सेतीखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाडौं । सेतीखोला हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित यही पुस २८ गते आइतबार नवौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कान्तिपथस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो । सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिको गठन गर्ने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
४८ वर्ष सरकारी अस्पतालमा काम गरेकी डा. लताको विज्ञता अब निजी अस्पतालमा
काठमाडौं । उमेर ओरालो लाग्नेबित्तिकै धेरैजसो ज्येष्ठ नागरिक भन्छन्, ‘अब आराम गर्नुपर्ने बेला भयो ।’ काम गर्न सक्नेहरू पनि अब सक्दिनँ भन्दै आराम गर्न थाल्छन् । काम गरिरहेकाहरूलाई पनि अरूले भन्छन्, ‘यो उमेरमा पनि के काम गरिबसेको ?’ यस्तै-यस्तै । तर डा. लता बज्राचार्य ७० वर्ष लागिसक्दा समेत अहिले पनि उही जोस, जाँगरका साथ आफ्नो काममा व्यस्त छिन् । उनको दैनिकी बिरामी हेर्दै, जाँच गर्दै जान्छ । कहिले मिटिङ, कहिले अस्पताल, कहिले साथीभाइ भेटघाट यसैगरी दिनहरू बितिरहेका छन् । मंसिर अन्तिम साता भेटिएकी उनी भन्छिन्, ‘घरमा त्यत्तिकै बस्न मनै लाग्दैन, कहिले कता, कहिले कता, सकेसम्म बाहिरै हिँडिरहन्छु ।’ ४८ वर्ष सरकारी अस्पतालमा काम गरेकी डा. लता आफ्नो रिटायर्ड लाइफ पनि अस्पतालमै बिताइरहेकी छिन् । उनी पुतलीसडकमा रहेको क्यापिटल अस्पतालमा कार्यरत छिन् । काठमाडौंको नेवार समुदायमा हुर्की बढेकी उनी उपत्यकाभन्दा बाहिर खासै गएकी छैनन् । तर पढाइको शिलशिलामा भने उनी भारत, थाइल्याण्ड, जर्मनलगायत विभिन्न देश पुगेकी छिन् । डा. लताले प्रभात स्कुलमा कक्षा १ सम्म पढिन् । कक्षा २ पछि भने उनको अध्ययन यात्रा कन्या मन्दिरमा स्कुलबाट सुरु भयो । उनले २०२२ सालमा एसएलसी पास गरेकी थिइन् । महिलालाई पढ्न हुँदैन भन्ने जमानामा पढेर डाक्टर बनेकी लतालाई पढाउँदा गाउँलेले निकै कुरा काट्थे । छोरी पढाउँदा चिठी लेखेर लभ गरी भाग्छन् भन्थे आजभन्दा ६०-७० वर्ष अगाडि काठमाडौं अहिलेको जस्तो सहर थिएन । यहाँको दैनिकी पनि गाउँको जस्तै थियो । जङ्गल थियो, मान्छे गाईवस्तु पाल्थे, धान गहुँ मजाले फल्थ्यो । अहिलेको जस्तो सिमेन्टले टालेको सहर थिएन । आमाबुवा हजुरआमा सबैसँगै बस्ने ठूलो परिवार थियो । उनको घरमा पढेलेखेको कोही थिएन । लता घरको जेठी छोरी थिइन् । उनी पछाडि भाइबहिनी थिए । लता स्कुल जाँदा घरको सबै काम गर्नुपर्ने जिम्मा उनकी आमाको थाप्लोमा आउँथ्यो । बिहानदेखि साँझसम्म काममा हुँदा हजुरआमाले छोरीलाई घरकै काम गराउन कर गर्थिन् । तर उनकी आमाले भने मानिनन् । ‘छोरीलाई घरको काम सिकाउनुपर्छ, स्कुल पठाउने होइन, हजुरआमाले संधै आमालाई भन्नुहुन्थ्यो,’ बालापनका दिन सम्झदै उनी भन्छिन्, ‘बज्यै कराउनुहुन्थ्यो तर, मैले पढ्न छोडिनँ ।’ लताका बुवा सुन पसलमा काम गर्थे । उनो आफ्नै पसल थियो । उनका बुवा ५-६ कक्षासम्म पढेका थिए । उनकी आमालाई अक्षर चिन्न गाह्रो थियो । तर सानोमा कखदेखि अआ सबै उनकी आमाले नै सिकाउँथिन् । ‘त्यो बेला छोरीलाई स्कुल पढाउँदा चिठी लेखेर लभ गर्छन् अनि भाग्छन् भनिन्थ्यो,’ उनी भन्छिन, ‘छोरी पढाएर के पाउँछेस्, छोरीलाई बिगार्ने भयो भन्दै सबैले बुवालाई गाली गर्थे तर, मेरो बुवाले मलाई जहिले पढ्नुपर्छ पढ् मात्र भन्नुभयो ।’ डाक्टर बन्ने सपना लताले सानोमा डाक्टरलाई देखेकी थिइनन् । तर उनको चाहना डाक्टर बन्ने थियो । परिवारबाटै स्कुल जाने सबैभन्दा पहिलो उनी नै हुँदा कसैले यो नै बन्नुपर्छ समेत भनेका थिएनन् । तर उनका बुवालाई जे पढे पनि छोरीले पढ्नुपर्छ भन्ने थियो । स्कुलमा शिक्षकले ‘तेरो जीवनकाे लक्ष्य के हो’ भन्यो भने लता ‘म डाक्टर बन्न चाहन्छु’ भनेर भन्थिन् । उनले स्कुलमा मिहिनेत गरेर पढिन् । २०२२ सालमा एसएलसी पास भइसकेपछि उनी अमृत साइन्स क्याम्पसमा भर्ना भइन् । लताले आफ्नो डाक्टर बन्ने सपना रहेको बताएपछि उनलाई बायोलोजी लिएर पढ्न सल्लाह दिइयो । प्लस टुपश्चात् उनले इण्डियन एम्बेसीको छात्रवृत्ति पाइन् । एमबीबीएस पढ्न भारत जानुपर्ने भयो । उनले भारतको कोलकताबाट एमबीबीएस पास गरिन् । ५ वर्षपश्चात उनी २०३३ सालमा नेपाल फर्किन् । त्यो बेला घरमा पारिवारिक समस्या हुँदा उनले चिकित्सक-स्नातकोत्तर तह (पीजी) गर्न पाइनन् । पीजी गर्न नपाएपछि उनले वीर अस्पतालमा काम सुरु गरिन् । २०३४ सालमा उनले लोकसेवा आयोगबाट नाम निकालेर सरकारी जागिर सुरु गरिन् । वीर अस्पतालको यात्रा वीर अस्पतालमा काम सुरु गर्ने बित्तिकै लताले प्रसूति तथा स्त्रीरोग वार्डमा काम गरिन् । त्यो बेला स्त्रीरोग वार्ड ५० शैय्या थियो । त्यो बेला अहिलेको जस्तो भीड त थिएन तर, मान्छे भने उतिखेर पनि धेरै आउँथे । उनले वीर अस्पतालमा ८ वर्ष काम गरिन् । त्यो बीचमा उनले वीर अस्पतालको इमर्जेन्सी वार्डमा पनि काम गरिन् । इमर्जेन्सीमा काम गर्न गाह्रो थियो । प्रहरीले सडकमा हल्ला गर्ने मान्छेलाई छोपेर इमर्जेन्सीमा ल्याउँथे । रक्सी खाएको हो कि होइन जाँच गर्नुपर्थ्यो । रक्सी खाएको थाहा भए प्रहरीले कारबाही गर्थ्यो । उनी भन्छिन्, ‘रातिमा पनि काम गर्नुपर्थ्यो , कहिलेकाहीं जँड्याहा आउँथे, मलाई देख्दै डर लाग्थ्यो, त्यहाँ धेरै समय काम गर्न सकिनँ ।’ प्रसूतिमा विशेषज्ञता एमबीबीएस कोर्स साढे ४ वर्षको कोर्स थियो । जसमा १ महिना कलेजले विद्यार्थीलाई अनुभवका लागि अस्पतालमा पठाउँछन् । लतालाई पनि कलेजले कोलकाताकै एक अस्पतालको गाइनो विभागमा पठायो । त्यहाँ उनले महिलालाई व्यथा लागी रोईकराई गरेको देखिन् । उनलाई झन् डर लाग्यो । लता त्यहाँ बस्न नसक्ने भइन् । तर कलेजले पठाएअनुसार दिनमा कति बिरामी हेर्यो, के-के काम गर्यो, सबै रिपोर्ट बनाउनुपर्थ्यो । उनलाई गाह्रो भयो । पढाइ सकिएपछि १ वर्ष इन्टर्नसीप गर्नुपर्छ । जहाँ तीन/तीन महिना फरक-फरक वार्डमा काम गर्नुपर्ने हुन्छ । तर त्यो बेला भने उनलाई डर लागेन । बरु उनलाई यो क्षेत्रमा काम गर्न रुचि लाग्यो । ‘त्यो तीन महिनामा त मलाई निकै रुचि लाग्यो अनि मैले यही विषयमा पीजी गर्नुपर्छ भन्ने निर्णय लिएँ,’ लता भन्छिन्, ‘सुरुमा डर लाग्ने मलाई बुझ्दै जाँदा त यही विषय महत्त्वपूर्ण लाग्यो ।’ विशेषज्ञता हासिल गर्न फेरि पढाइ वीर अस्पतालमा काम गर्दै जाँदा उनी विशेषज्ञ बन्न ढाकामा अध्ययन गर्न गइन् । त्यहाँ उनले स्त्री रोग तथा प्रसूतिमा पीजी गरिन् । पढाइपछि उनी फेरि नेपाल आइन् । त्यो बेला वीर अस्पतालको प्रसूति वार्ड थापाथलीमा गाभिने भन्ने कुरा चलेको थियो । उनी आएको दुई/तीन महिनापछि वीर अस्पतालको वार्ड थापाथलीमा गाभियो । उनी पनि थापाथली अस्पतालमा गइन् । वीरमा काम गर्दा उनी मेडिकल अधिकृतसम्म भएकी थिइन् । त्यहीबेला उनलाई विराटनगर सरुवा गरियो । काठमाडौंभन्दा बाहिर उनलाई बाहिर बस्न गाह्रो भयो । लामो समयसम्म बाहिर बस्न सकिनन् । त्यहाँ ५ महिना मात्र. काम गरेर फेरि फर्किइन् । लताले तराईमा सर्प बढी हुन्छ भन्ने सुनेकी थिइन् । उनी सर्पसँग निकै डराउँथिइन् । ल्याप्रोस्कोपी सर्जरीमा पनि विज्ञता स्त्री तथा प्रसूति रोग विशेषज्ञको रूपमा लामो समय काम गरेकी लतालाई फेरि अर्को विषयमा विज्ञता हासिल गर्न मन लाग्यो । अस्पताल आउने कतिपय महिलाको अप्रेसन गर्नुपर्थ्यो । अप्रेसन गर्दा बाहिरी भाग धेरै चिर्नुपर्छ । त्यो बेला ल्याप्रोस्कोपी सर्जरी नयाँ थियो । उनलाई यो विषयमा जान्न र पढ्न मन लाग्यो । उनी जर्मन र इण्डियामा तालिम गर्न पुगिन् । त्यही बेला उनले ३ महिना थाइल्याण्डमा गएर फेलोसिप गरिन् । लताले अस्पतालमा अप्रेशन गर्नेदेखि लिएर अस्पतालको व्यवस्थापकीय जिम्मा लिने मौकासमेत पाइन् । थापाथलीमा कर्मचारीको रूपमा काम गरेर उनी पहिले रजिष्टार त्यसपछि सिनियर रजिष्टार हुँदै कन्सलटेन्ट भइन् । त्यसपछि २ वर्ष डेपुटी डिरेक्टर भएर काम गरिन् भने २ वर्ष अस्पतालको निर्देशक भइन् । उनी निर्देशक पदबाटै सरकारी जागिरेबाट रिटायर्ड भइन् । महिलाका समस्या केही उस्तै, केही बढे ४८ वर्ष नेपालका महिलाको उपचारमा बिताएकी लता अहिले पनि महिलामा उस्तै समस्याहरू रहेको बताउँछिन् । केही समस्या पहिलाभन्दा कम देखिएका भए पनि अहिले धेरै नयाँ देखिएका छन् । लताले सुरुवाती काम गर्दा महिलामा सबैभन्दा ठूलो समस्या पाठेघर खस्ने थियो । यो समस्या लिएर महिलाहरू धेरै आउँथे । तर, आजभोलि यो समस्या पहिलेको जस्तो नभएको उनी बताउँछिन् । ‘आजभोलि पनि यो समस्या होला तर पहिलेको जस्तो देख्दिनँ,’ उनी भन्छिन्, ‘आजभोलि अरू समस्या देखिन्छन्, यो समस्या खासै देखिँदैन ।’ त्यो बेलाका महिलाहरू सबै काम आफै गर्थे । बच्चा धेरैले घरमै जन्माउँथे । त्यो बेला महिलामा पाठेघर खस्ने समस्या धेरै थियो । यसलाई मध्यनजर गर्दै सरकारले पाठेघरको फ्री अप्रसेन गर्ने प्रोजेक्ट सञ्चालन गरेको थियो । उनी पाठेघरको मुखको क्यान्सर पहिलेको तुलनामा अहिले कम भएको बताउँछिन् । भन्छिन्, ‘आउन त यो समस्या ल्याएर अहिले पनि धेरै महिला आउनुहुन्छ तर, पहिलेको तुलनामा अहिले कम छ । अहिले विभिन्न खोपहरू आएका छन्, महिला आफै पनि सचेत भएका छन् ।’ अहिले गाउँगाउँमा बर्थिङ सेन्टर बन्दा महिलाहरू बच्चा जन्माउन अस्पतालमै पुग्छन् । यस्तै सेवा सुधिाले यो समस्या कम भएको उनको भनाइ छ । बाँझोपन बढ्यो लता आजभोलि नेपाली महिलामा बाँझोपन बढ्दै गएको बताउँछिन् । पहिलेको तुलनामा यो समस्या लिएर अस्पताल आउने महिलाको संख्या बढी भएकाले बढेको भन्न सकिने उनको भनाइ छ । उनका अनुसार यसको कारण ढिलो उमेरमा बिहे गर्नु, धेरैसँग शारीरिक सम्पर्क राख्नूलगायत हुन् । ‘पहिले १८/२० वर्षमै बिहे हुन्थ्यो, २०/२५ वर्षमा छोराछोरी ठूला भइसक्थे,’ लता भन्छिन्, ‘आजभोलि त्यस्तो छैन, ३०-३५ मा बिहे गर्छन्, फेरि ४-५ वर्षपछि बच्चा जन्माउने योजना हुन्छ, यसले गर्दा पनि समस्या देखिन्छ ।’ महिलाहरू ३५ वर्ष पुगेपछि आभेरीले राम्रोसँग काम गर्न छाड्छ । जसका कारण बच्चा बस्न गाह्रो हुन्छ । लताका अनुसार आजभोलिका कतिपय किशोरी बिहे नगरेरै धेरैसँग शारीरिक सम्पर्क गर्दा विभिन्न किसिमका इन्फेक्सन हुने, धेरै गर्भपतन हुनुका साथै बाँझोपनको समस्या हुने गरेको छ । अहिले सबैभन्दा बढी यौन सञ्चारित रोगको समस्या लिएर धेरै आउने गर्छन् । यसका साथै अरू कारण पनि हुनसक्ने उनी बताउँछिन् । पीसीओडी पनि बढ्यो अहिले किशोरदेखि ४० वर्षसम्मका महिलामा देखिने पोलिसिस्टी ओभरियन डिजिज (पीसीओडी) को पहिले नामसमेत सुन्न गाह्रो पर्थ्यो । तर आजभोलि धेरै जसो महिलामा यो गम्भीर समस्याका रूपमा आएको उनी बताउँछिन् । आजभोलि यो समस्या लिएर अस्पताल पुग्नेहरूको संख्या निकै बढी छ । उनी यसको कारण बदलिँदो खानपान र जीवनशैली रहेको बताउँछन् । उनी भन्छिन्, ‘पहिला महिला आफ्नै बारीमा व्यस्त हुन्थे, बारीको अर्गानिक खानाहरू खान्थे, जीवनशैली राम्रो थियो, यो रोग पनि थिएन,’ उनी भन्छिन्, ‘आजभोलि काम गर्न छोडे, पिज्जा अनि बर्गर खान थाले, यस्तो समस्या बढ्दै गयो ।’ साथै आजभोलि नियमित महिनावारी नहुने, कहिल्यै छिटो-छिटो महिनावारी हुने, कहिले ३-४ महिनामा एक पटक हुने समस्या बढ्दै गएका छन् । खानपिनका कारणले यो समस्या आएको उनी बताउँछिन् । रुवाउने एउटा घटना लतासँग जीवनमा काम गर्ने क्रममा भएका तीतामीठा धेरै अनुभव छन् । केही घटनाले आजसम्म आनन्द दिन्छ भने केहीले अहिले पनि झस्काउँछ । यस्तै, एउटा नमीठो घटनाले उनलाई अहिले पनि झस्काउँछ । घटना त्यो बेलाको हो जब उनी प्रसूति गृहमा कन्सलटेन्ट भएर काम गरिरहेकी थिइन् । एकजना महिलाले पहिलो सन्तान अप्रेसन गरेर जन्माएकी थिइन् । उनी दोस्रो पटक फेरि बच्चा जन्माउन अस्पताल पुगिन् । उनको पेटमा दुई जुम्ल्याहा बच्चा थिए । सुरुवातदेखि लताले नै उनको जाँच गर्दै आएकी थिइन् । समय बित्दै जाँदा उनको गर्भवती हुने मिति नजिक आयो । लताले उनलाई अस्पतालमा भर्ना गरिन् । अप्रेसनको तयारी गरिन् । उनले अर्को डाक्टरको टोलीलाई अप्रेसनको जिम्मा दिएर आफू अर्को काममा लागिन् । अप्रेसन गर्ने बित्तिकै अत्यधिक रक्तस्राव भयो । अप्रेसन गर्ने डाक्टरले लतालाई फोन गरेर बोलायो । उनी हतारहतारमा गइन् । रगत देखेर उनलाई पनि डर लाग्यो । रोक्ने प्रयास गर्दा पनि रोकिएन । लताले अर्को डाक्टरलाई पनि बोलाइन् तर दैवको अगाडि कसैको सीप चलेन । ती महिलाको मृत्यु भयो । उनलाई यो घटनाले अहिले पनि दुःख लाग्छ । पटक-पटक जाँच गर्न अस्पताल आउँदा भेटेको, कुराकानी गरेको झझल्को आँखामा आउन लाग्यो । हप्ता दशदिनसम्म उनी राम्रोसँग सुत्न सकिनन् । के कारण यस्तो भयो, मैले कहाँ गल्ती गरें, कसरी यस्तो भयो उनको मनमा यस्ता कुराहरू खेल्न थाले । त्यो घटना सम्झँदै उनी भन्छिन्, ‘अप्रेसन गर्नु अगाडि अल्ट्रासाउण्ड गरेर साल कतिसम्म टाँसिएको छ भनेर हेर्न मिल्थ्यो, त्यो हेरेर अप्रेसन गरेको भए जोगाउन सकिन्थ्यो कि । ’ अहिले उनका जुम्ल्याहा बच्चा पनि ठूला भइसकेका छन् । तर पनि लतालाई यो कुरामा अहिले पछुतो लागिरहन्छ । यही घटनाले सिकाएको पाठ लता त्यो बेला थापाथली अस्पतालसँगै क्यापिटल अस्पतालमा पनि अप्रेसन गर्ने काम गर्थिन् । त्यो अस्पतालमा पनि ठ्याक्कै एउटा केश त्यस्तै आयो । उनको पनि पहिलो बच्चा अप्रेसन गरेर निकालिएको थियो । दोस्रो बच्चा हुँदा ३२ हप्तामा रगत देखिन थालेछ । ती महिलालाई देख्नेबित्तिकै उनलाई थापाथलीमा भएको घटनाको याद आयो । उनले ती महिलालाई क्यापिटलबाट प्रसूति गृहमा पठाइन् । त्यो बेला उनी प्रसूतिमा सहायक निर्देशकको रूपमा कार्यरत थिइन् । उनले यो घटनाबारे त्यहाँको निर्देशकसँग कुरा गरिन् । त्यसपछि लता र निर्देशक मिलेर अप्रेसन गर्ने निधो गरे । सुत्केरी हुनुभन्दा अगाडि सालको अवस्था कस्तो छ भनेर अल्ट्रासाउण्ड गरेर हेरिन् । ती महिलाको पनि साल पाठेघरमा टाँसिएर बसेको थियो । उनले साल भएको ठाउँबाट नकाटी अर्को ठाउँमा काटेर बच्चा निकाले । पहिलेको केश जस्तै अत्यधिक रक्तस्राव भयो । तर उनीहरूले बच्चासँगै पाठेघर नै निकालेर फाले । पाठेघर निकाल्दा ती महिलाको ज्यान जोगाउन सफल भएको उनले बताइन् । उनलाई यी दुई घटना जीवनका सबभन्दा पीडादायी र खुसीदायी लाग्छन् । भन्छिन्, ‘एउटाको ज्यान जोगाउन सकिएन, त्यो घटनाले पाठ सिकायो । उस्तै घटनाले अर्को महिलाको ज्यान जोगायो ।’ परिवारलाई समय छुट्याउन गाह्रो कहिले अस्पताल, कहिले क्लिनिक लतालाई आफ्नो र परिवारका लागि समय छुट्याउन गाह्रो थियो । उनले काम गर्दै-गर्दा एकजना आर्थोपेडिक डाक्टरसँग बिहे गरिन् । बिहेपछि उनको छोरी जन्मिन् । छोरीलाई हेर्न त्यति समस्या भएन । किनकि यता घरमा पनि संयुक्त परिवार थियो, उता माइतीमा पनि आमाबुवा थिए । छोरी जन्मेको ७ वर्षपछि छोरा जन्मे । छोराछोरीलाई हुर्काउन, पढाउन एउटा महिलालाई निकै चुनौती हुन्छ । एकातिर काम अर्कोतिर छोराछोरी उनलाई हुर्काउन समस्या थियो । भन्छिन्, ‘यता आफ्नो काम,अर्कोतिर बच्चा निकै समस्या भएको थियो, तर जब मैले बच्चा राम्रो हेर्ने एउटा महिला पाएँ, त्यसपछि मलाई निकै सहज भयो ।’ छोराछोरीलाई पढाउन घरमै शिक्षक राखेकी थिइन् । घरमा शिक्षक आएपछि बच्चा जिम्मा लिगाएर काममा जान्थिन् । अहिले लताकी छोरी पनि डाक्टर छिन् । छोरा एमबीए पढेर आफ्नै बिनसेस गरिरहेका छन् । यता लताको उमेरले डाँडा काट्दैछ तर उनको काम गर्ने जाँगर भने अझै घटेको छैन । उनमा अझै पनि काम गर्ने हुटहुटी छ । अहिले पनि लता दिनहुँ महिलाहरूका समस्या सुन्ने र त्यसको उपचार गर्ने काममा व्यस्त छिन् । ४८ वर्षदेखि निरन्तर यही पेशामा क्रियाशी लताले कतिजनाको उपचार गरिन्, त्यसको लेखाजोखा राखेकी छैनिन् । अहिले काम गरेको त्यो अवधि हेर्दा लतालाई गर्वको महसुस हुन्छ । ‘यो अवधिमा धेरैलाई खुसी दिएँ, सेवा गर्न पाउँदा यो नै ठूलो कुरा हो,’ उनी भन्छिन्, ‘आफूले जानेको सिकोको कुरा दिन पाउनुभन्दा अरू खुसी के हुन सक्छ र ।’ अब कहिलेसम्म काम गर्नुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘ जबसम्म मैले सक्छु, तबसम्म काम गर्छु, सक्ने हुँदाहुँदै घरमा बसेर खान मलाई मन लाग्दैन, जुन दिन शरीरले साथ दिँदैन त्यो दिन म थन्किएर बस्ने छु ।’
एक समय ‘स्पेसएक्स’ बचाउन मस्कले गाडी बेचे, अहिले संसारकै मूल्यवान स्टार्टअप कम्पनी
काठमाडौं । विश्वकै धनी व्यक्ति एलन मस्कको अटो कम्पनी टेस्लाको बारेमा धेरैलाई थाहा छ । यो संसारको सबैभन्दा मूल्यवान अटो कम्पनी हो । यसको मार्केट क्याप लगभग १.४ ट्रिलियन डलर छ, जुन विश्वव्यापी अटो उद्योगको लगभग आधा हो । तर मस्कको अर्को कम्पनी स्पेसएक्स संसारको सबैभन्दा मूल्यवान स्टार्टअप कम्पनी बनेको छ । यसको मूल्य ३५० बिलियन पुगेको छ । मस्कले मंगल ग्रहमा मानिस पठाउने सपना देखेका थिए र यही मिसनका साथ उनले २००२ मा स्पेसएक्स स्थापना गरेका थिए । मस्क रकेट व्यवसायको बादशाह बन्न चाहन्छन् र यसमा उनी धेरै हदसम्म सफल पनि भएका छन् । यस कम्पनीको नाममा धेरै रेकर्डहरू छन् र अन्तरिक्ष उद्योगमा स्पेसएक्स ठूलो नामको रूपमा उभिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आज आफ्ना अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाउन स्पेसएक्सका रकेटहरू प्रयोग गरिरहेको छ । तर यहाँसम्म आउन स्पेसएक्सको यात्रा त्यति सहज थिएन । कम्पनीले एकपछि अर्को धेरै असफलताको सामना गर्नुपर्यो । कुनै बेला मस्कले जम्मा गरेको सबै पैसा यसैमा लगानी गरेका थिए । उनले रुसबाट रकेट किन्ने प्रयास पनि गरे तर सफल हुन सकेनन् । उनले आफ्नो सबै पैसा गुमाएका थिए र आफ्नो कार पनि बेच्नु परेको थियो । तर मस्कले कहिल्यै हार मानेनन् । एकदिन आफ्नो सपना पूरा हुनेमा उनी ढुक्क थिए । रुसमा अपमान अमेरिकी व्यापार स्तम्भकार र लेखक एश्ली भान्सले मस्कबारे लेखेको पुस्तक एलन मस्क: टेस्ला, स्पेसएक्स, र एउटा अद्भुत भविष्यको खोज’ मा स्पेसएक्ससँग सम्बन्धित घटना उल्लेख गरेका छन् । यस पुस्तकमा मस्कका उपलब्धिहरू, उनी कसरी टेस्ला, स्पेसएक्स, र अन्य इनोभेटिभ कम्पनीहरूमा संलग्न भए र भविष्यप्रति उनीसँग रहेको महत्त्वाकांक्षाको कथा वर्णन गरिएको छ । त्यो बेलामा स्पेसएक्स गठन भएको थिएन । मस्क रकेट प्रक्षेपणमा दुईदेखि तीन करोड डलर खर्च गर्न चाहन्थे । तर विज्ञहरूले यो सम्भव नभएको बताएका थिए । मस्कले रकेट प्रक्षेपणको लागत कति लाग्ला भन्ने जान्नका लागि रुस जाने योजना बनाए । उनी रुसबाट आईसीबीएम किन्न चाहन्थे र यसलाई आफ्नो प्रक्षेपण वाहनको रूपमा प्रयोग गर्न चाहन्थे । रकेट र मिसाइलमा एउटै प्रविधि प्रयोग गरिन्छ । यस कामका लागि मस्कले जिम क्यानट्रेल नामका व्यक्तिको सहयोग लिएका थिए । क्यान्ट्रेललाई जासुसीको आरोप लगाइएको थियो र सन् १९९६ मा रुसमा नजरबन्दमा राखिएको थियो । यही कारणले उनी रुस जान चाहँदैनथे तर मस्कले उनलाई मनाएरै छाडे । सन् २००१ को अक्टोबरमा मस्क, क्यान्ट्रेल र मस्कको कलेज साथी एडियो रेसी मस्को आइपुगे । मस्क र उनको टोलीले रुसीहरूसँग तीन पटक कुरा गरे । तर कुरा हुन सकेन । एक बैठकको दौरान एक रुसी प्रमुख डिजाइनरले क्यान्ट्रेल र मस्कलाई थुके । क्यान्ट्रेल भन्छन्, ‘रुसी प्रमुख डिजाइनरले म र एलनमाथि थुकेका थिए किनभने उसले सोचेको थियो कि हामी बकवास छौं ।’ कसरी गरे कमाल ? खासमा मस्कले रकेटका लागि २ करोड डलर जम्मा गरेर राखेका थिए । यसबाट तीनवटा आईसीबीएम खरिद गर्न सकिने उनको विश्वास थियो । एक बैठकमा मस्कले रुसीहरूलाई आईसीबीएमको लागत के हुन्छ ? भनेर सोधे । त्यसपछि मस्कले ८० लाख डलर लाग्ने जवाफ पाए । मस्कले यति पैसामा कम्तीमा दुईवटा आउने बताए । तर रुसीहरूले यो मूल्यमा मिसाइल वितरण नगर्ने बताए । मस्कले रुसीहरू यस सम्झौताको बारेमा गम्भीर नभएको वा उनीबाट सकेसम्म धेरै पैसा उठाउन चाहेको महसुस गरे । उनी ठूला सपना बोकेर रुस गएका थिए तर रित्तो हात फर्किए । उनी निराश भए तर हार मानेनन् । त्यसपछि मस्कले रकेट आफै बनाउने निर्णय गरे । उनले जुन २००२ मा स्पेसएक्सको स्थापना गरेका थिए । तर कम्पनीलाई आफ्नो रकेट सफलतापूर्वक उडान गर्न छ वर्ष लाग्यो । स्पेसएक्स सन् २००८ मा चर्चामा आएको थियो जब यसको रकेट स्याटेलाइटको अर्बिटमा पुग्न सफल भयो । सन् २०१० मा स्पेसएक्सको रकेटले एउटा पेलोडलाई अर्बिटमा राख्यो र त्यसपछि सुरक्षित रूपमा पृथ्वीमा फर्कियो । स्पेसएक्सको सफलताको मुख्य कारण यो हो कि कम्पनीले रकेटमा प्रयोग हुने लगभग ८० प्रतिशत सामग्री आफै उत्पादन गर्छ । यसले उत्पादन लागत कम गर्न कम्पनीलाई महत्त्वपूर्ण मद्दत गरेको छ । (एजेन्सीहरूको सहयोगमा)
सूर्योदय वोमी लघुवित्तले घटायो लाभांश, वार्षिक साधारण सभा आह्वान
काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घटाएको छ । संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ का लागि घोषणा गरेको लाभांश संसोधन गरेर घटाएको हो । मसिंर ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई ७ करोड ३० लाख अर्थात ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त लाभांश घटाएर संस्थाले ७ करोड २६ लाख रुपैयाँ वितरण गर्ने भएको हो । जसमध्ये ६ करोड २६ लाख रुपैयाँ अर्थात ६ प्रतिशत बोनस सेयर र १ करोड ४ लाख रुपैयाँ अर्थात १ प्रतिशत नगत लाभांश वितरण गर्ने सञ्चालक समितिले निर्णय गरेको थियो । तर, पौष ५ गते बसोको संस्थाको सञ्चालक समितिको बैठकले उक्त लाभांश संसोधन गरेको हो । संस्थाले बोनस सेयर वितरण ६ प्रतिशतलाई नै निरन्तरता दिएको छ भने नगद लाभांस लाई १ प्रतिशतबाट ०.९६२३ प्रतिशतमा झारेको छ । अर्थात, संस्थाले १ करोड ४३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । सो संस्थालको हाल १ अर्ब ४ करोड ३६ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । साथै संस्थाले वार्षिक साधारण सभा पनि आह्वान गरेको छ । संस्थाले १३औँ वार्षिक साधारण सभा पौष २८ गतेका लागि आह्वान गरेको हो । वार्षिक साधारण सभा प्रयोजनका लागि पौष २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय संस्थाले गरेको छ । ललितपुरको लभु पार्टी प्यालेसमा विहान ११ बजेबाट सभा सुरु हुने पनि संस्थाले जानकारी गराएको छ ।
मुग्लिन-काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
भरतपुर । मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौँ जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ । यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछ । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिनेछ ।
सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो
काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार एक सय रुपैयाँ र चाँदी प्रतितोला तीस रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार हुनेछ ।
१०.५२ प्रतिशत लाभांश वितरण गर्ने ग्रिन भेन्चर्स कम्पनीको घोषणा
काठमाडौं । ग्रिन भेन्चर्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । पुस ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशन बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
सिवाइसी नेपाल लघुवित्तले लाभांश नदिने
काठमाडाैं । सिवाइसी नेपाल लघुवित्तले वित्तीय संस्थाले लभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको हो । पुस ६ गते बसेको संस्थाको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो। कम्पनीले वितरणयोग्य मुनाफा संचित गरि लाभांश नदिने निर्णय गरेको हो । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।