गोल्डेन ड्रेगनका नयाँ मोडलहरू नेपाल भित्रिँदै
काठमाडौं । गोल्डेन ड्रेगनका विद्युतीय भ्यानका थप मोडल नेपाली बजारमा उपलब्ध हुने भएका छन् । नेपालका लागि आधिकारिक वितरक आर्क्स ग्रुपले गोल्डेन ड्रेगनका विद्युतीय माइक्रोबस बिक्री–वितरणका लागि उपलब्ध गराउने जनाएको छ । १४ सिटे माइक्रोबसको मूल्य ५७ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । गोल्डेन ड्रेगनमा १५ सिटर र १६ सिटर माइक्रोबस समेत उपलब्ध हुनेछन् । यी माइक्रोबसको मूल्य ५५ लाख र ६२ लाख रुपैयाँ रहने छ । त्यसैगरी, आर्क्स ग्रुपले जुबाओ ब्रान्डका माइक्रोबस समेत बिक्रीका लागि उपलब्ध गराउने भएको जनाएको छ । ११ सिटर र १४ सिटर यी माइक्रोबसको मूल्य क्रमशः ४५ लाख ५० हजार र ४९ लाख ५० हजार रुपैयाँ हुनेछ । यी भ्यानहरू लामो र छोटो दूरीका विभिन्न यातायात सञ्चालक, ट्राभल एजेन्सी, ट्रेकिङ, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यावहारिक हुने विश्वास गरिएको छ । आर्क्स ग्रुपले नेपाली बजारमा हाइगर बस, हाइलोङ ईभी भ्यान लगायतका अन्य विभिन्न ब्रान्डको समेत कारोबार गर्दै आइरहेको छ।
राष्ट्रिय जीवन बीमाको सीईओमा बैंकरदेखि पूर्वउपसचिवसम्मले दिए आवेदन, ८ मध्ये कसले मार्ला बाजी ?
काठमाडाैं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि बीमा, बैंकिङ, सामाजिक सुरक्षा कोषका उच्च व्यवस्थापक र पूर्व उपसचिवबीच प्रतिस्पर्धा हुने देखिएको छ । आवेदन दिने अन्तिम मिति आज (बुधबार) साँझ ४ बजेसम्म बीमा क्षेत्रमा उच्च व्यवस्थापन पदमा कार्यरत कर्मचारी, बीमा क्षेत्रमा उच्च व्यवस्थापन पदमा कार्यरत र पूर्व कर्मचारी, पूर्व उपसचिव, सामाजिक सुरक्षा कोषको उच्च व्यवस्थापन पदमा रहेका कर्मचारी लगायत ८ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमा सुन्दर पन्थी, प्रकाशमान बज्राचार्य, रामकृष्ण पन्थी, महेश रिमाल, रामदेव यादव, राजुनाथ खनाल र लक्ष्मण पराजुली रहेका छन् । जसमध्ये सुन्दर पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । स्थायी ठेगाना गुल्मी रहेका पन्थीले बैंकको अपरेशन डिपार्ट सम्हालिरहेका छन् । यसैगरी, काठमाडौंका प्रकाशमान मानन्धर प्राइम कमर्सियल बैंकका उच्च व्यवस्थापन पदमा कार्यरत थिए । स्थायी ठेगाना गुल्मी रहेका रामकृष्ण पन्थी पूर्वउपसचिव हुन । उनी महालेखा नियन्त्रक कार्यालयको उपसचिवबाट रिटायर भएका हुन् । रिमाल हाल कम्पनीको कार्यवाहक सीईओ हुन् । चार्टर्ड एकाउण्टेन्टसमेत रहेका रिमाल विगत २ दशकदेखि सोही कम्पनीमा कार्यरत रहेका छन् । २०८० कार्तिकमा तत्कालीन बीमा संस्थान कम्पनीमा परिणत भएको थियो । कम्पनीमा परिणत भएसँगै रिमालले कार्यवाहक सीईओको भूमिका निर्वाह गर्दै आएका छन् । विराटनगर घर भएका रोहित रेग्मी सामाजिक सुरक्षा कोषका उच्च व्यवस्थापक पदमा कार्यरत छन् । उनी कोषको उपनिर्देशक हुन् । धनुषा घर भएका रामदेव यादव विभिन्न विकास बैंकको उच्च व्यवस्थापन पदमा काम गरिसकेका व्यक्ति हुन् । उनको स्थायी ठेगाना धनुषा हो । राजनाथ खनाल नेपाल बैंकको उच्च व्यवस्थापन पदबाट रिटायर कर्मचारी हुन् । उनी साविक बीमा संस्थानको सञ्चालक समितिका सदस्य समेत बनेका थिए । स्याङ्जा घर भएका लक्ष्मण पराजुली यूनाइटेड अजोड इन्स्योरेन्समा कार्यरत छन् । उनले सो कम्पनीमा मार्केटिङ डिपार्ट सम्हालिरहेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीले मसिंर ६ गते दोस्रो पटक सीईओको आवेदन खुलाएको थियो । जहाँ आवेदन दिने अन्तिम दिन आज साँझसम्म थियो । यसअघि कम्पनीले पहिलोपटक असोज १६ गते आवेदन माग गरेको थियो । त्यसबखत ४ जनाको आवेदन परेको थियो । जसमध्ये ४ जना नै फेल भएका थिए । दरखास्त दिने उम्मेदवारहरूले पेश गरेका शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको कुल पूर्णाङ्क ५५ को ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्ने उम्मेदवारलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि सिफारिस गर्नुपर्ने व्यवस्था रहेकोमा कुनै पनि उम्मेदवारले कुल पूर्णाङ्कको ६० प्रतिशत अंक प्राप्त गर्न नसकेपछि पदपूर्ति समितिले सबैलाई फेल गराएको सूचना सार्वजनिक गराएको थियो । त्यसबखत आवेदन दिनेहरूमा महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठ रहेका थिए, जसमध्ये यादव र रिमालले फेरि पनि आवेदन दिएका छन् ।
सुन्तलाबाट मनग्य आम्दानी गर्दै कृषक, एउटै वडाबाट ३ करोडको बिक्री हुने अनुमान
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषकहरुले सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मात्रै यस वर्ष ३ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री हुने कृषकको अनुमान छ । स्थानीय कृषक भीमबहादुर रानाले यस वर्ष यो वडाबाट ३ करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बताए । लुङ्ग्रिङमा एकै घरबाट २० लाखभन्दा बढीको सुन्तला बिक्री हुने उनले जनकारी दिए । विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता भएका बाटकवासी केही वर्षयता भने सुन्तला बेचेरै लखपति बनेको स्थानीय कृषक प्रेम थापाले बताए । पछिल्लो समय यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला रहेको उनको भनाइ छ । उनले भने, ‘यहाँका कृषकले सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो समय सुन्तलामा विभिन्न किसिमका रोग देखिँदा कृषक भने चिन्तित छन् ।’ सोही वडाका स्थानीय जितबहादुर थापाका अनुसार रोग नलागेको भए ३ करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान थियो । उनले भने, ‘३ करोडको सुन्तला बिक्री हुने अनुमान छ, तर रोग नलागेको भए अझै धेरै बिक्री हुन्थ्यो होला ।’ यहाँ करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन भए पनि उक्त सुन्तलालाई बजारसम्म लैजान भने समस्या हुँदै आइरहेको छ । नदीपारि रहेको लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान समस्या हुने कृषकहरु बताउँछन् । लुङग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट तथा मुग्लिङ नारायणगढ सडकको गाईघाटसम्म जिपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउँछन् । छापस्वाँरा र दगराका कृषकले भने ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौँ लैजाने गरेका छन् । नाल्दी र गाइघाटमा पुल नहुँदा ढुवानी खर्च महंगो हुने गरेको कृषक हरिकुमार श्रेष्ठको भनाइ छ । उनले भने, ‘यहाँका स्थानीयले सुन्तला, अदुवा, केरा तथा अन्य फलफुल रोपवेबाट नै राजमार्गसम्म झार्ने गरेका छन् ।’ गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले देवघाट तीन तिरबाट नदीले घेरिएको र उक्त ठाउँमा पुल नहुँदा समस्या भइरहेको बताए । रासस
नेपालमा चौंथोपटक १० लाखभन्दा बढी पर्यटक भित्रिए, सबैभन्दा धेरै कुन देशबाट ?
काठमाडौं । सन् २०२४ को ११ महिनामा १० लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्ममा १० लाख ५५ हजार ५५३ जना पर्यटक नेपाल भ्रमण गर्न आइपुगेका हुन् । नेपालमा १० लाखभन्दा बढी पर्यटक भित्रिएको यो चौंथो पटक हो । तथ्यांकअनुसार अघिल्लो वर्ष अर्थात सन् २०२३ मा पनि नेपालमा १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसअघि सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटक भित्रिएका थिए । त्यस्तै, सन् २०१९ मा नेपालमा विदेशी पर्यटक भित्रिने संख्या ११ लाख ९७ हजार १ सय ९१ थियो । सन् २०२४ को नोभेम्बरमा मात्रै एक लाख १४ हजार ५०१ पर्यटक भित्रिएका छन् । गत वर्षको नोभेम्बरमा एक लाख ८ हजार ६३० पर्यटक नेपाल भित्रिएको थियो । तथ्यांकअनुसार गत वर्षको डिसेम्बरको तुलनामा यस वर्ष सबै मुलुकबाट भित्रिने पर्यटकको संख्यामा वृद्धि देखिएको छ । पर्यटन बोर्डका अनुसार नोभेम्बरमा सार्क मुलुकबाट सबैभन्दा बढी पर्यटक भित्रिएका छन् । सार्क मुलुकबाट ३१ हजार १६१ पर्यटक भित्रिएको छ । दोस्रोमा एसियाबाट २४ हजार ८९७ पर्यटक भित्रिएका छन् । गत वर्षको सोही अवधिमा एसियाबाट २२ हजार ४३८ पर्यटक भित्रिएका थिए । गत वर्षको नोभेम्बरको तुलनामा यस वर्ष नोभेम्बरमा युरोप मुलुकबाट भित्रिने पर्यटको संख्यामा पनि वृद्धि छ । गत वर्ष २२ हजार ६९३ पर्यटक भित्रिएकोमा यो वर्ष २६ हजार १५५ पर्यटक भित्रिएका छन् । समीक्षा महिनामा सबैभन्दा धेरै भारतबाट १९ हजार ९१५ पर्यटक नेपाल भ्रमणका लागि भित्रिएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १८.५ प्रतिशतले कमी हो । गत वर्षको सोही महिनामा २४ हजार ४४३ पर्यटक भित्रिएका थिए । भारतपछि सबैभन्दा बढी पर्यटक अमेरिकाबाट १० हजार ९८१ पर्यटक भित्रिएका छन् । जुन गत वर्षको भन्दा ७.७ प्रतिशतले बढी पर्यटक भित्रिएको छ । गत वर्षको सोही अवधिमा ६ हजार १३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यस्तै, नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने तेस्रो मुलुकमा चीन रहेको छ । नोभेम्बरमा चीनबाट ६ हजार ६११ पर्यटक भित्रिएको बोर्डको तथ्यांक छ । यो संख्या पनि गत वर्षको तुलनामा २४.४ प्रतिशतले बढी हो । चीनपछि बेलायतबाट धेरै पर्यटक भित्रिएका छन् । बेलायतबाट नोभेम्बरसम्ममा ६ हजार ६११ पर्यटक भित्रिएका छन् । जुन गत वर्षको भन्दा ७.७ प्रतिशतले बढी हो ।
स्वास्थ्य मन्त्रालयद्वारा जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया सुरु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति २०७१ लाई संसोधन गरेर नयाँ नीति ल्याउन प्रक्रिया अघि बढाएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विज्ञहरुसँग परामर्श थालेका छन् । राजधानीमा मन्त्रालयले योजना आयोग, विषयगत मन्त्रालय तथा विज्ञसँग सुझाव संकलन गरेको छ । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जनसंख्या वृद्धिदर घटिरहेको र गाउँका बस्ती रित्तो बनिरहेको सन्दर्भमा पुरानो नीतिमा परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस गरेर छलफल थालिएको बताए । उनले नेपालको जनगणना २०७८ को नतिजाले ३४ जिल्ला र तीन सय १९ तहमा जनसंख्या ऋणात्मक रहेको भन्दै बढ्दो असन्तुलनलाई कम गर्नका लागि सम्बोधन गरेर राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्न आवश्यक रहेको बताए । सहरी क्षेत्रमा बसाइंसराई बढ्ने तथा विदेश जानेको संख्या वृद्धि हुनुमा रोजगारी र अवसर अभाव प्रमुख समस्या रहेको भन्दै उनले यसका लागि नीतिगत सुधार आवश्यक रहेको महसुस गरेर ऐन परिमार्जनमा लागेको बताए । हाम्रो प्रजनन दर ऋणात्मक हुने अवस्थामा नजाओस्, त्यसको असर जनसांख्यिक विकासमा नपरोस् भनेर अपनाउँदै आएको नीतिमा परिमार्जन गर्न खोजेका छौं, उनले भने, हामी नीतिगत परिमार्जनका लागि तयार छौं । तर यो हाम्रो मात्र नभएर पालिका सरकारको पनि जिम्मेवारी हो । मन्त्री पौडेलले पालिकाभित्र जनसंख्या किन घट्यो भनेर पालिका सरकारहरु पनि चिन्तित हुनुपर्ने उल्लेख गर्दै मिलेर समस्या समाधान गर्ने बताए । ‘आफ्नो पालिकाभित्र जनसंख्या किन घट्यो भनेर पालिकाहरुले पनि सोच्नु जरुरी छ,’ उनले भने, ‘हामीले बाहिर जाने कारण पत्ता लगाएर त्यसलाई कसरी रोक्न सकिन्छ भनेर सहकार्य गरौं । हामी तयार छौं ।’ मन्त्रालयले विज्ञहरुको सुझावका आधारमा ऐन परिमार्जन गरेर संसोधनका लागि संसदमा लैजाने गरी परामर्श गरिरहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
अंग प्रत्यारोपण गर्ने दुई संस्थाबीच एकता
काठमाडौं । नेपालमा मानव अंग प्रत्यारोपण गर्ने दुई संस्थाबीच एकता भएको छ । सोसाइटी अफ अर्गान ट्रान्सप्लान्टेसन ( एनइएसओटी) र नेपाल ट्रान्सप्लान्टेसन सोसाइटी (एनटीएस) बीच एकता भएको हो । एकताको लागि दर्ता प्रक्रियामा रहेको संस्थाको नाम सोसाइटी अफ अर्गान ट्रान्सप्लान्ट अफ नेपाल रहेको छ । एकीकृत संस्थाको ३ वर्षसम्म डा. पुकारचन्द्र श्रेष्ठ अध्यक्ष बन्ने सहमति भएको छ भने, त्यसपछि अर्को कार्यकाल डा. दिव्या सिंह शाहले गर्ने सहमति भएको छ । त्यसपछिको नेतृत्वका लागि भने निर्वाचन हुने छ । यसैबीच मानव अङ्ग प्रत्यारोपण गर्ने संस्थाको आयोजनामा प्रत्यारोपण सम्मेलन हुने भएको छ । ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फरेन्स’ नाम दिइएको सम्मेलन यही मंसिर २९ र ३० गते काठमाडौंमा हुने जनाइएको छ । सम्मेलनमा चिकित्सक र अनुसन्धानकर्ताहरूले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् । भारत, अमेरिका बेलायत, जापान, नेदरल्यान्ड लगायतका देशका प्रत्यारोपण विज्ञ सम्मेलनमा सहभागी हुने डा.श्रेष्ठले जानकारी दिए । सम्मेलनमा भारत, अमेरिका बेलायत, जापान, नेदरल्यान्ड लगायतका देशका प्रत्यारोपण विज्ञ सहभागी हुने भएका छन् ।
वायु प्रदुषणका कारण विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन
काठमाडौं । इरानको राजधानी तेहरानमा बुधबार र बिहीबार ‘अस्वस्थ’ वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। उच्च प्रदूषणको स्तर रहेको तेहरानमा हालैका दिनहरूमा धुवाँ तथा तुवालोका कारण प्रदूषणको मात्रा ह्वात्तै बढेको छ । अल्बोर्ज पर्वतको दक्षिणी फेदमा अवस्थित तेहरानमा बुधबार स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी वायुको गुणस्तर ‘अस्वस्थ’ स्तरमा पुगेको अर्थात् औसत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १७० पुगेको बताएका छन् । राजधानीमा केही विशिष्ट शाखाबाहेक सबै सङ्ग्रहालय र बैङ्कहरू बन्द गरिएको थियो । इरानको चार सय ३५ मिटर अग्लो ऐतिहासिक मिलाद टावर बुधबार बिहान मुस्किलले देखिएको थियो । प्रदूषणले मध्य इरानको इस्फाहान र उत्तरपश्चिमको ताब्रिजलगायत अन्य प्रमुख शहरहरूमा पनि प्रभाव पारिरहेको छ । दक्षिणपश्चिममा रहेको अहवाजमा पनि प्रदूषणको मात्रा उच्च रहेको सरकारी टेलिभिजनले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले केही औद्योगिक पूर्वाधारको जीर्ण अवस्था, पुरानो सवारी साधनको र गुणस्तरहीन पेट्रोलका कारण प्रदूषण बढेको बताएका छन् । हालैका हप्ताहरूमा, सरकारले केही पावर प्लान्टहरूमा प्रयोग हुने ईन्धनलाई पनि योगदानको कारकको रूपमा हेरेको छ । इरानका स्वास्थ्यमन्त्री मोहम्मद–रेजा जफरघान्डीका अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष देशभर करिब ५० हजार मानिसको अकालमा मृत्यु हुने गरेको छ ।
निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच सिमेन्टको मूल्य घटाउने सहमति
काठमाडौं । सिमेन्ट उद्योगी व्यवसायीले सिमेन्टको मूल्य घटाउने प्रतिबद्धता जनाएका छन् । बुधबार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीहरूसँग अध्यक्ष सिंहले काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउन सिमेन्ट व्यवसायीहरूले प्रतिवद्धता गरेको जानकारी दिए । सिंहका अनुसार काठमाडौं उपत्यकामा अब ६०० रुपैयाँमा पीपीसी सिमेन्ट उपलब्ध हुनेछ । आफूहरूले सिमेन्ट उद्योगहरू धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ । ‘हामीले उहाँहरूलाई सिमेन्ट उद्योगीहरू धराशायी हुने गरेर बजार भाउ पनि राख्नु भएन । बजार घाटालाई हेरेर जसरी उहाँहरुले अहिले फ्याक्ट्रीमा सात सय रुपैयाँ पुर्याउनु भएको छ,’ सिंहले भने, ‘आफ्ना आफ्ना समस्याहरू राख्ने काम भएको छ । अब यही अनुसार सिमेन्ट व्यवसायीहरूले काठमाडौंमा ७०० रुपैयाँमा ओपिसी सिमेन्ट र ६०० रुपैयाँमा पीपीसी सिमेन्ट उपलब्ध गराउने हाम्रो बीचमा सहमति भएको छ । त्यो स्वागतयोग्य छ।’ सिमेन्ट उत्पादक संघले नयाँ मूल्यसूची छिट्टै कार्यान्वयन गर्ने सिंहले विश्वास व्यक्त गरे ।