विकासन्युज

दामोदरकुण्ड र याकखर्क सडकका लागि बजेट सुनिश्चित, तिर्थयात्रीहरुलाई सहज हुने

काठमाडौं । गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चितता गरेको छ । आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का प्रक्रीया अघि बढाउने गरि मुस्ताङका दुई सडकलाई ५/५ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चिता गरेको हो । घरपझोङ गाउँपालिका-२ मार्फादेखि धमाङ-आलुबारी-याकखर्क र लोघेकर-दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ देखि सुरखाङ-यारा-घारा हुदै घुयुमा ठाटी सम्मको सडक स्तरोन्नति योजना छनौट भएको मुस्ताङ १ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य बिकल शेरचनले जानकारी दिए । ‘भौतिक मन्त्रालयले छनौट र अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई ठेक्का प्रक्रीया अघि बढाउने बाटो खुलेको छ । दुई वटै सडक पर्यटन, पशुपालन र कृषिको हिसाबले महत्वपूर्ण छ,’ उनले भने । करिब १३ किलोमिटर दुरीको मार्फा-धमाङ-आलुबारी सडकमा पर्ने मार्फाको पुरानो वस्ति धमाङमा ठूलो स्याउ बगैचा छ । परापुर्व कालमा मार्फाका बासिन्दाले आलु खेती गर्ने आलुबारी क्षेत्र जडिवुटी खेती र दृष्य अवलोकनका हिसाबले महत्वपूर्ण छ । याकखर्क धौलागिरी चक्रीय पदमार्ग हुदै म्याग्दी तर्फ जाने र आउने बाटोमा पर्छ । यसबाट धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि जाने आउने पर्यटकहरुलाई सहज हुनेछ । याकखर्क, आलुबारी क्षेत्रमा याकचौरीको खर्क छ । हिन्दु र वौद्ध धर्मवालम्बीहरुको साझा तिर्थस्थल दामोदर कुण्ड जाने चराङ देखि सुरखाङ-यारा-घारा हुदै घुयुमा ठाटी सडकबाट स्थानीयबासीका साथै दामोदरकुण्ड जाने आउने तिर्थयात्री र पर्यटकहरुलाई सहज हुने मुस्ताङ १ (१) बाट निर्वाचित प्रदेश सांसद नम्दु गुरुङले बताए । धार्मिक, पर्यटन र पशुपालनका हिसाबले यो सडकको महत्व भएको उनको भनाइ छ । गत वर्ष वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको १, २ र ३ नम्बर वडा जोड्ने रानीपौवा-झोङ-तेताङ र गुरुङको निर्वाचन क्षेत्रमा लोमान्थाङको पर्खाल वरपरको सडकलाई पक्की बनाउने १०/१० करोड रुपैयाँ बजेटको योजना शुरु भएको थियो । रानीपौवा-झोङ-तेताङ सडकलाई कालीगण्डकी कोरिडोरको जोमसोम-कोरला सडकको छुसाङ-कागबेनी खण्डको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिन्छ । कागबेनी-मुक्तिनाथ-उपल्लो मुस्ताङ आवत जावत गर्न सहज हुनेछ । दुई वटै योजना ठेक्का मार्फत निर्माणाधिन रहेका पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए । यस वर्ष झोङ-छेङ्गुर सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माणका लागि ९ करोड १२ लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चितता गराउने प्रक्रीया अन्तिम चरणमा रहेको प्रदेश सांसद शेरचनको भनाइ छ ।

काठमाडौंका यी स्थानमा आज बिजुली काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने छ । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १५ बजेसम्म बिजुली प्रवाह रोकिनेछ । सो फिडर अन्तर्गत वितरित विभिन्न स्थानलगायतका क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न गर्न प्राधिकरण क्रियाशिलसमेत रहने सूचनामा उल्लेख छ । यस्तै, सोही वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत पर्ने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तोलिम केन्द्र, निर्मल निवासलगायतका स्थानमा उच्च क्षमताको प्रसारण लाइन र पोल स्थानान्तरण गर्ने कार्यका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बिजुली प्रवाह अवरुद्ध हुने सूचनामा उल्लेख छ । यस्तै भोजपुर वितरण केन्द्र र सुर्खेत वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न स्थानमा पनि मर्मत एवम् रुख बिरुवाका हाँगा काट्ने प्रयोजनाका लागि आज बिजुली प्रवाह रोकिने सूचनामा उल्लेख छ ।

आजको मौसम: यी पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज तराईका केही भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट सुरक्षित रहन आवश्यक पर्ने उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बुढानीलकण्ठमा चौथो रोजगार तथा वृति मेला सुरु, सयौं पदमा आवेदन दिन सकिने

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा भएको चौथो रोजगार तथा वृति मेला सुरु भएको छ । मेलाको पहिलो दिन शुक्रबार विभिन्न रोजगार दाताहरूको स्टलमा आएर सयौं नगरवासीले रोजगारका लागि आवेदन दिएका छन् । नगरपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न व्यावसायीक संस्था तथा रोजगारदाताहरूले राखेको स्टलमा र अनलाइन मार्फत आवेदन दिएका बेरोजगार नगरवासीहरूलाई रोजगार दिने तयारी गरिएको छ । शनिवार पनि इच्छुक बेरोजगार नगरवासीले ९ बजेपछि नगर कार्यालय परिसरमा आएर आवेदन दिन सक्ने नगरपालिकाले जानकारी दिएको छ । विगतका मेलाहरूमा परामर्श र रोजगार प्रवर्धनलाई जोड दिएको नगरपालिकाले यस पटक भने रोजगारदाताको प्रत्यक्ष सहभागितामा नगरपालिका परिसरमा रहेका रोजगारदाताहरूको स्टलमै आवेदन दिन सकिने व्यवस्था गरेको छ । शिक्षा, सीप र उद्यमशीलता: रोजगारी हाम्रो प्राथमिकता भन्ने नारा सहित चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्न गइरहेको यस नगरपालिकाले यसपालिको मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखेको छ । पहिलोदेखि तेस्रो वृत्ति मेलामा समेत रोजगारी एवंं युवा तथा विद्यार्थी वृत्ति परामर्शलाई प्राथमिकतामा राखिएको थियो । यस अवधिका तीनवटै रोजगारी तथा वृत्ति मेलामा बेरोजगार युवाहरुको तथ्याङ्क सङकलन गरिएको थियो । तथ्याङ्क सङकलनका क्रममा बेरोजगार युवाहरूले लिन चाहेको रोजगारमूलक तालिमको माग सङ्कलनसमेत गरिएको थियो । माग बमोजिम रोजगारी तथा वृत्ति कार्यक्रम अन्तर्गत २० जनालाई सिनियर १० महिने प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ। यसैगरी १२ वटै सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ । रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेट फर्म सञ्चालनमा ल्याइएको छ। शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैंक निर्माण गरी सञ्चालनमा ल्याइएको छ । सयौंको सङ्ख्यामा रोजगारदाता र बेरोजगार युवाहरूबीच रोजगारीका लागि सम्पर्क स्थापित भएको छ । यसअघि सम्पन्न तीनवटै वृत्ति तथा रोजगार मेलामा विद्यार्थी, युवा र गृहणी महिलाहरुको आकर्षणको केन्द्र बनेको आम अनुभूति रहन गएको छ। मेलामा बढीभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमीहरूलाई नगर परिसरमा स्टल राख्न दिने व्यवस्था मिलाइएको छ । मेलामा कुल ४२ ‍स्टल रहेका छन् । यस चौथो रोजगार तथा वृत्ति मेलामा २५ हजारभन्दा बढी गृहणी महिला, युवा तथा विद्यार्थी लगायतले अवलोकन गर्ने र मेला अवधिमा दर्जनौं बेरोजगार युवाहरूले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि

फाइल फोटो । काठमाडौं । नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको ग्रोसरी डेलिभरी सेवा फुडमाण्डु वानमार्टले अब ललितपुरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । अब उक्त क्षेत्रका ग्राहकहरूको दैनिक आवश्यक सामानहरूको किनमेल अझ सहज हुने भएको छ । सुरुवातमा वानमार्टको सेवा गैरिधाराको ३ किलोमिटर क्षेत्रभित्र सीमित रहेको थियो । अब ललितपुर क्षेत्रमा यो सेवा फैलिएको छ जसमा जावलाखेल, लगनखेल, सातदोबाटो, इमाडोल, सानेपा, धोबीघाट, भैंसेपाटी, नक्खु र बालकुमारी क्षेत्र समावेश रहेका छन् । यी क्षेत्रका ग्राहकहरूले अब ७०० भन्दा बढी गुणस्तरीय सामानहरू सजिलै अर्डर गरी तुरुन्त र भरपर्दो डेलिभरी प्राप्त गर्न सक्नेछन् । फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, ‘हामी सधैं आफ्ना ग्राहकहरूको जीवनलाई अझ सहज बनाउने उपायको खोजीमा छौं । ललितपुरमा फुडमाण्डु वानमार्टको सेवा विस्तार गर्नु हाम्रो लागि थप अर्को एक सिढी हो जसले अब त्यस क्षेत्रका ग्राहकवर्गको दैनिक किनमेललाई पनि खाना अर्डर गरे जस्तै सजिलो बनाउनेछ ।’ यस विस्तारसँगै फुडमाण्डु वानमार्टले गुणस्तरीय सामानको तुरुन्त डेलिभरीका साथ साथै झन्झटमुक्त किनमेलको अनुभव प्रदान गर्दै ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने लक्ष्य राखेको छ । कम्पनीले आगामी दिनहरूमा अन्य धेरै क्षेत्रहरूमा सेवा विस्तार गर्दै अनलाइन ग्रोसरी किनमेलको बढ्दो मागलाई पूरा गर्ने योजना बनाएको छ ।

बीवाईडीले गर्‍यो डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक

काठमाडौं । विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माता बीवाईडीले आफ्नो मुख्यालय सेनझेनमा डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाईलट सिस्टम) सार्वजनिक गरेको छ । डिपाइलट ६००, डिपाइलट ३०० र डिपाइलट १०० सहितको यो सिस्टमले सबै ग्राहकहरूका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउने विश्वास बीवाईडीको छ । बीवाईडीले भने यो सुविधा आफ्ना सबै मोडलमा बिना कुनै अतिरिक्त शुल्क दिने जनाएको छ । सबैभन्दा कम मूल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ, जसको मूल्य ९ हजार ५५५ डलर मात्र रहेको छ । कम्पनीले नयाँ प्रविधिसँगै ग्राहकहरूलाई सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म सेन्सर र क्यामेराजस्ता उच्च प्रविधि भएका सेल्फ ड्राइभिङ सिस्टमहरू महँगा गाडीहरूमा मात्र उपलब्ध हुने गथ्र्यो । तर, बीवाईडीले अब यो परिवर्तन गर्दै यस्ता प्रविधि केवल महँगा गाडीहरूमा सीमित नराखी सबैलाई सहज रूपमा उपलब्ध गराउन लागेको हो । डिपाइलट सिस्टम तीन भिन्न संस्करणहरूमा उपलब्ध छ । डिपाइलट ६०० मा तीनवटा लिडार छन्, जसलाई मुख्यतः याङवाङ मोडेलहरुमा प्रयोग गरिनेछ । डिपाइलट ३०० मा एउटा लिडार छ, जुन मुख्य रूपमा डेन्जा र केही बीवाईडी मोडेलहरूमा प्रयोग गरिनेछ । त्यस्तै, डिपाइलट १०० मा तीनवटा क्यामेरा छन्, जुन बीवाईडीका विभिन्न मोडेलहरूमा प्रयोग गरिनेछ । विशेष गरी डिपाईलट १०० मा फ्रन्ट–फेसिङ तीन क्यामेरा फाइभ आर १२ भी सेन्सिङ हार्डवेयर र एन्ड–टु–एन्ड कन्ट्रोल एल्गोरिदम समावेश छ, जसले प्रविधि, सेन्सर, एल्गोरिदम र डेटा क्षेत्रमा ठूलो प्रगति देखाउँछ । यसले ग्राहकहरूलाई सबैभन्दा आवश्यक पर्ने सुविधाहरू प्रदान गर्छ । मेमोरी नेभिगेसन अन अटोपाईलट (एमएनओए) प्रणाली दैनिक यात्रा वा अफिस आउने–जाने जस्ता उच्च–प्रयोग मार्गहरूका लागि उपयुक्त छ । यसले ट्राफिक बत्तीमा आफै रोक्ने र अघि बढ्ने, जटिल मोडहरू पार गर्ने, स्वचालित ओभरटेक गर्ने, कुनै पनि परिस्थितिमा अवरोध छलेर अघि बढ्ने र लेन परिवर्तन गर्न सम्झौतासहित निर्णय गर्ने जस्ता सुविधाहरू प्रदान गर्छ । डिपाइलट सिस्टमले ग्राहकहरूको सुरक्षा निकै बढाउन सक्ने विश्वास लिइएको छ । एचएनओएअन्तर्गत डिपाइलट १०० ले १ हजार किलोमिटरसम्म बिना कुनै म्यानुअल हस्तक्षेप स्वचालित रूपमा यात्रा गर्न सक्छ । यसको अटोमेटिक एमरजेन्सी बे्रकिङ्ग (एईबी) प्रणालीले १०० किमि प्रति घण्टासम्म गाडीलाई भरपर्दो रूपमा रोक्न सक्छ र भविष्यमा १२० किमि प्रति घण्टा र १४० किमि प्रति घण्टासम्मको गति सम्हाल्ने योजना छ । एभीपी प्रणालीको सफलता दर ९९ प्रतिशत रहेको छ, जसले आपतकालीन अवस्थाहरूमा छिटो निर्णय गरेर दुर्घटना हुनबाट बचाउन मद्दत गर्छ । ५ हजारभन्दा बढी इन्जिनियरहरू यो क्षेत्रमा काम गरिरहेका छन् भने ४४ लाखभन्दा बढी गाडीहरूमा एल टु स्तरको एडीएएस प्रविधि जडान गरिएको छ । यस विशाल भेहिकल–क्लाउड डाटाबेसको सहयोगले बीवाईडी स्मार्ट ड्राइभिङ प्रविधिको विकास र व्यापक प्रयोगमा नेतृत्व गर्न सक्षम रहेको छ ।  

साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो

काठमाडौं । टेस्ला हाल साइबरट्रकको सेल्फ–ड्राइभिङ मोडमा भएको दुर्घटनालाई लिएर तनावमा छ । टेस्ला कम्पनीमा सफ्टवेयरको भरपर्दोपनलाई लिएर चिन्ता बढेको हो । यो घटना प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले यस वर्ष भुक्तानीयोग्य रोबोट्याक्सी सेवा सुरु गर्ने घोषणा गरेको केही दिनपछि भएको हो । टेस्लाको नयाँ पिकअप ट्रक ’फुल सेल्फ–ड्राइभिङ’ (एफएसडी) फिचरमा रहेको बेला दुर्घटनामा परेको थियो । यसमा अझै चालकको नियन्त्रण आवश्यक पर्ने जनाइएको छ । ‘मैले गरेको गल्ती नगर्नुहोस् । ध्यान दिनुहोस् । अहिले आत्मसन्तुष्ट हुन सजिलो छ – नहोस्,’ ड्राइभर जोनाथन च्यालेन्जरले सोशल मिडिया प्लेटफर्म एक्समा एलन मस्कलाई ट्याग गर्दै भने, ‘मेरो सन्देश फैलाउनुहोस् र अन्यलाई समान वा अझ बढी खराब भाग्यबाट बचाउन मद्दत गर्नुहोस् ।’ पुलिस रिपोर्टअनुसार चालकले अज्ञात मेकानिकल समस्याका कारण गाडीले लेन छोडेर पोलमा ठोक्किएको बताए । टेस्लाको सुरक्षा विवाद फेरि सतहमा टेस्ला विगतका वर्षहरूदेखि सेल्फ–ड्राइभिङ सफ्टवेयरको सुरक्षासम्बन्धी विवादहरूमा परिरहेको छ । यसको एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) प्रयोग गरिएका विभिन्न दुर्घटनाहरू (घातकसमेत) को अनुसन्धान हुँदै आएको छ । तर एलन मस्कले केही साताअघि भनेका थिए कि नयाँ भर्सन थर्टीन अपडेटपछि टेस्लाको टेक्नोलोजीमा ’अत्यधिक सुधार’ भएको छ । तर, यो पछिल्लो साइबरट्रक दुर्घटना सामाजिक सञ्जालमा भाइरल भएपछि विज्ञहरूले यो प्रविधि अझै पूर्ण रूपमा तयार नभएको चेतावनी दिएका छन् । प्रोफेसर साबेर फल्लाह (सेफ एआई र अटोनोमी, यूनिभर्सिटी अफ सरे) भन्छन्– ‘टेस्लाले यस्तो प्रविधिको दौड सुरु गरिरहेको छ, जुन अझै तैनाथ गर्न तयार छैन । लेन अन्त्य हुने, लेन मर्ज गर्ने वा अकस्मात सडकको लेआउट परिवर्तन हुने अवस्थाहरूमा एआई प्रणालीहरू अझै विश्वसनीय छैनन् ।’ टेस्लाले हालसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन । टेस्लाको रोबोट्याक्सी योजना र आगामी चुनौतीहरू एलन मस्कले जुन २०२५ देखि टेक्सासको अष्टिन सहरमा रोबोट्याक्सी परीक्षण गर्ने योजना सुनाएका छन् । यसपछि क्यालिफोर्निया र अन्य अमेरिकी क्षेत्रमा सेवा विस्तार गरिने बताइएको छ । एलन मस्कले जुन २०२५ देखि टेक्सासको अष्टिन सहरमा रोबोट्याक्सी परीक्षण गर्ने योजना सुनाएका छन्। यसपछि क्यालिफोर्निया र अन्य अमेरिकी क्षेत्रमा सेवा विस्तार गरिने बताइएको छ। टेस्लाका लागि रोबोट्याक्सीको सफल सञ्चालन अति आवश्यक छ । किनभने टेस्लाका पुराना ईभी मोडेलहरूको माग घट्दै गएको छ र लगानीकर्ताहरू अब मस्कको रोबोटिक्स र एआई योजनामा बढी आश्रित छन् । अन्य वाहन निर्माताहरूले सुरक्षाको लागि बहुप्रविधि प्रयोग गर्ने भएतापनि टेस्लाको दृष्टिकोण केवल क्यामेरामा निर्भर छ । घाटामा भियतनामी ईभी भिनफास्ट, डेलिभरी तीव्र बनाए पनि विदेशमा बिक्री गर्न संघर्ष ईभी ब्याट्री रिसाइक्लिङमा नयाँ उपलब्धी हासिल, युरोपलाई चीनविरुद्ध प्रतिस्पर्धा गर्न सजिलो निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ? मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै

हुलाकी राजमार्ग : रतुवा खोलामा बन्यो पक्की पुल

झापा । झापा र मोरङको दक्षिणी क्षेत्रलाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको रतुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी उपेन्द्र दासका अनुसार निर्माण सुरु भएको १७ वर्षपछि पुल बनेको हो । उनले पुल निर्माण सम्पन्न भएसँगै पहुँच मार्ग विस्तारको काम भइरहेको बताए । विसं २०८१ असार १७ गते सम्पन्न हुनेगरी देव एण्ड सायररसमतारआशिषदीप जेभीसँग विसं २०७९ पुस १७ गते रु २२ करोड ३७ लाखमा ठेक्का सम्झौता भएको थियो । उक्त कम्पनीले अघिल्लो निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको पुल निर्माण सम्पन्न गरेको उनले बताए । सूचना अधिकारी पन्तका अनुसार पहिलोपटक आर्थिक वर्ष २०६४/६५ मा कालिका–ओसिए जेभीले रु १० करोड ३२ लाखमा पुल निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो । तीन सय ४८ मिटर लम्बाइ रहेको सो पुल दुई सय चार दशमलव आठ मिटर मात्रै निर्माण गरेर ठेकेदार कम्पनीले अलपत्र छाडेको थियो । ‘पुल निर्माणपछि सवारीसहित आवतजावत सुरु भएको छ’, उनले भने, ‘सम्भवतः यही महिनाभित्र पहुँच मार्ग निर्माणपछि पुल सञ्चालन सहज रूपमा हुन्छ ।’ पुलको सुरक्षाका लागि खोलामा तटबन्ध निर्माण पनि भइरहेको छ । उनले कनकाइ खोला पुल निर्माणसँगै पूर्वको मेची पुलदेखि विराटनगरसम्म हुलाकी राजमार्ग सहज रूपमा सञ्चालनमा आउने बताए । ठेकेदारको लापरवाहीले सो पुल निर्माणमासमेत ढिलाइ भइरहेको छ ।