भने, ‘विगतमा एउटै ऋणीले धेरै संस्थाबाट कर्जा लिँदा गलत अभ्यास मौलायो, अब एउटा व्यक्तिले एउटा संस्थाबाट मात्रै ऋण लिँदा समयमा कर्जा चुक्ता गर्न सक्छ ।’ संख्या घट्नु संस्थाको लागि राम्रो नभएपनि इण्डष्ट्रीका लागि भने गजब भएको उनको धारणा छ । उनका अनुसार मल्टीफाइनान्स कम हुनु भनेको लघुवित्त संस्था उत्कृष्टततर्फ अगाडि बढिरहेका भन्ने हो । र यो संख्या अझै घटाउनुपर्छ । लघुवित्त विरुद्धको आन्दोलनले ग्राहक संख्यामा कुनै असर नगरेको भएपनि सजग भने भएको उनले बताए । ‘सडकमा देखिएका मान्छेहरू एउटै व्यक्तिले ५/१० वटा संस्थाबाट कर्जा लिएर नतिर्ने नियतका हुन्, कर्जा नतिर्नका लागि सडक आन्दोलनमा उत्रिएका हुन्, ऋण लिएर मिटरब्याज र अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्या आयो, त्यो पैसा फिर्ता गर्न नपरोस् भनेर आन्दोलन गर्नुभयो,’ सीईओ यादवले भने, ‘अब लघुवित्त सबै सजग भएका छन्, कर्जा जथाभावी लगानी गर्दैनन्, जो पायो त्यही मान्छेलाई ऋण दिँदैनौं, कर्जा सूचना केन्द्रले पनि प्रभावकारी काम गरिरहेको छ ।’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विमलराज खनाल लघुवित्त क्षेत्रको दिगोपनाका लागि दोहोरो ऋणीको संख्या घटाउनु परेको बताउँछन् । नाफा र व्यवसायभन्दा पनि लामो समयसम्म टिक्न राष्ट्र बैंकले काम गर्ने उनले बताए । ‘राष्ट्र बैंकले लघुवित्तलाई बहु-बैंकिङ गर्न दिएको छैन, एउटा ऋणीले दुईवटा संस्थाभन्दा बढी संस्थाबाट कर्जा लिन पाउँदैनन्, बहु-बैंकिङ गर्न नपाएपछि निक्षेपको रकम फिर्तासँगै ऋणी सदस्यले सदस्य नै हुन पाउँदैन, सदस्य हुन नपाएपछि कर्जा लिन पनि पाउँदैन,’ उनले भने, ‘ऋणको सीमा ७ लाख रुपैयाँ अझै एक/दुई वर्षसम्म रहन सक्छ, अहिले नाफा र व्यवसायभन्दा पनि दीर्घकालसम्म सञ्चालन गर्नुपर्छ ।’ लघुवित्त वित्तीय संस्थाविरुद्धको आन्दोलन ब्याज र साँवा मिनाहा हुनुपर्ने भएकाले त्यसको प्रभाव नपरेको उनको बुझाइ छ । निक्षेप सदस्य पनि घट्दै लघुवित्त संस्थाहरूमा ऋणीसँगै निक्षेप सदस्यको संख्या पनि घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा लघुवित्त संस्थाहरूका ६० लाख १६ हजार निक्षेप खाता थिए । गत वर्ष घटेर ५९ लाख ९५ हजारमा झरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष २१ हजार निक्षेप खाता घटेका हुन् । तथ्याङ्कअनुसार २०७९ असारमा लघुवित्त संस्थाहरूमा ५८ लाख ५९ हजार, २०७८ असारमा ५१ लाख ९१ हजार, २०७७ असारमा ४६ लाख ८७ हजार, २०७६ असारमा ४३ लाख २८ हजार, २०७५ असारमा २८ लाख ५७ हजार निक्षेप सदस्य रहेका छन् । यस्तै, २०७४ असारमा २३ लाख ६९ हजार, २०७३ असारमा १८ लाख ७४ हजार, २०७२ असारमा १५ लाख ४९ हजार, २०७१ असारमा ११ लाख ६४ हजार, २०७० असारमा ११ लाख ६४ हजार निक्षेप खाता रहेका थिए ।
रक्सी र चुरोट खानुसरह नै हो प्याकेटका खाना, भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
अभिभावकहरुले यदि आफ्ना, शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरुलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरुको भोजन कति पौष्टिक छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ । साना शिशु र बालबालिकाको स्वास्थ राम्रो पार्न र उनीहरुलाई रोगसँग लड्ने शक्ति दिलाउन बाहिरका प्याकेटका खाना, सिसीमा राखेका महङ्गो खाना, उचाइ र बुद्धि बढाउने भनेर विज्ञापन गरिएका गलत खाना होइन, आफ्नो भान्छामा जे छ त्यसैलाई शिशुको रुचिअनुसार र उसले खानसक्ने गरी बनाएर दिनुपर्छ । अहिलेका बालबालिका आमाबुबाले माया गरेर बाहिरका खानेकुरा दिएको देख्दा दुःख लाग्छ । एउटा त यसले बच्चाको स्वाथमा नराम्रो असर पार्छ, अर्कोतिर बच्चाले जीवनभरको लागि घरको खानाभन्दा बाहिरको खाना उत्तम हुन्छ भन्ने सिक्छ । अनि युवावस्था नपुग्दै उच्च रक्तचाप, मधुमेहको शिकार हुन्छ । प्याकेटका खानेकुरालाई राम्रोसँग सुरक्षित राख्न बढी नून र चिनी दुबै हालेको हुन्छ । बच्चाको सानो मृगौलामा त्यसले नराम्रो असर पर्छ । जब स्कुल जाने केटाकेटीको खाना बट्टामा बाबुआमाले नै खाजाको रुपमा चाउचाउ, बिस्कुट, कुरमुरे, दुनोट हालेको देख्छु मेरो मन कटक्क काट्छ । कतिलाई त भन्ने गर्छु, ‘तपाईंले बच्चालाई मन परेको भनेर यस्ता खाना दिनुहुन्छ । तर यसले त बच्चालाइ मन्द विषको काम गर्छ । मिर्गौला, मुटु, आद्रा सबै विस्तारै खराब हुँदैं जान्छ ।’ यसो भन्दा कतिले ‘ए हो र १ हामीलाई थाहा थिएन’ भनेर बच्चाको हातबाट खोस्छन् पनि, कतिले चाही पल्र्लक्क आँखा पल्ट्याउँदै भन्छन्, ‘तपाईलाई के चासो, मेरो छोराछोरीलाई म जे मन लाग्छ दिन्छु ।’ कतिले चाँही ‘हो हामीलाई थाहा छ, तर के गर्नु बच्चाले रोएर, मान्दैमान्दैन, अनि दिक्क लागेर दिन्छु’ भन्छन् । त्यस्ता बाबुआमालाई मेरो एउटै प्रश्न हुन्छ, ‘के तपाईको बच्चाले रक्सी र चुरोट खान्छु भनेर लडीबुडी गरे दिनुहुन्छ ?’ तुरुन्तै जवाफ आउँछ, ‘अहँ, दिन्न नि, त्यो त स्वास्थ्यको लागि खराब हुन्छ ।’ भन्छन् अनि म भन्छु हो, त्यसरी नै यस्ता प्याकेटका खानाले तपाईंको बच्चालाई हानि गर्छ । भोलि स्वस्थ्य युवायुवती बन्नुको सट्टा उनीहरु रोगी बन्छन् ।” गाउँ र शहरमा बालबालिका र शिशुको खानेकुरा भनेर महङ्गो बट्टा र प्याकेटमा बेचेको देख्दा प्रायः बाबुआमाले हो त नि त्यस्तै खाना बच्चालाई दिए बच्चा शारीरिक र मानसिक रुपमा स्वस्थ बन्छ भन्ने विचार राख्छन् । कतिले भन्छन् ‘हाम्रो भान्छामा त शिशुलाई खुवाउनयोग्य वस्तु नै छैन ।’ अनि कतिचोटी सञ्चारमाध्यमहरुमा बजारका प्याकेटका खानाको विज्ञापन आउँछ, ‘बच्चा एक वर्षको भएपछि घरको खानाले पुग्दैन । घरको खानामा प्रोटीन र भिटामिन हुँदैन । त्यसैले प्याकेटका खाना नै खुवाउनुपर्छ ।’ विज्ञापनको प्रभावमा परेर यस्ता प्याकेटका खाना बच्चालाई दिनु हुँदैन । यस्ता खाना त गहुँ, चामल, मकैबाट नै बनाइएका हुन्छन्, जुन हाम्रो घरमा हुन्छन् नै । प्याकेटमा राखेपछि यसको मूल्य बीसौं गुना बढ्न जान्छ । फेरि यस्ता प्याकेटमा राखेका अन्न कुहिएका वा म्याद नाघेको हुन्छन् कसलाई थाहा नै हुँदैन । त्यसैले शिशु र बालबालिकालाई आफ्नै भान्छाको खाना दिनपर्छ् । पास्नीपछि जब शिशुलाई अन्न दिन सुरु गरिन्छ, त्यसपछि थोरै थोरै चामलको पिठोको हलुवा खुवाउन सकिन्छ । शिशुलाई खान दिंदा उसलाई पहिले स्वाद लाग्दैन । शुरुशुरुमा थु थु गर्छ होला, तर विस्तारै धैर्यपूर्वक खुवाउनै जानुपर्छ । शिशुले खाएन भनेर धेरै चिनी हालेर खुवाउँदा एकछिन त शिशुले खान्छ तर चिनीले उसको स्वास्थमा राम्रो प्रभाव पार्दैन । चामलको पिठो, गहुँको पिठो आदिबाट हलुवा, लिटो बनाएर शिशुलाई खुवाउन शुरु गर्न सकिन्छ । गहुँ र चामलका पिठो, सुजी त प्रत्येकको भान्छामा हुन्छ । एक चम्चाबाट खुवाउन शुरु गरेर विस्तारै बढाउन सकिन्छ । शिशुको पेट सानो हुन्छ, त्यसैले एकैपल्ट धेरै खुवाउनु हुँदैन भन्ने हेक्का त राख्नै पर्छ । आलुलाई उसिनेर लिटो जस्तो बनाएर शिशुलाई खान दिने चलन त पुरानै हो । आलु शिशु र बालबालिकाको लागि शक्ति र विभिन्न किसिमका भिटामिन दिने राम्रो भोजन हो । तर आलुलाई बेस्सरी तेलमा तारेर वा फ्रच फ्राई जस्तो गरेर दिनु हुँदैन । शिशुलाई रक्तअल्पता नहोस् भनेर ध्यान पुर्याउनैपर्छ । भटमासको पिठो, बदामको पिठो अलिकता दूधमा पकाएर दिनाले शिशुको शरीरमा प्रोटिन पुग्छ । गाउँघरको चलनअनुसार फलामको भाँडामा पकाएको खानेकुराले शिशुलाई फाइदा गर्छ । विभिन्न प्रकारका दाल, भुटेर, चामल र मकै पनि भुटेर त्यसको सर्वोत्तम पिठो बनाएर त्यो दूध वा पानीमा पकाएर हलुवा वा मोहनभोग जस्तो गरेर दिन सकिन्छ । शिशुलाई दिनभरिमा पाँच/छ पटक खुवाउँदा शिशुको स्वास्थ राम्रो हुन्छ । खाना खुवाउँदा शिशुलाई गाली गरेर, तर्साएर, पिटेर जबर्जस्ती कोच्याएर खुवाइयो भने त्यसले शिशुको शरीरिक र मानसिक दुवै स्वास्थमा नराम्रो असर गर्दछ । कति जनाले शिशुलाई एक/दुई चोटी खुवाउन कोशिस गर्दा नखाएपछि, ‘आ, फुर्सद छैन । पछि खाइहाल्छ’ भनेर बेवास्ता गरिदिन्छन् । यसरी हरेक दिन शिशुले लामो समय भोको बस्यो भने उसलाई कुपोषण, रक्तअल्पता, विभिन्न खनिज पदार्थको कमी हुनसक्छ । शिशुलाई रक्तअल्पता भयो भने उसको रोगसँग लड्ने शक्ति पनि कम भएर जान्छ र बारम्बार रुखाखोकी लाग्ने, छातीमा सङ्क्रमण हुने हुन्छ । साथै, उनीहरुको नयाँ कुरा सिक्ने क्षमता पनि कमी हुन्छ । शिशुहरुलाई आफ्नो शरीरको जति तौल हो, त्यो अनुपातमा तीन–चार गुना बढी प्रोटिन जरुरत पर्छ । उदाहरणको लागि, आठ किलो तौल भएको शिशुको लागि २४–३२ ग्राम प्रोटिन चाहिन्छ । तर यो कुनै औषधि वा क्याप्सुलको माध्यमबाट दिएर हुँदैन, भोजनबाटै नै दिइनुपर्छ । घरमा पाइने दलहन, गहुँ, कोदो, फापरको पिठो उचित तरिकाले पकाएर खान दिंदा शिशुले पोषण प्राप्त गर्छ । यी वस्तुमा भिटामिन, फोलिक एसिड, भिटामिन सी आदि पनि हुन्छन् अर्थात शरीरलाई चाहिने पौस्टिक तत्व सहजै पाइन्छ । डा. अरुणा उप्रेती रक्तअल्पता नहोस् भनेर सफा गरिएको हरियो सागलाई फलामको भाडामा पकाएर त्यसलाई हातले मुछेर अलिकता कागती हालेर खुवाउँदा सागमा रहेको लौहत्व शरीरमा राम्रोसँग शोषण हुन्छ । अहिले प्रेसरकुकरमा साग वा दाल पकाउँदा सफा फलामको डल्नो हालेर पकाउने चलन पनि छ । अमेरिकाबाट निस्किएको ‘डाक्टर नभएमा’ भन्ने प्रसिद्ध किताबमा प्रेसरकुकर नहुने ठाउँमा एउटा गिलासमा सफा पानीमा फलामको टुक्रा राख्ने र आधा घन्टापछि फलामको टुक्रा झिकेर कागतीको रस राखेर कही बेर छोडिदिनु र केही समय पछि त्यसको पानी प्रयोग गर्दा पनि लौह तत्व शरीरमा प्राप्त हुन्छ भनेर लेखिएको छ । शिशुलाई दिने लिटो फलामको भाँडामा पकाउन सकियो भने पनि लौहतत्व प्राप्त हुन्छ । दूध शिशुको लागि राम्रो भोजन हो वा त्यसमा लौह तत्व हुँदैन । यदि दूधलाई फलामको भाँडामा उमालेर शिशुलाई खान दिइयो भने त्यसबाट पनि शिशुलाई लौहतत्व प्राप्त हुन्छ । शिशु एक वर्षको भएपछि अलिकता दाँत आउन थालेपछि जब केही टोक्न खोज्छ उसलाई सानो, टुक्रा गाजर टोक्न दिन सकिन्छ । शिशुलाई गाजर, फर्सी, लौका आदि उसिनेर, मुछेर गिलो बनाएर दिन सकिन्छ । यी सबै तरकारी विभिन्न खनिज तत्वले भरिपूर्ण हुन्छन् र यसको प्रयोगले गर्दा शरीरमा रेशादार पदार्थ पनि पुग्छ । रेशादार पदार्थले शिशु र बालबालिकालाई कब्जियतबाट बचाउँछ । कतिपय बाबुआमाले बच्चालाई बाहिरका भिटामिन, क्याल्सियम, प्रोटिन आदि औषधिको रुपमा खान दिनुपर्छ भन्ने विश्वास गर्छन् । अनि बच्चाका लागि भिटामिनका ठूलाठूला बोतल किनेर ल्याउँछन् र बच्चालाई राम्रो स्वास्थ्य दिएका छाैँ भनेर खुशी हुन्छन् । तर ५० वर्षअघि जब नेपालमा भिटामिनका सिसी पाइँदैनथ्यो, हाम्रा बाबुआमाले त हामीलाई राम्रो स्वास्थ हुर्काएका थिए । यो घरकै खानाबाट सम्भव भएको हो भन्ने कुरा बिर्सन हुँदैन । गाउँघरमा अहिले कतिपय आमाले चाउचाउ, बिस्कुट, कुरमुरे आदि अनेकथरिका भिटामिन पाइन्छ भनेर सुनेका हुन्छन् र उनीहरुले छ महिनाको शिशुलाई चाउचाउ पकाएर दिन्छन् । मेरो मन काटिन्छ । यस्तो देखेको बेलामा त अभिभावकलाई भन्छु प्याकेटको कुराले तपाईको बच्चाको स्वास्थ साह्रै नराम्रो पार्छ, नदिनोस् । उनीहरु छक्क पर्छन्, कतिले त मैले झुटो बोलेको ठान्छन् । कुपोषित बालबालिकालाई अस्पतालमा लैजादा प्रायः स्वास्थकर्मी र चिकित्सकले, कुपोषणको ठीक पार्न गोली र भिटामिनका सिसीको भर पर्न हुन्न, भान्छाकै खानेकुरालाई राम्रोसँग बनाएर दिनुपर्छ भनेर त पक्कै भन्छन् तर अभियभावकले यसतर्फ ध्यान नै दिंदैनन् । शहरका अभिभावकहरुलाई चाहीँ शायद शिशुलाई भोजन भान्छामा बनाएर ख्वाउन फुर्सद हुँदैन, अनि बाहिरका प्याकेटका खानाको भर पर्छन् । जब बच्चा बिरामी पर्छन् तब डाक्टर र अस्पतालमा जाँदा जसरी भएपनि फुर्सद निकाल्छन् । बाबुआमा, बाजेबज्यै, दिदीदाजु सबैको जिम्मेवारी शिशु र बालबालिकाको भोजन र स्वास्थको लागि उतिकै हुन्छ । शिशु र बालबालिकालाई तरल पदार्थ दिने नाममा विभिन्न थरिका बट्टाका फलफूलका रस दिने चलन पनि बढ्दो छ । तर यस्ता जुसमा ८० प्रतिशतसम्म चिनीको मात्रा हुन्छ । यसले बच्चालाई एकछिन गुलियो स्वाद त दिन्छ तर कुनै पौष्टिकता दिदैन, हानी नै पुर्याउँछ । यसरी फलफुलको रस बनाउने कारखानामा कुहिएका, सडेका फलफूल पनि प्याकेटमा राखेपछि केही थाहा हुन्न । बालबालिकालाई मौसम अनुसारको कुनै पनि फलफूल अमला, अम्बा, नास्पती, आँप, लिची नै दिए स्वस्थ्य रहन मद्दत गर्छ । एउटा कुरा चाहि के विचार गर्नु पर्छ भने समय भन्दाअघि पाकेको आँप, लिची, तरबुजा आदि औषधि हालेर पकाइएका पनि हुन सक्छन् र यिनले बच्चालाई पेट दुख्न, झाडापखाला लाग्ने आदि समस्या हुन सक्छ । साना शिशुलाई त अभिभावकले आफूले चाहेअनुसार पौष्टिक तत्वले भरिपूर्ण भोजन दिन सक्छन् तर जब बच्चा स्कुल जान थाल्छ तब उसलाई घरको खानेकुराभन्दा बाहिरको प्याकेटको खानेकुरा खान मन लाग्ने हुन्छ । उनीहरु अरुको देखासिकी गरेर र विज्ञापनको प्रभावमा परेर प्याकेटको खानेकुरामा आकर्षित हुन्छन् । ‘टाइम्स अफ इण्डिया’ पत्रिकामा केही समयअघि प्रकाशित लेखमा प्याकेटमा राखेका खानेकुराहरुमा स्वाद बढाउन विभिन्न रसायनिक पदार्थ र चिल्लो पदार्थ राखिएको हुन्छ, जसले गर्दा खानेकुरा लामो समय बिग्रन दिदैन र खानेकुरा सधैँ ताजा जस्तै त देखिन्छन् तर वास्तवमा यी हानिकारक नै हुन्छन् भनी उल्लेख गरिएको थियो । त्यसैले बालबालिकाले स्कूलमा खाना वा खाजा लैजाँदा प्याकेटको वस्तु लैजान दिनु हुँदैन । घरबाट लगेको खाजा फोहोरी होइन स्वास्थ्य राम्रो हो भन्ने बुझाउनुपर्छ । यसो गर्न सकिएमा आजका बालबालिका भोलिका स्वस्थ नागरिक हुन सक्छन् । रासस (लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन्)
दूध सङ्कलनमा कोटा लगाएको भनी आएका समाचारप्रति दुग्ध विकास संस्थानको आपत्ति
काठमाडौं । दुग्ध विकास संस्थानले दूध सङ्कलनमा कोटा लगाएको भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण गराएको छ । संस्थानले विज्ञप्ति जारी गर्दै ती समाचारहरू कपोलकल्पित भएकाे जनाएकाे हाे । संस्थानले भूकम्प, नाकाबन्दी, कोभिङ-१९ को प्रकोपजस्तो प्रतिकूल अवस्थामा पनि दुग्ध उत्पादक कृषक, उपभोक्ताप्रतिको जिम्मेवारी बोध गरी अविछिन्न रूपमा दुध सङ्कलन गर्दै आएको जनाएकाे छ । विगत ५६ वर्षदेखि ४६ वटा जिल्लाका दूध उत्पादक किसानहरूबाट दैनिक करिब ७०० दुग्ध उत्पादक सहकारी संस्थाबाट नियमित रूपमा दूध सङ्कलन गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ । साथै संस्थानले नियमित दूध उपलब्ध गराउने सहकारी संस्था, फर्मबाट दुध सङ्कलनमा कुनै पनि बाधा नभएको समेत जानकारी गराएकाे छ । दुई वर्षदेखि दूध सङ्कलन तथा बिक्रीमा असमञ्जस्यता उत्पन्न हुँदा धुलो दूध र मखनको अत्यधिक मौज्दात रहन गई कृषक भुक्तानीमा ढिलाइ भएको पनि संस्थानले जनाएकाे छ । नेपाल सरकारबाट २०८१ को वैशाखमा ३० करोड तथा असोजमा ६० करोड रुपैयाँ सहुलियत ऋण लिई कृषक भुक्तानीलाई नियमितता गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । साथै संस्थानले कार्तिक मसान्तमा करिब ५४२ मेट्रिक टन धूलो दूध र ६२० मेट्रिक टन मखन मौज्दात रहन जाँदा भण्डारणको स्थान चुनौतीको रूपमा आएको जानकारी गराएकाे छ । माथि उल्लेखित समस्या समाधानका लागि खर्च कटौती, प्रविधि विस्तार तथा दीर्घकालीन कर्मचारी दायित्व व्यवस्थापन कार्य गर्दै आइरहेको पनि संस्थानले अवगत गराएको छ । साथै संस्थानको कार्यक्षेत्रभित्र रहेका संस्थानलाई नियमित दूध बिक्री गर्दै आएका दूग्ध उत्पादक सहकारी संस्था तथा फार्महरूबाट दूध बिक्री नभएमा संस्थानको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेकाे छ ।
सुवालले जिते लक्की ड्रमा स्मार्टफोन
काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले विजया दशमी तथा शुभ दीपावली २०८१ लाई लक्षित गरी आयोजित २ महिने टपअपमा क्यास ब्याक अभियानको लक्की ड्रमा पाण्डव सुवालले सामसङ एम १४ स्मार्टफोन जितेका छन् । सो अभियानमा टपअप गरी सहभागिता जनाउने संस्थाका मोबाइल बैकिङ प्रयोगकर्ताहरूमध्येबाट सुवालले स्मार्ट फोन जितेका हुन्। त्यस्तै, टप अप गर्ने संस्थाको विभिन्न शाखा कार्यालयका बचतकर्ताहरूमध्येबाट १२ जनाले १०० रुपैयाँका दरले क्यासब्याकसमेत पाएका छन् ।
एनपीएलको टिकटिङ पार्टनर ‘खल्ती’मा अनलाइन टिकट खुला
काठमाडौं । नेपालको डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै नेपाली क्रिकेट जगतको महाउत्सव, द फेस्टिभल अफ हिमालयज ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । यो लिगले देशभित्र र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई एकत्रित गर्दै नेपाली क्रिकेट उत्थानको लागि एक महत्त्वपूर्ण भूमिका खेल्नेछ । क्रिकेटप्रेमीहरूले खल्ती एपमार्फत सजिलैसँग टिकट काट्न सक्ने छन् । पहिलो दिन प्लेअफ र त्यसपछिका खेल हुने दिनबाहेक प्रतिदिन साधारण टिकटको मूल्य ३०० रुपैयाँका साथै भिआइपी टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ । प्लेअफ र त्यसपछिका खेलका लागि भने टिकट चाँडै उपलब्ध हुने खल्तीले जनाएको छ । फ्यानहरूले सबै खेलको एकमुष्ठ सिजन पास पनि लिन सक्नेछन्ः साधारणको मूल्य ४ हजार ४८० रुपैयाँ र भिआइपी टिकटको मूल्य ८ हजार २४० रुपैयाँ रहेको छ । मंसिर १५ बाट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुन गइरहेको एनपीएलमा विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोली सहभागी हुनेछन् ।
कुथेली बुखरी हाइड्रोपावरको लाभांश घोषणा
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्तापूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले १ करोड २१ लाख ८६ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्नेछ । सो लाभांश विद्युत नियमन आयोगको स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
पोखरा चाइनिज इटाबाट सय युवालाई रोजगारी
काठमाडौं । पोखराको पोल्याङमा रहेको पोखरा इको रेड ब्रिक्स प्रालिले एक सय युवालाई रोजगारी प्रदान गर्न सफल भएको छ । अत्याधुनिक, वातावरणमैत्री प्रविधिमा चाइनिज इटाको उत्पादन गर्दै आएको यस होफम्यान क्लिन इटा उद्योगले झन्डै एक सय युवालाई रोजगारी दिन सफल भएको जनाएको छ । यद्यपि उत्पादनको धेरैजसो काम मेशिनमार्फत गरिन्छ । तथापि उद्योगले एक सय जना नेपालीहरूलाई रोजगारी उपलब्ध गराउन सकेको जानकारी कम्पनीले दिएको छ । कम्पनीले आफ्नै ८५ रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरी एक वर्षअघि इटाको उत्पादन सुरु गरेको थियो । झन्डै ५० करोड रुपैयाँ लगानीमा जर्मन होफम्यान क्लिन प्रविधि प्रयोग गरी इटा उत्पादन गर्दै आएको कम्पनीले वार्षिक एक करोड इटा उत्पादन क्षमता रहेको जनाएको छ । पोखरा इको रेड ब्रिक्स प्रालिका टेक्निकल डाइरेक्टर इन्जिनियर कृष्णभक्त दुवालले उद्योग स्थापना भएदेखि अहिलेसम्म करिब एक सय नेपाली युवालाई रोजगारी दिन सफल भएको जानकारी गराए । उनले जानकारी दिएअनुसार, यो प्रविधि ४५ वर्षअघि भक्तपुरको भक्तपुर चाइनिज इटा तथा टायल कारखाना र ललितपुरको हरिसिद्धि चाइनिज इटा तथा टायल कारखानामा प्रयोग गरिएको इटा पोल्ने प्रविधिको आधुनिक रूप हो । ‘सामान्यतया इटा पोल्ने संरचना र जनशक्ति भारतको विहारबाट आएका मजदुरहरूले सञ्चालन गर्दै आएका थिए । तर, पोखराको पोल्याङमा होफम्यान क्लिन प्रविधि प्रयोग गरी नेपाली जनशक्तिबाट नै उत्पादन सुरु गरेका छौं,’ डाइरेक्टर दुवालले भने । कारखाना पोखरा र दमौलीबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित रहेको छ । जर्मन वैज्ञानिक फ्रेडरिक होफम्यानले सन् १८५८ मा विकास गरेको होफम्यान क्लिन प्रविधिबाट इटा पोल्नका लागि आधुनिक भटाको निर्माण गरी उत्पादन सुरु गरिएको थियो । नेपालमा यो प्रविधि भित्रिएको लगभग आधा शताब्दीपछि यस प्रविधिमार्फत अत्याधुनिक चाइनिज इटा उत्पादन गर्न सफल भएको हो । संसारभरि नै यो होफम्यान प्रविधिलाई इटा उत्पादनमा वातावरणमैत्री प्रविधि मानिन्छ । यस प्रविधिबाट उत्पादन गर्दा अधिकांश काम मेशिनले नै गरिनेछ । ड्रायर बनिसकेपछि वर्षभरि कारखाना सञ्चालन गर्न सकिनेछ । प्रालिले आफ्ना इटा देशभर डेलिभरी गर्न सक्ने क्षमता रहेको बताएको छ । नेपालमा यसअघि यो प्रविधिमा आधारित दुईवटा चाइनिज इटा उद्योग—भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग—थिए । तीमध्ये भक्तपुर इटा तथा टायल उद्योग अहिले निजी क्षेत्रद्वारा सञ्चालन हुँदै आए पनि हरिसिद्धि कारखाना बन्द भइसकेको छ ।