आइएमई पेबाट ट्राभल बुकिङमा १०० प्रतिशत क्यासब्याक अफर
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारी ट्राभल बुकिङमा १०० प्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ । पुष ५ गते देखि पुष १७ गते सम्म १३ दिनको लागि चल्ने अफरअन्तर्गत सेवाग्राहीहरुले आइएमई पे मार्फत आन्तरिक हवाई टिकट, बस टिकट र केबलकार टिकट खरिदमा दैनिक १०० प्रतिशत क्यासब्याक जित्ने मौका पाउने कम्पनीले जनाएको छ । अफर अन्तराल भरी हरेक दिन आइएमई पेबाट आन्तरिक हवाई टिकट काट्ने १ जना भाग्यशाली सेवाग्राही, बस टिकट काट्ने ३ जना भाग्यशाली सेवाग्राही र केबलकार टिकट काट्ने १० जना भाग्यशाली सेवाग्राहीले खरिद गरिएको टिकट मुल्यको १०० प्रतिशत क्यासब्याक जित्ने मौका रहेको छ । विजेताहरु दैनिक लक्की ड्र मार्फत छानीनेछन् । ‘यस्ता ग्राहकमैत्री अफरहरु प्रदान गरेर, हामी हाम्रा सेवाग्राहीहरूका लागि कुनै पनि चाडपर्व र सिजनलाई अझ विशेष बनाउने आशा गर्दछौं। हामी सबैलाई यस अवसरको फाइदा उठाउन र डिजिटल भुक्तानीको सुविधा र फाइदाहरू अनुभव गर्न प्रोत्साहित गर्दछौं’, आइएमई पेका एक अधिकारीले बताए ।
४ वर्षमा ४० लाख युवाले बनाए पासपोर्ट, राहदानीबाट वार्षिक ६ अर्ब कमाउँछ सरकार
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय वरपर राहदानी (पासपोर्ट) बनाउने युवाले खचाखच भरिएको छ । युवा मुलुक छोडेर काम र पढाइका लागि विदेसिन भन्दै राहदानी बनाउने लाइनमा छन् । देशमा रोजगारी नपाएर परिवार र जन्मभूमि छोडेर विदेसिने युवाहरू दिनप्रतिदिन बढ्दै छन् । कतिपयले देश छोडर परदेशमै स्थायी बसोबासको तादात्म्यता मिलाइरहेका छन् । कतिपय मनग्य कमाएर स्वदेश फर्किने योजना बुन्दैछन् । विदेश जानकै लागि पासपोर्ट बनाउनेहरु बिहानै झिसमिसेमा त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय पुगेर लाइन लाग्छन् । काठमाडौंको नारायणहिटीबाट त्रिपुरेश्वरस्थित सुविधासम्पन्न भवनमा राहदानी विभाग सरेको भएपनि राहादानी बनाउनेको दुःख र सकसमा भने खासै ठूलो परिवर्तन भएको छैन । हाल पनि राहदानी विभागमा सेवाग्राहीले पासपोर्ट लिन निकै सास्ती भोग्नुपरेको छ । त्रिपुरेश्वरस्थित विभागबाट राहदानी लिनैका लागि यो पुसको जाडोमा बिहानै ६ बजेदेखि नै सेवाग्राहीको भिड हुने गरेको छ । त्रिपुरेश्वरको त्यहीं भीडमा भेटिन्छन्, महेन्द्रनगरका मान धामी । उनले विभाग धाउन थालेको दुई दिन भयो । उनलाई छिटो पासपोट चाहिएको छ । तर उनको हातमा पासपोट परेको छैन । ‘म आएको पाँच दिन भयो। अझै हातमा पासपोर्ट मिलेको छैन, के गर्ने अब दुई पटक बोलाइसक्यो । प्रिन्टमा हालेको छ भन्छ तर दिएको छैन । भन्नेहरू त पहिलेको भन्दा केही सहज भएको छ भन्छन् । के गर्ने अब धेरै बिजोग भइरहेको छ,’ उनले भने । त्यस्तै, दु:ख काठमाडौंका अर्जुन जोशीलाई पनि छ । उनी राहदानी विभाग धाउन थालेको २ दिन भयो । जोशीले गुनासो गर्दै भने, ‘अहिलेसम्म हाम्रो न त पासपोर्ट बनेको छ, न त थाहा छ- कहिलेसम्म बन्छ भनेर ।’ उनीहरू पटकपटक विभागमा पुगेर लाइनमा बस्छन् । पालो आउँदैन । फर्केर जान्छन् । फेरि अर्को बिहान झिसमिसैमा विभागको गेटमा पुग्छन् । राहदानी विभागका सूचना अधिकारी किरण गुरुङका अनुसार जिल्ला प्रशासन कार्यालयमा पर्याप्त मात्रामा आवेदन नदिने गरेका प्रायः सेवाग्राही विभागमै आउने गरेकाले भीड लाग्ने गरेको छ । हरेक दिन विभागमा १ हजारदेखि १४ सयसम्म सेवाग्राही आउने गरेको उनले बताए । ‘हामीले अनलाइनबाट इनरोल गरेर पालो अनिवार्य लिनुपर्छ । तर, तोकिएको मिति र समयभन्दा अगाडि नै आएर लाइनमा बसेको पनि पाइएको छ । १० बजेदेखि फर्म खुल्छ । आफ्नो पालोमा आएर इनरोलमेन्ट गरे हुन्छ,’ उनले भने । हाल कहाँकहाँबाट प्राप्त हुन्छ पासपोर्ट ? हाल देशभरका सबै जिल्ला प्रशासन कार्यालयका साथै त्रिपुरेश्वरस्थित राहदानी विभाग विभिन्न इलाका प्रशासन कार्यालयबाट पनि राहदानी प्राप्त गर्न सकिन्छ । राहदानी पाउन पहिल्यै अनलाइनबाट मिति र समय बुक गर्नुपर्छ । समय बुक गर्नु अगाडि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको आवेदन दिई परिचयपत्र नम्बर अनिवार्य लिनुपर्छ । विभागका अनुसार सामान्य अवस्थामा लाइभ इनरोलमेन्ट गरेको मितिले दुई कार्य दिन लाग्छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, पुरानो राहदानीसँग विवरण रुजु नभएमा, थप अनुसन्धान गर्नु पर्ने भएमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्डअनुसार तस्बिरलगायत नभएर प्रणालीले स्वीकार नगरेमा राहदानी बनाउन थप समय लाग्छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब एक साताभित्र नै राहदानी उपलब्ध हुन्छ । काठमाडौं बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब १५ दिनभित्र राहदानी उपलब्ध हुन्छ । जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएकाहरूले मोबाइलमा एसएमएस आएपछि मात्र राहदानी लिन जानुपर्छ । ‘सुरुसुरुमा राहादानीको कामबारे त्यति जानकारी थिएन । पछिल्लो समय बिस्तारै काम गर्दै गइयो । सबै कुरा बुझ्दै गइयो । अहिले पहिलेको भन्दा सेवा छिटो छरितो भएको छ । मापदण्ड पुरानै छ । ठ्याक्कै यही दिन पासपोर्ट पाइन्छ भन्ने हुँदैन । कहिले ढिला पनि हुन्छ, कहिले छिटो पनि हुन्छ,’ राहदानी विभागका सूचना अधिकारी किरण गुरुङले भने । विभागका अनुसार हाल देशका ७७ वटै जिल्लाबाट राहदानी वितरण थालिएको छ । तर, सेवाग्राहीको भीड भने काठमाडौंमा घट्ने संकेत देखिँदैन । राहादानी दस्तुरसम्बन्धी व्यवस्था राहादानी नियमावली, २०७७ को अनुसुची ४ मा उल्लेख गरेको छ । नियम ६ को उपनियम ४ बमोजिम राहादानीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा चौतिस पृष्ठको हकमा ५ हजार र छैसट्ठी पृष्ठको हकमा १० हजार दिनुपर्ने व्यवस्था थियो । यस्तै, नियम ६ को उपनियम (४) बमोजिम राहादानीका लागि विभागमा निवेदन दिँदा चौतिस पृष्ठको हकमा १२ हजार र छैसट्ठी पृष्ठको हकमा २० हजार दिनुपर्ने व्यवस्था थियो । यसलाई नेपाल सरकार परराष्ट्र मन्त्रालय राहादानी नियमावली, २०७७ को नियम ३० ले दिएको अधिकार प्रयोग गरी सो नियमावलीको अनुसूची (४) लाई संशोधन गरी नियम हेरफेर गरेको थियो । यो नियम नेपाल सरकारको मन्त्रिपरिषद्ले गत २०८० साल जेठ २४ गतेको निर्णय उक्त नियम हेरफेर गरेको थियो। विभागले २०८० असार ३ गतेदेखि सेवाग्राहीले विभागबाट ६६ पृष्ठको राहदानी लिँदा १२ हजार र जिल्लाबाट लिँदा ५ हजार दस्तुर तिर्नुपर्ने गरी मूल्य परिवर्तन गरेको थियो। हाल जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा चौतिस पृष्ठको हकमा ५ हजार र छैसट्ठी पृष्ठको हकमा पनि ५ हजार दिनुपर्ने व्यवस्था गरेका छ । यस्तै, विभागमा निवेदन दिँदा चौतिस पृष्ठको हकमा १२ हजार तथा छैसट्ठी पृष्ठको हकमा पनि १२ हजार लिने मन्त्रिपरिषदको बैठकले राहदानी नियमावली २०७७ को नियम ३० ले दिएको अधिकार प्रयोग गरिएको उल्लेख छ। राहदानीको अन्य दस्तुर भने परिवर्तन भएको छैन। हालसम्म कतिले बनाए पार्सपोट ? हाल पासपोर्ट बनाउने संख्या उच्च छ । २०६७ सालदेखि ८१ मंसिरसम्ममा विभाग, जिल्ला तथा सेनाको मिसन गरी कुल १ करोड ३३ लाख ९ हजार १६ जनाले पासपोर्ट लिएको राहादानी विभागले जनाएको छ । आव २०८१/०८२ मा विभागबाट १ लाख ३३ हजार ९ सय ८० जना र जिल्लाबाट २ लाख ७८ हजार ५ सय ४१ जना तथा सेनाको मिसनका लागि १ लाख ३९ हजार ८ सय ५३ गरी कुल ५ लाख ५२ हजार ३ सय ७४ जनाले पासपोर्ट बनाएका छन् । यस्तै, गत आव २०८०/०८१ मा विभागबाट ३ लाख ४६ हजार १ सय ६० जना, यस्तै जिल्लाबाट ८ लाख ६० हजार ६१ र सेनाको मिसनका लागि ३ लाख २० हजार ८ सय २९ गरी कुल १४ लाख ७३ हजार ५० जनाले पासपोर्ट बनाएका थिए । यस्तै, आव २०७९/०८० मा विभागबाट ३ लाख ४४ हजार ५ सय ४१ जना र जिल्लाबाट ९ लाख ४२ हजार ४८ त्यसैगरी सेनाको मिसनका लागि १ लाख ७६ हजार ८ सय ५५ गरी कुल १४ लाख ६३ हजार ४ सय ४४ जनाले पासपोर्ट बनाएका छन् । गत आव २०७८/०७९ मा विभागबाट २ लाख १६ हजार ८ सय ९२ जनाले पासपोर्ट लिएका थिए । यस्तै, सबै जिल्लाबाट २ लाख १९ हजार ३ सय १९ जनाले लिएका थिए । सेनाको मिसनका लागि ४१ हजार ७ सय ८४ जना गरी जम्मा ४ लाख ७७ अजार ९ सय ९५ जनाले लिएका थिए । गत आव २०७६/०७७ मा विभागबाट १ लाख ४१ हजार ३ सय ५ जनाले पासपोर्ट लिएका थिए । यस्तै सबै जिल्लाबाट २ लाख ४४ हजार ५ सय ८७ जनाले लिएका थिए । सेनाको मिसनका लागि १२ हजार ९ सय ५० जना गरी जम्मा ३ लाख ९८ हजार ८ सय ४२ जनाले लिएका थिए। गत आव २०७५र०७६ मा विभागबाट १ लाख ७१ हजार २ सय ६७ जनाले पासपोर्ट लिएका थिए । यस्तै, सबै जिल्लाबाट ३ लाख ३३ हजार ६२ जनाले लिएका थिए । सेनाको मिसनका लागि १० हजार ८ सय १७ जना गरी जम्मा ५ लाख १५ हजार १ सय ४६ जनाले लिएका थिए। गत आव २०७४/०७५ मा विभागबाट १ लाख ८९ हजार ६ सय ३५ जनाले पासपोर्ट लिएका थिए । सबै जिल्लाबाट ३ लाख २८ हजार ६ सय ५५ जनाले लिएका थिए । सेनाको मिसनका लागि १३ हजार ३ सय ४३ जना गरी ५ लाख ३१ हजार ६ सय ३३ जनाले लिएका थिए। गत आव २०७३/०७४ मा विभागबाट १ लाख ९२ हजार ३ सय ७५ जनाले पासपोर्ट लिएका थिए । यस्तै सबै जिल्लाबाट ३ लाख ४४ हजार ५ सय ६४ जनाले लिएका थिए । सेनाको मिसनका लागि २० हजार २ सय ४९ जना गरी जम्मा ५ लाख ५७ हजार १ सय ८८ जनाले लिएका थिए। गत आव २०७२/०७३ मा विभागबाट २ लाख ६९ लाख ९ सय ४४ जनाले पासपोर्ट लिएका थिए । यस्तै, सबै जिल्लाबाट ४ लाख ७३ हजार ७ सय ७५ जनाले लिएका थिए । सेनाको मिसनका लागि १ लाख २६ हजार ६ सय ७ जना गरी जम्मा ८ लाख ७० हजार ३ सय ४६ जनाले लिएका थिए। गत आव २०७१/०७२ मा विभागबाट ४ लाख ५२ हजार १ सय ५५ जनाले पासपोर्ट लिएका थिए । यस्तै, सबै जिल्लाबाट ५ लाख ४२ हजार ४ सय ९ जनाले लिएका थिए । सेनाको मिसनका लागि ३ लाख ४२ हजार २ सय ७४ जना गरी जम्मा १३ लाख ३६ हजार ८ सय ३८ जनाले लिएका थिए। गत आव २०७०/०७१ मा विभागबाट ४ लाख ५० हजार ६ सय ७१ जनाले पासपोर्ट लिएका थिए। यस्तै, सबै जिल्लाबाट ४ लाख २६ हजार ३ सय ८० जनाले लिएका थिए । सेनाको मिसनका लागि १ लाख ३५ हजार ६ सय ८८ जना गरी जम्मा १० लाख १२ हजार ७ सय ३९ जनाले लिएका थिए। गत आव २०६९/०७० मा विभागबाट २ लाख २९ हजार ४ सय ४ जनाले पासपोर्ट लिएका थिए । यस्तै, सबै जिल्लाबाट ३ लाख ४ हजार ५ सय ४९ जनाले लिएका थिए । सेनाको मिसनका लागि ३४ हजार १ सय ७४ जना गरी जम्मा ५ लाख ६८ हजार १सय २७ जनाले लिएका थिए। गत आव २०६८/०७९ मा विभागबाट २ लाख ६ हजार ६ सय ३९ जनाले पासपोर्ट लिएका थिए । यस्तै, सबै जिल्लाबाट १ लाख ९५ हजार ५ सय १० जनाले लिएका थिए । सेनाको मिसनका लागि ५ हजार ३ सय ८३ जना गरी जम्मा ४ लाख ७ हजार ५ सय ३२ जनाले लिएका थिए । गत आव २०६७/०६८ मा विभागबाट १ लाख ६२ हजार ५ सय ५८ जनाले पासपोर्ट लिएका थिए । यस्तै, सबै जिल्लाबाट ९ हजार ठ सय ४७ जनाले लिएका थिए । सेनाको मिसनका लागि १ हजार ४ सय ५७ जना गरी जम्मा १ लाख ७३ हजार ७ सय ६२ जनाले लिएका थिए । विभाग, जिल्ला तथा सेनाको मिसन गरी कुल ६३ लाख ७२ हजार १ सय ५३ जनाले लिएका थिए । आकर्षक आम्दानी विभागले वार्षिक आम्दानी पासपोर्ट वितरण र सिफारिस गरेवापत ६ अर्ब ६५ लाख रुपैयाँ संकलन गरेको जानकारी दिएको छ । यस्तै, राहदानीसम्बन्धी सबै शीर्षकबाट उक्त रकम संकलन भएको गुरुङको भनाइ छ । श्रम विभागका अनुसार विदेशिने युवाको संख्या ह्वात्तै बढेको छ । गत वर्षमात्रै विदेसिने युवाको संख्या ७ लाख ४१ हजार २ सय ९७ रहेको थियो भने चालु आर्थिक वर्षको हालसम्म ३ लाख ५३ हजार १ सय ६३ जना विदेसिएका छन् । यसरी हेर्दा विकसित देशहरूमा असल भविष्य हुन्छ भन्ने मान्यताले पछिल्लो समय युवालाई तानेको देखिन्छ । शिक्षा, स्वास्थ्य र रोजगार सजिलो र गुणस्तरीय भएकाले सहज जीवनशैलीका लागि नेपाली युवा विदेसिने अभ्यास बढेको जानकारहरु बताउँछन् । अधिकांश नेपाली विदेशै बस्ने गरेका छन् भने कतिपय स्वदेश पनि फर्किरहेका छन् । तर, यसको कुनै तथ्यांक सरकार छैन । कुन देशमा कति नेपाली छन् भन्ने विषयको यथेष्ठ जानकारी पनि सरकारसँग छैन । के भन्छन् विदेशिने युवा ? बैतडीको दोगडाकेदार- १ का ४ युवा एकैसाथ कार्तिकको पहिलो साता कामका लागि यूरोपेली देश रोमानिया प्रस्थान गरे । देशमा बसेर उन्नति गर्न नसकिने निर्णयसहित अध्ययन, व्यवसाय र जागीर छोडेर उनीहरूले सात समुद्रपारि पसिना बगाउने निधो गरेका हुन्। तिनैमध्येका एक शमशेर विष्टको चाहना यूरोपमा पछिसम्म स्थायी रूपमा बस्न पाइने अनुमति पनि पाइन्छ कि भन्नेमा छ । देश छोड्नुअघि उनले भनेका थिए, ‘भाग्यले साथ दिए रोमानियाबाट यूरोपको अर्को देश छिर्छु, स्थायी आवास अनुमति (पीआर) पाइएला नि !’ यस्तै, धनगढीका किशोर साउदको दैनिकी खल्तीमा हात हालेर यताउता बरालिएर बित्छ । बेरोजगार उनी अहिले पासपोर्ट वैदेशिक रोजगार व्यवसायीलाई बुझाएर विदेशिने दिनको पर्खाइमा छन् । ‘यता के गरेर बस्ने ? भएका साथीभाइ जति सबै विदेश गइसके, नेपालमा कामै छैन,’ उनी भन्छन् । पछिल्लो समय विद्यालय शिक्षा (कक्षा १२) सक्नेबित्तिकै युवाको ध्यान उच्च शिक्षा हासिल गर्नेतिर नभएर, विदेश गएर कमाउनेतिर गइरहेको देखिन्छ । देशमा भविष्य नदेखेर बाहिरिँदै श्रम विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार देशमा रोजगारी सिर्जना तथा आफ्नो भविष्यसँग आश्वस्त नभएर सिँगो तन्नेरी पुस्ता नै विदेसिन थालेको हो । जसकारण गाउँघरमा युवा छिटपुट मात्रै फेला पर्न थालेका छन् भने कलेज-विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्दै गइरहेको छ । ‘न त युवा जमात देशमा भविष्य देख्छ, न त बाबुआमा नै उनीहरूलाई यो मुलुकमा राख्न चाहन्छन्,’ ‘उनी भन्छन्, ‘यस्तो लाग्छ कि सिँगो देश नै विदेश गइरहेको छ ।’ गत कात्तिकमा बैतडीको दोगडाकेदारका चार युवा एकैसाथ यूरोपतिर लागे । उनीहरु अब सकेसम्म उतै स्थायी रुपमा बस्ने योजनामा छन् । स्वदेश छोडर विदेश पुगेका उनीहरुको चाहना उतै बस्नेछ । पछिल्लो समय विद्यालय शिक्षा (कक्षा १२) सक्नेबित्तिकै युवाको ध्यान उच्च शिक्षा हासिल गर्नेतिर नभएर विदेश गएर कमाउनेतिर गइरहेको देखिन्छ । यसले सिँगो देशको भविश्यमाथि पनि प्रश्न उठाइरहेको छ । पूर्वश्रमसचिव केवल भण्डारी युवाले नयाँ अवसर खोज्नु स्वाभाविक भएको बताउँछन् । युवाको आधारभूत चरित्र नै अवसर खोज्दै हिँड्ने भएकाले राम्रो भविष्यका लागि युवाले नेपाल छाड्न खोज्नु स्वाभाविक भएको उनको तर्क छ । ‘नेपालमा भविष्य नै नभएको होइन । तर, युवाले स्वदेशमा काम गर्न नचाहेको हो, स्वदेशमा पर्याप्त रोजगारी सिर्जना भएको छैन, आर्थिक अवस्था कमजोर छ, नेपालमा रोजगारी भए पनि पैसा धेरै नहुँदा युवाहरू नेपाल बस्न चाहँदैनन्, ‘ उनी भन्छन्, ‘जो कोहीलाई पनि भोलिको दिन राम्रो होस्, छोराछोरीको जिन्दगी राम्रो बनोस् भन्ने लाग्छ ।’ युवा नेपालबाट बाहिरिने र श्रम बेच्न मात्रै नहिँडेका पूर्वश्रमसचिव भण्डारीको दाबी छ । विदेशबाट ज्ञान सीप सिकेर दक्ष भएर नेपाल पनि फर्किएको उनी बताउँछन् ।
सिद्धार्थ बैंकले साढे ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने
काठमाडौं । सिद्धार्थ बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ दरका ३ अर्ब ५० करोड रुपैयाँको ‘एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने भएको हो । अग्राधिकार सेयर जारी भएपश्चात् बैंकको पुँजी वृद्धि गर्नुपर्ने भएकोले हाल अधिकृत पूँजी १६ अर्ब रुपैयाँलाई वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याइनेछ । जारी तथा चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँलाई वृद्धि गरी १७ अर्ब ५८ करोड ९९ लाख ८० हजार रुपैयाँ पुर्याइनेछ । उक्त प्रस्ताव पारित गर्न बैंकले पुस २८ गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौँमा २३औँ वार्षिक साधारण सभा बिहान साढे १० बजे बोलाएको छ । बैंकको सभाले चुक्ता पूँजीको करसहित ४ प्रतिशतका दरले ५६ करोड ३५ लाख ९९ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सञ्चालक समितिको २३औ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी सिद्धार्थ स्थापिटलको वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ । आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ । बहालवाला लेखापरीक्षक एसएआर एसोसिएट्स, चार्टड एकाउण्टेण्ट्स पुनः नियुक्त हुन योग्य रहेको बैंकले जनाएको छ । आगामी ४ वर्षे कार्यकालको लागि बैंकको संस्थापक सेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने २ जना गरी जम्मा ५ जना सञ्चालकको निर्वाचन गर्नेछ । सञ्चालकको भत्ता तथा सुविधामा थप तथा हेरफेर गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्नेछ । बैंकले गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनले निर्धारण गरेको सीमाभन्दा बढी भएको खर्चलाई अनुमोदन गर्नेछ ।
२०% लाभांश बाँड्ने एनसीएचएलको घोषणा, राष्ट्र बैंकका निर्देशन कार्यान्वयन गर्न नियमावली संशोधन
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले लाभांश घोषणा गरेको छ । एनसीएचएलको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशतका दरले २० लाख २४ हजार ९७० कित्ता बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशतका दरले १ करोड ६ लाख ५७ हजार ७३९ रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लाभांश पारित गर्न पुस २८ गते काठमाडौंमा पौने १२ बजे १३औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले सञ्चालकको बैठक भत्ता तथा सुविधा वृद्धि स्वीकृत गर्ने, ३ जना सञ्चालकको चयन गर्नेछ । अधिकृत पुँजी वृद्धि गर्न र बोनस सेयर बराबर चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्रको संशोधन स्वीकृत गर्ने, नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षण प्रतिवेदन २०८१ मा दिइएका निर्देशनहरूको कार्यान्वयन गर्न नियमावलीको संशोधन स्वीकृत गर्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
हिमालयनले बिजय डिष्टिलरीसँग ट्रेडमार्क लाइसेनिङ्ग एग्रिमेन्ट गर्ने, पुँजी ३.७ अर्ब पुर्याइने
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले बिजय डिष्टिलरी प्रालिसँग सम्झौता गर्ने भएको छ । प्यासन कूलर नामक ब्राण्ड लगायतका आरटीडी ब्राण्डहरू उत्पादनका लागी बिजय डिष्टिलरीसँग ट्रेडमार्क लाइसेनिङ्ग एग्रिमेन्ट गर्ने भएको हो । उक्त प्रस्ताव र लाभांश पारित गर्न कम्पनीले पुस २८ गते रजिष्टर्ड कार्यालय विरगञ्ज महानगरपालित-२१, पर्सामा २४औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी २ अर्ब ६७ करोड २५ लाख २३ हजार रुपैयाँको १५ प्रतिशतका दरले ४० करोड ८ लाख ७८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले १३ करोड ३६ लाख २६ हजार रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको अधिकृत पुँजी ३ अर्ब ५० करोड रुपैयाँ, चुक्ता पुँजी ३ अर्ब ७ करोड ३४ लाख १ हजार रुपैयाँ पुर्याइनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन र गत वर्ष कम्पनी ऐनले व्यवस्था गरेभन्दा वढीको खर्चलाई पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेपाल टेलिकमको ३० प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम, (एनटीसी)ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात् गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई करसहित प्रतिसेयर ३० रुपैयाँ (३० प्रतिशत) का दरले नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको हो । लाभांश पारित गर्न पुस २८ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा बिहान १० बजे १७औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा तथा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक ३ लाख रुपैयाँ निर्धारण गरिएको प्रस्ताव अनुमोदन गर्ने र कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
गरिमा क्यापिटलको गरिमा समृद्धि योजना आजदेखि बिक्री खुला
काठमाडौं । गरिमा क्यापिटलले आज पुस ७ गतेदेखि पहिलो म्युचुल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरिमा समृद्धि योजना बिक्री खुला गरेको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंक, एक प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि छुट्याएको छ । फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताहरूले पुस ११ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।
सर्वोत्कृष्ट नेपाली खेलाडी बने दीपेन्द्र, कार पुरस्कार पाए
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी घोषित भएका छन् । साथै उनले ओमोडा इभी कार पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै सिद्धार्थ बैंक प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिमका सेफ अली जैबले पाए । उनले ५ लाख रूपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट बलर ललित राजवंशी बनेका छन् । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । उदीयमान खेलाडी कर्णाली याक्सका विपिन प्रसाद शर्माले पाएका छन् । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् । त्यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशमले पाए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् । म्याक्सिमम चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् । फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।