प्रेमिकासँग ब्रेकअप भएपछि कम्पनी बेच्ने अनौठा विनय, मस्क बन्ने चाहना
काठमाडौं । केही व्यक्तिले आफ्नो जीवनको ठूलो हिस्सा ठूलो कम्पनी बनाउन खर्च गर्छन् । कतिपय यस्ता छन् जसले सानै उमेरमा ठूलो कम्पनी बनाएर बेच्छन् । तीमध्ये विनय हिरेमठ पनि एक हुन् । तर विनयले कम्पनी बेच्नुको कारण निकै अनौठो छ । आफ्नी प्रेमिकासँग ब्रेकअपपछि उनले कम्पनी बेचेका थिए । उनले आफ्नो कम्पनी ९७५ मिलियन डलर (लगभग १३, ५०० करोड रुपैयाँ) मा बेचेका छन् । कम्पनी बेचेपछि यो पैसाको म के गरूँ भन्दै उनले सोधिरहेका छन् । को हुन् विनय हिरेमठ ? ३३ वर्षीय विनय हिरेमठ भारतीय मूलका व्यापारी हुन् र अमेरिकामा बस्छन् । उनी लूम कम्पनीका सह-संस्थापक हुन् । उनले सन् २०२३ मा आफ्नो स्टार्टअप ९७५ मिलियन डलरमा बेचे । यो एटलासियनद्वारा खरिद गरिएको थियो । विनय आफ्नो कम्पनी बेचेर रातारात अर्बपति बने । अहिले उनले लामो ब्लग लेखेका छन् । जसमा उनले आफ्नो जीवनमा भइरहेको परिवर्तनका बारेमा विस्तृत रूपमा व्याख्या गरेका छन् । के छ ब्लगमा ? विनयले ब्लगमा लेखेका छन्, ‘म धनी व्यक्ति बनेको छु । अब जीवनमा म के गरूँ बुझ्न सक्दिनँ । गत वर्ष मेरो लागि धेरै गाह्रो थियो । गत वर्ष कम्पनी बेचिसकेपछि म अब फेरि कहिल्यै काम नगर्ने अनौठो स्थितिमा छु । म हरेक कुरामा नयाँ कुरा पाउँछु, तर प्रेरणादायी होइन । मैले पहिले नै यति धेरै पैसा कमाएको छु कि मलाई के गर्ने थाहा छैन ।’ प्रेमिकासँग ब्रेकअप विनयले ब्लगमा आफ्नी प्रेमिकाको बारेमा पनि लेखेका छन् । उनले लेखेका छन्, ‘मेरी प्रेमिकासँग दुई वर्षदेखि निकै सौहार्दपूर्ण सम्बन्ध थियो । तर असुरक्षाका कारण उनले मसँग ब्रेकअप गरिन् । यो एकदम दु:खपूर्ण थियो ।’ विनयले ब्लगमा आफ्नी प्रेमिकासँग माफी पनि मागेका छन् । उनले आफ्नी प्रेमिकाका लागि लेखेका छन्, ‘सबै कुराको लागि धन्यवाद । मलाई माफ गर, म तिमीलाई चाहिएको हुन सकिन ।’ कम्पनीको प्रस्ताव विनयको कम्पनी लूम किन्ने व्यक्तिले विनयलाई सीटीओको पद र ६ करोड डलरको प्याकेज प्रस्ताव गरेका थिए । विनयले एटलासियनको यो प्रस्तावमा आफूले कुनै निर्णय गर्न नसक्ने बताए । विनयले आफू एलन मस्क जस्तै बन्न चाहेको पनि लेखेका छन् ।
पौडेल बने ‘वर्ष उत्कृष्ट कर्मचारी’, भारतीलाई टिम च्वाइस अवार्ड
काठमाडौं । विकास मिडिया प्रालिद्वारा सञ्चालित देशविकास आर्थिक साप्ताहिकको १९औं वार्षिकोत्सवमा महेशकुमार पौडेल ‘इम्प्लोई अफ दि एअर’ अर्थात् वर्षभरिको उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत भएका छन् । विगत चार वर्षदेखि विकास मिडिया प्रालिमा कार्यरत पौडेललाई मिडियाले उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेको हो । उनले मल्टिमिडिया सम्हाल्दै आएका छन् । उनी मेडल र १५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भए । यस्तै, विकास मिडियाले कार्यक्रममा टीम च्वाइस अवार्ड पनि प्रदान गरेको छ । विकास मिडियामा कार्यरत कर्मचारीहरूबीच भोटिङमार्फत् चयन हुने अवार्ड मार्केटिङकी पविता भारतीले प्राप्त गरिन् । कर्मचारीहरूले भारतीलाई बढी मत दिएर पुरस्कृत गराएका हुन् । उनले मेडलसहित नगद १० हजार रुपैयाँ प्राप्त गरिन् । विकास मिडियाका अध्यक्ष रामकृष्ण पौडेलले कर्मचारीको क्षमता विकास तथा सीप अभिवृद्धिमा संस्थाले कुनै कम्प्रमाइज नगरेर काम गर्ने बताए । उनले विकास मिडियाले विगत १८ वर्षको अवधिदेखि संस्थागत अभ्यास गरेर मिडिया इन्ड्रष्टीका रूपमा एउटा पायोनियर संस्थाको रूपमा स्थापित हुनुमा कर्मचारीको ठूलो भूमिका रहेको बताए । विकास मिडिया प्रा.लि.द्वारा सञ्चालित देशविकास आर्थिक साप्ताहिक १८ वर्ष पुरा गरेर १९ वर्षमा प्रवेश गरेको छ । संस्थाले यो अवसरमा विकास नायकको थिममा म्यागेजिन पनि प्रकाशन गरेको छ ।
प्रभु बैंकले बेच्यो बीमा कम्पनीको ५० करोडको सेयर, को हो खरिदकर्ता ?
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ठूलो सेयरधनी प्रभु बैंक बाहिरिएको छ । प्रभु बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार गत बिहीबार प्रभु महालक्ष्मीको २४ लाख १५ हजार ६ सय कित्ता सेयर खरिदबिक्री हुँदा ४६ करोड १७ लाख ४२ हजार ८२० रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त सेयर प्रतिकित्ता १९१ रुपैयाँदेखि १९१.९५ रुपैयाँका दरले खरिदबिक्री भएको नेप्सेले जानकारी दिएको छ । कम्पनीको सेयर ब्रोकर नम्बर ५९ (दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस)बाट बिक्री भएको छ । साथै, ब्रोकर नम्बर ३८ (दिपशिखा धितोपत्र कारोबार कम्पनी) ब्रोकर नम्बर ७७ (नबिल स्टक डिलर), ब्रोकर नम्बर १४ (नेपाल स्टक हाउस) र ब्रोकर नम्बर ३४ (भिजन सेक्युरिटिज)बाट खरिद भएको हो । कम्पनी स्रोतका अनुसार प्रभु महालक्ष्मी लाइफको सो सेयर प्रभु बैंकले बिक्री गरेर प्रभु क्यापिटलसहित ९ लगानीकर्ताले खरिद गरेका हुन् । क्यापिटलले १०/१२ लाख कित्ता सेयर खरिद गरेको स्रोतको दाबी छ । ‘हामी पहिला पनि संस्थापक सेयरधनी हौं, उक्त सेयर ९ जनाले खरिद गर्नु भएको छ, साविककै संस्थापक संस्थापकभन्दा सेयर बाहिर गएको छैन, हाल कायम संस्थापक सेयरधनीले नै उक्त सेयर खरिद गर्नु भएको हो,’ स्रोतले भन्यो । बैंकले उक्त सेयर गत भदौमा बिक्रीमा राखेको थियो । बैंकले २१ लाख ९६ हजार कित्ता सेयर प्रतिकित्ता २०३ रुपैयाँमा बिक्रीमा राखेको थियो । खरिदकर्ताले कम्पनीले वितरण गर्ने बोनस सेयरसमेत प्राप्त गर्ने उल्लेख थियो । सोही अनुसार कम्पनीको सेयर संख्या बढेको र मूल्य १९१ रुपैयाँ हुन आएको स्रोतको भनाइ छ । ‘बैंक र क्यापिटल एउटै हो, कम्पनीको सेयर राम्रो होला भनेर खरिद गर्न खोजिएको हो, दीर्घकालका लागि सेयर खरिद गरेको हो । क्यापिटलका लागि उक्त सेयर राम्रो नै छ,’ प्रभु क्यापिटल स्रोतले भन्यो ।
जीर्ण बन्दै नख्खु करिडार, सास्ती खेप्दै स्थानीय
काठमाडौं । गत असोज महिनामा आएको बाढीका कारण भत्किएको नख्खु करिडोरको बाटो बन्न नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ । बाढीले भत्काएको बाटो बनाउन महानगरपालिकाले सामान्य पहल गरेपनि सहज रुपमा हिँड्न सक्ने अवस्थामा छैन । पानी पर्दा हिलो, नपर्दा धुलो उड्ने भएकाले सबैले दुःखले सडकको प्रयोग गरिरहेका छन् । धुलो मात्र होइन नख्खु खोलाबाट आउने दुर्गन्धले झनै असर गरेको स्थानीयहरू बताउँछन् । बाढीले क्षति गर्नुअघि रोडा, ढुंगा र बाटो बोक्ने टिप्परले दुःख दिएको स्थानीयले गुनासो गर्दथे । अहिले पनि टिप्परको आतंक जस्तै भएको गुनासो स्थानीयहरुले गर्न थालेका छन् । बाढीले क्षति गरेर जीर्ण बनेको सडकमा धेरै तौल बोक्ने टिप्पर निरन्तर दौडिँदा सडक झनै कमजोर बनेको स्थानीयहरू बताउँछन् । सडकबाट हिँड्नै नसक्ने भएपनि बाध्यताले हिँड्नु परिरहेको उनीहरूको गुनासो छ । सरकारले आवश्यक चासो नदिँदा स्थानीयहरूले मार खेपिरहेको उनीहरुको गुनासो छ । सरकारले आइतबारमात्रै विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट गत असोजमा काठमाडौं लगायतका क्षेत्रमा आएको बाढी, पहिरोको क्षतिको विस्तृत मूल्याङ्कन(डिडिए) गर्ने निर्णय गरेको छ । साथै डिडिए सम्पन्न भइसकेका क्षेत्रहरूमा सरकारले बनाएको मापदण्डअनुसार पुनर्निर्माणको काम तत्काल प्रारम्भ गर्ने निर्णय समेत गरेको छ । यद्यपी कहिलेसम्म पुनःनिर्माण सकिन्छ त्यो भने हेर्न बाँकी छ । बाढीले क्षति गरेको स्थानीयको बस्ती, बस्तीसम्म जाने बाटो सबै खराब छ । गत असोजको ११ गते रातिबाट परेको अविरव वर्षापछि आएको बाढीले नख्खु तटिय बस्ती डुबानमा परेको थियो । त्यसबाट खानेपानी, ढल, बिजुलीको पोल र बाटोमा गरेको क्षतिको अझै मर्मतसम्भार हुन सकेको छैन ।
सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने
राँझा । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको छ । कम्पनीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत पसल माघी पर्वलाई मध्यनजर गर्दै समय थप गरिएको शाखा कार्यालय नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए । उनका अनुसार सहुलियत बिक्री केन्द्रबाट हालसम्म एक सय ७३ क्विन्टल चामल बिक्री भएको छ । उक्त परिमाणमा चामल बिक्री गर्दा उपभोक्तालाई ८६ हजार रुपैयाँ छुट पाएका छन् । कम्पनीले चाडपर्वलाई लक्षित गरी गत असोज ६ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो, अन्य बिक्री केन्द्रबाट चामलसहित दाल, नुन, तेल, चिनी, चियापत्ती, घिउ, जिरा, चिउरा, पिठोलगायतका २८ किसिमका खाद्य वस्तु बिक्री भएपनि नेपालगञ्जबाट चामल मात्र बिक्री भएको जनाइएको छ । नेपालगञ्ज बिक्री केन्द्रबाट चाडपर्व अवधिभर दुई सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको थियो ।
टाटा ग्रुपमा ठूलो परिवर्तन, ऋण र दायित्व व्यवस्थापनमा कम्पनीहरु नै जिम्मेवार
काठमाडौं । भारतको सबैभन्दा ठूलो औद्योगिक घराना टाटा ग्रुपको होल्डिङ कम्पनी टाटा सन्सले नयाँ वर्षमा ठूलो निर्णय गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार टाटा सन्सले समूहका कम्पनीहरू विशेष गरी टाटा डिजिटल, टाटा इलेक्ट्रोनिक्स र एयर इन्डिया जस्ता नयाँ कम्पनीहरूलाई उनीहरूको ऋण र दायित्वहरू स्वतन्त्र रूपमा व्यवस्थापन गर्न आग्रह गरेको छ । यससँगै टाटा सन्समा बैंकहरूलाई ‘लेटर अफ कम्फर्ट’ र ‘क्रस डिफल्ट क्लज’ दिने चलन बन्द भएको छ । टाटा सन्सले बैंकहरूलाई आफ्नो नयाँ दृष्टिकोणको बारेमा जानकारी गराएको र भविष्यमा इक्विटी लगानी र आन्तरिक स्रोतबाट नयाँ उद्यममा पुँजी छुट्याउने बताएको छ । टाटा सन्सले गत वर्ष रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)सँग आफ्नो दर्ता प्रमाणपत्र स्वेच्छाले आत्मसमर्पण गरेको थियो । यसअघि सूचीविहीन रहनका लागि २० हजार करोडभन्दा बढीको ऋण चुक्ता गरेको थियो । नयाँ व्यवसायका लागि फन्डिङ लाभांश र टाटा कन्सल्टेन्सी सर्भिस (टीसीएस) बाट लिइनेछ । टीसीएस मार्केट क्यापको आधारमा टाटा समूहको सबैभन्दा ठूलो कम्पनी हो र देशको दोस्रो ठूलो कम्पनी हो । टाटा सन्सले बैंकहरूलाई प्रत्येक श्रेणीमा सूचीकृत अग्रणी कम्पनीले मात्र होल्डिङ संस्थाको रूपमा काम गर्ने बताएको छ । कस-कसले आफै ऋण व्यवस्थापन गर्ने ? स्रोतहरूले परम्परागत रूपमा टाटा स्टिल, टाटा मोटर्स, टाटा पावर र टाटा कन्ज्युमर जस्ता पुराना सूचीबद्ध समूहका कम्पनीहरूले आफ्नो ऋण आफै व्यवस्थापन गर्ने बताएकाे छ । तसर्थ टाटा सन्सको अडानमा भएको परिवर्तनले उनीहरूमा खासै प्रभाव पार्ने सम्भावना छैन । यद्यपि वर्षौंदेखि टाटा सन्सले सुरु गरेका व्यवसायहरू पुँजी बाँडफाँडका लागि होल्डिङ कम्पनीमा निर्भर रहँदै आएका छन् । स्रोतका अनुसार एक पटक महत्त्वपूर्ण स्तरमा पुगेपछि यी कम्पनीहरूले आफ्नो पूँजी आवश्यकताहरू पनि आफै व्यवस्थापन गर्नेछन् । टाटा सन्सले यी कम्पनीहरूलाई केही वर्षभित्रै आफ्नो शीर्ष व्यवसायमा सहभागी गराउनेगरी महत्त्वपूर्ण रकम ल्याएको छ । तर, टाटाका सञ्चालक कम्पनीहरूलाई कर्जा दिन बैंकहरूलाई कुनै समस्या छैन । यसको कारण यी कम्पनीहरूमा टाटा सन्सको महत्त्वपूर्ण हिस्सेदारी रहेको छ । बैंकर्सहरूले होल्डिङ कम्पनीको वित्तीय स्थिरता र यसको सहायक कम्पनीहरूमा ठूलो इक्विटी सेयरले स्पष्ट ग्यारेन्टी बिना पनि बैंकहरूलाई आश्वासन दिने बताएका छन् । यही कारणले गर्दा अधिकांश ठूला बैंकहरूले टाटा कम्पनीहरूलाई सबैभन्दा बढी कर्जा दिने गरेका छन् । आर्थिक स्थितिमा परिवर्तन सेप्टेम्बर २०२२ मा आरबीआईले टाटा सन्सलाई माथिल्लो तहको एनबीएफसीको रूपमा वर्गीकृत गरेकाे थियाे । यस श्रेणीमा परेका कम्पनीहरूले तीन वर्षभित्र सूचीकृत हुन आवश्यक छ । टाटा सन्सले यसबाट छुट मागेको छ । मार्च २०२३ र मार्च २०२४ बीच टाटा सन्सको वित्तीय स्थितिमा ठूलो परिवर्तन भएको थियाे । कम्पनीको २० हजार ६४२ करोड रुपैयाँ ऋण थियो र अहिले २ हजार ६७० करोड रुपैयाँ नगद छ । मार्च २०२४ मा टाटा सन्सले टीसीएसमा २३.४ मिलियन सेयर बेचेर करिब ९ हजार ३०० करोड रुपैयाँ उठायाे । यो मुख्यतया ऋण तिर्न प्रयोग भएको स्रोतले बताएको छ । (एजेन्सीहरूको सहयोगमा)
मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला-मातातीर्थ सडक माघ ७ सम्म बन्द रहने
मकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला-मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी र्दिए । उनले पूर्वाधार विकास कार्यालयले मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा उक्त सडकमा यातायात सञ्चालन बन्द गर्न लागिएको उनले बताए । उक्त सडक आगामी माघ ७ गतेसम्म बन्द रहने उनले बताए । यस्तै, मकवानपुर-काठमाडौं जोड्ने कुलेखानी-फाखेल सडकखण्ड र कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारीसाधान सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनका अनुसार हेटौँडाबाट काठमाडौं जाने सवारी सिस्नेरीतर्फबाट र काटमाडौंबाट हेटौँडा आउने सवारीसाधान फाखेलबाट सञ्चालन भइरहेको छ । दुबै सडकखण्डमा हाल स्तरोन्नति भइरहेको छ ।
जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ सम्पन्न, उच्चस्तरीय क्षमता प्रदर्शन
काठमाडौं । ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) टेस्ट ड्राइभ– एक्स्पेरियन्स द थ्रिल अफ एडभेन्चर’ सफलतापूर्वक सम्पन्न गरेको छ । शनिबार गोकर्ण फरेस्ट रिसोर्टस्थित अफ-रोड ट्र्याकमा आयोजित उत्साहजनक टेस्ट ड्राइभ च्यालेन्जमा नेपालको पहिलो इलेक्ट्रिक अफ-रोड एसयूभी जेइको जे सिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर)को उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको छ । यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा प्रमाणित भएको छ । गोकर्णमा सम्पन्न कार्यक्रममा अफ-रोड पारखी, तथा ड्राइभरहरूको उत्साहजनक सहभागिता रहेकाे थियाे । साथै विशेष रूपमा तयार गरिएको अफ-रोड ट्र्याक मुख्य आकर्षण रह्यो । ट्र्याकलाई साँच्चिकै अफरोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोध उकालो, ओरालो, हिलो, रकी एक्सपेरियन्स आदि समेटिएको थियो । यही ट्र्याकमा जे सिक्स इन्डिभुजुअल-ह्विल-ड्राइभ(फोर-बाइ-फोर)ले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गरेको हो । विशेषगरी जेइको जेसिक्समा रूची राख्ने ग्राहकहरूकेन्द्रित यस कार्यक्रममा जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ(फोर-बाइ-फोर)ले डर्ट-ट्र्याकका सम्पूर्ण अवरोधहरूलाई सजिलै पार गर्दै विद्युतीय सवारी प्रविधिले मारेको फड्कोलाई सही सावित गरेको छ । एसपीजी अटोमोबाइल्स नेपालमा नवीन र दिगो मोबिलिटी (गतिशीलता)का आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित रहेको छ । अल-ह्विल-ड्राइभ पावरट्रेनसहितको नयाँ जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ(फोर-बाइ-फोर), प्रभावशाली पर्फमेन्स, अद्भुत पावर, र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफ-रोड ड्राइभिङको लागि उत्कृष्ट विद्युतीय एसयूभीकाे रूपमा स्थापित भएको छ । नयाँ जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) मसाज सिट, सबै प्यासेन्जरका लागि हिटेड एन्ड भेन्टिलेटेड सिट, हाइअर रिम सहितको टायर साइज, बुम बक्स बेस स्पिकर्स जस्ता विभिन्न सुविधाहरूले सुसज्जित रहेको छ । साथै नौवटा ड्राइभिङ मोडसहित शक्तिशाली डुअल मोटर, ६९.६६ किलोवाटआवरको ब्याट्री, र ४०० किलोमिटरको डब्लुएलटिपि रेन्ज यसको प्रमुख आकर्षणको पक्ष रहेको छ । एसपीजी ओमाडा र जेइको अटोमोबाइल्स कम्पनि लिमिटेडको नेपालका लागि आधिकारिक वितरक हो ।