शिवम् सिमेन्टको साधारणबाट ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको वार्षिक साधारण सभाले सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल कायम ५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजीको आधारमा ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको उद्योगले जनाएको छ । काठमाडौंको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सोमबार सम्पन्न साधारण सभाले कम्पनीको वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका विवरण समेत पारित गरेको छ । यसैगरी साधारण सभाले आगामी आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ । शिवम् सिमेन्टका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न साधारण सभाले बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता र जारी पूँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैयाँ पुर्याउने निर्णय समेत पारित गरेको छ ।
राष्ट्रिय कृषि कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त
काठमाडौं । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरेको छ । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष विशाल हुमागाईं र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । ‘माटोदेखि सफलतासम’ भन्ने यसको मूल नाराका साथ २०८१ साल वैशाख २७ गते नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकरण र कृषक सशक्तिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको स्थापना भएको हो । कम्पनीले कृषिलाई सजायको पेशाबाट गर्वको पेशामा रूपान्तरण गर्न विभिन्न कृषि उद्योग स्थापना गर्दै नेतृत्वदायी मानव संशाधन विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ । कम्पनीले कृषिको ई-कमर्श र मार्केटप्लेस स्थापना गरी कृषक र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्ने कामका साथै कृषि बजार सञ्चालन, शीतभण्डार सञ्चालन, डल्ले च्याउ उत्पादन, कम्पोस्ट उत्पादन र क्यानिङ उद्योग स्थापनाजस्ता महत्त्वपूर्ण कार्यहरू तथा कृषि पर्यटनको अवधारणालाई समेत अघि बढाउँदै कृषिको क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको मेरुदण्ड बनाउन प्रयासरत रहेको छ । दीर्घकालीन लक्ष्यहरूलाई वित्तीय आधार प्रदान गर्दै राष्ट्रिय कृषि कम्पनी नेपालले कृषक र उपभोक्ताको हितका लागि कृषि क्षेत्रको रूपान्तरणमा नेतृत्वदायी भूमिका खेल्न दृढ रहने जनाएको छ । लोकन्थली, भक्तपुरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको हाल जनकपुर शाखा सञ्चालनमा रहेको छ । निकट भविष्यमा सातै प्रदेशका विभिन्न जिल्लामा १२ शाखा स्थापना गरी कृषक र उपभोक्तालाई अझ बढी प्रभावकारी सेवा दिने कम्पनीको योजना रहेको छ । शाखाले कृषि उत्पादनको बजारीकरण, शीत भण्डारण सेवा, तालिम र परामर्श र कृषि उपकरण तथा मलको वितरण लगायत कार्य गर्नेछ । अधिकृत पूँजी ५० करोड रुपैयाँ, जारी पूँजी २५ करोड रुपैयाँ रहेकोमा भविष्यमा ५० करोड रुपैयाँ जारी पूँजी पुर्याउने योजना रहेको यस कम्पनीमा हाल ७०० भन्दा बढी संस्थापकहरू आवद्ध भइसकेका छन् ।
लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको पहिलो वार्षिक साधारणसभा सम्पन्न
काठमाडाैं । लक्ष्मी सनराइज बैंक प्रायोजक र लक्ष्मी सनराइज क्यापिटल कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको पहिलो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । नवीकरणीय ऊर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिका लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले विभिन्न जलविद्युत तथा दिगो ऊर्जा क्षेत्रमा लगानी गरेको छ । लक्ष्मी सस्टनेवल इनर्जी फण्ड नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त प्राइभेट इक्विटी कोषको आकार एक अर्ब रूपैयाँको रहेको छ । कोषमा संकलित रकमको ९० प्रतिशत रकम दिगो ऊर्जा क्षेत्रमा लगानीका लागि विनियोजन गरेको छ र १० प्रतिशत रकम अन्य विविध क्षेत्रमा लगानी गर्ने कोषको योजना रहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोमबार सम्पन्न भएको साधारणसभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोड ९ लाखको ३.६५१६ प्रतिशत बराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब ५५ करोड ६२ लाख पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ । बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय, ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।
लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरिएको छ । साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र ४ प्रतिशत नगद लाभांश तथा ३ प्रतिशत बोनस सेयर सहित कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरिएको छ । सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईले गरेका थिए । सभामा उपस्थित सेयरधनीहरूले राखेका जिज्ञासाहरूमाथि अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले प्रष्टिकरण दिएका छन् । लुम्बिनी विकास बैंकले देशका ७ वटै प्रदेशमा शाखाहरू विस्तार गर्दै कारोबार गरिरहेको छ । हालसम्म बैंकले ८९ वटा शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) मार्फत उच्चस्तरीय र सुरक्षित बैंकिङ सेवा प्रदान गरिरहेको छ । ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले आधुनिक प्रविधि र नविनतम सेवा प्रदान गर्दै ग्राहकहरूको विश्वास आर्जन गर्न सफल भएको छ । सभाले बैंकको स्थायित्व र विकासमा शेयरधनी तथा सरोकारवालाहरूको महत्त्वपूर्ण योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ।
महालक्ष्मी विकास बैंकको साधारण सभाबाट ७ प्रतिशत लाभांश पारित
काठमाडौं । महालक्ष्मी विकास बैंकको तेईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभाबाट ७ प्रतिशत लाभांश पारित भएको छ । बैंकको तेईसौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सोमबार काठमाडौमा सम्पन्न भएको छ । यस अवसरमा २०८१ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् । यसै गरी वार्षिक साधारण सभा मार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ । यस अन्तर्गत आ.व.२०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ३ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित भएको हो । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा ३७.७५ करोड रुपैयाँ खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ५०.०३ करोड रुपैयाँपुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रति सेयर आम्दानी १२ रुपैयाँ, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, सेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ । सभाका अध्यक्ष राजेश उपाध्यायले सेयरधनीहरुबाट प्राप्त सल्लाह सुझावलाई आत्मसात गर्दै बैंकले ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरुलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिवद्घता व्यक्त गरे । महालक्ष्मी विकास बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सोमबार एलिस रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौमा सम्पन्न भएको छ । यस अवसरमा २०८१ साल आषाढ मसान्तको वासलात तथा आ.व. २०८०/०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् । यसै गरी वार्षिक साधारण सभा मार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ । यस अन्तर्गत आ.व.२०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुंजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ५०.०३ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रति सेयर आम्दानी १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, सेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ ।
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित
काठमाडौं । नागरिक लगानी कोषको ३०औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ८६ करोड ९० लाख रुपैयाँबाट सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । साधारणसभाले कोषका अध्यक्ष प्रा डा सूर्यबहादुर थापाले पेस गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । अध्यक्ष थापाले कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब दुई अर्ब सात करोड रुपैयाँ सङ्कलन भएकामा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर दुई खर्ब २६ अर्ब ८३ करोड रुपैयाँ पुगेको बताए । त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ को असोज मसान्तसम्ममा सङ्कलित गरेको दुई खर्ब ४२ अर्ब १५ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । कोषले गत आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब सात करोड ६४ लाख रुपैयाँ कूल आम्दानी गरेकोमा सञ्चालन र अन्य खर्च कटाइ कर पछिको खुद मुनाफा एक अर्ब १५ करोड ८७ लाख रुपैयाँ रहेको छ । उक्ता खुद मुनाफा रकमबाट २८ करोड ९६ लाख रुपैयाँ रकम जगेडा कोषमा राखी बाँकी ८६ करोड ९० लाख रुपैयाँबाट सात प्रतिशत बोनस शेयर र छ प्रतिशत नगद लाभांश वितरण गरेको हो । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको सञ्चालन र व्यवस्थापनमा सुधारका लागि विभिन्न रणनीति अघि सारिएको बताए । ‘कोषले सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आधुनिक प्रणालीमार्फत सेवा सहज बनाउने योजनालाई प्राथमिकतामा राखेको छ । साथै, अनावश्यक बैंक खाता कटौती गर्दै वित्तीय व्यवस्थापनलाई सरल र पारदर्शी बनाउने कार्य भइरहेको छ’, उनले भने । कोषद्वारा सञ्चालित नागरिक स्टक डिलरको गतिविधि र नाफा अवस्थाबारे जानकारी गराउँदै कार्कीले यो वर्ष कोष नाफामै रहेको र कर्मचारी विनियमावलीको संशोधन प्रक्रिया पनि अघि बढेको बताए । त्यस्तै कोषको मधेश प्रदेशमा शाखा विस्तार गर्ने तयारी भइरहेको र आगामी दिनमा शाखा विस्तारले स्थानीयस्तरमा सेवा पु¥याउने विश्वास उनले व्यक्त गरे । ‘कोषको लगानी रणनीति जोखिम विश्लेषणका आधारमा अघि बढाइएको छ । साइबर सुरक्षामा विशेष ध्यान दिँदै प्राविधिक सुरक्षा प्रणालीलाई सुदृढ बनाउने कार्य भइरहेको छ’, कार्यकारी निर्देशक कार्कीले भने । सरकारी वाणिज्य बैंकको तुलनामा कोषको ब्याजदर समानस्तरमा रहेको र सजिलै कर्जा उपलब्ध गराउन व्यवस्थापनले ध्यान दिएको उनले बताए । त्यस्तै कोषको कर अघिको नाफा घटेको जस्तो देखिए कर पछिको नाफा मात्र घटेको स्पष्ट पार्दै उनले कोषको वित्तीय स्थायित्व सुनिश्चित रहेको दाबी गरे । नागरिक लगानी कोषले आफ्ना गतिविधिहरूलाई पारदर्शी र जनउत्तरदायी बनाउन निरन्तर प्रयासरत रहेको उनले उल्लेख गरे ।
सेयर बजारमा ६ अर्ब बढीको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ बिन्दुमा झरेको छ । सोमबार ५८ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३२२ कम्पनीको १ करोड ३८ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसभध्ये सबैभन्दा सेयर एनआरएन इन्फ्राइस्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनको ४५ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, न्यादी हाइड्रोपावरको २८ करोड २७ लाख र हिमालयन पावरको १५ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ । सोमबार बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।