डाइपर आयात हुँदा बाहिरियो १ अर्ब रुपैयाँ
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पौष मसान्तसम्म १ अर्ब रुपैयाँको डाइपर आयात भएको छ । चालु आवको पौष मसान्तसम्म १ अर्ब १५ करोड ९५ लाख रुपैयाँ बढीको डाइपर आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार उक्त डाइपर आयात हुँदा ३४ करोड ८२ लाख रुपैयाँ बढीको राजस्व संकलन भएको छ । नेपालमा १५ वटा देशहरूबाट डाइपर आयात हुने गरेको छ । अस्ट्रेलिया, भारत, डेनर्माक र चीन जस्ता मुलुकहरूबाट डाइपर आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । सबैभन्दा धेरै भारतबाट ६९ करोड रुपैयाँ बढीको आयात भएको छ । साथै चीनबाट ४५ करोड र डेनर्माकबाट ५९ लाख रुपैयाँ बढीको डाइपर आयात भएको विभागले जनाएको छ ।
निर्माण व्यवसायी महासंघले तत्काल आन्दोलन नगर्ने, मागलाई सम्बोधन गर्न कार्यदल गठन गरिने
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबारदेखि सुरु गर्ने भनिएका आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको छ । महासंघ अहिले सरकारसँग आन्तरिक छलफलमा जुटिरहेको छ । महासंघका अध्यक्ष रवि सिंहले हाल सरकारसँग आन्तरिक छलफल भइरहेको जानकारी दिए । उनले सरकार यस विषयमा सकारात्मक देखिएको र तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको उनको भनाइ छ । महासंघले सरकारलाई माघ १५ सम्मको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटमको अवधि सकिएको छ । शुक्रबारदेखि आन्दोलन गर्ने भनेको थियो । तर गत मंगलबार प्रधानमन्त्री तथा मन्त्रिमण्डलसहित निर्माण व्यवसायीबीच छलफल भएको थियो । सो छलफलमा निर्माण व्यवसायीहरूका मागलाई सम्बोधन गर्न प्रधानमन्त्रीले कार्यदल गठन बनाउन निर्देशन दिएको बताइएको छ । छलफलमा सरकार निर्माण व्यवसायीहरूबीच सकारात्मक रूपमा छलफल भएको जनाएको छ । अध्यक्ष सिंहले भने , ‘हाम्रा मागप्रति सरकार सकारात्मक देखिएको छ । यसका लागि प्रधानमन्त्रीजीले कार्यदल गठन हुन्छ भनेका छन् । आन्तरिक रूपमा छलफलमै छौं । भोलि सुरु गर्ने भनिएका आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थिगित गरेका छौं ।’ उनले कार्यदलले पनि आफूहरूका माग पुरा गरेन भने आन्दोलनका कार्यक्रम फेरि सुरु हुने बताए । निर्माण व्यवसायीहरूले माघ २ गते पत्रकार सम्मेलन गर्दै चरणबद्ध रूपमा आन्दोलनमा जाने घोषणा गरेका थिए । सोही अनुसार माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने, १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम उनीहरूको थियो । यस्तै, माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व-पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम घोषणा पनि गरेका थिए ।
आठौं अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि सुरु, ५० हजार दर्शकले अवलोकन गर्ने
काठमाडौं । नेपाल चेम्बर अफ कर्मसद्वारा आयोजित ‘आठौं अन्तर्राष्ट्रिय व्यापार मेला- २०२५’ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । पाँच दिनसम्म चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । स्वदेशी र विदेशी गरी एक सय २५ भन्दा बढी स्टल एक्स्पोमा छन् । एक्स्पोमार्फत स्थानीय उत्पादनको प्रवद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए । ‘मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीले नविनतम् प्रविधि, उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरणबारे प्रत्यक्ष अवलोकन गर्न सकिने अवसर प्रदान गरेका हुन्छन,’ उनले भने, ‘मुलुकभित्र यस्ता आर्थिक क्रियाकलापको विस्तारले वाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी तथा व्यवसायीमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुन्छ ।’ उनका अनुसार एक्स्पोमा यस वर्ष अन्तर्राष्ट्रियस्तरको ‘सफ्टवयर’ र ‘एआई’ परियोजना आर्कषणको केन्द्रको रुपमा रहेका छन् । मुलुकमा अन्तर्राष्ट्रियस्तरको प्रर्दशनी कक्ष निर्माण गर्न अविलम्व पहल गरिनुपर्ने र यसका लागि सरकारसँग सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स सदैव तयार रहेको अध्यक्ष अग्रवालले बताए । यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रसाधन सामग्रीलगायतको प्रदर्शनी आगन्तुकका लागि आकर्षणको केन्द्र बन्न सक्ने विश्वास गरिएको छ । एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायतका व्यवसायीले उक्त देशमा उत्पादित वस्तुसहित सहभागिता जनाएका छन् ।
निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिइरहेको पालिका, हजारौं नागरिक लाभान्वित
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले सुरु गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमबाट ४१ हजारभन्दा बढी नगरबासी लाभान्वित भएका छन् । दुई वर्षअघि (२०८० असार) बाट सुरु गरेको निःशुल्क स्वास्थ्य बीमाबाट सो संख्या बराबरले सेवा लिएको नगरपालिकाका उपप्रमुख सान्नानी लामाले जानकारी दिइन् । उनका अनुसार सुरुवातमा ज्येष्ठ नागरिक र एकल महिलालाई लक्षित गरेर निःशुल्क स्वास्थ्य बीमा सुरु भएको थियो । दोस्रो वर्षबाट मात्र सबै नगरबासीले निःशुल्क स्वास्थ्य बीमा गर्न सक्ने व्यवस्था भएको हो । अहिले गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क स्वास्थ्य बीमा सुविधा लिन सक्छन् । स्वास्थ्य बीमाको लागि वार्षिक एक करोड ६० लाख खर्च हुने गरेको उपप्रमुख लामाले बताइन् । उनका अनुसार जेष्ठ नागरिकलाई मात्रै यो सुविधा लागू हुँदा ६० लाख रुपैयाँ खर्च भएको थियो । बढ्दो प्रभावकारिता नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता बढ्दै गएको उपप्रमुख लामाले बताइन् । ‘स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ । धेरैजना नगरबासी यो कार्यक्रममा सहभागी जनाउन इच्छुक हुनुहुन्छ,’ उनले भनिन् । आगामी दिनमा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने उनको भनाइ छ । साथै सबै नगरबासीलाई निःशुल्क स्वास्थ्य सेवा दिने नगरपालिकाको योजना रहेको उनले सुनाइन् । दुई अस्पतालबाट निःशुल्क सेवा अहिले नगरभित्रका दुई अस्पतालबाट नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिन सक्छन् । उपप्रमुख लामाका अनुसार नगर अस्पताल र नेपाल मेडिकल कलेजबाट निःशुल्क रूपमा स्वास्थ्य उपचार गर्न सकिने नगरपालिकाले जनाएको छ । नगर अस्पतालमा जाँच गरेर उपचार सम्भव नभएमा मेडिकल अस्पतालमा रिफर हुने गरेको छ । नगरपालिकाले अस्पतालमा विभिन्न रोगअनुसारका चिकित्सकहरू नियुक्त गरेको उपप्रमुख लामाले बताइन् । रोगअनुसार बिरामीले विशेषज्ञ डाक्टरहरुद्वारा उपचार गराउन सक्छन् । नेपाल सरकारले ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्दै आइरहेको छ । तर, पनि नागरिकले औषधी नै नपाइने, पाइहाले महँगो शुल्क तिनुपर्ने गुनासो बेलाबेला गर्दै आइरहेका हुन्छन् । नगरपालिकाभित्रका अस्पतालमा त्यस्तो समस्या नभएको उपप्रमुख लामाले भनिन् । उनले भनिन्, ‘धेरै जनाले निजी अस्पतालमा जँचाएर त्यहाँ दिएको औषधी खोज्नुहुन्छ । जुन बीमाभित्र उपलब्ध हुँदैन । औषधी नै नपाएको भन्दा पनि एउटै काम गर्ने फरक नामका औषधी दिन्छौं, तर उहाँहरूले खाइरहेकै औषधी खोज्नुहुन्छ । त्यो हुँदा समस्या सिर्जना भएको हो ।’ विपन्न वर्गलक्षित निःशुल्क स्वास्थ्य बीमा नेपाल सरकारले २०७२ सालदेखि न्यून आय भएका नागरिकलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । यसबाहेक विभिन्न निजी संस्थाहरूले पनि स्वास्थ्य बीमाअन्र्तगत कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सरकारले सञ्चालन गरेको उक्त स्वास्थ्य बीमामा ३ हजार ५ सय रुपैयाँ तिरेर आवद्ध भई १ लाख रुपैयाँ बराबरको विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्छन् । नगरपालिकाका उपप्रमुख लामा नगरभित्र कतिपय नागरिकले ३ हजार ५ सय रुपैयाँसमेत तिर्न नसकेर स्वास्थ्य बीमा गर्न नसकेको अवस्था भएकाले विपन्न वर्गलक्षित निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको प्रष्टाउँछिन् । ‘सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमामा ३ हजार ५ सय तिनुपर्छ, तर नगरभित्र ३ हजार ५ सय तिर्न नसक्ने धेरै जना रहेको हामीले पायौं, पैसा तिर्न नसकेर कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित हुनुनपरोस् भनेर निःशुल्क स्वास्थ्य बीमा सुरु ग¥यौं,’ लामाले भनिन् । आउँदो दिनमा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारिता बढाउँदै लैजाने नगरपालिकाको योजना छ । नगरभित्रका सबै नगरबासीलाई समेट्दै यसलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ । ७० प्रतिशत छुटदेखि निःशुल्क उपचारसम्म गोकर्णेश्वर नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई मध्येनजर गरी विभिन्न उल्लेखनीय स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । नगरपालिकाले नगरबासीको सहज स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न ‘गोकर्णेश्वर हेल्थ कार्ड’ समेत सुरु गरेको छ । नेपालमा यस्तो सेवा प्रदान गर्ने गोकर्णेश्वर पहिलो नगरपालिका हो । यस्तै, नगरपालिकाले नसर्ने रोग न्यूनीकरणको लागि विभिन्न प्रयासहरू गर्दै आइरहको छ । जसले गर्दा नगरपालिकाले ‘स्वास्थ्य खबर हेल्थ अवार्ड’, समेत प्राप्त गरेको छ । नगरपालिकाले ३० देखि ६० वर्षसम्मका महिलाहरूलाई निःशुल्क पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको परीक्षण गर्दै आइरहेको छ । बेलाबेलामा यससम्बन्धी अभियानमेत सञ्चालन गर्दै औषधीहरु समेत वितरण गर्दै आइरहेको उपप्रमुख लामा बताउँछिन् । निःशुल्क स्वास्थ्य बीमाबाहेक मेडिकल कलेज, नगर अस्पताल र शंकरापुर अस्पातालमा उपचार गर्दा कुनै समस्या भएमा ७० प्रतिशतसम्म छुटमा सुविधा लिन सक्नेछन् । त्यसैगरी, कुनै महिलाको पाठेघर समस्या आएर पाठेघर फाल्नुपर्यो भने पनि नगरपालिकाले आर्थिक सहयोग गर्दै आइरहेको छ । त्यसबाहेक नियमति खोप, स्वास्थ्य शिविरहरू पनि नगरपालिकाले सञ्चालन गर्दै आइरहेको छ ।
होन्डाले अमेरिकाका २ लाख ९० हजारभन्दा बढी गाडी फिर्ता बोलाउने
काठमाडौं । होन्डाले अमेरिकामा २ लाख ९४ हजार ६१२ गाडीहरू फिर्ता बोलाउने भएको छ । यी गाडीहरूमा रहेको इन्जिन अचानक बन्द हुने वा पावर गुमाउने समस्या समाधान गर्न यस्तो निर्णय गरिएको हो । २०२२-२०२५ अकुरा एमडीएक्स टाइफ-एस, २०२३-२०२५ होन्डा पाइलट र २०२१-२०२५ कुरा टीएलएक्स टाइप-एस गाडी फिर्ता बाेलाउन लागेको नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले बुधबार जानकारी दिएको छ । फ्युल इन्जेक्सन इलेक्ट्रोनिक कन्ट्रोल युनिट (एआई-ईसीयू) मा रहेको सफ्टवेयर त्रुटिले गाडीको इन्जिन बन्द हुन वा पावर गुमाउन सक्छ । यसले दुर्घटनाको जोखिम बढाउने सम्भावना रहेको अमेरिकी यातायात सुरक्षा नियामकको भनाइ छ । अब होन्डाका डिलरहरूले एफआई-ईसीयूको सफ्टवेयर निःशुल्क पुनःप्रोग्राम गर्ने जनाइएको छ ।
सिरहाका तीन अस्पतालाई स्वास्थ्य उपकरण सहयोग
सिरहा । यहाँका तीन अस्पतालाई करोडौं मुल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त भएको छ । ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एन्ड डेभलपमेन्ट’ नामक गैरसरकारी संस्थाले ती अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । स्वास्थ्य सामग्री प्राप्त गर्नेमा जिल्लाको धनगढीमाई नगरपालिका—९ स्थित नैनपुर अस्पताल, सुखीपुर नगरपालिका–८ स्थित आधारभूत अस्पताल र अर्नमा गाउँपालिका–१ महनौरस्थित महनौर अस्पताल रहेका छन् । संस्थाले बुधबार तीन वटै पालिकाका प्रमुखसहित जनप्रतिनिधि, समाजसेवी तथा स्वास्थ्य कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरी समग्री हस्तान्तरण गरेको थियो । स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच र सुधारमा योगदान पुर्याउने उदेश्यसहित आफ्नो संस्थाले सिरहासहित देशका अन्य जिल्लामा पनि स्वास्थ्य उपकरण, औषधीजस्ता समग्री सहयोग गर्दै आएको ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एन्ड डेभलपमेन्ट’ नेपालका महासचिव मो मेराज खानले बताए । ‘यस संस्थाले विशेषगरी दलित, अति विपन्न र आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई प्रत्यक्षरूपमा लाभ पुर्याउने उद्देश्यसहित सरकारी अस्पताललाई प्राथमिकतामा राखेर सहयोग गर्दै आइरहेको छ’, महासचिव खानले भने, ‘त्यसैअनुरुप यहाँका अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।’ महासचिव खानले अमेरिकन सहयोगमा सञ्चालित यस परियोजना मधेश प्रदेशका सिरहा, महोत्तरी र सर्लाहीसहित देशभरका ४२ जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै सामाजिक सेवाका कार्यमा सक्रिय रहँदै आएको जानकारी दिए । संस्थाले दिएका सामग्री तथा उपकरणले अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण सहयोग पुग्ने अस्पताल प्रशासनले जनाएको छ । रासस
द्वन्दका कारण अफ्रिकाले वार्षिक १८ अर्ब अमेरिकी डलर गुमाएको छ : अफ्रिकी संघ
काठमाडौं । केन्याका राष्ट्रपति विलियम रुटो अफ्रिकी संघ संस्थागत सुधारका समर्थक हुन्। उनले द्वन्द्वले अफ्रिकालाई यसको क्षमताबाट वञ्चित गरिरहेको बताए । महादेशले द्वन्दका कारण वार्षिक अनुमानित १८ अर्ब अमेरिकी डलर गुमाइरहेको उनको भनाइ छ । लाखौं मानिसहरूलाई विस्थापित गरिरहेको छ । रुटोले अफ्रिकाले हाल ३ करोड ५० लाख आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू ८९ लाख शरणार्थीहरू, ११ लाख शरणार्थीहरू र १० लाख राज्यविहीन व्यक्तिहरूलाई आश्रय दिएको छ । अप्रिल र जुन २०२४ को बीचमा मात्र अफ्रिकाभरि कुल १ हजार आतंकवादका घटनाहरू रेकर्ड गरिएका थिए । जसको परिणामस्वरूप ४ हजार ८१८ जनाको मृत्यु भएको थियो ।
याडियाको नयाँ ईभी स्कुटर सार्वजनिक, मूल्य २ लाख ३५ हजार
काठमाडौं । याडियाको नयाँ विद्युतीय स्कुटर नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि याडिया ब्राण्डको आयात तथा बिक्रीकर्ता कुजु नेपालले बिहीबार ईपोक विद्युतीय स्कुटर सार्वजनिक गरेको हो । उक्त ईभी स्कुटरको मूल्य २ लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । उक्त ईपोक ईभी स्कुटर नेपाली उपभोक्ताका लागि आधुनिक, आकर्षक र वातावरणमैत्री इलेक्ट्रिक मोबिलिटीको नयाँ विकल्प भएको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार ईपोक ईभी आधुनिक सहरी यात्रुको आवश्यकता पूरा गर्न डिजाइन गरिएको हो । सो स्कुटरमा ३ हजार वाट टीटीएफएआर ह्वील हब मोटर जडान गरिएको छ । यसैगरी, १५० एनएम टर्क रहेको छ जसले उकालाेसहित सहरी सडकमा राम्रो पफर्मेन्स दिन्छ । यो स्कुटर १६ डिग्रीसम्मको ढलान चढ्न सक्षम रहेकाले नेपालका सडकहरूको लागि उपयुक्त स्कुटर भएको कम्पनीले जनाएको छ । १२ डिग्रीको उकालोमा ३० मिनेटसम्म लगातार चलाउन सकिने गरी डिजाइन गरिएको छ, जसले यसको मोटर प्रदर्शनमा कुनै असर नगरी उत्कृष्ट टिकाउपन (दीर्घकालीन भरपर्दो क्षमता र पावर, चुनौतीपूर्ण अवस्थाहरू)मा पनि स्थिर प्रदर्शन दिने कम्पनीको दाबी छ। एक पटकको चार्जमा १५० किमीसम्मको यात्रा गर्न सकिने उक्त स्कुटर आरामदायक डिजाइन गरिएको छ । १७० मिमी ग्राउण्ड क्लियरेन्स रहेको सो स्कुटरमा अगाडिको र पछाडिको डिस्क ब्रेकहरू रहेको छ । कम्पनीले सो स्कुटरको ब्याट्री र मोटरमा २ वर्ष वा २० किलोमिटर वारेन्टी प्रदान गरेको छ । याडियाले लगातार ७ वर्षसम्म विश्वकै नम्बर १ इलेक्ट्रिक स्कुटर ब्रान्डको उपाधि पाएको छ। यसले १० करोडभन्दा बढी युनिटहरू बिक्री गरिसकेको छ र १०० भन्दा बढी देशहरूमा उपस्थिति रहेको छ। याडिया ईपोक अब नेपालभरका आधिकारिक डिलरशिपहरूमा विभिन्न रंगहरूमा पलब्ध भइसकेको कम्पनीका निर्देशक उमिद श्रेष्ठले जानकारी दिए । देशभर १५ डिलरशिपहरूको सञ्जाल र २०२५ को अन्त्यसम्म १० थप डिलरशिपहरू थप्ने योजनासहित कम्पनीले नेपालको विद्युतीय मोबिलिटी क्रान्तिमा योगदान दिने लक्ष्य राखेको उनको भनाइ छ ।