विकासन्युज

ट्रम्पको शपथ ग्रहणका लागि चन्दा दिन ठूला कम्पनीबीच प्रतिस्पर्धा, कसले कति दिए ?

काठमाडौं । डोनाल्ड ट्रम्पले जनवरी २० मा अमेरिकी राष्ट्रपतिको शपथ लिँदैछन् । उनको शपथग्रहण समारोहका लागि पैसा चन्दा दिने कम्पनी र धनी व्यक्तिबीच प्रतिस्पर्धा चलिरहेको छ । अब यो सूचीमा विश्वकै मूल्यवान कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुक पनि सामेल भएका छन् । मिडिया रिपोर्टका अनुसार कुकले ट्रम्पको सपथ ग्रहण समारोहका लागि १० लाख डलर दिने घोषणा गरेका छन् । यस कार्यक्रमका लागि अहिलेसम्म धेरै कम्पनीहरूले चन्दा घोषणा गरेका छन् । यसमा अमेजन, ओपन एआई, उत्तरी अमेरिकाको टोयोटा मोटर र क्रिप्टोकरेन्सी कम्पनीहरू क्राकेन, रिपल र ओन्डो समावेश छन् । यद्यपि अमेरिकामा सबैभन्दा बढी कर तिर्ने टीम कुकको कम्पनी एप्पलले चन्दा दिने अपेक्षा गरिएको छैन । एप्पलले भर्खरै मुद्दा सुल्झाउन ९.५ करोड तिर्नुपरेको छ । कम्पनीलाई भर्चुअल असिस्टेन्ट सिरीको सहयोगमा आइफोन र अन्य डिभाइसहरू प्रयोग गर्ने मानिसहरूको कुराकानी सुनेको आरोप लगाइएको थियो । तर, कम्पनीले आफ्नो सम्झौतामा कुनै गल्ती गरेको स्वीकार गरेको छैन । कसकसले गरे दान ? टोयोटा मोटर नर्थ अमेरिकाले ट्रम्पको उद्घाटनका लागि १० लाख डलर दान गर्दैछ । फर्ड मोटर र जनरल मोटर्सले समान रकम दान गरेका छन् । अमेरिकी अटो कम्पनीहरूले यस कार्यक्रमको लागि सवारीसाधनहरू दान गरिरहेका छन् । रिटेल ट्रेडिङ प्लेटफर्म रोबिनहुड मार्केट्सले २० लाख डलर दान गरेको छ । उबर टेक्नोलोजी र यसका सीईओ दारा खोसरोशाहीले १०-१० लाख डलर दान गरेका छन् । अमेजनले पनि १० लाख डलर दान गरेको छ । साथै कम्पनीले आफ्नो ओटीटी प्लेटफर्म प्राइम भिडियोमा कार्यक्रमलाई लाइभ स्ट्रिम गर्नेछ । फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मले पनि यस कार्यक्रमका लागि १० लाख डलर सहयोग गरेको छ । सिटाडेल एलएलसी हेज फण्डका संस्थापक केन ग्रिफिनले पनि १० लाख डलर दान गर्ने योजना बनाएका छन् । ग्रिफिनले चुनावअघि ट्रम्पको राष्ट्रपति अभियानमा चन्दा दिएका थिएनन् । ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहको तयारीका लागि विशेष प्यानल गठन गरेका छन् । यो एक गैर-लाभकारी संस्था हो र असीमित चन्दा स्वीकार गर्ने अधिकार प्राप्त गर्दछ ।

ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आइतबार बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएका थिए । घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ । आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएका प्रहरीले जानकारी दिएको छ ।

गुगलका सुन्दर पिचाईलाई पछाडि पार्दै यी सीईओ, एक दिनमै कमाउँछन् ६४ करोड रुपैयाँ

काठमाडौं । विश्वमा सबैभन्दा बढी पारिश्रमिक लिने सीईओको चर्चा हुँदा गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाई, माइक्रोसफ्टका सत्य नडेला, एडोबका शान्तनु नारायण आदिको नाम आउँछ । तर अब अर्को भारतीय मूलका सीईओले ती सबैलाई पछाडि पारेका छन् । उनको दैनिक ६४ करोड रुपैयाँ छ । उनी विश्वकै सबैभन्दा धेरै तलब पाउने कर्मचारी बनेका छन् । हामी क्वान्टमस्केप कम्पनीका संस्थापक र सीईओ जगदीप सिंहको बारेमा कुरा गर्दैछौं । भारतीय मूलका जगदीप सिंहले एक वर्षमा २८ हजार करोड रुपैयाँ तलब पाएका छन् । अर्थात् उनले दैनिक ६४ करोड रुपैयाँ तलब पाउँछन् । धेरै कम्पनीसँग उनको वार्षिक तलब जति कमाइ छैन । यति धेरै पारिश्रमिक लिएर जगदीप सिंह चर्चामा आएका हुन् । को हुन् जगदीप सिंह ? जगदीप सिंहले स्ट्यानफोर्ड विश्वविद्यालयबाट बीटेक र क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेबाट एमबीए पूरा गरेका छन् । क्वान्टमस्केप स्थापना गर्नुअघि उनले विभिन्न कम्पनीमा १० वर्ष काम गरेका थिए । यसले उनलाई ब्याट्री टेक्नोलोजीमा क्रान्तिकारी सफलताको लागि अवसर बुझ्ने मौका दियो । सिंहले सन् २०१० मा कम्पनीको स्थापना गरेका थिए । उनको कम्पनी क्वान्टमस्केपले नयाँ पुस्ताको सोलिड स्टेट रिचार्जेबल लिथियम मेटल ब्याट्री बनाउँछ । यी ब्याट्रीहरू विद्युतीय सवारीसाधन (ईभी) मा प्रयोग गरिन्छ । फक्सवागन र बिल गेट्सजस्ता दिग्गजहरूले पनि उनको कम्पनीमा लगानी गरेका छन् । क्वान्टमस्केपको मुख्यालय क्यालिफोर्नियामा छ । कसरी पाए यति धेरै तलब ? क्वान्टमस्केप सन् २०२० मा अमेरिकी सेयर बजारमा सूचीकृत भएको थियो । यसमा लगानीकर्ताबाट ठूलो सहयोग प्राप्त भएको छ । जगदीप सिंहको तलब प्याकेजमा २.३ बिलियन डलरको सेयर पनि समावेश छ । जसकारण उनको वार्षिक तलब लगभग २८ हजार करोड पुगेको हो । नवप्रवर्तनमा ध्यान जगदीप सिंह नवप्रवर्तनका लागि परिचित छन् । उनकाे कम्पनीमा निर्मित ठोस स्टेट ब्याट्रीहरू सामान्य ब्याट्रीहरू भन्दा धेरै अगाडि छन् । ब्याट्रीले लामो समयसम्म पावरमात्र प्रदान गर्दैन, यो चाँडै चार्ज पनि हुन्छ । यस कारण ब्याट्री ईभीमा व्यापक रूपमा प्रयोग भइरहेको छ । अहिले ईभी क्षेत्र फस्टाउँदै गएकाले उनको कम्पनी पनि नयाँ उचाइमा पुगिरहेको छ ।

डेढ अर्ब कमाउने कसमस सिमेन्टको व्यापार २६ करोडमा झर्‍यो, अरू उद्योग पनि हायलकायल

काठमाडौं । सिमेन्ट उद्योगहरू लामो समयदेखि समस्यामा रहेको गुनासो गर्दै आएका छन् । विगतमा राम्रो व्यापार गरेर आम्दानी पनि सन्तोषजनक रूपमा गर्दै आएका सिमेन्ट उद्योगहरू पछिल्लो समय खर्च पनि उठाउन नसक्ने अवस्थामा पुगेका हुन् । अहिले अधिकांश सिमेन्ट उद्योगहरू घाटामा सञ्चालन भइरहेका छन् । धनुषामा कारखाना रहेको कसमस सिमेन्टले चालु आर्थिक वर्षको पाँच महिनामा २६ करोड १० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । विगतमा राम्रो आम्दानी गर्दै आएको कसमस सिमेन्टको व्यापारले पनि अहिले समग्र सिमेन्ट उद्योग समस्यामा रहेको बुझ्न सकिन्छ । यसअघि विकासन्यूजले तयार पारेको ‘६० अर्बको सिमेन्ट व्यापार ३० अर्बमा झर्‍यो’ शीर्षकको समाचारमा पनि सिमेन्ट उद्योगको व्यापार घटेको उल्लेख थियो । अहिले कसमस सिमेन्टको व्यापारले पनि त्यसलाई थप प्रमाणित गरेको छ । पाँच वर्षको अवधिमा कसमस सिमेन्ट उद्योगको सञ्चालन आम्दानी ८३ प्रतिशतले घटेको छ ।  यसअघि अर्थात् २०२३ मा उद्योगले ८४ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १९ करोड ३० लाख, सन् २०२१ मा १ अर्ब ३८ करोड र सन् २०२० मा १ अर्ब २९ करोड ५० लाख र सन् १ अर्ब ५३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । १ लाख ६५ हजार मेट्रिक टन क्लिन्कर र ४ लाख २९ हजार मेट्रिक टन ग्रान्डिङ उत्पादन गर्ने क्षमता भएको यो सिमेन्ट उद्योगको सात जना सेयरधनी छन् । यस उद्योगको अध्यक्ष प्रदीपजंग पाण्डे हुन् भने सञ्चालकका रूपमा ध्रुव थापा, हर्षमान श्रेष्ठ र प्रवलजङ पाण्डेले काम गरिरहेका छन् । यस उद्योगले ताज सिमेन्ट र कसमस ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । यो उद्योगले डेढ अर्ब रुपैयाँ ऋणका लागि रेटिङ पनि गराएको छ । कसमस सिमेन्टमा आन्तरिक विवाद तथा क्लिन्करको विषयले पनि ठूला व्यापार गुमाउनु परेको बुझिएको छ । अधिकांश सिमेन्ट उद्योगलाई अहिले सकस परिरहेको बेला कसमसलाई पनि त्यो समस्या देखिएको हो । कसमसले पछिल्लो समय सरकारको न्यून पुँजीगत खर्च र आर्थिक मन्दीसँगै बढ्दो प्रतिस्पर्धाले सिमेन्ट बिक्री घट्दा व्यापार पनि कम भएको बताएको छ । यस उद्योगले बजारमा आफ्नो प्रभावकारी विस्तार गर्न नसक्दा पनि व्यापार घटेको बुझिएको छ । कम्पनीलाई तरलता व्यवस्थानमा ठूलो चुनौती देखिन सक्ने रेटिङ एजेन्सी इक्रा नेपालको विश्लेषण छ । नेपालमा अहिले करिब साढे पाँच दर्जन उद्योगहरू सञ्चालनमा रहेका छन् । ती उद्योगलाई अहिले बैंकको ब्याज तिर्न पनि सकस परेको बुझिएको छ ।

सार्वजनिक जग्गाको अतिक्रमण हटाइने

महोत्तरी । सार्वजनिक पर्ती र नदी उकास जग्गामा अतिक्रमण बढ्न थालेपछि वनसम्बद्ध कार्यालय र सुरक्षा निकायले अतिक्रमण हटाउने अभियान सुरु गरेका छन् । महोत्तरीको बर्दिबास–४ वरडाँडामा तारबार लगाएर व्यक्तिले कब्जा गरेको करिब एक बिघा जग्गा वन सवडिभिजन कार्यालय गणन्ता र सशस्त्र वन सुरक्षा शाखाले तारबार भत्काइ अतिक्रमण हटाएका हुन् । नदी उकास क्षेत्रको जग्गा बर्दिबास–४ का मोहित तामाङले घेराबेरा लगाएका थिए । नदी उकास जग्गा घेरबार गरी टहरा बनाउने, बाली लगाएर कब्जा गर्ने प्रवृति बढेपछि यस्ता जग्गाको पहिचान गरेर अतिक्रमण हटाउने अभियान थालिएको वन सवडिभिजन कार्यालय गणन्ता (महोत्तरी) का वन अधिकृत सिकेन्द्रप्रसाद चौधरीले जानकारी दिए। शनिबार थालिएको यो अभियानलाई निरन्तरता दिइने वन सव डिभिजन कार्यालय गणन्ताले जनाएको छ । ‘अहिले अतिक्रमण गर्नेलाई चेतावनी दिइएको छ, यस्तो घटना दोहोरिए वन ऐनअनुसार कारबाही गरिन्छ’, उनले भने । बर्दिबास नगरक्षेत्रमा सयौँ बिघा पर्ती र नदी उकास जग्गा छन् । यसै अभियानका क्रममा अतिक्रमणको पहिचान गरी हटाइने वन अधिकृत चौधरीको प्रतिबद्धता छ । यस्ता जग्गामा वृक्षरोपण गरेर चुरेक्षेत्रमा हरियाली प्रवद्र्धन गरिन पर्ने वातावरणविद्हरुको सुझाव छ । चुरे नजिकका पर्ती, नदी उकास र भिरालो जग्गामा माटो परीक्षणबाट उपयुक्त ठहरिने वृक्षरोपण गरिए भूक्षय न्यूनीकरण हुनसँगै हरियाली प्रवद्र्धन हुने चुरे संरक्षण अभियानमा जुट्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष चुरे विज्ञ नागदेव यादवको भनाइ छ ।

नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी

नेपालमा पुनः १८ महिनापछि मङ्कीपक्स देखापरेको छ । तनहुँ स्थायी घर भई पुस ४ गते काठमाडौं आएका सउदी अरेबियामा कार्यरत ३६ वर्षीय पुरुषमा पुस ५ गते सङ्क्रमण पुष्टि भएको हो । उनको टेकु अस्पतालमा आइसोलेसनमा राखी उपचारपश्चात् डिस्चार्ज भइसकेको छ । पहिलो सङ्क्रमित पुस ३ गते विमानस्थलबाट ट्याक्सी चढेर निजी अस्पताल हुँदै सरकारी सरुवा रोग अस्पताल टेकु पुगे भने अर्का ४४ वर्षीय पुरुष पुस १३ गते एक दिन स्वयम्भुमा आफन्तकहाँ बसी आइतबार टेकु अस्पताल पुगे । उनको उपचार भइरहेको छ । नेपालमा पहिलोपटक एक अस्पतालमा उपचाररत ६० वर्षीया विदेशी महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको नमुनामा मङ्कीपक्स देखिएको स्वास्थ्य मन्त्रालयले २०८० असार १ गते पुष्टि गरेको थियो । सन् २०२४ सम्मको अफ्रिकाको प्रतिवेदनमा २० देशबाट करिब ६३ हजार बढी नमुनामा १३ हजार ५७९ बढी पुष्टि, मृत्यृ १२ सय बढी छ । सङ्क्रमण तीब्ररुपमा फैलिएपछि अफ्रिकी सीडिसीले गत अगष्ट १२ मा जनस्वास्थ्य सङ्कटकाल तथा विश्व स्वास्थ्य सङ्गठनले अगष्ट १४ मा विश्व स्वास्थ्य आपत्काल (पिएचआइसी) घोषणा गरेको थियो । एम–पक्स हाम्रा लागि नयाँ मानिए पनि विश्वमा पहिलेदेखि नै छ । अफ्रिकी महादेशमा दशकाैं अगाडिदेखि नै देखिरहेको छ । तथापि विशेष चर्चा सन् २०२२ मा युरोपमा फैलन थालेपछि भएको हो । सन् २०२२ मा विश्व स्वास्थ्य सङ्गठनले विश्वभर ७५ देशमा १६ हजारजनामा भाइरस पुष्टि भएपछि मंकी–पक्सलाई विश्वब्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको थियो । हाल मंकी–पक्सलाई एम–पक्सको नामले सम्बोधन गरिन्छ । सन् १९५८ मा पहिलोपटक पश्चिम अफ्रिकाको डेनमार्कमा एक दुर्गम भेगमा एक बन्दी बाँदरमा फेला परेको थियो । त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा सङ्क्रमण पाइएको थियो । मानिसमा भने पहिलोपटक सन् १९७० मा अफ्रिकी मुलुक कङ्गोमा नौ महिने बालकमा पुष्टि भएको थियो । त्यतिबेला यो रोग १० अफ्रिकी मुलुकमा फैलिएको थियो । सन् २००३ मा आयातित कुकुर हुँदै अमेरिकामा फैलिएको थियो । एसियामा सर्वप्रथम सन् २०१९ मा  सिंगापुरमा नाइजेरियाबाट आएका ब्यक्तिलाई मंकी–पक्स देखिएको थियो । बादरबाट मानिसमा मात्र नभई मानिसबाट मानिसमा सर्न थालेको, धेरैलाई निदान गर्न कठिन भएको, खोप नभएको, सङ्क्रमण तीव्र फैलिँदै गएको तथा अहिलेसम्म सङ्क्रमण नदेखिएका देशमा समेत २१ दिनभित्र देखिनसक्ने भएकाले स्वास्थ्य आपत्काल घोषणा गरिएको सङ्गठनले बताएको छ । सन् २०२२ जुलाईमा युरोप, अमेरिकालगायत देशमा तीव्र रुपमा फैलिई ११० देशमा ८७ हजार बढी सङ्क्रमित र १४० जनाको ज्यान गएको थियो । हालसम्म भारत, नेपाललगायत ११६ देशमा यो रोग देखा परिसकेको छ ।  के कारणले हुन्छ ? मङ्कीपक्स भाइरसका क्लेड एक–दुई गरी दुई प्रजाति छन्, यसमा क्लेड–१ बढी सङ्क्रामक र घातक छ । सन् २०२२ मा क्लेड–२ भेरियन्टको सङ्क्रमण७० बढी देशमा फैलिदा एम–पक्सलाई जनस्वास्थ्य सङ्कटका रुपमा घोषणा गरेको थियो । अफ्रिकामा देखिएको भेरियन्ट क्लेड–१ हो, जुन समुदायस्तरमै छ तर हाल फैलिएको नयाँ प्रजाति क्लेड–१ बी सङ्क्रमितहरुमध्ये १० प्रतिशत बढीको मृत्यृ हुने गरेको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनले एउटा बिरामीलाई समेत गम्भीर मानेको छ । मध्य एवं पश्चिमी अफ्रिकी देशको जङ्गली स्थानमा पाइने बाँदरबाट मानिसमा सरेकाले मङ्कीपक्स नामकरण गरिएको हो । लक्षण कस्तो हुन्छ ? सामान्यतः सङ्क्रमण भएको २१ दिनपछि ज्वरो आउने, ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांशपेसी दुख्ने र शरीरका ग्रन्थीहरु बढ्ने गर्छन् । सङ्क्रमणबाट भएको घाउ १४ देखि २१ दिनसम्म रहने र त्यसपछि सामान्यतः आफैँ हराउँछ । बिबिराको प्रकृति चिकनपक्स अर्थात् ठेउला र भिरगीसँग मिल्दोजुल्दो छ । सङ्क्रमण भएको एकदेखि २१ दिनसम्ममा एम–पक्सको लक्षणहरु देखिने गर्छ र दुईदेखि चार हप्तासम्ममा अधिकांश सङ्क्रमितले स्वास्थ्य लाभ गरिसक्छन् । ‘न्यु इङ्लैण्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित अनुसन्धानमा सङ्क्रमितहरुमध्ये सबैभन्दा बढीमा शरिरको बिशेषत गुप्ताङ, मलद्वारमा घाउ, पानीका फोकाहरु देखिएको छ । लक्षण १४ देखि २८ दिनसम्म रहनसक्छ र पछि सामान्यतः आफैँ हराउँछ । एक व्यक्तिबाट अर्को व्यक्तिमा लक्षण देखिने अवधि दुईदेखि तीन सातासम्म रहन्छ । सङ्क्रमितमध्ये १० प्रतिशतमा स्वास्थ्य जटिलता भएर मृत्यृ हुनसक्छ । गर्भवती, बालवालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा जटिलता हुनसक्छ । सम्भावित जटिलताहरुमा आखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यृ पर्दछन् । सङ्क्रमण घातक देखिने वर्गमा बच्चा, दीर्घकालिन रोगी, शरिर कमजोर भएका व्यक्ति पर्दछन् । पछिल्लो समय शारिरीक क्रियाकलापमा लागेका मानिसमा रोग देखिने गरेको छ र यौनरोगसँग सम्बन्धित भनेर पनि लिन सकिन्छ । पछिल्लो समयमा पुरुष समूहमा एउटा मात्रै घाउ दिसा गर्ने भागमा वा लिङ्गमा बिबिरा वा पानीको फोकाजस्तो बिबिरा गुप्ताङ्मा देखिएको छ । यसले सङ्क्रमण भएको स्थानबाट आएको व्यक्तिसँग सम्पर्कमा आउँदा वा नजिकको सम्बन्ध बनाएकोमा एउटा मात्र घाउ, बिबिरा आउँदा पनि एम–पक्स हुनसक्छ । सर्ने माध्यम के के हुनसक्छ ? सम्पर्कमा आएका ५० जनामध्ये एक जनामा सर्ने यो रोग अन्य सङ्क्रामक रोग तथा बिबिरा ठेउला र भिरिङ्गीको बिबिरासँग मिल्दोजुल्दो भएकाले स्वास्थ्यकर्मी झुक्किने सम्भावना बढी छ । रोग सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरुको थुक, ¥याल, घाउ, खटिरा, शरिरबाट निस्कने तरल पदार्थ, दूषित सतह र मांशपेसीबाट सर्ने गर्दछ । भाइरस स्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेका छालामार्फत पनि सर्नसक्छ । यस्तै बाँदर,मुसा लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि सर्न र फैलिन सक्छ । सङ्क्रमितसँगको यौन सम्पर्कबाट पनि सर्नसक्छ । तथापि बिर्यबाट सर्ने प्रमाणित भईसकेको छैन । गर्भवतीमा गर्भबाट बच्चामा सर्नसक्छ । फोका, लुगाफाटोलगायतमा सङ्क्रमणहुँदा सर्ने जोखिम बढी रहन्छ । बिफरकै समूहमा पर्ने मंकीपक्स सङ्क्रमित व्यक्तिको घाउ, हाच्छिउँका छिटा र थुक पनि सार्ने माध्यम भएकाले सजिलै एकबाट अर्कोमा सर्नसक्छ । तरल पदार्थ स्वासनली, आँखा, मुख वा नाकबाट छिर्नसक्छ । पानीका फोका देखिएर अस्पताल पुग्ने चलन नभएकाले सर्ने माध्यमका बारेमा जानकारी दिई फैलन नदिने नै राम्रो हो । कोभिडजस्तो छिटै सर्ने र घातक नभएकाले आत्तिहाल्नु पर्देन । धेरैजसो लक्षणबाट त्यो बाहेक छालाको जाँच र फोकाको पीसीआरबाट पत्ता लगाइन्छ । फोकाबाट लिइएको नमुनाको मन्किपक्स भाइरल पोलिमरेज चेन रिएक्सन—पीसीआरबाट रोगको निदान गरिन्छ । नमुना छाला, तरल पदार्थ क्रस्ट वा बायोप्सीबाट निकालिन्छ । एन्टिजेन र एन्टिबडी परीक्षणले अर्थोपक्स भाइरसबीचको फरक पत्ता लगाउन नसक्ने भएकाले उपयोगी हुँदैन । उपचार तथा रोकथाम के हो त ? धेरैजसो मानिसमा यस्ले कुनै जटिलता नल्याउने र दुईदेखि चार हप्तामा आफैँ निको हुन्छ । तथापि, बच्चा, बृद्धबृद्धा र दीर्घरोगीलाई भने च्याप्ने र छाला, आँखा तथा अङ्गको सङ्क्रमण, निमोनिया, इन्सेफलाइटिस जस्ता जटिलता ल्याउने गर्छ । रोगको मृत्यृदर शून्यदेखि ११ प्रतिशत छ । सिकिस्त बिरामीका लागि एन्टिभाइरल औषधि टेकोभिरिम्याट पनि उपलब्ध छ । कोरोना सङ्क्रमणमा अपनाइएका मास्कको प्रयोग, हावा ओहरदोहर गर्ने स्थान, साबुनपानीले हातको सरसफाइजस्ता स्वास्थ्य मापदण्ड पालनालाई निरन्तरता दिनपर्छ । सङ्क्रमितले प्रयोग गरेका लुगाफाटा, बिछ्यौनालाई निसङ्क्रमित गरेर मात्र अन्यले प्रयोग गर्नपर्छ । सन् १९८० मा उन्मुलन भएको बिफरका लागि प्रयोग हुने खोप मंकीपक्समा ८५ प्रतिशत प्रभावकारी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्क्रमण भएको चार दिनभित्र खोप लिन सकिन्छ र चारदेखि १४ दिनभित्रमा खोप दिनसके सङ्क्रमणको जटिलतालाई धेरै हदसम्म कम गर्न सकिन्छ । बिफरको एन्टिभाइरल औषधि प्रयोग गर्न सकिने भए पनि सजिलै उपलब्ध छैन र खोप नै सफल मानिन्छ । बिफर उन्मुलन भइसकेकाले त्यसको खोप बिश्वमा पाउन गाहे छ । बजारमा पर्याप्त मात्रामा नभए पनि अन्कारा नामक खोपको दुई मात्रा लगाउन सकिन्छ । यो खोप सन् २०१९ देखि अमेरिका, क्यानाडा युरोपमा मान्यता प्राप्त छ । उच्च जोखिममा भएका स्वास्थ्यकर्मी, ल्याबमा काम गर्नेले खोप लगाउँदा हुन्छ । बिगतदेखि नै समलिङ्गं बढी सङ्क्रमित छन् । बिफरको खोपले मुटुको मांशपेसी सुजन, रोग प्रतिरोधात्मक क्षिमता दबाउने, एचआइभीजस्ता रोग लागेकालाई पनि जोखिम छ भने एक्जेमाका बिरामीलाई प्राणघातक छ । नयाँ पुस्ताका खोप जिन्नेइओसजस्ता खोप ठूला समूहलाई दिन सुरक्षित छन । तथापि, अहिलेका लागि सङ्क्रमण रोक्न रिङ्ग भ्याक्सिनेसन नै पर्याप्त छ । हाल प्रयोगमा आइरहेको एम पक्स भाइरसको सक्रिय भाइरस प्रयोग भएकाले एसिएएम २००० नामक खोपले इम्युनोकम्प्रोमाइज्ड ब्यक्तिमा प्रयोगमा नल्याउन सिडिसीले अनुरोध गरेको थियो । निस्क्रिय भाइरस प्रयोग गरिएको कम असर हुने जेन्नोइज नामक खोप पनि उपलब्ध छ । रोकथामका लागि स्मलपक्स सङ्क्रमणविरुद्ध प्रयोगमा ल्याइएको एसिएम २०० र जेनिओज नामक खोप हाल प्रयोगमा ल्याइएको छ । सामान्यतया बिफर उन्मलन भइसकेपछि उपचारका लागि तयार पारिएका खोप र औषधिलाई जैविक हतियारको रुपमा प्रयोग गर्न सरक्षित राखिएको थियो । सिडिसीले बिफरको उपचारमा प्रयोग गरिने दुई एन्टिभाइरल औषधि टिपीओएक्स र सिडोफोभिर मंकीपक्सविरुद्ध प्रयोग गर्न अनुमति समेत दिएको छ । कुनै खोप नभए पनि बिफरको खोप ८५ प्रतिशत प्रभावकारी हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । असुरक्षित यौन सम्पर्कबाट पनि सरेकाले कण्डम प्रयोग गर्न र यौन साथीहरु परिवर्तन गरेकामा लक्षणहरुमा ध्यान दिनपर्छ । भाइरस बोक्नसक्ने जनावरहरु, बिरामी वा मरेका जनावर, बादर, मुसाजस्ता सङ्क्रमणको इतिहास भएकाहरुको सम्पर्कमा आउनु हुँदैन । संदिग्ध जनावर वा मानिससँग सम्पर्कमा आएपछि स्यानिटाइजर वा साबुनपानीले हात धुने गर्नपर्छ । सङ्क्रमित वा संदिग्धको हेरचाह गर्दा पीपीई लगाउने, राम्रोसँग पकाएको मासु मात्र खाने र मङ्कीपक्स सतह र सामग्रीमार्फत पनि सर्नसक्ने भएकाले बिरामी ब्यक्ति वा जनावरको सम्पर्कमा रहेका सामग्रीहरु छुनु हुँदैन । विश्वभर मानव आवतजावत कायम रहेकाले रोकथाम सजिलै होला जस्तो पनि देखिदैन । त्यसैमा नेपाल ट्रान्जिट प्वाइन्ट र आवतजावतले निरन्तरता पाइरहेकाले उच्च जोखिममा रहेको हो । सङ्क्रमणङफैलिएका देशबाट आउने तथा पर्यटकको आगमनमा पनि बढोत्तरी नै छ । विदेशबाट आएकालाई कम्तिमा दुईदेखि तीन  हप्ता क्वारेन्टाइनमा बस्ने भने पनि कार्यान्वयनमा छैन । सम्भावित जोखिम भएका देशबाट आउनेमाथि निगरानी राख्ने र क्वारेन्टिनमा राख्नपर्छ । सङ्क्रमितलाई तीन हप्ता आइसोलेसनमा राखी कन्ट्याक्ट ट्रेसिङ अनिवार्य गर्नपर्छ । संक्रमितलाई २१ दिन आइसोलेसनमा राख्नुपर्छ । मंकीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएकाले परीक्षण गर्ने, सम्पर्कमा आएको सतह, स्थान वा कोठा निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने तथा फोहरलाई उचित स्थानमा व्यवस्थापन गर्नपर्छ । अन्तमा, सरकारले निगरानी, फोकल अस्पताल र व्यक्ति, परीक्षण, परामर्श र उपचारको व्यवस्था गरेको छ । तथापि, आम नागरिक जिम्मेवार नहुँदा सरकारको तयारी मात्र पर्याप्त हुँदैन । तसर्थ, ज्वरो आएको तीन दिनभित्र अनुहार, हत्केला र पैतालामा डाबर देखिए स्वास्थ्य मन्त्रालयको हटलाइन १११५ मा जानकारी गराउनपर्छ । एमपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरुपमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुनसक्ने जोखिममा पञ्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, सङ्क्रमितका लुगा, तौलिया, ओछयान, भाडाहरु तातोपानी, साबुन, डिटरजेन्टले धुने गर्नपर्छ । रासस (लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता हुन्)

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । योसँगै सेयरधनीहरूको हात खाली हुने भएको छ । पुस १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

लक्ष्मी सनराइजको अगुवाइमा अप्पर मर्स्याङ्दी हाइड्रो बन्ने, २१.४० अर्ब लागत लाग्ने

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनीबीच सो कम्पनीले लमजुङ जिल्लास्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मेवा क्षमताको अप्पर मर्स्याङ्दी-१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कूल लागत २१.४० अर्ब रुपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको भनाइ छ । अपर मर्स्याङ्दी हाइड्रोपावर-१ ले पौष १०, २०७५ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै पौष ०९, २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्धकको रूपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् । सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्त्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक र संस्थापकहरूको लगानी रहने छ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ७ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरू मध्ये सह-अगुवा ग्लोबल आईएमई बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ । सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो ठूला स्वतन्त्र ऊर्जा उत्पादकमध्य एकको रूपमा रहने विश्वास कम्पनीले लिएको छ ।