म्याग्दीको दुर्गम चेचुङ गाउँ सडक सञ्जालमा जोडियो
म्याग्दी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४ को चेचुङ गाउँ सडक सञ्जालमा जोडिएको छ । अपर म्याग्दी जलविद्युत आयोजनाले धवलागिरी गाउँपालिका र वडा कार्यालयको समन्वयमा नाउरादेखि चेचुङ जोड्ने सडक निर्माण गरेको हो । प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत स्थानीयको माग अनुसार करिब दुई महिना डोजर परिचालन गरेर नाउरा देखि चेचुङ जोड्ने पाँच किलोमिटर सडक निर्माण गरेको अपर म्याग्दी जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए । सडकबाट चेचुङका १९ घरपरिवार लाभान्वित भएका छन् । जिप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन् । स्थानीयबासी चक्रबहादुर घर्तीले सडक निर्माण भएपछि एक घण्टाको बाटो १५ मिनेटमा छोटिएको बताए । स्थानीयबासीलाई आवत जावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी, कृषि र पशुजन्य वस्तु बजार पठाउन सहज भएको घर्तीले बताए । सडक पुगेपछि स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका छन् । मार्ग खुलेको सडकको स्तरोन्नति गरेर सहज र नियमित रुपमा यातायात सञ्चालनको ब्यवस्था मिलाउने धवलागिरी गाउँपालिकाका जनप्रतिनिधीले बताएका छन् । हाइड्रो इम्पायर प्रा।लि। प्रर्वद्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले चेचुङको फेदी नाउरामा म्याग्दी नदीमाथि ३६ मिटर लामो बेलीब्रिज जडान गरेको छ । हाइड्रो भिलेज प्रर्वद्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनासँगको साझेदारीमा नाउरामा म्याग्दी नदीमाथी ३६ मिटर लामो बेलिब्रिज जडान गरेको अपर म्याग्दीको एकल लगानीमा नाउरा स्थित बाँध निर्माण स्थलमा अर्को बेलिब्रिज निर्माणको तयारी गरेको छ । यसअघि गत वर्ष म्याग्दी नदीमा निर्माणाधिन तीन वटा जलविद्युत आयोजनाहरुको लागत साझेदारीमा धवलागिरी गाउँपालिका–४ को लामोछहरा केङ्की देखि खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको थियो । म्याग्दी खोला जलविद्युत आयोजनाको पहुँचमार्गमा पर्ने बगर गाउँमा पनि यसैबर्षभित्र सडक पुग्दैछ । मालिका –७ बिमको भारबाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँच निर्माण गर्न सो क्षेत्रमा निर्माणका क्रममा रहेका अपर म्याग्दी, अपर म्याग्दी –१, म्याग्दीखोला जलविद्युत आयोजनाले साझेदारी गरेका छन् । पहुँचमार्ग, आवास र सैनिक क्याम्पको भवन, जेनेरेसनलाइन निर्माण सकिएको आयोजनाको सुरुङ, बाँध र विद्युतगृह निर्माणको तयारी गरेको आयोजना प्रमुख रमेश सुवेदीले बताए । अबको दुई वर्ष पाँच महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सिभिल ठेकेदार कम्पनी परिचालित भइसकेको छ । रासस
शैक्षिक गुणस्तर वृद्धि गर्न पालिकाको ‘शिक्षक डायरी’
डडेल्धुरा । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भागेश्वर गाउपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू भएको छ । शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्नमा सघाउ पुर्याउने उद्देश्यले शिक्षक डायरी लागू गरिएको हो । शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारूपहरू शिक्षक डायरीमा उल्लेख गरिएको छ । शिक्षणलाई प्रभावकारी बनाउन तथा शिक्षकको पेसागत विकासका लागि विद्यालयमा अनिवार्य रूपमा शिक्षक डायरी लागू गरिएको पालिकाका शिक्षा शाखा प्रमुख गणेश पौडेलले बताए । ‘शिक्षकले वर्षभरि अध्यापन गर्ने विषयवस्तुको शैक्षिक योजना बनाई प्रभावकारी रूपमा तोकिएको समय सीमाभित्र सम्पन्न गर्न शिक्षक डायरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ’, उनले भने, ‘नियमित रूपमा शिक्षक डायरी प्रयोग गर्दा शिक्षकमा हरेक शैक्षिक सूचनाको खोज गर्ने बानीको विकास हुन्छ । बाल मनोविज्ञानको ख्याल गरी योजना तयार पार्न, शैक्षिक सामग्री तयार गर्न, विभिन्न शिक्षण विधिमध्ये उपयुक्त छनोट गरी प्रयोग गर्न, शिक्षणको कार्यलाई सरल तरिकाबाट सम्पन्न गर्न सकिन्छ ।’ डायरीमा पेसाप्रति समर्पित कर्तव्यनिष्ठ शिक्षकले पालना गर्नुपर्ने महत्त्वपूर्ण जानकारी सङ्ग्रह गरिएको शिवशंकर मावि भागेश्वर-५ रुपालीगाडका प्रधानाध्यापक मोती नाथले बताए । उनले भने, “यसबाट शिक्षकको क्षमतामा वृद्धि हुन्छ नै । विद्यार्थीको पढाइप्रतिको मोहलाई बढाउन सकिन्छ । शिक्षकको मूल्यांकन हुने भएकाले अध्ययपनकार्यलाई कसरी गुणस्तरयुक्त बनाउन सकिन्छ भनेर शिक्षकले अब मेहनत गर्नेछन् ।” उनले भने, ‘शिक्षकले पाठ्य योजनासहित प्रस्तुत नहुँदा पाठ्यक्रमको मर्मअनुसार पठनपाठन हुन सक्दैन । डायरीमा यिनै कुरालाई दर्साइएको छ । हामीलाई कर्तव्यप्रति निर्वाहमा इमानदार हुन मद्दत पुर्याएको छ ।’ डायरीमा उल्लेख गरिएका कुरा महत्त्वपूर्ण रहेको भुवनेश्वरी प्रावि डुङ्री डडेल्धुराका प्रधानाध्यापक वसन्ती भट्टले बताए । उनले भने । विद्यालयमा शिक्षक डायरी लागू गरी शैक्षिक गुणस्तर हासिल गर्नका लागि अगाडि बढेका छौँ । शिक्षक डायरीमा पालिकाका सम्पूर्ण शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयवस्तुलाई समावेश गरिएको पालिका अध्यक्ष हेमराज चटौतले बताए । उनका अनुसार डायरीमा नगरपालिकाको प्रशासनिक तथा राजनीतिक विभाजन, नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयको तथ्यांकगत विवरण, वार्षिक शैक्षिक क्यालेण्डर, शिक्षासँग सम्बन्धित वेबसाइट, पाठ्यक्रमसम्बन्धी जानकारी, विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य, पाठ्यक्रमको संरचना, मूल्यांक प्रक्रिया उल्लेख गरिएको छ । यसैगरी डायरीमा विद्यार्थीको वैयक्तिक विवरण राख्ने व्यवस्था गरिएको छ । विद्यार्थीको नाम, जन्म मिति, आमाबुबाको नाम, अभिभावकको नाम, ठेगाना र सम्पर्क फोन नम्बर राख्ने व्यवस्था गरिएको छ । विद्यालयमा पढाइ भएको दिन, विद्यार्थीको उपस्थितिको विवरणसँगै अतिरिक्त क्रियाकलापमा सहभागी हुने विद्यार्थीको विवरण राख्नका लागि डायरीमा व्यवस्था गरिएको छ । डायरीमा शिक्षकको समय तालिका, शैक्षिक योजना बनाउनका लागि स्थान उपलब्ध गराइएको छ । विद्यालयमा हुने एकाइ परीक्षाको अभिलेख राख्ने, त्रैमासिक, अर्धवार्षिक र निरन्तर मूल्यांकनको अभिलेख र निरन्तर मूल्यांकन फारामसमेत डायरीमै राखिएको छ । भागेस्वर गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय छन् । रासस
‘१० खर्बको आईटी सजिलै निर्यात गर्न सकिन्छ, सबैलाई आईटी पढाऔं’
काठमाडौं । सूचना प्रविधि (आईटी) का उद्यमीहरूले अब विद्यार्थीलाई आईटी पढाउन उत्प्रेरित गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा वक्ताहरुले नेपालले आईटी जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका हुन् । इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकिले नेपालको आइटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको र हामीले आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्नसकेमा वार्षिक १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सकिने बताएका हुन् । उनले भने, ‘अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौं । हरेक आईटी कलेजहरुमा कोटा नछुट्याइ सहजै आईटी पढन सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लविङ गरिरहेका छौं ।’ अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको अवस्था रहेको उनले बताए । उनले थपे, ‘सबैभन्दा पहिले स्टार्टअपलाई खुला नीति ल्याएर राज्यले अगाडि बढाउनु पर्छ । अहिले आईटी क्षेत्रमा सवा खर्ब लगानी भइसकेको छ । प्राक्टीकल एजुकेशनलाई अगाडि बढाएर ११÷१२ पढेका विद्यार्थीलाई सहजै आईटी पढन सहजीकरण गर्नुपर्छ ।’ युवा पुस्ताले पनि चुनौतीबाट भाग्ने नभएर त्यसलाई अवसरको रुपमा लिनुपर्ने उनको राय छ । ‘अवसर चुनौतीको रुपमा आउने र चुनौती आउनेवित्तिकै अवसर हुन्छ भन्ने माइन्डसेट तयार गर्न आवश्यक छ,’ उनले भने, ‘अरुले के सोचिरहेका छ भन्ने कुरा आफूले सोचेर उद्यम सुरु गर्न सक्यो र त्यसलाई गहनरुपमा केलाएर चुनौतीबाट नभागेर क्यास गर्न सकियो भने स्टार्टअप सुरु गर्न त्यति गाह्रो काम पनि छैन ।’ त्यसैगरी त्रिभुवन विश्वविद्यालयका डीन प्रा. डा. महाननन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यवसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताएका छन । उनले पढाइमा सरकारले प्राविधिक पक्षमा ध्यान दिनुपर्ने बताएका हुन् । जसका लागि त्रिभुवन विश्वविद्यालयले नीरन्तर आफ्नो तफबाट काम गरिरहेको पनि उनले जानकारी गराए । उनले थपे, ‘सरकारले नीति त ल्याउँछ तर प्राविधिक क्षेत्रमा विद्यार्थीलाई कसरी जोडने भन्ने बिषय समेटिएको छैन । हरेक संकायमा प्राविधिक र व्यवसायिक सिप सिकाउने गरी पाठ्यक्रम निमार्ण गर्ने र त्यसलाई व्यवहारिक रुपमा लागु गर्न आवश्यक छ ।’ अहिले राज्यले विश्वविद्यालयसँग सहकार्य गरेर आईटी क्षेत्र र उद्यमका विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने विषय प्रा.डा. चालिसेले बताए । सीनासका कार्यकारी निर्देशक मिर्गेन्द्र कार्कीले परिवर्तनशील समय अनुसार सपना देख्ने, लगानी गर्ने, र प्रयोग गर्ने क्षेत्रलाई छुट्याएर त्यसको ब्रान्डीङसहितको प्रचार गर्न आवश्यक भएको बताएका छन् । उनले देशको भुगोल अनुसारको उत्पादित सामग्रीको राज्यले प्रबद्र्धन गर्न सकेको अवस्थामा हामी समग्र आर्थिक रुपान्तरण गर्न सहज हुने बताएका छन् । उनले थपे, ‘स्टार्टअप, उद्यमशीलता र व्यवासयिक सिप तथा तालिमका विषय भूगोल अनुसार जनतालाई जागृत गर्न आवश्यक छ । वीपीले भनेको समग्र भूगोलमा रहेको जनताले आफ्नो हैसियत अनुसारको काम गरेर स्वतन्त्र रुपमा समृद्धिका साथ बाँच्न पाउने अधिकार नै मानवाधिकार हो । विश्वविद्यालय, राज्य र अभिवाभक सबैको सहकार्यबाट बन्ने जीवन निर्वाहको आधार नै उद्यम हो ।’ योङ इनोभेसनका संस्थापक विभूषण बिस्टले राज्यले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यही अनुसार सेवा निर्यात गर्न सकिने बताएका छन् । जुनसुकै फिल्डमा पनि समस्याको समाधान गर्न सक्ने क्षमता र जनशक्तिको आवश्यकता रहेको उनले औंल्याएका छन् । कक्षा कोठाको पढाइ र व्यवहारमा लागु गर्ने विषय आफैंमा फरक भएकाले त्यसको प्रयोग फिल्डमा पुगेपछि मात्र हुने बताए । उनले थपे, ‘उद्यमशीलता एक माइन्डसेट हो । उद्यमी र सर्वसाधारण मानिसबीच के भिन्नता छ भने सामान्य मानिसले समस्या देखिरहेको हुन्छ भने उद्यमीले अवसर देखिरहेको ह्ुन्छ । त्यो समस्या समाधान गर्ने प्रयास गरिरहेको हुन्छ । कुनै पनि उद्यमीले त्यसलाई कार्यान्वयन नगरेसम्म त्यो अवसर वा त्यो आइडीयाको मूल्य शून्य नै रहन्छ । शिक्षामा उद्यमशीलतालाई जोड्न आवश्यक छ र उद्यमशीलता पढेको व्यक्तिले मात्रै स्टार्टअप गर्नुपर्छ भन्ने हुँदैन ।’ उनले पनि हरेक संकायमा आईटी र स्टार्टअपको आधारभूत ज्ञान दिन आवश्यक रहेकोसमेत बताएका छन् । उनले थपे, “हाम्रो प्रतिस्पर्धी अन्य मुलुकको स्टार्टअप गरिरहेकाहरु हुनसक्छन्, त्यो ग्लोबल बजारमा प्रतिस्पर्धा गर्नसक्ने किसिमको उद्यमीहरुलाई प्रशिक्षित गर्न आवश्यक छ ।’ त्यस्तै खिम्भु टेकका सीईओ कार्भिका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रुचीको विषय छानेर काम गर्न सकेको अवस्थामा मात्रै सफलता हात पार्न सकिने उनले बताएकी छन् । उनले थपिन्, “सुरुमै उद्यमशील बन्ने आधारको लागि सिप विकास आवश्यक छ । जे विषयमा क्षमता छ, त्यसैका लागि प्रयत्न गनुपर्दछ ।’ तीनै तहका सरकारले जनशक्ति उत्पादनमा ध्यान दिएर लगानीको सहज वातावरण गर्न सकेको अवस्थामा आईटी क्षेत्रमा भएका सम्भावनाहरुलाई अवसरको रुपमा उपयोग गर्न सकिन्छ । उनले भनिन्, ‘पछिल्लो समयमा सरकारका विभिन्न निकायहरु छन् । ती निकायले स्थानीय जनशक्तिलाई मद्दत गरेर सहयोग गर्न आवश्यक छ । व्यवसाय गर्ने विषय आफैँमा चुनौती छ । समाधानका लागि सहकार्य र सहयोग आवश्यक छ ।’ प्रविधिको विकासले अहिले स्टार्टअपका लागि सहयोग पु¥याएको भए पनि योग्य जनशशक्तिको अभाव देखिएको पनि उनले बताएकी छन् । ‘स्टार्टअप सुरु गर्नका लागि आफूले गरेको उद्यमका लागि सिप विकास अनिवार्य हुन्छ,’ उनले थपे, “उद्यमका लागि प्रविधिको ज्ञानसँगै सिप निकै जरुरी छ । तर, हाम्रा लागि सबैभन्दा चुनौतीपूर्ण विषय भनेको समाजको ढाडस निकै राम्रो हुन्छ । हाम्रो राजनीतिक नेतृत्वले स्टार्टअपका लागि आवश्यक सहयोग गर्ने संस्कृति पनि विकास हुन सकेको छैन । जनशक्ति विकास निकै महत्वपूर्ण विषय हो ।’ नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बुधबारदेखि सुरु भएको यस सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवद्र्धन समेत हुने उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागकी संयोजक उर्मिला थपलियाको विश्वास छ ।
क्यालिफोर्नियामा सञ्चालित कन्सुलर सेवाबाट एक हजार ५०० लाभान्वित
टेक्सास । नेपाली राजदूतावास वासिङटन डिसीद्वारा क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा आयोजना गरिएको राहदानी कन्सुलर सेवा शिविरबाट एक हजार पाँच सय १५ नेपाली प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । उक्त शिविरमा एक हजार ५०६ जनालाई राहदानी सेवा र नौ जनालाई अधिकृत वारेशनामा सेवा दिइएको दूतावासले जनाएको छ । सुरुमा जनवरी महिनाको २२ तारेखदेखि पाँच दिन शिविर सञ्चालन गर्ने भनिए पनि सेवाग्राहीको चाप बढेपछि तीन दिन थप गरेर सेवाग्राहीलाई सेवा दिइएको थियो । उक्त राहदानी कन्सुलर सेवा शिविरमा क्यालिफोर्निया राज्यका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली समुदायमा अतिरिक्त आसपासका राज्यबाट पनि नेपाली सेवाका लागि क्यालिफोर्नियाको सान् फ्रान्सिस्को पुगेको गैरआवासीय नेपाली संघ क्यालिफोर्नियाका अध्यक्ष हरि ओझाले बताए । नेपालीहरूको बाक्लो बसोबास रहेको क्यालिफोर्नियामा कन्सुलर सेवा शिविर सञ्चालन गर्नका लागि नेपाली समुदायमा संस्थाहरूले विगत लामो समयदेखि पहल गर्दै आएका थिए । शिविरको गैरआवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया च्याप्टर र नेपाली एशोसिएशन अफ नर्दन क्यालिफोर्निया(नान्स) ले शिविर व्यवस्थापनमा सहयोग गरेका थिए । शिविरको समापन गर्दै दूतावासका कार्यवाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन शरदराज आरणले नेपालीलाई घरआँगनमै सेवा प्रदान गर्ने नेपाल सरकारको नीतिअनुसार दूतावासलेवर सञ्चालन गर्दै आएको बताए । भौगोलिक क्षेत्र ठूलो भएका कारण दूतावास कार्यालयबाट सरल र सहज रूपमा सेवा प्रदान गर्न कठिनाइ भएकाले नेपाल सरकारले क्यालिफोर्नियाको सान् फ्रान्सिस्को र टेक्सासको ड्यालसमा दूतावास सेवा कार्यालय स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकोसमेत उनले बताए । शिविरको समापन कार्यक्रममा क्यालिफोर्नियाका अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, गैरआवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष ओझा, नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्निया (नान्स)का अध्यक्ष प्रितेश कार्की र गुरुङले आफ्नो धारणा राखेका थिए । रासस
पोखरा-मुग्लिन आयोजना : पोखरा–जामुने खण्डमा २८ किमि कालोपत्र
गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमी सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ । ‘तनहुँमा साढे दुई किमी कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ’, उनले भन्ने, ‘आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।’ तनहुँमा २०.८ किमी र कास्कीमा १८.०८ किमी सडक कालोपत्र भइसकेको छ । चार लेन दुवैतर्फ तनहुँमा १०.०८ र कास्कीमा ४.३९किमी र तनहुँमा दुई लेन (एकतर्फी) ७.९८ किमी र कास्कीमा ६.०७किमी सडक कालोपत्र भएको इन्जिनियर नेपालले जानकारी दिनुभयो । तनहुँमा २.७४ किमी र कास्कीमा ७.६२ किमी गरी कुल १०.३६ किमि सडक कालोपत्र हुन बाँकी रहेको उनले बताए । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो । ‘आयोजनाको पछिल्लो भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ, जनवरी महिनाको प्रगति भने थप हुन बाँकी छु, इन्जिनियर नेपालले भने, ‘पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिँहचोक, बुढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको छ, तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको छ ।’ कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि निर्माण कम्पनीले म्याद थपेर काम गरिरहेको हो । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए । वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको उनको भनाइ छ । ‘सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम दु्रत गत गतिमा भइरहेको छु’, इन्जिनियर नेपालले भने, ‘निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।’ कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भएपनि पछिल्लो समय कामले गति लिएको उनको भनाइ छ । ३८.८८ किमी दुरीको पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । ४१.४५ किमी को पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्ने आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले रु. छ अर्ब २१ करोड ३१ लाखमा उक्त खण्डको ठेक्का लिएको थियो । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडकलाई चार लेनमा स्तरोन्नति गर्न लागिएकामा पूर्वी खण्ड (जामुने–मुग्लिन)मा भने कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । रासस
भरतपुर अस्पतालमा बिरामी आफैले रिपोर्ट लिनसक्ने, लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य
भरतपुर । चितवनको सङ्घीय भरतपुर अस्पतालले प्रयोगशाला लगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी आफैले लिनसक्ने व्यवस्था गरेको छ । अस्पतालले एक मेसिन खरिद गरी बिरामीको परीक्षण रिपोर्ट आफै लिन मिल्ने व्यवस्था गरेको हो। अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले परीक्षण रिपोर्ट लिन लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य गर्न मेसिन जडान गरिएको बताए । । उनका अनुसार करिब ७ लाख रुपैयाँमा मेसिन खरिद गरी जडान गरेर सञ्चालनमा ल्याइएको छ । अस्पतालका इञ्जिनीयर चन्द्रमणि बस्यालले आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गरेर लिन सक्ने व्यवस्था गरिएको बताए । उनले भने, ‘नमूना परीक्षण गर्न दिएका बिरामीले बिलमा भएको क्युआर कोड स्क्यान गरी रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिन्छ ।’ क्युआर कोड स्क्यान गरी रिपोर्ट प्रिन्ट गर्न मिल्ने मेसिनको परीक्षण सफल भएसँगै बिरामीको सेवा सुरु गरिएको उनले बताए । मेसिनबाट एक मिनेटमा तीन वटासम्म रिपोर्ट निकाल्न सकिने बस्यालले जानकारी दिए । उनका अनुसार थप एउटा मेसिन पनि थप खरिद गर्ने अस्पतालको योजना रहेको छ । रिपोर्ट प्रिन्ट गर्ने मेसिन प्रयोगमा आएसँगै प्रयोगशाला रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने उनले बताए । अस्पतालले प्रयोगशालामा नमूना सङ्कलन गर्दा बिलसँगै क्युआर कोड दिने गरेको छ । सोही क्युआर कोड मेसिनमा देखाएपछि मेसिनले रिपोर्ट दिने गर्दछ । रिपोर्ट तयार हुन लाग्ने समयपछि मेसिनमा गएर क्युआर कोड स्क्यान गरेपछि रिपोर्ट हेर्न र प्रिन्ट गरेर लैजानसमेत सकिने व्यवस्था गरिएको छ । मोबाइल प्रयोगकर्ताले क्युआर कोड मोबाइलमै स्क्यान गरेर पनि रिपोर्ट हेर्न सकिने बस्यालले बताए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बिरामीको चाप अधिक भएपछि स्वचालित मेसिन ल्याइएको बताए । उनले भने, ‘हामीले बिरामीलाई थप सहज रुपमा सेवा दिन यो मेसिन प्रभावकारी हुने विश्वास लिएका छौं ।’ पछिल्लो समय भरतपुर अस्पतालले आफ्नो सेवामा धेरै सुधार गर्दै आएको छ । अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामीले बहिरंग सेवा लिने गरेका छन् । अस्पतालको थप सेवाका लागि चार वटा भवन निर्माण हुँदै गरेको उनले बताए । अस्पतालमा ट्रमा सेन्टर, सरुवा रोग नियन्त्रण भवन, क्याथ ल्याब र नर्सिङ कलेज निर्माणको क्रममा रहेका छन् । यी भवन निर्माणको काम सम्पन्न भएसँगै बिरामीलाई थप सहज हुने प्राडा पौडेलको भनाइ छ ।
रसुवामा अत्यधिक चिसो बढेसँगै पर्यटन व्यवसाय ठप्प
रसुवा । पछिल्ला दिनमा मौसममा देखिएको गडबडीका कारण हिमाली जिल्ला रसुवामा अत्यधिक चिसो बढेसँगै पर्यटक आवागमनमा उल्लेख्य कमी आएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार जिल्लाको उच्च भागमा हिउँ परेको तथा प्राकृतिक रूपमा रहेका गहिरा खोंच, ताल, कुवासहित ओसिलो पदमार्गमा पानी जमी अस्वाभाविक रूपमा चिसो बढेपछि पर्यटक आउनेक्रम कमी भएको हो । सामान्यतया हरेक वर्षको जाडो मौसममा पर्यटकको आवागमन कमी हुने तथा फागुन १५ गतेपछि क्रमिक रूपमा यो वृद्धि हुँदै जाने भएपनि यसवर्ष माघको पहिलो हप्तादेखि मौसम गडबडी भएसँगै जिल्लाको जनजीवन कष्टकर बनेको होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निसान गजुरेलले जानकारी दिए । जिल्लामा अत्यधिक चिसो बढेपछि त्यसको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा परेको बताउँदै अध्यक्ष गजुरेलले तामाङ सम्पदा पदमार्गअन्तर्गत गतलाङ पार्वतीकुण्ड र थुमनको नाकथली क्षेत्रसहित गोसाइँकुण्ड, लाङ्टाङ क्षेत्रमा भ्रमण गर्न चाहने प्रकृतिप्रेमी पदयात्री तथा तीर्थयात्रीको अभावमा पर्यटन व्यवसाय करिब बन्द अवस्थामा पुगेको स्पष्ट गरे । जिल्लाको उकाली-ओराली, भञ्ज्याङ-चौतारी, ताल-तलैया, दुर्लभ वन्यजन्तु, स्थानीय संस्कृतिसहित रहनसहन, नाँचगान, पानी-झर्ना, निकुञ्जभित्रका संरक्षित बन तथा वनस्पतिलगायत सम्पदाले आकर्षित गरी पर्यटक आउने गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत साहले जानकारी दिए । यसैगरी, पवित्र तीर्थस्थल गोसाइँकुण्डको स्नान गर्नाले मनोकांक्ष पूरा हुने धार्मिक विश्वासहित तीर्थयात्री तथा विशेषगरी उत्तरगयाको डाँडाँगाउँस्थित लामो तथा ठाडो भाँगेझर्ना हेर्न आउने पर्यटक पनि बढ्दै गएको उत्तरगया गापा वडा नं २ का वडाध्यक्ष टुकुप्रसाद सुवेदीले बताए ।