मलाई गरिएको कारबाही विधानसम्मत छैन : नेता रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गरेका छन् । पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, ‘आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।’ एमाले सचिवालय बैठकले उनलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ । एमालेमा रहँदा उनले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गरेका थिए । पार्टीभित्र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने डा रावल पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी थिए । विसं २०३२ मा सदस्य लिएपछि देश, जनता, स्वाभिमान र सिद्धान्तप्रति इमान्दार भई पार्टीभित्र सम्हाल्दै आएको जिम्मेवारी र सामना गर्नुपरेका चुनौतीलगायत विषय उनले आज पत्रकार सम्मेलनमा सुनाए ।
टेस्लाले चीनमा बनेका ७७ हजार ६५० गाडीको सफ्टवेयर समस्यालाई समाधान गर्ने
काठमाडौं । टेस्लाले चीनमा निर्मित मोडल थ्री र मोडल वाई गाडीका ७७ हजार ६५० एकाइको सफ्टवेयर सुधार गर्ने भएको छ । चीनको बजार नियामक निकायले मंगलबार यस्तो जानकारी दिएको हो । टेस्लाको सुरक्षात्मक कदमलाई लिएर सफ्टवेयर समस्या समाधान गर्न लागिएको हो । सफ्टवेयरको त्रुटिका कारण गाडी सुरु भएपछि टायरको दबाव तत्काल देखाउन नसक्ने समस्या उत्पन्न भएको पाइएको छ । यो समस्या समाधान गर्न गाडी फिर्ता गर्नुपर्ने वा ग्राहकले पैसा फिर्ता पाउने विषयमा भने अझै स्पष्टता भएको छैन । टेस्लाले मोडल एस र मोडल एक्सका ६३ आयात गरिएका गाडीहरू पनि फिर्ता बोलाएको छ, जसमा चालकको अगाडिको एयरब्यागसम्बन्धी समस्या पाइएको छ ।
एआईको प्रयोगद्वारा अन्तरिक्षमा जीवनको खोज
नासाले १४ अक्टोबर २०२४ मा जुपिटर (वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्षेपण गरेको युरोपा क्लिपर मिसन विज्ञान र प्रविधिको क्षेत्रमा माइलस्टोन बनेको छ । युरोपा क्लिपर जुपिटरको चन्द्रमा युरोपाको विस्तृत अध्ययन गर्न डिजाइन गरिएको पहिलो मिसन हो । वैज्ञानिक प्रमाणहरूका अनुसार अहिले पनि जीवनका लागि आवश्यक तत्वहरू युरोपामा हुन सक्छन् । यो अन्तरिक्ष यान छ वर्षपछि, अप्रिल २०३० मा १.८ अर्ब माइल (२.९ अर्ब किलोमिटर) यात्रा गरेर जुपिटरमा पुग्नेछ । त्यहाँ पुगेपछि, यो जुपिटरको परिक्रमा गर्दै युरोपाको ४९ पटक नजिकबाट उडान गरेर अध्ययन गर्नेछ । यस मिसनमा कृत्रिम बैद्धिकता (एआई) र अन्य अत्याधुनिक प्रविधिहरूको प्रयोग गरेर जीवनको सम्भावना खोज्ने लक्ष्य राखिएको छ । एआई भनेको कम्प्युटरले मानिसजस्तै सोच्न र काम गर्न सिकेको प्रविधि हो । यसले जटिल समस्या समाधान गर्न र दैनिक जीवनका कामहरू सजिलै गर्न मानिसलाई सहयोग पुर्याउँछ । वैज्ञानिकहरूले यो मिसन केवल पृथ्वीबाहेक जीवनको खोजीको लागि मात्र नभई, भविष्यमा अन्य ग्रह र चन्द्रमाहरूमा अन्वेषण गर्ने योजनाहरूको मार्गप्रशस्त गर्ने विश्वास गरेका छन् । नासाको युरोपा क्लिपर मिसनको कुल अनुमानित लागत लगभग ५.२ अर्ब डलर रहेको छ । यसमा मिसनको विकासदेखि २०३० मा जुपिटरमा पुगेर चार वर्षसम्म सञ्चालन गर्ने सम्पूर्ण खर्च समावेश छ । मिसन अत्यन्त जटिल भएकाले, डिजाइन र विकिरण जस्ता चुनौतीका कारण बजेट बढ्दै गएको हो । यो नासाका सबैभन्दा महँगो ग्रह विज्ञान परियोजनाहरू मध्ये एक मानिन्छ । युरोपा क्लिपर मिसनमा १,००० भन्दा बढी वैज्ञानिक र इन्जिनियरहरू संलग्न थिए, जसमा एआई र ग्रह अनुसन्धानका विशेषज्ञहरू पनि समावेश थिए । यो मिसनको तयारी २०१५ मा औपचारिक रूपमा सुरु गरिएको थियो र नौ वर्षको मेहनतपछि १४ अक्टोबर २०२४ मा सफलतापूर्वक प्रक्षेपण गरियो । यस अवधिमा वैज्ञानिक टोलीले जटिल उपकरणहरू निर्माण र परीक्षण गर्दै, जुपिटरतर्फको यात्रा योजना र मार्गको विस्तृत तयारी गरे । मिसनले एआई प्रविधि प्रयोग गरेर डेटा प्रशोधन र नेभिगेसनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ, जसले जुपिटरको खतरनाक विकिरणबाट सुरक्षित उडान सुनिश्चित गर्छ । युरोपा क्लिपर अन्तरिक्षयानले हाइड्राजिन–आधारित इन्धन प्रयोग गर्छ । हाइड्राजिन अन्तरिक्षयात्राका लागि विश्वसनीय इन्धन हो, विशेषगरी गहिरो अन्तरिक्षमा यानको मार्ग परिवर्तन र नियन्त्रणका लागि । यो मिसनका लागि लगभग छ हजार पाउन्ड (दुई हजार ७५० किलोग्राम) इन्धन यानका ट्याङ्कहरूमा भण्डारण गरिएको छ, जसमा हिलियम प्रेसरन्ट पनि छ, जसले इन्धन प्रवाहलाई व्यवस्थापन गर्नेछ । यस इन्धनको मद्दतले युरोपा क्लिपरले मङ्गल र पृथ्वीबाट गुरुत्वीय सहायता लिंदै, जुपिटरको कक्षसम्मको यात्रा पूरा गर्नेछ । हाइड्राजिन थ्रस्टरहरूले मार्ग सुधार र मिसनका दौरान वैज्ञानिक उपकरणहरूको सही दिशामा नियन्त्रण गर्न मद्दत गर्नेछन् । युरोपा क्लिपर मिसनको एउटा प्रमुख लक्ष्य युरोपामा जीवनको सम्भावना खोज्नु हो । युरोपा, जुपिटरको मुख्य चन्द्रमाहरू मध्ये एक, सतहमुनि लुकेको नुनिलो महासागरले ढाकिएको छ । वैज्ञानिकहरूले यो महासागरमा पृथ्वीभन्दा बढी पानी रहेको अनुमान गरेका छन् । वैज्ञानिकहरूले जुपिटरको यस चन्द्रमामा बरफमुनि रहेको महासागरमा जीवनका लागि आवश्यक तत्वहरू—पानी, रासायनिक यौगिकहरू र ऊर्जा स्रोत—मौजूद हुनसक्ने अनुमान गरेका छन् । यो मिसनको उद्देश्य युरोपाको वातावरण अध्ययन गरी हाम्रो ब्रह्माण्डमा हामी एक्लै छौं कि छैनौं भन्ने प्रश्नको जवाफ खोज्नु पनि हो । यदि जीवनको लागि अनुकूल अवस्था फेला परेमा, यसले पृथ्वीबाहेक अन्य ग्रह र चन्द्रमाहरूमा जीवनको सम्भावना पुष्टि गर्न मार्ग प्रशस्त गर्नेछ । यो मिसनले मानव सभ्यताले ब्रह्माण्डमा आफ्नो स्थान र जीवनको अर्थबारेको बुझाइमा परिवर्तन ल्याउने आशा गरिएको छ । डा परशुराम दाहाल यस मिसनको मुख्य उपकरणहरूमा आइस–पेनेट्रेटिङ राडार, थर्मल इमेजिङ प्रणाली, र अल्ट्राभायोलेट स्पेक्ट्रोस्कोप समावेश छन् । यानले युरोपाको सतहमुनि लुकेको पानी र पानीका फोहोराहरूको खोजी गर्दै जीवनको संकेत अध्ययन गर्नेछ । एआई प्रणालीहरूले सतहका तस्वीरहरू र अन्य वैज्ञानिक डेटा विश्लेषण गरी महत्त्वपूर्ण सूचनाहरू छान्ने र स्वचालित रूपमा मिसनको मार्गदर्शन गर्नेछ । सौर्य ऊर्जा प्रयोग गर्ने यो यानमा १०० फिट लामो सोलार प्यानल जडान गरिएको छ, जसले जुपिटरको कमजोर घामबाट पनि पर्याप्त ऊर्जा सङ्कलन गर्न मद्दत गर्नेछ । रेडिएसन–प्रतिरोधी प्रविधिको प्रयोग गरेर, यानका उपकरणहरूलाई जुपिटरको विकिरणबाट सुरक्षित राखिनेछ । | एआई प्रणालीहरूले मिसनमा सङ्कलन गरिएको डेटा पृथ्वीमा पठाउनु अघि प्राथमिकता निर्धारण र संकुचन गर्नेछन्, जसले अनावश्यक जानकारी हटाएर वैज्ञानिकहरूले तुरुन्तै उपयोग गर्न मिल्ने महत्त्वपूर्ण तथ्यहरू फेला पार्न सकून् । यस प्रकारको कुशलता मानव अनुगमनबिना पनि अन्तरिक्षमा अनुसन्धान गर्न सक्षम हुनेछ । यो मिसनले भविष्यमा पृथ्वीबाहेकका ग्रह र चन्द्रमाहरूमा जीवनको सम्भावना खोज्न थप प्रेरणा दिनेछ । यदि युरोपामा जीवन पत्ता लाग्यो भने यो केवल विज्ञानको विजय नभई सम्पूर्ण मानव जातिका लागि ऐतिहासिक उपलब्धि हुनेछ । एआई र अन्तरिक्ष प्रविधिको यस्तो प्रयोगले अन्तरिक्ष अन्वेषणको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनेछ । नेपालजस्तो देशका लागि, यस्तो एआई प्रविधि केवल प्रेरणाको स्रोत मात्र नभई देशको प्राविधिक विकासका लागि दिशानिर्देशक पनि हो । यो प्रविधि दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवा पुर्याउन, ग्रामीण क्षेत्रमा कृषिको उत्पादनशक्ति बढाउन र विपद् व्यवस्थापनका लागि भविष्यवाणी प्रणाली निर्माण गर्न प्रयोग गर्न सकिन्छ । एआई प्रविधि प्रयोग गरेर नेपालले आफ्नो वैज्ञानिक अनुसन्धानमा मात्र नभई, जीवनस्तर सुधार्नका लागि पनि महत्वपूर्ण योगदान गर्न सक्छ । भविष्यमा, एआई र मानिसको सहकार्यले शिक्षा, स्वास्थ्य र अनुसन्धानमा प्रगति ल्याउन महत्वपूर्ण योगदान पुर्याउनेछ । जिम्मेवार र सुरक्षित रूपमा मानव र एआईको सहकार्यले हाम्रो जीवनलाई थप सहज र प्रभावकारी बनाउन सघाउनेछ । युरोपामा जीवनको सम्भावना खोज्ने नासाको प्रयासले भविष्यमा पृथ्वीबाहेक अन्य ग्रहहरूमा मानव जीवनको सम्भावनालाई उजागर गर्न सक्छ । नेपालजस्ता देशहरूले पनि यस्ता प्रविधिबाट प्रेरित भई आफ्नो अनुसन्धान र विकासलाई सशक्त बनाउन सक्छन् । एआईले मानव सभ्यताको सम्भावनालाई मात्र होइन, सम्पूर्ण ब्रह्माण्डमा जीवनको परिकल्पनालाई नयाँ उचाइमा पुर्याउनेछ । यसले नेपाललाई विश्वस्तरको अनुसन्धान र अन्तरिक्ष प्रविधिमा सहभागी गराउन मद्दत पुर्याउनेछ । युरोपा क्लिपर मिसन नासाको मात्र नभई सम्पूर्ण मानवताको अन्तरिक्ष यात्रामा एक महत्वपूर्ण कोसेढुङ्गा बन्नेछ । यो मिसनले विज्ञान र प्रविधिमा नयाँ क्रान्ति ल्याउँदै भविष्यका अन्तरिक्ष अन्वेषणहरूलाई प्रेरित गर्नेछ, जसले हामीलाई ‘हामी एक्ला छौँ कि छैनौँ ?’ भन्ने प्रश्नको उत्तर खोज्न थप नजिक पुर्याउनेछ । रासस (लेखक अमेरिकामा एआई विज्ञका रूपमा कार्यरत छन्)
कर्णालीमा ४ वटा ठूला उद्योग दर्ता, ५३ हजार ऋणीले लिए ५९ अर्ब २३ करोड रुपैयाँ कर्जा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्णाली प्रदेशमा ११.७९ प्रतिशत निक्षेप बढाएका छन् । नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरूले ११.७९ प्रतिशत बढाएर ७५ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ पुर्याएका छन् । अघिल्लो वर्ष ११.८९ प्रतिशत बढाएर ६७ अर्ब ४९ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेका थिए । गत वर्ष कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा २.२४ प्रतिशतले वृद्धि भई ५९ अर्ब २३ करोड ४४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ५७ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । कर्णालीमा कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७८.५० प्रतिशत रहेको छ । जबकि अघिल्लो वर्ष सीडी रेसियो ८५.८३ प्रतिशत थियो । राष्ट्र बैंकले सल्यान, कालिकोट, दैलेख र सुर्खेत जिल्लाका स्थलगत तथा रुकुम-पश्चिम, डोल्पा, जुम्ला, मुगु, जाजरकोट र हुम्ला जिल्लाका गैरस्थलगत अध्ययनबाट तयार पारिएको आव २०८०/८१ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनको आधारमा कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेपमध्ये बचत निक्षेपको अंश सबैभन्दा धेरै ५६.४७ प्रतिशत रहेको छ । यस्तै, मुद्दती, चल्ती र अन्य निक्षेपले क्रमशः २५.०५ प्रतिशत, १२.८७ प्रतिशत र ५.६१ प्रतिशत हिस्सा ओगटेका छन् । गत असारसम्म यस प्रदेशमा निक्षेपखाताको संख्या १२.८१ प्रतिशतले वृद्धि भई २१ लाख ९९ हजार २४९ पुगेको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष ऋणी खाताहरूको संख्या ४.३० प्रतिशते बढी ५३ हजार ४३० पुगेकाे छ । अघिल्लो वर्ष भने ऋणी खाताको संख्यामा २.४० प्रतिशतले कमी आएको थियो । राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशमा घरजग्गा रजिष्ट्रेशन संख्या १२ हजार ६१३ पुगेको छ भने घरजग्गा रजिष्ट्रेसन वापतको राजस्व गत वर्षको तुलनामा २२.६८ प्रतिशतले कमी भई ३२ करोड ६५ लाख रुपैयाँ संकलन भएको छ । आव २०८०/८१ को कर्णाली प्रदेशको कुल ग्राहस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान ९.७० प्रतिशत रहने अनुमान छ । यस प्रदेशमा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धिदर ०.६४ प्रतिशत र निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धिदर १.०२ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान छ । उद्योग विभागको तथ्याङ्क अनुसार आव २०७८/७९ मा कुल ३०९ ठूला उद्योगहरू दर्ता भएकोमा कर्णाली प्रदेशमा रुरुगाड पावर कम्पनी प्रालि, सूर्य तारा सिमेन्ट उद्योग प्रालि, रारा होल्डिङ्ग प्रालि र स्यार्पु पावर कम्पनी गरी ४ वटा ठूला उद्योगहरू दर्ता भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको तथ्याङ्कअनुसार सुरुदेखि आव २०७९/८० सम्म कर्णाली प्रदेशमा दर्ता भएका लघु, घरेलु तथा साना उद्योगहरूको संख्या ३६ हजार ५१६ रहेको छ । जसमध्ये सबैभन्दा बढी सुर्खेत जिल्लामा १० हजार १३३ र सबैभन्दा कम मुगु जिल्लामा १ हजार ७३१ रहेको छ । आव २०८०/८१ मा जम्मा १ हजार ७६८ उद्योग मात्र दर्ता भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । उद्योगहरूको औसत क्षमता उपयोग ४८.५१ प्रतिशत रहेको छ भने गत वर्ष यस्तो क्षमता ५२.२९ प्रतिशत थियो । गत वर्षमा उद्योगहरूको उपयोग क्षमतामा प्लाष्टिकका सामानसम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शतप्रतिशत रहेको छ भने सबैभन्दा कम अन्न तथा पशुदानाअन्तर्गत पिठो उत्पादनसम्बन्धी उद्योगको उपयोग क्षमता १५.० प्रतिशत रहेको छ । यसैगरी, कागज उत्पादन, काठ तथा काठको सामान, अन्य खाद्य पदार्थ (प्रशोधित चिया), अन्य (अन्य लत्ता कपडा) र पशुदाना उत्पादन गर्ने उद्योगहरूअन्तर्गत चामल उत्पादनसम्बन्धी उद्योग, प्रशोधित दूध उत्पादनसम्बन्धी उद्योग र पशुदानासम्बन्धी उद्योगको उपयोग क्षमता क्रमशः ९०.० प्रतिशत, ५२.० प्रतिशत, ५१.११ प्रतिशत, ४८.९४ प्रतिशत, ४१.६७, २१.२३ प्रतिशत र १६.६७ प्रतिशत रहेको छ । यस प्रदेशमा औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, कच्चा पदार्थको अभाव तथा विकट भौगोलिक बनावट जस्ता प्रमुख कारणहरूले गर्दा ठूला उद्योगहरूको सञ्चालन हुन सकेको देखिँदैन । कर्णालीमा आव २०७९/८० को असार मसान्तसम्म ३ अर्ब ९८ करोड ६१ लाख रहेको कुल औद्योगिक कर्जा थियो । गत वर्ष ३.३३ प्रतिशतले वृद्धि भई ४ अर्ब ११ करोड ८७ लाख रुपैयाँ पुगेको छ । समीक्षा वर्षमा विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २९.१७ प्रतिशतले वृद्धि र कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ७.८५ प्रतिशतले कमी आएको छ । समीक्षा वर्षमा सुर्खेत जिल्लामा सबैभन्दा धेरै २ अर्ब ६० करोड ३ लाख रुपैयाँ औद्योगिक कर्जा उपयोग भएको छ भने सबैभन्दा कम १ करोड ६५ लाख रुपैयाँ डोल्पा जिल्लामा उपयोग भएको छ । गत वर्ष कर्णालीमा दर्ता भएका सवारीसाधनको संख्यामा ११.४९ प्रतिशतले कमी आई ३ हजार ४ कायम भएको छ । अघिल्लो वर्षमा सो संख्या ८३.२० प्रतिशतले कमी आई ३ हजार ३९४ रहेको थियो । अध्ययनअनुसार मोटरसाइकलको संख्यामा ३.१४ प्रतिशतले कमी आई २ हजार ४३८ कायम भएको छ भने अन्य सवारीसाधनको संख्यामा ३५.४६ प्रतिशतले कमी आई ५६६ कायम भएको छ । यस प्रदेशमा नेपाल टेलिकमबाट वितरित स्थायी टेलिफोन सेवाको संख्या १२.२६ प्रतिशतले वृद्धि भई १ हजार ६६६ पुगेको छ भने १ लाख ५ हजार ६० मोबाईल सिम कार्ड वितरण गरिएको छ । सो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १५.०७ प्रतिशतले कमी हो । यस्तै, आव २०८०/८१ को असारसम्म यस प्रदेशमा सरकारी/सामुदायिक विद्यालयको संख्या ३ हजार ३४, विद्यार्थी संख्या ५ लाख ३२ हजार ७३८ र शिक्षक संख्या १६ हजार ६२७ रहेको छ । गत वर्ष सरकारी तथा सामुदायिक क्षेत्रका विद्यालयमा विद्यार्थी संख्यामा ०.३९ प्रतिशतले वृद्धि भएको हो । गत वर्षमा संस्थागत तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्यामा १.१८ प्रतिशतले कमी आएको छ भने विद्यालयको संख्यामा कुनै परिवर्तन आएको छैन । यस प्रदेशमा प्राविधिक शिक्षालयको संख्या १२७, विद्यार्थीको संख्या ३ हजार ५४ र शिक्षकहरूको संख्या ७३८ रहेको छ । अघिल्लो वर्ष प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थीहरूको संख्या ३ हजार २३१ रहेको थियो । यस प्रदेशमा रहेका सरकारी/सामुदायिक अस्पतालको संख्या, चिकित्सक संख्या र अस्पतालहरूमा रहेका शैयाहरूको संख्यामा क्रमशः १६.० प्रतिशत, ३०.१७ प्रतिशत र ११.४१ प्रतिशतले वृद्धि भई २९ वटा अस्पताल ३१५ जना चिकित्सक संख्या र १,२३० वटा शैयाहरू रहेका छन् ।
नेप्सेमा बुधबार भएको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ । आज नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१.६० बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १५० कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीको सेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको सेयर मूल्यमा भने कुने परिवर्तन आएको छैन । आज ३०५ कम्पनीको ९४ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो । जसमध्ये सबैभन्दा धेरै करोबार एनआरएन इन्फ्रास्ट्रक्चकर एन्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । एनआरएनको २१ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, जानकी फाइनान्सको ९ करोड ६९ लाख, त्रिशुली जल विद्युत कम्पनीको ९ करोड २९ लाख, प्रभु बैंकको ८ करोड ८८ लाख र नेपाल फाइनान्सको ८ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । बुधबार त्रिशुली जल विद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । मंगलबारको कारोबारमा उच्च गिरावट देखिएको वित्त समूह आज सम्हालिएर उच्च वृद्धि देखिएको छ । वित्त समूह ३.८७, विकास बैंक १.६८ र जलविद्युत् समूह १.२४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन ०.९५, लगानी ०.०९, उत्पादन तथा प्रशोधन ०.२५, निर्जीवन बिमा ०.२२ र व्यापार समूह ०.६३ प्रतिशतले बढको छ । अरु समूहको उपसूचकमा भने गिरावट देखिएको छ । बैंकिङ ०.७२, जीवन बिमा ०.०६, लघुवित्त ०.१६, म्युचुअल फन्ड ०.१७ र अन्य समूह ०.४१ प्रतिशतले घटेको हो ।
फर्डले २० हजार ४८४ हाइब्रिड एसयूभी गाडी फिर्ता गर्ने
काठमाडौं । फर्डले ब्याट्रीसँग सम्बन्धित चिन्ताका कारण २० हजार ४८४ हाइब्रिड एसयूभी गाडी फिर्ता गर्ने भएको छ । राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) ले मंगलबार घोषणा गरेअनुसार २०२० देखि २०२४ मोडल वर्षका फर्ड इस्केप र लिंकन कोरसेयर हाइब्रिड गाडी समावेश छन् । उच्च भोल्टेज ब्याट्री सेलहरूमा निर्माण त्रुटिका कारण आन्तरिक सर्ट सर्किट र ब्याट्री फेल हुने सम्भावना रहेको पाइएको छ। डिलरहरूले ब्याट्री ऊर्जा नियन्त्रण मोड्युलको सफ्टवेयर अद्यावधिक गर्ने जनाइएकाे छ। आवश्यकताअनुसार उच्च भोल्टेज ब्याट्री प्याक पनि निःशुल्क बदलिनेछ । ग्राहकको सुरक्षाका लागि कार फिर्ता गर्न लागिएको हो । फोर्ड मोटर कम्पनी एक अमेरिकी बहुराष्ट्रिय वाहन निर्माता कम्पनी हो । हेनरी फोर्डले सन् १९०३ मा यो कम्पनी स्थापना गरेका थिए ।
हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कपुचे ताल
गण्डकी । आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी गाउँपालिका वडा नं १ स्थित कपुचे ताल नजिकबाट हिमाललाई नियाल्न सकिने गन्तव्यका रुपमा विकास भएको छ । अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट जम्मा दुई हजार चार सय २१ मिटर उचाइमा रहेको छ । कूल दश हजार चार सय ४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कपुचेलाई विश्वकै कम उचाइमा भएको हिमतालका रुपमा दाबी गरिएको मादी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए । आँखै अगाडि हिमाल, हिमापहिरोका साथै हरियो र निलो मिश्रित रङको तालको पानीमा घामका किरणहरू पर्दाको मनोरम दृश्य नै यहाँको प्रमुख आकर्षण हो । कपुचे हिमताललाई स्थानीय गुरुङ भाषामा क्हफुचे भनिने बताउँदै वडा अध्यक्ष गुरुङले क्हको अर्थ हिउँ, फुको अर्थ डल्लो र चेको अर्थ समथर भूभाग भन्ने रहेको बताए । क्हफुचेबाट अपभ्रंश हुँदै यस ताललाई कपुचे, कफुचे आदिका रुपमा लिने गरिएको उनले जानकारी दिए। बजारदेखि नजिकको हिमताल कपुचेको शान्त वातावरणसँगै वर्षातको समयमा यहाँ फूल्ने विभिन्न प्रजातिका रङ्गी, वीरङ्गी फूलहरूले फूलेर वनपाखा मनमोहक देखिन्छन् । पर्यटकीय गाउँ सिक्लेसदेखि हुगु हुँदै छ घण्टा पैदलयात्रा गरेपछि कपुचे पुग्न सकिन्छ । बाटोमा पर्ने इदी झरना मनमोहक र आकर्षक छ । पर्यटकको सुविधाका लागि कपुचे र हुगुमा रेष्टुराँ र अस्थायी संरचनाका होटल बनिसकेका छन्। परम्परागत रुपमा यसअघि बनेका कतिपय भेडीगोठलाई स्तरोन्नति गर्दै पर्यटकस्तरीय होटेलका रुपमा विकास गर्न खोजिएको देखिन्छ । काठले बारेका घरमा निगालोको चोयाले बनेका चित्राले छाएका घरमा पर्यटकलाई बास बस्ने ब्यवस्था मिलाएको सिक्लेस–कफुचे मार्गस्थित हुगुमा होटेल आइसफल चलाउँदै आउनुभएका पर्यटन व्यवसायी कृष्ण गुरुङले बताए । जङ्गलको बीच र मादी नदीको किनारमा रहेको हुगु यस क्षेत्रमा प्राचीन गोठहरू भएको क्षेत्र हो। अहिले प्राचीन गोठहरू हराउँदै गए पनि तिनै गोठहरू रहेका स्थानमा पर्यटक लक्षित गरी होटेल लगायतका पूर्वाधार विकास गर्न खोजिएको उनले बताए । हुगुका होटेलको आगनबाट टाउको ठडाउने बित्तिकै लमजुङ हिमाललाई आँखै अगाडि देख्न सकिन्छ । पछिल्ला समयमा हिमताल र हिउँ पहिरो अवलोनका लागि स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको कपुचे हिमतालसम्म पुग्नका लागि बाटो लगायत पूर्वाधारलाई राज्यले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । सिक्लेसदेखि सिधै कपुचे पुगेर त्यही बास बसेर भोलिपल्ट फर्किन सक्ने अथवा फर्किएर हुगुमा आएर बास बस्ने दुवै विकल्प छन्। हुगुमा परापूर्वकालमा हिउँदमा सिक्लेसवासीको गाईभैंसी र भेडागोठ राख्ने चलन थियो। हुगुदेखि सिक्लेस फर्कन र नौटा हुँदै अर्को गन्तव्य कोरी पुग्न सकिन्छ। पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात्रामा पुग्न सकिने भएका कारण पनि यो पछिल्लो समय चासो र चर्चामा छ। तालको महिमा र गरिमालाई स्वदेशी एवं विदेशी पर्यटकमाझ पुर्याउँदै यसको प्रवर्द्धन गर्ने लक्ष्यका साथ मादी गाउँपालिकाले यसको प्रवर्द्धनलाई जोड दिएको मादी–१ का वडाध्यक्ष गुरुङले बताए। सिक्लेसबाट कपुचेसम्म पुग्ने पैदलमार्गलाई व्यवस्थित गर्नेतर्फ आफूहरूको चासो र सक्रियता बढेको बताउँदै उनले यसबीचमा गाउँपालिकासहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), राष्ट्रिय ताल प्राधिकरण, गण्डकी प्रदेश सरकार आदि निकायबाट तालको पूर्वाधार विकाससँगै तालसम्म जाने बाटो आदिका लागि सहयोग प्राप्त भई केही कामहरू अघि बढेको जानकारी दिए। वडाध्यक्ष गुरुङका अनुसार हराउँदै गएको घोडचढी संस्कृतिको जगेर्नालाई लक्षित गरी गाउँपालिकाले सिक्लेसबाट कपुचेसम्मका लागि ५० अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको भएपनि त्यसतर्फ युवाहरूको आकर्षण देखिएन । ताल कहिले बन्यो भन्ने यकिन तथ्य नभए पनि उक्त क्षेत्रमा पहिले पहिले विभिन्न भेडी गोठ रहे पनि अहिले भने छैनन् । सिक्लेस–कपुचे मार्गमा पर्ने हुँगु र कपुचे दुवै स्थान प्राचीन भेडी गोठ रहने क्षेत्र हो। कपुचेको यात्राका क्रममा सिक्लेसबाट राम्रो हिँड्न सक्नेहरू लगभग साढे तीन घण्टामा हुगु पुग्न सक्छन्। हिँड्न नसक्नेका लागि भने चारदेखि पाँच घण्टासम्म लाग्ने गर्दछ । हुगु पुगेका पर्यटक हिँड्न सक्ने एक घण्टामा कफुचे पुगे पनि नसक्नेका लागि डेढ दुई घण्टासम्म लाग्ने गर्दछ । पोखराबाट छोटो दूरीमा रहेको कपुचेलाई समेटेर सिक्लेसहुँदै कपुचे–कोरी क्होलासोथार–कर्पु हुँदै याङजाकोटलाई गुरुङ सम्पदा पदमार्गअन्तर्गत समेट्दै प्रवर्द्धनका काम अघि बढाइएको गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताए । सङ्घले प्राचीन गुरुङ बस्ती रहेको सिक्लेससहित गुरुङ गाउँ र जोडिएका प्राचीन भेडीगोठ एवं नुन बोक्ने मार्गलाई समेटेर बृहत् अवधारणका साथै गुरुङ सम्पदा पदमार्गको अनुसन्धान, एवं अन्वेषण गरी त्यसको प्रवद्धन र विकासमा जोड दिएको उनले बताए । सङ्घकै आयोजनामा पुसको दोस्रो हप्ता सिक्लेसबाट कपुचे, कोरी, क्होलासोथार, कर्पु हुँदै याङ्जाकोटसम्ँमको गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन सम्पन्न गरिएको सङ्घका महासचिव तुल गुरुङले बताए। पोखराबाट नजिक रहेको कपुचे हिमतालको महिमा र गरिमासँगै यहाँको पर्यटकीय आकर्षणलाई विश्व पर्यटन बजारमा पुर्याउनु जरुरी रहेको उनले बताए । रासस
प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालन, ग्राहक आफैले क्यास डिपोजिट गर्न पाउने
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ को सुरुवातसँगै प्रभु बैंक लिमिटेडले विद्युतीय कारोवारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरमार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा नगद जम्मा गर्न, क्लियरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिनेलगायतका सेवाहरू आफैले प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ । यस सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागी बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ । हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकताअनुसार अन्य स्थानमा समेत बिस्तार गरिनेछ । साथै यस नबिनतम सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउने बैंकले विश्वास लिएको छ ।