विकासन्युज

२९ वर्षदेखि ओडारमा व्यवसाय, पुष्पलाल मार्ग सञ्चालन हुँदा बढ्यो व्यापार

काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । विसं २०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनका लागि तामाकोसी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछि रामेछाप र सिन्धुलीका मानिस मन्थलीबाट खिम्ती हुँदै यही बाटो भएर काठमाडौं ओहोरदोहोर गर्न थालेपछि कार्कीले ‘चिया चमेना’को व्यापार सुरु गरेका हुन् । तत्कालीन समयमा कार्कीले ओडारबाट सुरु गरेको व्यापार अहिले जस्ताको छानो हालेर परिमार्जन गरिएको छ । ६४ वर्षीय कार्कीले पाँच छोरी र दुई छोरासहित नौ जनाको परिवारको पालपोषण यही ओडारको पसलबाट भएको आम्दानीबाट गरिरहेको बताए । जीविकोपार्जनमा समस्या भएपछि भारतको सिलगुढीमा १८ वर्षसम्म ज्याला मजदूरी गरेर केही रकम लिई उनी स्वदेश फर्किएका हुन् । सोही बेलादेखि सुरु गरेको ओडारको पसल अहिले उनीहरूको सहज रूपमा जीविकोपार्जन भइरहेको छ । ओडारको पसलमा किराना सामान, चिया, खाजा र अनुरोध भएमा खानासमेत खुवाउने व्यवस्था भएको कार्कीले जानकारी दिए । ‘त्यसबेला यहाँ लगाएको वरपीपल अहिले सित्तल बस्ने चौतारो बनेको छ भने बाँसका झाङ फैलिँदै गइरहेका छन्, केरा, अम्बा आटीलगायत फलफूलहरू पनि पाक्ने बेला भए पनि बाँदरले दुःख दिने गरेको छ,’ उनले भने । चार/पाँच आना जग्गामा गरेको उब्जनीले तीन महिना पनि खान नपुग्ने भएपछि विकल्पको खोजीमा यहाँ आइपुगेको कार्कीले बताए । यही व्यापारबाट तामाकोसी–५ मा छ आना जग्गा किनेर भूकम्प प्रतिरोधी दुईकोठे कच्ची घर बनाएको उहाँले उल्लेख गरे । सबै छोराछोरीको विवाह गरिसकेका कार्की आफ्नी ६२ वर्षीया श्रीमती डम्बरकुमारीको साहारमा पसल चलाउने र घरायसी काम गर्ने गर्छन् । ‘पाँच छोरीको विवाह गरेर आआफ्नो घर पठाइसके, दुई छोरामध्ये जेठोको पनि विवाह भइसक्यो, कान्छो काठमाडौंमा छ,’ कार्कीले भने । पसलबाट सुरुआती चरणमा दैनिक २ हजार ५ सयदेखि १० हजार रुपैयाँसम्म व्यापार हुने गरको बताउँदै कार्कीले ग्राहकले आधुनिक बसाइ, खाना खोज्नाले अहिले दैनिक रु पाँच–छ सयको मात्र बिक्री हुने उल्लेख गरे । गत असोजमा १२ गते आएको बाढीका कारण रोशी खोलाले बिपी राजमार्ग अवरुद्ध पारेपछि काठमाडौंबाट रामेछाप, दोलखा, सोलु र सिन्धुलीका विभिन्न भागमा काठमाडौंबाट आउनेजाने सवारीसाधन पुष्पलाल मार्गबाट सञ्चालन हुँदा आफ्नो व्यापार बढेको कार्कीले बताए । बिपी राजमार्ग सञ्चालनमा आई खुर्कोटको पुलसमेत बनेपछि पुनःव्यापार घटेको उनले सुनाए । विसं २०७२ को भूकम्पले समेत ओडारमुनिको ओडारका पसलमा कुनै क्षति नपुगेको उनले बताए । ‘पटकपटक वडा र पालिकाले भूकम्पको जोखिम भएकाले यहाँ नबस्न अनुरोध गरिरहेका छन् । लामो समयदेखि यही बसेर व्यापार गरेको र केही संरचना पुनःनिर्माण गरिसकेका यहाँबाट अन्यत्र जान सबेको छैन,’ उनले भने । ओडारमा अहिले पनि बिजुली बत्ती नजोडिएको भन्दै कार्कीले पटकपटक प्रयास गरे पनि ऐलानी जग्गामा अस्थायी बासोबास भएकाले विद्युत् प्राधिकरणले खम्बा र मिटर नदिएको गुनासो गरे । सोही कारणले साँझ अबेरसम्म बस्न नसकिने र व्यापार पनि कम हुने उनको बुझाइ छ । ‘मैले रोपेको बाँसमध्ये सात झाँङ फस्टाएर अएकाले बिक्री गर्नेबेला भएको छ । वर, पीपल ठूला भएर सित्तल बस्ने चौतारो बनिसकेको छ । केरा आँटी, अम्बालगायत फलफूलहरू फल्न लागिसकेका छन् । यो ठाउँ छाडेर काहीँ जान मन लाग्दैन,’ कार्कीले भने । स्थानीय सरकारले विद्युत्को व्यवस्था गरिदिए व्यापार गर्न सहज हुने उनको भनाइ छ । प्रायजसो निजी सवारीसाधनमा यो सडक मार्ग भएर ओहोरदोहोर गर्ने मानिस यहाँको पसलमा चिया, खाजा खाएर कार्कीसँग कुराकानी गरेर मात्र गन्तव्यतर्फ लाग्ने गर्दछन् ।

एक सातामा २ हाइड्रोमा जुट्यो लगानी, बैंकहरूले २६ अर्ब ऋण दिने

काठमाडौं । विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले २६ अर्ब रुपैयाँ बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । केहीदिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९.९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो । दानाखोलामा विभिन्न बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ९६ करोड रुपैयाँ लगानी गर्नेगरी सम्झौता भइसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का उपाध्यक्षसमेत रहेका प्रवर्द्धक मोहनकुमार डाँगीले जानकारी दिए । यस आयोजनामा ७४ करोड रुपैयाँको सेयर आयोजना प्रभावित स्थानीयवासीलाई जारी गरिनेछ भने १ अर्ब ७४ करोड रुपैयाँको लगानी सञ्चालक एवं प्रवर्द्धकले गर्नेछन् । साथै लमजुङमा आयोजनास्थल रहेको १०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी एक जलविद्युत् आयोजनामा पनि लगानी जुटेको छ । अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको सो आयोजनामा विभिन्न बैंकले १६ अर्ब रुपैयाँ बराबरको लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रवर्द्धक कम्पनीले उपलब्ध गराएको विवरण अनुसार लक्ष्मी सनराइज बैंकले ७ अर्ब रुपैयाँ, ग्लोबल आइएमइ बैंकले ६ अर्ब रुपैयाँ र प्रभु बैंकले ३ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने भएका हुन् । सो आयोजनाको कूल लागत २१ अर्ब ४० करोड रुपैयाँ रहनेछ । कूल लागतमध्ये ७४.७७ प्रतिशत बैंकले र २५.२३ प्रतिशत प्रवर्द्धकले लगानी गर्नेछन् । आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता, विद्युत् उत्पादन अनुमतिपत्रसमेत प्राप्त भइसकेको छ । आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट वार्षिक ५८३.०३ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार अन्य आयोजनामा पनि क्रमशः वित्तीय व्यवस्थापन हुनेक्रम अगाडि बढेको छ । उनले छोटो अवधिमा २० वटा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको र केही प्रक्रियामा रहेको जानकारी दिए ।

माघ २ गते ‘नेपाल सत्कार दिवस’ मनाउँदै होटल संघ, यस्ता छन् अन्य कार्यक्रम

काठमाडौं । होटल संघ नेपाल (हान) ले आगामी माघ २ गते ‘नेपाल सत्कार दिवस २०२५’ मनाउने भएको छ । हानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो दिवस मनाउनेबारे जानकारी गराएको हो । संघले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्दै आएको छ । यसअघि पनि संघले राष्ट्रपतिको प्रमुख आतिथ्यतामा पहिलो सत्कार दिवस २०२४ आयोजना भइसकेको छ । होटल संघका अध्यक्ष विनायक शाहका अनुसार सत्कार दिवस होटल क्षेत्रले वर्षैभरि भोगेका अवस्था र विकासका सम्भावना, चुनौती तथा आगामी दिनमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेका विषय प्रस्तुति रहनेछन् । यो वर्ष आयोजना हुन लागेको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले संघले प्रकाशनमा ल्याएको नेपाल होटल इयर बुक २०२४ विमोचन हुने कार्यक्रम रहेको छ । साथै सोही अवसरमा मुलुकलाई विश्वमाझ रैथाने खाना प्रवर्द्धन गर्दै विदेशी पर्यटकलाई नेपाल आगमनमा लालायित बनाउन सातै प्रदेशका मुख्य मुख्य रैथाने खाना प्रदर्शनमा राखी सोही खाना कार्यक्रममा सहभागी हुने पाहुनालाई सत्कारस्वरूप प्रस्तुत गरिने पनि संघका अध्यक्ष शाहले जनाएका छन् । उक्त अवसरमा विभिन्न विधाका प्रायोजकद्वारा प्रवर्द्धनमा राखिएका प्रदर्शनी कक्ष मुख्य आकर्षण रहने अध्यक्ष शाहले बताए । साथै कार्यक्रममा पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कृत गरिने जनाइएको छ । उक्त कार्यक्रममा प्रायोजन गरी सहयोग गर्ने प्रायोजकहरूलाई समेत सम्मान गरिने कार्यक्रम रहेको पनि संघले जनाएको छ । देशैभरिबाट सहभागी रहने होटल संघ नेपालको वार्षिक साधारणसभा पनि सोही दिन आयोजना हुने संघले उल्लेख गरेको छ । उक्त दिन पर्यटन क्षेत्रमा भएका ऐन, कानुनलाई संशोधन गरेर धेरैभन्दा धेरै पर्यटकलाई भित्र्याउने उद्देश्यले सत्कार दिवस मनाउन लागेको संघका महासचिव साजन शाक्यले बताए । शाक्यका अनुसार पर्यटन क्षेत्रले मात्रै देशको आर्थिक क्षेत्रमा टेवा पुग्ने भएकाले यस क्षेत्रलाई उत्थान गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने जनाए । अहिले होटलहरुले ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता भइसकेको हुँदा त्यसअनुसार पर्यटक भित्र्याउन सके नेपालबाट विदेश पलायन हुने जनशक्तिलाई रोक्न सक्ने शाक्यले बताए ।

बढ्यो सार्वजनिक यातायातको भाडा, यस्तो छ नयाँ भाडादर

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेपछि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो । पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १७५.५, दोस्रोमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १६४.५, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ कायम भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा बढेको हो । यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो । जसमा यात्रुवाहक र मालवाहक सवारीको भाडा बढेकाे जनाएको छ । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले भाडादर वृद्धि भएको हो । नयाँ भाडादर आजदेखि नै लागू भएको छ । विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण हुने गरको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तर निर्णयबाट भाडादर वृद्धि भएको हो ।

ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालित नागरिकले ल्यायो अत्याधुनिक लेभल थ्री आईसीयू सञ्चालनमा

काठमाडौं । ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको नागरिक अस्पतालले ९ शैयाको अत्याधुनिक लेभल थ्री आईसीयू सञ्चालनमा ल्याएको छ । योभन्दा पहिले लेभल वान, टुमा सेवा दिरहेको अस्पतालले लेभल थ्री सुरु गरेको हो । उक्त आइसीयूको सोमबार एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरे । आईसीयूको उद्‌घाटन गर्दै मन्त्री पौडेलले १० प्रतिशत नि:शुल्क बेड भनिएको कुरालाई लागू गर्न आग्रह गरे ।  ‘सामान्य नागरिक जसले ठूला अस्पतालमा सेवा पाउन सक्ने सम्भावना देख्दैनन् यस्ता नागरिकलाई यो अस्पतालले सेवा दिन सक्नुपर्छ,’ उनले भने, ‘१० प्रतिशत खोई भनेर प्रश्न सोध्न नपारिदिनुस्, यो कुरा आफै लागू गराइदिनुहोस् । अझ सक्यो भने त क कसको उपचार गरियो, फोटो र नामसमेत राखिदिनुहोस् ता कि जसले शुल्क तिर्न सक्ने भएर पनि गरिबको नाममा उपचार लिएको हुन्छ त्यो मान्छे चिनिन सकोस् ।’ ह्याम्स अस्पतालले भेप नियन्त्रण गर्ने बारेमा गरेको एउटा कार्यक्रमपछि सरकारले नियमन गर्ने व्यवस्था गरेको उदाहरण दिँदै मन्त्री पौडेलले निजी अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्ने काम पनि गरेको र यस्ता काम अझ बढ्नुपर्ने बताए । ह्याम्स अस्पताल तथा नागरिक अस्पतालका अध्यक्ष रामशरण भण्डारीले सरकारले नेपालका अस्पताललाई ग्रेडिङ गरिदिनुपर्ने बताए । नागरिकको सेवाका लागि धेरै थरीका अस्पताल रहेको बताउँदै उनले कुन अस्पतालमा कुन प्रविधि र कुन स्तरको जनशक्ति छ, त्यो स्वास्थ्य सेवा लिन यो अनुसारको नीति बनाएर ग्रेडिङ गरिदिनुपर्ने आवश्यकता ‍औंल्याए ।   ‘यसो गरिदिए सेवा लिन जाने बिरामी र तिनका आफन्त कुन अस्पताल जाँदै छु भन्ने बुझेर सेवा लिन जाने थिए,’ उनी भन्छन्, ‘अब बेडका आधारमा अस्पताललाई चिनेर चिनाएर हुँदैन, प्रविधि र जनशक्ति र भौतिक संरचना भएको अस्पताललाई के ग्रेडिङ गर्ने, यो सुविधा नभएको अस्पताललाई के ग्रेडिङ गर्ने भन्ने विषयमा छलफल गरी त्यही अनुसारको शुल्क पनि मन्त्रालयले तोकिदिए हुन्थ्यो ।’ कुन सेवा दिँदा कति शुल्क लिने भन्नेबारे स्वास्थ्य मन्त्रालयले गाइड गरी नीति बनाइदिए सजिलो हुने बताए । उनले मन्त्रालयले बनाएको नीति नियमलाई आत्मसाथ गर्दै अघि बढ्ने बताए ।    अध्यक्ष भण्डारीले ह्याम्स अस्पताल निजी अस्पतालबाट आईपीओका लागि  नेपालको धितोपत्र बोर्डमा पहिलो निवेदन दिने अस्पताल भएको बताए । ‘कुनै पनि संस्था नीतिनियम भित्र बस्ने बनाउने हो भने पब्लिक लिमिटेड कम्पनीलाई पब्लिकको निगरानीमा राखेर चल्न बाध्य हुन्छ,’ उनी भन्छन्, ‘अर्को कुरा राज्यलाई ट्याक्स तिर्ने कुरामा आइपीओमा गएको कम्पनी जसले पब्लिकको सेयरमा चलाएको छ, यसले राज्यलाई तिर्ने ट्याक्समा कतै पनि बदमासी गर्न सक्दैन । राज्यको ट्याक्समा पनि ठूलो सहयोग गर्छ ।’ कार्यक्रममा बोल्दै मध्यपुर थिमी नगरपालिकाका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अब भक्तपुर बासीले उपचारका लागि काठमाडौं ललितपुर धाउनुपर्ने अवस्था नरहेको बताए ।  भक्तपुरमा रहेको कोरियामैत्री अस्पतालले बिरामी थेग्न नसकेको अवस्थामा अत्याधुनिक सुविधासहित नागरिक अस्पताल सञ्चालनमा आउँदा नागरिकलाई सहज हुने बताए । ‘अहिले जसरी हाम्रो पालिकाभित्र अस्पताल सञ्चालनमा आइरहेका छन्, यसले नगरवासीलाई मात्र हौइन, पूर्व-पश्चिमबाट आउने सबै नागरिकले सेवा लिन पाउँछन्,’ उनी भन्छन्,‘ हामीले गर्ने प्रयास हामीले गरिरहेका छौं भने निजी क्षेत्रलेआफ्नो ठाउँबाट सेवा दिने प्रयास गरेको छ । यो खुसीको कुरा हो ।’

नागरिकको योगदानमा आधारित बिमा प्रणाली बनाउनुपर्छ :स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित बीमा प्रणाली लागू गर्नुपर्ने बताएका छन् । संसारभरि  नागरिकको योगदानमा आधारित नभएको बीमा प्रणाली नभएको दाबी गर्दै उनले अमेरिका युरोप लगायतका विकसित मुलुकमा पनि यही प्रणाली लागू भएको बताए ।  गगन थापा स्वास्थ्यमन्त्री हुँदा सुरु भएको स्वास्थ्य बीमाले १ लाख बराबरको सेवाले केही राहत भए पनि पूर्ण र व्यवस्थित हुन नसकेको उनको भनाइ छ । अव यसलाई पूर्ण र व्यवस्थित बनाउन प्रयास गरिरहेको भन्दै उनले एकद्वार प्रणालीबाट नागरिकको योगदानमा आधारित प्रणालीको विकास गर्नुपर्ने बताए । १ लाखबाट ५ लाख पुर्‍याउने मन्त्री पौडेलको योजनामा कसरी पुर्‍याउने, यसको स्रोत के हो ? नागरिकले कसरी यसलाई प्रयोग गर्ने भन्ने विषयमा विज्ञहरूले सल्लाहसहितको रिपोर्ट मन्त्रालयलाई पठाइसकिएको छ । अब मन्त्रालयले त्यहीअनुसार काम गर्ने योजना बनाएको उनले बताए । उनले अब यसको कार्यान्वयनमा कुनै अफ्ठेरो नरहेको तर भन्ने बित्तिकै लागू हुन नसक्ने बताए । ‘यसमा सञ्चय कोष जोड्न पर्‍यो, सामाजिक सुरक्षा कोष जोड्न पर्‍यो, प्रहरीको कल्याणकोष जोड्न पर्‍यो, तलब खाने निजी क्षेत्र, सरकार क्षेत्रका नागरिकले केही योगदान गर्ने स्थिति हुनुपर्‍यो । कर तिर्नेले केही प्रतिशत यहाँ दिनुपर्‍यो,’ मन्त्री पौडेल भन्छन्, ‘नागरिकले अत्यधिक प्रयोग गर्ने सिमकार्ड पेट्रोल डिजेल सबैबाट ५० पैसा जाने व्यवस्था गर्नुपर्‍यो ।  नागरिकको योगदानमा आधारित नभएको बीमा प्रणाली संसारमा सायदै होला तर योगदानमा आधारित प्रणालीमात्र छ ।’ अहिले नेपाल सरकारले ग्यारेन्टी गरेको ७ अर्ब हो । तर यहाँ सात साता ४९ अर्बले पनि नपुग्ने अवस्था छ । यस्तै, अवस्था रहने हो भने अब अर्को वर्षदेखि बन्द हुने अवस्था आएको भन्दै मन्त्री पौडेलले यसलाई व्यवस्थित गर्नुपर्ने बताए । अर्को प्रसंगमा उनले स्वास्थ्य बीमामा निजी अस्पताललाई पनि आवद्ध गराउन सकिने बताए । ‘कसैले पैसा तिरेर उपचार गराउँछ भने उसले कहाँ उपचार गराउने भन्नेबारे निर्णय गर्न पाउँछ ।  अस्पतालले यसका लागि प्याकेज बनाउन सक्छ, त्यसमा मूल्य निर्धारण गर्न सक्छ  । मूल्य निर्धारण गर्दैगर्दा निजी अस्पतालले त्यो मूल्यमा उपचार गराउन तयार भयो भने निजी अस्पताललाई बीमासँग नजोड्नु पर्ने कुनै कारण छैन,’ उनी भन्छन्, ‘जुन अस्पतालले राम्रो सेवा सुविधा दिन्छ, बीमाले त्यो अस्पतालमात्रै रोज्न सक्छ , सेवामा सन्तुष्ट भएन भने बीमाले आफ्नो सूचीबाट हटाइदिन सक्छ ।’ बीमाले  कुन अस्पताल सूचीकृत गर्ने भन्ने कुरा चाहिं कुन अस्पतालले सन्तुष्ट हुने गरी सेवा प्रदान गरेको छ, त्यो आधारमा अस्पताल सूचीकृत गर्ने उनको भनाइ छ । बीमाले तोकेको आवश्यक मापदण्डको पालना गरेको अवस्थामा सरकारी र निजी सबै अस्पताल बीमामा जोडिने स्थिति हुनुपर्ने बताए । मापदण्ड पालना नगरेका सरकारी अस्पताल पनि यसमा जोडिन नसक्ने बताए । यो ढंगबाट बीमालाई  विकास गर्ने स्थिति बन्नुपर्ने र त्यसपछि अहिले जति उपचार संस्थाहरू खोलिएका छन्, ती सबै संस्था दिगो हुने बताए । अहिले नेपालमा अस्पतालको संख्या १० हजार बढी छ ।  यीमध्ये कति अस्पतालले सेवा उपलब्ध गराउन सकेको छ कि छैन, अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सकेको छ कि छैन भन्ने प्रश्न रहेको बताए । ‘अस्पताल भनेपछि  उपकरण, पूर्वाधार र जनशक्तिमा पनि पूर्ण हुनुपर्छ, योमध्ये कुनैमा अपूर्ण भएको  अस्पताल हुन हुँदैन,’ उनी भन्छन्, ‘हामी कहाँ दैनिक चार हजार जना उपचार गर्न जाने मान्छे छन् ।  तर एमआरआई नै छैन भने त्यो पूर्ण होइन । पूर्ण क्षमता भएका अस्पताललाई व्यवस्थित गर्न बीमाले धेरै ठूलो सहयोग पुर्‍याउन सक्छ ।’  

मैनादेवी फाउण्डेशन र कुमारी जबबीच काठमाडाैं ट्र्यास कलेक्सन रेस- २०२५ को लागि सहकार्य

काठमाडाैं । गैरनाफामूलक संस्था मैनादेवी फाउण्डेसन (एमडीएफ) र रोजगारी पोर्टल तथा मानव संशाधन परामर्शदाता कुमारी जब प्रालिबीच काठमाडौं ट्र्यास कलेक्सन रेस (केटीसीआर) २०२५ को लागि मुख्य प्रायोजकको रूपमा सहकार्य भएको छ । पुस २७ गते आयोजना हुने काठमाडाैं ट्र्यास कलेक्सन रेस २०२५ केवल दौड मात्र नभएर परिवर्तनका लागि एक अभियान हो । तीनकुनेबाट सुरु हुने यस कार्यक्रममा सहभागीहरूले जोडी बनाएर प्रतिस्पर्धा गर्नेछन् र ५ किलोमिटरसम्म फोहोर सङ्कलन गर्नेछन् । यस अभियानले स्वास्थ्य, समुहगत कार्यको भावना र वातावरणीय जिम्मेवारीलाई एकसाथ जोड्दै हरियालीको महत्त्व र जलवायु परिवर्तनविरुद्ध सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । यो वर्षको ट्र्यास कलेक्सन रेसमा ३०० भन्दा बढी स्वयंसेवकहरू परिचालन हुने भएका छन् भने ३ हजारभन्दा बढी नागरिक सहभागी हुने अपेक्षा गरिएको छ । मानव संशाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन)मा नेपालको अग्रणी संस्थाको पहिचान बनाएको कुमारी जबले एक दशकदेखि जनमानसमा सेवा पुर्‍याउँदै आएको छ । यस सहकार्यमार्फत कुमारी जबले रोजगार निर्माणमा मात्रै नभई समाजमा वातावरणीय सचेतना फैलाउन पनि सक्रिय भूमिका निर्वाह गरेको छ । मैनादेवी फाउन्डेसनले विगत ३ वर्षदेखि यस अभियान सन्चालन गर्दै आएको छ । तीनकुनेबाट बिहान ७ बजे सुरु भएर माइतीघरमा समापन हुने यस अभियानमा सहभागीहरूले दौडँदै फोहोर संकलन गर्ने गरेका छन् । यसरी संकलन गरिएको फोहोर काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर व्यवस्थापन गर्ने गरिएको आयोजकले जानकारी दिएको छ ।

वैदेशिक रोजगारका नाममा २१ लाख रुपैयाँ ठगी गरेको अभियोगमा तीन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका-१० का  २८ वर्षीय राकेशकुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-११ का ३३ वर्षीय दुधराज थिङ र दाङ तुल्सीपुर उपमहानगरपालिका-५ का ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन् । काठमाडौंं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राकेशलाई काठमाडौं महानगरपालिका-९ बाट शुक्रबार, दुधराजलाई ललितपुर महालक्ष्मी नगरपालिका-९ बाट र प्रभालाई ललितपुर महानगरपालिका-१० बाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये राकेशले मौरिसस पठाइदिन्छु भन्दै एक जना पीडितबाट छ लाख ४५ हजार रुपैयाँ, दुधराजले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट सात लाख ५० हजार रुपैयाँ र प्रभाले सिङ्गापुर पठाइदिन्छु भन्दै एक जना पीडितबाट सात लाख आठ हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाइ छ ।