विकासन्युज

एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भूटान भन्दा पनि कमजोर रहेको बताएका हुन् । उनले एआईलाई कसरी प्रयोग गर्ने भन्नेबारे नीति नै नरहेको भन्दै अहिलेको सरकारले एआई सञ्चालनका लागि नीति बनाएको बताए । उनले पोलिसी र स्टाटेजी पास भएपछि एआईको प्रयोग बढ्ने जानकारी दिए । सुशासन कायम गर्नका लागि नागरिक एपको भुमिका महत्वपूर्ण रहेको भन्दै सञ्चार मन्त्रालयले नागरिक एप सञ्चालनको जिम्मेवारी लिएको बताए । ‘एआईलाई कसरी प्रयोग गर्ने भन्ने विषयको पनि पोलिसी केही छैन । पोलिसी बनाएका छौँ हामीले । पोलिसी र स्टाटेजी पास भएपछि त्यो पनि अघि बढाउने र आजको दिनमा हामी साउथ एशियामै सबैभन्दा पछाडि छौँ,’ उनले भने । मन्त्री गुरुङले आम सञ्चार विधेयकमै अनलाइन सञ्चारमाध्यमलाई समेटेर व्यवस्थित गर्नेगरी विधेयक ल्याइने बताए ।

नेपाली बजारमा लन्च भयो ‘रेड्मी नोट फोर्टिन सिरिज’, गुगलको एआई ‘जेमिनी’को पनि सुविधा

काठमाडौं। साओमीले नेपाली बजारमा रेड्मी नोट फोर्टिन सिरिज सार्वजनिक गरेको छ। सोमबार ठमेलस्थित अलफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा गर्दै साओमीले आफ्नो मिडरेञ्ज फोन सार्वजनिक गरेको हो । कम्पनीले सोमबारदेखि नेपाली बजारमा यो सिरिज उपलब्ध गराएको हो । यसमा तीन ओटा फाइभजी मोडेल छन् भने एउटा फोरजी मोडेल रहेको छ । फाइभजीमा रेड्मी नोट फोर्टिन फाइभजी, रेड्मी नोट फोर्टिन प्रो फाइभजी र रेड्मी नोट फोर्टिन प्रो प्लस फाइभजी रहेका छन् । यसैगरी, फोरजी फोनमा रेड्मी नोट फोर्टिन फोरजी फोन रहेका छन् । जसमा रेड्मी नोट फोर्टिन सिरिजमा रेड्मी नोट फोर्टिन, रेड्मी नोट फोर्टिन फाइभ जी, रेड्मी नोट फोर्टिन प्रो फाइभ जी र रेड्मी नोट फोर्टिन प्रो प्लस फाइभ जी गरी ४ मोडलहरू रहेका छन् । यी सबै मोडलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता रहेको कम्पनीले जनाएको छ । हेर्नुहोस् केके छन् विशेषता नोट फोर्टिन प्रो र नोट फोर्टिन प्रो प्लस कम्पनीले यी फोनलाई फ्ल्यागशिप स्तरका फोन भनेको छ । यस फोनको विशेष आकर्षण यसमा भएको एआई फिचर हो । एआईद्वारा सञ्चालित नयाँ क्यामेरा सिस्टमले स्तरीय फोटो खिच्ने कम्पनीले दाबी गरेको छ । यसमा स्तरीय फोटो डेलिभर गर्नका लागि कम्पनीले २०० मेगापिक्सेल प्रो-ग्रेड ओआईएस मुख्य क्यामेरा सिस्टम उपलब्ध गराएको जनाएको छ । यसले स्टेबल भिडिओ खिच्न सक्ने जनाइएको छ । अँध्यारोमा खिचेका फोटोलाई अझ स्तरीय बनाउन साओमीले यसमा स्मार्ट आईएसओ प्रो सिस्टम उपलब्ध गराएको छ । यसमा एआईले फोटो खिच्नेदेखि एडिट गर्ने कामसम्म सघाउने कम्पनीको दाबी छ । एआई फिचरमा एआई अल्ट्रा क्लियर पोर्ट्रेट, एआई ब्युटी, एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन, एआई बुके, एआई कटआउट लगायतका फिचर राखिएका छन् । पानी र धुलोबाट जोगाउन यी दुई मोडेलले आपी ६८ रेटिङ पाएका छन् । त्यस्तै, यी मोडेलमा १.५ के एमोलेड डिस्प्ले रहेको छ । यी मोडेलमा उच्चतम ३००० निट्स रहेको छ । रिफ्रेसरेटको सन्दर्भमा भने प्रो मोडेलमा १२० हर्ज रिफ्रेस रेट रहेको छ । प्रो प्लस फाइभजीमा स्न्यापड्रागन सेभेन एस जेन थ्री चिपसेट प्रयोग गरिएको छ । त्यस्तै, यो मोडल ८ र १२ जीबी र्‍याम तथा २५६ र ५१२ जीबी स्टोरेजमा उपलब्ध छ । यस मोडेलमा ५११० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसलाई चार्ज गर्नका लागि १२० वाटको हाइपर चार्जर उपलब्ध गराइएको छ । यस मोडेलको सुरुवाती मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी, फोर्टिन प्रोमा मिडियाटेक डाइमेन्सिटी ७ हजार ३०० अल्ट्रा चिपसेट दिइएको छ । यो मोडल ८ र १२ जीबी र्‍याम तथा २५६ र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसमा ५११० एमएएच क्षमताको ब्याट्री छ भने ४५ वाटको टर्बो चार्जिङ दिइएको छ । यस मोडेलको सुरुवाती मूल्य ४९ हजार ९९९ रुपैयाँ रहेको छ । नोट फोर्टिन सिरिजअन्तर्गत रेड्मीको बेस भेटियन्सको सुरुवाती मूल्य ३० हजार ९९९ रुपैयाँ तोकिएको छ । यो आठ जीबी र्‍याम भेरियन्ट र २५६ जीबी इन्टर्नल स्टोर भेरियन्टमा सार्वजनिक गरिएको छ । यसमा १०८ मेगापिक्सेलको ओआईएस क्यामेरा रहेको छ भने १४ वाटको टर्बो चार्जर उपब्ध गराइएको छ । रेड्मी नोट फोर्टिन फाइभ जी रेड्मी नोट फोर्टिन फाइभ जीमा आईपी ६४ डस्ट र स्प्ल्याश रेजिस्टेन्स सुविधा रहेको छ । दैनिक प्रयोगमा आउन सक्ने चुनौतीलाई सजिलै सामना गर्न यो डिभाइस सक्षम भएको कम्पनीको दाबी छ । यसमा कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ भने यो मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन कलर भेरियन्टमा उपलब्ध छ । मिडियाटेक डाइमेन्सिटी ७०२५-अल्ट्रा चिपसेटले यस स्मार्टफोनलाई मल्टिटास्किङ, गेमिङ र एपहरूको प्रयोगमा सहज बनाउने कम्पनीले उल्लेख गरेको छ । ८ जीबी २५६ जीबी र १२ जीबी ५१२ जीबी स्टोरेज भेरियन्टमा यो मोडल उपलब्ध छ । यसमा ५११० एमएएच क्षमताको ब्याट्री छ भने त्यसलाई चार्ज गर्न ४५ वाटको टर्बो चार्जर उपलब्ध गराइएको छ । यसमा ओआईएस सहितको १०८ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । त्यस्तै, यसमा ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा पाउन सकिन्छ । गुगल जेमिनी थ्री, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ जस्ता एआई फिचर यस मोडेलमा पाउन सकिन्छ । यसको सुरुवाती मूल्य कम्पनीले ३९ हजार ९९९ रुपैयाँ तोकेको छ  । रेड्मी नोट फोर्टिन फोर जी यस मोडेलमा मिडियाटेक हेलियो जी ९९- अल्ट्रा प्रोसेसर ६ एनएम प्रोसेसर दिइएको छ । यो मोडल ६ जीबी  १२८ जीबी र ८ जीबी  २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । १०८ मेगापिक्सेलको एआई क्यामरा सिस्टम रहेको यस मोडेलमा २ मेगापिक्सेलको डेप्थ क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामरा दिएको छ । सेल्फी पारखीका लागि यसमा २० मेगापिक्सेल क्यामेरा दिइएको छ । ५ हजार ५०० एमएएच क्षमताको ब्याट्री भएको यस फोनमा कम्पनीले ३३ वाटको टर्बो चार्जिङ सुविधा दिएको छ । यो फोन एक पटकको चार्जमा १४ घण्टासम्म टिक्ने दाबी कम्पनीको छ । यसमा पनि गुगल जेमिनी थ्री, एआई इरेज, एआई स्काई र एआई ब्युटिफाइ जस्ता एआई फिचर प्रयोग गर्न सकिन्छ । यसको बेस स्टोरेज भेरियन्सको मूल्य २४ हजार ९९९ र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्सको मूल्य २७ हजार ९९९ रुपैयाँ रुपैयाँ निर्धारण गरिएको छ । ग्राहकहरूको अनुभवलाई नयाँपन दिने विश्वास कम्पनीले लिएको छ । सबै नेपाली ग्राहकमा शाओमीको उच्चस्तरलाई विशेष ध्यान दिइएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले जानकारी दिए । उनले भने, ‘शाओमीको मुख्य उद्देश्य भनेको स्मार्टफोनले दिन सक्ने अनुभवलाई जतिसक्दो बढाउने रहेको छ । रेड्मी नोट फोर्टिन सिरिज पनि यसबाट अलग छैन । फ्ल्यागशिप-स्तरका क्यामरा, शक्तिशाली प्रोसेसर र उत्कृष्ट टिकाउपनका साथमा आकर्षक डिजाइनमा उपलब्ध यी डिभाइसहरूले नेपाली स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त रहेका छौं ।’ यस्तै, कार्यक्रममा सञ्चारकर्मी र प्राविधिक विशेषज्ञहरू तथा आधिकारिक डिलरहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सोमबार काठमाडौंमा १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरूसमक्ष आफ्ना गुणस्तरीय सेवाहरू प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताए । उनले बैंकिङ क्षेत्रमा विद्यमान प्रतिस्पर्धाको सामना गर्न बैंकले आफ्नो प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै समय सान्दर्भिक कार्य पद्धतिको विकास गर्ने उद्धेश्यले बैंकका आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिहरुमा समय सापेक्ष परिमार्जन गर्दै आएको छ । बैंकले संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेको बताए । ‍सभामा बैंकका सेयरधनीहरू क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनिहरुको उपस्थिति रहेको थियो । अध्यक्ष ढुङ्गानाले प्रस्तुत गरेको प्रतिवेदन माथि सेयरधनीहरुले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण राखेका थिए । उक्त टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाले जवाफ दिएका थिए । उक्त सभामा बैंक सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, सुशिल घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापाको उपस्थिति रहेको थियो । सभामा बाह्य लेखापरीक्षकहरू, बैंकका कानुनी सल्लाहकारहरूलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । सभालाई कम्पनी सचिव प्रमोद अधिकारीले सहजीकरण गरेका थिए ।

लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पन कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गरेका छन् । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुठ र नकारात्मकता फैलाइएकामा चिन्ता व्यक्त गरे । उनले कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट गरे । उनले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्‍ याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याए पनि विरोध आएपछि फिर्ता लिएको बताए । तत्कालीन समयमा विरोध गर्नेहरुले नै पछि २० प्रतिशत सांसदले विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गर्दै उनीहरुले नै अहिले अध्यादेशको विरोध गरिरहेको उनको भनाइ थियो । तर आफूले भने त्यसो गर्ने कुनै मनसाय नरहेको पनि प्रधानमन्त्रीले उल्लेख गरे । प्रधानमन्त्री ओलीले मुलुक विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको बताए । उनले सो विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोध गरेको भनी झुठो वक्तव्य प्रचार गरिएको उल्लेख गर्दै यस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिए । यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासङ्घले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । उनले जारी नै नभएको अध्यादेशलाई रातिराति जारी गर्‍यो भनेर सम्प्रेषण गरिएको उल्लेख गर्दै मुलुक र जनताका पक्षमा आफूहरुले दिनरात नभनी काम गरेको बताए । ‘हामी १०-५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारी बोध गरेर दिउँसो वा राति काम हुुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो’, प्रधानमन्त्री ओलीले प्रश्नात्मक शैलीमा भने, ‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र ?’ सरकारले विभिन्न नाममा हुने कीर्ते र जाली काम रोक्ने गरी कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने र त्यसमा राज्यको भूमिका हुनेमा विश्वास व्यक्त गरे । सो अवसरमा महासङ्घका अध्यक्ष निर्मला शर्मासहितका पदाधिकारी र सदस्यलाई प्रधानमन्त्री ओलीले बधाई दिएका थिए । महासङ्घ अध्यक्ष शर्मा र महासचिव रामप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । अध्यक्ष शर्माले महासङ्घको निर्वाचन हुन विविध कारणले ढिलाइ भए पनि यसपटक महिला अध्यक्ष भएर इतिहास रचिएको उल्लेख गर्दै यसमा राजनीतिक दल, पत्रकारिताका सङ्गठन र पत्रकारको साथ रहेको बताए ।

एप्पलमा ‘नवप्रवर्तन’को अभाव र ‘मनपरि नियम’ भएको जुकरबर्गको आरोप

काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले हालैको एक पोडकास्ट अन्तर्वार्तामा एप्पलको आलोचना गरेका छन् । उनले एप्पलमा नवप्रवर्तनको अभाव भएकाे र मनपरी नियमको आलोचना गरे । ‘एकातिर आइफोन उत्कृष्ट भएको छ, किनकि अब संसारमा लगभग सबैसँग फोन छ र त्यसले धेरै अद्भूत चीजहरूलाई सक्षम बनाउँछ,’ जुकरबर्गले  ‘जो रोगन एक्सपेरियन्स’ को एक एपिसोडमा भनेका छन्, ‘तर अर्कोतर्फ … तिनीहरूले त्यो प्लेटफर्म प्रयोग गरेर धेरै नियम राखेका छन् जुन मलाई मनोमानी लाग्छ ।’ ‘मलाई लाग्छ कि एप्पलले केही समयदेखि केही महान आविष्कार गरेकाे छैन । यो स्टिभ जब्सले आइफोन आविष्कार गरेजस्तै हो र अहिले २० वर्षपछि पनि कम्पनी त्यसैगरी बसिरहेकाे छ,’उनले थपे । जुकरबर्गले आइफोनले बिक्री संघर्ष गरिरहेको आफूले सोचिरहेको बताए । उनका अनुसार उपभोक्ताहरूले आफ्नो फोन अपग्रेड गर्न धेरै समय लिइरहेका छन् किनभने नयाँ मोडलहरू अघिल्ला मोडलभन्दा खासै सुधार भएका छैनन् । जुकरबर्गले एप्पलको ३० प्रतिशत डेभलपर शुल्क र तेस्रो पक्ष उपकरणहरूको सीमित पहुँचको पनि आलोचना गरे । उनले भने, ‘उनीहरूले एयरपड्सजस्ता उत्पादनहरू बनाउँछन्, जुन राम्रो छ तर अरू कसैलाई पनि आइफोनसँग सजिलै जडान गर्नसक्ने उपकरण बनाउन पूर्ण रूपमा रोक लगाएका छन् ।’ एप्पलले उपभोक्ताको गोपनीयता र सुरक्षालाई कारण देखाएर आफ्नो नीति बचाऊ गर्ने गरेकोमा जुकरबर्गले भने, ‘यो असुरक्षित छ किनभने तपाईंहरूले यसमा कुनै सुरक्षा निर्माण गर्नुभएको छैन ।’ उनले एप्पलको ‘मनपरी नियमहरू’ हटाइए मेटाको नाफा दोब्बर हुन सक्ने दाबी पनि गरे । एप्पलको भिजन प्रो हेडसेटको आलोचना गर्दै उनले भने, ‘एप्पलले ३ हजार ५०० डलरमा यस्तो केही पठाए जुन हामीले ३०० वा ४०० मा पठाएको भन्दा खराब छ ।’ भिजन प्रो हेडसेटको बिक्री अमेरिकामा निराशाजनक थियो । मेटाले मेटा क्वेस्ट भनिने आफ्नै भर्चुअल हेडसेटहरू बेच्दै आइरहेको छ। जुकरबर्गको यो टिप्पणीले एप्पल र मेटाबीचको प्रतिस्पर्धालाई थप उजागर गरेको छ ।

जीवन विकासको अध्यक्षमा बिक्रमराज सुवेदी

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा बिक्रमराज सुवेदी चयन भएका छन् । आइतबार संस्थापक समूहबाट सुवेदीसँगै प्रकाशकुमार श्रेष्ठ, श्यामचन्द्र खतिवडा र इन्द्रनारायण देव वैश्य सञ्चालकमा निर्वाचित भएका थिए । आइतबार नै बसेको सञ्चालक समितिको बैठकाे सुवेदीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । जीवन विकासको संस्थापक समूहबाटको प्रतिनिधित्व गर्ने सुबेदी यसअघि पनि अध्यक्ष थिए । आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको छैंटौं साधारणसभामा संस्थापक समूहबाट चार सञ्चालक सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । निर्वाचनमा सुवेदीसँगै श्रेष्ठ, खतिवडा र देव दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । निर्वाचित सञ्चालक समितिको पदावधी चार वर्षको हुनेछ । सञ्चालकको निर्वाचनमा संस्थापक सेयर सदस्यहरुले मतदान गर्न पाउँछन् । लघुवित्तको केन्द्रीय कार्यालयमा भएको साधारणसभाले १४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको थियो । जीवन विकास समाजद्धारा प्रवद्धित जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० वटा शाखा मार्फत ३१ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको छ । जीवन विकासको कुल सम्पति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार छ । १० अर्ब ५३ करोड ३० लाख निक्षेप संकलन गरेको जीवन विकासले २७ अर्ब २१ करोड ४४ लाख ५० हजार रुपैयाँ रुपैयाँ लगानी गरेको छ ।

मोबाईल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्दै, एकै महिनामा हुन्छ पौने ४ खर्बको कारोबार

काठमाडौं । पछिल्ला वर्षहरुमा मोबाईल बैंकिङ प्रयोगकर्ताहरु बढ्दै गएको छ । पछिल्लो एक वर्षमा मोबाईल बैंकिङ प्रयोग गर्नेको संख्या ३४ लाख ९ हजारले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार २०८० मसिंर मसान्तसम्म मोबाईल बैंकिङ प्रयोगकर्ताको संख्सा २ करोड २६ लाख २४ हजार ६०७ थियो । २०८१ को मसिंर मसान्तसम्म आइपुग्दा मोबाईल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ६० ला ३४ हजार ३५४ पुगेको छ । कारोबार पनि बढेको बढै मोबाईल बैंकिङका प्रयोगकर्ता बढेसँगै यसबाट हुने कारोबार पनि बढदै गएको छ । २०८० मसिंर महिनामा मोबाईल बैंकिङबाट ३ करोड १३ लाख २७ हजार ६५९ पटक टान्सफर हुँदा २ खर्ब ६३ अर्ब ४६ करोड बढीको कारोबार भएको थियो । २०८१ मसिंर महिनामा मोबाईल बैंकिङबाट ३ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कार्तिक महिनामा ३ खर्ब ७४ अर्ब ६६ करोड भन्दा धेरै रुपैयाँको कारोबार भएको थियो । २०८१ मसिंर महिनामा मोबाईल बैंकिङबाट ४ करोड ७४ लाख ४६ हजार ९४८ पटक टान्सफर भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कार्तिक महिनामा मोबाईल बैंकिङमार्फत ४ करोड ३९ लाख ८२ हजार २८४ पटक टान्सफर भएको थियो ।

सुविधासम्पन्न निजी अस्पतालभन्दा सरकारी पेइङ क्लिनिक महँगा, मनपरि शुल्क

काठमाडौं । काठमाडौं कपनकी कृशा विश्वकर्मा गत शुक्रबार शिक्षण अस्पताल महाराजगञ्ज पुगिन् । छोरीको अनुहारमा धब्बाजस्तो दाग बस्दा उनी उपचारको लागि  अस्पताल पुगिन् ।  अस्पताल पुग्दा दिउँसोको  १ बजिसकेको थियो । सरकारी अस्पतालमा १ बजे टिकट काउन्टर बन्द भइसक्छ । उनले काउन्टर नजिकै रहेको सहायता कक्षमा सोधिन् । त्यहाँ सोधिसकेपछि उनले थाहा पाइन् कि सरकारी काउन्टरको टिकट बन्द भएपनि विस्तारित अस्पताल सेवा (ईएचएस)बाट टिकट पाइन्छ । उनी सिधै त्यहाँ गइन् । तर, त्यहाँ टिकटकै शुल्क थियो ८ सय ५० रूपैयाँ । यति धेरै महँगोमा टिकट काट्ने कि नकाट्ने ? कृशा एकैछिन अलमलमा परिन् । त्यसपछि उनले त्यही टिकट लिइन् । ‘अस्पताल पुगेर फर्कनुभन्दा महँगो भएपनि जाँच गरेर फर्किउँ भन्ने भयो,’ अस्पतालमा भेटिएकी कृशा भन्छिन्,‘ सरकारी अस्पतालमा पनि निजी अस्पतालभन्दा महँगो शुल्क हुँदो रहेछ मलाई थाहा थिएन, अब टिकट काटिसकेँ, डाक्टरलाई देखाएरै घर फर्किनु पर्ला ।’ बाजुराका समीप बोहरा अहिले १८ वर्षका भए । उनलाई मनोपरामर्शसँगै उपचारका लागि उनका दाजु नाता पर्ने डम्बर बोहरा टिचिङ अस्पताल लिएर आए । उनले पनि अस्पतालको काउन्टर बन्द हुँदा ८ सय ५० रूपैयाँमै टिकट काटे । उनी सरकारी अस्पतालको नाममा खोलिएका यस्ता पेइङ क्लिनक पैसा कमाउने बाटोको रूपमा सञ्चालनमा ल्याएको बताउँछन् । ‘हामी सरकारी अस्पताल भनेर आउँछौं, यहाँ काउन्टर छिट्टै बन्द हुने रहेछन्,’ उनी भन्छन्, ‘उता काउन्टर बन्द गरेर बिरामीलाई यताको काउन्टर देखाउँछन्, टाढाबाट आएका हामी फर्केर जानुभन्दा महँगो भएपनि यहीँ टिकट काट्न बाध्य हुन्छौं ।’  ओखलढुङ्गाका शिव शर्माले सरकारी अस्पतालले शुक्रबार १ बजे र अन्य दिन ४ बजे नै टिकट बन्द गरेर सर्वसाधारणबाट चर्को शुल्क लिइरहेको बताए । ‘टाढाबाट आउनुपर्छ, जसरी भएपनि उपचार गराएरै जाऊँ भन्ने हुन्छ । तर, अस्पतालमा भने ४ नबज्दै काउण्टरको ढोका बन्द हुन्छ,’ उनी भन्छन्, ‘सरकारी अस्पताल भन्नु मात्र हो, के-के जाँच गर्न लगाई दोब्बर बढी शुल्क असुल गर्छन् ।’  सरकारले सञ्चालनमा ल्याएका सरकारी र अर्ध-सरकारी अधिकांश अस्पतालमा पेइङ क्लिनिक राखेको छ ।  पेइङ क्लिनिक भनेको त्यस्तो स्वास्थ्य केन्द्र सेवा हो, जहाँ बिरामीहरूले डाक्टर भेट्न लाइनमा बसिरहनु पर्दैन । टिकट काट्नेबित्तिकै उसले डाक्टरसँग भेट्न र सल्लाह लिन सक्छ । तर, यसरी छिटो र सुलभ उपचारको लागि भने बिरामीले छुट्टै शुल्क तिर्नुपर्छ । सरकारी अस्पतालले सञ्चालनमा ल्याएका यस्ता पेइङ अस्पतालका अनुसार टिकट मूल्य फरक-फरक छ । यहाँ प्राध्यापक डाक्टरलाई भेट्न ८ सय ५०, सह-प्राध्यापक डाक्टरका लागि ७ सय ५० र अन्य डाको लागि ६ सय ५० शुल्क तोकिएको छ । क्लिनिकका एक कर्मचारीका अनुसार टिकटको मात्र होइन, अन्य उपचार खर्च पनि महँगो छ । उनी भन्छन्, ‘सामान्यमा शुल्क सय रुपैयाँ छ भने यहाँ चिकित्सकअनुसार मूल्य फरक छ, अन्य उपचारमा पनि सामान्यभन्दा ३५ देखि ४० प्रतिशत उपचार महँगो छ ।’ शुक्रबार दिनेको १ बजे पछि र अन्य दिन ४ बजेपछि सुरु हुने क्लिनिकमा दैनिक डेढ सय बढीले सेवा लिइरहेको अस्पतालले दाबी गरेको छ ।  टिचिङमा मात्र होइन, अन्य अस्पतालमा पनि शुल्क फरक-फरक छ । कतिपय अस्पतालका पेइङ क्लिनिकको शुल्क भने ठूला निजी अस्पतालको भन्दा पनि निकै महँगो रहेको पाइएको छ । उपत्यकामा रहेका निजी र नाम चलेका ठूला अस्पताल ग्राण्डी इन्टरनेसनल अस्पताल, ह्याम्स अस्पतालको भन्दा महँगो टिचिङ अस्पतालले सञ्चालनमा ल्याएको पेइङ क्लिनिकको टिकट छ । काठमाडौंको ग्राडी इन्टरनेसनल अस्पतालको टिकट शुल्क ८ सय २५ रुपैयाँ छ । यस्तै, नाम चलेको ठूलो अस्पताल ह्याम्सको शुल्क ८ सय रुपैयाँ छ भने ओम अस्पतालमा ७ सय रुपैयाँ शुल्क तोकिएको छ । गर्भवतीका लागि ६ सय शुल्क सिन्धुलीकी सविना कार्कीको महिनावारी रोकिएको तीन महिना भयो । रगत देखापर्ने र पेट दुख्न थालेपछि उनी शुक्रबार पाटन अस्पताल पुगिन् । दिउँसो काममा गएकी उनी गाह्रो भएपछि अस्पताल पुगिन् । उनी अस्पताल पुग्दा ३ बज्न लागिसकेको थियो । त्यहाँ पनि टिकट काउन्टर बन्द भइसकेको थियो । अस्पताल पुगिसकेकी उनलाई पनि जाँच नगराइ घर जान मन लागेन । उनी अस्पताल भित्रै रहेको पाटन प्राइभेट क्लिनिकमा पुगिन् । अस्पतालमा ७० रुपैयाँ पर्ने टिकटलाई प्राइभेटमा ६ सय रुपैयाँ लाग्यो । टिकट काउण्टरमा भेटिएकी उनी भन्छिन्, ‘सस्तो हुन्छ भन्ने लागेर यो अस्पताल आएँ, यहाँ त सरकारी अस्पतालभित्र पनि प्राइभेट हुँदो रहेछ, मलाई थाहा थिएन  । ६ सय रुपैयाँ धेरै महँगो भयो ।’ पाटन अस्पतालको प्राइभेट क्लिनिकमा गर्भवती महिलाको जाँचका लागि ६ सय र अन्य जाँचका लागि ५ सय रुपैयाँ शुल्क लिने गरेको छ । जनरलतर्फ दैनिक १ हजार बढी बिरामी आउँदा अस्पतालभित्रै रहेको पेइङ क्लिनिकमा भने दैनिक तीन सय बढीले सेवा लिने गरेको अस्पतालका सूचना अधिकारी डा. रवि शाक्य बताउँछन् । उनका अनुसार शुल्क केही महँगो भएपनि सेवाग्राहीको सहजताकै लागि यो व्यवस्था सुरु गरेकोगरिएकाे हाे । थापाथली अस्पतालमा पनि दिउँसो तीन बजेपछि सञ्चालनमा आउने क्लिनिक शुल्क महँगो छ । यहाँ पनि ५ सय रुपैयाँ शुल्क तोकिएको छ जबकि अस्पतालमा लाइनमा बस्नेले ४० रुपैयाँमा टिकट पाउँछन् । महँगो भएकाे सेवाग्राहीकाे गुनासो सरकारी अस्पतालमा उपचार सस्तो हुने आशामा नागरिक सरकारी अस्पतालमा पुग्छन् । तर, त्यहाँ समयमा उपचार नपाउनुको समस्या एकातिर छ भने अर्कोतिर दिनभरि लाइनमा बसेर फर्कनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा महँगै भएपनि सेवाग्राही पेइङ क्लिनकमा पुग्छन् । तर, त्यहाँ ठूला निजी अस्पतालको भन्दा चर्को मूल्य तिर्नुपर्ने बाध्यता छ । ओखलढुङ्गाका शिव शर्मा नागरिकलाई पनि महँगो नपर्ने, क्लिनिकलाई पनि घाटा नहुने हिसाबले शुल्क निर्धाण गर्नुपर्ने बताउँछन् । पेइङ क्लिनिकमा गइ सेवा लिने अधिकांशले शुल्क महँगो भएको गुनासो गरेका छन् । छिटो सेवा लिने यो सेवा सहज भएपनि टिकटदेखि अन्य उपचार सेवा निकै महँगो भएको गुनासो गरेका छन् । यता अस्पतालले भने सरकाले तोके बमोजिमकै शुल्क लिएको दाबी गरेको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. सामारिका दाहाल भन्छिन्, ‘हामीले मनलाग्दी शुल्क लिएका छैनौं, कुन तहका चिकित्सकले कति शुल्क लिने भन्ने स्पष्ट प्रावधान छ, हामीले कानुनमै टेकेर शुल्क लिइरहेका छौं ।’ यहाँबाट लिएको शुल्क चिकित्सकले नलिने बताउँदै उनी यो पैसा पनि अस्पतालकै नाममा जाने बताउँछिन् । क्लिनकमा केही महँगो भएको स्वीकार्दै थप्छिन्, ‘हामीले बढी शुल्क लिएर पैसा लिँदैनौं, यहाँ पनि चिकित्सक, डाक्टरदेखि विभिन्न कर्मचारी छन् र यो रकम अस्पतालककै नाममा जान्छ ।’  सरकारी अस्पताल र पेइङ क्लिनिकमा उपचार गर्ने चिकित्सक एउटै हुन् । उनीहरूले यताको ड्युटी सकेर पेइङमा आएका बिरामीको उपचार गर्छन् । अस्पतालभित्रकै चिकित्सक र नर्सहरूको टोलीले ओभर टाइम गरेर क्लिनकमा आएका बिरामीको हेरचाह गर्ने गर्छन् ।  मन्त्रालयमा पनि गुनासाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो विषयमा नागरिकको गुनासो व्यापक आइहेको बताएको छ । मन्त्रालयका सूचना अधिकारी डा.भक्तबहादुर केसी जथाभावी शुल्क लिन नमिल्ने बताउँदै मन्त्रालयले शुल्क निर्धारणको गर्ने कार्ययोजना बनाइरहेको बताए । ‘यो विषय मन्त्रालयमा धेरै पटक आइसकेको छ, हामीसँग पनि नागरिकले गुनासो गरिरहेका छन्,’ उनी भन्छन्, ‘अब मन्त्रालयले यो विषयमा शुल्क निर्धाण गर्ने योजना बनाइरहेको छ । कुनै पनि सरकारी अस्पतालले सञ्चालनमा ल्याएको पेइङ क्लिनिकले मनपरी शुल्क लिन पाउँदैनन् ।’  स्वास्थ्यमन्त्रीका वाचा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडलले नागरिकले सुलभ तरिकाले नागरिकले सेवा पाउनुपर्ने भन्दै जोडदार बहस गरिरहेका छन् । उनले मन्त्रीको रूपमा शपथ खाइसकेपछि स्वास्थ्य क्षेत्रको सुधारका लागि लागिपरेका छन् । तर, उनले गरेका कुनै पनि निर्णय अहिलेसम्म लागू भने हुन सकेका छैनन् । उनले सबै सरकारी अस्पतालमा नागरिकले लाइनमा बस्न नपर्ने गरी काम गर्ने बताएपनि अहिले पनि अस्पतालको अवस्था उस्तै छ । सार्वजनिक बिदाको दिनमा समेत सरकारी अस्पतालले सेवा दिनुपर्ने बताइरहेको सरकारले भनेको कुरा व्यवहारमा लागू गर्न भने सकिइरहेको छैन । उसो त यो विषयमा स्वास्थ्यमन्त्री पौडेलले पनि जनगुनासाे सुनेका छन् । उनले सरकारी अस्पतालभित्र रहेका पेइङ क्लिनिकले सेवाग्रहाीलाई सहज भएपनि शुल्क चर्को लिन नमिल्ने बताए ।