सम्पदा पुनःनिर्माणमा काठमाडौं महानगर, कहाँ-कहाँ हुँदैछ काम ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले विगतदेखि नै महानगरलाई खुला संङ्ग्रहालयका रूपमा विकास गर्न तथा यसको पहिचानलाई जोगाइराख्न नगरभित्रका मन्दिर, सत्तल, बहाल, विहार, गुठी, ढुंगेधारा तथा पोखरीजस्ता सम्पदाहरूको पुनःनिर्माण, संरक्षण र सम्वद्र्धनमा जुट्दै आएको छ । महानगरले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत समेत यस्ता सम्पदाहरूको निर्माण र संरक्षण प्राथमिकताका साथ अगाडि बढाइएको छ । जसअन्र्तगत यस वर्ष पनि महानगरले महानगरभित्रका विभिन्न स्थानमा रहेका सम्पदाहरुको पुर्ननिर्माण, संरक्षण, सम्वद्र्धन र सरसफाइ गर्ने योजना राखेको छ । त्यसअन्र्तगत नै अहिले विभिन्न ठाउँमा पुनःनिर्माणका कार्यक्रम सञ्चालन भइरहेको महानगरले जनाएको छ । महानगरका सम्पदा तथा पर्यटन विभागीय प्रमुख कुमारी राईका अनुसार यो चालु आवमा ठेक्का प्रक्रियामार्फत झण्डै ५० वटा साना तथा ठूला प्रोजेक्टका सम्पदाहरूको पुनःनिर्माण हुँदैछ । त्यसमा मन्दिर, बहाल, सत्तलह रहेका छन् । ठेक्का प्रक्रियाबाहेक उपभोक्तामार्फत ३० वटा मन्दिर तथा सत्तलहरु पुनःनिर्माणको क्रममा रहेको प्रमुख राइले बताइन् । त्यसैगरी, चालु आवमा ४०/४५ ठाउँको ढंगेधाराहरु पुनःनिर्माण भइरहेको छ । राईका अनुसार श्रमबैंकबाट दैनिक हाजिरीमा कामदार राखेर प्रत्येक वडामा भएका ढुंगेधारा सफा गर्ने कार्यक्रम भइरहेको छ । सरसफाइ कार्यक्रमका लागि एक जना सुभरभाइजर र १० जना कर्मचारी खटिएका छन् । सरसफाइमा जोड दिन थालेसँगै पुराना ढुंगेधाराहरुको मुहार नै बद्लिएको राइले बताइन् । ढुंगेधारा, हिटी, पोखराबाहेक मन्दिरहरुको सरसफाइ र मर्मतसम्भारमा जोड दिइएको छ । यसका लागि अहिले मन्दिरहरुको खोजीकार्य पनि भइरहेको राईको भनाइ छ । पुनःनिर्माण हुँदै गरेका मुख्य सम्पदा काठमाडौं महानगरले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर निर्माण–पुनःनिर्माणलाई अघि बढाइरहेको छ । २०७२ सालको भूकम्पले क्षति पुर्याएकाे र जीर्ण भएका सम्पदाहरुलाई पुनः निर्माण गर्ने, मर्मतसम्भार, सरससफाइ गर्ने काममा निरन्तर खट्दै आएकोमा यो चालु आवमा पनि निरन्तरता दिएको छ । मल्लकालमा बनेका ठूला तथा साना मठ, मन्दिरहरु भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको महानगरले जनाएको छ । भद्रकाली मन्दिर महानगरले ०७२ सालको भूकम्पले जीर्ण बनाएको ११ वडामा पर्ने भद्रकाली मन्दिर परिसरको सत्तलको पुनःनिर्माण गर्दैछ । महानगरका सम्पदा विभाग राईले महत्वपूर्ण शक्तिशाली पीठ भद्रकाली मन्दिरले बहुपक्ष सम्बन्धलाई स्थापित गर्ने भएकाले यसको संस्कृतिलाई बचाइराख्नुपर्ने बताइन् । उक्त मन्दिरको पुनःनिर्माण असार अन्तिम साताबाट सुरु भएको हो । बीचमा केही विवाद सिर्जना भएर काम रोकिएपनि अहिले धमाधाम भइरहेको महानगरले जनाएको छ । यसको पुनःनिर्माण नेवारी शैलीमा हुँदैछ । विभागका प्रमुख राईका अनुसार तुलसी अम्बुजा जेभीले पुनःनिर्माणको जिम्मा लिएको छ । उक्त निर्माण कम्पनीले ३४ करोड ८० लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । आगामी तीन वर्षभित्र पुनःनिर्माण गरिसक्नुपर्ने ठेक्का सम्झौता छ । महाकाल भैरव टुँडिखेलको पश्चिमतर्फ रहेको मल्लकालीन समयमा निर्माण गरिएको महाकाल भैरव मन्दिर परिसरको सत्तल पुनःनिर्माण हुँदैछ । यो मन्दिर परिसरमा पनि सत्तलहरुको पुनःनिर्माण भइरहेको छ । यो मन्दिर परिसरको सत्तल पुनःनिर्माणको लागि १० करोड ५ लाख रुपैयाँ रुपैयाँ बराबरको सम्झौता भएको छ । पुनःनिर्माणको ठेक्का विनायक एसपी बोहरा जेभी निर्माण कम्पनीले पाएको हो । यो मन्दिरको पुनःनिर्माण २०८३ असारसम्ममा सकाउनुपर्ने सम्झौता भएको महानगरले जनाएको छ । भवानी शंकर मन्दिर वडा न २५ स्थित केलटोलमा अवस्थित भवानी शंकर मन्दिरको पुनःनिर्माण भइरहेको महानगरले जनाएको छ । पुनःनिर्माणको लागि सिएल एटु जेड निर्माण कम्पनीले ठेक्का पाएको छ । उक्त निर्माण कम्पनीसँग ६ करोड रुपैयाँमा सम्झौता भएको सम्पदा तथा पर्यटन विभाग प्रमुख राईले बताइन् । भर्खर काम सुरु भएको उक्त मन्दिरको पुनःनिर्माण आगामी २ वर्षभित्र अर्थात २०८२ को अन्त्यतिर सकाउनुपर्ने ठेक्का सम्झौता छ । इखा पोखरी वडा न १७ मा रहेको ऐतिहासिक इखा पोखरीको पुनःनिर्माण हुँदैछ । कन्या मन्दिरभित्र पुनःनिर्माण हुन लागेको उक्त पोखरीको लागत ४ करोड रुपैयाँ रहेको छ । ऐतिहासिक महत्व बोकेको उक्त पोखरी हाल सुकेको अवस्थामा छ । यो पोखरीले करिब ७ रोपनी जग्गा ओगटेको छ । यो पोखरीले ओगटेको जग्गा अतिक्रमणमा पर्दै आइरहेको थियो । पोखरीको पुनःनिर्माण हुने भएपछि यसले नयाँ जीवन पाउने भएको महानगरले जनाएको छ । रणमुक्तिश्वर मन्दिर काठमाडौं महानगरले खिचापोखरीमा अवस्थित रणमुक्श्विर मन्दिरको पुनःनिर्माण प्रक्रियासमेत अगाडि बढाइसकेको छ । यसभन्दा अघि पनि पुनःनिर्माण गर्ने भनिएपनि विभिन्न कारणहरुले उक्त मन्दिरको पुनःनिर्माण हुन सकेको थिएन । महानगरका अनुसार यो पटक भने रणमुक्तिश्वर मन्दिरको पुनःनिर्माण हुने जनाएको छ । यसका लागि टेन्डरसमेत आह्वान भइसकेको सम्पदा विभाग प्रमुख राईले बताइन् । उनका अनुसार यो मन्दिरको पुनःनिर्माणका लागि ९ करोड लागत लाग्ने अनुमान गरेको छ । इट्टा चप्पा त्यसैगरी, काठमाडौं महानगर असनमा इट्टा चप्पा सतल पुनःनिर्माण हुँदैछ । यो मन्दिरको पुनःनिर्माणका लागि २ करोड ८४ लाख लागत रहेको महानगरले जनाएको छ । मन्दिर पुनःनिर्माणको ठेक्का शुभश्री कन्सक्ट्रक्सनले पाएको छ । महानगरका अनुसार उक्त मन्दिरको पुनःनिर्माण ९० प्रतिशत सम्पन्न भइसकेको छ । यीबाहेक स-साना योजनाहरु पनि प्रत्येक वडाहरूमा कम्तीमा तीन÷चार वटा मन्दिर, गुम्बा, सत्तलहरुको पुनःनिर्माण भइरहेको छ सम्पदा विभाग प्रमुख कुमारी राईले बताइन् । बस स्टप फल्चाको पुनःनिर्माण काठमाडौं महानगरले मन्दिर, गुम्बा, सत्तलजस्ता सम्पदाको पुनःनिर्माणमात्रै नभएर बस विसौनीमा ‘फल्चा’ निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाइरहेको छ । महानगर प्रमुख बालेन्द्र शाहले चुनावी घोषणापत्रमा समेत ‘बस बिसौनीमा परम्परागत शैलमा फल्चा निर्माण गर्ने’ भनेर उल्लेख गरेका थिए । चुनाव जितेपछि अर्थात आव ०७९/८० को पहिलो नीति तथा कार्यक्रममार्फत उनले महानगरभित्रका बस स्टपहरूमा फल्चा निर्माण गर्न विभिन्न संघसंस्थालाई प्रोत्साहन गर्ने विषय समेटिएको थियो । त्यसैअनुरुप अहिले महानगरले फल्चा निर्माण–पुननिर्माण कार्यलाई अघि बढाएको छ।सम्पदा विभाग प्रमुख राईका अनुसार उपभोक्ता समितिमार्फत २ वटा फल्चा निर्माण सम्पन्न भइसकेको छ । बिजुली बजार पुल नजिकै र बबरमहल औषधी विभागनजिक अगाडि फल्चा निर्माण भइसकेको हो । उनले महानगरभित्रका मूख्य सडकका बस स्टपहरुमा झण्डै २२ वटा फल्चाहरु निर्माण हुने क्रममा रहेको बताइन् । फल्चाहरु निर्माणको ठेक्का आरआर कन्सक्ट्रक्सनले पाएको छ । थप १२ ठाउँमा पनि फल्चा निर्माणको लागि टेन्डर खुलाइसकेको सम्पदा विभाग प्रमुख राईले बताइन् । महानगरले गरेको अध्ययनअनुसार महानगरभित्र २६४ भन्दा बढी स्थानमा बस बिसौनीहरू रहेका छन् । महानगरले व्यवहारिक रुपमा आवश्यकता भएको ठाउँको पहिचान गरेर फल्चा निर्माण गर्दै जाने योजना रहेको छ । फल्चाहरू परम्परागत शैलीमा नै निर्माण हुनेछन् ।
बंगलादेश र विश्व बैंकबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता
काठमाडौं । बंगलादेश सरकार र विश्व बैंकबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि थप दुई करोड २९ लाख एसडीआर (अन्तर्राष्ट्रिय रिजर्भ एसेट अर्थात् तीन करोड अमेरिकी डलर) बराबरको एक सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बङ्गलादेशको आर्थिक सम्बन्ध महाशाखाका सचिव मोहम्मद शाहरियार कादर सिद्दिकी र विश्व बैंकका कार्यवाहक देशीय निर्देशक गेल मार्टिनले हस्ताक्षर गरेका छन् । पावर ग्रिड बङ्गलादेशले यो परियोजना कार्यान्वयन गरिरहेको छ, जसको उद्देश्य दक्षिणपूर्वी बङ्गलादेशका केही भागहरूमा बिजुलीको बढ्दो माग पूरा गर्नु हो । महाशाखाले एक वक्तव्य जारी गरी विश्व बैङ्कको स्केल–अप सुविधा अन्तर्गत सन् २०१८ अप्रिलमा ४५ करोड ६४ हजार डलरको यस परियोजनाको प्रारम्भिक वित्तीय सम्झौतामा हस्ताक्षर गरिएको थियो। त्यसपछि कोभिड–१९ परियोजनाका लागि कुल पाँच करोड अमेरिकी डलर खर्च गरिएको थियो । यस पृष्ठभूमिमा, परियोजनाको सफलतापूर्वक सम्पन्न गर्नका लागि अब विश्व बैंकबाट तीन करोड डलरको थप वित्तपोषण आवश्यक छ ।
कर प्रणालीमा पराजुली र पाण्डेको पहुँच, भाटभटेनीले तिर्नुपर्ने ६.२६ करोडलाई १३ करोड पुर्याए
काठमाडौं । भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्याई विद्युतीय कसूर गरेको आरोपमा २ जना प्रक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटको युजर आइडी र पासवर्डको अनधिकृत प्रयोग गरी अस्वाभाविक कर विवरण पेस गर्ने पर्वतको बिहादी गाउँपालिका ३ घर भएका सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका ४ घर भएका परिन पाण्डेलाई प्रक्राउ गरेको हो । प्रक्राउ परेका पराजुली र पाण्डे हाल चितवनको भरतपुर महानगरपालिका ११ मा बस्छन् । उनीहरू चितवनमा बसेर लेखापरीक्षण गर्ने निजी फर्म बिहादी बिजनेश म्यानेजमेण्टमा आवद्ध रहेको सीआईबीले जनाएको छ । विभागको सफ्टवेयरबाट भाटभटेनी सुपरमार्केटको युजर आइडीको अनधिकृत प्रयोग गरी अस्वाभाविक कर विवरण पेस गरेको हुँदा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विभागले गत पुस २५ गते पत्र पठाएको थियो । सोही आधारमा उनीहरूलाई गत माघ ५ गते प्रक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता प्रवक्ता एवं सूचना अधिकारी सुधिरराज शाहीले बताए । भाटभटेनी सुपरमार्केटबाट सरकारलाई प्राप्त हुने राजस्वको दायराभित्र आउने जम्मा कारोबार रकम २ अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ रुपैयाँको राजस्व कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ रुपैयाँ थियो । तर, पराजुली र पाण्डेले आन्तरिक राजस्व कार्यालयको एकीकृत कर प्रणाली सूचनामा पहुँच पुर्याएर उक्त तथ्याङ्कलाई परिवर्तन तथा हेरफेर गरी १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ गलत तथ्याङ्क राखेर करदातालाई बढी कर दायित्व सृजना गराएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सीआईबीले जनाएको छ । साथै राज्यको आधिकारिक कम्प्युटर सूचना प्रणालीमा अनधिकृत रूपमा प्रविष्ट गर्ने कार्य गरेको देखिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सीआईबीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा कसुरमा संलग्न व्यक्तिहरूले आफू संलग्न अडिट फर्मबाट विभागको पोर्टलमा गई विभिन्न करदाताहरूको कारोबारको विवरण आफू अनुकूल करदाताहरूको यथार्थ विवरणभन्दा बढी वा कम (फरक) हुने गरी प्रविष्ट गरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कसैलाई हानी निक्सानी पुर्याउने र लाभ लिने गरेको सीआईबीको भनाइ छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३, परिच्छेद ९ (कम्प्यूटरसम्बन्धी) कसूरमा प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रवक्ता शाहीको भनाइ छ । उनीहरूको साथबाट ल्यापटप ३ थान, सीपीयू एक थान, वाइफाइ राउटर एक थान, डीभीआर एक थान, मोबाइल फोन २ थान बरामद गरिएको छ । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई पहिलो पटक ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त
काठमाडौं । यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त भएका छन् । यशोदा फुड्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार बिस्तारका लागि शाहलाई नियुक्त गरेको जनाएको छ । शाहको लामो व्यावसायिक अनुभव छ । उनले यसअगाडि केडिया ग्रुपमा ७ वर्ष र चौधरी ग्रुपमा २४ वर्ष काम गरिसकेका छन् । उत्पादन, इन्जिनियरिङ, प्राजेक्ट मेनेजमेन्ट, सेल्स तथा मार्केटिङमा उनको अनुभव रहेको छ । यशोदा फुड्सका अध्यक्ष चुनप्रसाद पौडेलले शाहको प्रवेशसँगै यशोदाको उत्पादन अन्तर्राष्ट्रिय बजारमा बिस्तार हुने विश्वास व्यक्त गरे । कम्पनीले भारत, अमेरिका, युरोप, अष्ट्रेलियालगायत १५ भन्दा बढी देशमा आफ्नो उत्पादन निर्यात गर्दै आइरहेको छ । कम्पनीले करेन्ट चाउचाउ, चिजबल्स र चिप्सलगायतका खाद्यवस्तु उत्पादन गर्दै आइरहेको छ ।
पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका
पोखरा । पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट । उचित रणनीति, पूर्वाधार विकास, र दीर्घकालीन योजना निर्माण नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको भन्ने टिप्पणी भएको थियो । तथापि, पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै यस क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा महत्वपूर्ण फाइदाहरू लिने विश्वासले पोखराका पर्यटन व्यवसायीमा बेग्लै ऊर्जा थपेको छ । घोषणापश्चात् पोखरालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनाका साथै स्थानीय अर्थतन्त्रमा वृद्धि, रोजगारीका अवसर सिर्जना र पूर्वाधार विकासको गति तीव्रसँगै यसले पर्यटकहरूलाई आकर्षित गर्दै स्थानीय कला, संस्कृति र प्राकृतिक सौन्दर्यको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास सरोकारवाला सबैमा रहेको पाइन्छ । यतिबेला पोखरा महानगरपालिकाले अहिले पोखरा भ्रमण वर्ष २०२५ लाई भव्य रुपमा मनाउने तयारी गरिरहेको छ । महानगरको नीति तथा कार्यक्रममा समेटेको भ्रमण वर्षलाई यही जनवरी महिनाको अन्तिम या फेब्रुअरीमा औपचारिक कार्यक्रम गरेर अघि बढाउने तयारी गरिरहेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । उनले पोखरा भ्रमण वर्षलाई सफल बनाउन विशेष तयारीमा साथ लागिपरेको बताए । ‘पोखरा भ्रमण वर्ष २०२५ हाम्रो महानगरको पर्यटन क्षेत्रको उन्नति र प्रवद्र्धनका लागि कोसेढुङ्गा साबित हुने विश्वाससहित हामीले गृहकार्य थालेका छौँ, सफल बनाउँछौँ,’ प्रमुख आचार्यले भने । उनले नेपालको पर्यटकीय राजधानीका रूपमा रहेको पोखरालाई उत्कृष्ट गन्तव्य बनाउनका लागि विभिन्न पर्यटकीय गतिविधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिएको बताए । ‘पोखराको पर्यटनलाई साँचो अर्थमा नयाँ उचाइमा पुर्याउनका लागि सबै पक्षको समन्वय र दीर्घकालीन दृष्टिकोण अपनाउनु पर्छ,’ आचार्यले भने । उनले मित्रराष्ट्र चीनले आफ्ना नागरिकका लागि नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको र यसले नेपालको पर्यटन प्रवद्र्धनमा ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘यो कदमले नेपाल र चीनबीचको मित्रता अझ सुमधुर बनाउनाका साथै पोखरालगायत नेपालको पर्यटकीय गन्तव्यलाई विश्वव्यापी रूपमा चिनाउने अवसर प्रदान गरेको छ ।’ नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्षका अवसरमा ठमेल र भक्तपुरमा आयोजना गरिएका सांस्कृतिक महोत्सवहरूले नेपालको सांस्कृतिक विविधता, परम्परा र पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । पोखरा महानगरपालिकाका पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीले पोखरा महानगरले वर्ष २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा सफल बनाउन विभिन्न योजना समेटेको बताए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रमुख देशहरूमा नियमित उडान सुरु गर्ने, पर्यटन विविधीकरणका लागि साहसिक पर्यटनसँगै सांस्कृतिक, ग्रामीण र पर्यावरणीय पर्यटनलाई प्राथमिकता दिने तथा स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा आधारित योजनाहरू लागू गरेर उनीहरूको आर्थिक स्थिति सुधार गर्ने उद्देश्य रहेको छ । साथै, डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा पोखराको प्रचार–प्रसार गर्दै पर्यटकलाई अविस्मरणीय अनुभव प्रदान गर्ने ‘लाइफटाइम एक्सपेरियन्स’ दिने नयाँ कार्यक्रमहरू सञ्चालन गरिनेछ । महानगरले यो घोषणापश्चात १५ लाख पर्यटक भित्र्याउने महत्वाकाङ्क्षी योजना अघि सारेको कार्कीले जानकारी दिए । ‘यस योजनामा पर्यटन, पूर्वाधार विकास, वातावरणीय दिगोपन, र सामुदायिक उत्थानलाई प्राथमिकता दिइएको छ,’ कार्कीले भने, ‘निजी क्षेत्रसँग सहकार्य गर्दै वर्षभरि पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य महानगरले राखेको छ ।’ प्रत्येक वडामा कम्तीमा एक पर्यटकीय गन्तव्य विकास गरी तालदेखि ताल, गुफादेखि गुफा, हाइकिङ मार्ग निर्माण गरिनेछ । विशेष परियोजनाहरूअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण, डेभिज फल्समा ग्लास ब्रिज, सेती नदी खोँचमा पर्यटक पूर्वाधारको विकास, फोहोर व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । फेवाताल, सराङकोट, र अन्नपूर्ण परिपथजस्ता गन्तव्यहरूलाई थप प्रवद्र्धन गर्नाका साथै नयाँ पारिस्थितिक पर्यटन पहल, सांस्कृतिक पर्यटन कार्यक्रम र समुदाय–आधारित परियोजनामार्फत पर्यटकलाई विविध अनुभव प्रदान गर्ने प्रयास पनि भइरहेको छ । त्यसैगरी, प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदामा आधारित पर्यटन कार्यक्रम सञ्चालन गर्नाका साथै मुक्तिनाथ प्रवेशद्वार निर्माण, फेवातालमा बाँध निर्माण, कोत्रेमझुवामा बहुउद्देश्यीय प्रवेश पार्क, फेवातालको माथिल्लो भागमा फेवा बीच विकास, रत्न मन्दिरलाई दरबार सङ्ग्रहालयका रूपमा पुनर्निर्माण, हेरिटेज ट्रेल र मेट्रो ट्याक्सी सेवाजस्ता पूर्वाधार विकास योजनाहरू कार्यान्वयन गरिने जनाइएको छ । एसियाली विकास बैङ्क (एडिबी) को आर्थिक सहयोगमा पोखराको पर्यटन विकास र स्थानीय जीविकोपार्जन सुधारका लागि विभिन्न परियोजनाहरु अहिले सञ्चालित रहेको पोखराको पर्यटन सुधार परियोजनाहरुबाट काम सुरुआत भएका छन् । एडिबीबाट सहरी उत्थानशील तथा जीवनयापन सुधार आयोजनाका लागि ३१.७९ मिलियन डलर आर्थिक सहयोग गरेको आयोजनाका म्यानेजर इन्जिनीयर कविता पौडेलले जानकारी दिए । पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले पोखरा महानगरपालिकाले घोषणा तयारी गरेको पोखरा भ्रमण वर्षले पर्यटन क्षेत्रको विकास र पोखराको विश्वव्यापी पहिचानका लागि महत्वपूर्ण अवसरका रूपमा लिन सकिने बताए । उनले हालै मात्र सम्पन्न ड्रागन बोट रेस प्रतियोगिता, सडक महोत्सव, हट एयर बेलुन महोत्सवजस्ता जल, जमिन र आकाश लक्षित महोत्सवहरुले अन्तर्राष्ट्रियजगत्मा पोखरालाई चिनाउन थप सहयोग पुर्याएको बताए । भ्रमण वर्षका लागि पनि साहसिक पर्यटन, ग्रामीण पर्यटन र सांस्कृतिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ । पोखरा महानगर सहरी योजना आयोगका पूर्वउपाध्यक्ष तथा पर्यटन रणनीतिका योजनाकार डा रामचन्द्र लामिछानेले भ्रमण वर्ष घोषणा मात्र नगरी यसको लक्ष्य हासिल हुनेगरी काम गर्नुपर्ने बताउँछन् । ‘पोखरा भ्रमण वर्ष घोषणा गरेर मात्र पर्यटक आउँदैनन्, रणनीतिक योजनासहितका कार्यक्रम र पूर्वाधार विकासमा ध्यान दिनुपर्छ ।’ उनले घोषणलाई व्यवहारमा उतार्नका लागि स्पष्ट रणनीति र दृढ इच्छाशक्ति हुनुपर्ने आवश्यकता औँल्याए । पोखरालाई अन्तर्राष्ट्रियस्तरको गन्तव्यका रूपमा स्थापित गर्न यातायात, होटल, गाइड, सुरक्षा, हस्पिटालिटी र स्थानीय समुदायको सशक्त सहभागिता सुनिश्चित गर्नुपर्छ । पोखराको पर्यटनलाई दिगो र समृद्ध बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता, पर्यावरणीय संरक्षण र उत्कृष्ट पूर्वाधार विकास अनिवार्य हुन्छ । साथै, पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय उडान सञ्जालको प्रवद्र्धन र पर्यटन कार्यक्रमहरूको विविधताजस्ता पक्षहरूलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरुको भनाइ छ । रासस
६ महिनामा भित्रियो पौने १६ अर्बको मोबाइल, सरकारले उठायो ३ अर्ब राजस्व
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा पौने १६ अर्बको मोबाइल भित्रिएको छ । चालु आवको पौष मसान्तसम्म नेपालमा १६ अर्ब ७१ करोड रुपैयाँ बढीको आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार ११ लाख ११ हजार वटा स्मार्टफोन आयात हुँदा ३ अर्ब ११ करोड रुपैयाँ बढीको राजस्व संकलन भएको छ । उक्त्त स्मार्टफोन विभिन्न ५० वटा देशहरूबाट आयात हुने गर्छ । विशेषगरी नेपालमा चीन, भारत, जापान, जर्मनी, युनाइटेड अरब, फ्रान्स र कोरीया जस्ता मुलुकबाट स्मार्टफोन आयात हुने विभागको तथ्यांकले देखाएको छ । सबैभन्दा धेरै चीनबाट स्मार्टफोन आयात हुन्छ । चीनबाट ११ अर्ब ५८ करोड रुपैयाँ बढीको स्मार्टफोन आयात हुँदा २ अर्ब १६ करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ । साथै, दास्रोमा भारतबाट बढी आयात भएको तथ्यांकले देखाएको छ । भारतबाट ४ अर्ब ८२ करोड रुपैयाँ बढीको आयात हुँदा ८९ करोड ९९ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । यस्तै, जापानबाट ४ करोड ७४ लाख रुपैयाँ बढीको स्मार्टफोन आयात हुँदा ८८ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । युनाइटेड अरबबाट ५करोड ८३ लाख रुपैयाँ बढीको आयात हुँदा १ करोड ७ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । त्यसैगरी अस्ट्रेलियाबाट २ करोड ८९ लाख रुपैयाँ बढीको स्मार्टफोन आयात हुँदा ५४ लाख १९ हजार रुपैयाँ बढीे राजस्व संकलन भएको विभागले जनाएको छ ।
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताएका छन् । पाल्पाको तिनाउ गाउँपालिकाको दोभानस्थित प्रशासकीय भवनको ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्वसहमतिबमोजिम अघि बढ्ने उनले स्पष्ट पारे । | प्रधानमन्त्री ओलीले कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्ने प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको उल्लेख गर्दै नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी कामना गरे । पाल्पाको विकास निर्माणको मार्गलाई अझ तीव्र रुपमा अगाडि बढाउन उनले आग्रह गरे । केही व्यक्तिले विकासका कामलाई सुन्न नचाहेर विकास विरोधी कुरा गरिरहे पनि त्यस्ता कुराको अर्थ नहुने प्रधानमन्त्री ओलीले स्पष्ट पारे । रासस
मेटलाइफ र इयर केयर नेपालबीच सम्झौता, स्कूल इयर हेल्थ कार्यक्रम सञ्चालन गरिने
काठमाडौं । मेटलाइफ नेपालले इयर केयर नेपालसँग मिलेर काठमाडौं, भक्तपुर र ललितपुरका सरकारी विद्यालयका २ हजार ४०० विद्यार्थीहरूलाई लक्षित गर्दै १० हप्ताको ‘स्कूल इयर हेल्थ कार्यक्रम’ गर्ने भएको छ । यस कार्यक्रम अर्न्तगत सामुदायिक विद्यालय जाने बालबालिकामा कान सम्बन्धी समस्याको पहिचान, रोकथाम र सचेतना बढाउने उद्देश्य रहेको मेट लाइफले जानकारी दिएको छ । इयर केयर नेपालका विशेषज्ञहरूले ८ देखि १० विद्यालयहरूमा बालबालिकाको कान परीक्षण गर्नेछन् । पोर्टेबल अडियोग्राम मेशिनद्वारा श्रवण परीक्षण गरिने र सामान्य समस्याको उपचार तुरुन्तै हुने जनाएको छ । जटिल केसहरूलाई भने थप उपचारका लागि सिफारिस गरिने र विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई कानको स्वास्थ्यबारे जानकारी दिने विशेष सामग्री मार्फत् श्रवण स्वास्थ्य शिक्षा प्रदान गरिनेछ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘हामी यस महत्त्वपूर्ण पहलमा इयर केयर नेपालसँग साझेदारी गर्न पाउँदा गर्व गर्छौं । यस कार्यक्रमले कान र श्रवणलाई गम्भीर रूपमा सम्बोधन गरेर बालबालिकाको स्वास्थ्य र कल्याणमा सुधार गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ । स्वास्थ्य समस्याहरू नियन्त्रण गर्दै, हामीले दिगो प्रभाव सिर्जना गर्न सक्छौं र हाम्रो समुदायको लागि स्वस्थ भविष्य बनाउन मद्दत गर्न सक्छौं ।’