विकासन्युज

धौलागिरी लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ । संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको बासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा, नोक्सान, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सो लाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ३ प्रतिशतका दरले बोनश सेयर (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) र ४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

कृषि र निर्माण क्षेत्रको कर्जा घट्यो, माग नै भएन कि डिफल्ट बढ्ने त्रास ?

काठमाडौं । पछिल्लो केही महिनायता निर्माण क्षेत्र र कृषि कर्जा घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा यी दुई क्षेत्रमा घटेको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले कार्तिकसम्म १ खर्ब ८७ अर्ब ७४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकले भदौमा १ खर्ब ८८ अर्ब ४ करोड ९० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए । २०८१ को भदौसम्म भने वाणिज्य बैंकसहित बैंकिङ क्षेत्रले कुल २ खर्ब १० अर्ब ४५ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् । यस्तै, २०८० को अन्तिममा २ खर्ब ७ अर्ब २२ करोड र २०७९ मा २ खर्ब ३ अर्ब ३७ करोड ९० लाख रुपैयाँ ऋण निर्माण क्षेत्रले उपभोग गरेको देखिन्छ । यस्तै, २०७८ मा १ खर्ब ९० अर्ब १९ करोड ६० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा ऋण प्रवाह गरेका छन् । निर्माणसँगै कृषि क्षेत्रको कर्जा पनि घटेको छ । गत वर्ष ३ खर्ब ६९ अर्ब ६२ करोड रुपैयाँ रहेको कृषि कर्जा पनि निरन्तर घट्दै गएको छ । अहिले सो कर्जा ३ खर्ब ५९ अर्ब ७८ करोड ६० लाख रुपैयाँमा सीमित भएको हो । बैंकरहरूले निर्माण र कृषि क्षेत्रमा डिफल्ट बढ्दै गएकोले उल्लेख्यरूपमा कर्जा प्रवाह गर्न सकेको छैनन् । अहिले कर्जाको माग पनि न्यून रहेको बैंकरले बताउँदै आएका छन् । अहिले बैंकिङ क्षेत्रसँग करिब ७ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ ।

ब्रायन लाराले गरे डीपलको ब्याटमा हस्ताक्षर

काठमाडौं । क्रिकेट लिजेन्ड ब्रायन लाराले डीपलको क्रिकेट ब्याटमा हस्ताक्षर गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा लाराले क्यानका सचिव तथा डीपल इभिजका ब्रान्ड एम्बेसडर पारस खड्का र नेपालमा डीपलका मालिक विष्णुकुमार अग्रवालको उपस्थितिमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा क्रिकेट लिजेन्ड लाराले प्रख्यात क्रिकेट होस्ट एन्ड्रयू लियोनार्डसँग क्रिकेटप्रतिको आफ्नो लगाव र अविस्मरणीय कथा साझा गरेका थिए । नेपाल प्रिमियर लिग (एनपीएल) का क्रिकेटरहरू र अन्य क्रिकेट उत्साहीहरूले ब्रायन लारासँग उनको विरासत र क्रिकेट करिअरका बारेमा कुराकानी गरेका थिए । कार्यक्रममा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटर तथा डीपलका ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । डीपल १६२ वर्षको विरासत भएको चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी चाङ्गानको भविष्यवादी र बुद्धिमानी उप-ब्रान्ड हो । ८ महिनाअघि नेपालमा लन्च गरेपछि डीपल इभीका ६५० युनिटहरू बिक्री भइसकेका छन् । डीपल ईभीजमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले, जेस्चर कन्ट्रोल तथा हेडरेस्ट र आउटडोर स्पिकरहरू लगायत १५ भन्दा बढी पहिलो पटक आविष्कार गरिएका फिचरहरू छन् जसले यसलाई छोटो अवधिमा नेपाली बजारमा सबैभन्दा लोकप्रिय ईभी बनाएको छ ।

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २ सय मूल्यले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मोटरसाइकल तीनजना सवार हुँदा…

काठमाडौं । झापाको दमक नगरपालिका–१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार जिल्ला झापा गौरादह नगरपालिका-५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन् । यसैगरी मोटरसाइकल चालक जिल्ला मोरङ रतुमाई नगरपालिका–८ का २७ वर्षीय विराज थापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रनाउ चन्दले बताए । मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएलजी इन्स्योरेन्सको हकप्रदमा अब पुस १६ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ । मंसिर ११ गतेदेखि बिक्री खुला गरिएको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले अब पुस १६ गतेसम्म आवेदन दिन सक्नेछन् । पुस १ गतेसम्म आवेदन दिने समय तोकिएको भएपनि सो समयमा पूर्ण आवेदन नपरेपछि थप गरिएको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६.२५६ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ६.२५६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले कात्तिक २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रिय कार्यालय, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।

आज लिग चरणको अन्तिम खेल, प्लेअफमा पुग्न कर्णालीले जित्नैपर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुदैँछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९ः१५ बजे सुरु हुने सो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । सुदूरपश्चिम रोयल्सले यसअघिका ६ खेलमध्ये ५ खेलमा विजयी भएको छ भने एक खेलमा हार बेहोरेको छ । १० अङ्कसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ । कर्णाली याक्सले भने यसअघिका ६ खेलमध्ये ४ खेलमा मात्रै विजयी भएको छ । ८ अङ्कसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ । आजको खेल सुदूरपश्चिमले जितेमा १२ अङ्कसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ । यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले हार्‍यो भने काठमाडौं गुर्खाजले प्लेअफमा जाने मौका पाउने छ । काठमाडौं गुर्खाज पनि ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।