सार्वजनिक कार्यक्रममै युवराजको उद्घोष : अहिले सहकारीमा बचत थप्ने बेला होइन
काठमाडौं । सरकारले अध्यादेशमार्फत् बचतमा सीमा तोकेको भन्दै विरोध भइरहेको बेला पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले भने सहकारीमा बचत राख्ने विषयमै बहस सिर्जना गरेका छन् । उनले अहिले सहकारी संस्थामा बचत राख्ने वा नराख्ने विषयमै बहस केन्द्रित गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरिरहेका खतिवडाले अहिले सहकारीको थप बचत राख्नेभन्दा पनि बचत जोगाउने विषयमा केन्द्रित हुनुपर्ने राय दिएका हुन् । सोमबार नेपाल कृषि सहकारी केन्द्रीय संघको साधारण सभामा बोल्दै उनले सहकारी अभियानकर्मीले बचतको सीमाको विषयमा विरोध गर्दै आइरहेको बताउँदै अहिले भएकै बचत नै जोगाउन सुझाव दिएका हुन् । ‘अहिले सहकारीमा भएको बचत जोगाउने बेला हो, थप्ने होइन । जोगाउने बेलामा यति करोड जम्मा गर्न पाइँदैन भनेर कराउनुको अर्थ रहँदैन,’ उनले भने, ‘सहकारी संस्थाहरूप्रतिको विश्वास बढाउन आवश्यक छ, पहिला स्वनियमन बलियो बनाउन आवश्यक छ ।’ खतिवडाले सहकारी अध्यादेशको कार्यान्वयनको विकल्प नरहेको धारणा राखे । ‘सहकारी अभियानलाई खुम्च्याउन लागिएको हो किभन्ने अर्थमा नबुझ्नु होला, पुँजी, बचत तथा ऋणका सीमाहरू पनि हट्दै जान्छन्,’ उनले थपे, ‘अहिले नै सीमा राख्नु हुँदैन भनेर बोल्न आवश्यक छैन ।’ उनले सहकारी अध्यादेश संशोधनको माग नगर्न समेतसुझाव दिए । ‘अहिले नै अध्यादेश संशोधन गर्ने कुरा नगरौं । जब सहकारी ऐनको संशोधनको कुरा आउँछ, त्यो बेला बचत संकलन प्राथमिक पुँजीको आधारबाट तय गर्ने, ऋणको पनि त्यसै गर्ने र आफ्नो बचतकर्तालाई फिर्ता दिन सक्ने क्षमताको आधारबाट व्यवस्था गर्न सकिन्छ,’ उनले भने । खतिवडाले कृषि सहकारीका कृषि उद्यमहरूलाई उद्योगमा परिवर्तन गर्नका लागि उद्योग मन्त्रालयले कसरी सहजीकरण गर्ने भन्नेबारे छलफल भइरहेको जानकारी दिए । कृषि उत्पादनले बजार नपाउने समस्या अन्त्य गर्न प्रधानमन्त्री कार्यालयले काम गरिरहेको उनको भनाइ छ । खतिवडाको यो भनाइले सहकारी क्षेत्रलाई नै थप प्रभाव पर्ने अभियानकर्मीहरु बताउँछन् । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रूपमा काम गरिरहेका खतिवडाले सहकारीमा थप बचत नराख्न सुझाव दिँदा सहकारी क्षेत्रमा थप वित्तीय जोखिम पर्न सक्ने सम्भावना रहन्छ । यसले वित्तिय स्थायित्वमा असर पर्नुका साथै सहकारीमा आम बचतकर्ताको विश्वास थप घट्न सक्ने सम्भावना रहन्छ । सरकारी महत्त्वपूर्ण पदमा रहेको व्यक्तिले समेत बचतकर्तालाई थप डर सिर्जना गर्ने धारणा राख्दा यसले सामाजिक र आर्थिक अस्थिरता निम्त्याउन सक्छ भने संकटमा रहेका सहकारी थप संकटमा परेर त्यसको नकारात्मक असर समग्र वित्तीय प्रणालीमा पर्न सक्छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले अहिले नै अध्यादेश सच्याउन आवश्यक नरहेको र माग पनि नगर्न सुझाव दिइरहेको बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निरावरणमन्त्री बलराम अधिकारीले भने सहकारी अध्यादेश सच्याउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । अधिकारीले पछिल्लो समय सहकारी अभियानकर्मीबाट अध्यादेशमा उल्लेख भएका केही व्यवस्थाहरुको विरोध भएको बताउँदै त्यसलाई सच्याएर जाने दाबी गरे । उनले सहकारी अध्यादेशमा गरेका व्यवस्थालाई लिएर अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका हन् । ‘सबै काम एकैपटक हुँदैन, स्वाभाविक रूपमा अध्यादेशमा केही विषय छुटेका छन्, ती विषयलाई राख्नुपर्नेछ, राखिएका तर आवश्यक नभएका विषयलाई हटाउन पनि सकिन्छ,’ उनले भने, ‘त्यसैले आत्तिहाल्नुपर्ने अवस्था छैन ।’
रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी
गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा गत मङ्गलबारदेखि जारी छ । शुक्रबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू भएकामा सोमबार सभापति लामिछाने पक्षका कानुन व्यवसायीहरूको बहस सुरू भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । उनका अनुसार आज अधिवक्ता सुशीलकुमार पन्तले लामिछानेका पक्षबाट बहस गरेका छन् । यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका थिए । सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेपछि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस चलिरहेको हो । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा गत मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको थियो । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरु हुने जानकारी दिए । थुनचेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा मुछिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । रासस
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
चितवन । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न समयमा गरी ती मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार स्वरुप परिवर्तन गरेर चर्को आवाजमा चलाइराखेको समयमा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । उनका अनुसार विभिन्न समयमा स्वरुप परिवर्तन गर्ने मोटरसाइकललाई कारबाही गरिँदै गरिएकोमा ध्वनि प्रदूषण नघटेको पाइएको हुँदा स्वरुप परिवर्तनअन्तर्गत साइलेन्सर, ह्यान्डल, सिटलगायतका सामान कम्पनीको वा सवारी दर्ता किताबभन्दा फरक राखी चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइएको हो । यस्ता मोटरसाइकल आइतबार मात्रै ३० वटा नियन्त्रणमा लिइएको उनले जानकारी दिए । सामान्यतया ६० डेसिबलसम्मको आवाजलाई सामान्य मान्ने भए पनि यस्ता मोटरसाइकलले १२० देखि १९० डेसिबलसम्म आवाज निकाल्ने गरेको पाइएको छ । यसले मावन स्वास्थ्यमा प्रतिकूल असर गर्ने रक्तचाप बढ्ने, थकान महसुस हुने, तत्कालै रिसाउने, झर्किने, कान कम सुन्नेजस्ता समस्या आउन सक्ने कुराहरुलाई मध्यनजर गर्दै ती मोटरसाइकल नियन्त्रणमा लिइएको शर्माले बताए । यस्तो कार्यमा संलग्नलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ बमोजिमको कसुरमा दफा १६० बमोजिम एक हजार रुपैयाँदेखि पाँच हजारसम्म जरिवाना र बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ४३ बमोजिमको कसुरमा दफा १९४ बमोजिम सात हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने शर्माले बताए । यस्ता मोटरसाइकललाई पूर्ववत् अवस्थामा फर्काएर जरिवाना तिराएर मात्रै छोडिने उनले जानकारी दिए ।
टोखामा चाकु बनाउन भ्याइनभ्याइ, वार्षिक ४० लाखको बिक्री
काठमाडौं । माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलनअनुसार यतिबेला काठमाडौंको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन छ । टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो। टोखामा काठमाडौंका अन्यत्र स्थानको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्दछ । माघे सङ्क्रान्ति पर्व आउन एक हप्तामात्र बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ । टोखा नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने टोखा बजारभित्र चाकु उत्पादन गर्ने १४ उद्योग छन् । ती उद्योग वरिपरि यतिबेला मानिसहरूको चहलपहल पनि बढेको देखिएको छ । टोखावासी मात्रै नभई काठमाडौंका अधिकांश पसलेले पनि यहीँबाट चाकु लगि बिक्री गर्ने भएकाले उनीहरूको पनि बाक्लो उपस्थिति देखिन थालेको हो । अहिले नै चाकु किन्ने तथा खरिदका लागि ‘बुकिङ’ गर्न व्यवसायीहरू त्यहाँ पुग्ने गरेका छन् । यतिबेला टोखाको श्रीकृष्ण चाकु उद्योगमा ५० भन्दा बढी कामदारल चाकु उत्पादनको कार्यमा खटिएका छन् । उक्त चाकु उद्योगकी सञ्चालिका सन्तमाया श्रेष्ठ तिहारपछि आफू चाकु उत्पादनमा लागेको र अहिलेसम्म निरन्तर काम गरिरहेको बताउँछन् । आफूले चार पुस्तादेखि निरन्तर चाकु बनाउँदै आएको उनको भनाइ थियो । टोखाको चाकु काठमाडौंका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा बिक्री हुँदै आएको छ । यसैगरी, उक्त चाकु नेवार समुदाय भएको विदेशका विभिन्न मुलुकममा बिक्री वितरण हुन्छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठ कात्तिकदेखि पुससम्म टोखाका चाकु उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ हुने गरेको बताउँछन् । ‘टोखाका चाकु उद्योगीले वार्षिक ३० लाखदेखि ४० लाख मूल्य बराबरको चाकु र उखुबाट बन्ने विभिन्न परिकार बिक्रीवितरण गर्दै आएका छन्’, अध्यक्ष श्रेष्ठ भन्छन् । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनका लागि प्रसिद्ध ठाउँ हो । अध्यक्ष श्रेष्ठ टोखामा परम्परादेखि नै उखुखेती हुने र उक्त उखुबाट चाकुलगायत विभिन्न परिकार बनाइने भएकाले पनि टोखाको चाकुको महत्त्व देश र विदेशमा रहेको बताउँछन् । नेवारी भाषामा ‘टु’ र ‘ख्यः’ भन्दाभन्दै उक्त शब्द अपभ्रंश हुँदै ‘टोखा’ हुन गएको मानिन्छ । टोखा नगरपालिकाको नामकरणसमेत टोखा बजारबाट भएको हो । टोखा नगरपालिकालेसमेत टोखाको चाकु संरक्षणमा काम गरिरहेको छ । टोखा नगरपालिकाले हाल टोखामा ‘चाकु स्तम्भ’ निर्माणका लागि बजेटसमेत विनियोजन गरिसकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी टोखाको चाकु संरक्षणका लागि टोखाका चाकु उद्योगीलाई चाकु उत्पादनसम्बन्धी तालिम तथा उखु क्षेत्रको भ्रमण गरिसकिएको बताउँछन् । टोखाको चाकु अन्तर्राष्ट्रियस्तरमा ‘ब्रान्डिङ’ गरिने उनको भनाइ थियो । अहिले टोखामा उखुखेती हराउँदै गएको छ । टोखामा उत्पादन हुने चाकुका लागि आवश्यक पर्ने सख्खर तराईका विभिन्न जिल्लाबाट आउने गरेको छ । पछिल्लो समय टोखाको परम्परालाई जोगाउनका लागि टोखा कृषि शाखाको सहयोगमा टोखाभित्र उखु रोप्न लागिएको छ । उक्त कार्यको लागिपाँच लाख विनियोजन भइसकेको टोखा नगरपालिकाले जनाएको छ । यस्तै, पुस्ता हस्तान्तरणका लागि विभिन्न प्रकारका तालिमसमेत प्रदान गरिने अध्यक्ष श्रेष्ठ बताउँछन् । बर्सेनि ठूलो सङ्ख्यामा मानिसहरू टोखामा चाकु उत्पादनसम्बन्धी तालिमका लागि आउने गरेका छन् । टोखामा चाकु बनाउने तालिम लिएर देशका विभिन्न स्थानमा गएर उद्योग सञ्चालन गरी काम गर्ने गरेको टोखा परम्परागत चाकु संरक्षण समाजले जनाएको छ । हाल नेपालभर ५० भन्दा बढी चाकु उद्योग छन् । जसमध्ये १४ वटा टोखामा छन् । टोखामा इस्वी संवत् ५१९ देखि चाकु बनाउने प्रचलन चलेको किंवदन्ती पाइन्छ । लामो समयदेखि चाकु बनाउँदै आएको टोखाको परम्परागत चाकु उद्योगलाई बचाउनका लागि विस २०७३ कात्तिक २२ गते टोखा परम्परागत चाकु संरक्षण समाज स्थापना गरिएको थियो । टोखामा ५० वर्षदेखि चाकु उत्पादन गर्दै आउनुभएका राजकाजी श्रेष्ठ टोखाको चाकु नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकबाट माग भइरहेको बताउँछन् । चाकुको माग अत्यधिक भएपछि बजारसम्म पुर्याउन भ्याइनभ्याइ भएको उनको भनाइ छ । टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ का सांसद एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल टोखाको चाकुलाई गुणस्तरीय रूपमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारससम्म लैजानका लागि आफूले उद्योग मन्त्रालयलाई ध्यानाकर्षण गरिरहेको बताउँछन् । ‘टोखा चाकुका लागि प्रख्यात क्षेत्र हो, यहाँ राज्यबाटै चाकु उत्पादनको पहल गर्नसके हजारौँ व्यक्तिले रोजगारी पाउने छन्, त्यसका लागि मैले सम्बन्धित क्षेत्रमा पहल गरिरहेको छु’, मन्त्री पौडेल भन्छन् । मन्त्री पौडेल टोखाको चाकुलाई नेपालको चक्लेट भनेर अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकिने बताउँछन् । टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो एक सय ३५ देखि एक सय ४० सम्म बिक्री वितरण हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि खाने गरिन्छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ । रासस
‘सहकारी ठीक छन् भनेर हिँडौं, सहकारी अध्यादेशलाई सच्याइँन्छ’
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निरावरणमन्त्री बलराम अधिकारीले सहकारी अध्यादेश सच्याउनका लागि सरकार तयार रहेको बताएका छन् । सोमबार नेपाल कृषि सहकारी केन्द्रीय संघको साधारण सभामा बोल्दै मन्त्री अधिकारीले पछिल्लो समय सहकारी अभियानकर्मीबाट अध्यादेशमा उल्लेख भएका केही व्यवस्थाहरुको विरोध भएको बताउँदै त्यसलाई सच्याएर जाने दाबी गरेका हुन् । उनले सहकारी अध्यादेशमा गरेका व्यवस्थालाई लिएर अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका हन् । ‘सबै काम एकैपटक हुँदैन, स्वाभाविक रुपमा अध्यादेशमा केही विषयहरु छुटेका छन्, ती विषयहरुलाई राख्नुपर्नेछ, राखिएका तर आवश्यक नभएका विषयलाई हटाउन पनि सकिन्छ,’ उनले भने, ‘त्यसैले आत्तिहाल्नुपर्ने अवस्था छैन ।’ सहकारी अध्यादेशमा उल्लेख भएका केही व्यवस्थाप्रति अभियानर्कीले विरोध गरेको उल्लेख गर्दै उनले विरोधका लागि विरोध नगर्न पनि आग्रह गरेका छन् । सरकारले अध्यादेश मार्फत सहकारी सञ्चालकहरूको कार्यकालको सीमा तोकेको छ । कुनै पनि व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालक पदमा दुई कार्यकाल भन्दा बढी अवधिको लागि निर्वाचित हुन नपाउने र बहाल रहन नपाउने व्यवस्था गरेको छ । यसबारे सहकारी अभियानकर्मीहरूले चर्को विरोध गरेका छन् । तर, मन्त्री अधिकारीले प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था लेख्न छुट्याइएको बताए । ‘हामीले दुई कार्यकालको विषय प्रारम्भिक बचत तथा ऋण कारोबार गर्न स्वीकृत लिएको संस्थाका लागि भनेका हौं, अध्यादेशमा प्रारम्भिक शब्द छुटेछ, त्यसलाई सच्याउन सकिन्छ,’ उनले भने, ‘विगतमा दुई पटक बसेकाले अहिले पाउँदैन भनेर हल्ला फैलाइएको छ ।’ सहकारी अध्यादेश जारी भएपछि केहीले भ्रम पनि फिजाएको उनको भनाइ छ । सहकारी ठिक छन् र यसलाई बदनाम गराउन पाइँदैन भनेर एक्येवद्धता जनाउन र त्यसैगरी सबैमा सूचना सम्प्रेष्ण गर्न आवश्यक रहेको मन्त्री अधिकारीको भनाइ छ । उनले सहकारी अध्यादेश छिट्टै लागू गर्ने प्रयास भइरहेको पनि बताए । ‘अहिले सहकारीहरू एउटै प्रवृत्तिका हुन्, एउटै खाले हुन् । यी सहकारी ठिक छैनन्, अब सहकारी चाहिँदैन भन्ने एउटा थप्का छ । तिनीहरूलाई चुनौती दिन आवश्यक छ,’ उनले भने, ‘अब सहकारी ठीक छन् भनेर जानुपर्छ, वास्तविक जनतासँग आधारित, कृषिमा आधारित राम्रा सहकारी छन् भनेर भन्नुपर्ने छ । साधारण व्यक्तिहरूको जीवनस्तर उकास्ने भनेको नै सहकारी हो ।’
‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत
काठमाडौं । ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को १० रूपैयाँ अंकित दरका १२ करोड ५० लाख इकाइ (१५ प्रतिशत बीउ पुँजीसहित) नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकरण भएको छ । मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने यो योजना सोमबा नेप्सेमा सूचीकृत भएको हो । यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ । एक कार्यक्रमका बीच नेप्सेको तर्फबाट सञ्चालक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट सीईओ कविन्द्रध्वज जोशीले सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
अस्ट्रेलियन एजुकेसन फेयर २८ पुसदेखि काठमाडाैंमा सुरु हुने
काठमाडौं । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अस्ट्रेलियन एजुकेसन फेयर’ सञ्चालन हुने भएको छ। अस्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत ३३ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले पुस २८ गते फेयर सञ्चालन गर्न लागेको हो । काठमाडौंको डिल्लीबजारस्थित आफ्नै कार्यालयमा ग्लोबल रिचले फेयर सञ्चालन गर्न लागेको जानकारी दिएको छ । फेयरमा एकैछानामुनि अस्ट्रेलियाका २५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुने विद्यार्थी र अभिभावकले विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्नेछन् । कार्यक्रममार्फत विद्यार्थीहरूलाई १०० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध हुने ग्लोबल रिचले जनाएको छ । कार्यक्रममा सहभागी भएमा अस्ट्रेलियामा लागू भएको नयाँ नियम र यसले पार्ने असरबारे समेत जानकारी पाइनेछ । साथै उच्च शिक्षा अध्ययनपश्चात कस्ता कस्ता कामका लागि अवसर आउँछन् भन्नेबारे समेत जानकारी पाउनेछन् । कार्यक्रममा सहभागिताका लागि कुनै पनि शुल्क लाग्दैन । काठमाडौंमा मात्र नभएर ग्लोबल रिचले चितवन, बुटवल र पोखरामा समेत एजुकेसन फेयर सञ्चालन गर्दैछ । काठमाडौंमा पुस २८ गते फेयर सञ्चालन गर्न लागेको ग्लोबल रिचले चितवनमा माघ १ गते ११ बजेदेखि ३ बजेसम्म फेयर सञ्चालन गर्नेछ । यस्तै, बुटवलमा माघ २ गते मध्यान्ह १२ बजेदेखि अपरान्ह ३ बजेसम्म फेयर सञ्चालन हुनेछ । ग्लोबल रिचको पोखरा शाखाको कार्यक्रम माघ ३ गते मध्यान्ह १२ बजेदेखि अपरान्ह चार बजेसम्म सञ्चालन हुनेछ ।
कुमारी बैंकद्वारा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम
काठमाडौं । कुमारी बैंकद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको आतिथ्यमा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले हात्तिगौडा शाखामार्फत बुढानीलकण्ठ नगरपालिका, वडा नं. ४ को समन्वयमा बुढानीलकण्ठमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जसमा दुई सय भन्दा बढी महिला तथा युवा उद्यमीहरुको सहभागीता रहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र बुढानीलकण्ठ नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीराम केसीको उपस्थिीतीमा आयोजित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं४ मा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको लागि एकदिने उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । उक्त प्रशिक्षण कार्यक्रमले वडामा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको जीवनस्तर उकास्न तथा व्यवसाय र उद्यमलाई प्राथमिक रूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने उदेश्य लिएको वडा नं ४ का अध्यक्ष श्रीराम केसीले बताए । वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।