विकासन्युज

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १ लाख ८४ हजार ५ सय जनाले पाए सेयर

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ माघ ६ गते बाँडफाँड भएको छ । बुधबार प्रि–अलटमेन्ट भइसकेकाले आइतबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार यस आईपीओमा कुल १८ लाख ३० हजार ८ सय ७५ जनाको आवेदन परेको थियो । जस मध्ये ८ हजार ४ सय ५२ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १८ लाख २२ हजार ४ सय ५ जनालाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँड गरिएको छ । जस अनुसार गोलाप्रथाबाट १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । कम्पनीले पौष २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेकोमा १९ लाख भन्दा धेरै आवेदकले आवेदन दिएका थिए । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो । जसमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरूका लागि, ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको थियो ।

विद्यार्थीको सङ्ख्या घट्दै गएपछि पर्वतका दुई सामुदायिक क्याम्पस मर्ज

पर्वत । सदरमुकाम कुश्माबजारमा सञ्चालित दुईवटा क्याम्पस एकआपसमा गाभिएका छन् । आर्थिक मन्दी, सरकारको असहयोग र विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको छ । गुप्तेश्वर क्याम्पस २०४८ सालदेखि र शिवालय बहुमुखी क्याम्पस २०६७ सालदेखि सञ्चालित हुँदै आएका थिए । क्याम्पस एकीकरणका लागि शिवालय बहुमुखी क्याम्पसका पूर्वव्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा बनेको समितिले शनिबार अन्तिम टुङ्गो लगाएको हो । नयाँ नामकरण भएको कुश्मा बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले समेत अनुमति दिएको छ । यसअघि दुई क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक तथा सञ्चालक सदस्यको उपस्थितिमा आठवटा उपसमिति गठन गरिएको थियो । समितिले दुई क्याम्पस ‘मर्ज’ गर्नका लागि कानुनी प्रावधानहरूको संशोधनदेखि क्याम्पस सञ्चालनको आगामी खाका प्रस्तुत गरेका थिए । अहिले गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नातकोत्तरसहित दुई सय ६२ र शिवालय बहुमुखी क्याम्पसमा दुई सय ६८ जना विद्यार्थी रहेका छन् । क्यापसमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै जाने तर क्याम्पसको प्रशासनिक र सञ्चालन खर्च बढ्दै जान थालेपछि एकीकरण गर्नुपरेको संयोजक पहाडीले बताए । दुवै क्याम्पसका सञ्चालक समितिले क्याम्पसलाई एकीकरण गरी एक सबल, परिस्कृत, आधुनिक र एकीकृत क्याम्पस स्थापना गर्न आवश्यक रहेको महसुस गरी एकीकरण प्रकिया अघि बढाइएकामा एक वर्षको प्रयासपछि सबै प्रक्रिया पूरा भएको उनले बताए । क्याम्पस एकीकरण प्रक्रिया टुङ्गिएसँगै चालु शैक्षिकसत्रदेखि नै दुवैतर्फ सञ्चालित कक्षालाई एकीकृत रूपमा सञ्चालन गरिने भएको छ । बजारमा रहेको शिवालय बहुमुखी क्याम्पस र झण्डै दुई किलोमिटर टाढा छमर्केमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा सञ्चालित कक्षालाई विद्यार्थी र प्राध्यापकहरूको अनुकूलताअनुसार सञ्चालन गरिने उनले बताए । दुवै क्याम्पस समुदायद्वारा सञ्चालन भएका थिए । जिल्लाभर १२ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सबैजसो क्याम्पसमा विद्यार्थीको सङ्ख्या न्यून छ । विद्यार्थीको सङ्ख्या न्यून हुँदा ती क्याम्पस बन्द हुने अवस्थामा पुगेका छन् । रासस

४ किमी सडक बनाउन ७ वर्षमा १४ पटक म्याद थप, तर कलोपत्रे समेत भएन

बागलुङ । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो । गाउँपालिकामा पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि अझै अधुरै छ । सम्झौताको छ वर्ष बित्दा पनि सडक कालोपत्र नभएपछि स्थानीयलाई यात्रा गर्न सास्ती छ । उक्त सडक बरेङं–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् । विसं २०७६ मा तीन वर्षमा सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता भएको सडक चौथो पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । अहिले सडकमा बनाइएको पूर्वाधार बिग्रन थालेको छभने सडकमा बिछ्याइएको ग्राभेल बर्खाको पानीले बगाएको छ । काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेका अनुसार उक्त सडकमा डेढ वर्षदेखि निर्माण व्यवसायी फर्केर गएका छैनन् । सडकको एकलेखेतबाट एक किमी सडकमा नाली पनि निर्माण भएको छैन । सम्झौताअनुसार काम भएको भए यतिबेला चिल्लो सडकमा सवारी गुडेका हुन्थे । पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याएको निर्माण व्यवसायीले सडक अलपत्र छाडेर हिँडेको छ, अहिले निर्माण भइसकेका संरचनामा पनि क्षति भएको छ । सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का छ करोड ७१ लाखमा चार किमी सडक कालोपत्रका सम्झौता भएको थियो । उक्त सडकको कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माणमा चरम लापरवाही गरेको छ । ठेक्काको म्याद २०७९ जेठमै म्याद सकिएको निर्माण व्यवसयीले चौथो पटक म्याद थप गरेर आगमी चैतसम्म पुर्याएको छ । काठेखोला गाउँपालिकाले आगमी चैतसम्म कालोपत्र सक्नेगरी निर्माण व्यवसायीलाई निर्देशन दिएको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिए । सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकेर निर्माण व्यवसायी काममा नर्फकिँदा समस्या भएको छ । भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काम ढिला भएको निर्माण व्यवसायी प्रकाश आचार्यले बताए । उनले केही समयमा सडक कालोपत्र गर्ने दाबी गरे । सडकको सुरुमा एक्लेखेतमा पाँच करोड लागतमा मोटरेबल पुल निर्माण भएर बाह्रैमास सवारी चल्ने भए पनि सडक समयमै कालोपत्र नहुँदा यात्रुलाई सास्ती भएको छ । अहिले रेश जाने सडक धुलाम्मे छभने केही ठाउँमा बर्खामा खसेको पहिरो पन्छाउन बाँकी छ । बर्खामा बिग्रेको सडक मर्मत गर्न निर्माण व्यवसायीले चासो नदिएको स्थानीय बताउँछन् ।

मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा जङ्गली हात्तीको आतङ्क

मोरङ । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालययका अनुसार गतबिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको हो । माउ हात्ती छावा (बच्चा)सहित आएको गाउँमा आएको थियो । सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले समुदायलाई आतङ्कित नहुन र सकेसम्म जङ्गली हात्तीबाट सुरक्षित रहन आग्रह गरे । ‘हामी जङ्गल क्षेत्र तथा हात्ती प्रभावित क्षेत्रमा आवश्यक पोलबत्तीको काम गरिरहेका छौँ’, उनले भने, ‘नागरिकको जीउधनको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो, काम पूरा गर्न समय लाग्छ ।’ नगरको उत्तरतर्फको सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको र स्थानीयवासीलाई रातभर त्रास दिएको यहाँका वडाध्यक्ष खेम न्यौपानेले बताए । उनले हात्तीको त्रासका कारण यहाँका स्थानीय बासिन्दा रातभर जाग्राम बस्नुपरेको उल्लेख गरे । विगत तीन साताअघि सुन्दरहरैँचा–५ गुरुङ टोलका ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको वनमा दाउरा काटेर घर फर्कँदा जङ्गली हात्तीको आक्रमणबाट निधन भयो । साथै एक महिनाअघि सुन्दरहरैँचा–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट निधन भएको थियो । यहाँको पालिकामा जङ्गली हात्तीको आक्रमणबाट विभिन्न समयमा मानवीय क्षति हुने गरेको छ । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जङ्गली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गरेको मोरङ डिभिजन वन कार्यालयले जनाएको छ । जङ्गली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेको प्रहरीले जनाएको छ । सबैभन्दा धेरै झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा दैनिकजसो हात्तीको हुल देखिने गरेको छ । हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्याउने गरिरहेको छ । यसबीच मोरङमा एक वर्षमा दुई जङ्गली हात्ती मृत फेलापरेका छन् । एउटा जङ्गली हात्तीलाई विगत वर्षमा यहाँ गोली हानेर हत्या गरिएको थियो । जङ्गली हात्तीका कारण एक महिनामा सुन्दरहरैँचामा तीन जनाको ज्यान गइसकेको छ ।

पोखरामा दाइँ महोत्सव : नयाँपुस्ता र विदेशी पर्यटकमाझ चिनाउने उद्देश्य

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा ‘सबै मौसमका लागि’ भन्ने नारासहित हुने उक्त महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने आयोजकले जनाएको छ । पोखरा महानगरपालिका–२३ मार्गीस्थित फेवा फाँटमा सञ्चालन हुने सो परम्परागत दाइँ महोत्सवमा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । उनका अनुसार पोखरामा भएका पर्यटकलाई कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा महत्त्वपूर्ण महोत्सवको प्रत्यक्ष अनुभूति गराइने छ । “पोखराको बढ्दो सहरीकरण र स्थानीयको बदलिँदो जीवनशैलीले यो महोत्सव परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्न स्थापित हुनेछ”, उनले भने । पोखरा पर्यटन परिषद्ले असारमा खेतीयोग्य जमिनको संरक्षण, परम्परागत खेती प्रणाली, असारे भाका तथा दही च्युरा खाने परम्परालाई जीवन्त राख्दै पर्यटन प्रवर्द्धन गर्न हरेक वर्ष असारमा रोपाइँ महोत्सव गर्दै आएको छ । पोखरा महानगरपालिकाभित्रका खेतीयोग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आइरहेको अवस्थामा यसको जगेर्ना गर्न प्रथम दाइँ महोत्सव सफल हुने परिषद्का महासचिव जीवनराज सापकोटाले बताए ।

आरएसडिसी लघुवित्तको नाफा घट्यो, कस्ता छन् अन्य सूचकहरु ?

कठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ। संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण अनुसार खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा संस्थाले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८.११ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७४.९१ प्रतिशत घटेको छ। त्यस्तै, संस्थाको कुल सञ्चालन आम्दानी १२.२७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.६८ प्रतिशत घटेको छ। संस्थाको खराब कर्जा १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेको छ। पुस मसान्तसम्ममा संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ६७ लाख रुपैयाँ रहेको छ। नाफासँगै संस्थाको प्रतिसेयर आम्दानी पनि घटेको छ। संस्थाको यस्तो आम्दानी ६ रुपैयाँ ५८ पैसाले घटेर ९ रुपैयाँ ३६ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७१.६१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा रहेको छ। ९४ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा ३० करोड ४९ लाख रुपैयाँ सञ्चित छ पुस मसान्तसम्ममा संस्थाले ६ अर्ब १२ करोड ७३ लाख रुपैयाँ सापटीबाट ६ अर्ब ५० करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

निगमको ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि हवाई सेवा बन्द

गुल्मी । रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो । नेपाल वायु सेवा निगम रेसुङ्गा स्टेसन प्रमुख सुमन थापाले हवाई सेवा बन्द भएपछि यहाँका यात्रुहरू समस्यामा परेका बताउनुभयो । निगमले विसं २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक उडान सुरु गरेपछि जिल्लामा हवाई सेवा सञ्चालनमा आएको थियो । निगमले जिल्लामा व्यावसायिक उडान सुरु गरेसँगै सातामा तीन पटकसम्म उडान गर्दै आएको थियो । यात्रुहरूको बढ्दो चापका कारण निगमले तत्कालीन अवस्थामा उडान सङ्ख्यामा वृद्धि गरी सातामा चारपटकसम्म उडान गर्दै आएको थियो । समय समयमा निगमका जहाज ग्राउन्डेड हुन थालेपछि सातामा दुईपटक र एकपटक हुँदै हाल जिल्लामा पूर्ण रूपमा हवाई उडान बन्द भएको हो । निगमसँग थोरै मात्र ट्विनअअटर जहाज रहेका बताउँदै जहाजहरूको इन्जिन साइकल सकिएपछि सेवा अवरुद्ध बनेका विमानस्थलका स्टेसन प्रमुख थापाले जानकारी दिए । दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएका र ग्राउन्डेड भएका जहाजको मर्मत गर्ने काम भइरहेकाले जिल्लामा सेवा नियमित हुन अझ केही समय लाग्ने उनले बताए । पछिल्लो समयमा रेसुङ्गा विमानस्थलबाट निगमले साताका एकपटक बिहीबार मात्र उडान गर्दै आएको थियो । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायु सेवा निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ः३० बजे उडान गर्दै आइरहेको थियो । निगमले काठमाडौँबाट रेसुङ्गाका लागि सात हजार पाँच सय र रेसुङ्गाबाट काठमाडौँका लागि रु सात हजार तीन सय भाडादर निर्धारण गरेको छ । दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले बिहानको समयमा मात्र उडान गरिँदै आएको विमानस्थल कार्यालयले जनाएको छ । यहाँबाट काठमाडौँका लागि २१ महिनाको अवधिमा एकतर्फी रूपमा ९० वटा उडान भइसकेका छन् । हालसम्म दुवैतर्फबाट गरी दुई हजार दुई सय ५३ यात्रुले हवाई सेवा लिएका स्टेसन प्रमुख थापाले जानकारी दिए । पछिल्लो समयमा हवाई सेवा सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको थियो । हवाई सेवाका लागि यात्रुहरूको अत्यधिक चाप हुँदाहुँदै पनि निगममा जहाज अभाव हुँदा नियमित सेवा सञ्चालन गर्न नसकिएको थापाले बताए ।

दक्षिण कोरियाका साना तथा मझौला उद्योग संकटमा

काठमाडौं । राष्ट्रपति युन सुक योलको महाभियोगमा चलिरहेको राजनीतिक अनिश्चितताका कारण दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरूले घाटा व्यहोर्नु परेको छ । कोरिया फेडेरेसन अफ एसएमईले हालै गरेको सर्वेक्षण अनुसार ५१३ उत्तरदाता एसएमईमध्ये २६.३ प्रतिशतले राजनीतिक अस्थिरताका कारण नोक्सान भएको बताएका छन् । सियोल महानगरीय क्षेत्रमा इलेक्ट्रोनिक कम्पोनेन्ट निर्माता कम्पनीका महाप्रबन्धक पार्क ब्युङ–जिनले भने,‘मुख्य कम्पोनेन्टका विदेशी आपूर्तिकर्ताहरूले जम्मा रकमको कुल भुक्तानीको ३० प्रतिशतबाट ७० प्रतिशतमा पु¥याएका छन् । कतिपयले डेलिभरी अघि पूरा भुक्तानी गर्नुपर्नेछ । तर उनीहरु देशमा राजनीतिक गतिरोधको बारेमा चिन्तित छन् ।’ उनले बारम्बार विदेशी आपूर्तिकर्ताहरूलाई सम्झौताहरू पूरा गर्न अनुरोध गरेको बताए । यूनको महाभियोग पछि कार्यवाहक राष्ट्रपतिको रूपमा प्रधानमन्त्री हान डक सूलाई महाभियोग लगाएपछि, दक्षिण कोरियाली विनिमय दर ओरालो लागेको छ । विनिमय दरमा तीव्र गिरावटले कच्चा पदार्थ र ऊर्जाको आयातमा धेरै निर्भर रहेको दक्षिण कोरियाको अर्थतन्त्रलाई गम्भीर धक्का पुगेको छ । ‘अमेरिकी डलर बलियो हुँदा कच्चा पदार्थको लागत र डलर निर्धारित ऋणको बोझ बढ्नेछ । देशको व्यवसायलाई जोखिममा पार्ने र आयात मूल्यमा वृद्धिले पनि वित्तीय तनावलाई बढाउँछ, अर्थशास्त्रीहरूले भनेका छन् । यता, महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सरकारविरुद्ध विद्रोह भड्काएको आरोपमा बुधबार पक्राउ गरिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । योलमाथि ३ डिसेम्बर २०२४ मा देशमा ‘मार्सल ल’ लागू गरेको अभियोगमा छानविन गर्न पक्राउ गरिएको जनाइएको छ । योलले गत गत महिना देशमा आपतकालिन अवस्था घोषणा गर्दै सैन्य कानुन लगाउने घोषणा गरेका थिए।