सरकारको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन सार्वजनिक नभएको भन्दै अनुगमन तथा मूल्याङ्कन समितिको ध्यानाकर्षण
काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले ‘आर्थिक वर्ष २०८०/८१’ को प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ । समितिको आजको बैठकले संविधानको धारा ४३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष सकिएको छ महिनासम्म पनि सरकारको आव २०८०/८१ को प्रतिवेदन सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । सांसद हितराज पाण्डेले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनबारे काननमा के व्यवस्था छ त्यसबारे समिति सबैभन्दा पहिले जानकार हुनुपर्नेमा जोड दिए । सांसद दिलेन्द्र बडुले संविधान निर्माण भएको नौ वर्षमा कतिवटा कानुन निर्माण भए र निर्माण हुन बाँकी कानुनबारे पनि समिति केन्द्रित हुनुपर्नेमा जोड दिए । सांसद सन्तोष परियारले समितिको बैठकमा प्रधानमन्त्री वा मन्त्री नै सहभागी हुनुपर्ने बताए । मुख्य सचिव एकनारायण अर्यालले प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीलाई समितिमा उपस्थित गराउनेबारे समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘अभिभावकले खाइ नखाइ छोराछोरी पढाइरहेको हुन्छन्, विश्वविद्यालय भद्रगोल तरिकाले चलाउन हुँदैन
काठमाडौं । त्रिभूवन विश्वविद्यालय भद्रगोल तरिकाले चलाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् । आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरुले सही ढंगबाट कानून बनाए कार्यान्वयन गरेको खण्डमा विश्वविद्यलाय सुधार हुन समय नलाग्ने बताए । उनीहरुले लाखौँ युवाहरुको भविष्य जोडिएको संस्थालाई भद्रगोल बनाउन नहुने सुझाव दिएका छन् । समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले त्रिभूवन विश्वविद्यालयमा विद्यार्थी संगठित भएर राजनीति बढी गरेको कुरालाई सही ढंगबाट कानून बनाएर नियमन गर्न जरुरी रहेको बताइन् । शिक्षाको मुहान भद्रगोल तरिकाबाट चल्नु नहुने बताइन् । समितिले आवश्यक सुधारका लागि सरकारलाई निर्देशन दिन जरुरी रहेको जानकारी दिइन् । ‘त्रिभूवन विश्वविद्यालयमा विद्यार्थी संगठित भएर राजनीति बढी भयो भन्ने खालको जुन कुराहरु आइरहन्छ । वास्तवमा ठिक ढंगले नियम, कानून बनाएर, नियम कानूनलाई ठिक ढंगले कार्यान्वयन गरेपछि त ति संगठनहरु पनि जन्मिन आवश्यक हुँदैन थियो होला,’ उनले भनिन् । समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य रुक्मिणी कोईरालाले देशका लाखौँ युवाहरुको भविष्यसँग जोडिएको त्रिभूवन विश्वविद्यालयलाई सही तरिकाबाट सञ्चालन गर्न जरुरी रहेको बताइन् । विश्वविद्यालयको प्रत्यायोजित विधायन सन्तोषजनक नरहेको र यसो हुनुमा विश्वविद्यालय सञ्चालक समितिको गल्ती रहेको महशुस आफूले गरेको बताइन् । उनले भनिन्, ‘त्रिभूवन विश्वविद्यालय भनेको देशकै आशालाग्दो, भरोसालाग्दो युवाहरु विद्यार्थीको भविष्यको कुरा जोडिएको छ । यसमा हामी अभिभावकहरु पनि जोडिएका छौँ । अभिभावकहरुले पनि खाइ नखाइ छोराछोरी पढाइरहेको हुन्छ ।’ समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ तत्काल पुनःलेखन गर्नुपर्ने बताए् । उनले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को पुनःलेखनका लागि सरकारलाई समितिले निर्देशन दिनुपर्ने बताए । उनले भने, ‘हामीले यो समितिबाट र राष्ट्रिय सभाबाट तुरुन्त यो ऐनलाई परिमार्जन गर्ने, संशोधन मात्रै होइन, पुनःलेखन गर्ने प्रक्रियामा अघि बढाउन नेपाल सरकारलाई सुझाव दिनुपर्छ । नेपाल सरकारलाई निर्देशन दिनुपर्ने देखिन्छ ।’ समितिको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले त्रिभूवन विश्वविद्यालय नेपालको शिक्षाको मेरुदण्ड भएको बताए । प्राज्ञिक व्यक्तिहरु भएको ठाउँमा प्रत्यायोजित अधिकार हनन हुन नहुने जानकारी दिए । उनले भने, ‘त्रिभूवन विश्वविद्यालय हाम्रो शिक्षाको मेरुदण्ड पनि हो । त्यहाँ सबैभन्दा धेरै प्राज्ञिक व्यक्तित्वहरु हुनुहुन्छ । प्रत्यायोजित अधिकार ऐनअनुसार कहाँ हनन भएको छ । कहाँ कमजोर भएको छ, नजानेर दुविधा भएको छ भन्नेकुरा औंल्याउनु पर्छ ।’ सभापति शर्माले प्रत्यायोजित अधिकारहरु हनन भएका ठाउँ पहिचान गरी सच्याउन जरुरी रहेको जानकारी दिए ।
दोहोरो अंकले बढ्यो नेप्से, बोटर्लस नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२५ कम्पनीको १ करोड २९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आजको कारोबारपछि बजारपुँजीकरण १४ खर्ब ३९ अर्ब ९८ करोड ९६ लाख ४७ हजार ९३२ रुपैयाँ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सुपरमादी हाइड्रोपावरको २४ करोड, सानिमा मिडल तमोर हाइड्रोपावरको १५ करोड, सिन्धु विकास बैंकको १४ करोड र पोखरा फाइनान्सको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज बोटर्लस नेपाल बालाजुको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.०९, साम्लिङ पावर कम्पनीको सेयर मूल्य ७.४६, नेपाल रिपब्लिक मिडिया लिमिटेडको सेयर मूल्य ७.३७ प्रतिशतले बढेको छ । सुपर मादी हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ । त्यसैगरी एनआइसी एसिया सेलेक्ट फण्ड ३० को सेयर मूल्य ६.९३ प्रतिशत, रिभर फल्स पावर लिमिटेडको ६.४५ प्रतिशतले घटेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी, सुधारको कार्ययोजना प्रस्तुत गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । सो कार्यदलको प्रतिवेदन र सुझावबारे आइतबार प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था हुन नहुने बताए । उनले कार्यदलबाट स्वास्थ्य बिमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यावहारिक हुनेगरी कार्यक्रमलाई एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भनेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा शम्भु आचार्य, सदस्यहरु डा भगवान् कोइराला, डा रघुराम काफ्ले र सदस्यसचिव डा सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गरेका थिए । हाल यस कार्यक्रमअन्तर्गत करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कार्यक्रममा कूल जनसङ्ख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आबद्ध भएकामध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्य सेवा निःशुुःल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिएको छ । कार्यदलले आधारभूत स्वास्थ्यसेवा र अन्य सामाजिक सुरक्षाका कोषका कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकरण गर्न सुझाएको छ । सो कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।
विदेशबाट फर्केर कृषि पेसामा रमाएका युवा भन्छन् : विदेशको भन्दा राम्रो कमाइ
भोजपुर । भोजपुरका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन् । राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा आकर्षित भएका हुन् । यहाँका युवाहरूले पछिल्लो समय व्यावसायिक रूपमा कृषि पेसाबाट मनग्य आम्दानी गर्दै आएका छन् । विदेशको भोगाइपछि आफ्नो ठाउँमा उद्यमशील बन्ने सोचका साथ व्यवसायमा जोडिएको युवा बताउँछन् । विदेशबाट फर्केर टेम्केमैयुङ–५ को शिवकुमार विष्टले व्यावसायिक रूपमा बाख्रापालनसँगै विभिन्न कृषि उद्यम गर्दै आएका छन् । बाख्रापालनसँगै व्यावसायिक रूपमा स्याउखेती विस्तारमा जुटेको उनले बताए । ‘विभिन्न देशमा गरेर १० वर्ष आफ्नो उर्वर समय बाहिर बिताएँ, अब स्वदेशमा केही गर्ने योजना छ । विदेशमा गर्ने मेहनत यहाँ गर्ने हो भने प्रशस्त आम्दानी हुन्छ’, उनले भने । स्थानीयर सरकार र सरोकार भएका निकायका तर्फबाट पनि विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा ल्याएपछि व्यावसायिक रूपमा आवद्ध हुन चाहनेका लागि सहज भएको विष्टले बताए । जिल्लास्थित कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तहलगायत निकायले विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक, तालिम तथा सीप प्रदान गर्दै आएका छन् । पुस्कर विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका छन् । ‘पुस्कर कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरी बोयर र स्थानीय जात ५६ वटा बाख्रा पालन गरिरहेको उनले जानकारी दिए । ‘विदेशबाट फर्केर पाँच वर्षदेखि व्यावासायिक बाख्रापालनमा लागेको छु’, उनले भने, ‘अहिले फार्ममा ५६ वटा खसी, बाख्रा छन् । वार्षिक रु आठ/दश लाखको कारोबार हुन्छ ।’ बाख्रामा विभिन्न समयमा देखिने रोगका कारण भने समस्या हुने गरेको पुस्करले बताए । जाडो याममा बढी मात्रामा बाख्रामा निमोनियाको जोखिम देखिने गरेको उल्लेख गर्दै गाउँमा पशु प्राविधिकको व्यवस्था हुनुपर्नेमा जोड दिए । स्थानीय सरकारले किसानको व्यावसायिक योजनाको आधारमा आवश्यक सहयोग गरेमा कृषिमा लाग्ने युवाको सङ्ख्या अझ बढ्ने उनको भनाइ थियो । बाख्रापालनको लागि अहिले दश रोपनी क्षेत्रमा घाँस विस्तार गरेको बताउँदै पुस्करले योसँगै व्यावसायिक रूपमा अलैँचीखेती विस्तारसमेत गरिरहको जानकारी दिए । विदेशबाट फर्केर गाउँमा व्यावसायिक बाख्रापालनसँगै किबी, एभोकाडो, ओखर र सुतवाखेती गरिरहेका अर्का युवा एकराज विष्टले विदेश जानुभन्दा गाउँमा व्यवसाय गरेर उदाहरणीय बन्न सकिने बताए । ‘व्यावसायिक बनेर काम गर्न सकियो भने यहाँ प्रशस्त आम्दानी गर्न सकिन्छ’, उनले भने, ‘अहिले गाउँमा धेरै युवाहरू विदेशबाट फर्केर उद्यममा जोडिएका छन् । यही मेहनत गर्न हो भने वार्षिक चार-पाँच लाख रुपैयाँ कमाउन समस्या छैन ।’ रासस
गार्डियनको व्यापार २ हजार गुणाले बढाएका छौं, लाभांश यसै वर्षदेखि दिन्छौं : सीईओ भण्डारी
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले कम्पनीले चालु आर्थिक वर्षदेखि नै लाभांश वितरण गर्ने बताएका छन् । कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड कार्यक्रमलाई बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘कम्पनीले चालु आव २०८१/०८२ देखि नै लाभांश वितरण गर्न सक्षम भएको छ । हामी व्यापार वृद्धिमा लागि परेका छौं । लगानीकर्ताले चालु आर्थिक वर्षदेखि नै लाभांश पाउँछन् ।’ यस्तै, सीईओ भण्डारीले कम्पनीको व्यावसायिक अवस्था सकारात्मक तरिकाले अघि बढिरहेको पनि बताएका छन् । उनले गत वर्षहरूको तुलनामा कम्पनीले २ हजार गुणा धेरै व्यापार गरिरहेको दाबी गरेका छन् । उनले सस्टेनेबल र लङ टर्म बिजनेस गरिरहेको पनि बताए । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आज आइतबार भएको थियो । बाँडफाँड कुमारी क्यापिटलमा भएको थियो । गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १ लाख ८४ हजार ५ सय जनाले पाए सेयर
बजारमा पैसा धेरै भएपछि ६० अर्ब झिक्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आइतबार ६० अर्ब बराबर तरलता खिच्न लागेको हो । लामो समयदेखि बजारमा पैसा धेरै भए पनि व्यवस्थापनका लागि राष्ट्र बैंकले सातामा कम्तिमा दुई पटक पैसा झिक्दै आएको छ । सोही क्रममा आज पनि ६० अर्ब रुपैयाँ राष्ट्र बैंकले झिक्न लागेको हो । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ-ब्याज २७ माघमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने हिमालयन लाइफको घोषणा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बोनस सेयरमा लाग्ने कर भने लगानीकर्ताले स्वयमले भुक्तानी गर्नुपर्ने कम्पनीले बताएको छ । कम्पनीको यो प्रस्ताव नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।