बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ । विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा कुनै पनि स्वास्थ्य केन्द्रको आकस्म्कि कक्षमा बिना कुनै सोधखोज अनिवार्य जीव्न रक्षको उपचार तत्काल शुरु गनुैपर्ने र सम्भव नभएका उपचार निकटतम केन्द्रमा सेवाको सुनिश्चितता गरी सुरक्षित रेफरको दायित्व सम्बन्धित केन्द्रको हुने व्यवस्था मिलाउने घोषणा गरेका थिए । सोही बुँदालाई आधार मानेर निर्देशिका जारी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले बिरामीको जीवनरक्षा र अस्पतालहरुमा चाप व्यवस्थापन यसको उद्देश्य रहेको बताए । एकातिर बिरामी कतै गए पछि बिनाकुनै ढिलाइ उपचार पाउनुपर्ने सुनिश्चित गर्न खोजेका हौं, उनले भने, अर्कोतिर अस्पतालहरुमा चापको व्यवस्थापनसमेत गर्ने लक्ष्य छ । निर्देशिकाले आकस्मिक तथा भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा अर्को अस्पतालमा नपुर्याउँदासम्मको जिम्मेवारी प्रथम अस्पतालको हुने निश्चित गरेको छ । जसअनुसार प्रथम बिन्दुको अस्पतालले त्यहाँ सम्भव नभएको उपचारका लागि मात्र नजिकको अस्पतालमा रेफर गर्नुपर्नेछ । यसैगरी, प्रथम बिन्दुको स्वास्थ्य संस्थाले बिरामीलाई रेफर गर्नुपूर्व सम्बन्धित अस्पतालमा सम्पर्क गरेर त्यहाँ उपचार, शैय्या तथा आवश्यक सेवा भए नभएको सुनिश्चित गर्दै समन्वय गर्नुपर्नेछ । निर्देशिकामा प्रत्येक अस्पताल, स्थानीय तह, प्रदेश र राष्ट्रियस्तरमा रेफरल एकाइ अनिवार्य हुने गरी व्यवस्था मिलाइएको छ । निर्देशिकामा बिरामीका बारे आवश्यक जानकारी साझा हुने भएकाले भैसकेको परीक्षण दोहोर्याउनु नपर्ने गरी थप जाँच हुने व्यवस्था गरिएको छ । अहिले सरकारी अस्पतालहरुमा बढिरहेको चाप कम गर्नका लागि आवश्यकताका आधारमा मात्र बिरामी रिफर गर्ने गरी निर्देशिका जारी भएको छ । बिरामीलाई आफू उपचार गर्न जाने ठाउँबारे पूर्ण अधिकार दिएको निर्देशिकाले उपचार सम्भव भएसम्म अस्पतालका तर्फबाट रिफर गर्ने कुरालाई भने नियन्त्रण गर्न खोजेको छ । स्थानीय तह, प्रदेश र संघीय तहमा व्यवस्था गरिएका रेफर एकाइले ती ठाउँको स्वस्थ्य सेवाको गुणस्तर र रेफर सम्बन्धमा स्वास्थ्य संस्थालाई निर्देशन दिने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।निर्देशिका यसैसाथ संमलग्न छ ।
२०२४ मा मर्सिडिज बेन्जको बिक्रीमा गिरावट
काठमाडौं । जर्मन लक्जरी कार निर्माता मर्सिडिज बेन्जको सन् २०२४ मा मुख्य कार बिक्रीमा गिरावट आएको छ । चीनमा कमजोर अर्थतन्त्रका कारण बिक्री घटेको कम्पनीले शुक्रबार जनाएकाे छ । यसको बावजुत पनि मर्सिडीजको सेयर ४ प्रतिशतले बढेको थियाे । कम्पनीको सेयर मूल्य २०२४ मा लगभग १५ प्रतिशतले घटेको थियो। स्टिफिल विश्लेषक डेनियल श्वार्जले तेस्रो त्रैमासिकको कमजोर प्रदर्शनपछि कम्पनीको उच्चस्तरीय सेग्मेन्टमा ३४ प्रतिशतको त्रैमासिक बिक्री वृद्धिलाई सकारात्मक संकेतको रूपमा औंल्याएका छन् । कम्पनीले २०२४ मा आफ्नो नाफा मार्जिन लक्ष्य दुई पटक घटाएको थियो र लागत कटौतीलाई तीव्र बनाउने योजना बनाएको छ । कम्पनीले २०२४ मा १९ लाख ८३ हजार ४०० कारहरू बेचेको छ, जुन २०२३ को तुलनामा ३ प्रतिशतले कम हो । चीनमा बिक्री ७ प्रतिशत र युरोपमा ३ प्रतिशतले घटेको छ । ब्याट्री-इलेक्ट्रिक कारहरूको वार्षिक बिक्री २३ प्रतिशतले घटेर १ लाख ८५ हजार १०० मा पुगेको छ, जसले नयाँ ईयू सीओटू उत्सर्जन कटौती लक्ष्यहरूको सामना गर्न थप चुनौती प्रस्तुत गरेको छ । युरोपेली प्रतिद्वन्द्वीहरूको बढ्दो संख्याले पनि मर्सिडिजको बिक्रीमा कमी आएकाे हाे। बजारको अवस्था निकट भविष्यमा सुधार हुने सम्भावना नभएकोले मर्सिडिजले आफ्नो मध्यकालीन नाफा लक्ष्य पनि घटाउने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले २०२४ को वित्तीय विवरण फेब्रुअरी २० मा सार्वजनिक गर्दैछ । होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने झन् सशक्त बन्दै बीवाईडी, अर्को वर्ष नयाँ पुस्ताको ब्लेड ब्याट्री लन्च गर्ने चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस
स्वस्थानी व्रतकथा प्रारम्भ (तस्बिरहरू)
काठमाडौं । आजदेखि स्वस्थानी व्रतकथा प्रराम्भ भएको छ । वैदिक सत्य सनातन परम्पराअनुसार आफ्ना वरपरका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमासअनुसार माघ महिनालाई विशेष रुपमा लिने गरिन्छ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजाआरधना गरिन्छ । सतीदेवीको अंग पतन भएका शक्तिपीठहरुमा विशेष मेला लाग्दछ । आजबाट काठमाडौंको शालीनदीमा स्नान गरी स्वस्थानी व्रतकथा प्रारम्भ गर्नेहरुको भीड रहेको छ । आइतबारदेखि नै व्रतालुहरु शालीनदीमा पुगि जाग्रम बसेर बिहानै स्नान गरी स्वस्थानी व्रत प्रारम्भ गरेका छन् । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रत प्रारम्भ गरिन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।
लुम्बिनी केबलकारको एक वर्षमै साढे १३ करोड आम्दानी, एक अर्ब ऋण
काठमाडौं । सञ्चालनमा आएको एक वर्षमै लुम्बिनी केबलकारले करिब साढे १३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । केबलकारले सन् २०२४ मा १३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको केबलकार गत आर्थिक वर्षदेखि सञ्चालनमा आएको थियो । यो केबलकार परियोजनाको स्टेशन पाल्लामा पर्दछ । केबलकार परियोजना सञ्चालनमा आइसके पनि होटल भने सञ्चालनमा आउन सकेको छैन । अहिले होटलको डिजाइनको काम भइरहेको छ । केबलकार र रिसोर्टसहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको लुम्बिनी केबलकार प्रालिले जनाएको छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र ननभेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काइवाक, जीपलाइन निर्माणको क्रममा छन् । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ । यस कम्पनीमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, रमेश शर्मा र हेमराज ढकालको लगानी छ । केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भएको थियो । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्याइरहेको छ । मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने कम्पनीको भनाइ छ । लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले सातै प्रदेशमा केबलकार बनाउने योजनाअनुरूप काम गरिरहेका छन् । केबलकारले एक अर्ब ऋणका लागि रेटिङ गराएको छ । कम्पनीले एलबी प्लस रेटिङ पाएको छ ।
पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ । आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो । यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा २७ दशमलव ४ किलोमिटर दूरीमा अन्तिम चरणको कालोपत्रकार्य सम्पन्न भएको पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा ६ सेन्टिमिटर र दोस्रो चरणमा चार सेन्टिमिटर गरी दश सेन्टिमिटर सडक कालोपत्र गरिएको छ । उक्त सडक खण्डमध्ये ६९ किमी सडक दूरीमा दुई लेनका सडक कालोपत्रकार्य सम्पन्न गरिएको पूर्वीखण्डका सूचना अधिकारी पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार अन्तिम चरणको कालोपत्र गर्ने काम भइरहेको छ । जिल्लाको डुम्रे, छिर्कन र दमौली खण्डमा निर्माण कार्य तीब्रगतिमा अघि बढाइएको छ । बन्दीपुर, आँबुखैरेनी र व्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढाइएको छ । पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरू गरिनेछ, अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढाइने आयोजनाले जनाएको छ । पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि कालोपत्र गरिँदै छ । दमौली बजारमासमेत सडक विस्तारका लागि अहिले नाली बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्र विन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम भइरहेको छ । यस खण्डमा साना चौध वटा पुल निर्माणकार्य सकिएका छन् । ठूला तीन वटामध्ये डुम्रे बजार नजिकैको एउटा पुल अन्तिम चरणमा पुगेको छ, दुई वटाको निर्माणकार्य सम्पन्न भइसकेको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ५० प्रतिशत बढी पूरा भइसकेको छ । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरू भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको थियो । यस खण्डको सम्झौता म्याद समाप्त भएपछि पुनः फागुन २ गतेसम्मका लागि म्याद थप गरिएको छ ।
ललितपुरमा नेपाटपले मनायो २५ औं वार्षिकोत्सव
काठमाडौं । नेपाटपले २५ औं वार्षिक उत्सव मनाएको छ । कम्पनीले शनिबार २५ औं वार्षिकोत्सव ललितपुरमा एक कार्यक्रम गरेर मनाएको हो । वार्षिक उत्सवको कार्यक्रममा कम्पनीले आफ्ना वितरक र डिलरहरूलाई सम्मानसमेत गरेको थियो । वार्षिक उत्सव कार्यक्रको प्रमुख अतिथिको नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश कुमार अग्रवाल थिए । अग्रवालले नेपाटपले २५ औं वर्ष पुरा गरेकोमा बधाई तथा शुभकामना पनि दिएका थिए । कार्यक्रममा कम्पनीका अध्यक्ष दिपक श्रेष्ठले नेपापटले २५ औं वार्षिकोत्सव मनाउन सफल भएको खुसी व्यक्ति गरेका थिए । विगतमा दुई साथी मिलेर ट्यांकी बनाउँदाको दिनदेखि २५ वर्षसम्म पुगेको इतिहास पनि श्रेष्ठले स्मरण गरेका थिए । अध्यक्ष श्रेष्ठले नेपाटप उत्कृष्ट प्रोडक्टहरु उत्पादन गरेकाले गर्दा आजको दिनमा यो स्थानसम्म आउन सकेको बताएका थिए । आफ्नो यात्रामा साथ दिने सबैलाई श्रेष्ठले कम्पनीको तर्फबाट धन्यवाद समेत दिएका थिए ।
भारतबाट आयात हुँदा नेपाली तरकारीले मूल्य पाएन, किसानलाइ लागत नउठ्ने चिन्ता
काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उनी जस्तै गाउँका अन्यलाई काउली काट्न त, कोही बजार लैजाने तयारीमा देखिन्छन् । सापकोटाले विगतमा जस्तै यसवर्ष पनि आफ्नो खेतमा रोपेकी थिइन्, तर काउलीको मूल्य घटीरहेकामा निकै चिन्तामा परेको बताउँछिन् । ‘मैले बारीभरी काउली रोपेको थिएँ, अहिले मध्य सिजन भएकाले होला काउली १५ रुपैयाँमा पनि बिकिरहेको छैन, लगानीसमेत नउठ्ने भयो’, सापकोटाले दुःखेसो पोखिन् । करिब महिनाअघिसम्म प्रतिकेजी एक सय रुपैयाँसम्ममा बिक्री भएको काउली अहिले एकाएक सस्तिएपछि यहाँका किसान निकै चिन्तामा छन् । उक्त वडाका करिब एक सय ३० किसान परिवारले आफ्नो खेतबारीमा काउली रोपेका थिए । तर भाउ नपाउँदा उनीहरूको लगानी जोखिममा परेको बताइन्छ । बारीमै छोडौँ नहुने, टिपेर बजार पठाउँदा ज्याला पनि नउठ्ने भइसकेकामा स्थानीय अर्का किसान सङ्गीता सापकोटालाई पनि निकै चिन्ता पर्न थालेको छ । ‘यहाँ यो सिजनमा दैनिक एक हजार केजीसम्म काउली उत्पादन हुने गरेको छ, तर बजारमा राम्रो मूल्या नपाउँदा भने लगानी र ज्यालासम्म नउठ्ने भए पनि घाटा ब्याहोर्न बाध्य भइयो’, उनले भनिन् । स्थानीय व्यापारीलाई तरकारी पठाउने गरेका यहाँका किसान आफूहरूलाई पायकपर्ने स्थानमा हाटबजार राखिदिन नगरपालिकासँग अनुरोध गरेको उनले बताइन् । स्थानीय चिरञ्जीवी सापकोटा दम्पतीलाई पनि हालका दिनमा काउली काट्ने र बजार लैजान तयारी गरिदिन हतारोनै हुने गरेको छ । साँझ व्यापारी तरकारी लिन आउने भएकाले उनीहरू समय मिलाएर काउली काट्न निस्कन्छिन् । व्यापारी तरकारी लिन बारीमै आउने र मोल नगरी लिएर जाने र बनेपा तथा काठमाडौंमा लगेर बिक्री गरेपछि आफूलाई नाफा राखेर पैसा दिने गरेको सापकोटाले बताइन् । उनी पनि आफूले गरेको मेहनतअनुसारको आम्दानी नपाएकोमा निकै चिन्तामा परेको बताउँछिन् । ‘व्यापारीलाई विश्वासकै भरमा तरकारी दिन्छौँ, समय नभएकाले हामी आफैँ बिक्री गर्न बजार जाँदैनौँ, त्यही भएर व्यापारीको भरपर्ने हो’, उनले भनिन् । उनले हाल व्यापारीले प्रतिकिलो काउली १० रुपैयाँका दरले पैसा दिएको बताइन् । सापकोटाले पाँच रोपनीमा लगाएको काउलीबाट गत वर्ष एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरेकी थिइन् । तर यस वर्ष मूल्य राम्रो नपाएकाले फाइदा निकाल्न सक्ने स्थितिमा नरहेको उनको भनाइ छ । यस वर्ष ८० हजार रुपैयाँ नकट्ने उनको अनुमान छ । हालसम्म स्थानीय किसानले काउलीको राम्रो मूल्य पाएको प्रतिकिलो १७ सम्म मात्रै हो । उपभोक्ताले बजारमा काउलीको मूल्य प्रतिकिलो ५० रूपैयाँसम्म तिर्दा पनि यहाँका किसानले भने १० देखि १५ रुपैयाँ मात्रै पाइरहेका छन् । गतवर्ष एउटै किसानले एक सिजनमा काउली, बन्दा र गोलभेडा बेचेर पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका थिए, तर यो वर्ष एक लाख रुपैयाँ उठाउन पनि कठिन देखिएको स्थानीयको भनाइ छ । सापकोटाको भनाइमा काउली फलाउन किसानले धेरै मेहनत गर्नुपर्छ, काउली रोप्न खेत वा बारी तयारी गर्ने, काउलीको बेर्ना तयारी गर्ने, रोप्ने, गोडमेल गर्ने, मलजल गर्ने, समय–समयमा कीटनाशक विषादी हाल्नेलगायत काम गर्नुपर्छ, यतिका काम गर्दा लागेको खर्च हालको बजार मूल्यले धान्न सक्दैन । ‘हाल किसानले प्रतिकिलो काउलीको मूल्य ३५ देखि ४० रुपैयाँसम्म पाउनसके लगानी उठाउन सकिनेछ’, सापकोटाले भने । तरकारीबाट उचित मूल्य नपाएपछि यहाँका किसानमा निराशा छाउँदै गएको अर्का किसान कृष्णप्रसाद सापकोटा बताउँछन् । उनी भन्छन्, ‘भारतबाट तरकारी आयात हुँदा नेपालका किसानले तरकारीको उचित मूल्य पाउँदैनन्, मौसमी काउली अहिलेको समयमा बढी उत्पादन भएकाले पनि उचित मूल्य नपाएको हो ।’ राम्चेबेँसीमा हरेक वर्ष तरकारीखेती हुन्छ । यहाँका सयौँ रोपनी जग्गामा किसानले मौसमी तथा बेमौसमी तरकारी रोप्दै आएका छन् । तर पछिल्ला केही वर्षयता भने मण्डनदेउपुरमा विविध कारण खेतीपातीमा लाग्ने किसान विस्तारै घट्न थालेको देखिएको छ । निकै दुःख गरेर उत्पादन गरे पनि बजारका राम्रो मूल्य नपाउँदा किसानले खेतीमा गरेको लाखौँ रूपैयाँ जोखिममा पर्ने गरेको घटना देखिएका छन् । मल, बीउ समयमा नपाउने र पाइए पनि महँङ्गो तिर्नुपर्ने कारण लाखौँ लगानी गर्नुपर्ने बाध्यता रहेको छ । रासस
वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
काठमाडौं । वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे । उनका दुई छोरा र तीन छोरी छन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए । पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत हुन् । केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।