विकासन्युज

नेपाल क्लियरिङ हाउसको वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा आइतबार सम्पन्न साधारण सभाले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर गरी २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बैठकले लेखापरीक्षण प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गरेको छ । साधारण सभामा प्रस्तुत प्रतिवेदन अुनसार एनसीएचएलको चुक्ता पूँजी १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९०० रुपैयाँ बराबरको हुनेछ भने अधिकृत पूँजी वृद्धि गरी २ अर्ब २५ करोड पुर्‍याउन स्वीकृत गरेको छ । कम्पनीले पूँजी वृद्धि मार्फत नेसनल पेमेन्ट स्वीच, नेसनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतिका लागि प्रयोग गर्नेछ । आव २०८०/८१ मा कम्पनीबाट फर्छ्योट भएका कारोबारहरूको संख्या ५४ प्रतिशतले वृद्धि भएको उल्लेख छ । जसबाट कम्पनीको खुद नाफा ६.२ प्रतिशतले वृद्धि भएको छ । सोही आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणाली मार्फत कुल १५६ खर्ब बराबरको १२ करोड ६ लाख भुक्तानी कारोबार राफसाफ भएको जनाइएको छ । बैठकले कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरू निर्विरोध चयन गरेको छ । वाणिज्य बैंकहरूबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा हिमालयन बैंक लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सिद्धार्थ बैंक लिमिटेडका प्रमुख सूचना प्रविधि सृजन मल्ल छन् ।

सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंकको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार काठमाण्डौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभाले बैंकको चुक्ता पूँजी बाह्र अर्ब बाउन्न करोड चौवालीस लाख छब्बीस हजार आठ सय एकतीस रुपैँयाको १२.५० प्रतिशत बराबर एक अर्ब छपन्न करोड पचपन्न लाख त्रिपन्न हजार तीन सय चौवन्न रुपैयाँ बोनस सेयर तथा ०.६६ प्रतिशत बराबर ८,२३,९७,५४५ रुपैयाँको नगद लाभांश (बोनस सेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित, विदेशी पनि आउन थाले पढ्न

झापा । जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो । काठमाडौं विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर- १२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको पढाइ सुरू हुनु झापावासीका लागि गर्वको विषय भएको बताए । ‘समाजमा पछाडि पारिएका आदिबासी, जनजाति, दलित र महिला समुदायलाई एमबीबीएस पढ्ने कोटा दिन सके अझ राम्रो हुन्थ्यो,’ उनले भने,’राजबंशी, सन्थाल, मेचे, धिमाल, ताजपुरियालगायत आदिवासी समुदाय प्राविधिक शिक्षाको पहुँचबाट टाढै छ ।’ नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाइँले खाडी मुलुकमा पसिना गालेर कमाएको पैसा छोराछोरीलाई डाक्टर र इञ्जिनीयर पढाउन अस्ट्रेलिया, यूरोप र अमेरिका पठाउनुपर्ने बाध्यता अब हट्ने भन्दै जिल्लामा मेडिकल शिक्षा सुरू भएकोमा खुसी व्यक्त गरे । उनले देशभित्रै पढ्न नपाउँदा बर्सेनि अर्बौ रकम विदेश गइरहेको जनाउँदै बिएन्डसी मेडिकल कलेजले अध्ययनको नाममा नेपाली पुँजीको विदेश पलायन रोक्न ठूलो सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । झापा अब मेडिकल हब बन्ने धारणा राख्दै उनी भन्छन्,’कलेजको नाफा र घाटा सञ्चालकको भए तापनि मेडिकल कलेज सम्पूर्ण झापावासीको साझा सम्पत्ति हो । हिजोका दिनहरूमा झापालीहरू डाक्टर पढ्न विदेश जान्थे, अब विदेशबाट झापा आउने क्रम सुरू भएको छ ।’ महिला मानवाधिकार रक्षा सञ्जाल झापाकी अध्यक्ष कविता बाँस्तोलाले छोरी बुहारीका लागि स्वास्थ्य विज्ञान विषयमा अध्ययन गर्न जिल्लामै सुनौलो अवसर आएको बताइन् । उनले विदेशमा डाक्टर पढ्न जाँदा सुरक्षाका लागि विवाह गर्नैपर्ने र परनिर्भर हुनैपर्ने बाध्यताबाट छोरीहरूले छुटकारा पाएको जनाउँदै जिल्लामै यस्तो अवसर सिर्जना हुनु लैङ्गिक दृष्टिकोणले सकारात्मक भएको बताइन् । ‘छोरीहरूले विदेश पढ्न जान सहज थिएन,’ उनी भन्छिन्,’पुरूष साथी खोज्नुपर्ने र कतिपय अवस्थामा विवाह गर्नैपर्ने बाध्यतात्मक अभ्यास थिए । अभिभावक पनि त्यस्तै चाहन्थे । तर, जिल्लामै एमबीबीएस पढ्ने अवसर पाउँदा ती तमाम समस्याको एकैचोटी समाधान भएको छ । जिल्लामै अभिभावकसँग बसेर पढ्न पाइने भएको छ ।’ नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश कमिटी सदस्य एवं झापा क्षेत्र नं १ का इञ्चार्ज प्रकाश भण्डारीले बिएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ सुरू हुनु भनेको झापाको शैक्षिक इतिहासमा नयाँ युगको थालनी भएको बताए । ‘अझ धेरै अगाडि एमबीबीएसको पढाइ झापामा हुनुपथ्र्यो,’ उनले भने,’क्षमता भएका जिल्लाबासीका छोराछोरीले आफ्नै आँगनमा मेडिकल शिक्षा हासिल गर्नसक्ने अवस्था आउनु गौरवको विषय हो । विदेशमा मात्रै पढ्नुपर्ने बाध्यताको अन्त्य भएको छ । बङ्गलादेशमा गत वर्ष आन्दोलन हुँदा नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन सकस भएको हामीले भुल्नुहुँदैन । अब जिल्लामै पढ्न पाएपछि विदेशको अनेक जोखिम मोल्नु परेन ।’ नेपाल अडिटर्स एशोसिएशनका केन्द्रीय सचिव जयधर्म पोखरेलले बङ्गलादेशमा एउटा नेपालीले एमबीबीएस कोर्स पूरा गर्न रू एक करोड तिर्नु परिरहेको जनाउँदै बिएन्डसीले जिल्लामै पठनपाठन गराउँदा हरेक ब्याचमा रू ५० करोड पुँजी विदेश जानबाट रोकिने बताए । उनले दुई वर्ष अघि बिएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ सञ्चालन हुनसकेको भए आफ्नो छोराले बङ्गलादेश जानुनपर्ने स्मरण गर्दै ढिलै भए पनि झापामा पढाइ हुँदा अभिभावकमा खुसीको माहौल छाएको बताए । उनी भन्छन्, ‘मेरो छोराले बाध्यताबस बङ्गलादेशमा पढ्न जानुपर्यो । हामी विदेशमा ठूलो धनराशी खर्चेर पढ्न जानुपर्ने अवस्थाको अन्त्य भएको हेर्न चाहन्थ्यौँ । झापामा एमबीबीएसको पढाइ अलि अगाडि नै सुरू हुनुपथ्र्यो ।’ विदेशीहरू पनि आउन थाले पढ्न यही पुस २६ गतेदेखि पठनपाठन सुरू भएको बिएन्डसी मेडिकल कलेजमा अध्ययनरत् ५० जनामध्ये ३४ जना नेपाली र १४ जना विदेशी विद्यार्थी छन् । स्वदेशी ३४ जनाध्ये पाँच जनाले नेपाल सरकारको नियमानुसार शतप्रतिशत निःशुल्क छात्रवृत्ति प्राप्त गरेको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । ‘पश्चिम बङ्गालको बागडोग्रा विमानस्थलबाट ३५ किलोमिटरको दूरीमा मेडिकल कलेज रहेको हुँदा भारतीय विद्यार्थीका लागि बिएन्डसी पहिलो रोजाइ बनेको पाइयो,’ जनसम्पर्क अधिकृत गिरीले भने, ‘हिजोका दिनमा नेपाली मेडिकल शिक्षा लिन विदेश जानुपर्ने बाध्यता थियो, अब विदेशीहरू धाएर नेपालमा आउन थाले ।’ आफ्नै जिल्लामा एमबीबीएस तहको पठनपाठन गराउने झापावासीको दशकौँं पुरानो चाहना बल्ल पूरा भएको जनाउँदै उनले मेडिकल कलेजका लागि विसं २०६८ मा सरकारबाट आशयपत्र पाउँदा र विसं २०७१ मा ३०० शय्याको अस्पताल सञ्चालन हुँदासमेत पठनपाठन सुरू हुन एक दशक कुर्नुपरेको बताए । सत्तरी जना प्रोफेसर कार्यरत बिएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन पाएका ११ वटामध्ये बीएन्डसी कान्छो कलेज भएको स्मरण गर्दै पठनपाठन सुरू हुँदै गर्दा ७० जना प्रोफेसर (पूर्णकालीन फेकेल्टी) कार्यरत रहेको बताए । उनले पहिलो सत्रमै देशका राम्रो श्रेणीका विद्यार्थीले बिएन्डसी मेडिकल कलेज रोजेको जनाउँदै मेचीनगर–१२ स्थित साइन्स ब्लकमा एनाटोमी, फिजियोलोजी, बायो केमेस्ट्री, माइक्रो बाइलोजी, कम्युनिटी मेडिसिन, फर्माकोलोजीलगायतका सुविधासम्पन्न फेकेल्टीमा पठनपाठन भइरहेको बताए । ‘शान्त र सुविधासम्पन्न छ पढाउने भवन,’ प्राडा शर्माले भने, ‘बेसिक साइन्स भवनमा पाँच तला छन् । दुई वटा ठूला सेमिनार हल छन् । सात वटा डिपार्टमेन्टका अलग अलग कक्षा कोठाहरू छन् । अत्याधुनिक प्रयोगशाला र पुस्तकालय छ ।’ सबै विद्यार्थीलाई छात्रावास सुविधा र शैक्षिक वातावरण राम्रो रहेको उल्लेख गर्दै उहाँले झापामा बिएन्डसी अस्पतालको स्थापनापछि एक हजार जनाले प्रत्यक्ष रोजगार पाएको र अब कलेज सञ्चालन भएपछि अरू एक हजार रोजगारी सिर्जना हुने बताए । ‘भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिका दृष्टिले बिएन्डसीले धेरै अगाडि मेडिकल कलेजको सम्बन्धन पाउनु पथ्र्यो,’ प्राडा शर्माले भने, ‘सुरूमै पढाइ हुन पाएको भए यतिखेर एक हजार जनाले एमबीबीएस उत्तीर्ण गरिसक्थे भने यहाँ पढ्नेहरू प्रोफेसर भइसक्थे ।’ झापाको आर्थिक विकासमा बिएन्डसी मेडिकल कलेज र हस्पिटलले ठूलो टेवा पुर्‍याएको र जिल्लालाई मेडिकल शिक्षा र मेडिकल टुरिज्मको हब बनाउने बाटो खुलाएको उहाँको धारणा छ । सर्वोच्च अदालतले विसं २०८० चैत १३ गते बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो । रासस

अमेरिकी डलर स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ आज पुनःस्थिर रहेको छ । यस्तै, युरोपियन युरो, जापानी येनको मूल्य बढेको छ । त्यस्तै, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र हङकङ डलरको मूल्य भने ओरालो लागेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो  एकको खरिददर एक सय ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ २९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ४९ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ४२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८४ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ १६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ७० पैसा र बिक्रीदर आठ रुपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ २३ पैसा र बिक्रीदर १२ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६४ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ०८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आज यी स्थानमा हुनसक्छ वर्षा, उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

आइसिएफसि फाइनान्सले ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

काठमाडौं । आइसिएफसि फाइनान्सले माघ ९ गते ऋणपत्र निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको जानकारी दिएको छ । कम्पनीका अनुसार १ लाख ८० हजार कित्ता अर्थात् १८ करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट र १ लाख २० हजार कित्ता अर्थात् १२ करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ । सर्वसाधारणलाई छुट्याईएको १ लाख २० हजार कित्ता मध्येबाट ६ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि बिक्री गरिने छ। ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। लगानीकर्ताले छिटोमा माघ १३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ २३ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । ७ वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने कम्पनीले जनाएको छ। ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

सानिमा रिलायन्स लाईफका सेयरधनीले कर तिरेपछि मात्रै बोनस सेयर पाउने

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योेरेन्स कम्पनीले सेयरधनीलाई बोनस सेयर वापतको कर भुक्तान गर्न अनुरोध गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९।०८० को बोनस सेयरको कर भुक्तान गर्न सेयरधनीलाई भनेको हो । तत्कालिन सानिमा लाईफ र रिलायन्स लाईफ एक आपसमा गाभिएर सानिमा रिलायन्सको नामबाट २०७९ चैत ९ गते एकिकृत कारोबार भएको थियो । आयकर ऐनमा भएको व्यवस्थ अनुसार गाभिएको मितिमा कायम सेयरधनीले २ वर्षसम्मको लाभांशको कर तिर्नु पर्दैन । तसर्थ उक्त दुई कम्पनी गाभिएको मिति २०७९ चैत ९ गते पछि बनेका सेयरधनीले मात्र बोनस सेयर वापतको कर जम्मा गर्न कम्पनीले अनुरोधद गरेको हो । कम्पनीले आव २०७९।०८० को मुनाफाबाट १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गरेको छ । २०७९ चैत ९ गतेपछि कायम सेयरधनीले सो बोनस वापत ५ प्रतिशत लाभकर भुक्तान गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ । कर वापतको रकम जम्मा गरेपछि मात्रै हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिने पनि कम्पनीले स्पष्ट पारेको छ । कर वापतको रकम एनएमबी बैंक रहेको सानिमा रिलयन्स डिभिडेण्ड ट्याक्स खाता नम्बर ९९०००५३६६७८००१७३ जम्मा गर्नुपर्ने जनाइएको छ । करको विवरण सानिमा रिलायन्स इन्स्योरेन्सको वेवसाइटमा गएर हेर्न सकिने पनि कम्पनीले जनाएको छ ।

सिँचाइ विभागका इञ्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा, खर्च १६ करोड गर्दा बैध आम्दानी ११ करोड मात्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इञ्जिनियर विष्णुकुमार श्रेष्ठ विरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले श्रेष्ठ सार्वजनिक सेवामा प्रवेशगरेदेखिको आर्जनको हिसाब किताब गरेको जनाएको छ । इञ्जिनियर श्रेष्ठ २०४६ असार ३० गते सरकारी सेवामा प्रवेश गरे । आयोगले सरकारी सेवामा प्रवेश गरेपछि २०७७ असार ३१ गतेसम्मको सम्पत्तिको विषयमा अध्ययन गरेको थियो । वैधानिक रुपमा श्रेष्ठले ११ करोड २५ लाख ६५ हजार एक सय ९९ बराबरको आर्जन गरेको पाइएको छ । यस्तै, १६ करोड १३ लाख ९५ हजार पाँच सय २८ बराबर लगानी एवम् खर्च गरेको पाइएको छ । चार करोड ८८ लाख ३० हजार तीन सय २९ बराबरको रकमको वैधानिक स्रोत नखुलेको आयोगले जनाएको छ । सार्वजनिक सेवामा रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक जीवनयापन गरेको पुष्टि भएको आयोगको ठहर छ । गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरिकुमार श्रेष्ठ, आमा इन्द्रकमारी श्रेष्ठ, छोरा विवेक श्रेष्ठसमेतको नाममा राखेको पाइएकाले सबैलाई प्रतिवादी बनाइ आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।