विकासन्युज

सोमबारदेखि वर्षा र हिमपात हुने

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशको पूर्वी भू–भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधरणतया मौसम बदलीदेखि सामान्यतया वर्षा रहने छ । आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ । ‘तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ’, उनले भनिन्, ‘बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।’ पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । शनिबारको तुलनामा आज काठमाडौंको न्यूनतम तापक्रम केही वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ । शनिबार ५ दशमलव ९ डिग्री सेल्सियस मापन भएको थियो । राति काठमाडौंको आकाशमा बादल लागेको हुनाले न्यूनतम तापक्रम थोरै बढेको मौसमविद् महर्जनले जानकारी दिइन् । न्यूनतम तापक्रम बढेकाले काठमाडौंमा आज तुलनात्मक रूपमा बिहान कम चिसो महसुस भएको छ । गत मङ्सिर २९ गते काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो ।

गार्डियन माइक्रोको आईपीओ बिक्री खुला, १ लाख कित्ता आवेदन दिन पाइने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आज पुस २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरेर बाँडफाँटपश्चात् कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब ३ प्रतिशत अर्थात् ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा पुस २४ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा माघ १० गतेसम्म समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

निरन्तर सर्वसाधिक उचाईमा अमेरिकी डलर, यस्तो छ अन्य देशको मुद्राको भाउ

काठमाडौं । नयाँ वर्ष २०२५ को सुरुवाती दिनदेखि अमेरिकी डलरको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज थप नयाँ उचाइमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.९४ रुपैयाँ र बिक्रीदर १३७.५४ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि पुस १९ गते खरिदर १३६.९१ रुपैयाँ र बिक्रीदर १३७.५१ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । आज युरोपियन यूरोको एकको खरिदर १४१.०२ रुपैयाँ र बिक्रीदर १४१.६४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.०० रुपैयाँ र बिक्रीदर १७०.७४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५०.६७ रुपैयाँ र बिक्रीदर १५१.३३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.२१ रुपैयाँ र बिक्रीदर ८५.५८ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.११ रुपैयाँ र बिक्रीदर ९५.५२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर ९९.९६ रुपैयाँ र बिक्रीदर १००.४० रुपैयाँ, जापानी येन १० को खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७१ रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५६ रुपैयाँ र बिक्रीदर ३७.७३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.२८ रुपैयाँ र बिक्रीदर ३७.४५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.४३ रुपैयाँ र बिक्रीदर ३०.५६ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३२ रुपैयाँ र बिक्रीदर १२.३७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९० रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६० रुपैयाँ र बिक्रीदर १७.६८ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४३.८० रुपैयाँ र बिक्रीदर ४४५.७५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३.२५ रुपैयाँ र बिक्रीदर ३६४.८४ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५५.६८ रुपैयाँ र बिक्रीदर ३५७.२४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, एडिबी र विश्व बैंकबाट ऋण लिने तयारी

काठमाडौं । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ हुने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार उक्त सडकमा तीन किसिमका पर्खाल (आरसिसी रिटेनिङ, प्लम र गेभियन वाल) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ । ‘अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि, पर्खाल लगाउने भन्नेबारे छलफलपछि निष्कर्ष निकालिनेछ,’ उनले भने । प्रमुख योगेशका अनुसार खोलाको बाढी आउन सक्ने ठाउँमा आरसिसी वाल लगाउनुपर्ने देखिएको छ भने कतै प्लम वाल र कतै गेभियन वाल लगाउनुपर्ने अध्ययनले देखाएको छ । क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न स्रोत सुनिश्चितताको पर्खाइमा रहेको प्रमुख योगेश बताउँछन् । ‘सडकखण्ड पुनर्निर्माण गर्न गएिएको अध्ययनअनुसार लाग्ने लागतको स्रोत सुनिश्चित भएको छैन, दातृ निकाय तथा नेपाल सरकारबाटै स्रोत सुनिश्चित भएपछि ठेक्का खोल्ने प्रक्रियातिर लाग्छौँ,’ उनले भने । राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गत कात्तिक दोस्रो साता अध्ययन गरेको थियो । उक्त राजमार्ग पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुुता युताकासँग छलफल गर्नुभएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जाइकासँग उक्त सडकखण्ड पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको छ । मन्त्रालय जाइकाको प्रतिवेदन र जवाफको पर्खाइमा रहेको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्ने तयारी छ । यस्तै दातृ निकायहरू एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकको सहुलियतपूर्ण ऋण लिएर भए पनि राजमार्ग पुनर्निर्माणको तयारी छ । सचिव शर्मा आगामी फागुनसम्ममा ठेक्का प्रक्रिया अघि बढाउने तयारी छ । पुनर्निर्माणका लागि स्रोत सुनिश्चित लम्बिए आउने वर्षको वर्षामा यातायात सञ्चालनमा कठिनाइ ब्यहोर्नुपर्ने प्रमुख योगेशले बताए । ‘हाल स्रोत सुनिश्चित भएको भए काम सुरु गथ्र्यौँ, अब ढिला भयो भने वर्षाभरि यातायात सञ्चालन नहुन पनि सक्छ,’ उनले भने । उनका अनुसार पूर्ण रूपमा सडक पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्छ । बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास) अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त छ । बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ । राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको हो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास १६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । जाइकाले उक्त राजमार्ग निर्माण गर्दा प्रतिकिमी ३५ करोड रुपैयाँ लागत थियो ।

काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप

काठमाडौं । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलन कार्य सकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । देशव्यापी खोप कार्यक्रमअन्तर्गत आउँदो माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । कार्यालयले खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेकोसमेत जनाएको छ । कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठअनुसार काभ्रेपलाञ्चोकको २५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार ६८६ जना र विद्यालय बाहिर रहेका २४९ गरी कूल १५ हजार ९३५ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको हो । कार्यालयको तथ्याङ्कअनुसार जिल्लास्थित १३ स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत ३ हजार ८६६, कक्षा ७ मा ३ हजार ३३, कक्षा ८ मा ३ हजार एक, कक्षा ९ का २ हजार ९८७ र कक्षा १० का २ हजार ७९९ जना गरी विद्यालय तहमा १५ हजार ६८६ जनालाई खोप लगाइने छ । यस्तै विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका २४९ किशोरीलाई खोप लगाउने योजनाबारे छलफल भइरहेको श्रेष्ठले बताए । विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो । स्थानीयस्तरका विद्यालयमा नै खोप केन्द्र सञ्चालन गरिनेछ भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने जनाइएको छ । एक तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष २ हजार २ सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको जनाइएको छ ।

सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने

काठमाडौं । सिङ्गापुरले नयाँ ‘हाइड्रोजन-रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन इकाई निर्माण गर्ने भएको छ । सन् २०२९ मा सञ्चालन हुने गरी ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्न लागेको हो । हाइड्रोजन जेनरेटर बिजुली उत्पादन गर्न प्रयोग गरिने तथा प्रदूषण कम गर्न मद्दत गर्दछ । ऊर्जा बजार प्राधिकरण (इएमए) प्रमुख कार्यकारी अधिकृत पुआ कोक केओङले भने, ‘उर्जाको बढ्दो मागसँगै हाम्रो दैनिक जीवनलाई बलियो बनाउन पर्याप्त उत्पादन सुनिश्चित गर्नु महत्त्वपूर्ण छ ।’ सिङ्गापुरको बिजुलीको खुद्रा बिक्रेता प्यासिफिकलाइट पावरले विकास गर्ने नयाँ उत्पादन युनिटको उत्पादन क्षमता कम्तीमा ६ सय मेगावाट हुनेछ । कम्पनीले दक्षिणपश्चिम सिङ्गापुरको जुरोङ टापुमा निर्माण हुने उक्त सुविधा सुरुमा कम्तीमा ३० प्रतिशत हाइड्रोजनबाट सञ्चालन गर्न सक्ने तथा भविष्यमा १०० प्रतिशत हाइड्रोजन जलाउने योजना रहेको बताएको छ । इएमएका अनुसार उन्नत उत्पादन, डिजिटल अर्थतन्त्र र यातायातको विद्युतीकरण जस्ता शक्ति-गहन क्षेत्रहरूद्वारा संचालित सिङ्गापुरको ऊर्जा आवश्यकताहरू बढ्दै गएको छ । सहर-राज्यको बिजुली प्रणालीमा चरम माग आगामी ६ वर्षमा ३.७ प्रतिशतदेखि ५.७ प्रतिशत सम्म चक्रवृद्धि वार्षिक दरमा बढेर सन् २०३० सम्ममा १०.१ गिगावाट र ११.८ गिगावाटको बीचमा पुग्ने प्रक्षेपण गरिएको छ । प्यासिफिकलाइट पावर हाइड्रोजन–तयार उत्पादन इकाई विकास गर्न पेश गरिएका ६ वटा प्रस्तावहरूबाट चयन गरिएको थियो ।

स्पेसएक्सले सातौं स्टारशिप परीक्षण उडान गर्दै

काठमाडौं । स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटको सातौं उडान परीक्षण सुरु गर्ने तयारी गरिरहेको छ । आगामी उडान परीक्षणले महत्त्वपूर्ण स्तरवृद्धि गर्नेछ । स्पेसएक्सका अनुसार स्टारशिपले माथिल्लो चरणमा योजनाबद्ध अपग्रेडको ब्लक उडान परीक्षण सुरु हुनेछ । जसले विश्वसनीयता र कार्यसम्पादनमा ठूलो सुधार ल्याउनेछ । स्पेसएक्सले रकेटको प्रोपल्सन प्रणालीलाई पुनः डिजाइन गरेको छ । जसमा प्रोपेलेन्ट भोल्युममा २५ प्रतिशत वृद्धि, फिडलाइनको भ्याकुम ज्याकेटिङ, सवारी साधनको र्याप्टर भ्याकुम इन्जिनका लागि नयाँ इन्धन फिडलाइन प्रणाली तथा सुधारिएको प्रोपल्सन एभियन सेन्सरहरू नियन्त्रण गर्ने प्रणाली समावेश छ । स्पेसएक्सका अनुसार अन्तरिक्षमा हुँदा स्टारशिपले १० स्टारलिङ्क सिमुलेटरहरू तैनाथ गर्नेछ । स्पेसएक्सको स्टारशिप अन्तरिक्ष यान र सुपर हेवी रकेटलाई सामूहिक रूपमा स्टारशिप भनिन्छ । नासामा स्टारशिपले महत्त्वपूर्ण भूमिका खेल्छ । नासाले चन्द्रमाको यात्राको अन्तिम चरणमा अन्तरिक्ष यात्रीहरूलाई आर्टेमिस ३ भनिने मिसनमा लैजान रोजेको थियो, जुन हाल सन् २०२६ को लागि योजना गरिएको छ ।

एआई डाटा सेन्टर निर्माण गर्न माइक्रोसफ्टले छुट्यायो ८० अर्ब अमेरिकी डलर

काठमाडौं । माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नको लागि सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्याएको छ । माइक्रोसफ्टले पोस्टमा टेक विशालले एआई मोडेलहरूलाई तालिम दिन तथा विश्वभर एआई र क्लाउड–आधारित अनुप्रयोगहरू प्रयोग गर्ने योजना बनाएको जनाएको छ । माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार त्यो ८० अर्ब डलर विनियोजनमध्ये आधाभन्दा बढी संयुक्त राज्य अमेरिकामा खर्च हुनेछ । स्मिथले भने, ‘एआईले अर्थतन्त्रको हरेक क्षेत्रमा नवप्रवर्तन र उत्पादकत्व बढाउने वाचा गर्छ । संयुक्त राज्य अमेरिका यस नयाँ प्रविधि लहरको अगाडि उभिन तयार छ ।’ माइक्रोसफ्ट तथा ओपनएआई एक डाटा सेन्टर सुविधाको निर्माणको बारेमा वार्तामा थिए । यो सुविधा निर्माण गर्न १०० अर्ब डलरभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको थियो ।