जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण, लागत १ करोड ३५ लाख
काठमाडौं । जापान सरकारको अनुदान एक करोड ३५ लाख रुपैयाँको लागतमा हुम्लाको सदरमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ । बुधबार त्यहाँ आयोजित कार्यक्रममा यहाँस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तिकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गरे । उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ । नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्नसक्ने यहाँस्थित जापानी राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
टेस्लाको ‘सर्ट पोजिसन’ले गेट्सलाई १. ५ बिलियन डलर घाटा, ‘गेट्स ऋणमा डुब्न सक्छन्’
काठमाडौं । अर्बपति एलन मस्क र बिल गेट्सबीच फेरि विवाद उत्पन्न भएको छ । टेस्लाको सेयरले गर्दा दुईबीच विवाद उत्पन्न भएको हो । मस्कले यदि टेस्ला संसारको सबैभन्दा ठूलो कम्पनी बन्यो भने गेट्स ऋणमा डुब्न सक्ने बताएका छन् । गेट्सले टेस्लाको सेयरमा ‘सर्ट पोजिसन’ लिएका थिए । यसको मतलब यो हो कि उनले टेस्लाको सेयर घट्ने अनुमान गरेका थिए । मस्कका अनुसार यसबाट गेट्सलाई १.५ बिलियन डलर नोक्सान भएको छ । हाल टेस्लाको मार्केट क्याप १.२५ ट्रिलियन डलर छ भने एप्पलको ३.७२ ट्रिलियन । टेस्ला शीर्ष स्थानमा पुग्न लगभग २०० प्रतिशत ग्रोथ हुनुपर्छ । मस्कले सोशल मिडिया प्लेटफर्म एक्स (पुरानो ट्वीटर) मा लेखेका छन्, ‘यदि टेस्ला विश्वको सबैभन्दा ठूलो कम्पनी बन्यो भने गेट्सको ‘सर्ट पोजिसन’ ले उनलाई ब्याङ्करप्ट (ऋणमा डुब्नु) बनाउनेछ ।’ दुई अर्बपतिबीच लामो समयदेखि चलिरहेको विवादको यो नयाँ अध्याय हो । यस विवादको जराे टेस्ला स्टकमा लिइएको गेट्सको ‘सर्ट पोजिसन’ हो । वाल्टर आइज्याक्सनको जीवनी मस्क (२०२३) अनुसार गेट्सले यो ‘सर्ट पोजिसन’ मा १.५ बिलियन डलर गुमाए । सर्ट पोजिसन भनेको के हो ? ‘सर्ट पोजिसन’ एक सेयर बजार रणनीति हो । यसमा लगानीकर्ताले आफूसँग नभएको सेयर उधारो लिएर बिक्री गर्छ । सेयरको मूल्य घट्ने उसको अपेक्षा हुन्छ । त्यसपछि कम मूल्यमा सेयर किनेर नाफा कमाउँछ । गेट्सले सन् २०२१ मा सीएनबीसीसँगको अन्तर्वार्तामा आफ्नो पोजिसनबारे बोल्न अस्वीकार गरेका थिए । यद्यपि उनले टेस्लाको उपलब्धिको प्रशंसा गरे । उनले भनेका थिए, ‘एलनले टेस्लासँग जे गरे त्यो शानदार छ ।’ टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार मस्क र गेट्सबीचको विवाद टेस्ला स्टकको विरुद्ध गेट्सको ‘सर्ट पोजिसन’बाट सुरु भएको थियो । २०२२ मा गेट्सले टेस्लाविरुद्ध शर्त लगाएको बताएका थिए । वाल्टर आइज्याक्सनको जीवनी मस्क (२०२३) अनुसार गेट्सले यस शर्तबाट १.५ बिलियन डलर गुमाए । भर्खरै एक पूर्व प्रयोगकर्ता टेस्लाकोनोमिक्सले मस्कको पुरानो ट्वीट पोस्ट गरेको थियो । यसमा मस्कले भनेका थिए, ‘यदि टेस्ला विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल हुन्छ भने त्यो सर्ट पोजिसनले बिल गेट्सलाई समेत ब्याङ्करप्ट बनाउन सक्छ ।’ गेट्सले टेस्लाविरुद्ध ठूलो बाजी लगाउँदा टेस्ला केही वर्ष पहिले सबैभन्दा कमजोर थियो । टेस्लाको सेयर ५६.९१ प्रतिशतले वृद्धि टेस्लाको सेयर यस वर्ष ५६.९१ प्रतिशतले बढेको छ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जित हासिल गरेसँगै मस्क मालामाल भएका हुन् । मस्कको ट्रम्पसँग गहिरो सम्बन्ध छ । गत महिना टेस्ला र स्पेसएक्सका सीईओसमेत रहेका मस्कले सम्पत्तिमा नयाँ कोसेढुंगा हासिल गरे । उनी अहिलेसम्मकै धनी व्यक्ति बनेका हुन् । फोर्ब्सका अनुसार आफ्नो कम्पनीको सेयर मूल्यमा भएको वृद्धि र उनको उद्यमको बढ्दो मूल्याङ्कनका कारण मस्कको कुल सम्पत्ति ३३४.३ बिलियन डलरको सर्वकालीन उच्च बिन्दुमा पुगेको छ । मस्क र गेट्सबीचको यो विवादले दुई दिग्गजबीचको प्रतिस्पर्धा झल्काउँछ । एकातिर प्रविधिको क्षेत्रमा नयाँ प्रयोगका लागि परिचित मस्क छन् । अर्कोतर्फ परोपकारी कार्यमा सक्रिय गेट्स छन् । यी दुईबीचको विवाद अझै जारी रहन सक्छ ।
वीरगञ्जबाट डिजेल आयात घट्यो, निर्माण क्षेत्र ठप्प रहेकाले आयात घटेको अध्यक्ष सिंहको भनाइ
पर्सा । वीरगञ्जबाट डिजेल आयात घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आव २०८१/८२ को चार महिनामा रु २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व सङ्कलनमा असर परेको बताए । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताए । उनले भने, ‘सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन ।’ त्यसैगरी, चालु आवको चार महिनामा रु १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा रु १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो ।
एनपीएल उत्सव : एनसेलले चौकावापत १ हजार ५०० शैक्षिक सामग्री वितरण गर्ने
काठमाडौं । एनसेल फाउन्डेसनले बुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा हानिएका कुल ३७५ चौकावापत १ हजार ५०० वटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्ने भएको छ । यी सामग्रीहरू दुर्गम र ग्रामीण भेगका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिने छ । गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौकावापत चारवटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको थियो । बुधबारसम्म खेलिएका १९ वटा खेलमा ७३ जना खेलाडीले कुल ३७५ वटा चौका हानेका छन् । लुम्बिनी लायन्सका क्याप्टेन रोहितकुमार पौडेलले सबैभन्दा बढी २४ वटा चौका हानेर ९६ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् । जनकपुर बोल्टका लाहिरु मिलन्थाले अहिले सम्मको दोस्रो धेरै २२ चौकासहित ८८ शैक्षिक सामग्री र पोखरा एभेन्जर्सका आन्द्रियस गौसले १९ चौकाबाट ७६ शैक्षिक सामग्रीको वितरण पक्का गरेका छन् । यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखिएको छ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीजस्तै स्कुल ब्याग, कापी, सिसाकलम, कटर, इरेजर लगायतका सामग्री समावेश हुनेछन् । यी सामग्रीले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान गर्ने विश्वास लिइएको छ । एनसेल फाउन्डेसनले एनपीएलका खेलहरू सकिएपछि क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा शैक्षिक सामग्रीहरूको वितरण गर्नेछ ।
राधी विद्युतको लाभांश घोषणा, बोनस कति ?
काठमाडौं । राधी विद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस १८ गते वार्षिक साधारण सभा बिहान ११ बजे ललितपुरमा बोलाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन सभाले पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस ४ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
एक्सल डेभलपमेन्ट बैंकले बिक्रीमा राख्यो यूनाइटेड अजोडको सेयर, मूल्य १५९ रुपैयाँ
काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकले यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको छ । बैंकले यूनाइटेड अजोडमा रहेको आफ्नो स्वामित्वको सेयर आज मंसिर २७ गतेदेखि बिक्रीमा राखेको हो । बैंकले कम्पनीमा रहेको ९२ हजार ३२० कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १५९ रुपैयाँ तोकेको छ । इन्स्यारेन्सको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक संस्थापकले माघ २२ गतेसम्म दिनुपर्नेछ । यदि सो अवधिभित्र उक्त सेयर बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ । उक्त सेयर खरिद गर्दा कम्तिमा ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेरुप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र स्वावलम्बन लघुवित्त संस्थाको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस वापतको १ लाख ४४ हजार ४९५ कित्ता सेयर, अरुण भ्यालीको ३ प्रतिशत बोनस वापतको ११ लाख २० हजार ७७८ कित्ता र स्वाबलम्बन लघुवित्तको १४.२५ प्रतिशत बापतको २० लाख ६६ हजार २५० कित्ता सेयर सूचीकृत भएको हो ।
उच्च मूल्यबाट तल झर्यो अमेरिकी डलरको भाउ, निरन्तर ओरालो लाग्दै यूरो
काठमाडौं । बुधबार हालसम्मकै उच्च मूल्यमा पुगेको अमेरिकी डलरको भाउ बिहीबार भने घटेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.४४ रुपैयाँ र बिक्रीदर १३६.०४ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.२० रुपैयाँ र बिक्रीदर १४२.८३ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.४० रुपैयाँ र बिक्रीदर १७३.१७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.३० रुपैयाँ र बिक्रीदर १५३.९८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.९७ रुपैयाँ र बिक्रीदर ८६.३५ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.४८ रुपैयाँ र बिक्रीदर ९५.९० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.७७ रुपैयाँ र बिक्रीदर १०१.२२ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८७ रुपैयाँ र बिक्रीदर ८.९१ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७२ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०५ रुपैयाँ र बिक्रीदर ३६.२१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.१५ रुपैयाँ र बिक्रीदर ३७.३२ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०० रुपैयाँ र बिक्रीदर ४.०२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८७ रुपैयाँ र बिक्रीदर ३७.०४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५५ रुपैयाँ र बिक्रीदर ३०.६९रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४६ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३३ रुपैयाँ र बिक्रीदर १२.३८ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४३ रुपैयाँ र बिक्रीदर १७.५० रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.२० रुपैयाँ र बिक्रीदर ४४२.१५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५८.९७ रुपैयाँ र बिक्रीदर ३६०.५६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.७९ रुपैयाँ र बिक्रीदर ३५३.३५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।