महिला उद्यमीका लागि नीतिगत कार्ययोजना आवश्यक छ : अध्यक्ष ज्ञवाली

<p>काठमाडौं । महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीका लागि विशेष नीतिगत कार्ययोजना आवश्यक रहेको बताएकी छिन् । आइतबार महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको ‘अर्थतन्त्र : नीति र व्यवहार विषयक’ छलफलका क्रममा उनले सो बताएकी हुन् । उनले नेपालको कुल ग्राहस्थ उत्पादनमा महिला उद्यमशीलताको योगदान उल्लेखनीय भएपनि नीति निर्माण, लगानी [&hellip;]</p>

काठमाडौं । महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीका लागि विशेष नीतिगत कार्ययोजना आवश्यक रहेको बताएकी छिन् ।

आइतबार महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको ‘अर्थतन्त्र : नीति र व्यवहार विषयक’ छलफलका क्रममा उनले सो बताएकी हुन् ।

उनले नेपालको कुल ग्राहस्थ उत्पादनमा महिला उद्यमशीलताको योगदान उल्लेखनीय भएपनि नीति निर्माण, लगानी पहुँच र वित्तीय पूर्वाधारमा उनीहरूको समुचित प्रतिनिधित्व न्यून भएको हुँदा नीतिगत कार्ययोजना आवश्यक रहेको औंल्याएकी हुन् ।

‘नेपालको कुल ग्राहस्थ उत्पादनमा महिला उद्यमशीलताको योगदान उल्लेखनीय छ, तर नीति निर्माण, लगानी पहुँच र वित्तीय पूर्वाधारमा उनीहरूको समुचित प्रतिनिधित्व अझै न्यून छ । त्यसैले महिला उद्यमीहरूका लागि एक विशेष नीतिगत कार्ययोजना आवश्यक छ, जसले नेपालको अर्थतन्त्रलाई दीगो, समावेशी र उद्यमशीलतामैत्री बनाउनेछ,’ उनले भनिन् ।

त्यस्तै, अध्यक्ष ज्ञवालीले महिलामैत्री अर्थतन्त्र आउनुपर्ने बताइन् । ‘हामी छौं, हामीलाई देऊ, हामीलाई गर, महिलामैत्री, व्यवसायीप्रेमी अर्थतन्त्र आउनुपर्यो भनेर सरकारसामु झकझक्याइरहेका छौं,’ उनले भनिन्, ‘ राज्यले नगरेको हैन गरेको छ । केही दिनअघि सरकारले ल्याएको अध्यादेशमा हामीले उठाएका डिजिटल लिट्रेसीलाई सहज गराइदिने, साना तथा मझौला उद्यमलाई कसरी सहयोग गर्ने भन्ने विषयको सम्बोधन भएको छ । ती कुरा कार्यान्वयन हुन्छ भन्ने आशा छ ।’

कार्यक्रममा उनले महिलाहरूलाई न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराइदिनुपर्ने कुरा उल्लेख गरिन् । कुनै पनि देश अघि बढ्नको लागि साना तथा मझौला उद्यमशीलता अघि हुनैपर्ने बताउँदै उनले त्यसको विकास हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘हाम्रो देशको अर्थतन्त्रमा साना तथा मझौलाकाो योगदमान ६० प्रतिशतभन्दा बढी छ, त्यसमा २९ प्रतिशत महिला उद्यमी व्यवसायीको योगदान छ ।’

अध्यक्ष ज्ञवालीले ७१ प्रतिशतभन्दा बढी महिलाले कृषिमा योगदान पुर्‍याएकाे कुरालाई जोड्दै उक्त क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताइन् । कृषि क्षेत्रलाई अनुदान दिनेदेखि लिएर कृषि शिक्षा, वैज्ञानिक तबरको खेती गर्नका लागि सरकारले प्रोत्साहन र सहज बनाइदिनुपर्ने उनको विचार छ ।

त्यस्तै, ज्ञवालीले कोभिड अगाडिसम्म दिँदै आएको कर्जाले निरन्तरता पाउनुपर्ने उल्लेख गरिन् । कोभिड अगाडि बिना ब्याज र बिना धितोको ५ लाखसम्मको कर्जा, आधार दरमा २ प्रतिशत थपेर दिने १५ लाखसम्मको कर्जा पुनः सुरु हुनुपर्ने उनले बताइन् ।

कार्यक्रममा अध्यक्ष ज्ञवालीले महिला उद्यमीलाई व्यवसायिक सीप र डिजिटल वित्तीय सेवा दिएर इकमर्स र डिजिटल मार्केटिङमा सहभागी गराउन अनुदान तथा प्रोत्साहन प्रदान गर्नुपर्ने कुरा उठाएकी छिन् ।

उनले भनिन्, ‘एआई लक्षित प्रविधिको प्रयोग गरेर महिलाहरूलाई नवीनतम प्रयोगसँग जोड्नु आवश्यक छ । त्यसको लागि सरकारी नीति तथा निर्माण प्रक्रियामा महिला उद्यमीको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।’

त्यसैगरी, उनले वैदेशिक लगानी तथा निर्यात प्रवद्र्धनमा महिला उद्यमीको लागि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने नीति निर्माण गर्ने, महिला उद्यमशीलताको अन्तर्राष्टिकरण गर्ने कुरा अघि सारिन् ।

राज्यले व्यवसायीमैत्री नीति ल्याउनुपर्ने विचार व्यक्त गरिन् । ‘८९ प्रतिशत पुरुषहरू विदेश जाँदा ११ प्रतिशत मात्रै महिलाहरू विदेशमा गएका छन् । महिलाहरू यही बसेर काम गर्न चाहिरनुभएको छ । उहाँहरूलाई अघि बढ्न व्यवसायमैत्री वातावारण सरकारले बनाइदिनुपर्छ । जसले गर्दा महिलाहरू अगाडि बढ्न सक्छन् ।’

Share News