विकासन्युज

आजको मौसम पूर्वानुमानः सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिक बदली

काठमाडौं । हाल देशमा मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशका पहाडी तथा हिमाली भू-भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । तराईका धेरै स्थानमा हुस्सुर कुहिरो लाग्ने छ भने दिउँसोː देशभर मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने बुलेटिनमा उल्लेख छ । मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानमा लाग्ने हुस्सु/कुहिरो मध्याह्नपछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही स्थानमा लाग्ने हुस्सु/कुहिरो मध्याह्न सम्ममा सुधार हुने सम्भावना रहेको छ । आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

वसन्तपञ्चमी बहुआयामिक पर्व, आज पहिलो अक्षर ‘क’ लेख्न सिकाइने

काठमाडौं । आज माघ शुक्ल पञ्चमी अर्थात् हिन्दू वैदिक परम्पराको वसन्तपञ्चमी पर्व । मधेशको प्राचीन मिथिलाक्षेत्रमा श्रीपञ्चमी पनि भनिने यस पर्वमा कैयौं परम्परा जोडिने हुँदा यो यहाँ बहुआयामिक महत्वको रुपमा रहँदै आएको छ । मिथिलामा मुख्यतः विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजन परम्परासँग जोडिएको यो पर्वमा ससाना नानीहरुलाई अक्षरारम्भ गराइने मैथिल परम्परा छ । ‘यो सरस्वती पूजनोत्सव र विद्यारम्भसँग सम्बद्ध पर्व हो,’ मैथिल लोकपरम्पराका ज्ञाता जलेश्वर–४ सुगाभवानीपट्टीका बासिन्दा ८७ वर्षीय कृष्णचन्द्र झा भन्छन्, ‘यसै परम्पराअनुसार यो पर्वका दिन ससाना नानीलाई खरीपाटी समाउन लगाउने चलन छ ।’ पहिलेको खरीपाटीको ठाउँ भने अब कापी, कलम र पेन्सिलले लिएको उनले स्पष्ट पारे । माघ शुक्लपञ्चमीका दिन अक्षरारम्भ गराइएका बालबालिकाले पढे लेखेको कुरा सहजै टिप्छन् भन्ने मान्यताले वसन्तपञ्चमी पर्व लेखपढको राम्रो मुहूर्त मानिँदै आइएको हो । अक्षराम्भ गराइने बालबालिकालाई व्यञ्जन वर्णमालाको पहिलो अक्षर ‘क’ लेख्न सिकाइन्छ । ‘क’ पूर्वीय दर्शन परम्परामा व्यञ्जन वर्णमालाको पहिलो अक्षरमात्र नभई ब्रह्मस्वरुप भएको हुँदा यसको लेखन र वाचन अभ्यासले परंब्रह्मको आराधना पनि हुने पूर्वीय दर्शन तथा मैथिल परम्पराका ज्ञाता बलवा नगरपालिका–१० धमौराका ७० वर्षीय कामेश्वर झा बताउँछन् । पर्वका दिन विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाअर्चना उत्सवका रुपमा मनाइने मैथिल चलन छ । मिथिलामा यो मुख्य कृषि पर्वका रुपमा पनि स्थापित छ । यस दिनलाई कृषि वर्षको प्रारम्भका रुपमा मानिने पुरानो चलन छ । यस चलनअनुसार मिथिलामा श्रीपञ्चमीकै दिन किसानले वर्षभरि कृषि कार्यका लागि श्रमिकको निधो गर्ने र उनलाई पुज्ने परम्परा छ । किसान र श्रमिकबीच कामको र पारिश्रमिकको टुङ्गो लागेपछि श्रमिकलाई घरमा डाकेर भोजन गराइ वस्त्र र दक्षिणा दिने चलन रहेको गौशाला-४ का ७० वर्षीय रामऔतार महासेठ बताउँछन् । मिथिलामा यसै दिन किसानले बाँझो खेतमा गोरु नारेर दुई/तीन फन्को भएपनि जोत्छन् । यस दिन किसानले वर्षभरि कृषि हराभरा होस् भन्ने कामना गर्छन् । श्रीपञ्चमीका दिन खेत जोतिँदा गोरु, श्रमिक र खेत तीनै कुराबाट फलिफाप हुने जनविश्वास छ । यसै दिन कृषिज्यावल (कुटो, कोदालो, बञ्चरो, हँसिया, कँचिया, खुर्पी, हलो, फाली) उध्याउने,मर्मत गर्ने र नयाँ बनाउने कामका लागि लोहार (यससम्बन्धी काम गर्ने मिथिलाको जातिविशेष) तय तमन्ना (कुरा पक्का गर्ने) परम्परा छ । श्रीपञ्चमी मिथिलामा ऋृतु परिवर्तनको पर्व समेत मानिन्छ । श्रीपञ्चमीसँगै वसन्त ऋतु सुरु हुने मान्यताले यस दिन मान्यजनबाट अबिर लगाएर आशिर्वाद लिने मैथिल परम्परा छ । यसलाई वसन्त उत्सवको प्रतीक मानिन्छ । मिथिलामा वसन्त उत्सवको परम्पराअनुसार श्रीपञ्चमीकै दिनदेखि बस्तीबस्तीमा ‘जोगिरा’ (फागुगीत) गाउन थालिन्छ । फागुन पूर्णिमाका दिन रङ् र अबिर खेलेपछि यो उत्सव समापन हुने चलन छ । यद्यपि पछिल्ला केही वर्षयता पुराना ‘जोगिरा’ गाउने ‘गवैया’ (गीत गाउने समूह) लोप हुँदै गएको छ । मिथिलामा श्रीपञ्चमीका दिन देवी सरस्वतीको मात्र नभएर शिव आराधना पनि सुखदायक मानिन्छ । यसै विश्वासले श्रीपञ्चमीका दिन शिवालयमा जल, फूल र गाईको दूध चढाउने मैथिल परम्परा छ । साउनको सोमबार र महाशिवरात्री झैं श्रीपञ्चमी पर्वमा मैथिल टाढाटाढाका शिवालयमा तीर्थाटनका लागि जाने चलन रहेको मटिहानी-७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् ।

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ । वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपिल गरेको सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री रमेश लेखकले आवश्यक पहलकदमी लिई ताप्लेजुङ र छिमेकी जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यलगायतसँग नियमित संवाद तथा समस्या समाधानका लागि पहल गरेको स्पष्ट पारेको छ । सरकारको कार्यविभाजन नियमावली, २०७४ बमोजिम रज्जुमार्ग, केवलकार सम्बन्धी नीति, कानून र मापदण्डको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित देखिएकाले केवलकार निर्माणको विषयमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरिएको मन्त्रालयले जनाएको छ । समस्या समाधानका लागि पहल अगाडि बढाइदिन यस मन्त्रालयबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरिएको समेत मन्त्रालयले जनाएको छ । सो समस्या बहुपक्षीय सरोकार रहेको तथा शान्ति सुरक्षा व्यवस्थापन समेत गर्नुपर्ने भएकाले अन्य सरोकारवाला निकायसहितको समन्वय र सहजीकरण गृह मन्त्रालयबाटै गर्न उपयुक्त हुने व्यहोराको पत्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त भएको गृह मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

विद्याकी देवी सरस्वतीको पूजा गरेर श्रीपञ्चमी पर्व मनाइँदै, हनुमानढोकामा वसन्त श्रवणको कार्यक्रम

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ७ः५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उनले बताए । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ । देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

नेपालमै पहिलोपटक नोबेल मेडिकल कलेजमा न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधि, हजारौं बिरामीको सफल उपचार

काठमाडौं । विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजले नेपालमै पहिलोपटक न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधि भित्र्याएर हजारौं बिरामीलाई सफल उपचार गर्न सफल भएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी न्यूरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी सल्यक्रिया सम्पन्न गरिँदै आएको मेडिकल कलेजले जनाएको छ । न्यूरो इन्ट्रा–अप्रेटिभ एमआरआई प्रविधिको महत्व न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गतिविधि अनुगमन गर्न मद्दत गर्दछ । जसका कारण शल्यक्रिया गर्दा सम्भावित जटिलता न्यूनीकरण गर्दै थप सुरक्षित, प्रभावकारी, र न्यूनतम जोखिमयुक्त उपचार सम्भव हुने गर्छ । नोबेल मेडिकल कलेजमा वरिष्ठ न्यूरो सर्जन प्राध्यापक डा.प्रकाश काफ्लेको नेतृत्वमा यो प्रविधि सफलतापूर्वक प्रयोग गरिँदै आएको छ । उनकाअनुसार न्यूरो इन्ट्राअप्रेटिभ प्रविधिबाट ब्रेन ट्यूमर, स्पाइनल इन्जुरी, पार्किन्सन्स, सेरेब्रल पल्सी, हाइड्रोसेफालस (टाउकोमा पानी जम्ने समस्या), हेड इन्जुरी, स्पाइनल ट्यूमर, ब्रेन हेमरेज तथा रगत जमेको समस्या लगायतका गम्भिर न्यूरो समस्याको सर्जरी सफलतापूर्वक सम्भव भएको छ । नेपालमै पहिलोपटक यो प्रविधि नोबेल मेडिकल कलेजमा उपलब्ध छ । जसले भर्खर जन्मिएका शिशुदेखि वृद्धसम्मका बिरामीहरूलाई न्यूनतम जोखिममा सफल उपचारको अवसर प्रदान गरिरहेको छ । नेपाल र भारतका हजारौं बिरामीले यस प्रविधिबाट लाभ उठाइसकेका छन् । आधुनिक प्रविधिसहितको उपचार सेवा प्रदान गर्दै आएको नोबेल मेडिकल कलेजले न्यूरो सर्जरी क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । नोबेल मेडिकल कलेजमा नेपाली कांग्रेसका नेता सांसद डा. सुनिल शर्माको लगानी रहेको छ । सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन् । शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन् । डा. शर्माले नोबेल मेडिकल कलेजमा भने आफ्नो निर्वाचन क्षेत्रका जनतालाई निशुल्क क्याबिन राखेका छन् । साथै, डा. शर्माको काठमाडौंको सिनामगलस्थित काठमाडौं मेडिकल कलेजमा आर्थिक अवस्था नाजुक भएका जनतालाई निशुल्क उपचार हुँदै आएको छ ।

टाटा नेक्सन केथ्री ईभी सार्वजनिक, यसकारण हुनसक्छ ‘गेम चेन्जर’

काठमाडौं । टाटाको नेक्सन केथ्री ईभी नेपालमा सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा सार्वजनिक भएको उक्त एसयूभी कारको ट्यागलाइन ‘गेम चेन्जर’ रहेको छ । नेपालका लागि टाटाको आयातकर्ता तथा बिक्रेता सिप्रदी ट्रेडिङले कार सार्वजनिक गर्दै उक्त कार गेम चेन्जरको भूमिका खेल्ने दाबी गरेको हो । सिप्रदी टेडिङका वरिष्ठ प्रवन्धक निर्मल खत्रीले उक्त कारको पाँचवटा पिल्लर रहेको र सोही पिल्लरहरूले सो कारलाई गेम चेन्जर बनाउने दाबी गरे । उनका अनुसार डिजाइन, प्रविधि, अल्ट्रा कम्फर्टको फिचरहरू, सूरक्षा र पफर्मेन्सले सो कारलाई गेम चेन्जरको रूपमा परिवर्तन गर्नेछ । कारमा नयाँ र डिजिटल डिजाइन हुनुका साथै फ्युचरस्टीक, इनोभेटिभ र यूजर फ्रेण्डली प्रविधि रहेको खत्री बताउँछन् । नेक्सन केथ्री ईभको डिजाइनमा बाइफङ्सनल एलईडी रहेको छ । सेन्टर पोजिसन ल्याम्प र पछाडि एनटूएन कनेक्टेड डीआरएल रहेको छ । यसले गाडीलाई विशेष लुक्स दिएको उनको भनाइ छ । यसका साथै नयाँ डिजिटल ड्यासबोर्ड र स्मार्ट डिजिटल स्टेरिङ ह्वील रहेको छ । खत्रीका अनुसार सो गाडीमा भएको स्मार्ट डिजिटल शिफ्टर फिचरले ड्राइभ मोड सेलेक्सन गर्न सजिलो पनि बनाउने छ । सो कारमा १२.३ इन्चको अल्ट्रा एचडी सिनेम्याटिक टच स्क्रीन र १०.२ इन्चको अर्काे इन्ट्रुमेन्ट क्लष्टर रहेको छ । जसलाई चाहेअनुसार कस्टमाइज पनि गर्न सकिन्छ । जसमा म्याप पनि हेर्न सकिन्छ । गाडीमा जडित जेबीएलको साउण्ड सिस्टम र ९ वटा स्पीकर सिस्टमले थ्रीडी साउण्ड सुन्न सकिन्छ । यो गाडीको सबैभन्दा महत्वपूर्ण फिचर भनेको ‘भेहिकल टु भेहिकल फिचर’ पनि हो । अर्काे गाडीलाई सो नेक्सन केथ्री ईभीले चार्ज गर्न सकिन्छ । जसका लागि बाइडीरेक्सनल चार्जिङ सपोर्ट गर्ने कार हुनु पर्दछ । सो गाडीमा भेहिकल टु लोड पनि छ । अर्थात गाडीलाई पावर बैंकको रूपमा प्रयोग गर्न पनि सकिन्छ । कुनै पनि विद्युतीय उपकरणहरू सो गाडीबाट चार्ज गर्न सकिन्छ । गाडीमा अगाडि ११.६ लिटरको फ्रङ्क र पछाडि ३.१५ लिटरको बुट स्पेस रहेको छ । यसैगरी, गाडीमा ३६० डिग्री क्यामेरा रहेकाले टर्निङ गर्दा, साँघुरो बाटोमा गाडी चलाउँदा सजिलो हुने जनाइएको छ । फ्रन्ड पार्किङ सेन्सरका साथै ईलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम रहेको छ । सो प्रोग्रामअन्तर्गत अन्य ११ वटा सुरक्षाका फिचरहरू रहेका छन् । यसका साथै ६ वटा एयर ब्याग सो गाडीमा रहेको खत्रीले जानकारी दिए । ९८ किलोवाटको मोटर रहेको सो गाडीमा ४५ किलोवाटको ब्याट्री रहेको छ । सो गाडी एक पटक चार्ज गरेपछि ३२५ किलोमिटर गुड्ने जनाइएको छ । ७.२ किलोवाटको चार्जर सो गाडीमा पाइन्छ । ६ घण्टा ३६ मिनेटमा उक्त गाडी फुल चार्ज हुन्छ । ६० किलोवाटको डीसी फाष्ट चार्जरले ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सो गाडीमा सीटी, ईको र स्पोटर्स गरी तीनवटा मोडहरू पाउन सकिन्छ । आफ्नो अनुकूलताअनुसार ती मोडहरू परिवर्तन गर्दै गाडी चलाउन सकिन्छ । गाडी ५ वटा रंगहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजुबाबु श्रेष्ठले बुकिङ खुल्ला भएको बताए । यसका साथै हाललाई सो गाडीमा अफर रहेको पनि उनले जानकारी दिए । उनका अनुसार अफरको समयमा सो गाडी खरिद गर्ने ग्राहकले ७.२ किलोवाटको चार्जर फ्रिमा पाउनेछन् । सो चार्जरको मूल्य १ लाख ३५ हजार रहेको छ । गाडीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सागर ग्रुपले ‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’ माघ २३ गतेदेखि सुरु, २० प्रतिशतसम्म छुट

काठमाडौं । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल : मिट एण्ड ग्रिट एक्स्पो- २०२५’ को आयोजना गर्ने भएको छ । बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा सागर ग्रुपले माघको २३ गतेदेखि २९ गतेसम्म उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो । आफ्नो ब्रान्ड तथा प्रडक्टहरू प्रयोग, विशेषतालगायत वर्तमान समयमा आएको प्रविधि र बिस्तारबारे जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको सागर ग्रुपकी उपाध्यक्ष बुद्धलक्ष्मी मानन्धर जानकारी दिइन् । नेपालमा आईटी सम्बन्धी प्रडक्ट बिक्री, वितरण तथा गुणस्तर सेवा दिँदै आएको उक्त ग्रुपले विगत १६ वर्षदेखि ब्रदरका प्रिन्टरहरू बिक्री गर्दै आएको छ । तेस्रो संस्करणको यस एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर साथै एक्स-ल्याब ल्यापटप पनि राखिने छन् । यसैगरी, एक्स्पोमा क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान पनि उपलब्ध रहने बताइएको छ । एक्स्पोमा प्रविधिसँग सम्बन्धित धेरै विषयहरू समावेश भएकाले यहाँबाट ग्राहकहरूलाई नयाँ अनुभव प्रदान हुने मानन्धरले बताइन् । ‘एक्स्पोमा हामीले बिक्री गर्दै आएका सामानहरू हुनेछन्, यो एक्स्पोले नयाँ र अपडेटेडका साथै नवप्रवर्तन प्रविधिको बारेमा जान्न, बुझ्ने र किन्ने अवसर प्रदान गर्नेछ,’ उनले भनिन् । सागर ग्रुपले एक्स्पोमा आएर प्रिन्टर वा कुनै सामान किन्दा विशेष छुटको व्यवस्था गरेको छ । ७ दिन सञ्चालन हुने यो एक्स्पोमा टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरहरू पनि लन्च गरिने छ । एक्स्पो अवधिभर टोनर बक्स सिरिजका प्रिन्टरको खरिदमा ५० प्रतिशतसम्म र ब्रदरका जुनसुकै प्रिन्टरको खरिद न्यूनतम २० प्रतिशत छुट उपभोक्ताले पाउने छन् । साना तथा ठूला व्यवसाय र व्यक्तिगत प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्नका लागि निकै उपयोगी ब्रदर प्रिन्टर बजारमा निकै लोकप्रिय छन् । यी प्रिन्टरहरूको उपयोगितालाई लिएर विशेषज्ञहरूद्वारा प्रशिक्षण पनि हुने सागर ग्रुपले बताएको छ । एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएकाे छ । सागर ग्रुपका अनुसार एक्स्पोमा क्युआर कोड मार्फत नाम दर्ता गरेर निःशुल्क प्रवेश गर्न सकिन्छ । क्युआर कोड प्रणालीमार्फत अनलाइन दर्ता गर्दा एक्स–ल्याब ल्यापटप जित्ने अवसर ल्याइएको छ । यो कार्यक्रम प्रविधि, जीवनशैली र नेटवर्किङ अवसरहरू संयोजन हुने प्ल्याटफर्मको रूपमा विकास हुने सागर ग्रुपले जानकारी दिएको छ । यस्तै, मिट एण्ड ग्रिट एक्स्पोको अवसर पारेर सागर ग्रुपले इनेक्स क्यामेरा पनि लन्च गर्ने भएको छ । विश्व बजारमा निकै लोकप्रिय उक्त क्यामेराका तीनवटा मोडल लन्च हुने भएको हो । ब्रदर र कोनिका ब्रान्डका यी प्रिन्टर एक्स्पोमा सागर ग्रुपले एक्स्पोमा ब्रदर र कोनिका ब्रान्डका विभिन्न मोडलका प्रिन्टर एक्स्पोमा राख्नेभएको छ । ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ब्रदर डीसीपी–बी ७६२० डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो, ब्रदर डीसीपी–बी ७६४० डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो र ब्रदर एमएफसी–बी ७८१० डीडब्लू लेजर एमएफसी प्रिन्टर–मोनो मोडलका प्रिन्टर रहेका छन् । यस्तै, उक्त सिरिजमै ब्रदर एचएल–बी २१०० डी लेजर प्रिन्टर–मोनो, ब्रदर एचएल–बी २१५० डब्लू लेजर प्रिन्टर–मोनो र ब्रदर एचएल–बी२१८०बीडब्लू लेजर प्रिन्टर–मोनो मोडलको प्रिन्टर रहेको छ । फरक–फरक क्षमताका उच्च गुणस्तरयुक्त यी प्रिन्टरहरू आधुनिक फिचरले सुसज्जित छन् । यसैगरी, कोनिका ब्रान्डका कोनिका मिनोल्टा बीएच–सी २२६ आई कलर फोटोकपीर मेसिन, कोनिका मिनोल्टा बीएच–३०६आई बी/डब्लू फोटोकपीर मेसिन र कोनिका मिनोल्टा बीएच–२२५आई बी/डब्लू फोटोकपीर मेसिन मोडलका प्रिन्टर एक्स्पोमा रहेन बताइएको छ । अनलाइन सुविधाको लागि बेलियो डट कममार्फत् पनि यी प्रडक्टहरू खरिद गर्नका साथै बुझ्न सकिने सागर ग्रुपले जनकारी दिएको छ ।

महिला उद्यमीका लागि नीतिगत कार्ययोजना आवश्यक छ : अध्यक्ष ज्ञवाली

काठमाडौं । महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीका लागि विशेष नीतिगत कार्ययोजना आवश्यक रहेको बताएकी छिन् । आइतबार महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको ‘अर्थतन्त्र : नीति र व्यवहार विषयक’ छलफलका क्रममा उनले सो बताएकी हुन् । उनले नेपालको कुल ग्राहस्थ उत्पादनमा महिला उद्यमशीलताको योगदान उल्लेखनीय भएपनि नीति निर्माण, लगानी पहुँच र वित्तीय पूर्वाधारमा उनीहरूको समुचित प्रतिनिधित्व न्यून भएको हुँदा नीतिगत कार्ययोजना आवश्यक रहेको औंल्याएकी हुन् । ‘नेपालको कुल ग्राहस्थ उत्पादनमा महिला उद्यमशीलताको योगदान उल्लेखनीय छ, तर नीति निर्माण, लगानी पहुँच र वित्तीय पूर्वाधारमा उनीहरूको समुचित प्रतिनिधित्व अझै न्यून छ । त्यसैले महिला उद्यमीहरूका लागि एक विशेष नीतिगत कार्ययोजना आवश्यक छ, जसले नेपालको अर्थतन्त्रलाई दीगो, समावेशी र उद्यमशीलतामैत्री बनाउनेछ,’ उनले भनिन् । त्यस्तै, अध्यक्ष ज्ञवालीले महिलामैत्री अर्थतन्त्र आउनुपर्ने बताइन् । ‘हामी छौं, हामीलाई देऊ, हामीलाई गर, महिलामैत्री, व्यवसायीप्रेमी अर्थतन्त्र आउनुपर्यो भनेर सरकारसामु झकझक्याइरहेका छौं,’ उनले भनिन्, ‘ राज्यले नगरेको हैन गरेको छ । केही दिनअघि सरकारले ल्याएको अध्यादेशमा हामीले उठाएका डिजिटल लिट्रेसीलाई सहज गराइदिने, साना तथा मझौला उद्यमलाई कसरी सहयोग गर्ने भन्ने विषयको सम्बोधन भएको छ । ती कुरा कार्यान्वयन हुन्छ भन्ने आशा छ ।’ कार्यक्रममा उनले महिलाहरूलाई न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराइदिनुपर्ने कुरा उल्लेख गरिन् । कुनै पनि देश अघि बढ्नको लागि साना तथा मझौला उद्यमशीलता अघि हुनैपर्ने बताउँदै उनले त्यसको विकास हुनुपर्ने बताइन् । उनले भनिन्, ‘हाम्रो देशको अर्थतन्त्रमा साना तथा मझौलाकाो योगदमान ६० प्रतिशतभन्दा बढी छ, त्यसमा २९ प्रतिशत महिला उद्यमी व्यवसायीको योगदान छ ।’ अध्यक्ष ज्ञवालीले ७१ प्रतिशतभन्दा बढी महिलाले कृषिमा योगदान पुर्‍याएकाे कुरालाई जोड्दै उक्त क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताइन् । कृषि क्षेत्रलाई अनुदान दिनेदेखि लिएर कृषि शिक्षा, वैज्ञानिक तबरको खेती गर्नका लागि सरकारले प्रोत्साहन र सहज बनाइदिनुपर्ने उनको विचार छ । त्यस्तै, ज्ञवालीले कोभिड अगाडिसम्म दिँदै आएको कर्जाले निरन्तरता पाउनुपर्ने उल्लेख गरिन् । कोभिड अगाडि बिना ब्याज र बिना धितोको ५ लाखसम्मको कर्जा, आधार दरमा २ प्रतिशत थपेर दिने १५ लाखसम्मको कर्जा पुनः सुरु हुनुपर्ने उनले बताइन् । कार्यक्रममा अध्यक्ष ज्ञवालीले महिला उद्यमीलाई व्यवसायिक सीप र डिजिटल वित्तीय सेवा दिएर इकमर्स र डिजिटल मार्केटिङमा सहभागी गराउन अनुदान तथा प्रोत्साहन प्रदान गर्नुपर्ने कुरा उठाएकी छिन् । उनले भनिन्, ‘एआई लक्षित प्रविधिको प्रयोग गरेर महिलाहरूलाई नवीनतम प्रयोगसँग जोड्नु आवश्यक छ । त्यसको लागि सरकारी नीति तथा निर्माण प्रक्रियामा महिला उद्यमीको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।’ त्यसैगरी, उनले वैदेशिक लगानी तथा निर्यात प्रवद्र्धनमा महिला उद्यमीको लागि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने नीति निर्माण गर्ने, महिला उद्यमशीलताको अन्तर्राष्टिकरण गर्ने कुरा अघि सारिन् । राज्यले व्यवसायीमैत्री नीति ल्याउनुपर्ने विचार व्यक्त गरिन् । ‘८९ प्रतिशत पुरुषहरू विदेश जाँदा ११ प्रतिशत मात्रै महिलाहरू विदेशमा गएका छन् । महिलाहरू यही बसेर काम गर्न चाहिरनुभएको छ । उहाँहरूलाई अघि बढ्न व्यवसायमैत्री वातावारण सरकारले बनाइदिनुपर्छ । जसले गर्दा महिलाहरू अगाडि बढ्न सक्छन् ।’