विकासन्युज

जापानमा विदेशी आगन्तुकको संख्या बढ्दो, २०२४ मा ३ करोड ६७ लाख भित्रिए

टोकियो । जापानमा सन् २०२४ मा ३ करोड ६७ लाख ८० हजार विदेशी आगन्तुक आएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशतले बढेको देखाएको छ । यो सङ्ख्या सन् २०१९ मा सेट गरिएको तीन करोड ११ लाख ९० हजारको अघिल्लो रेकर्ड भन्दा बढी छ । जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार सन् १९५० मा तथ्याङ्कहरू सुरु भएदेखि विदेशी आगन्तुक आएको यो सबैभन्दा उच्च सङ्ख्या हो । एजेन्सीले अन्तर्राष्ट्रिय उडानहरूको पुनः सुचारु र महामारी पछि बलियो रिकभरी प्रवृत्तिलाई विकासमा योगदान पुर्‍याउने प्रमुख कारकहरूको रूपमा प्रकाश गर्यो । धेरैजसो पर्यटकहरू पर्यटन जस्ता उद्देश्यका लागि छोटो अवधिको भ्रमणमा आएका थिए । अन्य कोटीहरूमा अध्ययन र प्राविधिक इन्टर्नशिप समावेश छन् ।  

झोलामा कफी बोकेर गाउँमा बिक्री गर्दै हिडने प्रेमबहादुर अहिले गर्छन विदेशमा निर्यात

रामपुर । झोलामा कफी बोकेर गाउँ–गाउँमा बिक्रीका लागि पुग्दा धेरैको हाँसो मजाकको पात्र बने, काम नपाएर कफी बेच्न गाउँ डुले जस्तो व्यवहार मैले भोग्नुपर्‍यो, तैपनि हिम्मत भने आफूमा राखिरहे, कफीको प्रवर्द्धनका लागि गाउँ धाइरहन्थे । अहिले भने परिस्थिति बदलिएको छ, कफी खरिद गर्न घरमै ग्राहक आउँछन्। यो अनुभव युवा प्रेमबहादुर सिंह ठकुरीको हो । उनी पाल्पा रामपुर नगरपालिका–५ भम्बक निवासी हुन् । उनले कफी व्यवसायमार्फत आफ्नो पहिचान बदलेका छन् । पाँच वर्षअघि उनलाई कफी व्यवसायबाट समाजमा चिनिन्छु भन्ने लाग्दैनथ्यो । हाल उनको पहिचान प्रेमबहादुर नभई कफी व्यवसायी तथा धेरैका कफी दाइका नामले परिचित छन् । उनलाई जीवनमा सोच्दै नसोचेको पहिचान प्राप्त भएको छ । नेपालका गाउँघर, सहर, बजारमा मात्र नभइ विदेशी भूमिमा कफी निर्यात हुन थालेपछि व्यवसायलाई दीर्घकालीन रूपमा टिकाउनु पर्छ र यसमै निरन्तरता दिएर काम गर्नुपर्छ भन्ने अठोट उनमा बढेको छ । उनले ‘अर्गानिक चिया तथा कफी’ को नामबाट व्यवसाय दर्ता गरी आफ्नै घरमा प्रशोधन मेसिन जडान गरी सञ्चालन गरिरहेका छन् । हाल प्रेमबहादुरले जापान, कोरिया, जर्मन, युएई, माल्टालगायत देशमा कफी निर्यात गर्दै आएका छन् । उनका अनुसार विदेशमा ट्राभल गर्ने साथीको सहायताबाट यहाँको कफी बाहिर पठाउने कार्य भइरहेको छ । काठमाडौँ, पोखरा, बुटवल, तानसेनलगायत बजारमा खपत हुने गरेको छ । यस वर्ष कोरिया, जापान, जर्मन, माल्टा, युएईमा पटक–पटक गरेर करिब एक सय किलो कफी खपत गरेको उनले जानकारी दिए । गत वर्ष सोही परिमाणको हाराहारीमा खपत भएको थियो । ‘घरमा लगाएको कफी उत्पादन भयो, त्यसलाई प्रशोधन गर्न थाले, प्रशोधित कफी अब कहाँ बिक्री गर्ने, यसबारेमा अन्यौलमा थिए, स्थानीयको घरदैलोमा पुग्दा त्यस समयमा धेरैले खिसिट्युरी गर्थे, कहाँ लगेर बिक्री गर्ने, कसैले चिन्दैनथे, दोधारमा परे’, प्रेमबहादुरले आफ्नो अनुभव सुनाउँदै भने, ‘निरन्तरको अथक मेहिनत र शरीर थाके पनि हिम्मतलाई थाक्न दिइन, जसको घरघरमा हिजो गाउँमा कफी बेच्न पुगे, आज उहाँहरू नै मेरै घरमा खरिद गर्न आउनु हुन्छ ।’ उत्पादित वस्तु राम्रो भयो भने समय ढिला होला तर एक दिन अवश्य बजार पाउँदो रहेछ भन्ने प्रेमबहादुरको अनुभव । ग्राहक तथा व्यापारीलाई बुझाउन सकियो भने विस्तारै व्यापार राम्रो हुने गरेको उनले बताए । उनी आफैले कफी उत्पादन, खरिद र प्रशोधन गरेर बजारमा पठाउँछन् । खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवामा ल्याव टेष्ट गरेर प्रमाणित भएपछि बजारीकरण थालेका हुन् । चिया कफी विकास बोर्डले तोकेको मूल्यअनुसार बजारमा बिक्री हुन्छ । स्याङ्जाको चापाकोट नगरपालिका–४ लग्दामा करिब आठ वर्षअघि पाँच रोपनीमा जग्गाबाट कफी खेती सुरू गरेका प्रेमबहादुरले दुई वर्षअघि चापाकोट–७ पटसारमा करिब ३५ रोपनीमा कफी विस्तार गरेका छन् । विसं २०७८ देखि कफी प्रशोधनको व्यवसाय सुरू गरेका उनको व्यवसायमा करिब रू २५ लाख बराबरको लगानी परेको छ । उनले विरूवा उत्पादन गर्ने, गाउँघरमा किसानलाई कफी लगाउन प्रेरणा दिने, स्थानीयलाई कफीका बिरूवा उपलब्ध गराउँदै आएका छन् । आउँदो असार–साउनमा करिब १६ हजार बिरूवा लगाउने प्रेमबहादुरको तयारी छ । प्रशोधित कफीको तुलनामा बिरूवा बिक्रीबाट राम्रो फाइदा हुने उनको अनुभव छ । एक वर्षमा हाल पाँच क्वीन्टल आफ्नै उत्पादन र १३ क्वीन्टल स्थानीयबाट खरिद गरिरहेको उनी बताउँछन् । वार्षिक रूपमा सरदरमा प्रशोधन गरिएको एक टन कफी बजारमा खपत गर्छन् । प्रेमबहादुरका अनुसार अहिले स्थानीय होटल तथा रेष्टुरेण्टबाट कफीको माग धेरै आइरहेको छ । गाउँघरमा कफी सेवन गर्नुपर्छ भन्ने आदत बसेको छ । एक पटक खरिद तथा सेवन गरेका ग्राहक पुनः पटक पटक आउने गर्छन् । प्रेमबहादुर वैदेशिक रोजगारीको क्रममा आठ वर्ष कोरियाको कफी कम्पनीमा काम गर्थे । त्यहाँ कफी उत्पादन, प्रशोधन र बजारीकरणका सीप सिके । गुल्मीमा उत्पादन भएको कफी आफू कार्यरत कम्पनीको सञ्चालकले खरिद गरी हिमालयको गिफ्ट नामले प्रशोधन गरी बजारमा बिक्री गरेको देखेका उनी आफ्नै देशमा गर्न सक्ने सम्भावना देखेर गाउँ फर्केपछि व्यवसायमा लागेका हुन्। नेपालमा देशमा उत्पादन भएको कफी विदेशीले महँगो मूल्यमा ब्राण्ड बनाएर बजारमा बिक्री गरिरहेकाले हामीले पनि उत्पादन गर्न सक्छौँ भन्ने विश्वास लागेपछि उनले गुल्मीबाट बीउ ल्याएर खेती सुरू गरेका हुन् । उनी बरमुन अर्मिलो, बरमुन भर्बिलो, गेइसिया जातका कफी खरिद बिक्री गर्छन् । स्थानीय उत्पादन भएकाले ग्राहकले धेरै मन पाएका छन् । बजारीकरणका लागि रामपुर नगरपालिकाले सहजीकरण गरिदिएको प्रेमबहादुरले बताए । युवा जनशक्ति विदेशमा जानुभन्दा आफ्नै गाउँमा बसेर केही व्यवसाय गर्न उनको सुझाव छ । देउला ९कफीको कच्चा पदार्थ० अर्थात् बोक्रा फालेको कफीको माग धेरै आउने गरेको छ । प्रशोधन गर्न थालेपछि गाउँका किसानले उत्पादन गरेका कफी बिक्री गर्न सजिलो भएको छ । नगरपालिकाले तयार पारेको कोसेली घरमा कफी बिक्रीको व्यवस्था मिलाएको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । ‘व्यवसायीलाई हौसला प्रदान गर्दै नगरपालिकाको विभिन्न अनुदान कार्यक्रम, तालिम तथा बजारीकरणमा सहजीकरण गरिरहेका छौँ, नगरपालिकामा बाहिरबाट आउने पाहुनालाई स्थानीय उत्पादन उपहारको रूपमा दिन स्थानीय व्यवसायीबाट खरिद गरिदिने गरेका छौँ, आयआर्जन बढाउन उत्पादनमूलक क्षेत्रमा नगरपालिकाले लगानी गरिरहेको छ’, नगर प्रमुख थापाले भने । कफी व्यवसायलाई प्रवद्र्धन गर्दै यस वर्ष रामपुर नगरपालिकाको युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान कार्यक्रमका समावेस गरी रू १० लाख बराबर रकमको ब्याज उपलब्ध गराइने कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए । व्यवसायका लागि रामपुरस्थित विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण रकमवापत व्यवसायीले मासिक रूपमा बुझाउनुपर्ने ब्याज तीन÷तीन महिनामा दुई वर्षसम्म खातामा उपलब्ध गराइने उनको भनाइ छ ।

अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा

बागमती। सहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाद्वारा सञ्चालित अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा पुगेका छन् । निर्धारित समयमै योजना सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन र निगरानी बढाएपछि बहुवर्षीय योजनाको कामले तीव्रता पाएको हो । हेटौँडा उपमहानगरपालिका–१० मा निर्माणाधीन बागमती प्रदेशसभा हलको काम सम्पन्न भई हस्तान्तरणको क्रममा रहेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर सुवोध अधिकारीले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सम्झौता भई निर्माण सुरू भएको प्रदेशसभा हलको काम यही पुस महिनामा सम्पन्न भइसकेको र छिट्टै हस्तान्तरण गर्ने तयारी भइरहेको प्रमुख अधिकारीले बताए । “भवन निर्माण तथा रङरोगनको काम सकिएको छ”, प्रमुख अधिकारीले भने , “प्रदेशसभा हलमा हाल्नुपर्ने फर्निचरहरू खरिदको प्रक्रियामा छ, फर्निचर हालिएसँगै प्रदेशसभा हल हस्तान्तरण हुन्छ ।” हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको र अब फर्निचरलगायत समान हाल्न मात्र बाँकी छ, उनले भने । भ्याटसहित कूल रू तीन करोड ५३ लाख ६१ हजार पाँच सय ८३ को लागतमा सिउँडी निर्माण सेवा हेटौँडाले प्रदेशसभा हलको निर्माण गरेको हो । प्रदेशसभा सचिवालयको कार्यालय नजिकै निर्माण गरिएको प्रदेशसभा हलमा सभा हलसँगै सभामुख र उपसभामुखको कार्यकक्ष तथा पत्रकार र पर्यवेक्षकहरू बस्ने कक्षको निर्माण गरिएको छ । हेटौँडा उपमहानगरपालिका–२ मा निर्माणाधीन बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सभाहलको काम अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा सम्झौता भई चालु आर्थिक वर्ष २०८/८१ मा सम्पन्न गर्ने गरी निर्माण भइरहेको मुख्यमन्त्री सभाहलको हालसम्म ९९ प्रतिशत काम सम्पन्न भइरहेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ । भवन निर्माणको काम सम्पन्न भइसकेको र रङरोगनको काम अन्तिम चरणमा पुगेकाले यही २०८१ चैत महिनासम्ममा सम्पन्न हुने सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर अधिकारीले बताए।उनका अनुसार संरक्षण र सेभ जेभी भरतपुरले भ्याटसहित पाँच करोड २६ लाख ८३ हजार तीन सय ५९ को लागतमा सो सभाहल निर्माणको काम गरिरहेको छ । त्यस्तै हेटौँडा उपमहानगरपालिका–१ स्थित हेटौँडा अस्पताल भवनको काम पनि तीव्र रूपमा भइरहेको छ । सहरी विकास तथा भवन कार्यालय मकवानपुरका अनुसार अस्पताल भवनको काम हालसम्म ८० प्रतिशत सम्पन्न भइसकेको छ । बिकोई रनवसिर्जनशील जेभी काठमाडौँले ठेक्का पाएको अस्पताल भवन निर्माणको काम चाँडौ सकिने गरी तीव्र रूपमा काम भइ रहेको जनाएको छ । भ्याटसहित कूल रू २६ करोड ६४ लाख २५ हजार दुई सय ८० को लागतमा निर्माण भइरहेको अस्पताल भवनको निर्माणको काम सम्पन्न गर्न २०८१ असार मसान्तसम्म समयावधी भए यही २०८१ फागुन महिनाभित्र सम्पन्न गर्ने अनुमान गरिएको प्रमुख इञ्जिनियर अधिकारीको भनाइ छ । अस्पतालले जग्गाको व्यवस्थापन नगर्दा अस्पताल भवन निर्माणमा केही ढिलाइ भएको हो । कार्यालयको बहुवर्षीय योजनाअन्तर्गत चितवनमा निर्माणाधीन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भवन र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको भवन चालु आर्थिक वर्षभित्रै सकिने गरी काम भइरहेको छ । दुवै कार्यालय भवनको गत २०८० चैत महिनामा सम्झौता भएको थियो । सम्झौता भए लगतैबाट निर्माण सुरू भएको ती कार्यालयको करिब ७० प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुख ई अधिकारीले बताए । चितवनको राप्ती ४ मा निर्माणाधीन इको टुरिजम पार्क, शिखर हरियाली को काम चालु आर्थिक वर्षभित्रै सकिने गरी काम तीव्र रूपमा अघि बढेको छ । कार्यालय प्रमुख ई अधिकारीका अनुसार टुरिजम पार्कभित्रका करिब ९५ प्रतिशत काम सकिएको र बाँकी काम तीव्र रूपमा भइरहेको छ । कूल रू सात करोड छ लाख ९६ हजारको लागतमा निर्माण भइरहेको पार्कको काम चालु आर्थिक वर्ष २०८१/८२ को असारसम्ममा सकिने लक्ष्य रहेको उनले बताए । त्यस्तै चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पताल मातृ शिशु भवनको काम चालु आवभित्रै सकिने गरी काम अघि बढेका छ । कूल रू नौ करोड ५८ लाख ८६ हजारमा ठेक्का सम्झौता भएको सो शिशु भवन निर्माण काम हालसम्म ९० प्रतिशत सम्पन्न भइसकेको सो कार्यालयले जनाएको छ । बहुवर्षीय योजनाका काममा विभिन्न केही कारणले बीचमा ढिलाइ भए पनि सम्झौता अवधिभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीसँग समन्वय भइहेको प्रमुख ई अधिकारीको कथन छ ।

४० प्रतिशतले बढ्यो धनियाँको मूल्य, यस्तो छ आज तरकारीको भाउ

काठमाडौं । आज धेरैजसो तरकारीको मूल्य घटेको छ भने केहि तरकारीको मूल्य बढेको छ । आज रातो मुलाको मूल्य सबैभन्दा धेरै प्रतिशतले घटदा धेरै मूल्य बढ्ने तरकारीमा बरेला र हरियो धनियाँ परेका छन् । कालिमाटी फलफलु तथा तरकारी बजार विकास समितिका अनुसार रातो मुलाको मूल्य २८.५७ प्रतिशतले घटेको छ । हिजो शुक्रबार प्रतिकेजी ३५ रुपैयाँ रहेको रातो मुलाको मूल्य आज २५ रुपैयाँ तोकिएको छ । यस्तै, पालुगोंं साग, चमसुरको साग र मेथीको सागको मूल्य समान २२.२२ प्रतिशतले घटेको छ । उक्त ३ वटै सागको मूल्य हिजो ४५ रुपैयाँ थियो । आज ३५ रुपैयाँमा झरेको छ । आज बकुला र हरियो माछे खुर्सानीको मूल्य समान १८.१८ प्रतिशतले घटेर ४५ रुपैयाँ कायम हुँदा १६ प्रतिशतले घटेर भिण्डीको मूल्य १०५ रुपैयाँमा झरेको छ । यसैगरी, लोक्कल काक्रो ११.५४ प्रतिशतले घटेर ११५ रुपैयाँ, लोक्कल र तराईको काउली १०.७९ प्रतिशतले घटेर ११ रुपैयाँ मूल्य कायम हुँदा सेतो मुलाको मूल्य १०.६८ प्रतिशतले घटेर २२.३३ रुपैयाँ कायम भएको छ । आज मूल्य बढेका तरकारीहरु हरियो धनियाँ र बरेलाको मूल्य समान ४० प्रतिशतले वृद्धि भएर ३५ रुपैयाँ प्रतिकेजी पुगेको छ । यस्तै, हरियो प्याजको मूल्य २८.५७ प्रतिशतले बढेर ४५ रुपैयाँ, सखरखण्डको मूल्य १५.३८ प्रतिशतले घटेर ७५ रुपैयाँ, पिंडालुको मूल्य १३.३३ प्रतिशतले घटेर ८५ रुपैयाँ पुगेको छ । अन्य तरकारीको मूल्य भने हिजोका दरमा नै किनबेच भइरहेका समितिले जनाएको छ ।

नेपाल प्रहरीका ३७ जना डीएसपी ‘एसपी’मा बढुवा (सूचिसहित)

काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिले ३७ जना नायब उपरीक्षक(डीएसपी) लाई बढुवा गरेको छ । प्रहरी प्रधान कार्यालयमा बसेको समितिको बैंठकले ३७ जनालाई उपरीक्षक(एसपी)मा बढुवा गरेको हो । प्रधान कार्यालयल एक सूचना जारी गर्दै बढुवा भएको जानकारी गराएको छ । बढुवा हुनेहरुमा कुलदीप चन्द, सुमित खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट, दीपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेवे, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही, टेकबहादुर कार्की, फणीन्द्र प्रसाईं, शरतकुमार थापा, युवराज खड्का रहेको सूचनामा उल्लेख छ । यसैगरि राजन चापागाईं, किशोरकुमार श्रेष्ठ, मुकुन्दप्रसाद रिजाल, पवनकुमार भट्टराई, रवीन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निसान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुकेश तण्डुकार, दधिराम न्यौपाने, नवीन कार्की, श्यामकुमार सारुमगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्लीनारायण पाण्डेय, लालध्वज सुवेदी र रुगमबहादुर कुँवर बढुवा भएको जनाइएको छ ।

आजको मौसमः कोशीमा शीतलहर, तराईमा हुस्सु र कुहिरो

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भू-भागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

चिसो र शीतलहरको जोखिममा दलित मुसहर परिवार

सर्लाही । चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन । बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ । उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन् । अन्य समयमा अवस्था सामान्य भएपनि बर्सातको डुबान र हिउँदको ठण्डीले उहाँहरूलाई निकै पिरोल्छ । यस बस्तीका बालबालिका र वृद्ध वृद्धा निकै सकसपूर्ण जीवन व्यतित गरिरहेका छन् । सोही बस्तीमा १० दिनकी सुत्केरी जोनिता माझी अत्यन्त कष्टले दिन रात काटिरहेकी छिन् । चिसो दिन प्रतिदिन बढ्दै जाँदा नवजात शिशु र आफूलाई लगाउने न्यानो कपडासमेत नभएको उनले गुनासो गरिन । खरले छाएको मुस्किलले चार जना टुसुक्क बस्न मिल्ने ठाउँमा पराल ओच्छ्याएर उनले बिस्तरा बनाएकी छिन । त्यसैमा उहाँको १० दिनको शिशु पनि सुताएकी छिन् । दैनिक ज्याला मजदुरी गर्नु पर्ने परिवार चिसोका कारण बाहिर निस्कनसमेत नपाएका कारण दुई छाकको जोहोसमेत गर्न समस्या परेको उनकी सासु जितनी देवी माझीले बताइन् । “भुइको चिसो पनि आउँछ ।” सुत्केरी माझीले भनिन् “माथिबाट शीत चुहिरहन्छ । ओड्ने कुरा पनि राम्रो छैन् । बाँसको टाटीको प्वालबाट छिरेको चिसो स्याँठले मुटु छेडेर जान्छ ।” जोनिताजस्तै सोही बस्तीकी २१ वर्षीया पुनीता माझीले पनि गत कात्तिकमा तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिइन । सुरुमा चिसो कम हुँदा जसोतसो दिन रात कटाएकी उनलाई शीतलहर सुरु भएपछि भने समस्या भएको बताइन् । चिसोले रातभरि शिशु रोएर नसुत्ने उनले दुखेसो पोखिन । चिसोका कारण आफू पनि निकै पटक बिरामी परिसकेको उनको भनाइ थियो । पुनिताका श्रीमान् पन्निलाल माझी र ससुरा हरिन्द्र माझी पनि मजदुरीका लागि पन्जाव पुगेका छन् । श्रीमान्ले कमाएर ल्याउलान र मिठो मसिनो खाने तथा बालबच्चा र आफूसमेतले न्यानो कपडा लगाउने आशमा रहेको पुनिताले बताइन । कमाइ जम्मा भएपछि पठाउँछु भनेर श्रीमानले भनेको उनले सुनाइन् । सुत्ने ओछ्यान नजिकै बालेको घुर हेरेर रात कटाउने गरेको उनको दुखेसो छ । बस्तीकै अर्को कुनामा रहेको सानो बासको टाँटी र खरको मुस्किलले भित्र छिर्न मिल्ने छाप्रोमा २० वर्षकी विना माझी महिना दिनको छोरा च्यापेर बसिरहेकि छिन् । “भुइमा राख्यो की चिसोले बच्चा रोही हाल्छ,” उनले भनिन्, “छातीमा च्यापी राख्यो भने न्यानो हुन्छ क्यार रुदैन ।” मङ्सिर अन्तिममा जन्मिएको छोराले पेटभरि दूधसमेत खान नपाएको उनले गुनासो गरिन । चिसो बढेकाले परिवारको अन्य सदस्य मजदुरीमा जान नसक्दा आफूसमेतले कयैँन रात भोकै बस्नुपरेको भन्दै शिशुलाई खुवाउन दूध नआएको उनले सुनाइन् । बिनाका श्रीमान् पनि पन्जाबमा उखु काट्ने मजदुरको काम गरिरहेका छन् । यता गाउँपालिकाले विगतमा राहतको व्यवस्था गरेको भएपछि यस पटक केही ढिला भएको पालिका अध्यक्ष रामसिंहासन रायले जानकारी दिए । मुसहर परिवारको अवस्था दयनीय रहेको कुरा जानकारी नआएको भन्दै अध्यक्ष रायले त्यस्तो अवस्था भए बुझेर राहत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । विपन्नका लागि ल्याएको योजनामा विपक्षी र सम्पन्नले काम नै गर्न नदिने गरेको उनको गुनासो थियो । “यस गाउँका पाँच परिवारको घर गत चैतमा आगोले जलेर नष्ट भयो ।” उनले भने, “हामीले सिफारिस गरेर पठायौँ । पछि राजनीति गरेर अनेक गरेपछि उहाँहरूसमेतले जिल्ला विपद्मार्फत पाउने घर बनाउने पैसा पाउनुभएको छैन् । सुरुमा पालिकाले १०(१० हजार नगद र केही खाद्यानन्न दिएका थियो ।” मधेशमा काम गर्न नदिने र गरेन भनेर बदनाम गर्ने प्रवृत्ति व्यापक बनेको उनले बताए । आगलागीबाट घरबार गुमाएका परिवार अहिले पनि चिसोमा आफन्तको कहाँ बसिरहेका छन् । आगोले उक्त वस्तीमा रहेको विन्देश्वर माझी, रामविश्वास माझी, दिनेश माझी, जोखु मुखिया र गुलरी देवीको घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । भने, रासनारायण माझी, मिश्री माझी, हरिनु माझी, नरेश राय, राजकिशोर मुखिया र गोपी मुखियाको घरमा आंशिक क्षति पुगेको वडा सदस्य सितादेवी माझीले बताइन् ।

बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन, कसको सम्भावना बढी ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् । बीमा प्राधिकरणको अध्यक्ष बन्न पूर्वअध्यक्षसहित १२ जनाले आवेदन दिएका हुन् । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले गत पुस २६ गते आवेदन आह्वान गरेको थियो । सोही बमोजिम आज अन्तिम दिनसम्म १२ जनाले आवेदन दिएका हुन् । बीमा प्राधिकरणको अध्यक्ष बन्न कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णु बावु मिश्र, बुद्धकाजी श्रेष्ठले आवेदन दिएका छन् । यस्तै, दामोदर बसौला, डिम प्रसाद पौडेल, रामशरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठले आवेदन दिएको मन्त्रालयले जनाएको छ । रेग्मी प्राधिकरणमा निर्देशक पदमा कार्यरत छन् भने डा. रोका युवा स्वरोजगार कोषका पूर्वउपाध्यक्ष हुन् । प्राधिकरणको अध्यक्ष बन्न आवेदन दिएकामध्ये ओझा अध्यापन गराउँछन् भने चापागाईं साविक बीमा समितिका पूर्वअध्यक्ष हुन् । यस्तै, मिश्र निक्षेप तथा कर्जा सुरक्षण कोषका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् भने बुद्धकाजी श्रेष्ठ तत्कालीन लुम्बिनी जनरल इन्स्योरेन्सको उच्च व्यवस्थापक तहका कर्मचारी हुन् । हाल उनी सर्भेअर पेशामा आवद्ध छन् । उनी तत्कालिन यूनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिको सदस्य भएर १८ महिनासम्म काम गरेका थिए । बस्यौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक हुन् भने डिमप्रसाद पौडेल नेपाल एयरलाइन्सका पूर्वमहाप्रबन्धक हुन् । रामशरण पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् । उनी हाल कृषि विकास बैंकको अध्यक्ष समेत हुन् । विक्रान्त पाण्डे नेपाल इन्स्योरेन्सका पूर्वउपमहाप्रबन्धक हुन् । रमण नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं नागरिक लगानी कोषका पूर्वप्रमुख हुन् । उनी हाल लक्ष्मी सनराइज बैंकका अध्यक्ष छन् । गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टाचार मुद्धामा सूर्यप्रसाद सिलवालविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि बीमा प्राधिकरण अध्यक्षविहीन छ । सिलवाल निलम्बित भएपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।