विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन
काठमाडौं । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको छ । आशिया सहरले उनको निधन भएको जानकारी दिएको हो । चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिए । उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो । स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।
न्यून ब्याजदरमा सेयर खरीद गर्ने व्यवस्था हुँदै, हाइड्रोको बजार सुनिश्चित
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई साथमा लिएर सरकारले राखेको ऊर्जा विकासको लक्ष्य पुरा गरिने बताए । ‘सरकारले आम्दानीको मुख्य स्रोतका रुपमा जलविद्युत् क्षेत्रलाई लिएको छ, स्रोतलाई अधिकतम प्रयोग गरेर नीजि क्षेत्रलाई साथमा लिएर यस क्षेत्रको विकास गछौँ, देशभित्रका लगानीकर्तालाई उत्साहित गर्नेगरी सरकारले काम गरिरहेको छ,’ उनले भने । आयोजना ओगटेर बस्न नहुने उनको भनाइ छ । ऊर्जामन्त्री खड्काले स्रोतमाथिको अधिकार सबैका लागि हुने भन्दै गरिब र विपन्न जनताको लागि सरकारले न्यूनतम ब्याजदरमा सेयर खरीद गर्ने व्यवस्था मिलाउन लागेको उल्लेख गरे । देशका अधिकाशं स्थानमा मोटरबाटो पुगेकाले आयोजना निर्माणका लागि अब धेरै समय नलाग्ने उनको भनाइ छ । छिमेकी मुलुक भारतसहित अन्य मुलुकसमेतले नेपालबाट विद्युत् आयत शुरु गरेकाले बजार सुनिश्चित भएको बताउँदै उनले आयोजना निर्माणमा लाग्न लगानीकर्तालाई आग्रह गरे । ऊर्जा क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको उनको भनाइ छ ।
एक व्यक्ति एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने, बचत तथा ऋणको सीमा निर्धारण
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन् । दिगो पर्यटन सहकारी संस्थाको आयोजित १४औँ साधारणसभामा मन्त्री गुरुङले सहकारीहरुलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए । उनले सहकारीलाई नियमन गर्न बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पारदर्शी एवं प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था समेत अध्यादेशमा भएको जानकारी दिए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य बन्न नपाउने, बचत तथा ऋण कारोबारको सूचना कर्जा सूचना केन्द्रलाई अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने, व्यक्तिगत बचत तथा ऋणको सीमा निर्धारण एवं कार्यक्षेत्र तोकिएको बताए । ‘सहकारीमा भएको बचत हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको छ, बचतकर्ताको बचत फिर्ता गराउने काम सरकारले गरिरहेको छ,’ उनले भने ।
बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई शेखर कोइरालाले सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्मा सम्बोधन गर्ने भएका छन् । उनले १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ । नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् ।
बाढीपहिरोका ३ हजार ६८६ वटा बीमा दावी, १२ अर्ब ८६ करोड भुक्तानी गनुपर्ने
काठमाडौं । गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार ३३१ रुपैयाँ बराबरको बीमा दावी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार कूल ३ हजार ६८६ वटा दावीको आवेदन परेको छ । सोमध्ये हालसम्म १ हजार ८०९ वटा दावीको १ अर्ब ७८ करोड ८१ लाख ३८ हजार १५४ रुपैयाँ बराबर भुक्तानी भएको छ । प्राधिकरणका अनुसार सम्पत्ति बीमामा १ हजार ७७४ वटा दावी परेको छ । ९ अर्ब २२ करोड २५ लाख ५६ हजार २२८ बराबरको दावी सम्पत्ति बीमामा परेको छ । यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा ३२४ वटा दावी परेको छ । त्यसमा २ अर्ब ८४ करोड १९ लाख २६ हजार ५९२ बराबरको दावी परेको प्राधिकरणले जनाएको छ । मोटर बीमा निजीतर्फ ९५४ वटा आवेदन परेको छ । त्यसमा ४१ करोड ५३ लाख ४४ हजार बराबरको दावी रकम माग गरिएको छ । मोटर बीमा सार्वजनिकतर्फ ३९३ वटाको आवेदन परेको छ । त्यसमा २८ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरको दावी रकम माग भएको छ । सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ । त्यसमा ४ करोड ४ लाख ९७ हजार रुपैयाँ बराबरको रकम माग भएको छ । पशुपन्छी बीमातर्फ ६० वटा आवेदन पर्दा ३ करोड ८२ लाख ५५ हजार २६७ रुपैयाँ बराबरको रकम माग भएको छ । कृषि बाली बीमातर्फ १३७ वटा आवेदन पर्दा १ करोड ५ लाख ९१ हजार ६९५ रुपैयाँ बराबरको माग दावी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार ७६७ रुपैयाँ बराबरको माग दावी भएको छ । प्राधिकरणका अनुसार कोशीमा २६७ दावी परेकामा १५८ वटाको भुक्तानी भएको छ । मधेशमा १०८ वटामा ३७ को मात्रै भुक्तानी भएको छ । बर्षा र बाढी प्रभावित वाग्मती प्रदेशमा ३ हजार २१३ माग दावी रहेकामा १ हजार ५८५ वटाको बभुक्तानी भएको छ । गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ । कर्णालीमा ८ वटा आवेदन पर्दा ४ वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा ६ वटा आवेदन पर्दा ३ वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
७३ करोडको लागतमा डेढगाउँ-झ्यालबास सडक बन्दै, कालिगण्डकी करिडोरमा जोडिने
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डेढगाउँ-झ्यालबास सडकको तीन खण्डमा ७३ करोड रुपैयाँ बढीको लागतमा निर्माणको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको लागतमा तीन खण्डमा करिब २६ किलोमिटर सडकको काम विभिन्न चरणमा चलिरहेको पूर्वाधार विकास कार्यालय नवलपुरमा प्रमुख कृष्ण आचार्यले बताए । गण्डकी प्रदेशले गौरवको योजनामा राखेको कोरला-त्रिवेणी सडक खण्डअन्र्तगत नवलपुरको डेढगाउँ-झ्याबास सडकको तेस्रो खण्डमा हालै १४ करोड ९९ लाख ९६ हजार ५२८ रुपैयाँको लागतमा काम अघि बढेको लागेको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख आचार्यले बताए । ककरिब ५ किलोमिटर सडक निर्माण गर्ने गरि काम अघि बढेको उनले बताए । डेढगाउँ-झ्यालबास सडकको पहिलो खण्डमा १४ किलोमिटर सडक निर्माण, पक्कि नाला बनाउने काम, टेवा पर्खाल लगाउने र कालोपत्र गर्ने तयारी सहितको भइरहेको कार्यालय प्रमुख आचार्यले बताए । विस २०७९ वैशाखमा सम्झौता भएर पहिलो खण्डको निर्माणको काम चलिरहेको छ । पहिलो खण्डको लाग ३२ करोड २० लाख रुपैयाँ रहेको छ । यसै सडकको दोस्रो खण्डमा सात किलोमिटर सडक निर्माणको काम चलिरहेको छ । २५ करोड ८६ लाख ९४ हजार रुपैयाँको लागतमा यस खण्डमा विस २०८१ वैशाखमा सम्झौता भएर काम चलिरहेको कार्यालय प्रमुख आचार्यले बताए । नवलपुरको उत्तरतर्फ डेढगाउँबाट प्रारम्भ हुने यस सडक रुचाङ-झ्यालबास हुँदै चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ । डेढगाउँदेखि झ्यालबाससम्म ४१ किलोमिटर मध्य हाल तीन खण्डमा गरेर करिब २६ किलोमिटर क्षेत्रमा काम अघि बढिरहेको छ । गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको योजना भएकाले क्रमश सबै खण्डको काम अघि बढ्ने कार्यालय प्रमुख आचार्यले बताए । झ्यालबासदेखि चोरमारासम्म नौ किलोमिटर सडक यस अघिनै निर्माण सम्पन्न भएको छ । चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने यस सडक दुम्किबासबाट त्रिवेणी पुर्याउने प्रदेश सकारको लक्ष्य रहेको छ । तर दुम्किबास-त्रिवेणी खण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै पनि काम अघि बढ्न सकेको छैन । यो सडक नवलपुरको डेढगाउँमा कालिगण्डकी करिडोरमा जोडिन्छ । डेढगाउँबाट भिमाद-खैरेनिटार हुँदै यस सडकले प्रदेश राजधानी पोखरासमेतलाई जोड्दछ । मुस्ताङको कोरलादेखि नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस सडकलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।
राजश्व उठाउने सरकारी तरिकाः महोत्सव लगाउँदा पालिकालाई २५ लाख रूपैयाँ कर तिर्नुपर्ने
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा महोत्सव लगाउने संस्थाले रु २५ लाख सामाजिक उत्तरदायित्वका रूपमा तिर्नुपर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । साथै मनोरञ्जन करका रूपमा प्रत्येक टिकेटको पाँच प्रतिशत नगरलाई तिर्नुपर्ने उनले बताए । यसअघि महोत्सव लगाउन नगरले सिफारिस दिने तर, कर जिरो हुने अबस्था थियो थियो”, उनले भने “तर, अहिले रु २५ लाखसहित मनोरञ्जन कर उठाउँदा रु ३० लाख बढी हुने भयो, यसले नगरमा कर बढ्ने भयो ।” यसअघि महोत्सवको अनुमति दिए पनि ठेकेदारहरू आएर बिचौलियाको काम गर्ने र आम्दानीको पाँच प्रतिशत नगरलाई दिनुपर्ने व्यवस्था भए पनि रु एक पनि कर नआउने गरेको भन्दै अबदेखि त्यो समस्या नहुँने उनको भनाइ थियो । अब उपमहानगरपालिकाले आफैँ टिकेट छापेर दिने र त्यसको पाँच प्रतिशत मनोरञ्जन कर दिनुपर्ने उनले भने । यसअघि आयोजकले आफैँ टिकेट काट्ने र आम्दानी नदेखाउने गर्दा करमा पनि छली हुने अवस्था थियो । यस्तै यस वर्ष चेम्बरलाई महोत्सव लगाउने जिम्मा दिने निर्णय गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिकाको शुक्रबारको बैठकले तुलसीपुर चेम्बर अफ कमर्सलाई महोत्सव लगाउने जिम्मा दिने निर्णय गरको हो । यसअघि तुलसीपुर उद्योग वाणिज्य सङ्घले महोत्सव लगाएको भन्दै पालोका आधारमा चेम्बरलाई महोत्सव लगाउने जिम्मा दिइएको प्रमुख खड्काले बताए । “एउटा व्यवसायको संस्थाले एक पटक महोत्सव लगाएमा तीन वर्षसम्म लगाउन नपाउने कार्यविधि छ”, उनले भने, “सोहीबमोजिम हामीले यस वर्ष चेम्बर र साना तथा घरेलु उद्योग महासङ्घलाई दिने भन्ने कुरामा बहस भयो, तर अन्ततः चेम्बरलाई दिने निर्णय भयो, यहीअनुसार अर्को बर्ष घरेलुलाई दिनुपर्ने हुन्छ, यो कार्यविधिले बोलेको कुरा हो ।” उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले बोलपत्रमार्फत महोत्सव लगाउनुपर्ने माग राखेको भए पनि सबैलाई पालो दिएर त्यसपछि बोलपत्र गर्न सकिने नगर प्रमुख खड्काको भनाइ छ । रासस
विद्युत प्राधिकरणले ८ मेगावाट बिजुली नदिँदा हेटौँडा सिमेन्टको उत्पादन ३ महिनादेखि बन्द
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले करिब ३ महिनादेखि सिमेन्ट उत्पादन गर्न बन्द गरेको थियो । सिमेन्ट उत्पादन कहिलेदेखि नियमित गर्नेसम्बन्धी अझै अन्योलता रहेको उद्योग व्यवस्थापनले जनाएको छ । विभिन्न उपकरणलाई मर्मतसम्भार गर्नुपर्ने र केही नयाँ उपकरण जडान गर्नुपर्ने भएको भन्दै उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौंबाट हेटौँडा सिमेन्टलाई दैनिक ८ मेगावाट विद्युत् नियमित उपलब्ध गराउने जानकारी नआएसम्म उत्पादनलाई निरन्तरता दिन नसकिने बताए । उनले विद्युत् प्राधिकरणका पदाधिकारीसँग उद्योगका पदाधिकारीले पटकपटक वार्ता गरी ऊर्जा उपलब्ध गराउन आग्रह गरिरहेकाले यथाशीघ्र समस्या समाधान हुने जानकारी दिए । केही दिनअघि अपर तामाकोशीबाट थप विद्युत् उत्पादित विद्युतबाट उद्योगलाई नियमित ऊर्जा उपलब्ध गराउने सहमति भएपनि हालसम्म विद्युत् आपूर्ति नियमित हुन नसकेकाले दैनिक सिमेन्ट उत्पादन चुनौतीपूर्ण बन्दै गएको महाप्रबन्धक पाण्डेले बताए । हाल विद्युत् प्राधिकरण हेटौँडाबाट दैनिक २/३ पटक विद्युत् ऊर्जा कटौती हुँदै आएकाले उपकरण मर्मत र जडान गर्ने काममा जटिलता आएको उनले जानकारी दिए । उक्त उद्योगमा जीर्ण अवस्थामा रहेका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कार्य विद्युत् ऊर्जाका कारणले अझै केही साता लम्बिने भन्दै नियमित विद्युत् आपूर्ति भएपश्चात् उपकरण मर्मत गरी सिमेन्ट उत्पादन सुरु गर्ने सहमति अनुसार प्राविधिक जनशक्ति राखिएको नायब महाप्रबन्धक नवीनकुमार कर्णले उल्लेख गरे । जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार अग्रवालले पटकपटक विभिन्न उपकरण बिग्रिएर मर्मतसम्भार गर्नुपर्ने अवस्थामा वार्षिक रूपमा ३/४ पटक मात्र उद्योग सञ्चालन भइरहेको बताउँदै नयाँ प्रविधिबाट उद्योग सञ्चालनमा ल्याउन दीर्घकालीन योजनासहित सङ्घीय सरकारले पहल गर्नुपर्नेमा जोड दिए । विसं २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन सरकारद्वारा १ अर्ब ५० करोड रुपैयाँ लागतमा हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरिएको थियो । तत्कालीन श्री ५ महाराजधिराज वीरेन्द्र वीरविक्रम शाहदेवबाट विसं २०४३ मङ्सिर २६ गते हेटौँडा सिमेन्ट उद्योगको उद्घाटन भएको थियो । उद्योगको साविक सिमेन्ट उत्पादन क्षमता दैनिक १८ हजार बोरा भए पनि हाल उपकरण जीर्ण भएकाले १० हजार बोरामात्र उत्पादन भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ कोइला बोलपत्र आह्वान गरी चार हजार मेट्रिक टन ल्याउने प्रक्रिया सुरु भइसकेको बताउँदै अहिले उद्योगमा १ हजार २ सय मेट्रिक टन कोइला जगेडा राखिएको उद्योगका कार्यकारी अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार मकवानपुरको भैँसे र ओखरेबाट कच्चा पदार्थ चुनढुङ्गा ढुवानी गरी ल्याउने कामलाई निरन्तरता दिइएको छ ।