सेयर कर्जा १९ प्रतिशतले वृद्धि, बजार मूल्यमा प्रभाव शून्य
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये सबैभन्दा बढी सेयर कर्जा विस्तार भएको छ । साउनदेखि मंसिरसम्ममा मार्जिन प्रकृतिको कर्जा १९.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सेयर कर्जा प्रवाहमा उल्लेख्य वृद्धि भए पनि सेयर मूल्यमा भने प्रभाव देखिएको छैन । थोरै सेयर पुँजी भएका कम्पनीहरूको सेयर मूल्य अधिक भएपनि ठूलो पुँजी आधार भएको बैंक तथा कम्पनीहरूको सेयर मूल्य निकै कम रहेको छ । सेयरकर्जाको तुलनामा अन्य क्षेत्रमा जाने कर्जा विस्तार कम दरले विस्तार भएको छ । औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५ं.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले बढेको छ । तर कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.७ प्रतिशतले घटेको छ । सरकार र राष्ट्र बैंकले कृषि कर्जामा जोड दिए पनि यस तर्फको कर्जा ऋणात्मक भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१७८ अर्ब २९ करोड (३.५ प्रतिशत) ले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ प्रतिशतले बढेको छ । व्याजदर घट्दा पनि कर्जाको माग नहुँदा सबैतिर चिन्ता फैलिएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.६ प्रतिशतले, विकास बैंकहरुको २.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ४.३ प्रतिशतले बढेको छ । कुल कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १३.५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६६.१ प्रतिशत रहेको छ । २०८० मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ११.६ प्रतिशत र ६७.७ प्रतिशत रहेको थियो। बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ४७.३ प्रतिशतले, हायर पर्चेज कर्जा ३.७ प्रतिशतले, नगद प्रवाह कर्जा १.९ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.१ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ११.१ प्रतिशतले घटेको छ । २०८१ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७८ प्रतिशत, विकास बैंकहरूको ५.७५ प्रतिशत र वित्त कम्पनीहरुको ६.७० प्रतिशत रहेको छ । त्यसैगरी, २०८१ मंसिरमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.९० प्रतिशत, विकास बैंकहरूको १०.२६ प्रतिशत र वित्त कम्पनीहरूको ११.४८ प्रतिशत रहेको छ । २०८० मंसिरमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.८५ प्रतिशत, विकास बैंकहरुको १३.३९ प्रतिशत र वित्त कम्पनीहरूको १४.३० प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल आन्तरिक कर्जा १.६ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु. १७२ अर्ब ३२ करोड (२.७ प्रतिशत) ले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.९ प्रतिशतले बढेको छ । २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.३ प्रतिशत, ३३.६ प्रतिशत र ५३ प्रतिशत रहेको छ । २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.८ प्रतिशत रहेको छ ।
बजारमा अत्यधिक तरलता भएपछि ४० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । राष्ट्र बैंकले यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको माघ २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ । यस निष्काशनमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ २२ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ। आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २५ गते सेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आइपीओ निष्काशन गर्ने छ। श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपीओ निष्काशन गर्ने छ । नेपाल माइक्रो नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त बीम कम्पनी हो । चितवनको भरतपुरमा रजिष्टर्ड कार्यालय रहेको कम्पनीले लघु निर्जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।
तोलामा १६ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँ रहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, गत शुक्रबार तोलाको १ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।
जनउत्थान सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लघुवित्तले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ ।
सरकार पनि घाटामा, देश पनि घाटामा
सरकारको आयाव्यायमा ठूलो खाडल पर्दै गएको छ भने बैदेशिक व्यापारमा पनि ठूलो घाटा छ । यी दुई मुल समस्याका कारण अर्थतन्त्रका हरेक सूचकाङ्कहरु खुम्चिदै गएका छन् । उद्यमी व्यवसायी पनि संकटमा फस्दै गएका छन् । तर समस्या समाधानका लागि सरकारले रुपान्तरणकारी कदम चाल्न सकेको छैन । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा नेपाल सरकारको आयव्यव १९२ अर्ब ५७ करोड नोक्सानमा गएको छ । यस अवधिमा सरकारको कुल खर्च रु.५५६ अर्ब १२ करोड रहेको छ । त्यसमा चालु खर्च रु.३६३ अर्ब ५५ करोड, पँुजीगत खर्च रु.४० अर्ब ८० करोड र वित्तीय व्यवस्था खर्च रु.१५१ अर्ब ७७ करोड रहेको छ । यस अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.३९९ अर्ब ६० करोड पुगेको छ । यस अन्तर्गत कर राजस्व रु.३६२ अर्ब ५८ करोड र गैर कर राजस्व रु.३७ अर्ब २ करोड परिचालन भएको छ । मंसिर मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२१९ अर्ब ८३ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात रु.९१ अर्ब ७८ करोड रहेको थियो । सरकारको खाता मात्र घाटामा होइन, देशको व्यापार पनि घाटामा नै छ । कुल वस्तु व्यापार घाटा १.५ प्रतिशतले वृद्धि भई रु.५८७ अर्ब ८३ करोड पुगेको छ । निर्यात–आयात अनुपात ११.१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल वस्तु निर्यात १६.५ प्रतिशतले वृद्धि भई रु.७३ अर्ब ६६ करोड पुगेको छ । सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, ऊनको गलौँचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ । त्यस्तै, कुल वस्तु आयात ३ प्रतिशतले वृद्धि भई रु.६६१ अर्ब ४९ करोड पुगेको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, कच्चा भटमास तेल, स्पन्ज आइरन, लसुन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, केराउ, अलकत्रा लगायतका वस्तुको आयात घटेको छ । बस्तु व्यापारसँगै नेपालले सेवा व्यापारमा पनि नोक्सानी बेहोरेको छ । खुद सेवा आय रु.४० अर्ब ७१ करोडले घाटामा रहेको छ । भ्रमण आय ३.१ प्रतिशतले वृद्धि भई रु.३५ अर्ब १९ करोड पुगेको छ । तर भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई रु.८५ अर्ब १ करोड पुगेको छ । त्यस्तै विदेश जाने विद्यार्थीले रु.४७ अर्ब ४१ करोड बराबर विदेशी मुद्रा विदेश लगेका छन् । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई रु.६४० अर्ब ४३ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । तर गत वर्षको तुलनामा विप्रेषण आय वृद्धि कमजोर बनेको देखिएको छ । यसैगरी, समीक्षा अवधिमा रु.६ अर्ब ३ करोड प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ । शोधनान्तर स्थिति रु.२२५ अर्ब ३४ करोडले बचतमा रहेको छ । २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले वृद्धि भई २०८१ मङ्सिर मसान्तमा रु.२२७३ अर्ब २६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । विदेशी मुद्रा संचितिको अवस्था जति राम्रो छ, त्यसको सदुपयोग गर्ने तर्फ उल्लेख गर्न लायक काम भएको छैन ।
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत
काठमाडौं । गायक प्रकाश सपूतको परिचय संगीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्य दृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले चलचित्र निर्माण गरेका छन् । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उनलाई पाउन सकिन्छ । एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त ? यस जिज्ञासामा गायक सपूतले आउँदा दिनमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिए । उनी निर्देशित पहिलो चलचित्र ‘वसन्त’मा समावेश पहिलो गीत ‘साँझ पर्यो झमक्कै’ को गीत र श्रव्य दृश्य सार्वजनिक गर्न शनिबार साँझ दरबारमार्गमा रहेको एक चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गायक सपूतले आफ्नो समूहका कारण यस पटक सफल भए पनि आउँदा दिनमा एक विधाबाहेक अरूको जिम्मेवारी नलिने बताए । उनले भने, ‘आफैँले सबै काम गर्दा गाह्रो नै हुने रहेछ । विशेषतः निर्देशन र अभिनय एकै पटक गर्दा दुवैमा ऊर्जा बाँडिएको महसुस भयो । त्यसैले आउँदो चलचित्रमा म निर्देशक भएमा आफ्नो दृश्यलाई निकै कम राख्छु, नत्र सुनिल विकलाई निर्देशनको जिम्मेवारी दिन्छु र म अभिनयमा मात्र केन्द्रित हुन्छु । किनकि मेरै पछिल्ला कामभन्दा कमजोर नहोस् भन्ने मेरो प्रयास रहन्छ ।’ यस विषयमा अभिनय र निर्देशनसँगै गरिरहेका निश्चल बस्नेत, अर्पण थापा लगायतसँग छलफल गरेको गायक सपूतले बताए । उनले गायनमै व्यस्त हुँदा चलचित्र निर्देशनमा आउनु कथालाई धेरै दर्शकसम्म पुर्याउने चाहना भएको बताए । ‘भोगाइ, देखाइसहितका आफ्ना कथा गीतमार्फत व्यक्त गरिरहेको थिएँ । मलाई ती कथा गीतमै सकाउँछु कि भन्ने लाग्यो । त्यही भएर चलचित्र बनाउने योजनालाई मूर्तरूप दिएको हुँ । यो मजस्ता धेरै मध्यम वर्गीय युवाको कथा हो’, उनले भने । यो चलचित्रको कथामा आफ्नो बालापन र भोगाइ भए पनि आफ्नै जीवनी भने नरहेको गायक सपूतले स्पष्ट पारे । अभिनेत्री स्वस्तिमा खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गरेको बताइन् । उनले भनिन्, ‘गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । यो चलचित्रमा जोडिएर शान्ति नामक पात्र बाँच्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु । यो मलाई वर्षौँसम्म सम्झिने पात्र बन्ने छ ।’ सार्वजनिक गरिएको ‘साँझ पर्यो झमक्कै’ गीतमा शब्द, संगीत र स्वर सपूतकै रहेको छ भने गायनमा शान्तिश्री परियारले साथ दिएकी छन्। चलचित्रमा प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन् । आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ । यो चलचित्र आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ । रासस
क्यालिफोर्नियामा डढेलो : १ खर्ब ५० अर्ब अमेरिकी डलर क्षति, १० हजार घर नष्ट, डेढ लाख मानिसले घर छोडे
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया मंगलबारदेखि सुरु भएको भीषण ढडेलाले उग्र रुप लिएको छ । निरन्तरको डढेलोले लस एन्जलसका बासिन्दाहरूलाई प्रभावित पारेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हालसम्म डढेलोका कारण १६ जनाको ज्यान गएको छ । लस एन्जलस प्रशासनले धुवाँबाट जोगिन घरभित्रै बस्न आग्रह गरेको छ भने अत्यधिक वायुप्रदूषण बढेपछिस्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । सहरमा पसेको आगोले स्वास्थ्य संस्थाहरूमा समेत क्षति पु¥याएका कारण महत्त्वपूर्ण सेवा र स्रोत साधन अवरुद्ध भएको बुझिएको छ । सहरमा पसेको आगोले १० हजारभन्दा धेरै घरहरू नष्ट भएको र थप ६० हजार जोखिममा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । हालसम्म १५० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति भएको हुनसक्ने बताइएको छ । लस एन्जलसमा एक लाखभन्दा धेरै घर तथा व्यवसायहरूमा बिजुली आपूर्ति अवरुद्ध भएको छ भने डेढ लाख बढी मानिसले घर छाडेर भागेका छन् । प्रशासनले मानिसहरूलाई झ्याल र ढोका थुनेर घरभित्रै रहन प्रदूषित वायुलाई घरभित्र प्रवेश गर्न नदिन वातानुकूलनका लागि प्रयोग हुने एअर कन्डिसनर उपकरण प्रयोग गर्न भनेको छ । सहरमा छ वटा मुख्य डढेलो सक्रिय रहेको बुझिएको छ ।